रिलायबल डेभलपमेन्ट बैंकद्धारा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय रद्ध
काठमाडौं । रिलायबल डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने पुर्व निर्णय रद्ध गरेको छ । बैंकको बुधबार सम्पन्न ११ औं बार्षिक साधारण सभाले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय रद्ध गरेको हो । गत असार १७ गतेको १० औं बार्षिक साधारणले पारित गरेको हकप्रद सेयरको निर्णय उल्टाउँदै बैंकले ग्लोबल आइएमई बैंकसँग मर्जमा जाने निर्णय गरेको हो । साधारण सभाले लगानी कर्तालाई २८ दशमलब १४ प्रतिशत बोनस दिएर एक्वायरमा जाने निर्णय गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण्ण बाबु लोहनीले विकासन्युजलाई जानकारी दिए । हकप्रद सेयर जारी नगरि ग्लोबल आइएमई बैंकसँग एक्वायरमा जाने सम्झौतामा हस्ताक्षर गरेपछि बैंकका लगानी कर्ताले धितोपत्र बोर्डमा उजुरी हालेका थिए । लगानी कर्ताको उजुरीपछि बोर्डले अक्वायर प्रक्रिया अघि नबढाउन निर्देशन दिएको थियो । बोर्डको सो निर्देशनपछि रिलायबल र ग्लोबल आईएमईबीचको सम्झौता कार्यान्वन हुन सकेको थिएन ।रिलायवलसँगको सम्झौतापछि ग्लोबल आईएमई बैंकले प्यासिफिक डेभलपमेन्ट बैंकसँग एक्वायर गर्ने सहमति गरेकोमा सबै प्रक्रिया पुरा गरी फागुन १ गते आइतबारदेखि एकिकृत कारोबार गरिसकेको छ । रिलायबलको चुक्ता पुँजी ८१ करोड रुपैयाँ रहेको छ । नेप्सेमा सूचिकृत पब्लिक कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय साधारणसभाबाट गरेर त्यसलाई अर्को साधारणसभाले उल्ट्याउन लागिएको यो पहिलो घट्ना हो ।
नयाँ माध्यमिक परीक्षा एसइईको तयारी पूरा, परीक्षा बिहीबार बिहान ८ बजेदेखि
भक्तपुर। देशभर बिहीबार बिहान ८ बजेदेखि एकैसाथ शुरु हुने एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यमिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । परीक्षामा देशभरबाट दुईलाख ५९ हजार सातसय ३२ छात्र र दुईलाख ७८ हजार चारसय ५० छात्रा गरी कुल पाँचलाख ३८ हजार एकसय ८२ परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षाका लागि देशभर कुल एकहजार नौसय २३ केन्द्र निर्धारण गरिएको छ । त्यसैगरी, एकहजार नौसय २३ केन्द्राध्यक्ष, दुईहजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष, २२ हजार चारसय ६१ निरीक्षक, सहयोगी र सुरक्षाकर्मीसहित ६७ हजार पाँचसय ९१ जनशक्ति खटाइएको नियन्त्रक रेग्मीले जानकारी दिए । परीक्षा नियन्त्रक रेग्मीका अनुसार चैत ३ गते अनिवार्य अङ्ग्रेजी, ४ गते अनिवार्य नेपाली, ६ गते अनिवार्य गणित, ७ गते अनिवार्य विज्ञान, ८ गते सामाजिक शिक्षा, ९ गते स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण, १० गते ऐच्छिक प्रथम र ११ गते ऐच्छिक द्वितीय विषयको परीक्षा सञ्चालन हुनेछ । परीक्षा साधारणतर्फ चैत ११ गते र प्राविधिकतर्फ चैत १४ गते सम्पन्न हुनेछ । विगतका वर्षमा एसएलसी परीक्षाका रुपमा लिइँदै आएको यो परीक्षा नयाँ शिक्षा ऐनमा विद्यालय तहको अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ मा सञ्चालन गर्ने उल्लेख गरे पनि तयारी नपुगेको भन्दै यस वर्ष अन्तिम पटकका लागि परीक्षा नियन्त्रण कार्यालयलाई परीक्षा सञ्चालन गर्न दिएको हो । परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र, उत्तर पुस्तिका र अन्य सामग्री सबै जिल्ला जिल्लामा पुर्याई सकिएको जानकारी दिँदै परीक्षा नियन्त्रक रेग्मीले परीक्षाका लागि प्रत्येक केन्द्रमा १५ जनाका दरले सुरक्षाकर्मी परिचालन गरिने बताए । उनले परीक्षालाई व्यवस्थित, मर्यादित र अनुशासित बनाउन सहयोग गर्न पनि सबैसँग आग्रह गरेका छन् । परीक्षालाई मर्यादित बनाउन तीन तहका सुरक्षा निकाय तैनाथ हुने भएका छन् । परीक्षा अनुगमनका निम्ति मन्त्रालयले सहसचिवको नेतृत्वमा १८ वटा अनुगमन टोली खटाएको छ । त्यसैगरी, क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्लामा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समन्वय समितिको संयुक्त अनुगमन टोली पनि खटिनेछन् । परीक्षामा अमर्यादित काम गर्ने एवम् गराउनेलाई कडा कारबाही गरिने जनाइएको छ ।
ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंक मर्ज हुने, पूँजी २ अर्ब रुपैयाँ नाघ्ने
काठमाडौं । ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंक एक आपसमा मर्ज हुने भएका छन् । मंगलबार सम्पन्न ओमको बिशेष साधारणसभाले कम्पनीको उक्त मर्जरमा जाने प्रस्तावलाई पारित गरेको हो । साथै, सभाले यी दुई कम्पनी मर्जपछि १० बराबर ३ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ । बैैकले हकप्रद सेयर र चालु आ.ब.को मुनाफाबाट बोनस सेयर जारी गरि बैंकको चुक्ता पूँजी २ अर्ब ५४ करोड रुपैयाँ पुर्याउने भएको छ । पौष मसान्तको वित्तीय विवरण अनुसार बैंकको कुल निक्षेप १५ अर्ब २४ करोड रुपैयाँ र कर्जा १३ अर्ब २७ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ । मनास्लु विकास बैंकले पनि चैत्र १ गते नै मर्जरको स्विकृतीको लागि बिशेष साधारण सभा सम्पन्न गरेको छ ।
नेप्से परिसूचक ९ अंकले उक्लियो, सबै समूहका परिसूचक हरिया
काठमाडौं । बुधबार नेप्से परिसूचक ९ दशमलब ४ अंकले उकालो लागेर १३५६ दशमलब १३ अंकमा पुगेको छ । बजारमा ३६ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १२६ कम्पनीको ८ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा कारोबार भएका सबै समूहका परिसूचकमा हरियाली छाएको छ । सबैभन्दा बढी हाइड्रो समूहको परिसूचक ६२ अंकले उकालो लागेको छ । त्यस्तै, बीमा, होटल, बैंक र विकास बैंक समूहका परिसूचक क्रमशः ३७, १४, ७ र ०.८८ अंकले उकालो लागेका छन् । कारोबार रकमका आधारमा सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंक लि. प्रमोटर सेयरको करिब ६ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । मंगलबारको तुलनामा सो बैंकको कारोबार रकम करिब १५ करोड रुपैयाँ घटेको छ । बुधबार बैंकको सेयर मूल्य प्रतिकित्ता ५७७ रुपैयाँ रहेको छ ।
कुमारी बैंकले चैत ९ गते साधारणसभा बोलायो, के के छन् विशेष प्रस्ताव ?
काठमाडौं । कुमारी बैंकले आगामी चैत ९ गते कम्पनीको १६औँ वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभामा बैंकले आफ्ना सेयरधनीलाई चुक्ता पूँजीको २१ प्रतिशत(अर्थात ५६ करोड ६८ लाख रुपैयाँ) बोनस दिने विशेष प्रस्ताव लैजाँदै छ । साथै, कुमारी बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, पश्चिमाञ्चल फाईनान्स, महाकालि विकास बैंक र काँक्रेविहार विकास बैंकलाई प्राप्ति(एक्विजिशन) गर्ने कार्यलाई अन्तिम स्वीकृति दिने भएको छ । त्यस्तै, सभामा यी ४ वटा बैंक प्राप्ति पश्चात कायम हुने पूँजीमा थप एक अर्ब १९ करोड ३८ लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्ने विषयमा छलफल गर्ने कम्पनीले जनाएको छ ।
स्थानीय चुनावमा भित्ते लेखन र पोष्टर टास्ने उम्मेदवारलाई २५ हजार जरिवाना
काठमाडौं । आगामी बैशाख ३१ गते हुने भनिएको स्थानिय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका भित्रका उम्मेदवारहरुले भित्ते लेखन र पोष्टर टास्न नपाउने भएका छन् । उम्मेदवारहरुले भित्ते लेखन र पोष्टर टाँसेको फेला परेमा २५ हजार रुपैंयाँ जरिवाना समेत तिर्नु पर्नेछ । त्यति मात्रै होइन उनीहरुलाई अदालतको मानहानी गरेको आरोपमा मुद्धा लाग्ने सम्भावना समेत रहेको छ । सर्वाेच्च अदालतले बि.स २०७२ साल भदौ १६ गते जारी गरेको परमादेश अनुसार काठमाडौं महानगरपालिकाले स्थानिय तह निर्वाचनका उम्मेदवारहरुलाई पोष्टर र पम्प्लेट टाँस्न नदिने अठोट गरेको हो ।‘सम्मानित अदालतको परमादेश अनुसार काठमाडौं महानगरपालिका भित्र कुनै पनि उम्मेदवारलाई पोष्टर तथा पम्प्लेट टाँस्न र भित्ते लेखन गर्न दिईनेछैन’, काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले विकासन्युजसँग भने । कुनै उम्मेदवारले त्यसरी पोष्टर, पम्प्लेट टाँस्ने तथा भित्ते लेखन गरेमा २५ हजारसम्म जरिवाना गर्ने पनि उनले जानकारी दिए । ‘फोहर मैला व्यवस्थापन ऐन २०६८ अनुसार पोष्टर, पम्प्लेट र भित्ते लेखन गर्नेहरुलाई एक रुपैंयाँ देखि २५ हजार रुपैंयाँसम्म जरिवाना गरिनेछ’, कार्कीले भने । तत्कालिन प्रधानन्याधिस कल्याण श्रेष्ठ र न्यायधिस ओम प्रकाश मिश्रको संयुक्त इजलासले २०७२ भदौ १६ गते महानगरपालिका भित्र पोष्टर, पम्प्लेट टाँस्न ताथ परमादेश दिएको थियो । अधिवक्ता पदम बहादुर बस्नेतले दायर गरेको मुद्धाको अन्तिम सुनुवाई गर्दै सर्वोच्चले पहिले नै टाँसिएका पोष्टर, पम्प्लेट हटाउन तथा भित्ते लेखन मेट्न समेत भनेको थियो । महानगरपालिकाले केहि दिन अघि मात्रै पोष्टर, पम्प्लेट तथा भित्तेलेखनको स्थलगत अनुगमन गरेको थियो । सो क्रममा चावहिल चुच्चेपाटीबाट २ जनालाई पोष्टर टाँस्दै गरेको अवस्थामा पक्राउ गरि २०÷२० हजार जरिवाना गरेर छाडिएको प्रवक्ता कार्कीले जानकारी दिए । अदालतले महानगरभित्र टाँसिएका पोष्टर, ब्यानर, पर्चा, पम्प्लेट, होर्डिङ बोर्ड हटाउन पनि भनेको छ । स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक अधिकार हनन भएको भन्दै सर्वाेच्चले जनताको मौलिक अधिकारको रक्षाका लागि सचेत हुन पनि परमादेशमा भनेको छ ।
बजाजले ल्यायो नयाँ वर्षे योजना, बजाजका बाइक खरिदमा विशेष छुट
काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंसराज हुलासचन्द एण्ड को.प्रा.लि.ले नयाँवर्ष २०७४ को योजना ‘सुन्दर रमणीय नेपाल’ सार्वजनिक गरेको छ । कम्पनीले ‘घुमौं बजाजसँग तराई, पहाड र हिमाल’ नारासहित नयाँ योजना शुरु गरेको हो । नेपाल भौगोलिक विविधता तथा संस्कृति र परम्पराहरुको धनी मुलुक हो । यो सुन्दर रमणीय नेपाल अभियानले नागरिकहरुवीचमा यसको भावनालाई प्रबद्र्धन गर्नुका साथै एकआपसमा जोड्ने लक्ष्य लिएको छ । शक्तिशाली बडी भएकोले बजाज मोटरसाइकल कुनै पनि भौगोलिक बिबिधताका स्थानहरुमा भ्रमणका लागि सबै भन्दा उपयुक्त मोटरसाइकल बनेको छ । त्यसैले गर्दा विभिन्न रोमान्चक स्थानहरुको यात्रा गर्न र परम्पराहरुका साथै ऐतिहासिक महत्वको जानकारी लिनका लागि सबैलाई अभिप्रेरित गर्नेछ । यो अभियानका विशेषताहरुमा ‘रु.७४०० स्योर सट अफर’ स्कीमअन्तर्गत कुनैपनि बजाजका बाइकहरु खरिदमा हरेकले तत्काल ७४०० रुपैयाँ नगद छुट पाउनेछन् । त्यसपछि खरिदकर्ताहरु स्वतः लक्कि ड्रमा समावेश हुनेछन्, जसमार्फत् एक व्यक्तिले मनपर्ने नेपालका विभिन्न स्थानहरुको भ्रमण गर्नका लागि ७४ हजार रुपैयाँ भ्रमण खर्च स्वरुप जित्न सक्नेछन् । हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका कार्यकारी निर्देशक, शेखर गोल्छाले भने, यो अभियानले मानिसहरुलाई नेपालको सुन्दर र मनोरम विविध भूगोलसँग एकआपसमा जोड्नका लागि प्रबद्र्धन गर्नेछ । हामी निश्चिन्त छौं की सुन्दर रमणीय नेपाल स्कीमले समस्त नेपालीहरुलाई नेपालको प्राकृतिक सौन्दर्यका बारेमा थाहा पाउन र अनुभव हासिल गर्न सहयोग पुग्नेछ । हामी सँधै हाम्रा महत्वपूर्ण ग्राहकहरुका लागि रोमाञ्चक र सजिलो स्कीमहरु ल्याउन प्रतिबद्ध छौं र नयाँवर्ष यसको लागि सबैभन्दा उपयुक्त समय हो । यसअघिका धेरै स्कीमहरु जस्तै यो नयाँ स्कीम पनि निकै लोकप्रिय हुने अपेक्षा गरेका छौं ।
उपत्यकाका दुई हजार ट्याक्सीमा प्रिन्टर मेसिन जडान, साउनसम्म सबैमा गरिसक्ने
काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले उपत्यकाभित्रका ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर मेसिन) जडान गर्ने कामलाई तीव्रता दिएको छ । विभागले ट्याक्सीबाट निरन्तर उपभोक्ता ठगिएको गुनासो आएपछि यही पुस १७ गतेदेखि प्रिन्टिङ मेसिन जडान गर्ने कार्य शुरु गरेको हो । विभागले हालसम्म काठमाडौं उपत्यकाका दुई हजार ट्याक्सीमा प्रिन्टर मेसिन जडान गरिसकेको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए । उनले भने, “पछिल्लो एक हप्तामा तीव्रगतिमा काम भइरहेको छ, दैनिक एक सय ५० भन्दा बढी ट्याक्सीमा प्रिन्टर जडान गरेका छौँ ।” ट्याक्सी सञ्चालकले प्रिन्टर मेसिन जडान गर्दा पाँचदेखि आठ हजारसम्म खर्च लाग्ने गरेको छ । यस्तै विभागले आम ट्याक्सी चालकलाई आफ्नो ट्याक्सीमा प्रिन्टर जडान गर्न तथा सेवाग्राहीलाई बिल लिएर मात्र यात्रा गर्न जनचेतना मूलक कार्यक्रम समेत चलाएको छ । समयमा ट्याक्सीमा प्रिन्टर मेसिन जडान नगर्ने ट्याक्सी चालकलाई ट्याक्सी चलाउन रोक लगाउने समेत पुडासैनीले बताए । हाल काठमाडौं उपत्यकाभित्र दश हजारको हाराहारीमा ट्याक्सी रहेका छन् । महानिर्देशक पुडासैनीले विस २०७४ साउनसम्म उपत्यकाका सबै ट्याक्सीमा प्रिन्टर मेसिन जडान गरिसकिने गरी विभागले काम गरिरहेको स्पष्ट पारेका छन् । रासस