दुई करोड रुपैयाँभन्दा बढीको लागतमा लघुजलविद्युत् परियोजनाको निर्माण सम्पन्न
म्याग्दी । म्याग्दीको मल्कवाङमा दुई करोड रुपैयाँभन्दा बढीको लागतमा नन्दीवाङखोला लघुजलविद्युत् परियोजना निर्माण भएको छ । बयालीस किलोवाट क्षमताको परियोजनाको बिहीबार नेपाल छन्त्याल सङ्घ कास्कीका अध्यक्ष तथा परियोजनाका सल्लाहकार भक्तबहादुर छन्त्यालले उद्घाटन गरेका हुन् । परियोजनाबाट मल्कवाङको १, २, ३, ४, ५ र ६ नम्बर वडाका २१२ घरधुरीमा विद्युत् सुविधा पुगेको छ । उद्घाटन कार्यक्रममा परियोजनाका अध्यक्ष लालबहादुर छन्त्यालले दुई करोड १७ लाख ७९ हजार २६१ रुपैयाँ खर्च भएको आय व्यय विवरण सार्वजनिक गरे । एक करोड ५९ लाख २६ हजार २६१ नगद तथा ५८ हजार ५३ हजारबराबरको श्रमदानमा परियोजना निर्माण भएको अध्यक्ष छन्त्यालले बताए । परियोजनामा वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्र/राष्ट्रिय ग्रामीण नवीकरणीय ऊर्जा कार्यक्रमको ८१ लाख ९० हजार रुपैयाँ, मल्कवाङ गाविसको पाँच लाख ५६ हजार रुपैयाँ, जिविसको दुई लाख रुपैयाँ र ३, ४, ५ र ६ वडा र आमा समूह कोषको १३ लाख १० हजार रुपैयाँ लगानी भएको छ । परियोजना निर्माणका लागि स्थानीय र प्रवासमा रहेका मल्कवाङका बासिन्दाले ५६ लाख ७० हजार २६१ रुपैयाँ चन्दा सङ्कलन गरेर जुटाएका थिए । परियोजना निर्माण भएपछि उज्यालोका लागि बत्ती बाल्न, टिभी हेर्न, मोबाइल चार्ज गर्न, विद्युतीय सामग्रीको सहायताले आयआर्जनमूलक क्रियाकलाप गर्न सहज भएको स्थानीयवासी याममाया छन्त्यालले बताए । रासस
काभ्रेपलाञ्चोकमा दोस्रो किस्ता वितरण शुरु, पीडितले एक लाख ५० हजार रुपैयाँ पाउने
बनेपा। काभ्रेपलाञ्चोकमा भूकम्पपीडितका लागि दोस्रो किस्ता वितरण शुक्रबारदेखि शुरु भएको छ । प्रथम किस्ता वितरण भएको जिल्लाको रविओपी गाविसबाट आज काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिव शिङ्खडाले रविओपी गाविस–४ का होमनाथ कोइरालासहित करिब १० जनालाई दोस्रो किस्ताबापतको अनुदान सम्झौता हस्तान्तरण गरेका छन्। सो सम्झौतापछि उनीहरुले एक लाख ५० हजार रुपैयाँ पाउने छन् । सो अवसरमा बोल्दै काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिव शिङ्खडाले सरकारको राजस्व कसैले पनि दुरुपयोग गर्न नहुनेमा जोड दिँदै पुनःनिर्माणका लागि सरकारको उपस्थिति मात्रै भएको बताए । उनले भने- “वास्तविक भूकम्पपीडितको लाभग्राहीमा नाम छुटेको छ, भने पनि ढिलोचाँडो पाउनुहुन्छ ”। राष्ट्रिय पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका प्रमुख ध्रुव गैडाले पुनःनिर्माण भएका घर भूकम्पप्रतिरोधी हुनुपर्ने उल्लेख गर्दै जिल्लामा दोस्रो किस्ताबापतको रकम अब धमाधम वितरण हुने बताए । उनले अनुदान रकम वितरणमा अदालती प्रक्रिया विस्थापन गरेर नयाँ प्रक्रिया सुरु हुने जानकारी दिँदै कतिपय स्थानबाट अनुदानको पैसा फिर्ता आउन लागेको बताए। सो गाविसमा ९७० जना भूकम्पपीडिको नाम लाभग्राही सूचीमा प्रकाशन भएको छ । तीमध्ये ९३० जनाले पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ पाएका छन् भने घर निर्मााणका लागि एक सय ३० जनाले आवेदन दिएका छन् । दोस्रो किस्ताको लागि ४० जनाले मात्रै आवेदन दिएको बताइएको छ । जिल्ला विकास समिति, काभ्रेपलाञ्चोकका अनुसार भूकम्पपीडितलाई दोस्रो किस्ताको रकम वितरण गर्नका लागि ९९ करोड ५८ लाख ५० हजार रुपैयाँ विनियोजन भएको छ । सो रकमबाट दोस्रो किस्ताबापत रु एक लाख ५० हजारका दरले ६ हजार ६३९ जनाले मात्र रकम पाउँछन् । जिल्लामा लाभग्राहीको सूचीमा रहेका ६७ हजार ७११ जनाले प्रथम किस्ताबापतको ५० हजार रुपैयाँ पाएका छन् । रासस
नेपालमा पहिलो पटक डल्बी अटमस साउण्ड सिष्टम सहित बीएसआर मुभिज सञ्चालनमा
काठमाडौं । गोंगबुस्थित बीजी मलमा बीएसआर मुभिज सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय जगतमा प्रचलनमा रहेको पछिल्लो प्रविधि डल्बी अटमस साउण्ड सिष्टम नेपालमा भित्र्याउँदै बीएसआरले दुई वटा अत्याधुनिक सिनेमा हल सञ्चालन ल्याएको हो । बीजी मलको आन्तरिक व्यवस्थापनमा सुरु भएको बीएसआर मुभिजको बिहीबार बरिष्ठ कलाकार नीर शाह, बीजी मलका अध्यक्ष बासु गिरीले संयुक्त रुपमा उद्घाटन गरेका छन् । कलाकार नीर शाहले गोंगबु क्षेत्रमा भएको बसोबासको चापले यो क्षेत्रमा सञ्चालित सिनेमा हलको व्यवसाय सफल हुने विश्वास गरे । आधुनिक प्रविधि भित्र्याएका कारण पनि बीएसआर मुभिजको बेग्लै महत्व दर्शकमा रहने उनको भनाई थियो । बीएसआर मुभिजको उद्घाटन गर्दै बीजी मलका अध्यक्ष बासु गिरीले मनोरञ्जनको क्षेत्रमा चलचित्रको ठुलो हिस्सा रहेको भन्दै नयाँ प्रविधिबाट बीएसआर मुभिजले नेपाली चलभित्र बजारमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे । ‘प्रविधिको विकाससँगै भित्रिएको प्रविधिको सहयोगमा चलचित्र प्रेमीले नयाँ अनुभव र मनोरञ्जन प्राप्त गर्नु हुनेछ । यसका लागि हामीले सबै किसिमका दर्शकलाई नयाँ प्रविधिमा अभ्यस्त बनाउने जमर्को गरेका छौं, यसका लागि सबै पक्षको सहयोगको अपेक्षा गरेको छौं ।’ मलका अध्यक्ष गिरीले भने । बिहीबारबाट व्यवसायिक रुपमा सञ्चालनमा आएका दुईवटा हलहरु मध्ये अटमस वानमा एक सय ५० जना दर्शक क्षमता रहेको छ भने अटमस टूमा एक सय ४० गरी एक पटकमा दुई सय ९० जना दर्शकले चलचित्र हेर्न सक्ने छन् । ‘फिल द थ्रिल, फिल एव्रि डायमेन्सन’ भन्ने नाराका साथ व्यवशायिक यात्रा सुरु गरेको बीएसआर मुभिजको अटमस वान हल बीजी मलको पाँचौ तल्लामा छ भने अटमस टू मलको छौठौं तल्लामा रहेको छ । नेपालमा पहिलो पटक भित्रिएको डल्बी अटमस प्रविधिले बीएसआर सिनेमामा चलचित्र हेर्ने दर्शकलाई चलचित्रमा भैरहेका सबै कृयाकलाप वास्तविक जस्तै महसुस गराउने छ । डल्बी अटमस साउण्ड सिष्टममा दर्शकले पर्दामा जुद दिशामा जस्तो वस्तु देखिन्छ सोही दिशाबाट आवाज आएको महसुस गर्न सक्ने् छन् । हेलिकप्टर उडेको दृयमा हलको माथिल्लो भागबाट आउने साण्डसँगै दृष्यमा देखाइएको वातावरण अनुसारका साउण्ड सोही दिशाबाट आउने भएकाले दर्शकले चलचित्रमा भएको कृयाकलापमा आफैं सहभागि भएको महसुस गर्ने छन् । अहिले नेपालमा सञ्चालनमा रहेका कुनै पनि सिनेमा हलमा यो प्रविधिमा आधारित साउण्ड सिष्टम छैन ।
चुनावले उचाल्छ अर्थतन्त्र, आर्थिक वृद्धिदर ७ प्रतिशत नाघ्ने अनुमान
काठमाडौं । सरकारले यस वर्ष ६.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य निर्धारण गरेको छ । गत आवमा भएको शुन्य दशमलव ७७ प्रतिशतको न्युन आर्थिक वृद्धिदरको धरातलमा टेक्दै चुनाव, पुनर्निर्माण तथा विकास खर्चमा बृद्धि गरेर सो बृद्धिदर हासिल गर्ने लक्ष्य निर्धारण गरिएको हो । तर, अघिल्ला वर्षहरू पनि चुनावी वर्षमा आर्थिक बृद्धिदर अन्य वर्षहरूमा भन्दा उच्च रहने गरेको देखिएको छ । देश द्वन्द्वमा फस्दै गर्दाको वर्ष २०५१ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनको समयमा नेपालले अहिलेसम्मकै उच्च ७ दशमलव ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको थियो । यस वर्ष पनि स्थानीय सरकार गठन भएपछि विकास खर्च बढाउन सकेमा आर्थिक वृद्धिदर ७ प्रतिशतभन्दा माथि जान सक्ने अनुमान अर्थविद्हरूले गर्न थालेका छन् । चुनावी वर्षमा बढ्ने खर्चले आर्थिक बृद्धिदर बढाउन मद्धत गर्ने डा. शंकर शर्माले बताएका छन् । यस वर्ष पनि स्थानीय क्षेत्रको चुनावका लागि सरकारले करिब २० अर्ब खर्च हुने अनुमान गरेपनि सुरक्षा निकायलाई समेत गरी ३० अर्बको चुनावी खर्चका लागि माग आएको अर्थ सचिव शान्तराज सुवेदीले बताएका छन् । चुनावका बेला देशव्यापी आयोजना गरिने चुनावी सभा सम्मेलन, भोजभतेर, प्रचारप्रसार आदि काममा रकम खर्च हुने गर्छन् । यसले बजारमा उपभोग्य वस्तुदेखि हरेक क्षेत्रको कारोबार बढ्न जान्छ र नगद प्रवाह सामान्य अवस्थाभन्दा बढी हुन्छ । बजारमा रकमको कारोबार धेरै हुँदा त्यसले अस्थायी रूपमा भए पनि अर्थतन्त्रलाई चलायमान बनाउँछ । विश्व बैंकले केही समयअघि गरेको अध्ययनअनुसार नेपालमा अनौपचारिक अर्थतन्त्रले कुल गार्हस्थ्य उत्पादनको ४० प्रतिशत अंश ओगटेको रिपोर्ट सार्वजनिक गरेको छ । दोस्रो संविधानसभाको चुनाव भएको वर्ष २०७०/७१ मा ५ दशमलव ५ प्रतिशतमा आर्थिक बृद्धिदर उक्लियो । यस अघिको वर्ष २०६९/७० मा पनि ३.८ प्रतिशतमात्र आर्थिक बृद्धिदर थियो भने चुनावपछिको पछिल्लो वर्ष ०७१/७२ मा २.३२ प्रतिशतमात्र आर्थिक बृद्धिदर रहेको थियो । यसरी वृद्धिदरलाई नियाल्ने हो भने अन्य वर्षको तुलनामा निर्वाचन भएका वर्षहरूमा आर्थिक वृद्धिदर बढेको देखिएको छ । निर्वाचनले देशभर राजनीतिक, सामाजिक र आर्थिक तरंङ पैदा गर्ने गर्छ भने रकमको बढी परिचालन हुन्छ । केन्द्रदेखि गाउँ टोलको कुनासम्म हुने राजनीतिक चहलपहलले बजारमा रकमको कारोबारमा वृद्धि गराउँछ । निर्वाचनको समयमा औपचारिक र अनौपचारिक अर्थतन्त्रलगायत हुण्डी, ब्याजखोरी, कालोधन आदिको कारोबार सक्रिय हुन्छ । यस्तो बेलामा औपचारिकभन्दा अनौपचारिक अर्थतन्त्रबाट आएको रकमको भूमिका धेरै हुने गरेको पाइन्छ अर्थात अनौपचारिक अर्थतन्त्रको हिस्सामा बृद्धि हुन्छ । राजनीतिक दलहरूले दलहरूले चुनाव लड्नका लागि अनौपचारिक रूपमा अर्थतन्त्रको प्रयोग धेरै गर्ने गर्दछन् । उद्योगी, व्यवसायी, शुभचिन्तक र पार्टी कार्यकर्तासँग दल र तिनका उम्मेदवारले लिने अधिकांश चन्दा रकमको स्रोत औपचारिकभन्दा अनौपचारिक रहेको पाइन्छ । निर्वाचन आचारसंहिताले चुनावमा हुने खर्च पारदर्शी हुनुपर्ने उल्लेख गरिएको छ । तर, चुनावी प्रतिस्पर्धामा रहेका राजनीतिक दलहरूले आफूले गर्ने खर्चको पारदर्शी हिसाब देखाउने अभ्यास अझैसम्म भैसकेको छैन । जे जस्तो तरिकाबाट खर्च भएपनि चुनावी वर्षमा अन्य सामान्य वर्षमा भन्दा आर्थिक बृद्धिदर भने माथि उक्लने गरेको पक्कै हो । माओवादी द्वन्द्वले चर्जर बनेको देशको अर्थतन्त्रमा एकैपटक २०६४ सालमा पहिलो संविधानसभा निर्वाचनको समयमा आर्थिक वृद्धिदर ५ दशमलव ८ प्रतिशत पुग्यो । त्यस अघिको वर्षमा भने २.८ प्रतिशतमात्र आर्थिक बृद्धिदर रहेको थियो । त्यसपछि २०५४ सालमा भएको पछिल्लो स्थानीय निकायको निर्वाचन र त्यसको २ वर्षपछि २०५६ सालमा भएको प्रतिनिधि सभाको अर्को चुनावपछि ६ दशमलव १ प्रतिशतले आर्थिक वृद्धि भएको थियो । तर, त्यसपछिका वर्षहरूमा देशमा भएको माओवादी द्वन्द्वका कारण देशको अर्थतन्त्र धराशयी बन्न पुग्यो । निर्माण २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि निर्वाचन गरिएका वर्षहरूमा भएको आर्थिक वृद्धिलाई हेर्दा चुनावी क्रियाकलापले देशको अर्थव्यवस्थामा पनि प्रभाव पारेको देखिन्छ । २०४८ सालमा भएको प्रतिनिधि सभाको चुनावपछि ६ दशमलव ३ प्रतिशतको आर्थिक वृद्धि भएको थियो ।
मुक्तिनाथ विकास बैंकले थप्यो चार वटा शाखा
काठमाडौं । मुक्तिनाथ विकास बैंकले चार वटा नयाँ शाखा थपेको छ । बैंकले बिरगञ्ज, नवलपरासीको भुमही, ओखलढुंगाको सिद्धिचरण र रामपुरमा नयाँ शाखा विस्तार गरेको हो । अब बैंकको शाखा संख्या ५५ वटा पुगेको छ । मक्तिनाथको नवलपरासीस्थित भुमही शाखाको उद्घाटन नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष भीम बहादुर थापा क्षेत्रीले गरेका थिए भने वीरगंज शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत भरत राज ढकालले गरेका थिए । ओखलढुङ्गाको सिद्धिचरण शाखा र रामपुर शाखाको उद्घाटन भने प्रमुख जिल्ला अधिकारी फणिन्द्र दहालले गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकले कृषि क्षेत्रको विकास र विस्तारमा आफ्नो लगानी केन्द्रित गरेको बताए । मुक्तिनाथ विकास बैंकले जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ भन्ने मान्यता अनुसार सेवा विस्तार गरिरहेको पनि उनले जानकारी दिएका थिए । हाल बैंकका १ लाख भन्दा बढी लघुवित्त सदस्यहरु सहित कुल ३ लाख भन्दा बढी सेवाग्राही रहेका छन् । बैँकले हालसम्म कुल १५ अर्ब निक्षेप संकलन गरी १३ अर्ब ५ करोड कर्जा प्रवाह गरेको छ ।
ग्लोबल आईएमई बैंकले ७ महिनापछि बोनस सेयर घटायो, साधारणसभा चैत २१ गते
काठमाडौं । ग्लोबल आईएमई बैंकको बोनस सेयर घटेको छ । भदौ २९ गते बसेको बैंक सञ्चालक समितिले १६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो । सञ्चालक समितिले निर्णय गरेका ७ महिनापछि हुन लागेको साधारणसभामा १५.७६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पेश गरिदैछ । बोनस सेयर रेट घट्नुको कारण खुलाईएको छैन । बैंकले यस वर्ष दिन लागेको लाभांश गत वर्षको तुलनामा ८ प्रतिशत कम हो । गत वर्ष बैंकले सेयरधनीलाई २३ प्रतिशत बोनस सेयर दिएको थियो । बैंकले आगामी चैत २१ गते साधारणसभा गर्दैछ । त्यसको लागि चैत ७ गतेदेखि २१ गतेसम्म बुक क्लोज रहने बैंकले जनाएको छ । यस बैंकले गत वर्ष कमाएको नाफा खान सेयरधनीले चैत ६ गतेअघि नै सेयर किन्नुपर्ने छ ।
मेगा बैंकलाई संस्थापकले पनि पत्याएनन्, हकप्रद सेयर नबिकेपछि ३ लाख ८६ हजार कित्ता लिलाम बिक्रीमा
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ३ लाख ८६ हजार ८८२ कित्ता सेयर लिलाम बिक्रीमा राखेको छ । बैंकले गत साउन र भदौमा जारी गरेको हकप्रद सेयर निश्काशन गर्दा आवेदन नपरेको बाँकी सेयर लिलामीमा राखेको हो । मेगा बैंकको सबै संस्थापकले हकप्रद सेयरको लागि आवेदन गरेनन् । बैंकका अनुसार संस्थापक समूहको १ लाख ६८ हजार ९९२ कित्ता लिलाम बिक्रीमा राखिएको छ । संस्थाकले नै हकप्रद सेयरमा लगानी नगर्नुलाई संस्थाप्रतिको अविश्वासको रुपमा लिइन्छ । बैंकको नाफा कम भएको, प्रतिफल कम भएको तथा बैंकका संस्थापक बीच एकले अर्कोलाई निषेध गर्ने अस्वस्थ्य क्रियाकला भएको भन्दै केही संस्थापकहरु निकै निरास देखिएका भेटिएका छन् । त्यस्तै सर्बसाधारण समूहको २ लाख १७ हजार ८९० कित्ता सेयर लिलाममा राखिएको छ । सर्बसाधारणतर्फ लगानीकर्ताकाे संख्या धेरै हुने र प्रयाप्त सूचना प्रवाह नहुने भएकाेले अावेदन कम पर्ने गरेकाे पाइन्छ । न्यूनतम १०० रुपैयाँ तोकेर बढाबढ मूल्यमा लिलामीमा राखिएको सेयर न्यूनतम १०० कित्ता र बढीमा एक लाख कित्ताको लागि आवेदन गर्न सकिने बैंकले जनाएको छ । यस सेयरको लागि चैत १३ देखि २० गतेसम्म आवेदन गर्न सकिने छ भने २१ गते सेयर बाँडफाँड हुनेछ ।
समस्याग्रस्त वित्तीय संस्था सकिँदै, अदालती मुद्दामा परेकाबाहेक सबै सल्टिदैँ
काठमाडौं । राष्ट्र बैंकबाट समस्याग्रस्त घोषित भएका बैंक तथा वित्तीय संस्था छिट्टै सकिने भएका छन् । अदालतमा विचाराधीन अवस्थामा रहेका बाहेक अधिकांश कम्पनीको सेयर खरिद बिक्री प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आगामी साउनदेखि राष्ट्र बैंकले ‘रिजोलुसन महाशाखा’ खारेज गर्ने तयारी गर्नुले पनि उक्त कुरा पुष्टि गर्छ । समस्याग्रस्त संस्थाको व्यवस्थापनका लागि रिजोलुसन महाशाखा खोलिएको थियो । राष्ट्र बैंकले चालु आर्थिक वर्षभित्रै अधिकांश समस्याग्रस्त संस्थाहरूको खरिद प्रक्रिया टुंगोमा पुर्याएर नयाँ आर्थिक वर्षको सुरुवातसँगै ‘रिजोलुसन महाशाखा’ खारेज गर्ने योजना बनाएको छ । ‘अदालतमा विचाराधीन रहेका बाहेक बाँकी सबै संस्थाको खरिद बिक्री प्रक्रिया यसै आर्थिक वर्षमा पूरा हुन्छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘बचेका केही संस्था हेर्ने जिम्मा राष्ट्र बैंकको कुनै विभागलाई दिइनेछ ।’ विगतमा समस्याग्रस्त कम्पनी बढदै गएपछि राष्ट्र बैंकले ०७१ देखि छुट्टै महाशाखामार्फत ती कम्पनीको नियमन र सुपरिवेक्षण गर्दै आएको छ । एकैपटक धेरै संस्था समस्याग्रस्त रहेकाले ती संस्था हेरचाह गर्न राष्ट्र बैंकको ठूलो साधनस्रोत खर्च हुँदै आएको गभर्नर चिरञ्जीवी नेपालले सार्वजनिक कार्यक्रमहरूमा बताउँदै आएका छन् । यसै कारण पनि समस्याग्रस्त संस्था नयाँ व्यवस्थापनलाई सुम्पिएर राष्ट्र बैंकले आफूमाथिको अनावश्यक भार पन्छाउन खोजेको देखिन्छ । ०६५ सालमा क, ख र ग वर्गका वित्तीय संस्थाको अनुमति रोकेको राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ‘घ’ वर्गका लघुवित्त बैंक स्थापनामा पनि रोक लगाएको छ । यसै कारण समस्याग्रस्त वित्तीय संस्थामा लगानीकर्ताको आकर्षण बढेको हो । पछिल्लो समयमा समस्याग्रस्त संस्था किन्न लगानीकर्ताको होडबाजी चल्नुले पनि यो पुष्टि हुन्छ । यसैकारण हाल समस्याग्रस्त रूपमा रहेकामध्ये ४ वटा संस्थाको सेयर बिक्रीका समझदारी पत्रमा हस्ताक्षर ९एमओयू० भइसकेको छ । थप २ वटा संस्थाको एमओयू पनि छिट्टै हुने तयारी भएको राष्ट्र बैंक स्रोतले बताएको छ । ती संस्था खरिदका लागि व्यावसायिक घराना र गैरआवासिय नेपाली ९एनआरएन० हरू अघि देखिएका छन् । गत असोजसम्म १३ वटा बैंक तथा वित्तीय संस्था समस्याग्रस्त रहेकामा जनरल फाइनान्स र अरुण फाइनान्स नयाँ व्यवस्थापनसहित सञ्चालनमा आइसकेका छन् । हिमालयन र क्रिस्टल फाइनान्स खारेजीमा पठाइएको छ । तीमध्ये हिमालयन फाइनान्सको खरेजी प्रक्रिया सुरु भइसकेको छ भने अदालतमा मुद्दा परेकाले क्रिस्टल फाइनान्सको प्रक्रिया रोकिएको छ । बाँकी रहेका ९ वटा संस्थामध्ये कुबेर मर्चेन्ट फाइनान्स, वल्र्ड मर्चेन्ट एन्ड बैंकिङ फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक र ललितपुर फाइनान्स नयाँ व्यवस्थापनसहित सञ्चालनमा आउँदै छन् । ‘ती संस्थाको सेयर खरिद बिक्री ९फिट एन्ड प्रपर टेस्ट० अनुमतिका लागि राष्ट्र बैंक नियमन विभागमा आवेदन परेको छ,’ स्रोतले भन्यो, ‘अनुमति प्राप्त भएपछि सेयर नामसारीको काम अघि बढ्छ ।’ यसरी एमओयू भइसकेका संस्थाहरूमध्ये कुबेर मर्चेन्ट फाइनान्समा एनआरएन समूहले, कर्पोरेट डेभलपमेन्ट बैंक तथा ललितपुर फाइनान्स काठमाडौंकै व्यापारिक घरानाहरूले र वल्र्ड मर्चेन्ट एन्ड बैंकिङ फाइनान्समा काठमाडौंकै एक गैरव्यापारिक समूहले खरिद गर्न चाहेका छन् । कान्तिपुर दैनिकबाट ।