हिमालय एअरलाइन्सकोे नयाँ एअरबसको आगमन, थप दुई नयाँ गन्तव्यको घोषणा
काठमाडौं, ४ माघ । हिमालय एअरलाइन्सले यहि जनवरी महिनाभित्र आफ्नो दोश्रो नयाँ एअरबस ३२०-२१४ को आगमन गरेको छ । यसका साथै, कम्पनीले थप दुई नयाँ गन्तव्यहरुमा उडान सेवा सञ्चालन गर्ने भएको छ । एअरबस सँग लामो समय सम्मको लागि ड्राइलीजमा लिन लागेको थप नयाँ विमानको आगमन सँगै एअरलाइन्सले क्वाललाम्पुर, मलेशियामा माघ २८ गतेदेखि र तथा याङगुन, म्यानमारमा फागुन १३ गतेदेखि उडान सेवा सञ्चालन गर्न लागेको होे। नाइनएन-एएलभी नेपाली रजिष्ट्रेसन नम्बर रहेको उक्त नयाँ एअरबस ३२०–२१४ विमानमा १५८ इकोनोमीक्लास सिट क्षमताको रहेको छ । एअरलाइन्सले आफ्नो कार्यकालको दोश्रो वर्षमा नै दोश्रो विमान थप्न लागेको हो । साथै, यही २०१७ साल भित्र थप दुई विमान थप्ने योजना बनाएको छ । आफ्ना यात्रुहरुलाई आन्नद दायि यात्राको अनुभव दिलाउनको लागि एअरलाइन्सले नयाँ विमानमा आरामदायी सीटहरु, नविनतम भिडियोका साथै सँगीतद्धारा इन फ्लाइट इन्टरटेनमेन्ट दिने कम्पनीले जनाएको छ । योजनाका अनुसार एअरलाइन्सले हप्ताको पाँच दिन क्वालालम्पुर, मलेशियार हप्ताको दुई दिनयाङगुन, म्यानमार उडान सञ्चाल नगर्ने छ । एअरलाइन्सले कार्निभल ट्राभल एसडीएन बिएचडी र माइ गोल्डेन लाइन एभाइटेशन प्रालि लाई क्रमशःमलेशिया र म्यानमारको लागि जेनरल सेल्स एजेन्ट छनौट गरेको छ । जेनरल सेल्स एजेन्टको रुपमा यीनीहरुले एअरलाइन्सको बजार विस्तार, रिजर्भेसन र टिकट सेवाको प्रतिनिधित्व गर्नेछन् । एअरलाइन्सले काठमाडौ-क्वालालम्पूर-काठमाडौको लागि शुरुवाती टिकट दर २५ हजार ३७५ रुपैयाँ (राउण्ड ट्रिप) र क्वालालम्पूर-काठमाडौ-क्वालालम्पूरको लागि एमवाइआर ९२८(राउण्ड ट्रिप) कायम गरेको छ । त्यसैगरी काठमाण्डौ-याङगुन-काठमाण्डौको लागी २९ हजार ६०० रुपैयाँ (राउण्ड ट्रिप) र याङगुन-काठमाण्डौ-याङगुनको लागी यूएसडी ३२० (राउण्ड ट्रिप) कायम गरी उक्त्त टिकट दरमा सरकारी कर लागु हुने कम्पनीले जानकारी गराएको छ । दोहा र कोलोम्बो सँगै क्वालालम्पुर र याङगुन जोडिए पछि एअरलाइन्सले एसीयाली क्षेत्रहरुमा आफ्नो सञ्जाललाई विस्तार गर्नेछ । एयरलाइन्सको भाइस प्रेसिडेन्ट विजय श्रेष्ठ भन्छन्,“हामीे एयरलाइन्सको दोश्रो नयाँ एअरबस ३२०-२१४ लाई स्वागत गर्न एकदमै उत्साहित छौँ । यसले नेपालको हवाई क्षेत्रको अन्तर्राष्ट्रिय सञ्जाललाई अझ सुध्रिड बनाउने छ । साथै दुई नयाँ गन्तब्य जसलाई हामी शुरु गर्दै छौँ, यसले हाम्रा यात्रुहरुको बड्दो धार्मीक र मनोरञ्नात्मक यात्राको मागलाई सम्बोधनगर्न मात्रनभई नेपाल, क्वालालम्पुर रयाङगुनबिच कायमगर्न पनि मद्धत गर्ने छ । थप गन्तब्यहरुले हिमालय एयरलाइन्सको एशीयाका अन्य गन्तब्यहरु सँग नेपाललाई जोड्दै पर्यटन र व्यापार प्रवर्धन गर्ने प्रतिबद्धता पनि प्रतिविम्त गरेको छ ।”
प्रभु बैंकको नाफा एक अर्ब ११ करोड, धमाधम उठ्दै खराब कर्जा
काठमाडौं, ४ माघ । प्रभु बैंकले चालु आर्थिक बर्षको दोश्रो त्रैमासिक अवधीमै एक अर्ब ११ करोड नाफा कमाएको छ । बैंकले गत असोज मसान्तसम्ममा जम्मा २८ करोड २४ लाख मात्रै नाफा कमाउन सफल भएको थियो । बैंकले पुस मसान्तमा आइपुग्दा ठुलो मात्रामा खराब कर्जा उठाउन सफल भएको छ । बैंकले सो अवधीमा खराब कर्जाका रुपमा रहेको एक अर्ब १३ करोड रुपैंयाँ उठाएको हो । बैंकले खराब कर्जालाई ७ दशमलब ५४ प्रतिशतबाट घटाएर ४ दशमलब ८८ प्रतिशत बनाउन पनि सफल भएको छ । बैंकले ७० अर्ब २१ करोड निक्षेप संकलन गरेर ५६ अर्ब ५२ करोड कर्जा लगानी गर्दा एक अर्ब ४४ करोड रुपैंयाँ ब्याज आम्दानी गरेको देखिन्छ । बैंकको प्रति सेयर आम्दानी १८ रुपैंयाँ ९१ पैसा छ भने प्रति सेयर नेटवर्थ १२४ रुपैंयाँ एक पैसा रहेको छ । बैंकको नाफा एक अर्ब ११ करोड पुग्दा पनि मंगलबार सेयर मुल्य भने १२ रुपैंयाँले घटेर ३४४ रुपैंयाँमा आइपुगेको छ । प्रभु बैंकको चुक्ता पुँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ ।
प्रभु इन्स्योरेन्सले ५० प्रतिशत हकप्रदको लागि माग्यो धितोपत्र बोर्डसँग अनुमति
काठमाडौं, ४ माघ । प्रभु इन्स्योरेन्सले ५० प्रतिशत (अर्थात २ बराबर १ को अनुपातमा) हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले गत पुस २९ गते नै बोर्डसँग शेयर निष्काशनको लागि अनुमति मागेको हो । इन्स्योरेन्सले १९ करोड २५ लाख ७ हजार रूपैयाँको १९ लाख २५ हजार कित्ता हकप्रद शेयर ल्याउन लागेको हो । हाल इन्स्योरेन्सको चुक्ता पूँजी ३८ करोड ५० लाख १५ हजार रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको प्रतिकित्ता सेयर १०७३ रुपैयाँमा कारोबार भएको छ ।
गौतम बुद्ध भारतमा जन्मेको भन्दै पाठ्य पुस्तक छाप्नेलाई कारवाही नगरि छोडियो
काठमाडौं, ४ माघ । गौतम बुद्धको जन्म भारतमा भएको हो भन्दै पुस्तक लेख्ने नेपाली प्रकाशक र लेखकले क्लिन चिट पाएका छन् । कक्षा ९ को सामाजिक अध्ययन पुस्तकमा गौतम बुद्धको जन्म भारतमा भएको हो भनेर लेख्ने संगीता थेवे र उनको पुस्तक प्रकाशन गर्ने सुभारम्भ पब्लिकेशनले क्लिन चिट पाएका हुन् । क्लिन चिट दिएको पत्र हेर्न यहाँ थिच्नुहोस् (कक्षा ९ को सामाजिक शिक्षा विषयक पाठ्यपुस्तकमा गौतम बुद्धको जन्म भारतमा भएको भनी छापिएको) थेवेले लेखेको कक्षा ९ को सामाजिक अध्ययन किताबमा गौतम बुद्धको जन्ममा भारतमा भएको हो भनिएको थियो । उनको सो पुस्तकलाई सानोभर्याङमा रहेको सुभारम्भ पब्लिकेशनले छापेको थियो । सुभारम्भ प्रकाशनका अध्यक्ष पुरुषोत्तम देवकोटा हुन् । | उनीहरु दुबैलाई पाठ्यक्रम विकास केन्द्र सानो ठीमीले गल्ति स्विकार गरेको र फेरी नदोहोर्याउने प्रतिवद्धता व्यक्त गरेकोले सचेत गराएर छाडिएको उल्लेख छ । उनीहरुले गौतम बुद्धको जन्मस्थल सम्बन्धी कुनै भ्रम पार्ने उदेश्य नरहेको र छपाईका क्रममा वाक्य केहि अधुरो भई भ्रम सृजना भएको महशुस गरेकाले त्यस्तो गल्ती नदोहोर्याउने प्रतिवद्धता व्यक्त गराएर छाडिएको पाठ्यक्रम विकास केन्द्रले प्रधानमन्त्री कार्यालयलाई बुझाएको पत्रमा उल्लेख गरिएको छ । सो पुस्तकले गौतम बुद्ध भारतमा जन्मिएको भन्दै छापेको प्रमाणसहित कुमार बालदले प्रधानमन्त्री कार्यालयमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा प्रधानमन्त्री कार्यालयले पाठ्यक्रम विकास केन्द्रलाई आवश्यक कारवाही गर्न निर्देशन दिएको थियो । राष्ट्रियतासँग जोडिएको गम्भिर बिषयमा पनि केन्द्रले भने सामान्य सचेत गराएर मात्रै छाडेको हो ।
मन्त्रालयमा दर्ता नभएका स्वास्थ्य संस्थाले विभागबाट कर चुक्ता प्रमाणपत्र नपाउने
काठमाडौं, ४ माघ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालन अनुमतिपत्र नलिएका निजी स्वास्थ्य संस्थालाई कर चुक्ता प्रमाणपत्र नदिन अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागलाई पत्राचार गरेको छ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले हाल स्वास्थ्य मन्त्रालयसँग निजी स्वास्थ्य प्रदायक संस्थाको दुरुस्त अभिलेख नभएकाले मन्त्रालयसँग परामर्श नगरी ती संस्थाको कर चुक्ता नगर्न आग्रहसहितको पत्राचार गरिएको जानकारी दिए । नेपालमा सञ्चालित धेरै निजी स्वास्थ्य संस्था मन्त्रालयमा दर्ता नभएको र भएकाहरुले पनि नवीकरण नगरी सञ्चालन गरेको पाइएपछि यस्तो निर्णय आएको हो । गत मङ्सिरमा गरिएको अनुगमनमा आधाभन्दा बढी स्वास्थ्य संस्था मन्त्रालयमा दर्ता भएको पाइएको थिएन । पछि देशभरका सम्पूर्ण स्वास्थ्य संस्थालाई दर्ता तथा नवीकरण गर्न यही माघ मसान्तसम्मको समयावधि दिइएको छ । माघपछि दर्ता तथा नवीकरणबिना सञ्चालन भएका चिकित्सालय, प्रयोगशाला, अस्पताललगायत स्वास्थ्य संस्था अवैध ठहरिएमा कारबाहीमा पर्ने स्वाथ्य मन्त्रालयले स्पष्ट पारेको छ । रासस
६० वर्ष नाघेका कृषकले यहि वर्षदेखि पेन्सन पाउने, पेन्सनका लागि एक करोड विनियोजन
काठमाडौं, ४ माघ । कृषि विकास मन्त्रालयले चालू आर्थिक वर्षबाटै ६० वर्ष पुगेका कृषकलार्इृ पेन्सन दिने भएको छ । मन्त्रालयले २० वर्ष कृषि कार्य गरेका ६० वर्ष उमेर पुगेका कृषकलाई यो सुविधा दिन लागेको हो । कृषक पेन्सनका लागि दुई वटा मोडल तयार पारिएको कृषि विकास मन्त्रालयका सह प्रवक्ता शंकर सापकोटाले बताए । ‘दुई मोडेलमध्ये एउटा मोडेल चालू आवबाटै लागू हुनेछ भने अर्को मोडेलको लागि आधार स्तम्भ तयार गरिने मन्त्रालयले जानकारी दिएको छ । ‘एउटा मोडेल ६० वर्ष नाघेका कृषकका लागि हुनेछ भने अर्को योगदानमा आधारित,’ उनले भने । मन्त्रालयले २० वर्ष कृषि कर्ममा विताइसकेका कृषकलाई राज्यबाट केही सुविधा दिनको लागि कार्यक्रम लागू गर्न लागेको हो । दोस्रो मोडलअनुसार भने कृषक र सरकार दुबै पक्षको योगदान रहने छ । कृषक आफैले गरेको योगदानका आधारमा सुविधा पाउने छ । हरेक महिना कृषकले गर्ने आयआर्जनबाट उसले कति पेन्सन फन्टमा योगदान गर्न सक्छ त्यहि अनुरुप सरकारको पनि योगदानबाट कृषकले पेन्सन पाउने छ । यो मोडेल लागू हुन केही वर्ष लाग्ने बताइएको छ । मन्त्रालयलाई पेन्सन कार्यक्रम लागू गर्न परामर्श समितिले प्रतिवेदन तयार पारेर बुझाइ सकेको छ । सरोकारवाला निकाय तथा कृषकसँगको छलफलमा उक्त प्रतिवेदन तयार पारिएको हो । कृषि विज्ञ हरि रोक्काको संयोजनमा तयार पारिएको उक्त प्रतिवेदनमा माथि फेरि अर्को कमिटिले छलफल गर्ने छ । सो प्रतिवेदन उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिका अध्यक्ष काशीराज दाहालको संयोजनमा बनेको कमिटिले अध्ययन गरी मन्त्रालयलाई अर्को प्रतिवेदन बुझाउने छ । यहि माघ १५ गतेसम्म मन्त्रालयलाई पेन्सन फण्ट कार्यान्वयन प्रतिवेदन बुझाउने समयसीमा कमिटिको रहेको छ । त्यसपछि मन्त्रालयमा छलफल गरी छिट्टै मोडेलको रुपमा पेन्सन कार्यक्रम लागू गर्ने योजना मन्त्रालयले बताएको छ । ‘चालू आवको बजेटमा कृषक पेन्सनका लागि एक करोड रुपैयाँ छुट्याइएको छ,’ उनले भने ‘सरकारको नीति तथा कार्यक्रम र बजेटले समेत यस विषयमा अध्ययन गर्ने भनेकाले मन्त्रालयले यहि वर्षबाट कार्यक्रम लागू गर्ने योजना अघि सारेको हो । आगामी आवको लागि थप १० अर्ब बजेट कृषि विकास मन्त्रालयले आगामी आव २०७४/७५ का लागि चालू आवको बजेटमा थप १० अर्ब बजेट थपेर माग गर्ने कार्यक्रम बनाउन लागेको छ । १० वर्षे कृषि रणनीति (एडीएस) तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयनका लागि सो बजेट आवश्यक पर्ने मन्त्रालयको हिसाव छ । सरकारले चालू आवका लागि उक्त मन्त्रालयलाई २७ अर्ब ४३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । एडीएसमा २ सय ३१ वटा कार्यक्रमहरु रहेका छन् ।
चालु आवको पुँजीगत खर्च ११ प्रतिशत मात्र
पोखरा, ४ माघ । चालु आवको अहिलेसम्म पुँजीगत खर्च ११ प्रतिशत मात्र हुन सकेको छ । यहाँ मंगलबार आयोजित ‘निजामती सेवाको राष्ट्रिय नीति तर्जुमा र नागरिक सेवामा रणनीति’ विषयको परामर्श गोष्ठीमा मुख्य सचिव डा सोमलाल सुवेदीले सो जानकारी दिँदै पूर्वाधार योजनाको पुँजीगत खर्च बढाउन त्यससँंग सम्बन्धित कार्यालयका प्रमुखसँग आग्रह गरेका छन् । मुख्य सचिवले संविधान कार्यान्वयनमा निजामती प्रशासन बढी चनाखो भएर निपुणता देखाउनुपर्नेमा जोड दिए । उनका अनुसार वार्षिक रुपमा एक लाखभन्दा बढी रुपैयाँ नयाँ योजना थपिने र ती योजनामा बजेट माग हुने गरेको छ । अधुरा योजना सकेर मात्रै नयाँ योजनाको शुरुआत गर्नुपर्ने उनको भनाइ छ । सामान्य प्रशासन मन्त्रालय र सार्वजनिक सुधारका लागि सार्वजनिक प्रशासनको तयारी आयोजनाको संयुक्त तत्वावधानमा भएको कार्यक्रमको अध्यक्षता गरेका क्षेत्रीय प्रशासक खगराज बरालले निजामती कर्मचारी शासक नभई सेवकका रुपमा जनताको काम गर्नुपर्ने धारणा राखेका छन् । कार्यक्रममा प्रदेश ४ नं अन्तर्गतका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी र सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखको सहभागिता थियो । रासस
कर्णाली सडक खण्ड निर्माण हुँदै, करिब दुई अर्ब ८४ रुपैयाँ खर्च लाग्ने
काठमाडौं, ४ माघ । सरकारले कर्णाली सडकखण्डको निर्माणलाई अझै तीव्रता दिन निर्माणको जिम्मा पाएको नेपाली सेनालाई निर्देशन दिएको छ । रक्षामन्त्री बालकृष्ण खाँण, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले बाजुराको पिलुचौर र कालीकोटको शिजातिभिर खण्डमा भइरहेको सडक निर्माणको स्थलगत निरीक्षण गर्दै आवश्यक सबै प्रकारका सहयोग गर्न सरकार तयार रहेको र समस्या आइपरे तत्काल समाधान गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। कालीकोटको लालु गाविसबाट शुरु भई बाजुरा हुँदै हुम्लाको सिमीकोटसम्म पुग्ने १९६ किमी बाटो खोल्ने कार्य धमाधाम हुँदैछ । मन्त्रिपरिषद्को २०७१ चैत ९ गतेको निर्णयानुसार नेपाली सेनालाई उक्त सडक खोल्ने जिम्मा दिइएको हो । सेनाको विकास निर्माण निर्देशनालयका सहायकरथी उद्धव विष्टले चालु आव २०७३/०७४ भित्र कालीकोटअन्तर्गतको ४० किमी बाटो खोलेर सडक विभागलाई बुझाइने र बाजुरा र हुम्लाको पनि सडक खोल्न शुरु गरिने बताए । दुई वर्षभित्रै सडक खोल्ने लक्ष्य राखिएको छ । सो सडकका लागि कुल दुई अर्ब ८४ रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । गत आवमा २२ करोड रुपैयाँ खर्च गरिएकामा चालु आवका लागि २१ करोड रुपैयाँ विनियोजन गरिएको बताइएको छ । रासस