एक घण्टामै काठमाडौं-रसुवागढी पुगिने रेल बनाइदिन्छौंः चीन
काठमाडौं, १२ पुस । चिनिया सरकारको पूर्ण स्वामित्वमा रहेको चाइना रेल वे इन्टरनेशनल ग्रुपले एक घण्टा भन्दा कम समयमै काठमाडौंबाट रसुवागढी पुग्न सकिने रेल मार्ग निर्माण गरिदिने प्रस्ताव अघि सारेको छ । कम्पनीले रेल विभागमा बुझाएको प्रस्तावमा काठमाडौं–रसुवागढी विद्युतिय रेल वेको लम्बाई जम्मा १०५ किलोमिटरको मात्रै हुनेछ । प्रतिघण्टा १२० किलोमिटरको स्पिडमा दौडने रेलले काठमाडौं–रसुवागढी यात्रालाई एक घण्टा भन्दा कम समयमा सिमित गर्न सकिने प्रस्तावमा उल्लेख छ । यो रेल वे रसुवागढीबाट काठमाडौं आइपुग्दा ९० दशमलब २ किलोमिटर सुरुङ भित्र रहनेछ भने ६ दशमलब ५४ किलोमिटर पुलमाथी गुड्नेछ । बाँकी ८ दशमलब २६ किलोमिटर दुरी मात्रै जमिनमा रहनेछ । यसरी निर्माण हुने रेलको बिभिन्न स्थानमा ६ वटा स्टेशन रहेछन् । जसमा पहिलो स्टेशन रसुवागढीमा रहेछ भने दोश्रो स्टेशन स्याफ्रुबेसीमा र तेश्रो स्टेशन ग्राङमा निर्माण हुने उल्लेख छ । चौथो स्टेशन नुवाकोटको विदुरमा र पाँचौं स्टेशन ककनीमा निर्माण गरेर छैठौं स्टेशनका रुपमा काठमाडौं प्रवेश गर्नेछ । यो रेलले बार्षिक १ करोड ५० लाख टन समान बोक्न सक्छ । रेलले दैनिक चार पटक रसुवागढी–काठमाडौं यात्रा गर्न सक्नेछ । चाइना रेल वे इन्टरनेशनल ग्रुपले चिनियाँ सरकारको दिर्घकालिन सहुलियत ऋणमा यस्तो रेल मार्ग निर्माण गर्न सकिने जनाएको छ । कम्पनीले १८ अर्ब चिनियाँ मुद्रा खर्च गरेर त्यस्तो रेल बनाउन सकिने प्रस्ताव अघि बढाएको हो । चिनियाँ कम्पनीले चीन सरकारको दिर्घकालिन सहुलियत ऋणमा रेल बनाउन सकिने प्रस्ताव गरेको छ, उसले तत्कालै दुई सरकारबिच सम्झौता गरेर अध्ययन थाल्न सकिने पनि बताएको छ’, रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाश उपाध्यायले विकासन्युजसँग भने । उपाध्यायका अनुसार प्रत्येक एक सय मिटर रेल मार्गमा तीन मिटर उचाइ बढाउन सकिने प्रबिधीको विकास भैसकेकाले पनि काठमाडौं–रसुवागढी रेल मार्गको निर्माण सम्भव देखिन्छ । चाइना रेल वे इन्टरनेशनल ग्रुपले अधि सारेको सो रेल मार्ग निर्माण सम्बन्धी प्रस्ताव विभागमा पुस ११ गते २३६ नम्बरमा दर्ता गरिएको छ । कम्पनीले केहि समय अघि विभागमा पेश गरेको प्रस्तावलाई थप परिमार्जन गरे पुनः पेश गरेको हो । कम्पनीले चीन सरकारको सहुलियत ऋण र नेपालका सरकारले थोरै लगानी गरेर त्यस्तो रेल बनाउन सकिने उल्लेख गरेको छ । श्रोतका अनुसार कम्पनीले ३० प्रतिशत नेपाल सरकारले लगानी गर्ने र ७० प्रतिशत चीन सरकारले सहुलियत ऋण उपलब्ध गराउने मौखिक प्रस्ताव कम्पनीको छ । उसले आफैं रेल बनाउने र नेपाल सरकारले त्यसको नियमन गर्न सक्ने जनाएको छ ।
ग्रामीण विकास बैंकको साधारणसभा माघ १४ गते, पुस २१ गतेदेखि बुक क्लोज
काठमाडौं, १२ पुस । नेपाल ग्रामीण विकास बैंकले आगामी माघ १४ गते आफ्नो दोश्रो वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि पुस २१ गतेदेखि माघ १४ गतेसम्म बैंकको बुक क्लोज गर्ने निर्णय गरेको छ ।
डिलर कमिसन ५ प्रतिशत नबढाए आन्दोलन
काठमाडौं, १२ पुस । डिलर कमिसन बढाउनु पर्ने सहित विभिन्न सात बुँदे माग राख्दै ग्यास विक्रेता महासंघ नेपालले आफुहरुको मागमा ध्यान नदिए डिलरको तालाचावी सरकारलाई बुझाउने चेतावनी दिएको छ । तालिमप्राप्त डिलरले मात्र ग्यास बिक्री इजाजत पाउनुपर्ने र डिलर कमिसन लगानीको ५ प्रतिशत हुनेगरी वृद्धि गर्नुपर्ने माग पनि अघि सारेको छ । अनामनगरस्थित मिडिया इन्टरनेशनलमा मंगलबार पत्रकार सम्मेलन गरी संघले विभिन्न सात बुँदे माग अघि सारेको हो । महासंघले तत्काल डिलरको प्रमाणीकरण प्रक्रिया अगाडी बढाउनुपर्ने, डिलर र डिलरमा काम गर्नेहरुको बीमा गर्नुपर्ने, ग्यासमा लगाइएको भ्याट खारेज गर्नुपर्ने, व्यवसायिलाई लगाइएको झुठा मुद्दा खारेज गर्नुपर्ने माग राखेको छ । आफुहरुले अघि सारेका माग पुरा नभए यही पुस २९ गतेदेखि ग्यास उद्योगमा धर्ना तथा ताला बन्दी र आयल निगम घेराउने गर्ने महासंघले चेतावनी दिएको छ । त्यसपछि पनि सरकारले बेवास्ता गरे आफुहरु डिलरको तालाचावी सरकारलाई बुझाउन बाध्य हुने महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बताए । अर्यालका अनुसार ७ बुँदे मागसहितको ध्यानाकर्षण पत्र महासंघले मंगलबार नै नेपाल आयल निगमलाई पनि बुझाएको छ । नेपालमा एलपी ग्यासको कारोबार दशकौँ अघिदेखि भएपनि पेट्रोलियम कानूनको अभावमा कारोबार व्यवस्थित हुन नसकेको उनले बताए । महासंघका अध्यक्ष अर्यालले पछिल्ला दिनहरुमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि, घरभाडामा भएको वृद्धि, कामदारहरुको तलब वृद्धि, औषधि उपचार लगायत शैक्षिक क्षेत्रमा भएको शुल्क वृद्धिले गयास वितरक तथा विक्रेताहरुको व्यवसाय धरापमा परेको उल्लेख गरे । दक्षिण यसियामै कुनै पनि देशमा ग्यासमा नभएको भ्याट व्यवस्था नेपालमा मात्रै भएको भन्दै तत्काल सो खारेज हुनुपर्ने उनको भनाइ थियो । महासंघका महासचिव चन्द्रबहादुर थापाले आफुहरुले अघि सारेका मागका विषयमा सरकार गम्भिर नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिए ।
मेलम्ची खानेपानी सुरुङको ८० प्रतिशत काम सम्पन्न, ५ किलोमिटर मात्र बन्न बाँकी
काठमाडौं, १२ पुस । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको सुरुङ मार्ग (टनेल) निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । “यही गतिमा काम जारी रहे २०७४ साल भदौ महिनाभित्रमा सुरुङ मार्ग खन्ने काम सम्पन्न हुन्छ, कुल २७ किलोमिटरमध्ये अब साढे पाँच किलोमिटर मात्र निर्माण गर्न बाँकी छ,” खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले जानकारी दिएका छन् । यो नेपालको पहिलो सुरुङ मार्गसमेत हो । उनका अनुसार अहिले सुन्दरीजलदेखि सिन्धुसम्मको करिब साढे नौ किमीमध्ये १० मिटर मात्र टनेल निर्माण कार्य बाँकी रहेको छ । यो एक हप्ताभित्र सो १० मिटर निर्माण सम्पन्न हुने मन्त्रालयले विश्वास लिएको छ । साथै, सिन्धुदेखि ग्यालथोक र ग्यालथोकदेखि अम्बास्थानसम्म पनि निर्माण कार्य द्रुत गतिमा भइरहेको सचिव उपाध्यायले बताएका छन् । सन् २००९ मा टनेल निर्माण कार्यको जिम्मा पाएको चिनियाँ कम्पनीले काम नगरेपछि सरकारले सन् २०१३ मा सो सम्झौता रद्द गरी इटालियाली कम्पनीलाई जिम्मा दिएको थियो । “हामीलाई हाल कार्यरत इटालियाली कम्पनीले आगामी भदौ महिनाभित्र टनेल निर्माणको पहिलो चरण पूरा गरिसक्ने जानकारी गराइसकेको छ” – उनले भने । मन्त्रालयले टनेल निर्माणमा मात्र २४ अर्ब रुपैयाँ लाग्ने जनाएको छ । सो टनेलबाट करिब १७ हजार करोड लिटर पानी सुन्दरीजल पानी प्रशोधन केन्द्रमा झर्नेछ । हाल सो प्रशोधन केन्द्रको निर्माण सम्पन्न भइसकेको छ । टनेलको काम सम्पन्न भएपछि उपत्यकावासीले आगामी असोजसम्ममा मेलम्चीको पानी उपयोग गर्न पाउने मन्त्रालयले जनाएको छ । रासस
नेप्से परिसूचक २५ अंकले ओरालो, ५९ करोडको कारोबार, सबै सूचक राताम्मे
काठमाडौं, १२ पुस । मंगलबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । बजारमा नेप्से परिसूचक २५ दशमलब ०४ अंकले घटेर १४०७ अंकमा झरेको छ । सो दिन बजारमा निकै उतारचढाव भएको देखिन्छ । कारोबार खुलेको करिब २ घन्टामा परिसूचक घटेर १३९४ अंकमा पुगेको बजारलाई बन्द हुँदा भने केही टेवा पुगेको देखिन्छ । मंगलबार बजारमा ५९ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जुन सोमबारको तुलनामा करिब ११ करोड रुपैयाँ बढी हो । सो दिन १३० कम्पनीको १० लाख कित्ता सेयर किनबेच भएको छ । बजारमा कारोबार भएका सबै परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १९१ अंकले ओरालो लागेका छन् । त्यस्तै, हाइड्रोपावर, बैंकिङ्, विकास बैंक, होटल र फाइनान्स समूहको परिसूचक क्रमशः ३०, २४, २१, १७ र १६ अंकले घटेका छन् । अन्य समूहको परिसूचक सामान्य अंक ३ दशमलब ४७ अंकले घटेको छ । मंगलबारको बजारमा सिद्धार्थ बैंकको सबैभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ । तीन करोड बढी रुपैयाँको सेयर कारोबार भएको बैंकको सेयर मूल्य प्रतिकित्ता ९२८ रुपैयाँ रहेको छ । त्यस्तै, बैंक अफ काठमाण्डू र एभरेष्ट बैंकको २ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । मञ्जुश्री फाइनान्सियल इन्स्टिट्यूसन र प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ । सबैभन्दा बढी एनबी इन्स्योरेन्सको सेयर मूल्य ९.९० प्रतिशतले बढेको छ ।
खोटाङ र उदयपुरको सिमानामा बेलिब्रिज जडान, तराईसँगको सिधा यातायात शुरु
खोटाङ, १२ पुस । खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसी नदीस्थित फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिज मंगलबारदेखि सञ्चालनमा आएको छ । जिल्लाको दक्षिणी गाविस लिच्किराम्चे र उदयपुरको आँपटार गाविस जोड्ने फोक्सिङ्टारस्थित सुनकोसी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै जिल्लाबाट सिधा यातायात सेवा सुरु भएको छ । तराईलगायत अन्य जिल्ला पुग्न सबैभन्दा छोटो मार्गका रुपमा महुरे– फोक्सिङ्टार सडक खण्ड मानिन्छ । सुनकोसी, दूधकोसी, तामाकोसी, लिखु र इन्द्रावती गरी पाँच नदी मिसिएर बग्ने फोक्सिङ्टारमा अस्थायी बेलिब्रिज सञ्चालन भएपछि जिल्लाबाट यातायातका सवारी साधन छुटाउन थालिएको यातायात व्यवसायी सङ्घ खोटाङका सचिव रामकुमार हिङ्माङले जानकारी दिएका छन्। फोक्सिङ्टारमा बेलिब्रिज सञ्चालनमा आएपछि जिल्लावासीलाई तराईलगायत अन्य जिल्ला आवतजावतका साथै दैनिक उपभोग्यवस्तु ढुवानीमा सहज भएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताए । पक्की पुल निर्माणका लागि ठेक्का लागिसकेको फोक्सिङ्टारमा अहिलेसम्म पुल निर्माणको काम हुन सकेको छैन । तीन वर्षअघि शिलान्यास गरिएको पक्की पुल निर्माणमा ठेकेदारले लापरबाही गरेकाले काम नभएको स्थानीयवासीको आरोप छ । पुल निर्माण नभएपछि विकल्पमा अस्थायी बेलिब्रिज जडान गर्दा वार्षिक ६० लाख रुपैयाँभन्दा बढी राज्यकोषको रकम खर्च हुने गरेको छ । अहिलेसम्म कच्ची अवस्थामा रहेको दिक्तेल– गाईघाट सडक कालोपत्रेसमेत सुरु गरिएको छ । रासस
सिटिजन्स बैंकलाई धितोपत्र दरखास्त संकलन गर्न बोर्डको अनुमति
काठमाडौं, १२ पुस । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धितोपत्र दरखास्त संकलनको कार्य गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । सिटिजन्स बैंकले धितोपत्र निष्कासन हुँदाका बखत लगानीकर्ताबाट दरखास्त बुझेर उनीहरुको खातामा रकम होल्ड गरी दरखास्त लिने गर्दछ । बैंकले उक्त कार्य आगामी माघ १ गतेदेखि लागू गर्नेछ ।
समता माइक्रोफाइनान्सको आइपीओ पुस १९ गतेदेखि, २२ गतेसम्म आवेदन दिन पाइने
काठमाडौं, १२ पुस । समता माइक्रोफाइनान्स वित्तीय संस्थाको थप साधारण सेयर(आइपीओ ) पुस १९ गतेबाट बिक्री खुला हुने भएको छ । कम्पनीले एक सय अंकित मूल्यको ९४ हजार ८ सय कित्ता साधारण सेयरको बिक्री खुला गर्न लागेको हो । कम्पनीका अनुसार कुल ९४ हजार ८ सय कित्तामध्ये एक हजार ८९६ कित्ता सेयर कर्मचारीको लागि र ४ हजार ७४० कित्ता सेयर म्युचुअल फण्डको लागि छुट्टाइएको छ । इच्छुक लगानीकर्ताले ८८ हजार कित्ता सेयरकोलागि मात्र आवेदन दिन पाउने छन् । लागानीकर्ताले न्यूनतम ५० देखि अधिकत्तम पाँच सय कित्ता सेयरको माग गर्न पाउने छन् । कम्पनीका अनुसार लगानीकर्ताले छिटोमा पुस १९ गतेदेखि पुस २२ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल मार्केटलाई नियूक्त गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकका शाखाहरु, एनआइबिएल क्यापिटलको कार्यालय लाजिम्पाट, बारा स्थित माइक्रोफाइनान्सको कार्यालय लगायत विभिन्न ११ संस्थामा सेयर आवेदन बुझाउन सकिने जनाइएको छ ।