विकासन्युज

सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ उत्पादन ४ खर्ब ३० अर्ब रुपैयाँ

काठमाडौं । सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ उत्पादन ४ खर्ब ३० अर्ब रुपैयाँ बराबर पुग्ने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययन २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार उक्त आवमा प्रदेशको कूल गार्हस्थ उत्पादनको वृद्धिदर ३.२८ प्रतिशत हुने संशोधित अनुमान रहेको छ । प्रदेशले चालु आर्थिक वर्षमा देशको कूल गार्हस्थ उत्पादनमा ७.०३ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ । वृहत् औद्योगिक वर्गीकरणअनुसार प्रादेशिक कूल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी ३४.७२ प्रतिशत योगदान कृषि, वन तथा मत्स्यपालन क्षेत्रको र सबैभन्दा कम ०.१३ प्रतिशत योगदान प्रशासनिक तथा सहयोगी सेवा क्षेत्रको रहने प्रारम्भिक अनुमान गरिएको छ । आव २०८०/८१ मा पनि कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान अग्रस्थान (३३ प्रतिशत) र प्रशासनिक तथा सहयोगी क्षेत्रको योगदान अन्तिम स्थान (०.१३ प्रतिशत) मा हुने संशोधित अनुमान गरिएको थियो ।  त्यसैगरी, आव २०८१/८२ मा सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ उत्पादन ४ खर्ब ३० अर्ब रुपैयाँ र आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ३.३२ प्रतिशत र आधारभूत मूल्यमा २.७१ प्रतिशत रहने अनुमान गरिएको छ । आधारभूत मूल्यमा प्रदेशको प्राथमिक क्षेत्रको वृद्धिदर २.८ प्रतिशत, द्वितीय क्षेत्रको वृद्धिदर २ प्रतिशत र तृतीय क्षेत्रको वृद्धिदर २.९ प्रतिशत रहने अनुमान गरेको छ ।  समीक्षा वर्षमा प्रमुख कृषिबाली (खाद्य तथा अन्य बाली, तरकारी एवं फलफूल तथा मसला)ले ढाकेको भू–क्षेत्र २.१६ प्रतिशतले वृद्धि भएको छ । यस्ता बालीको उत्पादन २.७७ प्रतिशतले बढेको छ । प्रमुख खाद्य तथा अन्य बालीमध्ये सबैभन्दा बढी तेलहन र आलुको उत्पादन क्रमशः १८.८९ प्रतिशत र १६.११ प्रतिशतले वृद्धि भएको छ भने फापरको उत्पादनमा सबैभन्दा बढी ७७.८८ प्रतिशतले ह्रास आएको छ । पशुजन्य उत्पादन अन्तर्गत माछा उत्पादन १०.३६ प्रतिशत, मासु ०.७९ प्रतिशत, ऊन उत्पादन ३.२७ र अण्डा १.७६ प्रतिशतले बढेको छ । प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कूल कर्जाको १०.१४ प्रतिशत हिस्सा कृषि क्षेत्रमा प्रवाहित भएको छ । विंस २०८२ असारमसान्तसम्ममा सुदूरपश्चिम प्रदेशमा कृषिमा प्रवाहित कर्जा २०८१ असार मसान्तको तुलनामा ३.४१ प्रतिशतले ह्रास भई १५ अर्ब ९६ करोड ४२ लाख रुपैयाँ पुगेको छ । प्रदेशका अध्ययन नमुनामा समेटिएका उद्योगको औसत क्षमता उपयोग ३४.४७ प्रतिशत छ । समष्टिगत रुपमा मागमा आएको गिरावटले सम्पूर्ण औद्योगिक वस्तुको उत्पादनमा ह्रास आएको देखिन्छ । समीक्षा वर्षको अन्त्यसम्ममा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कूल कर्जाको १६.९७ प्रतिशत हिस्सा उद्योग क्षेत्रमा प्रवाहित भएको छ । सो क्षेत्रमा प्रवाह भएको कर्जा २०८१ असार मसान्तको तुलनामा ४.३७ प्रतिशतले वृद्धि भई २६ अर्ब ७२ करोड ३ लाख रुपैयाँ पुगेको छ । उक्त आवमा नमुनाका रुपमा छनोट गरिएका १० होटलको औसत अकुपेन्सी ३६.४० प्रतिशत रहेको छ । यस्तै, घरजग्गा रजिष्ट्रेसन सङ्ख्या ३७.५० प्रतिशतले बढेको छ भने रजिस्ट्रेसन राजस्व ३७.६२ प्रतिशतले बृद्धि भएको छ । गत असार मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले सङ्कलन गरेको कुल निक्षेप २०८१ असार मसान्तको तुलनामा १६.३० प्रतिशतले बढेको छ । यस्तै, कर्जा प्रवाह २.९८ प्रतिशतले वृद्धि भएको छ । यस्तै, यातायात साधनको दर्ता सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ३५.०७ प्रतिशतले वृद्धि भएको छ । यस प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कूल कर्जाको ७२.८८ हिस्सा सेवा क्षेत्रमा प्रवाहित भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको चालु खर्चतर्फ विनियोजन भएको बजेटमध्ये समीक्षा वर्षमा ७५.६६ प्रतिशत खर्च भएको छ भने पुँजीगत खर्चतर्फ विनियोजन भएको बजेटमध्ये ६६.४७ प्रतिशत खर्च भएको छ ।

मौलाकाली केबलकार पुनः सञ्चालनमा, छिट्टै सर्वसाधारणका लागि खुला गरिने

काठमाडौं । गत भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट बन्द भएको मौलाकाली केबलकार पुनः सञ्चालनमा आएको छ । जेनजी आन्दोलनबाट क्षति पुगेर बन्द भएको केबलकारको दुई महिनापछि परीक्षण सञ्चालन सफल भएको हो । मौलाकाली केबलकार लिमिटेडका स्टेसन म्यानेजर सुरज पौडेलले आइतबार साँझ गरिएको प्राविधिक परीक्षण सफल भएपछि चाँडै नै केबलकार नियमित सञ्चालन गर्ने तयारी गरिएको बताए । केबलकारको अझै केही दिन प्राविधिक परीक्षण गर्ने र केही दिनभित्रै सर्वसाधारणका लागि खुला गरिने पौडेलको भनाइ छ । गैँडाकोट-१ मा रहेको ऐतिहासिक धार्मिक स्थल मौलाकालिका मन्दिरलाई लक्षित गरी गत वर्षको वैशाखबाट सञ्चालनमा आएको केबलकार जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडपछि बन्द भएको थियो । ‘आगजनी र तोडफोडका क्रममा केबलकारको तल्लो स्टेसनमा क्षति पुगेको थियो । क्षतिग्रस्त उपकरणको विस्तृत परीक्षण तथा मर्मतका लागि केबलकार जडान गरिएको अष्ट्रियाको संस्थाबाट विशेष प्राविधिक टोली आएर एक सातासम्म परीक्षण गरेको थियो,’ प्राविधिक परीक्षणपछि क्षतिग्रस्त उपकरणको कमजोरी पहिचान गरी आवश्यक मर्मत सम्भार गरेपछि केबलकार सञ्चालन गरिएको पौडेलले बताए । केबलकारको आन्तरिक परीक्षण पश्चात् सबै ‘सिस्टम’ले स्थिर रूपमा काम गरिरहेको पुष्टि भएसँगै अब केही दिनभित्रै सर्वसाधारणका लागि औपचारिक सञ्चालन गर्ने तयारी गरिएको पौडेलको भनाइ छ । ‘मर्मतपछि केबलकारको सम्पूर्ण प्रणाली प्राविधिक रूपमा सुरक्षित रहेको पुष्टि भएको छ । अब अन्तिम चरणका केही परीक्षण र निरीक्षणपछि पूर्ण क्षमतामा सञ्चालनमा आउनेछ,’ स्टेसन म्यानेजर पौडेलले भने ।  मौलाकालिका मन्दिरका दर्शनार्थी तथा अपर स्टेसनमा रहेको होटलमा जाने यात्रुहरू ढुक्क भएर यात्रा गर्नसक्ने अवस्था भएपछि केबलकार नियमित सञ्चालनमा ल्याइने पौडेलले बताए । मौलाकाली केबलकार लिमिटेडका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनका क्रममा केबलकारमा भएको आगजनी र तोडफोडका कारण ठूलो क्षति पुगेको बताए । उनले आगजनी र तोडफोडबाट केबलकार संरचना तथा उपकरणमा करोडौँ रुपैयाँ बराबरको क्षति पुगेको बताए । जेनजी आन्दोलनपछि केबलकार बन्द हुँदा मौलाकालिका मन्दिर आउने भक्तजनको सङ्ख्यामा कमी आएको जनाइएको छ । धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष सालिकराम सापकोटाका अनुसार पछिल्लो समय मन्दिरमा भक्तजनको उपस्थिति न्यून रहेको छ ।  ‘केबलकार सञ्चलनमा हुने समयसम्म मन्दिर आउने दर्शनार्थीहरू उल्लेख्य रुपमा देखिनुहुन्थ्यो । केबलकार बन्द भएकाले यस वर्ष दसैँको समयमा अपेक्षाकृत रुपमा भक्तजनको उपस्थिति देखिएन,’ उनले भने ।  अब केबलकार नियमित रुपमा सञ्चालनमा आएपछि मन्दिरमा दर्शन गर्न आउने भक्तजन बढ्ने अपेक्षा गरिएको सापकोटाले बताए । पछिल्लो समय यस मन्दिरमा धार्मिकसँगै प्रकृतिमा रमाउने पर्यटक आउने गरेका सापकोटाले बताए । ‘हिउँदका समयमा मन्दिरबाट बिहान मन्दिर मुनी बजार क्षेत्रमा हुस्सु (कुहिरो) र सूर्योदयको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । योसँगै उत्तरतर्फ तनहुँ र गोरखाका रमणीय पहाडसँगै हिमालसमेत अवलोकन गर्न सकिन्छ,’ उनले भने ।  समुद्री सतहबाट ५६१ मिटर उचाइमा रहेको मौलाकालिका मन्दिर नारायणघाट बजारबाट ५ किलोमिटर पश्चिम उत्तरमा पर्छ । 

दरमखोला हाइड्रोको व्यावसायिक उत्पादन सुरु, बर्खामा ९.६ मेगावाट उत्पादन हुने

काठमाडौं । बागलुङको दरमखोला हाइड्रोपावरले व्यावसायिक उत्पादन थालेको छ । विसं २०७७ देखि निर्माण सुरु भएको हाइड्रोपावरबाट आइतबारदेखि व्यवसायी उत्पादन सुरु गरिएको हो । दरमखोला हाइड्रो इनर्जी लिमिटेडमार्फत सञ्चालनमा आएको हाइड्रोपावर गत असोज ३० गते केन्द्रीय प्रसारण लाइनमा जडान गरिएको थियो । विसं २०६५ मा हाइड्रोपावर निर्माण गर्ने भनिए पनि विसं २०७७ देखि मात्रै काम सुरु भएको हाइड्रोपावरको उत्पादन क्षमता ९.६ मेगावाट छ । सुरुमा गोर्खा हाइड्रोपावर कम्पनीले निर्माण गर्ने भने पनि अहिले दरमखोला हाइड्रो इनर्जी प्रालिले जिम्मा लिएको छ । गलकोट नगरपालिका-८ काँडेबासमा ड्याम निर्माण गरी साढे ४ किलोमिटर पश्चिम मनेवापाटामा विद्युतगृह निर्माण गरी विद्युत् उत्पादन सुरु गरिएको हाइड्रोपावरका इञ्जिनियर मिथिलेस चौधरीले जानकारी दिए । बर्खामा ९.६ मेगावाट विद्युत् उत्पादन गर्न सकिने भए पनि हिउँद याममा ६.६ मेगावाट मात्रै उत्पादन भइरहेको इञ्जिनियर चौधरीले बताए । इञ्जिनियर चौधरीले भने, ‘दरमखोला हाइड्रोपावरलाई नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा जोडिएको छ, विद्युत्गृहभन्दा १४ किलोमिटर पूर्वमा रहेको हरिचौर सवस्टेशनमा जोडिएको छ, प्रसारण लाइनमा एक महिना अगाडि नै जोडे पनि व्यावसायिक उत्पादन भने अहिले बल्ल नियमित हुन थालेको छ, बर्खामा ९.६ मेगावाट उत्पादन गर्न सकिने भए पनि अहिले सकिँदैन ।’ हाइड्रोपावर निर्माणको जिम्मा रामेछाप शेर्पा कन्स्ट्रक्सन र क्रिमहाइडल लिमिटेड पाएका थिए । हाइड्रोपावर निर्माण गर्दा विभिन्न अवरोध हुँदा निर्माण सम्पन्न गर्न समय लागेको दरमखोला हाइड्रो इनर्जीका अध्यक्ष नरबहादुर पुनले बताए । सुरुमा गोर्खा हाइड्रोपावर कम्पनीले बनाउने गरी इजाजत पाए पनि उक्त कम्पनीले काम नगरेपछि आफूले सुरु गरेको उनको भनाइ छ । निर्माण सम्पन्न गर्न २ अर्ब रुपैयाँ बढी लगानी भएको अध्यक्ष पुन बताउँछन् । हाइड्रोपावरबाट विद्युत् उत्पादन हुन थालेपछि बागलुङका विकट गाउँ वस्तीमा विद्युत् पुग्ने अपेक्षा लिएको उनको भनाइ छ । ‘दरमखोला हाइड्रोपावर बागलुङमा अहिलेसम्म बनेकामध्ये सबैभन्दा ठूलो हाइड्रोपावर हो, यसको सर्भे धेरै वर्ष अगाडि भए पनि विभिन्न समस्याका कारण अलि ढिला काम थाल्यौँ, यद्यपि अहिले उत्पादन गर्ने स्थितिमा आएको छ,’ अध्यक्ष पुनले भने, ‘१७ वर्ष अगाडि गोर्खा हाइड्रोपार कम्पनीले इजाजत पाएको थियो, त्यसलाई रद्द गरेर हामीहरूले नयाँ कम्पनी बनाएर काम गर्यौँ, अहिले सम्पन्न भएर सकियो ।’

पशुपतिनाथमा आज बाला चतुर्दशी मेला लाग्दै, बिहानैदेखि भक्तजनको लर्को

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने पशुपतिनाथ मेला आज लाग्दैछ । पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको लर्को लाग्छ । त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छरिन्छ । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् । यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा भक्तजनको भीड लाग्छ । बालाचतुर्दशीको अघिल्लो रात मङ्गलबार दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आएर रातभर जाग्राम बस्छन् । मङ्गलबार रातभर दीप दान गरी बसेका भक्तजनले बुधबार बिहानै पितृको सम्झनामा शतबीज छरी बाला चतुर्दशी पर्व मनाउँछन् । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बाला चतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउँछन् । यसरी आएका श्रद्धालु भक्तजनको मङ्गलबार बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्ने गर्छ । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लाग्ने गरेको हो । जाडोको मौसम भएकाले पाललगायत व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् । शतबीज भनिए पनि हाल सप्तबीज ९धान, जौ, तिल, गहँु, चना, मकै, कागुनो० छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पु¥याउन अनुरोध गरिन्छ । धर्मशास्त्रविद् प्रा तोयराज नेपाल शतबीज भन्नाले हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिए अनुसार धानका सय गेडा चढाउनुपर्ने अरु अन्न नभएको बताउँछन् ।  ‘भगवान शिव मृगरूप लिएर घुम्नुभएको पुण्य क्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको छ,’ उनले भने । बागमती किनारको मृगस्थलीमा भगवान शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान शिवलाई पार्वतीले चिन्न सकेको किम्वदन्ती छ । यसैगरी बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि छ । सो कथाअनुसार उहिले पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको थियो । सो गिदीसँगै च्युरा खाँदा झन् मीठो भएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्किए । त्यसपछि मानिसको गिदी खाने तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एकजना थकाली बुढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंहमार्फत उसलाई मार्न लगाएको कथा पनि प्रचलित छ । आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिएका थिए । मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवङ्गत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको हो । माता, पिता दिवङ्गत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रुपमा दीपदान एवं शतबीज रोपण गर्न नहुने धर्मशास्त्रविद् नेपालले सुनाए । धर्मसिन्धु नामक ग्रन्थमा बरखी बारेकाले शिवको पूजाआजा त परको कुरा नामसमेत लिनु नहुने उल्लेख गरिएको छ । यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ ।

कपिलवस्तुको विद्यालयमा चार लाखभन्दा बढी हिनामिना गरेको आरोपमा प्रधानाध्यापक र अध्यक्षविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित श्री विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार छात्रवृत्ति, दिवा खाजा र पाठ्यपुस्तक शीर्षकमा आएको कुल रकममध्ये ४ लाख ४३ हजार ४३० रुपैयाँ ७० पैसा हिनामिना भएको पाइएको हो ।  उनका अनुसार आयोगले अनुसन्धानका क्रममा छात्रवृत्तिका लागि निकासा भएको ५१ हजार ६०० मध्ये कुनै पनि विद्यार्थीलाई वितरण नगरेको, दिवा खाजाका २ लाख ४७ हजार ५० मध्ये केवल ९ हजार ९०० बराबरको खाजा मात्र खुवाएको र बाँकी २ लाख ३७ हजार १५० दुरुपयोग भएको देखिएको छ । यसैगरी पाठ्यपुस्तक शीर्षकमा प्राप्त १ लाख १६ हजार ७२९ मध्ये केवल १ हजार ७६४ रुपैयाँ ४० पैसा बराबरको पुस्तक खरिद गरी तीन विद्यार्थीलाई वितरण गरिएको र बाँकी रकम निकासाअनुसार खर्च नभएको आयोगको अनुसन्धानबाट खुलेको हो ।  सामाजिक सुरक्षा कर ३९ हजार सात सय १४ रुपैयाँ ९५ पैसा समेत  दाखिला नगरी हिनामिना गरिएको आयोगद्वारा दायर गरिएको आरोपपत्रमा उल्लेख गरिएको छ ।  आयोगले दुवैजनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, जरिवाना र दुरुपयोग गरेको सम्पूर्ण रकम असुल–उपर गर्न मागदाबी लिइएको छ ।   

केपी ओलीले बनाइदिएको क्रिकेट स्टेडियम जुँगा मुसार्दै कुलमान घिसिङले उद्घाटन गर्नुभयोः महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेत केपी ओलीले निर्माण गरेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको कुलमान घिसिङले जुँगा मुसार्दै उद्घाटन गरेको बताएका छन् ।  राष्ट्रिय युवा संघ नेपालले सोमवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।  केपी ओलीले बनाइदिएको क्रिकेट स्टेडियम सामाजिक सञ्जालमा आफूलाई हिरोको रूपमा प्रस्तुत गर्ने कुलमान घिसिङले जुँगा मुसार्दै उद्घाटन गरेको उनको टिप्पणी छ। बस्नेतले एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएपछि पहिलो निर्णय नै क्रिकेट रंगशाला बनाउने गरेको उल्लेख गरे । क्रिकेट स्टेडियम तीव्र गतिमा बनाउने लक्ष्य लिएपनि तोकिएको समयभन्दा अलि ढिलो हुन गएको उनको भनाइ छ । सहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार साँझ स्तरोन्नति गरिएको त्रिवि मैदानको उद्घाटनसँगै नेपाल क्रिकेट संघ (क्यान)लाई हस्तान्तरण गरेका थिए ।  क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कासम्मले नैतिक हिसाबले कुलमानको उद्घाटनलाई व्यङ्ग्य हुनेगरी वक्तव्य दिएको बस्नेतको दाबी छ ।  उनले रानीपोखरी, सुरुङमार्ग लगायतका विकास निर्माणका कार्य केपी ओलीले गरेको दावीसमेत गरे ।

स्वास्थ्य सेवाबाहेक अन्यत्र एम्बुलेन्स प्रयोगमा ल्याए स्वास्थ्य मन्त्रालयले कारबाही गर्ने

काठमाडौं । स्वास्थ्य संस्थाका नाममा उपलब्ध गराइएका एम्बुलेन्स अस्पताल पूर्वस्वास्थ्य सेवाबाहेक अन्यत्र प्रयोगमा ल्याइए कानुनी कारबाहीदेखि खारेजीसम्म हुनसक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइले सोमबार एक सूचना जारी गर्दै हाल विभिन्न जिल्लामा एम्बुलेन्स सेवा दुरुपयोग, व्यापारिक रूपमा प्रयोग तथा निर्देशिका विपरीत सञ्चालन गरिएको गुनासो बढेपछि मन्त्रालयले ध्यानाकर्षण गराएको हो । एम्बुलेन्स सेवा निर्देशिका, २०८२ मा एम्बुलेन्स पैठारीमा राजश्व छुट, सञ्चालन अनुमति नवीकरण, अनुगमन तथा अनुमति खारेजका प्रावधान स्पष्ट रूपमा व्यवस्था गरिएकाले उक्त निर्देशिका कडाइका साथ पालना गर्न सबै स्वास्थ्य सेवा प्रदायक, एम्बुलेन्स सञ्चालक, एम्बुलेन्स व्यवस्थापन समिति तथा सुरक्षाकर्मीलाई मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयले भारतीय दूतावासबाट आवश्यक परमिट प्राप्त गरी पूर्ण रूपमा मापदण्ड पूरा गरेका एम्बुलेन्सलाई मात्र भारत आवत–जावत गर्न अनुमति दिइने र १० वर्षभन्दा बढी समय पूराएका एम्बुलेन्स सञ्चालन भएको पाइएमा सञ्चालन अनुमति दर्ता खारेज हुन सक्ने व्यवस्था रहेको जनाएको छ ।  

प्रधानमन्त्रीलाई खुला पत्र: 'एउटा गोली खर्चने आदेश होस्, म छाती थाप्न तयार छु'

सम्माननीय प्रधानमन्त्री ज्यू,                अभिवादन ! सुरुमा त मुलुकको प्रथम महिला प्रधानमन्त्री बन्न सफल यहाँलाई हार्दिक बधाईसहति कार्य सफलताको शुभकामना ।   म जिउँदो लास बाँचिरहेछु । केही गर्न पनि नपाइने र मर्न पनि नपाइने स्थितिमा जिउँदो लास बाँच्नुको विकल्प नै के हुन्छ र ? म आज जे भोगिरहेछु सत्य, निष्ठा र इमानदारिता बापतको सजाय भोगिरहेछु । गल्ती गर्ने पो फरार हुन्छन्, म किन भाग्नु ? असल नागरिकले कानुनको पालना गर्नुपर्छ र अनुसन्धानलाई सघाउनुपर्छ भन्ने सोचको परिणाम भोगिरहेछु । सहकारीको सदस्य हुनु नै अपराध हो र ? हो भने यस्ता सबै आपराधिक संस्था बन्द गरिदिए भो । होइन भने मलाई यो कलङ्कको टीका लगाएर किन थुनियो ? मैले कहाँ कसरी कति ठगेँ ? अनुसन्धान गर्ने निकायले २२ महिना बितिसक्दा पनि किन स्पष्ट जवाफ दिन, अनि पुष्टि गर्न सक्दैन ? यसका लागि अझै कति समय लाग्ने हो अनुसन्धानमा उत्कृष्ट ठहरिएको नेपाल प्रहरीलाई ? मित्रमिलन सहकारीका नाममा निजी कम्पनीका रुपमा सञ्चालित संस्था थियो । यसका मालिकहरु वि.सं.२०७९ मङ्सिरमै भागेर सात दिनपछि सम्पर्कमा आई सम्पूर्ण जिम्मा लिन्छौं भनि वकिलको मध्यस्थतामा साक्षी राखि कागज गरेको अवस्था हो । कोरोनालाई बाहना बनाएर तिनले व्यक्तिगत स्वार्थ पूरा गर्न मनपरी गर्दा संस्था/बचतकर्ताले वर्तमान स्थिति भोग्नु परेको कुरा घामजस्तै छर्लङ्ग छ । वित्तीय विश्लेषकले प्रस्तुत गरेको छानबिन प्रतिवेदनले पनि सोही कुरा पुष्टि गर्छ । सायद किनकि फर्जी खाता खोलेर कारोबार गरेको देखाउन अरुबाट सम्भवै हुन्न ।  संस्थाको सिस्टममा मजस्ता सदस्यको पहुँच हुने कुरै भएन । ढुकुटीको चाबी लिनेहरु अन्य सहकारीको झै यसमा फरार थिएनन्/छैनन् । यति हुँदाहुँदै फैसला गर्न आलटाल गर्नुको कारण के हो ? मजस्ता भुँइमान्छेलाई बिना कारण थुनेर राज्यलाई के लाभ छ ?  यहाँजस्तो कछुवा गतिको न्याय प्रक्रिया संसारका विरलै देशमा होला । अनिर्णयको बन्दी बनाएर म र म जस्ता सामान्य नागरिकलाई थुनेर राज्यले के कुरा प्रमाणित गर्न खोजेको हो ? कहाँ, कसरी कस्ले कुन रुपमा अनुसन्धान गर्नु पर्ने हो छिटो गरि निष्पक्ष र प्रभावकारी अनुसन्धान होस् । दोषी प्रमाणित भए ममाथि एउटा गोली खर्चने आदेश होस्, म छाति थाप्न तयार छु । सिदा खाएर राज्यलाई भार थप्नुभन्दा धर्तीबाट बिदा दिनु उचित होला ।  प्रधानमन्त्रीज्यू , म पीडक नभई पीडित र ठगिएको पात्र हुँ । शेयर हाल्दा २० प्रतिशत प्रिमियमसहित पैसा राखेको, शेयर थप गर्दा २ प्रतिशत शुल्क बुझाएको, पसल गर्न कर्जा लिँदा ४ प्रतिशत सेवाशुल्क र १६ प्रतिशत ब्याजसहित २४ महिनामा चुक्ता गर्नु पर्ने रकम २० महिनामै बुझाएको र वि.सं २०७९ चैतमै राजीनामा दिएको स्थिति हो । वि.सं २०८१ साउनमा मिलापत्र गर्ने भनि पैसा हाल्न दबाब दिएको र मिलापत्र भए ६ महिना र नभएमा १५ दिनमा फिर्ता गर्ने सर्तमा ५ लाख रुपैयाँ ऋण खोजी हालेको हुँ । यसरी मेरो झण्डै १० लाख रुपैयाँ सहकारीमा फसेको छ ।  मैले कहीँकतै गलत ठाउँमा हस्ताक्षर गरेको छैन । कोही कसैको धन जमानी बसेको, कुनै लाभ लिएको छैन भने म कसरी सहकारी ठग भएँ । कुन आधारमा मुद्दा चलाएर थुनियो । दैनिक मजदुरी गरेर गुजारा चलाएको मलाई थुनेर कसलाई कस्तो न्याय दिन खोजिएको हो ? कसैलाई न्याय दिने नाउँमा अरु कसैप्रति अन्याय गर्नु पक्कै न्यायोचित होइन होला । मलार्ई ढिलो न्याय दिनु पनि अन्याय हो, मरिसकेपछिको औषधी हो भन्ने लाग्छ । मनमा अलिकति बचेको देशप्रेम र मानवता सकेर सामान्य मान्छेलाई अपराधी बनाउने गल्ती राज्यले नगरोस् भन्ने हो ।    प्रधानमन्त्रीज्यू, नागरिकको मौलिक हक खोसेर कुनै व्यक्तिले गरेको गल्तीको सजाय अन्य व्यक्तिलाई दिनु पक्कै उचित नहोला । समान पदमा रहेका र समान मुद्दा लागेका व्यक्ति ६ महिनापछि अदालतमा पेस हुँदा धरौटीमा छुट्न मिल्नु र अर्कोलाई पुर्पक्ष भन्दै वर्षौ थुन्नुलाई कसरी बुझ्ने ? यी र यस्तै घटनाका कारण न्यायालयको निष्पक्षतामाथि प्रश्न उठ्नु अस्वभाविक हो र ? न्यायालयमा रहेर लामो समय कार्यसम्पादन गरिसक्नु भएकी हजुरलाई मैले नेपालको न्याय सम्पादन बारे जनाइराख्नु नपर्ला । बिना कसुर भोग्नै नपर्ने सजाय मैले भोगिसकेको छु ।  जेनजी आन्दोलनले निम्त्याएको असहज परिस्थितिका कारण अहिले म कारागार कास्की बाहिर छु । कानुनको सम्मान गर्दै अनुसन्धानमा सघाउनुपर्छ भन्ने सद्विचार राखेर सहज फर्किदा उही अनिर्णयको बन्दी बनेर कष्ट भोग्नुपर्ला भन्ने भयले पिरोलेको छ । २२ महिना थुनिँदा भएको क्षति, ममा आश्रित वृद्ध आमा र बालबच्चाको दयनीय अवस्था, मानसिक पीडा असीमित छ । एउटा निर्दोष मान्छेलाई सबै हिसाबले सकेर समय घर्केपछि दिने नाम मात्रको न्यायको कुनै अर्थ रहँदैन । तसर्थ शीघ्रातिशीघ्र फैसला गरी न्याय निरुपण गर्न वा वर्तमान् अवस्थामा सो सम्भव नभए साधारण तारेख/धरौटीमा छाडेर गरिखान दिन र कानुनी राज्यको प्रत्याभूति गराउन जोडदार माग गर्दै सकारात्मक पहल गरिदिनुहुन सादर अनुरोध गर्दछु ।                   गोपाल खनाल कास्की