विकासन्युज

चलचित्र उद्योगको आवश्यकता सम्बोधन गर्न सरकार तयार छ: सञ्चारमन्त्री डा. तिमिल्सिना

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाली चलचित्र उद्योगका समस्या, चुनौती र अपेक्षाप्रति सरकार संवेदनशील रहेको बताएका छन् ।  चलचित्र विकास बोर्डको २६औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले चलचित्र क्षेत्रको वास्तविक आवश्यकतालाई सम्बोधन गर्ने कानुन, नीति र कार्यक्रममार्फत उद्योगलाई सुदृढ बनाउन सरकार तयार रहेको बताएका हुन् ।  सञ्चारमन्त्री डा. तिमिल्सिनाले चलचित्र विकास बोर्डले यस क्षेत्रको अभिभावकीय भूमिका बहन गर्नुपर्नेसमेत आवश्यकता औंल्याए ।  बोर्डका योजना, कार्यक्रम र बजेटले प्रत्यक्ष रूपमा चलचित्र उद्योगलाई कसरी लाभ पुर्‍याउँछ भन्ने विषयलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्नुहुँदै सञ्चारमन्त्री डा. तिमिल्सिनाले चलचित्र क्षेत्र समृद्ध र सन्तुष्ट भएमा मात्रै बोर्डको सफलता अर्थपूर्ण हुने धारणा राखे ।  बोर्डले आगामी आर्थिक वर्षका लागि बजेट बनाईरहेको परिप्रेक्ष्यमा चलचित्रकर्मीको भावना समेट्नेगरी योजना बताउन पनि उनले आग्रह गरे ।  संसदमा विचाराधिन रहेको चलचित्र विधेयकलाई समयसापेक्ष, व्यावहारिक र चलचित्र उद्योगको वास्तविक आवश्यकताअनुकूल बनाउन सबै सरोकारवालासँग सुझाव लिइने पनि सञ्चारमन्त्री डा. तिमिल्सिनाले बताए । ‘चलचित्र विधेयकमा यस क्षेत्रका सरोकारवाला सबैको सुझाव आवश्यक छ । चलचित्रकर्मीका अहिलेका आवश्यकता र चाहनालाई सम्बोधन गर्ने बलियो कानुनी दस्तावेज तयार गर्न सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्छ,’ उनले भने ।  चलचित्र क्षेत्रले अपेक्षा गरेअनुसारको ऐन निर्माण गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्‍याउँदै उनले निरन्तर संवाद र सहकार्यबाट मात्र प्रभावकारी कानुन बन्न सक्ने विश्वास व्यक्त गरे । चलचित्रकर्मीसँग नियमित छलफल गर्दै आवश्यक नीतिगत र संरचनात्मक सुधार अघि बढाइने पनि सञ्चारमन्त्री डा. तिमिल्सिनाले स्पष्ट पारे ।  कार्यक्रममा सञ्चारमन्त्री डा. तिमिल्सिनाले नेपाली चलचित्र उद्योगले कठिन परिस्थितिका बाबजुद निरन्तर प्रगति गरिरहेको उल्लेख गर्दै त्यसको श्रेय अग्रज चलचित्रकर्मीको अथक योगदानलाई दिए ।  ‘पुराना पुस्ताका चलचित्रकर्मीको निरन्तर संघर्ष र समर्पणकै कारण नेपाली चलचित्र आजको अवस्थासम्म आइपुगेको हो,’ भने ।  साथै चलचित्र क्षेत्रको इतिहास, विकासक्रम र योगदानलाई दस्तावेजीकरण गर्न अनुसन्धानमा आधारित लेख, पुस्तक तथा अध्ययन प्रकाशनमा पनि जोड दिन आवश्यक रहेको धारणा राखे । त्यस्तै, सञ्चारमन्त्री डा. तिमिल्सिनाले लोकतान्त्रिक व्यवस्थामा प्रत्येक क्षेत्रले नागरिकको विश्वास जित्नुपर्ने उल्लेख गर्दै चलचित्र क्षेत्र त्यसबाट अलग रहन नसक्ने बताए ।  विभिन्न लोकतान्त्रिक आन्दोलनमा चलचित्र क्षेत्रको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले यस क्षेत्रले पनि नागरिकको आशाअनुसार काम गर्न सक्नुपर्ने बताए  ।  चलचित्र उद्योगलाई आर्थिक रूपमा अझ सक्षम बनाउन चलचित्रकर्मीले स्वस्थ प्रतिस्पर्धा, पारस्परिक सहयोग र सहकार्यको संस्कृतिलाई बलियो बनाउन आग्रह गरे ।  ‘एक–अर्कालाई सहयोग गरेर अघि बढ्नुहोला । चलचित्र उद्योग बलियो भयो भने त्यसको प्रत्यक्ष लाभ कलाकार, प्राविधिक, निर्माता, वितरकदेखि राज्यसम्म सबैलाई पुग्छ,’ उनले भने । समारोहमा सञ्चार सचिव लक्ष्मी कुमारी बस्नेतले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन गुणस्तरीय सामग्री उत्पादन, आधुनिक प्रविधिको प्रयोग तथा प्रभावकारी प्रवद्र्धन आवश्यक रहेको धारणा राखे ।  नेपाली चलचित्रको विश्वव्यापी पहुँच विस्तारका लागि सरकार, बोर्ड र निजी क्षेत्रबीच अझ सुदृढ सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो । त्यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले नयाँ चलचित्र विधेयक निर्माणको चरणमा रहेकाले सम्पूर्ण सरोकारवालाले सक्रिय रूपमा सुझाव दिनुपर्ने आवश्यकता औंल्याए ।  चलचित्र क्षेत्रको अनुभव र व्यावहारिक पक्ष समेटिएको ऐनले मात्र उद्योगलाई दीर्घकालीन रूपमा लाभ पुर्‍याउने विश्वास व्यक्त गर्दै उनले सबै क्षेत्रबाट रचनात्मक सुझावको अपेक्षा रहेको बताए ।  

कामना सेवा विकास बैंकको वार्षिक प्रतिवेदनले फेरि जित्यो गोल्ड अवार्ड

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड ‘नेसनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड–२०२५’ अन्तर्गत वित्तीय सेवा क्षेत्रको ‘गोल्ड अवार्ड’बाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले प्रदान गर्ने उक्त अवार्ड बैंकले लगातार दोस्रो वर्ष जितेको हो । यसअघि बैंकले बीपीए अवार्ड–२०२३ मा सिल्भर र बीपीए अवार्ड–२०२४ मा गोल्ड अवार्ड प्राप्त गरेको थियो । बैंकका अनुसार वित्तीय विवरणको पारदर्शिता, संस्थागत सुशासन, उत्तरदायित्व तथा वार्षिक प्रतिवेदनको गुणस्तरीय प्रस्तुतीकरणका आधारमा यो सम्मान प्रदान गरिएको हो । काठमाडौंमा आयोजित विशेष समारोहमा आईक्यानका अध्यक्षले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाललाई उक्त अवार्ड प्रदान गरेका थिए । बैंकले यस सम्मानले वित्तीय पारदर्शिता, सुशासन र गुणस्तरीय प्रतिवेदन प्रस्तुतीकरणप्रतिको आफ्नो प्रतिबद्धतालाई थप पुष्टि गरेको जनाएको छ । आगामी दिनमा पनि समयानुकूल, विश्वसनीय र गुणस्तरीय वित्तीय सूचना प्रवाह गर्दै उत्कृष्ट संस्थागत अभ्यासलाई निरन्तरता दिने बैंकको भनाइ छ ।

शतप्रतिशत प्रोभिजनको व्यवस्थाले बैंकहरू ऋणीलाई चिट्ठी काट्न बाध्य, पुनरावलोकन आवश्यक

काठमाडाै‌ । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले एक बर्समा शतप्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्थाले बैंकहरूले ऋणीलाई चिट्ठी काट्नुपर्ने बाध्यता रहेको बताएका छन् । ‘आर्थिक वृद्धिलाई गति दिन मौद्रिक नीतिको भूमिका’ विषयक कार्यक्रममा उनले सो बताएका हुन् । प्रोभिजनको व्यवस्था पुनरावलोकन गर्न जरुरी रहेको उनले उल्लेख गरेका छन् ।  अध्यक्ष कोइरालाले बैंकहरू नाफामुखी भए भनेर नकारात्मक भास्य सृजना गरिएको बताए । उनका अनुुसार अहिले समग्रमा  बैंकहरुले ७ प्रतिशतको रिटर्न मात्रै दिएका छन् । अन्य क्षेत्रलाई पनि पारदर्शी बनाए भने समग्र क्षेत्र तुलना गर्न सकिने उनको भनाई छ । बैंकहरु नाफा कमाउन नै खोलिएका संस्था भएको उल्लेख गर्दै अध्यक्ष कोइरालाले सो आधार प्रतिफल हुन नसकेको बताए । कोइरालाले अबको मौद्रिक नीतिमा आधार दर गणनामा परिमार्जन गर्न जरुरी औंल्याएका छन् ।  उनले बैंकहरुको रिडेम्सनमा भएको रिजर्भलाई बोनसको रुपमा भएपनि वितरण गर्न पाउनुपर्ने व्यवस्था गर्न जरुरी रहेको बताएका छन् । साथै शाखा व्यवस्थापन, केन्द्रकृत केवाईसी लगायत विसय मौद्रिक नीतिमा समेट्न आवश्यक औल्याएका छन् ।   

डिशहोमका ग्राहकलाई तुषाल मल्टिभेन्युमा ५० प्रतिशतसम्म छुट

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र तुषाल मल्टिभेन्युबीच ग्राहक, कर्मचारी, डिलर तथा सेवा साझेदारलाई वेलनेस, फिटनेस र लाइफस्टाइल सेवामा विशेष छुट उपलब्ध गराउने समझदारी भएको छ । डिशहोमको ‘भर्चुअल प्रिभिलेज कार्ड’ कार्यक्रमअन्तर्गत भएको सहकार्यअनुसार डिशहोमसँग आबद्ध ग्राहक, कर्मचारी, अधिकृत डिलर तथा सेवा साझेदारले तुषाल मल्टिभेन्युमा विभिन्न सेवामा आकर्षक छुट पाउनेछन् । सम्झौताअनुसार साउना, स्टिम र ज्याकुजी सेवामा ५० प्रतिशत, नयाँ जिम सदस्यतामा २० प्रतिशत, चयनित वेलनेस तथा मनोरञ्जन सेवामा १५ प्रतिशत र फुड एन्ड बेभरेज सेवामा १० प्रतिशत छुट प्रदान गरिनेछ । डिशहोमका अनुसार यो सहकार्यले ग्राहकलाई स्वस्थ र गुणस्तरीय जीवनशैलीतर्फ प्रेरित गर्नुका साथै वेलनेस सेवामा सहज पहुँच विस्तार गर्नेछ । साथै, ग्राहक सहभागिता बढाउने र मूल्य अभिवृद्धि गर्ने उद्देश्यले यस्ता साझेदारीलाई निरन्तरता दिइने जनाएको छ । छुट सुविधा लिनका लागि ग्राहकले माइ डिशहोम एप डाउनलोड गरी दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडीमार्फत लगइन गर्नुपर्नेछ । त्यसपछि एपमा रहेको ‘भर्चुअल प्रिभिलेज कार्ड’ देखाएर तुषाल मल्टिभेन्युमा छुट लिन सकिने व्यवस्था गरिएको छ । सम्झौतापत्रमा तुषाल मल्टिभेन्युका आईटी हेड राजकुमार श्रेष्ठ र डिशहोमका वरिष्ठ कर्पोरेट हस्पिटालिटी अकाउन्ट अफिसर देवराज श्रेष्ठले हस्ताक्षर गरेका छन् । दुवै संस्थाले यस सहकार्यले ग्राहक अनुभवलाई थप प्रभावकारी बनाउनुका साथै दीर्घकालीन रणनीतिक साझेदारीलाई मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।

सिटिजन्स बैंकका ग्राहकलाई जय नेपाल सिनेमाजमा टिकटमा १० प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले अब जय नेपाल सिनेमाजमा सिनेमा टिकट खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंक र जय नेपाल सिनेमाज, दरबारमार्गबीच यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले जय नेपाल सिनेमाजमा टिकट खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउनेछन् । बैंकले यस सहकार्यबाट ग्राहकले प्रत्यक्ष लाभ लिनुका साथै नगद कारोबारबाट डिजिटल भुक्तानीतर्फ आकर्षित हुने विश्वास व्यक्त गरेको छ । बैंकले डिजिटल बैंकिङ सेवाको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहित गर्न यस्ता ग्राहकमैत्री योजना सञ्चालन गर्दै आएको जनाएको छ । बैंकका अनुसार डिजिटल कारोबारमा उपलब्ध छुट तथा अन्य अफरबारे विस्तृत जानकारी बैंकको वेबसाइटमार्फत प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंकले हालै युवालाई लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ तथा फ्रिलान्सरका लागि ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ सञ्चालनमा ल्याएको छ । यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) समेत सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । यस्तै, मोबाइल बैंकिङ एपबाटै शेयर आवेदन र सीआरएन नम्बर सेवा, साथै अन्य बैंकका ग्राहकले पनि सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने क्रस बैंक टेलर सेवा पनि सञ्चालनमा रहेको बैंकले जनाएको छ । 

सस्तो ब्याजदरमा पनि कर्जा प्रवाह नबढ्नु संरचनागत समस्याको संकेत

काठमाडौं । बैंकिङ विज्ञ अनलराज भट्टराईले ब्याजदर सस्तो हुँदा पनि कर्जा प्रवाह अपेक्षित रूपमा बढ्न नसक्नु नेपालको अर्थतन्त्रमा रहेको संरचनागत समस्याको संकेत भएको बताएका छन्। ‘आर्थिक वृद्धिलाई गति दिन मौद्रिक नीतिको भूमिका’ विषयक कार्यक्रममा बोल्दै उनले नेपाल राष्ट्र बैंकले ती संरचनागत समस्याहरू समाधान गर्न नसकेको टिप्पणी गरे। उनका अनुसार ५० करोड रुपैयाँभन्दा माथिका कर्जाका लागि अनिवार्य गरिएको क्रेडिट रेटिङको सीमा पुनरावलोकन गर्न आवश्यक छ, किनकि यसले पनि कर्जा विस्तारमा अवरोध सिर्जना गरिरहेको छ। भट्टराईले विभिन्न नियामकीय प्रावधानका कारण कर्जा दिन सक्ने अवस्थामा रहेका बैंकहरू समेत सहज रूपमा कर्जा प्रवाह गर्न नसकिरहेको बताए। उनले बैंकिङ प्रणालीलाई थप आधुनिक र प्रभावकारी बनाउन ‘ओपन बैंकिङ’ अवधारणालाई अघि बढाउनुपर्ने धारणा राखे। “अब हरेक बैंकका फरक–फरक एप चलाउनेभन्दा सबै बैंकको सेवा एउटै प्लेटफर्ममार्फत उपलब्ध गराउने दिशामा सोच्नुपर्छ,” उनले भने। कार्यक्रममा नेपाल राष्ट्र बैंकका कामु गभर्नर किरण पण्डितले आगामी मौद्रिक नीति तयार गर्दा वित्त नीतिसँग सम्बन्धित विषयहरू समेत समेटिनुपर्ने अवस्था सिर्जना भएको बताए। उनले समग्र आर्थिक अवस्था, बजारको अपेक्षा तथा विभिन्न क्षेत्रका सरोकारलाई ध्यानमा राखेर मौद्रिक नीति ल्याइने जानकारी दिए। “हामीले अपेक्षाहरू परिवर्तन गर्नुपर्नेछ। अर्थतन्त्रबारे निर्माण भएका केही न्यारेटिभहरू पनि सच्याउन आवश्यक छ,” उनले भने। पण्डितले बैंक, फिनटेक र ओपन बैंकिङबीचको सहकार्यबारे गम्भीर रूपमा सोच्ने समय आएको उल्लेख गरे। साथै युवा, किसान तथा वास्तविक क्षेत्रका सरोकारवालाहरूको आवाज नीतिगत निर्णय गर्ने तहसम्म पुग्न नसकेको भन्दै त्यसबीचको दूरी घटाउन आवश्यक रहेको बताए। त्यस्तै कार्यक्रममा बैंक तथा वित्तीय परिसंघ नेपाल (सिबिफिन) का उपाध्यक्ष दिलिप मुनाकर्मीले बैंक तथा वित्तीय संस्थाहरूले अर्बौं नाफा गरेको देखिएपनी वितरणयोग्य नाफा भने रिणात्मक रहेको बताए । उनका अनुसार यही कारण विगत केही वर्षदेखि केही बैंकको लाभांश शून्य छ । ‘लाभांश शून्य भएपछि बैंकमा किन लगानी गर्ने भन्ने विसयमा सोच्न बाध्य छन,’ उनले भने । निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरियाले न्यून ब्याजदर हुँदा कर्जाको माग  नबढेको बताए । उनले अहिले न्यून ब्याजदरमा कर्जा लिदा बिचमा ब्याजदर उच्च हुने जोखिम हुने भएकाले निजी क्षेत्रले यो नचाहने उल्लेख गरे । उनले भने, ‘बैंकिङ भनेको क्वाटर इण्ड गर्नुपर्ने हो जस्तो लाग्दैन, बैंकिङ क्षेत्र सुक्ष्म रूपमा निगरानी हुँदा आफ्नो सृजना हराएको छ ।’ उनले बैंकले बिजनेस क्षेत्रलाई सृजनात्मक बनाउन जरुरी रहेको औंल्याएका छन् ।   

नेपाल बैंकका ग्राहकलाई ॐ समाज डेन्टल हस्पिटलमा २५ प्रतिशतसम्म छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र ॐ समाज डेन्टल हस्पिटलबीच बैंकका ग्राहक तथा कर्मचारीलाई दन्त उपचार सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक तथा बैंकका कर्मचारीले काठमाडौंका चावहिल, नैकाप, वनस्थली, सातदोबाटो र महोत्तरीको बर्दिवासस्थित ॐ समाज डेन्टल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवामा छुट पाउनेछन् । बैंकका अनुसार सेवाग्राहीले बिरामी दर्ता र चेकअपमा शतप्रतिशत छुट पाउनेछन् भने अस्पतालका विभिन्न दन्त तथा मुखसम्बन्धी उपचार सेवामा १५ देखि २५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । सम्झौतापत्रमा नेपाल बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले र ॐ समाज डेन्टल हस्पिटलका प्रमुख प्रशासकीय अधिकृत बिजेन्द्र लालले हस्ताक्षर गरेका छन् । बैंकले यस सहकार्यबाट आफ्ना ग्राहक तथा कर्मचारीले गुणस्तरीय दन्त तथा मुख स्वास्थ्य सेवा सहुलियतपूर्ण शुल्कमा प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ ।  नेपालको पहिलो बैंकका रूपमा परिचित नेपाल बैंकले हाल देशभर २३१ शाखा, २४६ एटीएम र ५८ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले आधुनिक बैंकिङ प्रविधि र ग्राहककेन्द्रित सेवामार्फत सेवा विस्तारलाई निरन्तरता दिँदै आएको जनाएको छ । 

वादविवाद होइन, समस्या समाधानमा जोड दिऔँ : कार्यकारी निर्देशक पौडेल

काठमाडाै । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले अहिले वादविवाद भन्दा पनि समस्या समाधानतर्फ लाग्नुपर्नेमा जोड दिएका छन् । ‘आर्थिक वृद्धिलाई गति दिन मौद्रिक नीतिको भूमिका’ विषयक कार्यक्रममा बोल्दै उनले निरन्तर घटिरहेको ब्याजदरले निक्षेपकर्तालाई मार पर्छ कि भन्ने विषयमा  राष्ट्र बैंक सजग रहेको बताए । राष्ट्र बैंकले ब्याजदर करिडोर २.७५ प्रतिशतको सिमा राखेको कारण सो भन्दा तल ब्याजदर झर्न दिएको छैन, उनले भने, ‘यदि उक्त सिमा पनि नतोकेको थियो भने ब्याजदर १ प्रतिशतमा झथ्र्यो ।’ कार्यकारी निर्देशक पौडेलका अनुसार ब्याजदर करिडोर राखेको कारण ठूलो लागत रास्ट्र बैंकले बेहोरेको छ । तर रास्ट्र बैंकले निक्षेपकर्ताको रक्षात्मक गरेको रूपमा जोड दिनुपर्ने हुन्छ  । अर्थतन्त्रमा बैंक तथा वित्तीय संस्था बलियो नहुदा निजि क्षेत्र अग्रसर हुन नसक्ने उनको भनाई छ ।  तर बैंक तथा वित्तीय संस्थाहरु प्रुडेण्ट हुन जरुरी रहेको उनले औंल्याए । रास्ट्र बैंकले निक्षेपकर्ताको रक्षाका लागि भूमिका निर्वाह गर्दै आएको बताए ।