आइतबारदेखि मोवाइल इन्टरनेटमा टेलिकमको फड्को, फोरजी थ्रीजीकै भाउमा, चार दिन सित्तैमा
काठमाडौं १६, पुस । नेपाल टेलिकमले हाल चलिरेका सेवाको महसुल दरमा नै चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) समेत चलाउने भएको छ । आगामी आइतबारदेखि काठमाडौं र पोखराबाट यो सेवा सुरु गर्न लागेको टेलिकमले तत्कालका लागि पुरानै दरमा फोरजी चलाउन दिने भएको हो । आइतबारदेखि टेलिकमले नेपालमै पहिलोपटक फोरजी सेवा सुरु गर्न लागेको छ । ‘आइतबार फोरजीको ‘सफ्ट लन्च’ हुन लागेको हो,’ टेलिकमका एक उच्च अधिकारीले भने, ‘त्यसैले गर्दा अहिले व्यावसायिक प्याकेज ल्याइएको छैन, प्रवर्द्धनका लागि पुरानै दरमा चलाउन दिने निर्णय भएको हो ।’ ती अधिकारीका अनुसार हाल दोस्रो पुस्ताको मोबाइल सेवा (टुजी) र तेस्रो पुस्ताको मोबाइल सेवा (थ्रीजी) मा लागू भएकै महसुल दर फोरजीका लागि कायम गरिएको हो । शुक्रबार र शनिबार सार्वजनिक बिदा भएकाले टेलिकमले फोरजी औपचारिक रूपमा सुरु गर्नुभन्दा अगाडि नयाँ महसुल दर स्वीकृत गराउने अवस्था छैन । भ्वाइसका लागि भने टुजी र थ्रीजी पोस्टपेड ग्राहकले बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म (पिक आवर)का लागि प्रतिमिनेट १ रुपैयाँ र प्रिपेड ग्राहकले १ रुपैयाँ तिर्दै आएका छन् । यो टेलिकमको नेटवर्कबाट टेलिकममै कल गर्दाको दर हो । यसैगरी बेलुका १० देखि बिहान ६ बजेसम्म भने पोस्टपेड मोबाइलमा ५५ पैसा प्रतिमिनेट तिर्नुपर्छ । थ्रीजी पोस्टपेड र प्रिपेडबाट भिडियो कल गर्दा भने प्रतिमिनेट २ रुपैयाँ र एमएमएस पठाउँदा प्रतिमिनेट १ रुपैयाँ ५० पैसा तिर्नुपर्छ । फोरजी सेवाका लागि ग्राहकले पुरानै दरमा सेवा लिन पाए पनि त्यसको गति भने तीव्र हुनेछ । यसको गति ३० देखि ४० मेगाबाइट प्रतिसेकेन्ड (एमबीपीएस) बीच हुने टेलिकमका अधिकारीहरूले बताएका छन् । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू)ले फोरजीका लागि १ सय एमबीपीएस गति तोकेको भए पनि धेरै मुलुकमा ४० एमबीपीएस गतिको इन्टरनेटलाई फोरजीका रूपमा लिने गरिएको छ । भारतमा समेत सेवा प्रदायकले यही गतिमा फोरजी सुरु गरेका छन् । सरकारी स्वामित्वको टेलिकमले नेपालमा पहिलोपटक फोरजी सेवा सुरु गर्न लागेको हो । उच्च गतिको इन्टरनेट हुने यो सेवा विकसित मुलुकमा भने करिब ६ वर्षदेखि सुरु भइसकेको छ । केही मुलुकले पाँचौं पुस्ताको मोबाइल सेवा (फाइभजी) को समेत परीक्षण थाल्ने घोषणा गरिसकेका छन् । चार दिन सित्तैमा फोरजी हाललाई पुरानै दरमा फोरजी चलाउन दिने तयारी गरेको टेलिकमले ग्राहकलाई सुरुका चार दिन भने सित्तैमा फोरजी चलाउन दिने प्याकेज तय गरेको छ । ‘ग्राहकलाई नयाँ सेवाबारे जानकारी दिन पनि यस्तो प्याकेज बनाइएको हो,’ टेलिकमका एक अधिकारीले भने, ‘हामीले ४ दिनका लागि हरेक दिन एकरएक जीबी (गिगाबाइट) डाटा सित्तैमा चलाउन दिँदै छौं ।’ जीएसएम मोबाइलका ग्राहकले एसएमएस पठाएरै यो सेवा लिन सक्ने उनले बताए । जनवरी महिनाभर यो प्रवर्द्धनात्मक योजना लागू भए पनि एकपटक सेवा लिएर चार दिन चलाएका ग्राहकले भने फेरि सित्तैमा चलाउन पाउने छैनन् । कान्तिपुर दैनिकबाट ।
न्यूरोड मोबाइल महोत्सवमा तीन दिनमा १० करोड रुपैंयाभन्दा बढीको कारोबार
काठमाडौं, १५ पुस । नेपाल मोबाइल व्यवसायी संघले पुस १३ गतेदेखि आयोजना गरिरहेको न्यूरोड मोबाइल महोत्सव २०७३ मा ग्राहकहरुको अधिक चहलपहल देखिएको छ । महोत्सव शुरु भएको तेस्रो दिनसम्म ग्राहकहरुले विभिन्न ब्राण्डका स्मार्टफोनहरु भारी छुटमा अफरसहित किनिरहेका छन जहाँ १० करोड रुपैंया भन्दा बढीको कारोबार भएको आयोजकले जनाएको छ । मोबाइल महोत्सवमा ग्राहकहरुले आफूले चाहेको मोबाइल फोन सूपथ मूल्यमा किन्न पाएको अनुभव सुनाए । नेपालको आर्थिक केन्द्र तथा मोबाइल हबको रुपमा चिनिने पाको, न्यूरोड क्षेत्रमा भव्यरुपमा शुरु भएको न्यूरोड मोबाइल महोत्सव २०७३ मा स्मार्टफोन, एसेसरिजका साथै विभिन्न मनोरन्जनात्मक गतिबिधि पनि आयोजना गरिएको छ । पुस १९ गतेसम्म आयोजना हुने मोबाइल महोत्सवमा ग्राहकहरुको सहभागिता उल्लेखनिय हुँदा उत्साहित भएको महोत्सवका संयोजक पुरुषोत्तम बस्नेतले बताए । “यो मोबाइल महोत्सवमा मोबाइल किन्ने मात्र नभई ग्राहकहरुलाई विभिन्न आकर्षक अफर पनि दिएका छौं, जसले हाम्रो अनुमान भन्दा पनि बढि ग्राहकहरुको भीड देखियो” उनले भने, “महोत्सवमा नयाँ प्रविधि सहितका मोबाइल फोनहरुमा ग्राहकहरुको रुचि अधिक देखिएको छ ।” संघले अंग्रेजी नयाँ वर्ष २०१७ को अवसर पारेर नेपालको सबैभन्दा ठूलो र पुरानो मोबाइल केन्द्र–पाको, न्यूरोड, ताम्राकार कम्प्लेस, पिपुल्स प्लाजा क्षेत्रमा आयोजना भईरहेको मोबाइल महोत्सवमा सडकलाई पनि सजाईएको छ भने ग्राहकहरुलाई आकर्षित गर्न विभिन्न मोबाइल ब्राण्डहरुले उपहार योजनाका साथमा विभिन्न छुट पनि प्रदान गरिरहेका छन् । महोत्सवका सह संयोजक आविश्कारलाल श्रेष्ठले न्यूरोड क्षेत्रमा प्रवेश गर्ने हरेक ग्राहकहरुले उपहार प्राप्त गर्ने जानकारी दिए । उनले भने, “हामीले हात खाली नहुने अफर ल्याएका छौं जसमा ग्राहकहरुले विभिन्न सामाग्री तथा उपहारहरु प्राप्त गर्नेछन् ।”
सेवा विकास बैंकको २० प्रतिशत लाभांश पारित, कामना बैंकसँग मर्ज हुँदै
काठमाडौं, १५ पुस । सेवा विकास बैंक लिमिटेडले प्रस्ताव गरेको २० प्रतिशत लाभांश पारित भएको छ । बैंकले सेयरधनीलाई १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद गरि सो मात्रामा लाभांश दिने भएको छ । शुक्रबार सम्पन्न कम्पनीको दशौं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई सो मात्रामा लाभांश दिने बैंकको प्रस्तावलाई पारित गरेको हो । सभामा बैंक संचालक समितिका अध्यक्ष भिमप्रसाद तुलाचनले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनका साथै वासलात, नाफा नोक्सान सर्वसम्मत रुपमा पारित भएको छ । बुटवलमा रहेको केन्द्रीय कार्यालय सहित हाल बैंकले १३ वटा शाखा कार्यालय र ७ वटा एटिएम मार्फत ७५ हजार भन्दा अधिक ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ् सेवा दिँदै आएको छ । बैंकले हाल करिब ५ अर्ब २४ करोडभन्दा बढी रुपैयाँ निक्षेप र करिब ४ अर्ब ७४ करोड भन्दा बढि रुपैयाँ कर्जा परिचालन गरेको छ । साथै, बैंकले पोखरामा केन्द्रीय कार्यालय रहेको कामना विकास बैंकसंग मर्जको लागि सम्झौता गरेको छ ।
चक्रपथभित्र गुड्न थाले १० वटा महानगरका बस, थप ४० वटा सिटी बस भित्र्याउने तयारी
काठमाडौ, १५ पुस । चक्रपथमा लोकप्रियता कमाएको महानगर यातायातले शुक्रबारदेखि राजधानीका चक्रपथभित्रका रुटमा पनि बस सञ्चालनमा ल्याएको छ । हालसम्म चक्रपथमा मात्र बस सेवा दिँदै आएको महानगले यात्रुहरुको माग भएको भन्दै भित्री रुटमा १० बस सञ्चालनमा ल्याएको हो । महानगरका बसले शुक्रबारदेखि राजधानीको बनस्थली, स्वयम्भू हुँदै कलङ्कीबाट कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क, जमल, कालोपुल, चावहिल, नारायण गोपालचोक हुँदै नयाँबसपार्कसम्मका रुटमा दुईतर्फी बस सेवा शुरु गरेका छन् । यी रुटमा छिट्टै थप बस पनि सञ्चालन गर्ने जानकारी महानगरका अध्यक्ष मधुसुदन अधिकारीले दिएका छन् । यी रुटमा तत्कालका लागि चक्रपथमै सञ्चालनमा रहेका ३९ बसमध्ये १० वटा बस भित्री रुटमा सञ्चालन गरिएको महानगरले जनाएको छ । महानगर यातायातले केही दिन अघि देखि आफ्ना यात्रुलाई प्रत्येक टिकटमा उपहारको व्यवस्था गरिसकेको छ । भित्रीरुटमा सेवा शुरु भएसँगै अब थप ४० वटा ठूला सिटी बस भित्र्याउने तयारी गरिरहेको जानकारी उपाध्यक्ष सन्तोष खतिवडाले दिएका छन् ।
युवा संघले जलायो बुद्धनगरमा सरकारी गाडी
काठमाडौं, १५ पुस । एमाले भातृ संगठन युवा संघ नेपालका कार्यकर्ताले बुद्धनगरमा सरकारी गाडीमा आगजनी गरेका छन् । युवा संघका पुर्व उपाध्यक्ष समेत रहेका एमाले केन्द्रिय सदस्य झपट रावल नेतृत्वको समुहले सरकारी गाडीमा आगो लगाएको हो । आगो लाग्दा लाग्दै युवा संघका सचिव वचन बहादुर सिंह पनि पुगेका थिए । उनीहरुले बुद्धनगरमै रहेको आफ्नो केन्द्रिय कार्यालय अगाडी सरकारी गाडीमा आगो लगाएका हुन् ।
अमेरिकाले गर्यो रसियालीलाई देश निकाला, निर्वाचनमा साइबर हमला गरेको आरोप
वासिङ्गटन, १५ पुस । संयुक्त राज्य अमेरिकाले ३५ जना रसियाली नागरिकलाई देश निकाला गरेको छ । अमेरिकामा हालै सम्पन्न राष्ट्रपति निर्वाचनमा रसियालीले साइबर हमला गरेको आरोप अमेरिकाले लगाएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले बिहीबार ती रसियालीलाई देश निकाला गरेको घोषणा गरेका हुन् । आफ्नो कार्यकाल सकिन केही हप्तामात्र बाँकी रहेको बेला राष्ट्रपति ओबामाले ती रसियालीलाइे देश निकाला गरेका हुन् । अमेरिकी राष्ट्रपतिले ३५ जना रसियाली नागरिक र अरु विभिन्न ९ वटा संघ संस्थालाई पनि आर्थिक नाकाबन्दी लगाएको घोषणा गरेका छन् । पछिल्लो समयमा ती संस्था र व्यक्तिमाथि निगरानी राखिएको थियो । ती व्यक्ति र संस्थाले अमेरिकामा हालै भएको राष्ट्रपति निर्वाचनमा साइबर हमला गरी निर्वाचनमा अवरोध पुर्याएको जनाइएको छ । उनीहरुलाई ७२ घन्टाभित्रै घर छोड्न आदेश दिइएको छ । साथै ती सूचना प्रविधिमा कामगर्ने संघ संस्थालाई पनि आर्थिक कारोबार गर्नबाट रोक लगाइएको छ । त्यसैगरी रसियाली सरकारको मातहतमा रहेका भनिएका न्युयोर्कमा रहेको एक र म्यारिल्याण्डमा रहेको अर्को एक गरी दुई वटा कार्यालय पनि तत्काली बन्द गराइने अमेरिकी सरकारले जनाएको छ । अमेरिकी सरकारको यो पछिल्लो निर्णयले पछिल्ला केही समययता रहेका अमेरिका र रसियाको विवाद सतहमा आएको विश्लेषकहरुले जनाएका छन् । अमेरिकी निर्वाचनमा राष्ट्रपतिका उम्मेदवार हिलारी क्लिन्टनको इमेल काण्डलाई बाहिर ल्याइएपछि त्यस विषयमा वर्तमान सरकारले त्यसको अनुसन्धान गरिरहेको थियो । इमेल काण्डलाई बाहिर ल्याउने र क्लिन्टनलाई हराउने काममा रसियाको हात रहेको जानकारी यसअघि नै बाहिर आएको थियो । रासस/सिन्ह्वा
विश्वकै सबैभन्दा अग्लो पुल खुल्ला, नदिदेखि ५६५ मिटर माथी रहेको पुलले दुई ओटा प्रान्तलाई जोड्ने
वेईजिङ, १५ पुस । चीनका दुई ओटा प्रान्तलाई जोड्ने गरी बनाएको विश्वको सबैभन्दा अग्लो पुल खुल्ला गरिएको छ । दुई ओटा पहाडी प्रान्तहरु युनान र गुइजोउ प्रान्तलाई जोड्ने बेईपान्जीङ पुल नदिदेखि ५६५ मिटर माथी रहेको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । युनान प्रान्तको छुङवेइदेखि गुइजोउको शुइचेङ सम्मको यात्राका लागि यो पुल बनेपछि एक पटकमा चार घण्टा भन्दा बढी समय छिटो हुने सवारी चालकहरुले बताएका छन् । “यी दुई ठाँउमा आवतजावत गर्नु पर्नेहरुकालागि यो पुल निकै उपयोगी भएको छ,” एक चालकले भने । यस पुलले यसअघिको सबैभन्दा अग्लो पुलमा रुपमा रहेको सि डु रिभर व्रिजलाई पनि उछिनेको छ । विश्वका अग्ला पुलहरु मध्ये धेरैजसो चीनमै रहेका छन् । रासस/एएफपी
टेलिकमको फोरजी सेवा आइतबारदेखि शुरु
काठमाडौं, १५ पुस । नेपाल टेलिकमले आइतबारदेखि मोबाइलमा फोर जी सेवा संचालनमा ल्याउने भएको छ । उक्त सेवा मार्फत ग्राहकले सुरुवातमा ३२ दशमलब ४ एमविपिएस गतिमा इन्टरनेट चलाउन पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त सेवाको उद्घाटन संचारमन्त्री सुरेन्द्रबहादुर कार्कीले गर्नेछन् ।