विकासन्युज

तनहुँ जलविद्युत् आयोजनाको मुआब्जा वितरण, पहिलो दिन नै रु १७ करोड

काठमाडौं । तनहुँ जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रका बासिन्दालाई रु एक करोड २४ लाख ३२ हजार मुआब्जा वितरण गर्न थालिएको छ । आयोजनाले आजदेखि मुआब्जा वितरणको प्रक्रिया सुरु गरेको हो । पहिलो दिनमा नै १७ प्रभावित घर परिवारलाई कामु प्रजिअ फणीन्द्रमणि पोखरेलले जामुनेकी ५१ वर्षीया रामप्यारी रानाभाटलाई रु नौ लाख ५६ हजार ९०० वितरण गरेर थालनी गर्नुभयो । आयोजना प्रभावितलाई निरन्तर रुपमा मुआब्जा वितरण गरिने आयोजनाका सञ्चारविज्ञ सचेन गौतमले राससलाई जानकारी दिए । कुल १४० मेगावाट क्षमताको सो आयोजनाका लागि प्रभावित क्षेत्र घरजग्गा, टहरा, रुखबिरुवा, फलफूल तथा खेत गरी एक हजार दुई सय २२ रोपनी जग्गाधनीलाई मुआब्जा वितरण गरिने छ । आयोजनाबाट तनहुँका भीमाद, कोटदबार, व्यास नगरपालिका, जामुने भन्ज्याङ, छाङ, रिसिङ, रानीपोखरी, माझकोट, काँहुशिवपुरलगायत क्षेत्र प्रभावित हुनेछन् । आयोजनाले न्यूनतम रु दुई लाखदेखि अधिकतम रु आठ लाखसम्म मुआब्जा वितरण गर्ने तयारी गरेको छ । पाखोबारी तथा खेतको फरक फरक मूल्य निर्धारण गरिएको छ । यसैबीच आयोजना निर्माणका लागि आज नै अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको छ । आउँदो अक्टोबर(असोज–कात्तिक)सम्ममा ठेक्का सम्झौता गरेर आयोजनास्थलमा ठेकेदार परिचालन गर्ने तयारी आयोजनाको छ । पहिला खण्डमा आयोजनाको मुख्य बाँध तथा नदी फर्काउनका लागि अस्थायी बाँध निर्माण र दोस्रामा विद्युत्गृह, सुरुङ निर्माणका अतिरिक्त हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल उपकरण आपूर्तिका लागि बोलपत्र आह्वान गरिएको सञ्चारविज्ञ गौतमले जानकारी दिए । पहिला चरणमा आयोजनाको मुख्य बाँध र नदी फर्काउनका लागि अस्थायी बाँध निर्माणका लागि भारतको जयप्रकाश एसोसिएट्स लि, सोङदा कर्पोरेसन, कालिका कन्ट्रक्सन जेभी, एससिसी डोकास इन्ट्रिगे्रडेड, चाइना गेजुवा ग्रुप लि र सिएमसी डी रेभेना इटालीले प्रतिस्पर्धामा भाग लिन पाउनेछन् । त्यसमा एसियाली विकास बैंक र युरोपियन इन्भेस्टमेन्ट बैंकको लगानी हुनेछ । यस्तै दोस्रा चरणमा विद्युत्गृह, सुरुङ निर्माण तथा हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्तिका लागि एससिसी हिन्दूस्तान कन्ट्रक्सन कम्पनी लि, सिनो हाइड्रो कर्पोरेसन र सिएमसी डी रेभेन बोलपत्रमा भाग लिनका लागि छनोट भएका छन् । यसमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को लगानी हुनेछ । यस्तै तेस्रा चरणमा प्रसारण लाइन तथा सबस्टेसन निर्माण र १७ गाविसमा विद्युतीकरणको पूर्वाधार तयारीको योजना छ । सोअन्तर्गत प्रसारण लाइनको क्षेत्र निर्धारणको काम सकिएको छ । सन् २०१७ देखि निर्माण सुरु भई सन् २०२२ सम्म आयोजना सम्पन्न हुने गरी कार्ययोजना तयार भएको छ । आयोजनाको कुल लागत रु ५० अर्ब रहेको छ । आयोजनाबाट वार्षिक ५९ करोड युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । रासस

एभरेष्ट बैंकलाई आस्वा सदस्यता प्राप्त, सम्पूर्ण शाखाबाट सेवा लिन सकिने

काठमाडौं । एभरेष्ट बैंकलाई नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद सम्बन्धी निर्देशिका २०७३ बमोजिम आस्वा सदस्यता प्रदान गरेको छ । यस प्रणालीबाट शेयर कारोबार गर्दा लगानी गरेको रकम लगानीकर्ताको खातामा नै रोक्का हुन्छ भने शेयर बाँडफाँड पश्चात् खाताबाट आवश्यक रकम कट्टा गरी बाँकी रकम खातामा फुकुवा गरिन्छ । बैंकले आस्वा सदस्यताअनुसार आफ्ना ग्राहकहरुलाई आफ्नो सम्पूर्ण शाखाहरुबाट सेवा प्रदान गर्ने छ । उक्त सेवा उपलब्ध गराएबापट बैंकले प्रति दरखास्त रु १०० मात्र शुल्क लिनेछ । एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टर र ८५ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

१२ वटा बाणिज्य बैंकले बढाए प्रति सेयर आम्दानी, १४ वटाले घटाए

काठमाडौं । पुस मसान्तसम्ममा १२ वटा बाणिज्य बैंकहरुले प्रति सेयर आम्दानी बढाएका छन् । त्यस्तै १४ वटै बाणिज्य बैंकहरुको प्रति सेयर आम्दानी घटेको छ । ठुला बैंकका रुपमा रहेका स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक र एभरेष्ट बैंक भने प्रति सेयर आम्दानी बढाउन असफल भएका छन् । सबै भन्दा धेरै ५८ रुपैंयाँ ३१ पैसा प्रति सेयर आम्दानी नेपाल बैंकले गरेको छ । दोश्रो स्थानमा रहेको नबिल बैंकले ५६ रुपैंयाँ ८९ पैसा प्रति सेयर आम्दानी गरेको छ । यद्यपी यो आम्दानी गत आवको पुस मसान्तको भन्दा कम हो । सो अवधीमा नविलको प्रति सेयर आम्दानी ५७ रुपैंयाँ ५० पैसा थियो । त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रति सेयर आम्दानी पनि ५४ रुपैंयाँ ४५ पैसाबाट ३९ रुपैंयाँ ४८ पैसामा झरेको छ । एभरेष्ट बैंकको पनि ५७ रुपैंयाँ ४८ पैसाबाट घटेर ४२ रुपैंयाँ ९३ पैसामा झरेको छ ।उता, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, एनएमबी बैंक लगायतले भने प्रति सेयर बढाएका छन् । यी हुन प्रति सेयर आम्दानी बढाउन असफल बैंक नविल, स्ट्याडर्ड चार्टर्ड, एभरेष्ट, प्रभु, सानिमा, सिद्धार्थ, सिटिजन्स, एनसीसी, सिभिल, सेञ्चुरी, नेपाल एसबिआई, हिमालयन र एनआइसी एसिया, प्राइम कमर्सियल बैंक यी हुन प्रति सेयर आम्दानी बढाउने बैंक नेपाल इन्भेष्टमेन्ट, ग्लोबल आइएमई, कुमारी, माछापुछ्रे, मेगा, जनता, कृषि विकास बैंक, नेपाल बैंक, लक्ष्मी बैंक, एनएमबी, सनराईज र नेपाल बंगलादेश बैंक

मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय काठमाडौंको कमलादीमा

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको केन्द्रिय कार्यालय अब काठमाडौंको कमलादीमा स्थानान्तरण भएको  छ । बैंकले पोखराको कास्कीमा रहेको आफ्नो केन्द्रीय कार्यालय बुधबार काठमाडौंको कमलादीमा स्थानान्तरण गरेको हो । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले एक कार्यक्रमबीच उक्त कार्यालयको उद्घाटन गरेका हुन् । सोही अवसरमा गभर्नर पदमा रही नेपालको वित्तीय क्षेत्रको विकासमा पुर्याएको योगदानको मूल्यांकन गर्दै १० जना पूर्वगभर्नरहरूलाई पनि सम्मान गरिएको बैंकले जनाएको छ । बैंकले हाल ४४ वटा आधुनिक बैंकिङ शाखा, ९ वटा सीमित बैंकिङ र ३ वटा एक्स्टेन्सन काउन्टरअन्तर्गत ५० वटा लघुवित्त डेस्क कार्यालयहरूबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले हालसम्म कुल १५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सिद्धार्थ बैंकको ३९ प्रतिशत बोनस सेयर पारित, सञ्चालक समितिमा ४ जना चयन

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ३९ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित भएको छ । कम्पनीको बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई बिहीबार सम्पन्न बैंकको पन्ध्रौं वार्षिक साधारणसभाले पारित गरेको हो । यस अघि बैंकले जारी गरेको २५ प्रतिशत हकप्रद पछिको पुँजीको आधारमा ३९ प्रतिशत बोनस सेयर प्रदान गर्न लागेको बैंंकले जनाएको छ । साथै, सभाले संस्थापक समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना संचालकहरुको निर्विरोध चयन गरेको छ । नव निर्वाचित संचालकहरु मनोजकुमार केडिया, नरेन्द्रकुमार अग्रवाल, वीरेन्द्रकुमार साह र दिनेश शंकर पालिखे रहेका छन् । त्यसैगरी उक्त साधारणसभाले सर्वसाधारण शेयरधनीको तर्फबाट ३ जना संचालकहरुको समेत निर्विरोध चयन गरेको छ । सर्वसाधारण शेयरधनीहरुको तर्फबाट निर्वाचित संचालकहरुमा महेशप्रसाद पोखरेल, हेमन्त ज्ञवाली र राजेशकुमार केडिया रहेका छन् । चालु आर्थिक वर्ष २०७३/७४ को पौष मसान्तसम्ममा बैंकले ७२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल रहेको बैंकले जनाएको छ । सोही अवधिमा बैंकले कुल निक्षेप ७४ अर्ब ९३ करोड रुपैयाँ संकलन गरी ६२ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकले हाल नेपालभर ६३ शाखा, ८२ एटिएम र विभिन्न ६९ स्थानमा शाखारहित बैंकिङ्ग सेवाको माध्यमबाट उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

पाँच करोडको लागतमा पत्तालेमा बुद्धपार्क निर्माण हुँदै

सोलुखुम्बु । दृष्यावलोकनका लागि प्रख्यात सोलुखुम्बुको पत्तालेमा निर्माण गरिने बुद्धपार्क पूर्व मन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले शिलान्यास गरेका छन् । केरुङ गाविसमा पर्ने पत्तालेमा बुद्धको मुर्ती स्थापनाका साथै बुद्ध धर्म सम्बन्धि अन्य संरचना निर्माण गरी धार्मिक पर्यटक भित्र्याउने लक्ष्यका साथ निर्माण सुरु सो योजनका लागि करिव रु पाँच करोड लाग्ने पार्क व्यवस्थापन समितिले जनाएको छ । पूर्व मन्त्री केसीले सो पार्क तल्लो सोलुमा पर्यटक ल्याउन कोसेढुङ्गा सावित हुने उल्लेख गर्दै पार्कसँगै पत्तालेमा भ्यू टावर निर्माण, स्थानीय परिकार खुवाउने, शेर्पा संस्कृतिअनुसार स्वागत सत्कार गर्नेजस्ता कार्यक्रम गर्न सुझाव दिए । बुद्धपार्क निर्माण गर्न लागिएको पत्ताले क्षेत्रमा प्रसिद्ध गौरीटाप, चाँगेस्थान मन्दिर तथा दृष्यावलोकनका लागि प्रसिद्ध थालेडाँडा अवस्थित छ । थालेडाँडाबाट सगरमाथा गौरीशङ्करलगायत एक दर्जन बढी हिमाल प्रस्ट देख्न सकिन्छ । काठमाडौँबाट २४० किमी लामो सडक पार गर्न सकिने पत्तालेमा हिउँदमा बाक्लो हिमपातसमेत हुने भएकाले हिउँदमा हिउँ खेल्ने पर्यटकको समेत घुइँचो लाग्ने गरेको छ । रासस

बाजुरा-काठमाडौं डिलक्स बस सञ्चालन, प्रतियात्रु भाडादर दुई हजार ८०० रुपैयाँ

बाजुरा । बाजुराको सदरमुकाम मार्तडीदेखि काठमाडौंका लागि सिधै बस छुट्ने भएको छ । सुदूरपश्चिम यातायात बस व्यवसायी सङ्घले बिहीबारदेखि बस सेवा सञ्चालन गरेको सुदूपश्चिम यातायात बस व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष पदम सापकोटाले बताएका छन् । सापकोटाले बाजुराका जनतालाई काठमाडौं जान धनगढी र अन्य यातायातमा यात्रा असहज हुँदै आएकाले सुदूरपश्चिम यातायात बस व्यवसायीले बस सञ्चालन गरेको बताए । बिहान ६ बजेदेखि सदरमुकाम मार्तडीदेखि बस सेवा सञ्चालन हुने भएको छ । बाजुराबाट काठमाडौं जान धनगढी हुँदै काठमाडौंको टिकट काटेर जानुपर्ने बाध्यता भने हटेको छ । मार्तडीबाट काठमाडौंको यात्रा गर्ने बस सञ्चालनमा आएपछि जिल्लावासीलाई सहज भएको यात्रु कोल्टी गाविस-८ की झोपु बुढाले बताए । सुदूरपश्चिम यातायात जिल्ला प्रतिनिधि सुरत शाहले मार्तडीदेखि काठमाडौंको दुई हजार ८०० रुपैयाँ भाडा कायम गरिएको बताए । बिहीबार बिहान ७ः३० बजे उद्योग वाणिज्य सङ्घ बाजुराका अध्यक्ष देवबहादुर रोकायाले रिबन काटेर बस सेवा सञ्चालन गरेका थिए । बिहीबारउक्त बस चढेर चारजना यात्रु काठमाडौं गएका छन् । रासस

सिद्धार्थ डेभलपमेन्ट बैंकको नयाँ शाखा पाल्पाको तानसेन बजारमा

काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेडले बिहीबारदेखि पाल्पा जिल्लाको तानसेन बजारमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो सेवा विस्तार गर्दै जाने क्रममा उक्त स्थानमा नयाँ शाखा विस्तार गरेको हो । बैंकको यस शाखाले स्थानिय स्तरमा बैकिङ् सेवा सुविधा प्रदान गर्नुका साथै स्थानिय व्यवसायीहरुको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्ने विश्वास लिइएको छ । उक्त शाखाको उद्घाटन पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमद्वारा गरिएको बैंकले जनाएको छ ।