असहज अवस्थामा संयमित निर्णय लिन २५ कांग्रेस नेताको अपिल
काठमाडौं । नेपाली कांग्रेसका २५ भाइ नेताहरूले पार्टी असहज अवस्थामा रहेकोले नेताहरूलाई संयमित हुन आग्रह गरेका छन् । पार्टी असहज अवस्थामा रहेकोले अहिले देखिएका दुवै पक्षले विवेक नगुमाई निर्णय लिन नेताहरूले दुवै पक्षलाई अनुरोध गरेका हुन् । पार्टीका केन्द्रीय सदस्यहरू राजेन्द्र केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङगेलु शेर्पा, डिला संग्रौला, उदयशम्शेर राणा, नानु बास्तोला, धना खतिवडा, अब्दुल रज्जाक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुर सिंह लामा, दिलमान पाख्रिन, अब्दुल सत्तार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी, चम्पादेवी खड्का, नारायणबहादुर कार्की, चीनकाजी श्रेष्ठलगायतका नेताहरूले दुवै पक्षका नेताहरूलाई उक्त आग्रह गरेका हुन् । पहिले आफूहरू चुनावअघि महाधिवेशनका पक्षमा उभिएपनि अहिले त्ये अवस्था नरहेकोले फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनलाई मध्यनजर गर्दै नेताहरूलाई मध्यमार्गी वाटो अपनाउन आग्रह गरेको नेता केसीले जानकारी दिए । अर्का नेता आङ्गेलु शेर्पाले नेपाली कांग्रेसलाई जनतामाझ अझै विश्वसनीय, जिम्मेवार र भरोसालाग्दो राजनीतिक शक्तिका रूपमा स्थापित गर्नु आजको अपरिहार्य आवश्यकता भएको आफुहरुको निष्कर्ष रहेको बताए । उनले भने, ‘यसका लागि पार्टीले समयअनुकूल परिवर्तन र रूपान्तरणका मुद्दालाई आत्मसात गर्दै नयाँ सोच, स्पष्ट दृष्टिकोण र ऊर्जा सहित निर्वाचनमा होमिनु आवश्यक देखिन्छ ।’ नेता केसीका अनुसार नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै लिखित निवेदन दर्ता गरिसकेको अवस्थामा उक्त माग पनि सम्वोधन हुने र नेतृत्व पनि परिवर्तन नहुनेगरी अगाडि बढ्न आवश्यक रहेको बताउँछन् । उनले भने, ‘यसलाई पार्टीभित्रको असन्तुष्टि वा विवादका रूपमा मात्र होइन, संगठन सुदृढीकरण र लोकतान्त्रिक अभ्यासको स्वाभाविक अभिव्यक्तिका रूपमा बुझिनुपर्छ ।’
एनआरएन अमेरिकाको नाममा फर्जी गतिविधि, संघ भन्छ– मन्त्री गुप्तालाई निम्तो दिएका छैनौं
काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए एनसीसी अमेरिका)ले आफ्नो नाम, लोगो र आधिकारिक पहिचानको दुरुपयोग गर्दै केही व्यक्ति वा समूहले अनधिकृत गतिविधि सञ्चालन गरिरहेको प्रति कडा आपत्ति जनाएको छ । एनआरएनए एनसीसी अमेरिकाले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा संघ अमेरिका भित्र कानुनी रूपमा दर्ता भएको एक मात्र आधिकारिक गैरआवासीय नेपाली संस्था भएको स्पष्ट गर्दै संघको नाम र पहिचान प्रयोग गरी गरिने कुनै पनि कार्यक्रम, भ्रमण वा गतिविधि गैरकानुनी हुने जनाएको छ । यस्ता अनधिकृत गतिविधिले संस्थालाई मात्र नभई आर्थिक, कानुनी तथा प्रतिष्ठासम्बन्धी गम्भीर जोखिम उत्पन्न गर्ने विज्ञप्तिमा उल्लेख छ । संघका अनुसार पछिल्लो समय विभिन्न स्थानमा संघको आधिकारिक स्वीकृति विना कार्यक्रम आयोजना गरिएको, भ्रमणको निम्तो दिइएको तथा वेबसाइट र प्रचार सामग्रीमा संघको नाम दुरुपयोग गरिएको सूचना प्राप्त भएको छ । यसप्रति गम्भीर असहमति जनाउँदै संघले यस्ता गतिविधि तत्काल रोक्न चेतावनी दिएको छ । विज्ञप्तिमा नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अमेरिका भ्रमणका लागि गैरआवासीय नेपाली संघ, अमेरिकाले कुनै औपचारिक निमन्त्रणा नदिएको स्पष्ट पारिएको छ । मन्त्री गुप्ताको नाम जोडेर प्रचार गरिएका कार्यक्रम वा भेटघाटसँग संघको कुनै सम्बन्ध नरहेको पनि संघले जनाएको छ । त्यसैगरी, संघले हालसम्म अमेरिकामा कुनै पनि युवा तथा खेलकुदसम्बन्धी कार्यक्रम आयोजना नगरेको जानकारी सार्वजनिक गर्दै यस्ता विषयमा फैलाइएका प्रचारप्रति भ्रममा नपर्न सबैलाई आग्रह गरेको छ ।
नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना र उपाध्यक्षमा रोशनीलक्ष्मी तुइतुइ नियुक्त
काठमाडौं । नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त भएकी छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रानालाई नियुक्त गरेको हो । निवर्तमान अध्यक्ष सरला केसीको कार्यकाल सकिएपछि रानालाई अध्यक्षको जिम्मेवारी सुम्पिएको हो । यस्तै, उपाध्यक्षमा रोशनीलक्ष्मी तुइतुइलाई नियुक्त गरिएको छ भने सदस्यहरूमा हीराकुमारी निरौला, सरला केसी, संगीता श्रेष्ठ, रामानन्द चौधरी नियुक्त भएका छन् ।
७ दिनमै इथेरियमको दबदबा, बिटकोइन किन सुस्त देखियो ?
काठमाडौं । क्रिप्टोकरेन्सी बजारमा पछिल्लो साता उल्लेखनीय उतार–चढाव देखिएको छ । विश्वका दुई प्रमुख डिजिटल मुद्राहरू बिटकोइन र इथेरियमबीचको प्रदर्शनमा स्पष्ट अन्तर देखिँदा इथेरियमले बिटकोइनलाई पछाडि पारेको छ । पछिल्लो ७ दिनको रिटर्न विश्लेषण गर्दा बिटकोइनको वृद्धिदर सीमित देखिएको छ भने इथेरियमले तुलनात्मक रूपमा राम्रो उछाल देखाएको छ । शुक्रबार बिटकोइन करिब ९० हजार ९८६ अमेरिकी डलर आसपासमा कारोबार भइरहेको छ । यसको विपरीत इथेरियम भने ३ हजार ११४ डलर आसपास कारोबार हुँदैछ । एक महिनाको अवधिमा भने दुवै क्रिप्टोकरेन्सी घाटामा नै रहेका छन् । तर यहाँ पनि इथेरियमको प्रदर्शन बिटकोइनभन्दा केही राम्रो देखिन्छ । तथ्यांकअनुसार एक महिनामा बिटकोइनको मूल्य घट्दो रहँदा इथेरियममा आएको गिरावट तुलनात्मक रूपमा कम रहेको छ । यसले अल्पकालीन लगानीकर्तालाई इथेरियमप्रति आकर्षित गरेको विश्लेषकहरू बताउँछन् । यसैबीच, क्रिप्टो लगानीसम्बन्धी उत्पादनहरूमा लगातार दोस्रो हप्ता पनि पूँजी प्रवाह कायम रहेको छ । बजारमा सयौं मिलियन डलर बराबरको नयाँ लगानी प्रवेश हुनु सकारात्मक संकेतका रूपमा हेरिएको छ । विशेषगरी इथेरियमतर्फ ठूला लगानीकर्ता (ह्वेल)हरूको चासो बढ्दो देखिएको छ । पछिल्ला दिनमा ठूलो परिमाणमा ‘लङ पोजिसन’ खोलिनुले आगामी दिनमा इथेरियममा थप उतार–चढावसहित तेजी आउने सम्भावना रहेको संकेत गरेको छ । प्राविधिक विश्लेषणअनुसार इथेरियमका लागि ३ हजार २ सय डलर आसपास प्रतिरोध स्तर र ३ हजार डलर बलियो समर्थन स्तर मानिएको छ । क्रिप्टोकरेन्सीको विश्वव्यापी बजार पूँजीकरण ३.२ ट्रिलियन डलर आसपास कायम रहेको छ । यद्यपि फियर एन्ड ग्रीड इन्डेक्समा भने अघिल्लो दिनको तुलनामा केही सुधार देखिएको छ, जसले बजारमा अत्यधिक डरको अवस्था क्रमशः कम हुँदै गएको संकेत गर्छ । विश्लेषकहरूका अनुसार बजार अझै अस्थिर अवस्थामा रहेकाले लगानीकर्ताले जोखिम व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ ।
८४ जनाले आँखाको ज्योति पुनः प्राप्त गरे
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा भएको मोतियाविन्दु शल्यक्रिया शिविरपछि ८४ जनाले आँखाको ज्योति पुनः प्राप्त गरेका छन् । मेलम्ची नगरपालिका–११ स्थित तीलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीको आयोजनामा बुधबार र बिहीबार दुई दिनसम्म मोतियावन्दु शल्यक्रिया शिविर सञ्चालन गरेको हो । तीलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीका प्रमुख कृतिका वैद्यका अनुसार तीलगङ्गा आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डा. रबा थापाको नेतृत्वको टोलीले शल्यक्रिया गरेको हो । शल्यक्रियापछि उनीहरू खुसी भएका छन् । यही पुस १३ गतेदेखि पाँचपोखरी थाङपाल गाउँपालिका, इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिकाका विभिन्न स्थानमा शिविर सञ्चालन गरी आँखाको समस्या भएका बिरामीको शल्यक्रिया गरिएको हो । तीलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्ची, तीलगङ्गा आँखा प्रतिष्ठान र भिजन हिमालय फाउण्डेशनको आयोजना तथा मेलम्ची नगरपालिकासँगको समन्वयमा शल्यक्रिया शिविर सम्पन भएको हो ।
शुक्रबार राति ११ बजेदेखि शनिबार बिहानसम्म नेपाल बैंकका सेवा बन्द हुने
काठमाडौं । नेपाल बैंक लिमिटेडले सिस्टम अपग्रेडेसनका कारण आफ्ना सम्पूर्ण बैंकिङ सेवा केही समयका लागि बन्द हुने जनाएको छ । बैंकले जारी गरेको सूचनाअनुसार शुक्रबारदेखि शनिबारसम्म सिस्टम अपग्रेडेसनको कार्य गरिने भएको हो । बैंकका अनुसार शुक्रबार राति ११ बजेदेखि सिस्टम अपग्रेडेसनको काम सुरु हुनेछ । उक्त कार्य शनिबार बिहान ९:४५ बजे सम्पन्न हुने बैंकले जनाएको छ । यस अवधिमा नेपाल बैंकका सम्पूर्ण बैंकिङ सेवाहरू उपलब्ध हुने छैनन् । बैंकले सिस्टम अपग्रेडेसनका क्रममा ग्राहकहरूलाई पर्न सक्ने असुविधाप्रति क्षमा याचना गर्दै आवश्यक कारोबार समयमै व्यवस्थापन गर्न आग्रह गरेको छ । नेपाल बैंकले सेवा गुणस्तर सुधार तथा सुरक्षित र प्रभावकारी बैंकिङ प्रणाली सञ्चालनका लागि समय–समयमा प्रणाली स्तरोन्नति गर्दै आएको जनाएको छ ।
राष्ट्र बैंकले ४ वटा कार बेच्दै, मूल्य ७.२९ लाखदेखि २३.१६ लाख रुपैयाँसम्म
काठमाडौं । नेपाल राष्ट्र बैंकले पुराना सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले विभिन्न कम्पनीका ४ वटा पुराना सवारी साधन बिक्री गर्न लागेको हो । राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले सन् २०१२ मा बनेको बा ९ च ७३७८ नम्बरको चेभ्रोलेट टाभेरा ७ लाख २९ हजार रुपैयाँमा बिक्रीमा राखेको छ । यस्तै, सन् २०१४ मा बनेका किया स्पोर्टेजका ३ वटा कार बिक्रीमा राखेको छ । विभागका अनुसार बा १२ च ८२७५ नम्बरको कारको मूल्य ११ लाख ९२ हजार रुपैयाँ, बा १३ च २०९९ नम्बरको कारको मूल्य २१ लाख १९ हजार रुपैयाँ र बा १३ च २१०० नम्बरको कारको मूल्य २३ लाख १६ हजार रुपैयाँ तोकिएको छ । यी सवारी साधन जे जस्तो अवस्थामा छन् सोही अवस्थामा बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ । खरिद गर्न इच्छुकले माघ ११ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा माघ १२ गते बोलपत्र खोलिनेछन् । खरिदका लागि बोलपत्र पेस गर्दा कबोल रकमको ५ प्रतिशत रकम अग्रिम भुक्तानी गर्नुपर्नेछ ।
जेनजी आन्दोलनबाट भएको क्षति बजेटको ४.३० प्रतिशत, जीडीपीको १.३८ प्रतिशत
काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भएको सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानको क्षति मूल्याङ्कन र सार्वजनिक संरचनाको पुनर्निर्माण योजनासम्बन्धी प्रतिवेदन, २०८२ सार्वजनिक भएको छ । गत असोज ५ गतेको मन्त्रिपरिषद् बैठकबाट राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा गठन गरिएको ‘सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानको क्षति मूल्याङ्कन र सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्ने समिति’ ले सरकारलाई गत मङ्सिर २४ गते प्रतिवेदन पेस गरेको थियो । आयोगले उक्त अध्ययनको पूर्ण प्रतिवेदन बुधबार सार्वजनिक गरेको हो । प्रतिवेदनमा आन्दोलनका क्रममा भएको मानवीय क्षति तथा सार्वजनिक, निजी तथा सामुदायिक संरचनामा पुगेको भौतिक क्षतिको मूल्याङ्कन गर्दै सार्वजनिक सम्पत्तिको पुनर्निर्माण योजनासहित सरकारलाई सुझाव दिइएको छ । आन्दोलनका क्रममा कूल ७७ जनाको मृत्यु भएको थियो । जसमध्ये ७३ जना पुरुष र चार जना महिला रहेका थिए । मृत्यु हुनेमध्ये १२ देखि २४ वर्ष उमेर समूहका ३९ जना रहेका छन् । घाइतेको कूल सङ्ख्या दुई हजार ४२९ रहेको थियो, जसमध्ये १ हजार ४३३ जना १३ देखि २८ वर्ष उमेर समूहका रहेको प्रतिवेदनमा उल्लेख छ । आन्दोलनका क्रममा भएको कूल भौतिक क्षतिको मूल्य ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ रहेको छ । यो देशको कूल गार्हस्थ उत्पादनको १.३८ प्रतिशत र चालु आर्थिक वर्षको बजेटको ४.३० प्रतिशत बराबर हो । प्रतिवेदनअनुसार कूल क्षति रकममध्ये सरकारी सार्वजनिक क्षेत्रमा ५३ प्रतिशत, निजीक्षेत्रमा ४० प्रतिशत र सामुदायिक तथा अन्य क्षेत्रमा ७ प्रतिशत अंश रहेको छ । प्रदर्शनका क्रममा बागमती प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ । प्रदेशमा २ हजार ६७१ भवन क्षतिग्रस्त भएका छन्, जसमध्ये ७९.८ प्रतिशत सार्वजनिक भवन रहेका छन् । भवनतर्फ ३९ अर्ब ३१ करोड ७५ लाख रुपैयाँ, सवारीसाधनमा १२ अर्ब ९३ करोड ६१ लाख रुपैयाँ, अन्य भौतिक सम्पत्तिमा २० अर्ब ३६ करोड ४० लाख रुपैयाँ, नगद तथा बहुमूल्य वस्तुमा २ अर्ब ८१ करोड ३४ लाख रुपैयाँ र बाँकी ९ अर्ब २ करोड ६७ लाख रुपैयाँ अन्य अस्थायी तथा निजी सम्पत्तिमा क्षति भएको उल्लेख छ । आन्दोलनका क्रममा सार्वजनिक क्षेत्रमा कूल ४४ अर्ब ९३ करोड ७३ लाख रुपैयाँको भौतिक क्षति भएको छ । यसमध्ये नेपाल सरकारले ६६ प्रतिशत, प्रदेश सरकारले १० प्रतिशत, स्थानीय तहले २१.८ प्रतिशत र सार्वजनिक संस्थानले २.२ प्रतिशत क्षति ब्यहोरेका छन् । सार्वजनिक क्षेत्रमा भएको कूल क्षति रकमको ४४.७ प्रतिशत भवनमा, २.६ प्रतिशत सवारीसाधनमा, २३.२ प्रतिशत अन्य भौतिक सम्पत्तिमा र २९.५ प्रतिशत अन्य अस्थायी तथा निजी सम्पत्तिमा रहेको देखिन्छ । प्रदेशगत रूपमा हेर्दा कूल भौतिक क्षति रकममध्ये सबैभन्दा धेरै क्षति बागमती प्रदेशमा ६६ प्रतिशत रहेको छ । भवनतर्फको कूल क्षतिको ७४ प्रतिशत र सवारीसाधनको कूल क्षतिको ५८ प्रतिशत पनि बागमती प्रदेशमै रहेको देखिन्छ । निजी क्षेत्रमा कूल ३३ अर्ब ५४ करोड ८७ लाख रुपैयाँ क्षति भएको छ । प्रतिवेदनमा निजी प्रतिष्ठान तथा घरपरिवारमा भएको क्षति समावेश गरिएको छ, जसमध्ये निजी प्रतिष्ठानमा २७ अर्ब ४९ करोड ३ लाख रुपैयाँ (८१.९ प्रतिशत) र घरपरिवारमा ६ अर्ब ५ करोड ८४ लाख रुपैयाँ (१८.१ प्रतिशत) क्षति भएको देखिन्छ । सामुदायिक तथा अन्य क्षेत्रमा ५ अर्ब ९७ करोड १७ लाख रुपैयाँ क्षति भएको छ । यसअन्तर्गत राजनीतिक दलका कार्यालय तथा सामुदायिक सङ्घसंस्थाका संरचना तथा सम्पत्तिको क्षति समावेश गरिएको छ । समग्र भौतिक क्षतिमध्ये सामुदायिक तथा अन्य क्षेत्रमा सात प्रतिशत क्षति भएको देखिन्छ । प्रतिवेदनअनुसार आन्दोलनका क्रममा उत्पन्न परिस्थितिका कारण वस्तु तथा सेवा उत्पादनमा १३ अर्ब ८७ करोड १५ लाख रुपैयाँको नोक्सानी पुगेको छ । रोजगारीतर्फ २ हजार ९९९ व्यक्तिको रोजगारीमा प्रत्यक्ष प्रभाव परेको देखिन्छ, जसमध्ये २ हजार ३५३ जनाले पूर्ण रूपमा रोजगारी गुमाएका छन् । समितिले प्रस्तुत गरेको ‘पुनर्निर्माण कार्ययोजना’अनुसार सार्वजनिक क्षेत्रमा क्षति भएका भवनको पुनर्निर्माण तथा मर्मत, सवारीसाधन र अन्य भौतिक वस्तुको खरिद तथा मर्मतका लागि कूल ३६ अर्ब ३० करोड २१ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमध्ये भवन पुनर्निर्माणतर्फ १९ अर्ब ९८ करोड ९८ लाख रुपैयाँ, सवारीसाधन खरिद तथा मर्मततर्फ ६ अर्ब १६ करोड ८० लाख रुपैयाँ र अन्य भौतिक वस्तुको खरिद तथा मर्मतका लागि १० अर्ब १४ करोड ४२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतिवेदनले क्षतिको विस्तृत मूल्याङ्कन गर्दै पुनर्निर्माणका लागि प्राथमिकता निर्धारण, बजेट व्यवस्थापन तथा नीतिनिर्माणका निमित्त सुझाव प्रस्तुत गरेको छ । सार्वजनिक सम्पत्तिको पुनर्निर्माणलाई प्राथमिकता दिइ क्षतिग्रस्त भवन, सवारीसाधन तथा अन्य सम्पत्तिको मर्मत र पुनःस्थापनाका लागि कार्ययोजना तयार गरिएको उल्लेख छ । निजी तथा सामुदायिक क्षेत्रको पुनःस्थापनामा सहयोग गर्न आर्थिक प्रोत्साहन तथा राहतको व्यवस्था उपयुक्त हुने देखिएको छ । तीनै तहका सरकारी संयन्त्रबीच समन्वय र सहकार्यमार्फत राहत तथा पुनर्निर्माण कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव पनि प्रतिवेदनले दिएको छ ।