अल्पाइन डेभलपमेन्ट बैंकले ३ बराबर २.०८ को अनुपातमा हकप्रद निष्कासन गर्ने
काठमाडौं, ४ पुस । अल्पाइन डेभलपमेन्ट बैंकले ३ बराबर २.०८ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । उक्त निर्णय आइतबार बसको बैंकको १२०औँ बैंक सञ्चालक समितिको बैठकले गरेको छ । बैठकको निर्णयलाई बैंकको आगामी साधारणसभाले अनुमोदन गर्नुपर्ने छ । हाल बैंकको चुक्ता पूँजी २२ करोड ७१ लाख रुपैयाँ रहेको छ । सोमबार कम्पनीको प्रतिकित्ता सेयर करिब ३६७ रुपैयाँमा कारोबार भइरहेको छ ।
१३औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी भोलिदेखि शुरु, करिव १२५ वटा स्टल रहने
काठमाडौं, ४ पुस । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा ७ दिने जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको राष्ट्रिय औद्योगिक प्रदर्शनी हुन लागेको छ । उक्त प्रदर्शनी यहि पुस ५ देखि पुस ११ गतेसम्म हुने भएको छ । उक्त १३औं राष्ट्रिय औद्योगिक प्रदर्शनी “आत्मनिर्भरताको आधार स्वदेशी बस्तुको प्रयोग” भन्ने मुल नाराका साथ काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । उक्त आयोजनामा कपडा तथा सिलाई व्यवसायी संघको सहभागिता रहेको छ । एउटै छानामुनी स्वदेशी वुट र स्वदेशी सुटको प्रर्दशनी आयोजना हुनुले पनि यो प्रदर्शनीको विशेष महत्व रहनेछ । प्रदर्शनीमा जुत्ता चप्पल उद्योगहरु र नेपाल कपडा तथा सिलाई व्यवसायी गरि करिव १२५ वटा स्टल रहने आयोजकले बताएका छन् । जसमा छालाका जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता स्कुल कलेजका युनिफर्मका जुत्ता, जेन्टस तथा लेडिज स्याण्डल एवं सर्ट पाइन्ट तथा सुटका कपडा, प्राकृतिक रेसाबाट बनेका कपडाहरु तथा आकर्षक डिजाइनका सर्टिङ सुटिङ्गका डिजाईनहरु तथा फुड स्टलहरु प्रदर्शनीमा रहनेछन् । साथै, जुत्ता-चप्पल तथा छालाजन्य वस्तुहरु उत्पादनमा प्रयोग गरिने सहायक कच्चा पदार्थका उत्पादनहरु समेत प्रदर्शनीमा राखिने आयोजकले बताए ।
निम्बसको नयाँ ब्राण्डको तेल बजारमा सार्वजनिक, मूल्य प्रतिलिटर २०० रुपैयाँ
काठमाडौं, ४ पुस । निम्बसले नयाँ ब्राण्ड ‘व्यञ्जन’को खाने तेल नेपाली बजारमा सार्वजनिक गरेको छ । बजारमा उक्त व्यञ्जन ब्राण्डअन्तर्गत हाल सूर्यमुखी र तोरीको तेल उपलब्ध छन् । हाल बजारमा व्यञ्जनको सूर्यमुखी र तोरीको १ र २ लिटरको बोटल तथा १र१ लिटरको पाउच उपलब्ध छन् । १ लिटर सूर्यमुखी तेलको मूल्य १ सय ९० रुपैयाँ कायम गरिएको छ भने १ लिटर तोरीको तेलको मूल्य २ सय रुपैयाँ कायम गरिएको छ । अन्तराष्ट्रिय गुणस्तर निर्धारण गरी कम्पनीले उत्पादन गरेको तेल गुणस्तरीयताको आधारमा अन्तराष्ट्रिय उत्पादनहरुसँग प्रतिस्पर्धा गर्न सक्षम रहेको जनाएको छ । कम्पनीले बजारमा ल्याएको तेलको प्याकेट अन्य तेलको प्याकेटहरु भन्दा भिन्न छ । बजारमा उपलब्ध अधिकांश प्याकेटमा एक लेयरको पोली फिल्मस् प्रयोग गरिरहेको छ भने व्यञ्जनमा ल्यामिनेटेड प्याकको प्रयोग गरिएको छ, जसमा पोलीको साथै अपर नाइलोन लेयर पनि प्रयोग गरिएको छ, जसको कारणले अक्सिडेसन हुने सम्भावना अत्यन्त कम हुन्छ । यसले तेललाई अक्सिडेसन हुनबाट बचाउँछ । साथै सूर्यमुखीको तेल स्वदेशी कम्पनी मध्ये पहिलो पटक पेट बोटलमा बजारमा ल्याएको छ । यसकारण आम उपभोक्ताले आफ्नै आँखाले यसको अवलोकन एवं उपभोग गरी शुद्धता र मौलिक स्वाद चाख्न पाउनेछन् । हाल नेपालमा उपलब्ध अन्य अन्तर्रा्ष्ट्रिय ब्राण्डसँग प्रतिस्पर्धा गर्नको लागि निम्बसले प्रीमीयम स्तरको व्यञ्जन तेल बजारमा ल्याएको हो । हालको लागि कम्पनीले तराई भेग र मुख्य शहरहरु काठमाडौं पोखरा लगायतका क्षेत्रहरुमा बजार बिस्तार गरिरहेको छ । वीरगन्जमा करिव ५५ करोडको लागतमा तेल उद्योग स्थापना गरेको निम्बसले हाल उक्त उद्योगमा १ सयको हाराहारीमा कर्मचारीहरु कार्यरत रहेका छन् । दैनिक १०० टन भटमास, ५० टन सूर्यमुखी र ६० टन तोरीको तेल उत्पादन गर्ने गरी उद्योग सञ्चालनमा ल्याएको हो । निम्बस कम्पनी सन् २००४ देखि कृषि क्षेत्रमा काम गर्दै आएको कम्पनी हो । उक्त कम्पनीले विशेष गरेर पोल्ट्रीको क्षेत्रको लागि दाना उत्पादन गर्ने काम गर्दै आइरहेको छ । साथै बोरा, ड्रम, पोली बुभन फ्याब्रिक र केमिकलको साथै कम्पनीले दैनिक उपभोग्य वस्तुहरु आयात तथा बिक्री गरिरहेको छ । कम्पनीले चाँडै नै दाल, चामल र मस्यौरा ल्याउन लागेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पुँजीबजार सम्बन्धी जनचेतना अभिबृद्धि गर्दै धितोपत्र बोर्ड, कालिकोटमा पुँजीबजार सम्बन्धी अन्तक्रिया सम्पन्न
काठमाडौं, ४ पुस । पुँजीबजार सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने उदेश्यले कर्णाली अन्चलको कालिकोट जिल्लामा पुँजीबजार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल धितोपत्र बोर्ड र कालिकोट उद्योग वाणिज्य संघको संयुक्त आयोजनमा हालै देशको सवैभन्दा विकट ठाउँ मानिएको कालीकोटमा पुँजीबजार सम्बन्धी जनचेतना अभिबृद्धि कार्यक्रम गरिएको हो । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले यो कार्यक्रमले कर्णाली अञ्चलमा पनि पूँजी बजार सम्बन्धी जनचेतना बढ्ने बताए । त्यस्तै बोर्डका अध्यक्ष डा.रेवत बहादुर कार्कीले कार्यक्रमलाई सम्वोधन गर्देै काठमाडौं केन्द्रित रहेको पूँजीबजारलाई देशव्यापी वनाउने उदेश्यले यस्ता कार्यक्रम आयोजना गरिएको बताए । उनले पूँजी बजार मार्फत कर्णाली अञ्चलको पर्यटन, जलस्रोत तथा जडिवुटी उद्योगधन्दाको विकास गरी समग्र देशको रोजगारी तथा राजस्व बृद्धि गरी आर्थिक विकास गर्न सहयोग पुर्याउने दावी गरे । कार्यक्रमका उद्योग बाणिज्य संघका अध्यक्ष सूुर्य बहादुर शाहीले वोर्डसँग संयुक्त आयोजनामा कर्णाली अञ्चलमा नै पहिलो पटक पूँजी बजार सम्बन्धी यस्तो कार्यक्रम संचालन गर्न पाएको बताए । हालै यस्तो कार्यक्रम क्षेत्रिय सदरमुकाम सुर्खेतको विरेन्द्रनगरमा पनि आयोजना गरिएको थियो ।
भूकम्प पीडितले घर बनाउन तीन लाख पाउने पक्का, प्राबिधिकलाई ७५ प्रतिशत भत्ता पनि
काठमाडौं, ४ पुस । भूकम्प पीडितले निजी आवास निर्माणका लागि तीन लाख नगद अनुदान उने पक्का भएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरले निजी आवास निर्माणका लागि तीन लाख दिने व्यवस्थासहितको परिमार्जित कार्यबिधीलाई अर्थमन्त्रालयले सहमति दिएसँगै भूकम्प पीडितले तीन लाख पाउने पक्का भएको हो । यस अघि मन्त्रीपरिषदले भूकम्प पीडितलाई तीन लाख नगद अनुदान दिने निर्णय गरेको भएपनि अर्थमन्त्रालयले श्रोत अभाव हुने बताउँदै आएको थियो । पुष ३ गते उपप्राधन तथा अर्थमन्त्री कृष्ण बहादुर महराले भूकम्प पीडितलाई तीन लाख नगद अनुदान दिने परिमार्जित कार्यबिधीलाई सहमति दिएका हुन् । अब सो कार्यबिधी मन्त्रिपरिषदमा पेश हुनेछ । मन्त्रिपरिषदले पास गरेपछि अर्थमन्त्रालयले बजेट निकासा गर्नेछ र भूकम्प पीडितलाई दोश्रो किस्ता वापत डेढ लाख रुपैंयाँ वितरण सुरु हुनेछ । परिमार्जित कार्यबिधीले गुनासो प्रणालीमा आएका गुनासाहरुको विश्लेषण सहितको परिणाम सार्वजनिक गर्न र सम्बोधन गर्न सहज हुनेछ । प्राबिधिकलाई कार्य सम्पादनका आधारमा ७५ प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने गरी तयारी भएको पनि प्राधिकरणले जनाएको छ ।प्राधिकरणले कार्य क्षेत्रमा खटिएका प्राविधिकहरुलाई कुनै भ्रममा नपरी आ–आफ्नो जिम्मेवारी पूरा गरि भूकम्प पीडितहरुको सेवाका लाग्न आग्रह पनि गरेको छ । १७ जिल्लाको तथ्यांक संकलन सुरु हुँदै यसैबीच केन्द्रीय तथ्यांक विभागबाट भूकम्प कम प्रभावित १७ जिल्लामा सर्भेक्षणको कार्य गर्न १७ जिल्लाका समन्वयकर्ताहरु र सोसँग सम्बन्धीत तथ्यांक सहायकहरुलाई तीन दिन अभिमुखीकरण कार्य सम्पन्न भएको छ । पुनर्निर्माणको कार्यक्रमहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्न जिल्ला समन्वय समितिहरुको बैठकमा सहभागी हुने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिरकणबाट पदाधिकारीहरु विभिन्न जिल्लाहरुमा खटिएका छन् । कार्यकारी समितिका सदस्य ध्रुव्रप्रसाद शर्माको टोली धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ र सोलुखुम्बुका लागि खटिएको छ । कार्यकारी सदस्य चन्द्रबहादुर श्रेष्ठको टोली लम्जुङ, तनहुँ, कास्की, पर्वत, बाग्लुङ, म्यादी र स्याङजा जिल्लाका लागि खटिएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको टोली चितवन, नवलपरासी, अर्घाखाँची, गुल्मी र पाल्पामा हुने जिल्ला समन्वय समितिको बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ ।
महिला तस्करी रोकिएन, प्रतिवन्धित मुलुकमा नयाँ रुट बनाएर तस्करी हुँदै
काठमाडौं ४, पुस । सरकारले वैदेशिक रोजगारीका लागि नेपाली महिलालाई पठाउन प्रतिबन्ध लगाएका देशमा तस्करहरूले नयाँ रुटमार्फत पठाउने गरेको पाइएको छ। सो गिरोहका तीन सदस्य पक्राउ परेपछि रुटबारे खुलासा भएको हो। तस्करहरूले स्थलमार्गबाट भारत, श्रीलंका हुँदै कुवेत, ओमनलगायतका देशमा पठाउने गरेको पाइएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तस्करहरूले युवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारेर लाने गरेको जनाएको छ। नवलपरासी दुम्कीवास–३ का ३५ वर्षीय राजकुमार खरेल, ताप्लेजुङ फूलबारी–७ का ४६ वर्षीय पूर्णबहादुर लिम्बू र रूपन्देही गंगोलिया–६ का ४१ वर्षीय हरिप्रसाद थारू पक्राउ परेसँगै युवतीहरूलाई लैजाने रुटबारे प्रहरीले जानकारी पाएको हो। ब्युरोकी प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० मीरा चौधरीका अनुसार उनीहरूले अपराध स्वीकार गर्दै ६ महिलालाई नक्कली कागजात बनाएर रूपन्देहीको बेलहिया नाका हुँदै भारतको नयाँ दिल्लीबाट सीधै श्रीलंका पठाउने गरेको बताइन्। सो गिरोहले त्यहाँ केही दिन राखेर कुवेत, ओमन र दुबईमा घरेलु कामदारका रूपमा पठाउने गरेको पाइएको पनि उनले बताइन्। सो सिलसिलामा उनीहरूले ४५ दिनसम्म विभिन्न मुलुकमा बन्धकजस्तै बनाएर राख्ने गरेको पनि उनको भनाइ छ। एसपी चौधरीका अनुसार युवती तस्करहरूले विपन्न परिवारहरूलाई आर्थिक प्रलोभनमा पारेर तस्करी गर्दै आएका छन्। यो काम पहिलो भने होइन। उनीहरूले नेपालगन्ज, भैरहवा, वीरगन्जजस्ता नाकाबाट बसमै हालेर दिल्ली लैजाने र त्यहाँबाट श्रीलंका हुँदै कुवेत ओमनजस्ता मुलुकमा पठाउने गरेका छन्। राजधानी दैनिकबाट ।
पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर साढे चार रुपैयाँ बढ्यो, आजै विहानैबाट बढेको मूल्य लागू
काठमाडौं ४, पुस । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा समायोजन गरी चार रुपैयाँ ५० पैसा वृद्धि भएको निगमका प्रवक्ता भानुभक्त खनालले बताए । उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले नेपालमा पनि मूल्य बढाउनुपर्ने बाध्यता भएको बताउनुभयो । बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । भारतीय आयल निगमले केही दिनअघि पेट्रोलियम पदार्थको मूल्य बढाएको तथा भारतीय स्थानीय निजी पम्पमा पनि खुद्रा मूल्य बढेकाले नेपालमा मूल्य बढाउनु परेको निगमको भनाइ छ ।
आधुनिक प्रविधिको इन्टरनेट फोर–जी सेवा दिँदै टेलिकम, पुस १७ देखि काठमाडौं र पोखरामा एकैपल्ट सुरु
काठमाडौं ४, पुस । नेपाल टेलिकमले पुस १७ गते देखि पोखरा र काठमाडौँमा फोर जी मोबाइल सेवा दिने भएको छ ।टेलिकम पोखराका प्रमुख नरेशकाजी शाक्यका अनुसार पोखारामा फोर जी सेवा विस्तार गर्न हार्डवेयर र सफ्टवेयर थप्ने प्राविधिकहरु आइसकेका छन् । ‘पुस १७ देखि परीक्षणको रुपमा पोखरा र काठमाडौँमा फोर जी सेवा सुरु गर्दैछौँ,’ शाक्यले भने । उनका अनुसार प्राविधिकले बिटिएस टावरमा प्रविधि थप्नेछन् ।उनका अनुार काठमाडौँका बिटिएस टावरमा आवश्यक प्रविधि जडान भइसकेको छ । पहिलो चरणमा पोखरामा २५ हजार तथा काठमाडौँका ३ लाख ७५ हजारले फोर जी सेवा पाउन सक्नेछन् । नेपालमा ४ लाख जनासँग फोरजी सेवा लिन सक्ने मोवाइल रहेको टेलिकमले जनाएको छ । नागरिक दैनिकबाट ।