ख्वप कलेजका विद्यार्थी गोरखा इको प्यानलमा, वातावरणमैत्री निर्माण सामाग्री उत्पादनमा जोड
भक्तपुर, २० पुस । ‘निर्माण सामाग्रीमा हरित क्रान्ति’ भन्ने नाराका साथ इको प्यानल उत्पादन गर्दै आएको इन्टरनेशनल ग्रीन डेभलपर्स नेपालमा ख्वप कलेजमा अध्ययनरत विद्यार्थीहरुले बुधबार शैक्षिक भ्रमण गरेका छन् । कलेजमा एमएस्सी वातावरण विज्ञान पहिलो वर्ष दोश्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले भक्तपुर हनुमानचास्थित कारखानाको अवलोकन भ्रमण गरेका हुन् । कम्पनीका अनुसार नर्माण सामाग्री उत्पादन गर्दा वातावरणमा पर्ने प्रभाबबारे बुझ्न विद्यार्थीले अवलोकन भ्रमण गरेका हुन् । विद्यार्थीले कारखानमा इको प्यानल कसरी बन्छ भन्ने प्रविधिबारे जानकारी लिएका छन् । अवलोनक भ्रमणमा सहभागी विद्यार्थी सुवास वास्तोलाले अहिलेको प्रदूषण न्युनीकरणका लागि थर्माेकोलबाट बनेको इको प्यालन एउटा विकल्प भएको बताएका छन् । इन्टरनेशल ग्रीन डेभलपर्सले उत्पादन गर्दै आएको गोरखा इको प्यानल पूर्ण वातावरणमैत्री पाइएको उनले बताए । अर्का विद्यार्थी सृजना सुवालले दिगो विकासका लागि इको प्यानलको प्रयोग सहयोगी देखिएको बताएका छन् । यसका लागि हरेक निर्माण सामाग्री इको प्यानल जस्तै वातावरणमैत्री हुनुपर्नेमा उनले जोड दिए । विद्यार्थी सरिता न्हिसुतूले कारखानको भ्रमणपछि खेर जाने थर्माेकोललाई पुन प्रशोधन गरी निर्माण सामाग्रीमा प्रयोग गर्न सकिने पाएको बताएका छन् । उनले अवलोकन भ्रमणको क्रममा इको प्यानल उत्पादन हुँदा कुनै पनि वातावरणलाई प्रतिकुल असर पर्ने आद्यौगिक वेष्ट नरहेको पाइएको बताए । अन्जना सुवालले नयाँं प्रविधिको प्रयोगबाट अहिले वातावरणमैत्री निर्माण सामाग्री उत्पादनमा जोड दिएकी छन् । अवलोकन भ्रमणका क्रममा त्यहाँं वातावरणलाई हानी हुने कुनै पनि उर्जा प्रयोग नभएको उनले बताए । अर्का विद्यार्थी रश्मी हाकुदुवालले इको प्यानल दिगो विकासका लागि प्रदूषणरहित विकल्प रहेको बताएका छन् । अबका दिनमा निर्माण सामाग्री छनौट गर्दा उर्जाको वचत गर्ने निर्माण सामाग्री छनौटमा ध्यान दिन उनले सुझाब दिएका छन् ।
अग्निपीडितका लागि प्रधानमन्त्रीको राहत प्याकेज, पुनःनिर्माण कोषमा एक करोड दिने
तेह्रथुम, २० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेह्रथुमको सङ्क्रान्तिबजार पुनःनिर्माण तथा पुनःस्थापना कोषमा एक करोड रुपैयाँ दिने घोषणा गरेका छन् । मङ्गलबार सङ्क्रान्तिबजार पुगेर आगलागीस्थलको निरीक्षण तथा अग्निपीडितसँग भेटपछि प्रधानमन्त्री दाहालले प्रधानमन्त्री राहत कोषबाट एक करोड रुपैयाँ दिने बताएका छन् । उनले आगलागीपीडितका लागि राहत प्याकेजको घोषणा गर्दै अग्निपीडितको पुनःस्थापना तथा पुनःनिर्माणका लागि बिनाधितो सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने पनि बताए । सङ्क्रान्तिबजारमा खानेपानी आयोजना सञ्चालन, दमकल खरिद, विद्युतीकरण, एम्बुलेन्स खरिदमा पनि सरकारले निर्णय लिने प्रधानमन्त्री दाहालले घोषणा गरेका छन् । राहत वितरणमा सजिलो हुनेगरी तत्कालै नेपाल बैंक तथा कृषि विकास बैंकका शाखा पुनःस्थापनाको पहल तथा निर्णय गर्ने प्रधानमन्त्री दाहालले बताए । प्रधानमन्त्री दाहालले मुलुक अहिले सबैभन्दा बढी राजनीतिक सङ्कटको घडीमा रहेको भन्दै यसको समाधानतर्फ सबैको ध्यानाकर्षण हुनु जरुरी रहेको बताए । उनले आठराई क्षेत्र ऐतिहासिक र थुप्रै नेताको जन्मस्थान भएर पनि विकासमा पछि परिरहेको देखेको भन्दै आगलागीपछि राज्यकै ध्यानाकर्षण गर्न सकेकाले अब यस क्षेत्रको विकासले गति लिने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले जिल्लाको विकासका लागि तमोर जलाशययुक्त आयोजनाको निर्माण अघि बढाउन ऊर्जा मन्त्रालयलाई निर्देशनसमेत दिएको बताए । यस्तै, वसन्तपुर–म्याङलुङ सडकखण्ड कालोपत्र, मध्यपहाडी लोकमार्ग निर्माणमा तीव्रता, पाँचथर—तेह्रथुम जोडिने हाक्पारा घाटमा मोटरेबल पुल निर्माण, तमोर नदीका तटीय क्षेत्रका नौ गाविसमा खानेपानी योजना सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गर्ने प्रधानमन्त्री दाहालले घोषणा गरेका छन् । आठराईसँग पुरानो सम्बन्ध रहेको बताउँदै प्रधानमन्त्री दाहालले विद्यार्थी जीवनमा अभ्यास शिक्षणका लागि एक वर्ष यहाँको चुहानडाँडास्थित विद्यालयमा बिताएको स्मरण गरेका छन् । कार्यक्रममा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आठराईको विकासतर्फ आगलागीको घटनाले ध्यानाकर्षण गरेको बताएका छन् । आठराईको सङ्क्रान्तिबजारमा जन्मिएका नेता सिटौलाले जन्मभूमिको मायाले पटकपटक तान्ने गरेको र अग्निपीडितका माग, समस्या गुनासा सँगै आठराई क्षेत्रका समस्याबारे प्रधानमन्त्री दाहाललाई जानकारी भएकाले अब विकास निर्माणका काममा राज्यको ध्यान जाने विश्वास व्यक्त गरे । नेता सिटौला साताअघि मात्रै सङ्क्रान्तिबजार पुगेर अग्निपीडितलाई भेट गरी सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउनुभएको थियो । नेकपा (एमाले) का प्रमुख सचेतक भानुभक्त ढकालले संसद्मा एमाले प्रमुख प्रतिपक्षी दल भए पनि सरकारका सकारात्मक कदम र समस्या सुल्झाउन सधैँ साथ र समर्थन रहने बताएका छन्। कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य तथा सभासद् सीता गुरुङ, सभासद् भवानीप्रसाद खापुङ र गणेश विमलीले मन्तव्य राखेका छन् । पुस १ गते भएको भीषण आगलागीमा परी सङ्क्रान्तिबजारका २४ घर पूर्णरुपमा जलेर नष्ट भएका थिए भने अन्य पाँच घरमा आंशिक क्षति पुगेको थियो । आगो निभाउन तीनवटा टहरा भत्काइएका थिए । आगलागीबाट ७३ परिवार विस्थापित भएका छन् । प्रहरी मुचुल्काअनुसार आगलागीबाट १४ करोड आठ लाख रुपैयाँको धनमाल जलेर खरानी भएको थियो । अग्निपिडितलाई धरान र दमकबाट राहत अग्निपिडित परिवारलाई धरान र दमकबाट पनि राहत उपलब्ध भएको छ । सङ्क्रान्तिबजार आइपुगेका धरानबाट सञ्चालित ‘हामी साथी साथी’ समूहका प्रतिनिधिले अग्निपिडित विद्यार्थीलाई ६० थान शैक्षिक सामग्री र न्यानो कपडा, विद्यालय जान उमेर नपुगेका बालबालिका र गर्भवती महिलालाई १९ थान न्यानो कपडा वितरण गरेका छन् । २ वर्षदेखि सामाजिक क्षेत्रमा क्रियाशील साथी साथी समूहको अभियानबाट सङ्कलित रु ८० हजार बराबरको राहत सामग्री उपलब्ध गराइएको समूहका अभियन्ता सुमन श्रेष्ठले जानकारी दिए । त्यस्तै, अग्निपीडित परिवारलाई दमक उद्योग वाणिज्य सङ्घ र दमक समाजबाट पनि राहत रकम उपलब्ध भएको छ । समाजबाट एक लाख तीन हजार रुपैयाँ र सङ्घबाट २५ हजार रुपैयाँ राहत रकम उपलब्ध भएको उद्योग वाणिज्य सङ्घ सङ्क्रान्तिबजारका अध्यक्ष प्रेम पौडेलले बताए । सङ्क्रान्तिबजार आइपुगेका सङ्घका कार्यालय सचिव ज्ञाननाथ पौडेल र समाजका प्रतिनिधि तीर्थराज बस्नेतले सो रकम हस्तान्तरण गरेका छन् । विभिन्न सङ्घसंस्थाबाट अग्निपीडित परिवारलाई सङ्क्रान्तिबजारमा उपलब्ध भएको ६ लाख एकहजार रुपैयाँ राहत रकम ‘सङ्क्रान्तिबजार पुनःनिर्माण तथा पुनःस्थापना कोष’मा जम्मा गर्न प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेको उपस्थितिमा जिविस र स्थानीय विकास कोषका कार्यकारी सचिव कृष्णप्रसाद घिमिरेलाई प्रदान गरिएको उद्योग वाणिज्य सङ्घ सङ्क्रान्तिबजारका अध्यक्ष पौडेलले जानकारी दिनुभयो । यो सँगै सो कोषमा १२ लाखभन्दा बढी रुपैयाँ जम्मा भएको छ । रासस
गरिमा विकास बैंकले २० प्रतिशत बोनस दिने, चुक्ता पूँजी एक अर्ब २९ करोड रुपैयाँ नाघ्ने
काठमाडौं, २० पुस । गरिमा विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव बैंकको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र लगानीकर्ताले सो मात्राको बोनस पोउने छन् । हाल बैंकको चुक्ता पूँजी एक अर्ब आठ करोड रूपैयाँ रहेको छ । २० प्रतिशत बोनसपछि बैंकको पूँजी एक अर्ब २९ करोड रुपैयाँ नाघ्नेछ ।
साझा बसको सेवा उपत्यकाका सबै मार्गमा बढाउन माग
काठमाडौं, २० पुस । विभिन्न बाहनामा बारम्बार हुने बन्दमा पनि साझा यातायातले सेवा दिन थालेकाले उपत्यकाका सबै मार्गमा यसको सेवा विस्तार गर्नुपर्ने माग पीडित यात्रुकोे छ । सडक विस्तार गर्दा भत्कने घर र सडकमा पर्ने जग्गाको क्षतिपूर्ति माग गर्दै पीडित सङ्घर्ष समितिले बुधबार उपत्यका बन्दको आयोजना गर्दा विभिन्न पेसा र व्यवसायमा आबद्ध मानिस समयमै गन्तव्यमा पुग्न पाएनन् । सडकमा फाट्टफुट्ट मात्र सवारी चलेका छन् । साझाका भने सबै सवारी सञ्चालनमा आएको छ । सुरक्षाको प्रत्याभूति भएपछि उपत्यकाका चारवटा मार्गमा ३९ बस नियमित सञ्चालनमा ल्याइएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिएका छन्। बन्दका बेला चलेका सफा टेम्पो तथा अन्य सवारी साधनले तोकिएको गन्तव्यमा नपुर्याई यात्रुलाई आधा बाटोमा झारेर दोब्बर भाडा असुलेका छन् । जोरपाटीबाट सुन्धारातर्फ जानुपर्ने टेम्पोले चाबहिलमै यात्रुलाई झारेर भाडा भने सुन्धारसम्मकै लिएको यात्रु ग्याल्जेन शेर्पाले गुनासो गरेका छन् । यसअघि पुस ७ गते भएको बन्दमा पनि अन्य सवारीसाधन आंशिक मात्र गुडे पनि साझाका ४० वटै सवारी साधनले सेवा दिएका थिए । “साझा यातायातले ३६५ दिन नै यात्रुलाई सेवा दिने गरेको छ, अघिल्लो पटकको बन्दमा उपत्यकामा ४० वटा सवारी साधान चलेकामा आज एउटा सवारी साधन मर्मतमा रहकाले ३९ वटाले नियमित सेवा दिइरहेका छन्”– निमित्त कार्यकारी अधिकृत पाण्डेले बताएका छन्। लगनखेल–रत्नपार्क–नारायणगोपाल चोक–नयाँ बसपार्क मार्गमा १०,लगनखेल–सिंहदरबार–रत्नपार्क–नारायणगोपाल चोक–बूढानीलकण्ठ मार्गमा१०, एयरपोर्ट–कमलपोखरी–रत्नपार्क–लैनचौर–ठमेल–बालाजु बाइपास हुँदै नयाँ बसपार्क मार्गमा १० र स्वयम्भू–कलङ्की–रत्नपार्क–नयाँ बानेश्वर हुँदै कोटेश्वर मार्गमा १० गरी उपत्यकामा ४० साझा यातायात सञ्चालन हुँदै आएको छ । बिहान ६ः३० बजेदेखि बेलुकी ८ बजेसम्म नियमित रुपमा साझाका बस तोकिएका मार्गमा चलेको देखेपछि भक्तपुरमा पनि साझाको सेवा आवश्यक देखिएको सूर्यविनायक निवासी बलराम कोजुले बताए । “अरु सवारी साधनले मन लागे चलाउँछन्, मन नलागे ग्यारेजमा थन्क्याउँछन्, तर साझाका सवारी साधन भने तालिकाअनुसार चलेको देख्दा भक्तपुरमा पनि यो सेवा विस्तार भए सुविधा पाइन्थ्यो, अरु यातायात व्यवसायीले भाडा पनि यातायात व्यवस्था विभागले तोकेभन्दा बढी उठाउने गरेका छन्, यातायात व्यवसायीले चलाएका साधनले सवारी तथा यातायात व्यवस्था ऐनमा भएको प्रावधान बमोजिम टिकट पनि दिन्नन्”–उनले भने । बुधबार उपत्यका बन्दका क्रममा तोडफोडका घटना नभएको र सडकमा बसेर टायर बाली यातायात अवरुद्ध गर्न खोज्ने ७६ जनालाई कालीमाटी, टोखा, जोरपाटी, थलीलगायतका स्थानबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले जानकारी दिएका छन् । रासस
माछापुच्छ्रे बैंकद्धारा विभिन्न विद्यालयहरुलाई सहयोग
काठमाडौं, २० पुस । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो विभिन्न शाखाहरु मार्फत विभिन्न विद्यालयहरुलाई सहयोग प्रदन गरेको छ । बैंकको धनकुटा शाखाले श्री मार्गेश्वरी प्राथामिक विद्यालय, चारगाउ धनकुटाका फरक क्षमता भएका बालबालिकाहरुका लागि लत्ताकपडा तथा स्टेसनरी सामाग्रीहरु वितरण गरेको छ । त्यसैगरी , बैंकको पोखरा शाखाले पोखरा- १२ ढिकालेथर स्थित सरस्वती आधारभूत विद्यालयलाई डेस्क तथा बेन्च हस्तान्तरण गरेको छ । बैकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत गरीब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई उक्त सामाग्रीहरु प्रदान गरेको हो । बैकले हरेक महिना एक सामाजिक उत्तरदायित्व भन्ने मूल नारा लिई देशभरका विभिन्न शाखाहरु मार्फत सामाजिक उत्तरदायित्व अन्र्तगतका कार्यहरु गरीरहेको बताएको छ ।
निर्धन उत्थान बैंक र बुम रेमिटबीच रेमिट्यान्स सम्झौता
काठमाडौं, २० पुस । निर्धन उत्थान बैंक र बुम रेमिट्यान्सबीच रेमिट्यान्स कारोबार सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा निर्धन उत्थान बैकका तर्फबाट सहायक महाप्रवन्धक राजनारायण दास र बुम रेमिट्यान्सका तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतामार्फत बुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको रेमिट्यान्स निर्धन उत्थान बैकका १८८ वटा शाखाहरु मार्फत भुक्तानी गर्न पाउने छन् । साथै बुम रेमीट सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य गर्नका लागि सम्झौता भएको छ । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा भन्दा बढि प्रतिनिधिहरु छन् । हाल बुम रेमिट्यान्सले माल्दिभ्स र खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडैनै मलेसिया, कोरीया, जापान, क्यानडा, अस्ट्रलिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार शुरु गर्ने जनाएको छ । बुम रेमिटका प्रबन्ध निर्देशक धिरेन्द्र पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूस‘ग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रबन्ध मिलाएको छ । बुम रेमटले हुन्डी कारोबारलाई निरूस्साहित गर्न नेपाल र विदेशमा बैकिङ साक्षरता कार्यक्रम गर्दै आएको कुराको जानकारी प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले दिएका छन् ।
साङ्ग्रीला डेभलपमेन्ट बैंकले कसमस डेभलपमेन्ट बैंक एक्वाएर गर्ने
काठमाडौं, २० पुस । साङ्ग्रीला डेभलपमेन्ट बैंकले कसमस डेभलपमेन्ट बैंक एक्वाएर गर्ने भएको छ । साङ्ग्रीला डेभलपमेन्ट बैंक राष्ट्रिय स्तरको विकास बैंक हो भने कसमस डेभलपमेन्ट बैंक गोर्खा जिल्लालाई कार्य क्षेत्र मानेर २०६७ सालदेखि सञ्चालनमा आएको एक जिल्ले बैंक हो । साङ्ग्रीला डेभलमेन्ट बैंकको चुक्ता पुँजी १ अर्ब ७ करोड रुपैयाँ छ । यस बैंकले निक्षेप १० अर्ब र कर्जा ९ अर्ब ८० करोड रुपैयाँ परिचालन गरेको छ । कसमसको सेयर पुँजी ९ करोड ८९ लाख रुपैयाँ छ । यस बैंकमा करिव ८० करोड निक्षेम छ भने करिव ५१ करोड रुपैयाँ कर्जा छ ।
बुढीगण्डकी बनाउन पेट्रोलियम कारोबारबाट उठ्यो ४ अर्ब, ६ गाबिसका प्रभावितलाई ७ अर्ब मुआब्जा
काठमाडौं, २० पुस । १२०० मेगावाट क्षमताको जलासययुक्त बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्नका लागि पेट्रोलियम कारोबारबाटै ४ अर्ब ८ करोड रुपैंयाँ लगानी जुटेको छ । सरकारले चालु आर्थिक बर्षको बजेटमा बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि पेट्रोलियम पदार्थमा पुर्वाधार कर लगाएको थियो । गत आर्थिक बर्षको जेठ १५ गते नै बजेट वक्तव्य आएकाले सोही महिनाको जेठ १६ देखि असार मसान्त सम्ममा एक अर्ब १६ करोड रुपैंयाँ संकलन भएको थियो । त्यस्तै, चालु आर्थिक बर्षको पाँच महिनामा अर्थात मंसिर १५ गतेसम्ममा थप २ अर्ब ९२ करोड रुपैंयाँ संकलन भएको हो । सरकारले बजेटमै बुढीगण्डकी आयोजना निर्माणका लागि ५ अर्ब ३३ करोड बजेट विनियोजन गरेको थियो । मुआब्जा वितरण अघि बढ्यो बुढीगण्डकी जलविद्युत आयोजना विकास समितिका कार्यकारी निर्देशक गोपाल बस्नेतका अनुसार गोरखाको तीन गाबिसमा मुआब्जा वितरण अघि बढेको छ । गोरखाको घ्याल्चोक, भम्लीचोक र दर्बुङ गाबिसको २१ सय कित्ता जमिन अधिग्रहण अघि बढेको हो । ३५ दिने सूचना प्रकाशित गरिएकोमा हालसम्म एक हजार कित्ता बराबरको निवेदन आइसकेको छ । २१ सय कित्ता जमिनको मुआब्जाका लागि २ अर्ब ६६ करोड रुपैंयाँ विनियोजन गरिएको कार्यकारी निर्देशक बस्नेतले विकासन्युजलाई जानकारी दिए । धादिङको पनि जग्गा वर्गिकरण सकियो धादिङको पनि जग्गा वर्गिकरण पनि सम्पन्न भैसकेको बस्नेतले जानकारी दिए । त्यहाँ पनि ११ प्रकारमा जमिनको वर्गिकरण गरिएको छ । आयोजनाले धादिङको सलाङ, खरि र मैदी गाबिसको जमिन अधिग्रहणका लागि सार्वजनिक सूचना प्रकाशित गर्दैछ । मुआब्जाका लागि साढे चार अर्ब रुपैंयाँ लाग्ने पनि बस्नेतले जानकारी दिए । आयोजना विकास समितिले गोरखा र धादिङको ६ गाबिसको जमिन अधिग्रहणका लागि ७ अर्ब १६ करोड रुपैंयाँ मुआब्जा वितरण गर्न लागेका हो । यसैबिच, उर्जामन्त्री जनार्दन शर्माले कम्पनी मोडलमा बहुप्रतिक्षित बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण सरकार आफैंले गर्ने घोषणा गरेका छन् । मंगलबार राजधानीमा आयोजीत एक कार्यक्रममा उनले बुढीगण्डकी, तमोर, अरुण, उत्तरगंगा, दुधकोशी लगायतका ठुला आयोजना कम्पनी मोडलमा नेपाल आफैंले बनाउने बताएका हुन् ।