अरुण आयोजनाबाट प्रभावितलाई एक अर्ब बढी रुपैयाँको मुआब्जा वितरण
सङ्खुवासभा, ५ पुस । भारतीय लगानीकर्ता सतजल विद्युत् निगमले अरुण तेस्रो जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका जनतालाई अहिलेसम्म एक अर्ब १० करोड ८८ लाख रुपैयाँ मुआब्जा वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका अनुसार हालसम्म करिब ९४ प्रतिशत निजी जग्गाधनीलाई मुआब्जा रकम वितरण गरिसकिएको छ । यसै महिनाभित्र बाँकी रहेका सबै जग्गाधनीलाई मुआब्जा रकम वितरण गरिनेछ । कुल नौ सय मेगावाट क्षमताको सो आयोजनामा निजी, सरकारी जग्गा उपलब्ध गराउनुपर्नेमा निजी जग्गा प्राप्तिको विषय भने सहज रुपमा अगाडि बढेको हो । आयोजनाबाट नुम, पाथीभरा, दिदिङ, याफु गाविस प्रमुख रुपमा प्रभावित हुनेछ । आयोजनाका लागि निजी ४९ हेक्टर र सरकारी १२४ हेक्टर जग्गा आवश्यक पर्दछ । आयोजनाको प्रवद्र्धक सतलज विद्युत् निगमले स्थानीय प्रशासन र स्थानीयवासीको सहभागितामा मुआब्जा वितरणको काम अन्तिम चरणमा पुर्याएको हो । प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यका अनुसार अन्य आयोजनामा सरकार र प्रवद्र्धकले एकलौटी रुपमा निर्णय गर्ने गरेका कारण जग्गा प्राप्तिको विषय समस्या बनेको भएपनि अरुण तेस्रोमा भने सहज रुपमा नै प्रक्रिया अगाडि बढेको छ । प्रभावित स्थानीय बासिन्दाले रु २७ हजारदेखि रु तीन करोड ७१ लाखसम्म मुआब्जा बुझेका छन् । आयोजनाले छ वर्गमिटरदेखि २० रोपनीसम्मका निजी जग्गा अधिग्रहण गरेको छ । प्रमुख जिल्ला अधिकारी आचार्यले जग्गा प्राप्ति ऐन, २०३४ का आधारमा पछिल्लो समयमा कारोबार भएको मूल्यलाई नै आधार मानेर जग्गाको वर्गीकरण गरिएको र त्यसमा प्रवद्र्धक कम्पनीले थप ६५ प्रतिशतसम्म उपलब्ध गराएका कारण जग्गा प्राप्तिको विषय सहज भएको बताए । आयोजनाले खेत, बारी, पाखोबारी, अलैँची खेती भएको जग्गा छुट्याएर मुआब्जा वितरण गर्दा न्यूनतम प्रतिरोपनी रु आठ लाख २५ हजारसम्म परेको थियो । त्यसमा तीन वर्षसम्मको बालीबाट प्राप्त हुने आम्दानीबापतको रकमसमेत उपलब्ध गराइएको हो । आयोजनाबाट कुल २६९ घरधुरी विशेष रुपमा प्रभावित हुनेछन् । त्यसमा भौतिक रुपमा नै विस्थापनमा पर्ने घरधुरीको सङ्ख्या २३ रहेको छ । आर्थिक विस्थापनमा १८० घरपरिवार पर्नेछन् भने १६ वटा व्यावसायिक संरचना र चार सामुदायिक संरचना प्रभावित हुने भएका छन् । सतलज विद्युत् निगमका स्थानीय परामर्शदाता मधुकर खड्काले प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने मुआब्जा निर्धारण समितिले सहज रुपमै आयोजनालाई जग्गा उपलब्ध गराइएको बताए । उनले अधिग्रहणमा परेका घरपरिवारलाई जीविकोपार्जनका लागि आवश्यक न्यूनतम जग्गाभन्दा कम मात्रै बचेतमा त्यस प्रकारका जग्गा धनीले प्रभावित चार गाविसभित्रै जग्गा खरिद गरे मुआब्जा बापत पाएको रकमको ५० प्रतिशत थप प्रोत्साहन खर्च दिइने जानकारी दिए । उनका अनुसार जग्गाधनीले जग्गा मुआब्जा बापत पाएको रकमले जग्गाको सट्टा नगद नै प्राप्त गर्न चाहेमा क्षतिपूर्ति बापत पाएको रकमको ३० प्रतिशत थप प्रोत्साहन खर्च दिइने छ । यस अतिरिक्त बोट बिरुवा, फलफूल तथा अलैँचीबारीको समेत थप रकम उपलब्ध गराइने व्यवस्था गरिएको छ । यस्तै आयोजनाले बसाइँ सराइ खर्च, खाद्य सुरक्षा खर्च र सङ्क्रमणकालीन खर्चसमेत प्रभावितलाई उपलब्ध गराएको छ । निजी जग्गा सहज रुपमा उपलब्ध भए पनि वन क्षेत्रको जग्गा प्राप्तिमा भने समस्या कायम नै रहेको छ । जिल्ला वन कार्यालयले वन क्षेत्रको जग्गा उपलब्ध गराउने विषयमा गत असारमै आवश्यक प्रक्रिया अगाडि बढाए पनि वन तथा भू–संरक्षण मन्त्रालयले कुनै निर्णय गरेको छैन । रासस
टेलिकम र ओरिडुबीच रोमिङ सम्झौता, सस्तियो कतारबाट नेपाल कल गर्दाको महसुल
काठमाडौं, ५ पुस । नेपाल टेलिकम र ओरिडु कतारबीच सहुलियत दरमा रोमिङ सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार अब नेपाल टेलिकमका जीएसएम पोष्टपेड मोबाइल प्रयोगकर्ताहरु कतारमा गएको समयमा पहिलेभन्दा सस्तो दरमा नेपालमा कल गर्न सक्ने छन् । कतारमा सम्पन्न उक्त सम्झौतामा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत प्रदीपराज उपाध्याय र ओरिडु कतारको तर्फबाट एक्टिङ सिइओ-ओजिएस खालिद एल मनसउरीले हस्ताक्षर गरेका छन् । आगामी जनवरीदेखि नयाँ सम्झौता अनुसारको दर लागू हुनेछ । यस अघि सन् २००६ अक्टोबर १२ मा नेपाल टेलिकम र ओरिडु कतारबीच अन्तर्राष्ट्रिय रोमिङ सेवासम्बन्धी सम्झौता भएको थियो । हाल सोही सम्झौताको महसुल दरलाई परिमार्जन गरिएको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । सो सम्झौताका अवसरमा नेपाल टेलिकमका सञ्चालक सदस्य राजीव गौतम, कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र उपप्रबन्धक तथा सहप्रबक्ता शोभन अधिकारी एवं ओरिडु कतारका अधिकृतहरुको उपस्थिति रहेको थियो ।
अरुण कावेलीको साधारण सेयर बाँडफाँड, ३५ हजारसम्मको आवेदन दिनेलाई गोलाप्रथाबाट
काठमाडौं, ५ पुस । अरुण काबेली पावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको साधारण सेयर बाँडफाड गरेको छ । मंगलबार दिउसो सेयर विक्रि प्रबन्धक रहेको सिद्धार्थ क्यापिटलले कम्पनीको थापाथलीस्थित कार्यालयमा बसेर सारधारण सेयर बाँडफाड गरेको हो । ३५ हजार रुपैयाँ बराबरको साधारण सेयर आवेदन दिनेलाई गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको छ ।गोलाप्रथाबाट पाएका व्यक्तिहरुले १३ कित्ता पाएका छन् । र ५० हजारसम्मको सेयर आवेदन दिनेलाई २.६७ प्रतिशतले सेयर बाँडफाँड गरिएको छ । त्यस्तै ५० हजार भन्दा माथिको सेयर आवेदन भर्नेलाई १.९७ प्रतिशतका दरले सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । कम्पनीले कात्तिक ९ गते ३० करोड रुपैंयाको ३० लाख कित्ता साधारण शेयर निस्कासन गरेको थियो । १२ अर्ब ६३ करोड रुपैंया बराबरको सेयर आवेदन परेको थियो । ताप्लेजुङको सिमानामा पर्ने कोबली नदीमा २५ मेगावाट क्षमताको काबेली बी १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
उद्योग मन्त्रालय पुगेर दर्जनौं राजदूतले भने-‘वैदेशिक लगानी बढाउन हायर एण्ड फायर’
काठमाडौं, ५ पुस । नेपालस्थित दर्जनौं मुलुकका राजदुतहरुले वैदेशिक लगानी बढाउनका लागि हायर एण्ड फायरको व्यवस्थासहित लचिलो श्रम ऐन ल्याउनुपर्ने बताएका छन् । उद्योगमन्त्री नवीन्द्रराज जोशीले आगामी फागुनको १९ र २० गते आयोजना गर्न लागिएको नेपाल लागानी सम्मेलनको छलफलमा सहभागी राजदुतहरुले हायर एण्ड फायर सहितको लचिलो श्रम ऐनले मात्रै नेपालमा वैदेशिक लगानी बढाउन मदत पुग्ने धारणा राखेका हुन् । सरकारले वैदेशिक लगानी प्रवद्र्धनका लागि हालसम्म ल्याएका कानुनहरु सकारात्मक भएपछि श्रम सम्बन्धलाई व्यवस्थित गर्न हायर एण्ड फायरको व्यवस्था अत्यावश्यक रहेको बताएका हुन् । छलफलमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क), जापान, सयुक्त राज्य अमेरिका, स्वीडेन, साउथ अफ्रिका, म्यानमार, न्युजल्यान्ड, थाइल्यान्ड, फिनल्यान्ड, चेक रिपब्लिक लगायतका मुलुकका राजदुतहरुको सहभागीता रहेको थियो । उनीहरुले नेपालमा लगानीका लागि उपयुक्त वातावरण बन्दै गएकोले नीतिगत र राजनीतिक स्थिरताका साथै लचकदार श्रम ऐन पनि चाडो ल्याउन सुझाएका थिएए । छलफलमा उद्योग मन्त्री जोशीले नेपाल सम्पुर्ण रुपले वैदेशिक लगानीका लागि सुरक्षित गन्तव्य बन्दै गएको बताएका थिए । उनले उद्योग दर्ता प्रक्रियालाई सरलीकृत एवम छरितो बनाइएको, अन्तर मन्त्रालयबीचको समन्वय सहज भएको दावी गर्दै नेपाल लगानी सम्मेलन मार्फत आफ्ना मुलुकका लगानी कर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहन गरिदिन आग्रह गरेका हुन् ।
नेप्से परिसूचक १४ सयमा झर्यो, ६८ करोडको सेयर कारोबार
काठमाडौं, ५ पुस । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । परिसूचक १८ दशमलब ८९ अंकले घटेर १४९५ दशमलब ९९ अंकमा झरेको छ । सो दिन १३८ कम्पनीको ७ लाख २३ हजार कित्ता सेयर ६८ करोड ३९ लाख रुपैयाँमा किनबेच भएको छ । बजारमा परिसूचक घटे पनि कारोबार रकममा भने केही सुधार आएको छ । मंगलबार अन्य समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक घटेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १११.३५ अंकले घटेको छ । अन्य समूहको २.६ अंकले बढेको छ भने बाँकीको दोहोरो अंकले घटेका छन् । बजारमा एभरेष्ट बैंकको २८ करोड रुपैयाँको सेयर काराृेबार भएको छ । उक्त बैंकको सेयर मूल्य प्रतिकित्ता ३ हजार १९० रुपैयाँ रहेको छ । सो दिन सबैभन्दा बढी नागबेली लघुवित्त विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । मञ्जुश्री फाइनान्सियल इन्स्टिट्यूसनको सेयर मूल्य ५ प्रतिशतले घटेको छ ।
४८ मुलुकसँग नेपालको व्यापार नाफामा, सबैभन्दा बढी नाफा टोकेलाउँको व्यापारमा
काठमाडौं, ५ पुस । नेपालले अन्यमुलुकसँगको व्यापारमा सधै घाटामा मात्र व्यहोरेको समाचारहरु बाहिर आइरहेको छ । तर नेपालले केही मूलकसँगको वैदेशिक व्यापारमा भने नाफा कमाएको छ । नेपालले १९२ वटा मूलुकसँग व्यापार गर्ने गरको छ त्यसमध्ये ४८ वटा मूलुकसँगको व्यापार नाफामा गएको व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रले जनाएको छ । गत आर्थिक वर्षमा ७ खर्व १० अर्व रुपैयाँ बराबरको व्यापार घाटा नेपालले व्यहोरेको छ । तर विभिन्न मुलुकहरु सँगको व्यापारमा भने नेपालले कहिल्यै पनि घाटा व्यहोर्नु नपरेको केन्द्रले जनाएको छ । नेपालसँग टोकेलाउ नामक देशको व्यापार भने सवैभन्दा धेरै नाफामा रहेको छ । गत आर्थिक वर्षको तथ्यांक हेर्दा सो देशसँग नेपालको व्यापार एक अर्व १० करोड रुपैयाँले नाफामा रहेको छ । गत आर्थिक वर्षमा नेपालसँग बेलायको व्यापार ६४ करोड १० लाख रुपैयाँ नाफामा रहेको छ भने अमेरिकासँगको व्यापार ६३ करोड ७६ लाख रुपैयाँ नाफामा रहेको छ । त्यस्तै नर्वेसँग ११ करोड ९८ लाख, अफगानिस्तानसँग १७ करोड ७६ लाख, इरान २ करोड १६ लाख, अमेरिकल सामोवा एक करोड २६ लाख रुपैयाँ व्यापार नाफामा रहेको छ । भेनेजुयला एक करोड १४ लाख, स्लोभेनिया एक करोड १० लाख, न्युकेलेडोनिया ७७ लाख, आइसल्याण्ड ५४ लाख, माली ५३ लाख, मोनाको ४४ लाख, पोर्चुगल ३७ लाख, स्टोनिया २३ लाख, नाइजेरिया १८ लाख, इष्ट टिमोर १६ लाख रुपैयाँ व्यापार नाफामा रहेको छ । त्यस्तै बहमास, पानामा, रुवान्डा, मोरिटियुस, जमैका, ताजकिस्तान, गौडेलोप, सुडान, लिथुआनीया, मंगोलिया, लाओस, युगान्डा, कंगो, लिविया, सिरिया, माल्दिभ्स, अल्जेरिया, उव्जेकिस्तान लगायतका देशहरुसँगको व्यापार भने सधै नाफामा रहेको छ । ती स्थानहरुमा हस्तकलाका समाग्री, कपासाबाट बनेका सागम्री लगायतका सामानहरु निर्यात हुने गरेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ति देशहरुसँगको व्यापारमा बृद्धि गर्न सकेको खण्डमा र भारतबाट आयात घटाउन सकेमा व्यापार घाटा कम हुदै जाने छ । हाल नेपालमा प्रत्येक वर्ष व्यापार घाटा चुलिदै छ भने गत बर्ष व्यापारघाटा नेपालको कुल बजेट सरह हुन पुगेको थियो । नेपाल र अन्य मूलकको व्यापार सधै घाटामा रहेको समाचारहरु बाहिर आएपनि केही त्यस्ता मुलुकहरुको व्यापार सधै घाटामा रहेपनि केही यस्ता मूलुक छन् जुन नेपालसँगको व्यापार सधै नाफामा गएका छन् ।
जेबिल्स फाइनान्सको वार्षिक साधारणसभा पुस २७ गते, कहिले देखि बुक क्लोज?
काठमाडौं, ५ पुस । जेबिल्स फाइनान्सको ७औँ साधारणसभा आगामी पुस २७ गते हुने भएको छ । सो प्रयोजनको लागि पुस १२ गतेदेखि पुस २७ गते सम्म कम्पनीको बुक क्लोज हुने जानकारी गराएको छ ।
सानिमा बैङ्क राष्ट्रिय पत्रकारिता पुरस्कारबाट दुई लाख बढीको पुरस्कार प्रदान
काठमाडौं, ५ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा ‘प्रेस काउन्सिल- सानिमा बैङ्क राष्ट्रिय पत्रकारिता पुरस्कार’बाट दिवंगत पत्रकार कर्ण बोहरालाई मरणोपरान्त पुरस्कृत गरेकी छन् । उक्त समारोहमा बोहराका धर्मपत्नी ममता बोहरालाई रु दुई लाख पचास हजार राशीको सो पुरस्कार प्रदान गरिएको हो ।