विकासन्युज

डिसहोमको दशैं तिहार योजनामा ग्राहकलाई तीन हजारको छुट

काठमाडौं, २९ भदौ । डिसहोमले नेपालीहरु माझ ‘‘ यो उत्सब डिस होमले बन्छ महाउत्सव’’ नामक उपहार योजना ल्याएको छ । कम्पनीले महान चाड बडादशैं तथा तिहार हर्षोल्लासका साथ मनाउने उद्देश्यले सो योजना ल्याएको हो । उक्त योजना अन्तर्ग ग्राहकहरुले ५ हजार ९ सय ९९ रुपैयाँ पर्ने डिसहोमको हाइब्रिड एसडि कनेक्सन खरिद गर्दा ३ हजार रुपैयाँ प्राप्त गरी २ हजार ९ सय ९९ रुपैयाँमै जोड्न सक्ने छन् । डिसहोमले हाल बजारमा बिक्री गरिरहेको हाइब्रिड एसडि सेट टप बक्समा भरी छुट प्रदान गरेको हो । डिस होमले हरेक वर्ष दशैँ र तिहारमा ग्राहकलाई आकर्षक ग्राहक योजना प्रदान गर्दै आएकोमा यो वर्ष भने अघिल्ला बर्षहरुको तुलनामा यति ठूला छुट प्रदान गरेको पहिलो पटक हो भनि यस कम्पनीका नायव महाप्रवन्धक कल्याण अधिकारीले बताएका छन् । ‘‘हामी ग्राहकहरुलाई सर्वसुलभ मूल्यमा यति गुणस्थरीय सेवा नेपालभर पुर्याउन सफल भएका कम्पनी हौं । बजारमा हाल बिक्री भइरहेका ठूला साइजका एलइडी टेलिभिजनहरुमा टिभी हेर्नका लागि डिसहोमको विकल्प छैन ।’’ उनले बताए । स्याटलाइट प्रविधिमा आधारित नेपालको एक मात्र डिटिएच सेवा प्रदायक डिस होमले नेपाल रहेका ग्राहकहरुमाझ गुणस्तरीउ सेवा प्रदान गर्दै आएको छ । सहर बजारदेखि ग्रामीण भेगमा बस्ने नेपालीलाई आफ्नो रोजाई अनुसारको एचडी तथा एस डी प्याकेज प्रदान गर्ने यो कम्पनी नेपालको भौगोलिक बनावठमा उपयुक्त रहेको हुनाले जुनसुकै ठाउँमा पनि सहजै जडान गर्न सकिन्छ । ध्वनी र दृश्य दुबै गुणस्तरीय भएको डिसहोमले सम्पूर्ण नेपाली च्यानलका साथमा अति लोकप्रिय विदेशी च्यानलहरु प्रसारण गर्दै आएको छ । डिसहोमले दिने सेवामा हरेक दिन नयाँ नयाँ नेपाली सिनेमा प्रदान गर्ने प्लस मूभि च्यानल, विद्धार्थीहरुका लागि एजुकेसन च्यानल तथा इन्टरटेन्टमेन्ट च्यानल समेत रहेका छन् ।

विदेशी नागरिकले नेपालमा पाएको तलब भत्ता डलरमै लान पाउने, स्वीकृतिको लागि राष्ट्र बैंक धाइरहनु नपर्ने

काठमाडौं, २९ भदौ । नेपालमा कार्यरत विदेशी कर्मचारी र कामदारले अमेरिकी डलरमै आफ्नो तलब तथा ज्याला लान पाउने भएका छन् । यसअघि औद्योगिक ब्यवसाय ऐनको दफामा टेकेर राष्ट्र बैंकको स्वीकृति पछि त्यस्ता ब्यक्तिले परिवत्र्य विदेशी मुद्रा लाने गरेकोमा अवभने निश्चित कागजात देखाएर बैंक तथा वित्तीय संस्थावाट सहजै लान पाउने भएका हुन् । नेपाल राष्ट्र बैंकले विदेशी नागरिकले नेपालमा काम गरेवापत पाउने पारिश्रमिक, ज्वाला तथा तलबभत्ताको ७५ प्रतिशत रकम परिवत्र्य विदेशी मुद्रामा लान पाउने ब्यवस्था गरेको छ । ‘कुनै फर्म, कम्पनी तथा संस्थामा कार्यरत तेस्रो मुलुककका विदेशी नागरिकले रोजगारदातासँग गरेको करारमा उल्लेखित तलब भत्ता तथा अन्य सुविधा वापतको रकममा प्रचलित कानुन बमोजिम कर कट्टी पछि हुन आउने रकमको बढीमा ७५ प्रतिशतसम्म परिवत्र्य विदेशी मुद्रामा सम्बन्धित मुलुकमा पठाउन सकिने छ,’ राष्ट्र बैंकले जारी गरेको परिपत्रमा उल्लेख गरिएको छ । यसरी रकम पठाउनको लागि सम्बन्धित ब्यक्तिको निवेदन, रोजगारदाता फर्म कम्पनी तथा संस्थाको सिफारिसपत्र, श्रम विभागको श्रम स्वीकृति पत्र, कर्मचारी परिचयपत्र र नियुक्तिपत्र/सम्झौतापत्र, पारिश्रमिक कर तिरेको प्रमाणपत्र वा भौचरको प्रतिलिपी र भिसा बहाल सम्बन्धि प्रमाण पेश गर्नुपर्ने छ । यति कागजात प्राप्त गरिसकेपछि सम्बन्धित बैंक वित्तीय संस्थाले नै परिवत्र्य विदेशी मुद्रा सटही गरिदिन सक्ने ब्यवस्था राष्ट्र बैंकले मिलाएको छ ।

अबदेखि प्रत्येक दिन सिआरआर ७० प्रतिशत हुनै पर्ने

काठमाडौं, २९ भदौ । बैंक तथा वित्तीय संस्थाहरुले अवदेखि दैनिक रुपमा अनिवार्य नगद मौज्दातको ७० प्रतिशत रकम राख्नै पर्ने भएको छ । यसअघि साप्ताहिक रुपमा त्यस्तो रकम पुर्याउदा पनि हुने ब्यवस्था थियो । चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत गरिएको परिवर्तनलाई राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको हो । चालु आर्थिक बर्षको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले राख्नु पर्ने अनिवार्य नगद मौज्दात (सिआरआर) को ७० प्रतिशत रकम दैनिक रुपमै पुग्नु पर्ने ब्यवस्था गरेको थियो । यसअघि ७ दिनमा गणना गर्ने गरिएकोमा अव भने १४ दिनमा सिआरआर गणना हुनेछ ।

अर्थसमितिले सरकारलाई भन्योः सबै नेपालीको स्वास्थ्य बीमा गराउनु

काठमाडौं, २९ भदौ । ब्यवस्थापिका संसदको अर्थसमितिले सवै नेपालीको स्वास्थ्य बीमा अनिवार्य गर्न सरकारलाई निर्देशन दिएको छ । बुधवार बसेको समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । समितिले न्यूनतम रकम बराबरको सरकारले बजेट ब्यवस्था गरेर बीमा शुल्क तिरिदिने र सो भन्दा बढी रकमको योगदानमा आधारित बीमा गराउन निर्देशन दिएको हो । ‘राज्यसत्तको माथिल्लो तहमा पुगेका ब्यक्तिले राज्यकोषवाट रकम समेत लिएर उपचार गराउने र गरिब नेपाली उपचार नपाएर मर्ने अवस्था आउन दिनु भएन, सरकारले बजेट ब्यवस्था गरेर सवै नेपालीको निश्चित रकमसम्मको स्वास्थ बीमा अनिवार्य गर्ने ब्यवस्था मिलाउनु,’ सभापति ज्वालाले बैठकको निर्णय सुनाउदै भने । सरकारले केही बर्ष अगाडिदेखि नै पाइलट प्रोजेक्टको रुपमा स्वास्थ्य बीमा गराउदै आएको छ । गत आर्थिक बर्षसम्ममा ३ जिल्लामा नमुनाको रुपमा यो कार्यक्रम संचालन गरिएको थियो । चालु आर्थिक बर्षमा थप २० जिल्लामा यो कार्यक्रम संचालन गर्ने भनिएको छ । समितिले भने सो कार्यक्रम विस्तार गरेर ७५ जिल्लामा नै संचालन गर्न निर्देशन दिएको हो ।

मलेसिया जाने कामदारसँग एक अर्ब ३९ करोड ठगी, मजदुरबाट दैनिक ३८ लाख लूट

काठमाडौं २९, भदौ । वैदेशिक रोजगारीका नाममा विभिन्न व्यवसायीक संस्थाले दिएको मजदुर सेवाका नाममा वार्षिक एक अर्ब ३९ करोड ठगी भइहरेको छ । मलेसिया जाने कामदारका नामा हुने बायोमेट्रिक मेडिकल, माईग्राम्स्, भिएलएन नेपाल ओएससीका नाममा विभिन्न व्यवसायीक सेवा प्रदायकले ठग्दै आएको यस्तो रकम दैनिक ३८ लाख रुपैयाँ रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले बताएका छ । संघका अध्यक्ष बिमल ढकालका अनुसार नेपाली यूवाको आकर्षक गन्तव्य मानिएको मलेसिया जाने कामदारको नाममा मात्रै सरकारले झण्डै डेढ अर्ब रुपैयाँ ठगी गर्न दिइरहेको छ । यो ठगी गर्ने काम र मजदुरबाट पैसा उठाउने काम तत्काल बन्द गर्न नेपाल सरकारलाई ध्यानाकर्षणसहितको मागपत्र पेश गरेको ढकालले जानकारी दिएका छन । संघका अध्यक्ष ढकालले मलेसियाको बैदेशिक रोजगारीमा जाँदा हुने यो ठगी तत्काल बन्द गर्न मागसहितको चारसूत्रीय मागपत्रलाई सार्वजनिकसमेत गरेको छ । संघका अनुसार मजदुरलाई अनावश्यक खर्च गर्न लगाउँने कार्य बन्द गर्नुपर्छ । संघले दिएको जानकारी अनुसार बायोमेट्रिकका नाममा वार्षिक ४५ करोड, माईग्राम्स्मा ३२ करोड, भिएलएनका नाममा अर्को ३२ करोड, ओएससीका नाममा ३० करोड गरी वार्षिक एक अर्ब ३९ करोड रुपैयाँ मजदुरबाट ठगी भइरहेको उल्लेख छ । केकेमा भइरहेको छ ठगी वायोमेट्रिक मेडिकलमा ४५ करोड संघका अनुसार वायोमेट्रिक मेडिकल प्रणाली परीक्षणका रुपमा सफ्टवेर अनलाईन प्रणाली निःशुल्क हुनुपर्ने नेपाल सरकारको २०७२ असार २५ को निर्णय रहेको छ । यो निर्णय अनुसार प्रति कामदार २६ सय ५० रुपैयाँ शुल्क लिएर बढीमा ६ महिनासम्मलाई वायोमेट्रिक मेडिकल प्रणाली लागू गर्न दिइएको थियो । यो समय सकिएको ८ महिना भैसकको भएपनि यो सेवा दिने विभिन्न ३९ वटा संस्थाले प्रतिकामदार ४५ सय रुपैयाँ अशुल गरिरहेका छन् । यो सेवामा ३९ वटा मेडिकल संस्थाले सिन्डिकेट लागू गरेर अबैधानिक तरिकाले स्वस्थ्य परिक्षण गरी वार्षिक ४५ करोड रुपैयाँ ठगी गरिरहेका छन् । माईग्राम्स्मा ३२ करोड बायोमेट्रिक मेडिकल अन्तरगतकै माईग्राम्स् नामक संस्थाले २०७३ को बैशाख १९ देखि कामदारसँग शुल्क अशुलीरहेको छ । मलेसियाकै मे बैंकबाट प्रति कामदार ३० अमेरिकी डलर अर्थात ३२ सय रुपैयाँ माईग्राम्स शुल्क लिइरहेको छ । यस्तो शुल्क वर्षिक ३२ करोड हुने र यो अनावश्क रुपमा मजदुरबाट अशुल भइ ठगी भइरहेकोले पनि उल्लेख छ । यो माईग्राम्स् प्रणाली नै बन्द गराएर यो शुल्क ठगी हुनबाट बचाँउन सरकारसँग संघले अनुरोध गरेको छ । भिएलएन नेपालका नाममा ३२ करोड मलेसिया जाने कामदारका नाममा पेपर भिसा प्राप्त भएपश्चात पुल्चोकमा रहेको मलेसियन दूतावासबाट सात सय रुपैयाँमा नै भिसा स्टीकर टास्ने गरेको छ । तर, यो स्टीकर टाँस्ने प्रोसेसका नाममा भिएलएन नामक संस्थाले प्रति कामदार ३२ सय रुपैयाँ लिने गरेको छ । अनावश्यक रुपमा भिसा प्रोसेसिङका नाममा उठाइने यस्तो शुल्क वार्षिक ३२ करोड रुपैयाँ हुने गरेको छ । यो रकम ठगी गर्ने भिएलएन नामक संस्था नै खारेज गर्नुपर्ने माग संघको छ । ओएससीका नाममा ३२ करोड मलेसियन कामदारलाई पेपर भिसा प्राप्त भएपछि इजाजत प्राप्त व्यवसायीले राहदानी भिसा टाँस गर्न मलेसियन दूतावास लैजाने गरेका छन् । तर, पछिल्लो समय (अन स्टेप सेन्टर)ओएससी नामक संस्थाले लाजिम्पाटमा कार्यालय खोलेर पेपर भिसा संकलनको काम गर्ने र दूतावासमा डेलिभरी गर्ने नाममा प्रति कामदार अर्को ३२ सय रुपैयाँ ठगी गरिरहेको छ । कामदारसँग सरोकार नै नराख्ने यो कम्पनी पनि बन्द गरेर ठगी भएको रकम अशुल उपर गर्नुपर्ने माग संघको छ । संघले तत्काल कामदारका नाममा तथा वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी निन्त्रण गर्न तथा त्यस्ता गतिविधि गर्ने संस्थालाई कारवाही गर्न माग गरेको छ ।

स्याउ नबिकेपछि भैसीलाई, किसानको आम्दानी शून्य

काठमाडौं २९, भदौ । तपाईँ अचेल बाजुराको जुकोट पुग्नु भएको छ भने अनौठो नमाने हुन्छ। त्यहाँका बस्तुभाउ धमाधम स्याउ खाइरहेका भेटिन्छन् । पोहोरभन्दा दोब्बर उत्पादन भएपछि गाउँभरि स्याउकै छेलोखेलो छ । बिक्रीका लागि बजार भने छैन । बेच्न नपाएर स्याउका दाना बारीमै कुहिन थालेपछि किसानहरू चौपायालाई खुवाउँन थालेको छन् । जुकोटमा अधिकांश परिवारका दुई ४ सय वटासम्म स्याउका बोट छन् । लटरम्म फलेका दानाले स्याउबारी राताम्मे देखिन्छन् । बजार पुर्‍याउन सके स्याउबाटै लाखौं रुपैयाँ आम्दानी गर्न सक्ने यहाँका किसानहरूको आम्दानी भने शून्य बराबर छ । भूपेन्द्र शाहीको बारीमा ४ सय बोटमा लटरम्मै छन् । तर उनले अहिलेसम्म स्याउ बेचेर मुस्किलले सय रुपैयाँ कमाएका छन्। ‘गाउँतिर स्याउ किन्ने कोही छैन,’ उनले भने, ‘कुहिने अवस्था आएपछि गाईभैंसीलाई खुवाउनुपरेको छ ।’ यति बेला जुकोट पुग्ने छरछिमेक र इष्टमित्रले बोक्न सकेजति सित्तैमा पाउँछन् । अपरिचित र किन्न चाहनेले डेलिसस, पञ्चमुखे, गोल्डेनलगायत जातका स्याउ रोजीरोजी रुपैयाँका ५ दाना पाउँछन् । सदरमुकाम पुर्‍याउन सके त्यही स्याउ दानाको २० रुपैयाँसम्म पर्छ । यहाँका किसानले स्याउ बिक्री गर्नुपरे लगभग एक दिन टाढा पर्ने कोल्टी वा दुई दिन लाग्ने सदरमुकाम मार्तडी पुर्‍याउनुपर्छ त्यती परसम्म किसानले डोकोमा पुर्‍याउन सक्दैनन् । भरिया खोजेर डोकोमा स्याउ पठाउँदा ज्याला बढी लाग्नेने उनीहरू बताउँछन् । जुकोटमाथि देबाले र सैदेवो लेकमा मात्रै स्थानीयका स्याउबारी छन् । स्याउ खेती गर्ने परिवार संख्या ७० भन्दा बढी छ । त्यहाँबाट गाउँमा ओसार्न पनि केही घण्टा लाग्छ। गाउँमा कोल्डस्टोरसमेत नभएकाले स्याउ भण्डारण गर्न सकिँदैन । समाचार तथा तस्बिर स्रोतःकान्तिपुर दैनिकबाट ।

प्रमको भारत भ्रमण टोलीमा १ सय १६ जना

काठमाडौं २९, भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारी, व्यापारी र मिडिया समेत गरी १ सय १६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार भारतको ४ दिने राजकिय भ्रमणमा निस्कने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेका हुन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मंगलबारसम्म प्रधानमन्त्रीको भारत भ्रमणमा जाने टोलीमा ५० जना सरकारी प्रतिनिधिहरु, ३३ जना उद्योगीरव्यापारी र ३३ जना संचारकर्मीको नाम स्विकृत भएको छ । सरकारी प्रतिनिधिमण्डलमा रहेका ५० जनामध्ये ८ जना नयाँदिल्ली स्थित नेपाली दूतावासका कर्मचारी रहेका छन् भने बाँकी ४२ जना काठमाडौंबाट प्रधानमन्त्रीसँगै जानेछन् । ‘प्रधानमन्त्रीज्यूको आसन्न भारत भ्रमणमा जाने नेपाली प्रतिनिधिमण्डलमा सरकारी, नीजि क्षेत्र ९उद्योगीरव्यापारी० र संचारकर्मी समेत गरी १ सय १६ जनाको नाम स्विकृत भएको छ,’ स्रोतले भन्यो, ‘भारत प्रस्थान गर्ने बेलासम्म एकरदुई जना नाम थपघट हुनसक्छ ।’ प्रधानमन्त्रीसँगै भारत प्रस्थान गर्ने नेपाली प्रतिनिधिमण्डलको नाम मन्त्रिपरिषद बैठकले अन्तिम स्वीकृत गर्न भने बाँकी छ । स्रोतका अनुसार सरकारी प्रतिनिधिमण्डलमा परेका ५० जनाको मात्र सम्पूर्ण खर्च सरकारले व्यहोर्ने छ । यसमध्ये नयाँदिल्लीस्थित नेपाली दूतावासबाट सहभागी हुने कर्मचारीको स्थानिय खर्च मात्र सरकारले व्यहोर्ने छ । प्रतिनिधिमण्डलमा सहभागी गराईएका ३३ उद्योगीरव्यापारी र ३३ संचारकर्मीको खर्च भने उनीहरु स्वयमले व्यहोर्नेछन् । प्रधानमन्त्री दाहालको भदौ ३० देखि असोज २ गतेसम्म हुने भारत भ्रमणमा उनीसँगै दुई जना मन्त्री र ५ जना सचिव पनि जानेछन् । प्रधानमन्त्रीसँगै भारत भ्रमणमा जाने मन्त्रीहरुमा परराष्ट्र मन्त्री प्रकाशशरण महत र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक छन् । यस्तै, परराष्ट्र सचिव शंकर दास वैरागी, उर्जा सचिव अनुपकुमार उपाध्याय, बाणिज्य सविच ङइन्द्रप्रसाद उपाध्याय, भौतिक पूर्वाधार तथा यातायात सचिव धनबहादुर तामाङ र प्रधानमन्त्री कार्यालय सचिव पनि प्रधानमन्त्रीको भारत भ्रमणमा रहनेछन् । वैद्य माओवादी अब चुनावमा तीन वर्षअघि संविधानसभा चुनाव बहिष्कार गरेको मोहन वैद्य नेतृत्वको नेकपा ९क्रान्तिकारी माओवादी० ले चुनावमा भाग लिने भएको छ। आफ्नो दल निर्वाचन आयोगमा भने दर्ता नगर्ने उसको जिकिर कायमै छ। देशभक्त जनगणतान्त्रिक मोर्चाका नाममा चुनावमा भाग लिने तयारीमा पार्टी लागेको  छ। वैद्य माओवादीका वरिष्ठ नेता सीपी गजुरेल अध्यक्ष र परी थापा सचिव रहेको देशभक्त जनगणतान्त्रिक मोर्चाका पदाधिकारीमा कमल चौधरी, केबी गुरुङ, पवनमान श्रेष्ठ, श्रीनाथ अधिकारी, नगेन्द्र राई, केसबहादुर परियार सदस्य छन्। यी सबै वैद्य माओवादीका केन्द्रीय समितिमा रहेका नेता भएको मोर्चा अध्यक्ष गजुरेलले बताए । गजुरेलले निर्वाचन घोषणा भएमा त्यसलाई उपयोग गर्दै अघि बढ्ने बताए । ‘हाम्रो पार्टी निर्वाचन आयोगमा दर्ता हुँदैन, पार्टीको नाममा निर्वाचनमा जाने निर्णय पनि छैन,’ उनले भने, ‘तर चुनाव घोषणा भएको परिस्थितिमा भने मोर्चाका नाममा निर्वाचनमा भाग लिने निर्णय हाम्रो हो ।’ गजुरेलले महँगी, कालोबजारी, भ्रष्टाचार, बेरोजगारी मुद्दा उठाउने बताए । उनले राष्ट्रवादी उभार ल्याउन काम गर्ने घोषणा गर्दै जनजीविकाको मुद्दा उठाइरहने मोर्चाको लक्ष्य रहेको बताए। मोर्चालाई पार्टी संगठनकै संरचनामा उभ्याउने वैद्य माओवादीको तयारी छ । केन्द्रदेखि गाउँसम्मै चुनावी संरचना बनाए पनि आगामी चुनावमा भाग लिने कि नलिने भन्ने निर्णय त्यही बेला लिने गजुरेलले बताए । ‘यो विषय विल्कुलै कार्यनीतिक प्रश्न हो, चुनावमा प्रभावकारी उपस्थिति जनाउन मोर्चालाई निर्वाचन आयोगमा दर्ता गर्न लागेका हौं,’ उनले भने, ‘हामीले भनेजस्तो भएन भने बहिष्कार गर्नलाई पनि यो संरचना काम लाग्नेछ।’ माओवादी केन्द्रका आठ सांसदलाई सीआईबीको ‘क्लिन चिट’ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अवैध मानव ओसारपसार र सरकारी कागजपत्र किर्तेमा जोडिएका माओवादी केन्द्रका ८ सांसदलाई ‘क्लिन चिट’ दिएको छ । ‘पक्राउ परेका दिनेश खड्काको बयानमा सांसदको संलग्नताबारे नखुलेको र मुख्य आरोपित शेरबहादुर साउद फरार रहेको’ भन्दै ब्युरोले आठै जनालाई उन्मुक्ति दिएको हो । खडका र साउद सांसदहरूलाई स्पेन लैजान सघाउने व्यक्ति हुन् । खड्का पक्राउ परेपछि ब्युरोले उक्त प्रकरणमा जोडिएका माओवादी केन्द्रका आठै सांसदको बयान लिएको थियो । प्रहरीले साउद र खडकालाई आरोपित बनाउँदै बुझाएको प्रस्तावित रायसुझावका आधारमा काठमाडौं जिल्ला अदालतमा पाँच दिनअघि अवैध मानव ओसारपसारको साटो सरकारी दस्तखत किर्तेको मुद्दा दायर भएको थियो । उक्त मुद्दामा खडकाको नाममा धरौटीमा निस्किए पनि ठगीको मुद्दामा २ वर्ष जेल सजाय पाएका ‘फरार’ भएकाले उनी जेल चलान भइसकेका छन् । ‘सांसदको बयान र पक्राउ परेका खडकाबाट घटनामा सांसदको संलग्नता खुलेन, अर्का मुख्य आरोपित फरारै छन्,’ ब्युरोका डीआईजी नवराज सिलवालले भने, ‘फरार रहेका साउदको पक्राउ पछि खुल्यो भने फेरि अनुसन्धान हुन सक्छ ।’ जुन र जुलाईमा स्पेनमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन जाने भन्दै माओवादी केन्द्रका सांसदले भिसाका लागि बुझाएको सिफारिस पत्र किर्ते गरी असम्बन्धित व्यक्तिलाई पिए बनाएर लैजान खोजेको खुलेपछि सांसद गोमा कुँवर, डोरप्रसाद उपाध्याय, सिर्जना तमारु खत्री, सन्तकुमार थारू, रूपा महर्जन श्रेष्ठ, राममाया बोगटी, दिलमाया धामी र धना पहरी अनुसन्धानमा तानिएका थिए ।

कम गुणस्तरका कारण जहाजको टायर पन्चर, मिचेलियनका टायर प्रतिबन्धित

काठमाडौं २९, भदौ । कमजोर गुणस्तरका कारण टायर पन्चर आशंकामा अबदेखि वायुसेवा निगमले रिप्रिट (मर्मत) गरेको टायर जहाजमा प्रयोग नगर्ने निर्णय मंगलबार नै गरेको छ । निगमको ए३२०–२२ सिरिजको ९एन एकेएक्स कलसाइनको लुम्बिनी नामक जहाज अवतरण क्रममा धावनमार्गमा टायर पन्चर हुँदा ठूलो दुर्घटनाबाट बचेको थियो । एक सय ५० यात्रु सवार यो जहाजको पांग्रा धावनमार्गमा ठोक्किनेबित्तिकै देब्रेतर्फको दुई नम्बरको टायर पन्चर भएको हो । जहाजमा परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत पनि सवार थिए । पटकपटक टायरमा आएको समस्याले उडान जोखिम बढाएको निष्कर्ष निकल्दै निगमले मर्मतपछि प्रयोग गर्ने गरेको टायर प्रयोग नगर्ने निर्णय गरेको छ । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारका अनुसार अमेरिकी कम्पनी मिसेलिनले बनाएको यो टायर थाइल्यान्डको बैंककमा रिप्रिट(मर्मत)हुने गरेको छ । पटकपटकको समस्याका कारण निगमले रिप्रिट भएको टायर प्रयोग नगर्ने निर्णय गरेको हो ।कंसाकारका अनुसार मंगलबार बसेको निगमको इन्जिनियरिङ, क्वालिटी, मेन्टेनेन्सहितका विभागको निर्णयले कम्पनीबाट आएको नयाँ टायरमात्रै प्रयोग गर्ने निर्णय गरेको छ । मिचेलियनका टायर प्रतिबन्धित नेपालको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयान प्रधिकरणले नेपालमा दर्ता भइ अन्तर्राष्ट्रिय उडान गरिरहेका वायु सेवा कम्पनीका जहाजमा ‘मिचेलियन’कम्पनीका टायर प्रयोगमा रोक लगाएको छ। हाल राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम र निजी क्षेत्रको हिमालयन एयरलाइन्सले काठमाडौंबाट अन्तर्राष्ट्रिय उडान गरिरहेका छन्। ती मध्ये वायु सेवा निगमले डेढ वर्षअघि युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग खरिद गरी ल्याएका दुई थान ‘ए ३२०,२००’ सिरिजका जहाजमा मिचेलियनका टायर प्रयोग गरिरहेको छ। निगमको ए ३२० जहाजमा रहेका टायर लगातार तेस्रोपटक पंक्चर भएपछि प्राधिकरणको हवाइ उड्डयान सुरक्षा विभागले अर्को निर्णय नभएसम्म प्रयोगमा रोक लगाएको हो ।  निगमले मर्मतपछि प्रयोग भएको यो टायरका कारण भएको यो घटनाको क्षतिपूर्ति मााग दाबी गर्ने पनि उल्लेख छ ।