विकासन्युज

नेपालसहित ६ मुलुकलाई अप्टिकल फाइबरमार्फत जोड्न सूचना राजमार्ग, तीन वर्षपछि गति लियो

काठमाडौं २७, कात्तिक । निर्माण सकिने समय गुज्रिएको झन्डै तीन वर्षपछि मात्र सूचना राजमार्ग निर्माणले गति लिएको छ । नेपालसहित ६ मुलुकलाई अप्टिकल फाइबरमार्फत जोड्न एक वर्षमै काम सक्ने गरी चार वर्षअघि सूचना राजमार्ग निर्माण थालिएको थियो । दक्षिण एसियाली उपक्षेत्रीय सामाजिक तथा आर्थिक समन्वय कार्यक्रम ९सासेक० अन्तर्गतको सूचना राजमार्ग निर्माण ०७० साल भित्र सकिनुपर्ने थियो । ०६९ माघमा १० महिनाभित्रै निर्माण सक्ने गरी ठेकेदार कम्पनी दक्षिण कोरियाको आइसिआरएफटीसँग सम्झौता भएको थियो । तर, विकास साझेदार एसियन डेभलपमेन्ट बैंक (एडिबी) ले समयमै ठेकेदार कम्पनीलाई ‘कमिटमेन्ट लेटर’ नदिएको तथा वन मन्त्रालय र सडक विभागले कामका लागि समयमै स्वीकृत नदिँदा ठेक्का सम्झौता भएको एक वर्षसम्म पनि राजमार्ग निर्माण सुरु भएको छैन् । झन्डै एक वर्षपछि काम सुरु भए पनि भूकम्प र नाकाबन्दीले परियोजना प्रभावित भएको थियो । त्यसबीचमा अन्तर्राष्ट्रिय परामर्शदाताको म्याद सकिएपछि ०७२ मंसिरमा परियोजना अलपत्र परेको थियो । चार वर्षमा सूचना राजमार्ग निर्माणको काम ८५ प्रतिशत सकिएको परियोजनाका परामर्शदाता रामविक्रम दाहालले बताए । उनका अनुसार परियोजनालाई तीन भागमा बाँडेर निर्माण भइरहेको छ । नयाँ पत्रिका दैनिकबाट ।

गोरखाको एक गाउँ, जहाँ पुस्तौंदेखि प्रेमविवाह मात्र हुन्छ, बाजेको पालेदेखीनै लभ म्यारिज

गोरखा २७, कात्तिक । गोरखा काशीगाउँ ३ की २१ बर्षीया इन्द्रमाया घले र उही उमेरका बुद्धिमान घले हालै विवाहबन्धनमा बाँधिए । ६ वर्ष लामो प्रेमसम्बन्धपछि उनीहरुको जोडी बाँधिएको हो । मायाप्रेममा रमाएका उनीहरु जीवनसाथी बन्न पाउँदा खुशी छन् । विजय घले र सिर्जना घलेको जोडी पनि यही वर्ष विवाहबन्धनमा बाँधिएको हो । उनीहरुको लामो प्रेम हालै विवाहमा बदलियो। नयाँ पुस्ताका यी जोडीको मात्र मायाप्रीति झाँगिएर विहे भएको होइन् । उनीहरुका बुबा–आमा, हजुरबा–हजुरआमाको पनि मायाप्रेमपछि विवाह भएको हो । गोरखाका उत्तरी भेग काशीगाउँ, केजोरा र आसपासका गाविसमा बसोबास गर्ने सबै युवकयुवतीको विवाह मायाप्रेमपछि मात्र हुने गर्छ । यहाँ गुरुङ, घले र कामी समुदायको बसोबास छ ।‘य हाँ तीन जात, तीन धर्म छ’, बुद्धिमान घले भन्छन्, ‘बौद्ध, हिन्दु र क्रिश्चियन धर्म मान्छन् । जुन जात र जुन धर्म माने पनि उनीहरु सबैको विवाह गर्ने परम्परा एउटै हो–‘पहिले माया प्रेम अनि विवाह ।’ कसैको मायाप्रेम गर्न थालेको दुईतीन महिनामै विहे हुन्छ, कसैको ५(६ वर्ष पछि । अधिकांश विवाह परिवारले स्वीकार नगर्दा नगर्दै पनि विहे गर्छन्। पछि समायोजन हुँदै जान्छ। अन्नपूर्ण पोस्टबाट ।

जिविसको लापरबाहीले किसानका खेत सुके, दुई हजार हेक्टर जमिन बाँझो हुँदै

काठमाडौं २७, कात्तिक । जिल्ला विकास समिति झापाले जथाभावी खोला उत्खनन गर्न अनुमति दिएका कारण अबको पाँच वर्षमा सिँचाई सुविधा पुगेका झापाका करिब दुई हजार हेक्टर जमिन बाँझो हुने सिँचाई विकास डिभिजन कार्यालय झापाका प्रमुख इश्वरीप्रसाद तिवारीले चेतावनी दिएका छन्।  उनले झापाको बुधबारेको उर्बर जमिनमा सिँचाई गर्ने बिरिङ खोलामा जथाभावी उत्खनन भइरहेकाले बुधबारेकै धान फल्ने जग्गा बाँझो हुने बताएका छन्। शुक्रबार जिल्ला प्रशासन कार्यालय झापाको सभाहलमा छलफल कार्यक्रम आयोजना गरेर उनले यस्तो चेतावनी दिएका हुन् । विरिङ खोलाबाट खेतमा सिँचाइ पुर्याउन आधा दर्जन योजना सञ्चालित छन् । केही योजना आउने क्रममा रहेको उनले जानकारी दिए । अन्नपूर्ण पोस्टबाट ।

लोडसेडिङ पूर्ण रुपमा हटाउने घोषणा गरिने, सरकारको सय दिनमा नो लोडसेडिङ प्राथमिकताको नारा

काठमाडौ २७, कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं उपत्यकालगायतका अन्य जिल्लामा विद्युत् लोडसेडिङ पूर्ण रूपमा हटाउने सम्बन्धमा परीक्षण प्रसारण सफल भइरहेको बताएका छन्। प्रधानमन्त्री बनेको सयौँ दिन उनले सबै वैकल्पिक उपायसहित चाँडै ‘नो लोडसेडिङ’ घोषणा गरिने बताएका हुन्। यसैबीच सरकारको सय दिनको कार्यविवरण सार्वजनिक गर्न प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल एमालेसँग पनि सहमति गरी संशोधन प्रस्ताव दर्ता गरिने बताए । ‘संविधान संशोधनको प्रस्ताव तयार भएको छ, यसमा प्रतिपक्षको पनि सहमति खोज्ने प्रयास भएको छ । सकेसम्म प्रतिपक्षको पनि सहमति भयो भने वातावरण सहज हुन्छ र निर्वाचनतिर देशलाई लैजान सकिन्छ भनेर त्यसको प्रयास भइरहेको छ,’ प्रधानमन्त्रीले भने ।

सुर्तीजन्य पदार्थमा चेतावनीमूलक सन्देश राख्नेमा नेपाल पहिलो, सकारात्मक कदमप्रतिको सह्रहना

काठमाडौं २७, कात्तिक । सुर्तीजन्य पदार्थमा चेतावनीमूलक सन्देश राख्ने मुलुकको सूचीमा नेपाल पहिलो स्थानमा परेको छ । क्यानेडियन क्यान्सर सोसाइटीले सुर्तीजन्य पदार्थमा ‘चेतावनीमूलक सन्देश’ विषयक अन्तर्राष्ट्रिय प्रतिवेदन सार्वजनिक गरेको हो । यसअघि विश्व स्वास्थ्य सङ्गठनले सन् २०१५ मा आवुधावीमा भएको विश्व सुर्ती सम्मेलनमा पनि नेपाललाई सम्मान गर्नुका साथै कानुनको प्रभावकारी कार्यान्वयनका लागि आर्थिक सहयोग प्रदान गरेको प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले जनाएको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ र त्यसपछि आएका नियमावलीले व्यवस्था गरेअनुरुप नेपालले ९० प्रतिशत चेतावनीमूलक चिह्न राख्ने व्यवस्था २०७१ जेठ १ गतेदेखि लागू गरेको थियो । सरकारले सुर्तीजन्य पदार्थको बट्टा, पोका, र्‍यापर्स, पेटी तथा पार्सल र प्याकेजिङको बाहिरी कुल भागमध्ये ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश र घातक रङ्गीन चित्र छाप्न तथा अङ्कित गर्न निर्देशन दिएको थियो । क्यानेडियन क्यान्सर सोसाइटीले भारतको दिल्लीमा भइरहेको विश्व स्वास्थ्य सङ्गठनको फ्रेमवर्क कन्भेन्सनका सरोकारवालाको सातौँ कन्फरेन्स अफ दी पार्टीको दौरानमा सो प्रतिवेदन जारी गरेको हो । सुर्ती नियन्त्रणका लागि अन्तर्राष्ट्रिय अभिसन्धिको अनुमोदन गर्ने १८१ राष्ट्रको सम्मेलन भारतको नोइडा, उत्तर प्रदेशमा यही कात्तिक २२ गतेदेखि सुरु भएको सम्मेलन शनिबारसम्म जारी रहनेछ । कारोबार दैनिकबाट ।

स्वास्थ्यका कर्मचारीको विदेश भ्रमण, एक वर्षमा पाँच सय २० पटक विदेश भ्रमण

काठमाडौं २७, कात्तिक । स्वास्थ्य मन्त्रालय र मातहतका कर्मचारीले तालिम अवलोकन भ्रमण तथा गोष्ठीका नाममा एक वर्षमा पाँच सय २० पटक विदेश भ्रमण गरेका छन् । विभिन्न देश र दातृ निकायले आयोजना गरेका कार्यक्रममा स्वास्थ्यमन्त्रीदेखि विभिन्न तहका कर्मचारी विदेश भ्रमणमा गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। केपी ओली नेतृत्वको अघिल्लो सरकारका स्वास्थ्यमन्त्री रामजनम चौधरी नौ महिनाको अवधिमा तीनपटक विदेश भ्रमणमा गएका छन् । उनी दुईपटक विश्व स्वास्थ्य संगठनको मुख्यालय जेनेभामा सम्मेलन र मिटिङमा भाग लिन गएको मन्त्रालयको रेकर्डमा छ भने एकपटक हैदराबाद गएको मन्त्रालयले जनाएको छ । त्यसैगरी, तत्कालीन स्वास्थ्यसचिव एक वर्षमा सातपटक विदेश भ्रमणमा गएको पाइएको छ । उनी जेनेभा, टिमोर, इन्डोनेसिया, बैंकक, नयाँदिल्लीलगायत ठाउँ गएका हुन् । एकैपटक १८ जना भ्रमणमा विनाशकारी भूकम्पपछि पुनर्निर्माणको अनुभवका लागि भन्दै विश्व स्वास्थ्य संगठनले गत फेब्रुअरी १५ देखि १९ सम्म भारतको गुजरातमा १८ जनालाई अवलोकन भ्रमण गराएको थियो । त्यसैगरी, स्वास्थ्य बीमाको कार्यक्रमका लागि तत्कालीन स्वास्थ्यसचिव शान्तबहादुर श्रेष्ठको नेतृत्वमा सातजना जर्मनी गएको थियो । त्यसको दुई महिना पनि नपुग्दै स्वास्थ्य बीमाको अवलोकन भ्रमण गर्न भन्दै हालका सचिव (तत्कालीन प्रमुख विशेषज्ञ) डा. सेनेन्द्रराज उप्रेतीको नेतृत्वमा नौजनाको अर्को टोली गुजरात नै गएको थियो । त्यसैगरी एक महिनाको बीचमा १७ जना कर्मचारी चीन भ्रमणमा गएका थिए । नयाँ पत्रिका दैनिकबाट ।

विश्वको सबैभन्दा ठूलो थाङ्का प्रदर्शन, ७० फीट लामो थाङ्कामा गौतम बुद्धको जीवनी प्रस्तुत

काठमाडौँ, २६ कात्तिक । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वार्षिकोत्सवका अवसरमा १६ राष्ट्रका कलाकारले बनाएको विश्वको सबैभन्दा ठूलो थाङ्का आजदेखि प्रदर्शनीमा राखिएको छ । मनाङ सेवा समाजको आयोजनामा दशरथ रङ्गशालामा नेपाली कलाकार सूर्यबहादुर थकाली र जापानी कलाकार यासुका तातागीको नेतृत्वमा निर्माण गरिएको ७० मि लम्बाइ र ५० मि चौडाइको सो थाङ्काले गौतम बुद्धको जीवनीलाई प्रस्तुत गरेको छ । सो प्रदर्शनीको उद्घाटन गर्दै परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले बुद्धले देखाएको बाटो नै मानवसभ्यताको दिगो बाटो भएकाले उनको सन्देश विश्वभरि फैलाउनुपर्नेमा जोड दिए । उनले भने, “बुद्धको सिद्धान्तलाई विश्वसामु चिनाउन यो थाङ्काले महत्वपूर्ण भूमिका खेलेको छ ।” नेपालका लागि जापानी राजदूत मासासी ओगावाले थाङ्का प्रदर्शनीले नेपाल–जापान सम्बन्ध अझै बलियो हुने बताउँदै सम्बन्धको ६० औँ स्थापनाका अवसरमा राजदूतावासले विभिन्न कार्यक्रम गर्ने जानकारी दिए । पूर्व श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले विश्वकै सबैभन्दा ठूलो थाङ्कालाई सरकारले नेपालमा राख्न सके नेपाल पर्यटकको आकर्षकको केन्द्रबिन्दु हुन सक्ने बताए । कार्यक्रममा नेपाली कलाकार थकाली, जापानी कलाकार तातागी लगायतले १२ वर्षको अथक प्रयासले गर्दा उक्त थाङ्का निर्माण भएको र यसमा बुद्धको जन्मदेखि परिनिर्वाणसम्मको अवस्थालाई समेटेको जानकारी दिए । उक्त थाङ्का शुक्रबार र शनिबार काठमाडौँमा, आगामी मङ्सिर ५ र ६ गते पोखरामा र मङ्सिर ११ र १२ गते लुम्बिनीमा प्रदर्शन गरिने छ । रासस

भार्गव विकास बैंकले धितोपत्र बोर्डमा दियो शतप्रतिशत हकप्रदको लागि निवेदन

काठमाडौं, २६ कात्तिक । भार्गव विकास बैंकले १ बराबर १ (१०० प्रतिशत) को अनुपातमा हकप्रद सेयर ल्याउन गत बुधबार धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले १२ करोड रूपैयाँको १२ लाख कित्ता हकप्रद सेयर ल्याउन लागेको हो । हाल बैंकको चुक्ता पुँजी १२ करोड रूपैयाँ रहेको छ । बोनस सेयर बाहेक शतप्रतिशत प्रतिशत हकप्रद जारी गरेपछि बैंकको चुक्ता पुँजी २४ करोड रुपैयाँ पुग्नेछ । बैंकको हकप्रदमा बिक्री प्रवन्धकको काम एनआइबीएल क्यापिटल लिमिटेडले गरिरहेको छ ।