स्ट्याण्डर्ड चार्टर्ड बैंक पनि आश्वा प्रणालीमा
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले आश्वा प्राणलीको सदस्यता प्राप्त गरेको छ । बुधबार नेपाल धितोपत्र बोर्डले बैंकलाई आश्बा प्रणालीमा आवद्धताको प्रमाण पत्र दिएको हो । अब स्ट्याण्डर्ड चार्टर्ड बैंकमा खाता भएका उपभोक्ताहरुले आइपिओ, एफपिओ तथा हकप्रद सेयरको आवेदन दिँदा नगदको साटो बैंक एकाउण्ट प्रयोग गर्न पाउनेछन् । बैंकको कुनै पनि शाखामा गएर आवेदन फारम भरेर आवेदन दिए बराबर खाताको रकम रोक्का गरि हक प्रद, आइपिओ वा एफपिओ भर्न सक्नेछन् । सेयर आवेदनमा रकमको उपयोग भैरहेको भएपनि निक्षेप कर्ताले सो वापतको ब्याज भने पाईरहने बैंकले जनाएको छ ।
श्री एसटिसीका २५ डिलर फ्याक्ट्री घुम्न हिडे, एक हप्ताभर भारत घुम्ने
काठमाडौं । भेरोकको नेपालकालागि आधिकारीक बिक्रेता श्री एसटिसी प्रालिका आफ्ना २५ जना डिलर फ्याक्ट्री भिजिटका लागि मुम्बइ प्रस्थान गरेका छन् । प्रडक्ट तथा टेक्निकल ज्ञान लिने मुख्य उद्येस्यका साथ पुने, अरंगाबाद र मुम्बइमा रहेको भेरोकको फ्याक्ट्री भ्रमण गर्ने ८ दिने कार्यक्रम रहेको श्री एसटिसी प्रालिका प्रबन्ध निर्देशक शुरेश उप्रेतीले जानकारी दिए । वार्षिक १ अर्ब ५० करोडको कारोबार गरिरहेको एसटिसीले नेपालमा भेरोक ब्राण्डमात्र बार्षिक १४ करोडको कारोबार गरिरहेको छ । इटाली लगायत २३ वटा देशमा आफ्नो उत्पादन प्लान्ट रहेको भेरोकले पहिलो पटक नेपालबाट २५ जना डिलरलाई फ्याक्ट्री भ्रमणका लागि आमन्त्रण गरेको हो । दुइपाङ्ग्रे तथा ४ पांग्रे सवारी साधनका लागि भेरोकले जेन्युन पार्टस उत्पादन गरिरहेको कम्पनीले जनाएको छ । एसटिसीले नेपालमा इएनआइ लुब्रिकेन्टस, सिएट टायर, भेरोक लगायत अन्य सबारी साधनमा प्रयोगमा आउने पार्टसको कारोबार गरिरहेको छ । यस अघि एसटिसीले आफ्ना डिलरलाई युरोप लगायत एशियाका विभिन्न देशको भ्रमण गराइसकेको प्रबन्ध निर्देशक उप्रेतीले जानकारी दिए ।
उद्योग मन्त्रीले कुटनीतिज्ञसँग भने-नेपाली नागरिकलाई बराबर सुबिधा दिन्छौं लगानी बढाइदिनुस
काठमाडौं । उद्योग मन्त्री नविन्द्रराज जोशीले नेपाली नागरिकलाई बराबर छुट सुबिधा वैदेशिक लगानी कर्तालाई पनि उपलब्ध गराउने बताउँदै लगानी बढाइ दिन कुटनीतिज्ञहरुलाई आग्रह गरेका छन् । बुधबार उद्योग मन्त्रालयमै बेलाएर मन्त्री जोशीले चीन, भारत, अमेरिका, फ्रान्स, वेलायत, जापान र जर्मनी, रसिया लगायत नेपालमा दुतावास रहेका सबै मुलुकका कुटनैतिक नियोगका प्रतिनिधिहरुसँग छलफल गरेका हुन् । ‘हामीले संसोधन गरेका र गर्न लागेका प्रस्तावित कानूनले नेपाली लगानीकर्ता सरह विदेशी लगानी कर्तालाइृ पनि छुट सुविधाहरुको व्यवस्था गरेको छ, विदेशी लगानीको प्रवेश तथा बहिर्गमनलाई सरलिकृत बनाईएको छ, अब तपाईहरुले लगानी बढाउन सघाउनु पर्यो’, मन्त्री जोशीले भने । सरकारले फागुन १९ र २० गते काठमाडौंमा आयोजना गर्न लागेको नेपाल लगानी सम्मेलनको तयारीका वारेमा बुधवार कुटनीतिक नियोगका प्रतिनिधीलाई ब्रिफिङ गर्न मन्त्रालयमा डाकिएको थियो । छलफलमा मन्त्री जोशीले नेपालको पूर्वाधार तथा उत्पादन मूलक उद्योगमा लगानी गरी फाईदा लिन विदेशी लगानी कर्तालाई आव्हान गरिने बताएका थिए । मन्त्री जोशीले विदेशी लगानी तथा प्रविधि हस्तातरण सम्वन्धी कानून मन्त्रालयबाट निर्माण भै सरोकारवाला मन्त्रालयहरु बीच अन्तिम छलफलमा रहेको र आगामी लगानी सम्मेलन अगावै मन्त्रिपरिष्बाट स्वीकृत गरेर संसदमामा टेवुल गरिसक्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए । उनले प्रत्येक महिना औद्योगिक प्रवद्र्धन वोर्डको बैठक राखेर लगानी आकर्षित गर्ने धारणा पनि राखेका थिए । छलफल विदेशी कुटनैतिक नियोगका प्रतिनिधिहरुले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनको पछिल्लो अवस्थाका वारेमा चासो व्यक्त गरेका थिए । लगानी आकर्षित गर्न औद्योगिक वातावरण जरुरी रहेको भन्दै उनीहरुले औद्योगिक वातावरण वन्नका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, वौद्धिक सम्पत्ति सम्वन्धी ऐन र श्रम ऐनमा समसामयिक सुधार आवश्यकता औल्याएका थिए । छलफलमा लगानी सम्मेलन तयारी समितिका सदस्य एवं लगानी वोर्डका बरिष्ठ व्यवस्थापक रतिस बस्नेतले अहिले सम्म विभिन्न मुलुकका ४० जनाले सम्मेलनमा सहभागिताका लागि प्रतिवद्धता जनाईसकेको जानकारी दिएका थिए ।
यामाहा म्युजिकको एक्सक्ल्युसिभ सोरुम काठमाडौंको नक्सालमा सञ्चालन
काठमाडौं । नेपालका लागि यामाहा म्युजिकको आधिकारिक विक्रेता एमएडब्लु म्युजिक प्रा. लि.ले काठमाडौंको नक्सालमा नेपालकै ठूलो सांगितिक उपकरण तथा प्रोफेसनल अडियो सिस्टमको सोरुम सुरु गरेको छ । नेपालको चर्चित सांगितिक समूह १९७४ एडीले यामाहा म्युजिक सोरुमको उद्घाटन गरेको हो । नयाँ सोरुममा यामाहा म्युजिकल इन्स्ट्रयुमेन्ट, प्रोफेसनल अडियो सिस्टम, अडियोभिडियो इक्विपमेन्टसहित अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त म्युजिकल ब्रान्ड ‘कोनिग एन्ड मेयर’ र डी’अडारियोका एसोसिरिजहरु पनि पाइनेछ । ‘हामीले सन् २००६ मा कान्तिपथमा पहिलो यामाहा म्युजिक सोरुम खोलेका थियौं । त्यसक्रममा हामीले संगीतप्रेमीहरुका लागि अझ धेरै उपहरण र सुविधा भएको आउटलेट आवश्यक भएको अनुभव गर्यौ । यस क्षेत्रमा लामो अनुभव हासिल गरेपछि हामीलाई नेपालकै ठूलो सोरुम खोल्ने उत्प्रेरणा मिलेको हो,’ एमएडब्लु म्युजिक प्रालिकी कार्यकारी निर्देशक सलोनी सेठिया अग्रवालले भन्नु भयो, ‘सांगितिक उपहरणको क्षेत्रमा विश्वकै अग्रणी ब्रान्ड यामाहासँग आवद्ध हुन पाएकोमा हामी गौरव महसुस गरिरहेका छौं । आशा छ, नयाँ सोरुमले नेपालभरिका संगीतप्रेमीको मागलाई पूरा गर्नेछ ।’ नक्सालस्थित पुलिस हेडक्वार्टर पेट्रोल पम्पनजिकै रहेको नयाँ सोरुममा गितार, किबोर्ड, पक्र्युसन इन्स्ट्रयुमेन्ट, पियानो र ड्रमदेखि एम्लिफायर, लाइभ साउन्ड, होम थिएटर स्टेसन, सिनेमा स्टेसन र रेकर्डिङ उपकहरणहरु समेत पाइन्छ । सोरुममा संगीतसम्बन्धी ज्ञान भएको प्रतिबद्ध स्टाफहरु पनि हुनेछन् जसले संगीत पारखीहरुलाई आफूले चाहेको उपकरण छान्ने मद्दत गर्नेछन् । साथै, यामाहा म्युजिक सोरुमले संगीतप्रेमीहरुका लागि ‘टच, फिल एन्ड एक्सपिरियन्स’को व्यवस्था समेत गर्नेछ । बुधबार सोरुम उद्घाटनपछि सांगितिक कार्यक्रम आयोजना गरिएको थियो जसमा यामाहा म्युजिकका अन्तर्राष्ट्रिय प्रस्तुतीकर्ता युकी सिमादा, जिन्दावादका किरण शाही र सिल्भर सिरिनेड लगायतले संगीत पस्केका थिए । यामाहा म्युजिकको स्थापना संस्थापक तोराकुसी यामाहालेले सन् १८८७ मा गरेका थिए । अहिले यामाहाले पियानो, विन्ड इन्स्ट्रयुमेन्ट, स्ट्रिङ र पक्र्युसन इन्स्ट्रयुमेन्ट र डिजिटल म्युजिक इन्स्ट्रयुमेन्टको समेत उत्पादन गर्छ । विश्वमै प्रतिष्ठित यामाहा म्युजिकले विश्व बजारको २५ प्रतिशत हिस्सा ओगटेको छ ।
नेप्से ४१ अंकले उक्लियो, परिसूचक १३१६ अंकमा, ५२ करोडको सेयर कारोबार
काठमाडौं । बुधबार नेप्से परिसूचक ४१ दशमलब ८३ अंकले उकालो लागेर १३१६ अंकमा पुगेको छ । बजारमा परिसूचक सँगै कारोबार रकमा पनि सुधार आएको छ । मंगलबारको तुलनामा बुधबार करिब १२ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । मंगलबार जम्मा ४० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बुधबार १४१ कम्पनीको १६ लाख १३ हजार कित्ता सेयर किनबेच भएको छ । हरियाली छाएको बुधबारको बजारमा करिब १८ वटा कम्पनीको सेयर मूल्यमा ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । जसमा तीन वटा कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् भने कम्पनीका लगानीकर्ताले ९ प्रतिशत कमाएका छन् । सो दिन एसियन लाइफ इन्स्योरेन्स कम्पनी, सानिमा माइ हाइड्रो र नेको इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । बजारमा उत्पादमूलक समूह बाहेक कारोबार भएका बाँकी समूहको परिसूचक हरिया भएका छन् । सो दिन बीमा, हाइड्रो, होटल र विकास बैंक समूहको परिसूचक क्रमशः ३८५, ६६, ४९ र ४३ अंकले उकालो लागेका छन् । त्यस्तै, बैंकिङ्, फाइनान्स र अन्य समूहको परिसूचक क्रमशः ३७, १२ र २ अंकले वृद्धि भएका छन् । उत्पादमूलक समूहको परिसूचक भने सामान्य ५ अंकले ओरालो लागेको छ ।
चार गुणा पूँजी बढ्यो भन्दैमा चार गुणै नाफा चाहिने ? अब स्प्रेडलाई ३ प्रतिशतमा झारौं : लामिछाने
आजकल एफएममा तरलता, चियागफमा तरलता चोक चोकमा तरलताको चर्चा छ । यसले तरलता भन्ने शब्दकै अपव्याख्या भएको छ । अब तरलता कसरी उत्पन्न भयो र कसरी समाधान गर्ने भन्ने कुरामा छलफल आवश्यक छ । भन्सारमा व्यापारीका समान अड्किएका छन् । ब्याजदर बढेको छ, व्यापारीले ऋण पाएका छैनन् । यी बिषयमा मोनिटेरी पोलिसीको मध्यावधी समिक्षामा समाधान खोजिएला भन्ने मलाई लाग्छ । अब तरलताको कारणमा जानु आवश्यक छ । अन्यथा नमान्नु होला आज म आत्मदेखि नै केहि कुरा गर्ने सोँचमा छु । केन्द्रिय बैंकले पूँजी वृद्धिको योजना अघि सार्यो । एक एक तला घर बनाउनु भन्दा एकै पटक बलियो र फुलफेज घर बनाउनु पर्छ भन्ने मान्यताका साथ पूँजी बढायो । एक बर्षमा एक तला, दुई बर्षमा दुई तला, तीन बर्षमा तीन तला घर बनाएर डण्डी खियाउनु भन्दा एकै पटक चार तले घर बनाउनु पर्छ भन्ने केन्द्रिय बैंकलाई लाग्यो र चार गुणा पूँजी वृद्धि गर्यो जुन आवश्यकता पनि थियो । के चार गुणा पूँजी बढ्यो भन्दैमा बैंकलाई चार गुणा नै मुनाफा बढि चाहिने ? बैंकले यो बिषयमा मनन गर्नु पर्छ की पर्दैन् ? नेपालमा तीनथरी बैंक छन् । सरकारी बैंक, विदेशी लगानीमा सञ्चालित बैंक र नेपाली उद्योगी व्यवसायीले सञ्चालन गरेका बैंक । तपाईहरुले जुन बैंकबाट ऋण लिनु भएको छ, मन मनै सोच्नुस कुन बैंकले ब्याज बढाएको छ ? मेरो विचारमा सरकारी बैंकले ब्याज बढाएका छैनन् । बढाएको भएपनि थोरै मात्र बढाएका छन् । विदेशी लगानीका ठुला बैंकले पनि खासै व्याज बढाएका छैनन् । ब्याज कसले बढाएका छन्, जुन बैंकमा नेपालका ठुला व्यवसायीक घरानाको लगानी छ, ती बैंकले ब्याज बढाएका छन् । नेपाली ठुला घरानाका लगानी कर्ताले सिइओलाई बाध्य पारिरहनु भएको छ । मलाई २०/३० प्रतिशत लाभांश चाहिन्छ भनेर बाध्य पारिँदैछ । सिइओहरुलाई साउन देखि नै तनाब छ । अहिलेका कमर्सियल बैंकले २० प्रतिशत लाभांश दिन १६० करोड बाढ्नु पर्छ । रिजर्भ राख्ने व्यवास्थाका कारण उसले २ अर्ब नाफा कमाउँदा मात्रै २० प्रतिशत लाभांश दिन सक्छ । २ अर्ब नाफा कमाउन एउटा बाणिज्य बैंकले कर्जा लगानी साह्रै धेरै बढाउनु पर्छ । नाडा अटो शोमा हामीले साढे ५ प्रतिशतमा कर्जा बाढेका हौं असोज मसान्तमा । नाफा कमाउन कर्जा बाढ्दा बाढ्दा ढुकुटीमा भएको पैसा सकियो । भाँडामा पहिले पानी हाल्ने अनि पछि बाढ्ने जस्तै हो बैंकले निक्षेप र कर्जा दिने कुरा । संसार भरका बैंकले यस्तै गर्छन । यस्तो अवस्था आयो की बैंकमा निक्षेप भन्दा कर्जा दिने प्रक्रिया बढि भयो जसले भाँडो रित्तियो । अब भाडै रित्तिए पछि के बाढ्ने ? हामीलाई नाफा कमाउनु पर्ने थियो कर्जा बढायौं । त्यसैले तरलता अभावको अवस्था आयो । अहिले केन्द्रिय बैंक र सिइओलाई गुहारेर पनि केहि हुने वाला छैन् । समाधान भनेको नेपालका ठुला बैंकमा लगानी गरेका घरानीयासँग छ । उहाँहरुलाई भन्नुस् ५ प्रतिशत स्प्रेड होइन यसपाली ३ प्रतिशतमा झारौं । लाभांश पनि यसपाली ३० प्रतिशत होइन २० प्रतिशतमा झारौं भन्नुस् । एउटा ठुलो बैंकका सञ्चालकले एउटा कार्यक्रममा भन्नु भयो–‘मैले सिइओलाई १२ प्रतिशत ब्याज पुर्याउन भनेको थिए, उसले मानेन अहिले अरुले पैसा उठाए । अब यो १५ प्रतिशत पुग्छ ।’ हामीलाई थाहा छ, कुन बैंक कस्को हो भन्ने कुरा । ती बैंकका अध्यक्ष र सञ्चालकलाई बोलाएर भन्नु पर्यो । यो नाफा कमाउने बेला होइन् । स्प्रेड घटाउनु पर्छ । हाम्रा बैंकको त्रैमासिक रिपोर्ट हेर्नुभयो भने राम्रो कमाईरहेको देखिन्छ । तर ७ प्रतिशतको ब्याजलाई १४ प्रतिशत पुर्याएर नाफा कमाईरहेका छौं । भदौ/असोजमा ८ प्रतिशतमा ऋण नलिएर बाणिज्य बैंकमा ७ प्रतिशतमा ऋण लिन गएका एक जना व्यवसायीले अहिले भन्दैछन्–मलाई त बाणिज्य बैंकले १४ प्रतिशत ब्याज पुर्यायो । लौन मलाई कर्जा चाहियो ।’ हामीले ८ प्रतिशतमा दिएको ऋणको ब्याज ११ प्रतिशत भन्दा बढि पुर्याएका छैनौं । बाणिज्य बैंकले ७ प्रतिशतको कर्जा १४ प्रतिशत पुर्याएका छन् । हामीले निक्षेप कर्ताको पैसा परिचालन गरेर ३०/४० प्रतिशत लाभांश खाने तर उनीहरुको पैसाको ब्याज दिनु पर्दैन ? निक्षेप कर्ताले आयआर्जन गर्न पाउनु पर्दैन ? एक प्रतिशत मात्रै ब्याज दिने ? त्यस्तो अन्याय गर्न पाइन्छ ? हामी त सिइओ हौं, सञ्चालक समितिले स्प्रेड घटाउन भन्यो भने तुरुन्तै घटाउन सक्छौं । तर प्रत्येक बैठकमा हामीलई सञ्चालकले सिइओ साब यसपाली कति लाभांश पाइन्छ भनेर सोध्छन् । समयमै बजेट आएकाले पूँजीगत खर्च बढ्छ भनेर हामीले बुझ्यो । त्यसैले धमाधम कर्जा दियौं तर त्यो गलत सावित भयो । जसले अहिलेका तरलता अभावको अवस्था निम्त्यायो । बैंकहरुले अनुपत्पादक क्षेत्रमा लगानी गरे भन्ने आरोप लगाउनु अघि सोच्नु आवश्यक छ । व्यापक घर जग्गामा, हायर पर्चेजमा, ओभर ड्राफ्टमा लगानी गरेर तरलता अभाव भयो भन्ने सुनियो । घर जग्गा कारोबारपछि पैसा बैंकमै जाने हो । ओभर ड्राफ्टको सबै कर्जा अनुत्पादक होइनन् । घर खरिदमा दिएका पैसा जस्तो उत्पादन शिल क्षेत्र अरु कुनै हुनै सक्दैन् । अधिकांश मुलुकमा बैंकबाट घर बनाउन लिइने ऋणलाई उत्पादक मानेर कर छुट दिने चलन छ । हायर पर्चेजको कुरा आएको छ, यसमा पनि सिमेन्ट बोक्न गाढी, स्काभेटर, लोडर पनि अनुत्पादक हुन्छ कहीँ ? सेयर कर्जा पनि २ प्रतिशतमा सिमित भएको छ । फेरी सेयर बेच्नेले पनि सिरानीमा पैसा नराखेर बैंकमै राख्छ । समस्या भनेको निक्षेपको तुलनामा कर्जा बढेकाले आएको हो । समाधान भनेको बैंकका ठुला लागानी कर्तामा निर्भर गर्छ । उहाँहरुले चाहनु भयो भने एक हप्तामा कर्जाको २ प्रतिशत ब्याज घट्न सक्छ । चैत भरिमा निक्षेपको ब्याजदर पनि २ प्रतिशत घटाउन सकिन्छ । तर यो कुरा ठुला बैंकका घरानिया लगानी कर्ताले मान्नु पर्छ ।( डेभलपमेन्ट बैंकर्स एसोसियसनका अध्यक्ष लामिछानेले नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको कार्यक्रममा व्यक्त गरेको विचार)
टेलिकमले ल्यायो नाइट भ्वाइस प्याक अफर, फागुन १७ गतेसम्म लागू हुने
काठमाडौं । नेपाल टेलिकमले प्रणय दिवस(भ्यालेनटाइन डे) का अवसरमा कम्पनीको जीएसएम सेवाका ग्राहकहरुका लागि नाइट भ्वाइस प्याकेज अफर ल्याएको छ । उक्त अफर अन्तर्गत जीएसएम सेवाका ग्राहकले २५ रुपैयाँमा २५० मिनेटको टक टाइम भएको भ्वाइस प्याकेज लिन सक्नेछन् । कम्पनीका अनुसार यो अफर फागुन ३ गते देखि फागुन १७ गते सम्म लागू हुनेछ । यो प्याकेजको अवधि ग्राहकले लिएको मितिबाट ७ दिनसम्म रहनेछ । यस अफर अन्तर्गत लिएको प्याकेजको उपयोग राती १० बजे देखि विहान ६ बजेसम्म गर्न सकिनेछ । यो प्याकेज लिनका लागि VDAY टाइप गरी १४१५ मा SMS गर्नुपर्ने कम्पनीले जनाएको छ । साथै, कम्पनीले सोही अवसरमा हरेक जीएसएम तथा सीडीएमए प्रिपेड सीम तथा रीमको खरिदमा अर्को त्यस्तै सीम वा रीम निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ । दुवै सीम वा रीममा रु. ५० बराबरको टक टाइम उपलब्ध हुनेछ । यो अफर फागुन ३ गते देखि ५ गतेसम्म लागू हुनेछ । यो अफर सेवा कम्पनीका काउन्टरहरुबाट मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।
ऊर्जा मन्त्रालयको अभियानमा ३ अर्ब ८० करोड लगानी प्रतिवद्धता, प्रत्येक कलको १५ प्रतिशत जलविद्युतमा लगानी गर्ने
काठमाडौं । ऊर्जा मन्त्रालयद्धारा सञ्चालित ‘नेपालको पानी, जनताको लगानी’ अभियानमा हालसम्म ३ अर्ब ८० करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । मुलुकलाई समृद्ध बनाउन ऊर्जा मन्त्री जनार्दन शर्माले नयाँ सोचका साथ यो अभियान शुरु गरेका हुन् । पुस २५ गतेबाट लगानी जुटाउन शुरु गरिएको अभियानमा व्यक्तिगत र कम्पनी दुबैकोे लगानी प्रतिबद्धता आएका छन् । लगानी प्रतिबद्धता कार्यान्वयनका लागि जलविद्युत् आयोजना सार्वजनिक गर्नुभन्दा पहिला लगानी जुटाउन ऊर्जा मन्त्रालयले यस्तो अभियान शुरु गरेको हो । जलविद्युत्मा लगानी गर्ने मनस्थितिमा नागरिक रहे/नरहेको हेर्न ऊर्जा मन्त्रालयले सो अभियान शुरु गरेको मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले बताए । विभिन्न कम्पनीको सेयरमा भएको लगानीलाई आधार मानेर ऊर्जाले जलविद्युत् आयोजनामा तत्कालै एक खर्ब २५ अर्ब लगानी जुट्नसक्ने अवस्थालाई मध्यनजर गर्दै ऊर्जा ‘नेपालको पानी जनताको लगानी’ अवधारणा अगाडि सारेको हो । नेपाल भित्रिने रेमिट्यान्सलाई समेत जलविद्युत्मा लगानी गर्न यो योजनाका साथ काम सुरु गरिएको छ । थोरै समयमा जुटेको रकम आइपुग्दा नागरिक, लगानी गर्ने मनस्थितिमा रहेको बुझिएको छ,’ उनले भने, ‘अब छलफल गरेर आयोजना सार्वजनिक गर्नेछौं । मन्त्रालयका अनुसार हालसम्म आएका प्रतिबद्धताका आधारमा चाडैनै आयोजना सार्वजनिक गर्ने र अपुग रकमका लागि थप लगानी आह्वान गर्ने योजना बनाएको छ । मन्त्रालयले विद्युत् उत्पादनका लागि लगानी जुटाउन अब प्रचारप्रसारमा लाग्ने भएको छ । लगानी प्रतिवद्धता मिसम्याच नहोस् भन्नका लागि लगानी कर्ताले तिनपुस्ते खुलाएर फारम भर्नु पर्छ । प्र्रारम्भमा मन्त्रालयले एउटा मझौला खालको आयोजनाका लागि पुग्ने लगानीको प्रतिबद्धता आइसकेपछि योजनाको खाकासहित प्रक्रियामा अघि बढाउने सोच मन्त्रालयले बनाएको छ । सामान्यतया १० देखि १ सय मेगावाटसम्मलाई मझौला खाले आयोजना मान्ने लगानी गर्ने मन्त्रालयको तयारी छ । यस हिसाबले हेर्दा वर्तमान समयमा प्रति मेगावाट विद्युत् उत्पादनका लागि १८ करोडदेखि २० करोडसम्मको लगानी छुट्याउनु पर्छ । यदि १८ करोडलाई आधार मान्ने हो भने हालसम्म आएका लगानी प्रतिबद्धताले करीब १८ मेगावाटको आयोजना निर्माण गर्न पुग्छ । यसरी प्रतिबद्धतामार्फत आएको लगानीलाई प्रस्तावित जलाशययुक्त वा पिकिङ रन अफ रिभर आयोजना निर्माणमा लगाउने भएको छ । तर, यी दुई प्रकारका आयोजनामा सबैभन्दा कम तनहुँ सेती (१४० मेवा) जलाशययुक्त आयोजना रहेको छ । प्रतिमेगावाट रू. १८ करोड मात्रै छुट्याउने हो भने उक्त आयोजना निर्माणका लागि पनि २५ अर्ब २० करोड रुपैयाँ आवश्यक पर्छ, जुन हाल आएका प्रतिबद्धताको आठ गुणाभन्दा पनि बढी हो अर्थात् कुल लागतको करीब १२ प्रतिशत हो । त्यसैले मन्त्रालय लगानी प्रतिवद्धता बढाउने सोचमा रहेको छ । प्रचार प्रसार नपगेको भन्दै उसले आम लगानीकर्तालाई आव्हान पनि गरेको छ । आफ्नै स्रोत र साधनमा लगानी गरी आयोजना निर्माण गर्न सके यसबाट निष्कने प्रतिफल पनि आम नेपालीले नै पाउने छन् । यस्तै सरकारले मोबाइल कलको आधारमा जलविद्युत्मा लगानी जुटाउने अवधारणा अगाडि सारेको छ । सूचना तथा सञ्चार मन्त्रालयसँगको समन्वयमा उक्त अवधारणालाई मूर्तरुप दिने तयारी गरिदै छ । नागरिकले टेलिफोन गर्दा प्रत्येक कलमा निश्चित रकम काटी जलविद्युत्मा लगानी गर्ने अवधारणा अगाडि सारिएको घिमिरेले बताए । प्रत्येक कलको १५ प्रतिशत शुल्क जलविद्युत्मा लगानी गर्ने व्यवस्था गरिन लागेको छ । नेपाल टेलिकम र अन्य दुरसञ्चार सेवा प्रदायकलाई पनि सो योजनामा सहभागी गराउने सरकारको योजना छ ।