विकासन्युज

स्कुसबाट बीस लाख आम्दानी !

इलाम, ९ मङ्सिर । एउटै याममा स्कुस बेचेर सूर्योदय नगरपालिका– ९ गैरीगाउँका ४१ वर्षीय ताराकुमार तामाङले आम्दानी गरेका छन् । यस वर्ष उनले एक हजार ४०० क्विन्टल स्कुबिक्री गरे । झापाको चारआली तथा भारतको सिलगुडी बजार लगेर उनले स्कुस बिक्री गरेका हुन् । सुरुवातमा तामाङले प्रतिमन रु एक हजार २०० मा बिक्री गरेको थियो । पन्ध्र रोपनी जमिनमा उहाँले व्यावसायिक रुपमा स्कुसखेती गर्दै आएका छन् । ऋण काढेर रु २० हजारको लगानीमा तरकारी खेती गरेका उनले स्कुस बेचेर १८ रोपनी जमिन किन्न सफल भएका छन् । “यस वर्ष मुन्टा बिक्रीबाट मात्रै रु ३० हजार आम्दानी भयो,” उनले भने । गत वर्ष स्कुसको जरा बिक्री गरी रु एक लाख २० हजार आम्दानी गरेका थिए । सूर्योदय नगरपालिका– ९ का अधिकांश किसानले स्कुसबाट मनग्य आम्दानी गरिहेको छ । उक्त वडाका प्रत्येकले कम्तीमा तीन रोपनीदेखि २० रोपनी जमिनमा स्कुसखेती गर्दै आएको छ । यातायातको सहज सुविधा भएको उक्त वडामा स्कुस खरिद गर्नका लागि व्यापारी घरैसम्म पुग्ने गरेका स्थानीयवासी मात्रिका दाहाल बताउँछन् ।  चियाखेतीलाई पनि सँगसँगै अङ्गालेका उक्त क्षेत्रका किसानको आर्थिक अवस्था उकास्न स्कुसखेतीले मद्यत पु¥याएको छ । रासस

टीभीएस अपाचे दसैं तिहार महोत्सव सम्पन्न, विजेतालाई स्कुटरदेखि बाइकसम्मको उपहार

काठमाडौं, ९ मंसिर । सिभिल मलले आयोजना गरेको प्रवद्र्घनात्मक कार्यक्रम ‘टीभीएस अपाचे दसैं तिहार महोत्सव २०७३’ सम्पन्न भएको छ । गत असोज १ देखि कात्तिक २७ सम्म आयोजित सो कार्यक्रममा नैकापका लबेन्द्र कार्कीले टीभीएस अपाचे प्राप्त गरेभने लुभुकी अनुस्का पाठक र स्वयम्भूकी छिरिङमा शेर्पाले क्रमशः टीभीएस जुपीटर र टीभीएस जेस्ट प्राप्त गरे । कार्यक्रममा विकास भुजेल र सुमीत मगरले क्रमशः आस्रीको हीराको हार र एलजीको एलइडी टीभी जिते । सिभिल मलमा एक हजार रुपैयाँभन्दा बढीको किनमेल गर्ने ग्राहकहरुलाई प्रदान गरिएको कुपनहरुमध्ये खुल्ला गोलाप्रथाबाट विजयीहरुको चयन गरिएको थियो । कार्यक्रम अवधिमा विभिन्न विजेताहरुले आस्रीका हीराका गहना, एलजीका स्मार्ट फोनहरु, भ्याकुम क्लीनर, माइक्रोवेभ ओभन, वासिंग मेशिन, रेफ्रिजरेटर, एलसीडी टीभी लगायत मलका पसलहरुले प्रयोजन गरेका अनेकौं उपहार प्राप्त गरे । सिभिल मलले कार्यक्रमलाई सफल पार्न सहयोग पुर्याउने सबै प्रायोजकहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।

रोजगारका लागि मलेसिया जाने नेपालीमाथिको ठगी रोक्न श्रम समितिको निर्देशन

काठमाडौँ, ९ मङ्सिर । व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले वैदेशिक रोजगारीका क्रममा मलेसिया जाने नेपालीमाथि भइरहेको ठगी रोक्न तथा छानबिन गरी कारबाही गर्न निर्देशन दिएको छ ।  समितिको विहिबारको बैठकमा उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिलगायत सरकारका उच्च अधिकारीसँगको छलफलपछि कामदार नेपालीसँग ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’, ‘वान स्टप सेन्टर’ लगायतका नाममा मलेसियास्थित विमानस्थल र मलेसियन कम्पनीको नेपाली एजेन्टका नामबाट भइरहेको ठगीलाई कूटनीतिक पहलबाट रोक्न पनि निर्देशन दिइएको छ । समितिका सभापति प्रभू साहको अध्यक्षतामा बसेको बैठकले मलेसियाको सरकारसँग कूटनीतिक वार्ता र संवाद गरी त्यस्ता प्रणालीका नाममा नेपाली कामदारले अनाहकमा पाइरहेको दुःख निवारणका लागि आवश्यक पहल लिन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको हो । यस्तै ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’ का नाममा हुने ठगी रोकी, छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिइएको छ भने सम्बन्धित मन्त्रालयसँग सहमति नलिई ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’ को नेपालमा कम्पनी खोल्न अनुमति दिने कार्यमा संलग्न कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारीमाथि पनि कारबाही गर्न समितिले उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकमा मलेसियाका ती कम्पनी आधिकारिक हुन् या होइनन् रु तिनलाई नेपालमा एजेन्टको अनुमति कसरी प्राप्त भयो रु त्यस्ता एजेन्ट मार्फत पठाइएका कागजात बोकेको कतिपय नेपाली कामदार पनि मलेसिया छिर्न नपाई किन फर्केका छन् भन्ने सम्बन्धमा सरकारका विभिन्न नियकाबीच समन्वयविहीनताको स्थिति देखिएको थियो । उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिले नेपाल सरकारका सम्बन्धित सबै निकायबीच एकीकृत संयोजन र पहल आवश्यक देखिएको बताउँदै यसबारे प्रधानमन्त्रीसँग छलफल गरेर ठोस निर्णयमा पुगिने बताए । उनले गृह मन्त्रालयको क्षेत्राधिकारभित्र पर्ने ठगीको विषयमा तत्कालै छानबिन गरी कारबाही गरिने विश्वास दिए । मलेसिया सरकारले ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’ मार्फत लागू गरेको प्रणालीबाट नेपाली कामदारलाई समस्या भएकोबारे आफ्नो धारणा नेपाल सरकारलाई समयमा दिनुपर्ने बताउँदै गृहमन्त्री निधिले अन्यथा केही समयका लागि मलेसियामा कामदार पठाउने बारेमा पुनःविचार वा के गर्ने भन्नेमा सरकारले छलफल गर्ने जानकारी दिए । परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले ‘इमिग्रेसन सेक्युरिटी सेन्टर’ र नेपाली कामदारको ठगीबारे मलेसिया सरकारसँग पटकपटक पत्राचार गरे पनि जवाफ नआएकाले अब मन्त्रीस्तरको भ्रमण गराएर समस्याको समाधान खोज्ने तयारी गरिएको बताए । गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले मलेसियाका नेपाली कामदारले अनेक झन्झट र दुःख खेप्नुपरेको र भइरहेको ठगीबारे कारबाही गर्न मन्त्रालय सक्षम रहेको बताए । सांसद्ले नेपालीले दुःख पाइरहेको गम्भीर विषयमा सरकारका सम्बन्धित निकायबीचको उचित समन्वय, जवाफदेहिता र उत्तरदायित्व निर्वाह हुनुपर्नेमा जोड दिएको थियो । रासस

दुईवर्षमा बिजुलीबजार पुलको काम १० प्रतिशत, निर्माणको अवधि अब एक वर्ष मात्र बाँकी

काठमाडौं, ९ मंसिर । पुल निर्माणको अवधि सकिन एकवर्ष मात्र बाँकी हुँदासमेत बिजुलीबजारस्थित रुद्रमती (धोबीखोला) माथिको पुल निर्माणले गति लिन सकेको छैन । माइतीघर–बिजुलीबजार–बानेश्वर–तीनकुने–कोटेश्वर सडक आठलेनमा विस्तार भएसँगै बिजुलीबजार र तीनकुनेमा अत्याधुनिक पुल निर्माण गर्ने निर्णय भएको थियो । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले निर्माण गर्न लागेको पुल निर्माणका लागि एक वर्ष मात्र अवधि बाँकी छ । तर स्थलगतरुपमा पुल निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले बिजुलीको पोल एवम् खानेपानीको पाइप नहटाउँदा कामले गति लिन नसकेको हो । पुल निर्माणको जिम्मा पाएको जेई कन्स्ट्रक्सन प्रालिका वरिष्ठ निर्माण व्यवस्थापक राधाकृष्ण देव दुईवर्षे अवधिमा १० प्रतिशत मात्र काम भएको स्वीकार्छन् । “बिजुलीबजारमा नेपालमै पहिलोपटक ‘नेटवर्क आर्च ब्रिज’ निर्माणको डिजाइन भएको छ, ५०।३ मिटर लम्बाइ र १२ मिटर चौडाइका दुई पुल निर्माणका लागि स्थान खाली नहुँदा समस्या भएको छ”–उनले भने । पुल निर्माणको लागत १३ करोड १३ लाख २५ हजार रुपैयाँ छ । यो पुल निर्माण नहुँदा आठ लेनमा विस्तार भएको सडकमा चारलेनको पुलबाट सवारी चल्नुपर्ने भएकाले सडक जाम हुने गरेको छ । यो सँगै तीनकुनेस्थित बागमती नदीमाथि पनि ‘नेटवर्क आर्च ब्रिज’ निर्माणका लागि निर्माण व्यवसायी छनोट भएपनि बिजुली र खानेपानीको लाइन व्यवस्थापन हुन नसक्दा काम अघि बढ्न नसकेको आयोजनाका इन्जिनियर वीरेन्द्र यादवले बताए । पप्पु कन्स्ट्रक्सनले निर्माण गर्ने तीनकुनेको पुलको डिजाइनसमेत बनिसकेको छैन । यी दुवै पुलको काम अघि बढ्न नसक्दा कोटेश्वरबाट रत्नपार्क छिर्ने सवारी जाममा फस्ने गरेको यात्रुको गुनासो छ । रासस

भिसा सेन्टर नेपालमै राख्न परराष्ट्रमन्त्री महतद्वारा अस्ट्रेलियाली समकक्षीसँग आग्रह

अस्ट्रेलिया, ९ मङ्सिर । परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र अस्ट्रेलियाली विदेशमन्त्री जुलिया बिसपबीच बिहीबार अस्ट्रेलियाली राजधानी क्यानबेरामा भेटवार्ता भएको छ । बुधबार अस्ट्रेलिया आइपुगेका मन्त्री डा महत र बिसपबीच बिहीबार विदेश मन्त्रालयमा भेटवार्ता भएको हो । दुई देशका विदेशमन्त्रीस्तरमा निकै लामो समयपछि भएको यस भेटका क्रममा आपसी सम्बन्ध र द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो । भेटका क्रममा परराष्ट्रमन्त्री डा महतले नेपालको आर्थिक, सामाजिक, शैक्षिकलगायतका क्षेत्रमा अस्ट्रेलिया सरकारले पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद दिएका थिए । साथै, गत वर्ष नेपालमा आएको भूकम्पपछिको उद्धार र सहायताका लागि पुर्याएको सहयोगका लागि पनि मन्त्री डा महतले अस्ट्रेलियाली सरकार र यहाँका नागरिकप्रति धन्यवाद दिए । त्यस क्रममा मन्त्री बिसपले नेपालमा विभिन्न क्षेत्रमा अस्ट्रेलियाले उपलब्ध गराउँदै आएको आर्थिक तथा प्राविधिक सहयोगको बारेमा चर्चा गर्दै आगामी दिन थप के कस्ता क्षेत्रमा सहयोगको आदानप्रदान गर्न सकिन्छ भनेर आफूले परामर्श गर्ने आश्वासन दिएका छन् । पछिल्ला वर्षहरुमा अस्ट्रेलिया पढ्न आउने नेपाली विद्यार्थीको सङ्ख्या बढ्नु र सानो सङ्ख्यामा भए पनि अध्ययन एवम् अनुसन्धान गर्न अस्ट्रेलियाली विद्यार्थी नेपाल जानु पनि जनस्तरको सम्बन्धमा सकारात्मक पाटो भएको मन्त्री बिसपले बताए । सोही क्रममा मन्त्री डा महतले नेपालमा अस्ट्रेलियाली दूतावास भए पनि प्रवेशाज्ञाका लागि नयाँदिल्ली जानुपर्ने भएकाले विद्यार्थीसहित थुप्रै नेपालीलाई समस्या भइरहेको तर्फ ध्यानाकर्षण गर्दै नेपालमै ‘भिसा सेक्सन’ राख्ने व्यवस्थाका लागि आग्रह गरेका मन्त्रीका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले जानकारी दिए । अस्ट्रेलियाली सरकारले नेपाललाई गर्दै आएको सहयोगको निरन्तरताका लागि पनि मन्त्री डा महतले आग्रह गरेका थिए । नेपालमा जलविद्युत्, लघु उद्यम, नागरिकको जीवनस्तरमा विकाससम्बन्धी आयआर्जनका कार्यक्रम, सामुदायिक वन, शिक्षा तथा प्रविधिलगायतका विभिन्न क्षेत्रमा अस्ट्रेलिया सरकारले सहयोग गर्दै आएको छ । भेटका क्रममा विदेशमन्त्री बिसपले नेपाल सरकारले भूकम्पपीडितलाई सहयोग र पुनःनिर्माणको काम के कसरी गरिरहेको छ भन्ने बारेमा चासो व्यक्त गरेका थिए । उनीहरुबीच अन्य समसामयिक राजनीतिक विषयका साथै सार्कको वर्तमान स्थिति बारेमा पनि कुराकानी भएको थियो । मन्त्री डा महतले नेपालको भ्रमणका लागि विदेशमन्त्री बिसपलाई आमन्त्रण गरेका थिए। त्यसको जवाफमा विदेश मन्त्री बिसपले समय मिलाएर उपयुक्त समयमा आफूले नेपालको भ्रमण गर्ने बताए । अन्तर्राष्ट्रिय विकासमन्त्रीसँग भेटवार्ता यसैबीच बिहीबार परराष्ट्रमन्त्री डा महत र अस्ट्रेलियाली अन्तर्राष्ट्रिय तथा प्रशान्त क्षेत्रका विकासमन्त्री कनकाटा फारवेन्टी वेल्सबीच भेटवार्ता भयो । भेटमा मन्त्री डा महतले नेपालमा लगानी र सहयोग अभिवृद्धिका लागि आग्रह गरेका छन् । उनले नेपालमा रहेका भुटानी शरणार्थी, जलवायु परिवर्तनको असर, नेपालले भूकम्पपछि गरेको पुनःनिर्माणको कार्यलगायतका विषयमा जिज्ञासा राखेका थिए । मन्त्री डा महतले अस्ट्रेलियासँग नेपालको अन्तर्राष्ट्रिय मुद्दाहरुमा समान धारणा रहँदै आएको र आगामी दिन घनिष्टताका साथ थप सहकार्य गर्न चाहेको बताएका थिए । उनीसँग पनि मन्त्री डा महतले नेपालमा रहेको अस्ट्रेलियाली दूतावासबाटै प्रवेशाज्ञा दिने प्रबन्धका लागि आग्रह गरेका थिए। मन्त्री डा महतले आजै संसद्मा विपक्षी दल लेबर पार्टीका तर्फबाट नेता एवम् विपक्षी दलका तर्फबाट छाया विदेशमन्त्री पेनी वङ, विपक्षी पार्टीका तर्फबाट जलवायु परिवर्तन र ऊर्जासम्बन्धी छाया मन्त्री मार्क बुटलर, विपक्षी दलका तर्फबाट सूचना तथा सीमा सुरक्षासम्बन्त्री छाया मन्त्री स्याने न्युम्यानसँग पनि भेटवार्ता गरेका छन् । भेटका अवसरमा अस्ट्रेलियाका लागि नेपाली कार्यबाहक राजदूत राजेन्द्र पाण्डे उपस्थित थिए । रासस

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको सातौं शाखा दमकमा

काठमाडौं, ९ मंसिर । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले दमकमा सातौं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको दमक उद्योग बाणिज्य महासंघका अध्यक्ष राजेज्द्र ढकालबाट शुभारम्भ गरिएको छ । उक्त शाखाबाट एटिएम सेवा, एस.एम.एस बैंकिङ्ग सेवा सुविधा, इन्टरनेट बैंकिङ्ग सेवा, विप्रेशन सेवा सुविधा तथा डीपी सेवा समेत रहेको फाइनान्स कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ । आर्थिक वर्ष २०७१/२०७२ मा निक्षेप संकलन २ अर्ब १७ करोड तथा कर्जा १ अर्ब ८७ करोड प्रवाह गरेको यस संस्थाले २ करोड ३० लाख रुपैयाँ संचालन मुनाफा गरेको संस्थाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । यस वित्तीय संस्थाको चुक्ता पूँजी ५० प्रतिशत हकप्रद शेयर तथा १२ प्रतिशत बोनस शेयर जारी पश्चात ४९ करोड ३५ लाख तथा जगेडा कोषमा ९ करोड १६ लाख रुपैयाँ रहेको छ ।

भारु साट्न सिमा घटाइयो, पढ्न र औषधोपचारका लागि २५ हजार मात्र पाउने

काठमाडौं । नेपाल राष्ट्र बैकले मनिचेन्जरलाई उपलब्ध गराउँदै आएको भारतीय रुपैयाँ (भारु) पूर्ण रुपमा बन्द गरेको छ । बजारमा भारुको माग ह्वात्तै बढ्दा व्यवस्थापन गर्न कठिन हुने भएपछि राष्ट्र बैंकले भारु व्यवस्थापनका लागि मनीचेन्जरलाई भारु दिन बन्द गरेको नेपाल राष्ट्र बैंकका सहप्रबक्ता राजेन्द्र पण्डितले जानकारी दिए । उनका अनुसार मनीचेन्जरहरुले राष्ट्र बैकबाट कुनै पनि दरका भारु सटही सुविधा पाउदैनन् ।  त्यस्तैगरी नेपाल राष्ट्र बैंकले साना दरको भारती रुपैयाँ (भारु) सटहीको सिमा घटाएको छ । केन्द्रिय बैंकले अवदेखि प्रत्येक व्यक्ति दुई हजारसम्म मात्र भारु साट्न पाउने भएका छन् । नागरिकताको आधारमा भने १० हजार प्रतिव्यक्ति साट्न पाउने व्यवस्था गरेको छ । यसअघि केन्द्रिय बैंकले लाइन बस्दा मात्र पनि प्रतिव्यक्ति पाँच हजारसम्म भारु सटहीको सुविधा दिएको थियो भने नागरिकताको आधारमा २५ हजार भारु साट्न सकिने व्यवस्था थियो । त्यस्तै भारतमा पढ्न र औषधोपचार गर्न जानेहरुले पनि २५ हजार रुपैयाँ मात्र भारु साट्न पाउनेछन् । यसअघि राष्ट्र बैंकले पढ्न र औषधोपचार गर्न जाने प्रमाण भएको खण्डमा ५० हजार भारु उपलव्ध गराउदै आएको थियो । राष्ट्र बैंकले ५० हजार भारुमध्ये २५ हजार नगद र बाँकी २५ हजार सम्बन्धित अस्पताल तथा कलेजलाई भुक्तानी गरिदिन्थ्यो । अब प्रयोजन खुल्दा पनि २५ हजार नगद मात्र उपलब्ध गराउने छ । अस्पतालाई भुक्तानी गरिदिँदैन। ठूला दरका भारु प्रतिबन्ध भएपछि भारतमा नै सानो दरका भारु पाउन छाडेकोले भारत जान लागेकाहरुले १०० दरका भारु साट्न लाइन बस्न थालेका हुन् ।

५६ लाख कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत, एनबी इन्स्योरेन्सको हकप्रद सेयर नेप्सेमा सूचिकृत

काठमाडौं, ९ मंसिर । बिहीबार मात्र करिब ५६ लाख ७६ हजार ४०१ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकको २० लाख ३९ हजार ५६७ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । त्यस्तै, यति डेभलपमेन्ट बैंकको २३ लाख ९९ हजार ५७० दशमलब ५३ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब यी दुबै बैंकको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्बसाधारणको भएको छ । त्यसैगरि रिलायन्स डेभलपमेन्ट बैंकको ७ लाख ५ हजार ७१४ कित्ता, हिमालयन जेनेरल इन्स्योरेन्सको २ लाख ८८ हजार ९ सय कित्ता र भक्तपूर फाइनान्सले २ लाख ४२ हजार ६५० कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । यस तिनवटै कम्पनीको पनि प्रवद्र्धक सेयर ५१ प्रतिशत र साधारण सेयर ४९ प्रतिशत भएको नेप्सेले जनाएको छ । त्यस्तै विहीबार नै एनबी इन्स्योरेन्स कम्पनीको १२ लाख कित्ता सेयर सूचिकृत भएको छ । कम्पनीले यसै साल निष्काशन गरेकाे हकप्रद सेयर नेप्सेमा सूचिकृत भएकाे हाे ।