विकासन्युज

सुनको मूल्य तोलामा दुई लाख ७९ हजार १०० रुपैयाँ पुग्यो

काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको भाउ केही घटेको छ ।      नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ भने चाँदी ५५ रुपैयाँले घटेको छ ।      शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ७९ हजार १०० रुपैयाँ र एक तोला चाँदीको मोल चार हजार १८० रुपैयाँ निर्धारण भएको छ ।      हिजो बिहीबार एक तोला सुनको मूल्य दुई लाख ७८ हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।      गत बुधबार एक तोला सुनको मोल दुई लाख ८३ हजार ५०० रुपैयाँ र चाँदी चार हजार ४८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।       शुक्रबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २२ र चाँदी ५८ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।   

डा. शेखरसँग दाहाल-नेपालको भेटवार्ता, के भयो छलफल ?

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक  र सहसंयोजक  नेपालले शुक्रबार (आज) नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग कोइराला निवासमा भेटवार्ता गरेका छन् । भेटका क्रममा देशको समसामयिक राजनीतिक अवस्था, वर्तमान सत्ता समीकरण, राष्ट्रिय राजनीतिक घटनाक्रम तथा समसामयिक विषयमा विचार आदानप्रदान भएको कोइरालाका निजी सचिव दिनेश थपलियाले जानकारी दिए । कोइराला निवासमा भएको उक्त भेटलाई पछिल्लो राजनीतिक घटनाक्रमका बीच प्रमुख दलका शीर्ष नेताबीच भएको महत्त्वपूर्ण संवादका रूपमा हेरिएको छ । यद्यपि भेटवार्तापछि कुनै औपचारिक निर्णय वा संयुक्त धारणा सार्वजनिक गरिएको छैन । यसअघि कोइरालालाई कांग्रेसका महामन्त्री गुरु घिमिरेले पनि भेटेका थिए ।

प्रतिनिधिसभा बैठक भोलिका लागि सर्यो

काठमाडौं । शुक्रबार (आज) बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । यसअघि हिजो तय गरिएको बैठक आजलाई सारिएको थियो । सभामुख डीपी अर्यालले आज अपरान्ह १ बजेलाई तय गरिएको बैठक स्थगित गरी भोलि बिहान ११ बजे बस्नेगरी निर्धारण गरेको संसद सचिवालयले जनाएको छ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम ऐतिहासिक महाधिवेशनले गर्दा प्रतिनिधिसभा बैठक प्रभावित भएको हो । रास्वपाका सांसदहरू चितवनमा जारी महाधिवेशनमा सहभागी हुनाले बैठक सरिरहेको हो ।  

अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा

काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगितामा अष्ट्रेलिया समूह ‘डी’को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।      अमेरिकाको सान फ्रान्सिस्को वे एरिया रंगशालामा सम्पन्न खेलमा पाराग्वेसँग गोलरहित बराबरी खेल्दै अष्ट्रेलिया नकआउट चरणमा प्रवेश गरेको हो । समूह ‘डी’बाट चार अङ्क बटुलेको अष्ट्रेलिया समूह उपविजेता बन्दै नकआउटमा प्रवेश गरेको हो ।       त्यस्तै ६ अङ्कका साथ शीर्ष स्थानमा रहेको अमेरिका समूह विजेताको रुपमा नकआउट चरणमा पुगेको छ । अष्ट्रेलियासँग बराबरी खलेको पाराग्वेको भने नकआउट चरणमा पुग्ने सम्भावना कायमै रहेको छ ।       सोही समूहमा रहेको टर्की ३ अङ्कका साथ प्रतियोगिताबाट बाहिरिएको छ । आजै भएको अर्को खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित भएको थियो । यसअघि दुई खेलमा जित निकालेको अमेरिका शीर्ष स्थानमा रहेर समूहको विजेता बनेको हो ।  

रास्वपाको महिला उपसभापतिमा सोविता र तोसिमाको प्रतिस्पर्धा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको पदाधिकारी निर्वाचनका लागि प्रारम्भिक उम्मेदवारहरूको नामावली सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन आयोगले उपसभापति, महामन्त्री तथा सह–महामन्त्री पदका उम्मेदवारहरूको प्रारम्भिक सूची शुक्रबार सार्वजनिक गरेको हो । पहिलो चरणमा केन्द्रीय सदस्यहरूको निर्वाचन सम्पन्न भई नतिजा सार्वजनिक भइसकेपछि अब पार्टीको शीर्ष नेतृत्व चयनका लागि दोस्रो चरणको निर्वाचन प्रक्रिया अघि बढेको हो । उम्मेदवारी दाबी, छानबिन र फिर्ताको प्रक्रिया पूरा भएपछि अन्तिम नामावली प्रकाशित गरी मतदान गराइने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाका अनुसार महाधिवेशनको निर्वाचन प्रक्रिया पार्टीको विधान र निर्धारित कार्यतालिकाअनुसार अगाडि बढाइएको छ । उनले उम्मेदवारमाथिको दाबी–विरोध टुंग्याएर अन्तिम सूची सार्वजनिक गरेपछि मतदान सुरु हुने जानकारी दिए । महिलातर्फको उपसभापति पदका लागि सोविता गौतम र तोसिमा कार्कीबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ । यसअघि उक्त पदमा उम्मेदवारी दिएकी समीक्षा बास्कोटाले अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् । सबैभन्दा धेरै प्रतिस्पर्धा भने महामन्त्री पदमा देखिएको छ । एक पदका लागि कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनीष झा, जगदीश खरेल (ललितपुर), रन्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिनकुमार आचार्य गरी १० जनाले उम्मेदवारी दिएका छन् । महामन्त्री पदका उम्मेदवार खरेलले आफ्नो उम्मेदवारी फिर्ता लिएको सामाजिक सञ्जालबाट सार्वजनिक गरेपनि आयोगको लिस्टबाट उनको नाम हटिसकेको छैन । खुला सह–महामन्त्रीका दुई पदका लागि ११ जना उम्मेदवार मैदानमा उत्रिएका छन् । यसमा रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजीव खत्री, विजय जैरू, हरि ढकाल र हिमेष पन्त प्रतिस्पर्धामा छन् । यस्तै, महिलातर्फको सह–महामन्त्री पदका लागि जुली यादव, जमुना शर्मा (विदुषी), कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका छन् । यसअघि पुरुष उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन् । सभापति पदमा रवि लामिछाने पनि निर्विरोध चयन भइसकेकाले अब महाधिवेशनको ध्यान बाँकी पदाधिकारी चयनतर्फ केन्द्रित भएको छ । निर्वाचन आयोगले उम्मेदवारी फिर्ता, छानबिन तथा दाबी–विरोधसम्बन्धी प्रक्रिया सम्पन्न गरेपछि अन्तिम उम्मेदवार सूची सार्वजनिक गर्दै बन्दसत्रमा मतदान गराउने तयारी गरेको जनाएको छ । दोस्रो चरणको निर्वाचनबाट रास्वपाले आफ्नो नयाँ केन्द्रीय पदाधिकारी टोलीलाई पूर्णता दिनेछ ।

नेपालमै पहिलोपटक विराट मेडिकल कलेजमा अत्याधुनिक ‘स्कुल अफ नर्सिङ’ सञ्चालन

काठमाडौं  । नर्सिङ शिक्षालाई प्रविधिमैत्री, सीपमूलक र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बनाउन लक्ष्य राख्दै विराट मेडिकल कलेज टिचिङ हस्पिटलले नेपालमै पहिलोपटक अत्याधुनिक पूर्वाधारयुक्त ‘स्कुल अफ नर्सिङ’ सञ्चालनमा ल्याएको छ । हस्पिटलको पाँचौं तल्लामा करिब १९ हजार वर्गफिट क्षेत्रफलमा निर्माण गरिएको स्कुल अफ नर्सिङको उद्घाटन संस्थापक अध्यक्ष प्रा. डा. ज्ञानेन्द्र मान सिंह कार्की र संस्थापक उपाध्यक्ष डा. इरिना कार्कीले संयुक्त रूपमा गरेका हुन् । कलेजका अनुसार स्कुलमा फन्डामेन्टल अफ नर्सिङ स्किल ल्याब, मिडवाइफ्री नर्सिङ स्किल ल्याब, चाइल्ड हेल्थ स्किल ल्याब, कम्युनिटी हेल्थ नर्सिङ ल्याब तथा न्युट्रिसन एन्ड डाइटेटिक्स ल्याब लगायतका अत्याधुनिक प्रयोगशालाहरू स्थापना गरिएको छ ।  साथै, आधुनिक प्रविधियुक्त कक्षाकोठा र प्रशिक्षण केन्द्रसमेत निर्माण गरिएका छन् । विद्यार्थीहरूले वास्तविक अस्पतालको वातावरणमा आधारित सिकाइ अनुभव प्राप्त गर्न सक्ने गरी सञ्चालन कक्ष (ओटी), नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू), प्रसूति कक्ष (लेबर रुम) र सघन उपचार कक्ष (आईसीयू) को वातावरणलाई अनुकरण गर्ने सिमुलेसन-आधारित शिक्षण प्रणाली विकास गरिएको कलेजले जनाएको छ । यसमार्फत विद्यार्थीहरूले वास्तविक बिरामीमा उपचार गर्नुअघि आवश्यक उपचार प्रक्रिया र सीपको अभ्यास गर्न सक्नेछन् । त्यसैगरी, क्लिनिकल स्किल्स ट्रेनिङ, नर्सिङ प्रक्रिया, क्रिटिकल केयर सिमुलेसन, समुदाय स्वास्थ्य सेवा तथा डिजिटल लर्निङ रिसोर्स जस्ता अन्तर्राष्ट्रियस्तरका सुविधाले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक दक्षता हासिल गर्न सहयोग पुग्ने विश्वास कलेजको छ । कलेजका अनुसार नयाँ प्रणालीले विद्यार्थीहरूमा आवश्यक सीप, आत्मविश्वास र व्यावसायिक क्षमता विकास गर्न मद्दत पुग्नेछ । यसबाट भविष्यका नर्सिङ जनशक्ति थप दक्ष, सक्षम र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि तयार हुने तथा अस्पतालको सेवा गुणस्तरसमेत अभिवृद्धि हुने अपेक्षा गरिएको छ । विराट मेडिकल कलेज टिचिङ हस्पिटलले आगामी दिनमा स्कुल अफ नर्सिङलाई थप प्रविधिमैत्री, अनुसन्धानमुखी र अन्तर्राष्ट्रियस्तरको शिक्षण केन्द्रका रूपमा विकास गर्दै लैजाने प्रतिबद्धता जनाएको छ ।

नेपाल माइक्रो इन्स्योरेन्सको कामु सीईओमा गिरी

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको कायम मुकामय प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी अनिल गिरीलाई दिइएको छ । कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले गिरीलाई कामु सीईओ मुकरर गरेको हो। हाल कम्पनीको सीईओ पद रिक्त रहेको छ । गिरी कम्पनीमा नायब सीईओका रुपमा कार्यरत छन्। उनलाई असार ११ गतेदेखि लागू हुने कम्पनीको कामु सीईओको जिम्मेवारी दिइएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।  बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आज दिउँसो १ः०० बजे बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महालेखा परीक्षकको ३९औँ वार्षिक प्रतिवेदन, २०८३ सदनमा पेस गर्ने छ । त्यसपछि मन्त्री गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राखी उक्त विधेयक सदनमा प्रस्तुत गर्ने कार्यसूची छ ।  अर्थमन्त्री स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने छ भने भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने छ ।  बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावसहित सम्बन्धित विधेयक सदनमा पेस गर्ने कार्यसूची छ । बैठकमा आर्थिक विधेयक, २०८३ माथि प्राप्त संशोधनसहित छलफल हुने, संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिने तथा उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्रीले प्रस्तुत गर्ने छन् । यसैगरी, अर्थमन्त्री वाग्लेले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । प्राप्त संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिएपछि उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि उनले नै सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।  रासस