विकासन्युज

थपिए तीन क्लियरिङ बैंक

काठमाडौं । सिडिएस एन्ड क्लियरिङले तीन वटा नयाँ क्लियरिङ बैंक थपेको छ । नेपाल स्टक एक्सचेन्जको संचालक समितिबाट स्वीकृत मापदण्ड र मुल्यांकन तालिका अनुसार सिडिएसले नेपाल इन्भेस्टमेन्ट बैंक, सिद्धार्थ बैंक र प्रभु बैंकलाई क्लियरिङ बैंकका रुपमा छनौट गरिएका सिडिएसका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले विकासन्युजलाई जानकारी दिए । थपिएका क्लियरिङ बैंकहरुले चाँडै राफसाफको काम अघि बढाउने पनि उनले बताए । थप तीन वटा क्लियरिङ्ग बैंक नियुक्त गर्न सिडिएस एन्ड क्लियरिङ लिमिटेडले सूचना प्रकाशित गरी आशयपत्र माग गरेको थियो । सानिमा बैंक, बैंक अफ काठमान्डु, नबिल बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, प्रभु बैंक, एनआइसी एसिया बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, सिद्धार्थ बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, सनराइज बैंक, एभरेस्ट बैंक र एनबी बैकलेआशयपत्र पेश गरेका थिए । आवेदन दिएका बैंकहरुमध्येबाट तीन वटा बैंक छनौट भएका हुन् । अब क्लियरिङ बैंकको संख्या चार वटा पुगेको छ । यसअघि ग्लोबल आइएमई बैंकले मात्रै क्लियरिङ बैंकको काम गर्दै आएको थियो । शाखा सञ्चाल, प्रबिधी, धेरै चुक्ता पुँजी, आश्वा प्रणालीको सदस्यता, डिपी लाईसेन्स प्राप्त गरेको, सरकारी कारोबार गरेको लगायतका मापदण्डका आधारमा तीन वटा बैंकले क्लियरिङ बैंकको सेवा सञ्चालन गर्न पाएका हुन् ।

केयुकेलको अध्यक्षमा घनश्याम भट्टराई

काठमाडौं। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेल) का अध्यक्षमा खानेपानी तथा सरसफाइ मन्त्रालयका सहसचिव एवम् लिमिटेड सञ्चालक समितिका सदस्य घनश्याम भट्टराई नियुक्त भएका छन् । समितिको बिहीबार बसेको बैठकले सर्वसम्मतरुपमा भट्टराईलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सो मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले जानकारी दिए । लिमिटेडका अध्यक्ष सुरेशकुमार बस्नेतले पदबाट दिएको राजीनामा समितिको बोर्डले स्वीकृत गर्दै रिक्त पदमा सहसचिव भट्टराईलाई नियुक्त गरिएको हो । रासस

एनबिआइले शुरु गर्यो दीक्षान्त समारोह, बैंकका कर्मचारीको क्षमता बृद्धि गर्ने

काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबिआइ) ले नेपालमै पहिलो पेशागत बैंकिङ्ग सर्टिफिकेसन कोर्स सम्बन्धि दीक्षान्त समारोह आयोजना गरेको छ । समारोहको उद्धघाटन तथा उत्र्तिण परिक्षार्थीलाई राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवि नेपालले प्रमाण पत्र वितरण गरेका थिए । कोर्षअन्तर्गत प्रिन्सिपल अफ बैंकिङ, एकाउन्टिङ एण्ड फाइनान्स फर बैंकर्स एण्ड लिगल एण्ड रेगुलेटरीजस्ता पुस्तकहरु पेशागत बैंकिङ कर्मचारीलाई अध्ययन गराइने कम्पनीले जनाएको छ । एनबिआइले बर्षको दुई पटक यस्तो कोर्षको परीक्षा लिने ब्यवस्था गरेको छ । करिव एक हजारभन्दा बढि कर्मचारीले परीक्षाका लागि नाम दर्ता गराएका कम्पनीले बताएको छ । एनबिआइका प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले बैंकले आफ्ना कर्मचारीको क्षमता अभिबृद्धि गर्नका लागि कोर्षको निक्कै महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

राधी विद्युत कम्पनीले आयोजना प्रभावितका लागि चार लाख कित्ता आइपीओ निष्कासन गर्ने

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले लमजुङका आयोजना प्रभावितका लागि ४ लाख कित्ता १० हजार कित्ता साधारण सेयर(आइपीओ) निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीको निवेदन अनुसार बिहीबार नेपाल धितोपत्र बोर्डले सो मात्राको सेयर निष्कासन गर्न कम्पनीलाई अनुमति दिएको हो । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको ४ करोड दश लाख रुपैयाँ बराबरको सेयर आयोजना प्रभावित लमजुङ बासीहरुलाई बिक्री गर्नेछ । त्यसपश्चात कम्पनीले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने बताएको छ ।

नेपाल बंगलादेश बैंकको चैत १७ गते बुक क्लोज, ८० प्रतिशत हकप्रद निष्कासन गर्ने

काठमाडौं । नेपाल बंगलादेश बैंकको चैत १७ गते बुक क्लोज हुने भएको छ । सो दिन बैंकले आफ्ना सेयरधनीहरुलाई ८० प्रतिशत (अर्थात १० बराबर ८ को अनुपातमा) हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । उक्त निणर्य बैंकको सञ्चालक समितिको बैठकले गरेको हो । बैंकले अंकित मूल्य १०० रुपैयाँ बराबरको ३ करोड २० लाख ९४ हजार कित्ता हकप्रद निष्कासन गर्ने भएको छ । हाल बैंकको बिक्री प्रवन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्दै आएको बैंकले जनाएको छ । हाल बैंकको चुक्ता पूँजी ४ अर्ब १ करोड रुपैयाँ रहेको छ । बोनस बाहेक सो मात्राको हकप्रद पश्चात बैंकको पूँजी करिब ७ अर्ब २२ करोड रुपैयाँ नाग्ने छ । पछिल्लो समय बैंकको सेयर मूल्य प्रतिकित्ता ६५१ रुपैयाँ रहेको छ ।

कृषि कर्जाको सीमा पाँच गुणा वृद्धि गरी ५ करोड पुर्याइयो, व्याजमा ५० प्रतिशत अनुदान दिने निर्णय

काठमाडौं । सरकारले कृषि कर्जामा ५० प्रतिशत व्याज अनुदान दिने निर्णय गरेको छ र साथै कृषि कर्जाको सीमा ५ गुणा वृद्धि गरी ५ करोड रुपैयाँ बनाएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिको बैठकले सो निर्णय गरेको हो । सरकारले देशभरी कृषि व्यवसाय विस्तार गरी कृषि उत्पादनमा आत्मनिर्भर बन्न यस्तो व्यवस्था गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता दामोदर रेग्मीले  बताए । ‘यसले देशभरि कृषि उत्पादन बढ्ने, यसभित्रै रोजगारी सिर्जना तथा अन्नत देश आत्मनिर्भर बन्ने लक्ष्य राखेको छ,’ उनले भने । अघिल्लो सरकारले यस वर्षको बजेटमार्फत एक करोडसम्मको कर्जालाई यस्तो सेवा दिने व्यवस्था गरेको थियो । वर्तमान सरकारले अनुदान पाउने कर्जाको सीमा पाँच गुण बढाए ५ करोड रुपैयाँ पु¥याउने निर्णय गरेको छ । यस्तो सहुलियतपूर्ण ऋण महानगर तथा नगरपालिका वाहिरका तहहरूले मात्र पाउने छन् । कुनै फर्मलाई ५ करोडभन्दा बढी ऋण दिनु परेमा भने बैंकहरूले राष्ट्र बैंकको प्रतिनिधि सम्मिलित बैठकले पारित गर्नु पर्ने छ । सरकारले गरेको निर्णय अनुसार कृषि कार्य गर्ने किसान तथा जुनसुकै फर्म तथा कम्पनीले लिएको ऋणमा ५ प्रतिशत ब्याज सम्बन्धित बैंकलाई सरकारले उपलब्ध गराउने छ । यसका लागि सरकारले १० करोड रुपैयाँ तत्कालै राष्ट्र बैंकको कोषमा राखिदिने भएको छ । सरकारले व्यवसायी कृषि तथा पशुपालन कर्जा दिएका बैंकहरूलाई राष्ट्र बैंक मार्फत ५ प्रतिशत ब्याज उपलब्ध गराउने छ । बाँकी ब्याज भने व्यवसायी वा किसान आफैले तिर्नुपर्ने हुन्छ । सरकारले कृषि क्षेत्रको लागि १० प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने र हरेक बैंकले आफ्नो लगानीको १५ प्रतिशत कृषि र ऊर्जा क्षेत्रमा लगाउनु पर्ने व्यवस्था गरेको छ ।

‘एचआरमीट २०१७’ चैत १६ गतेदेखि शुरु, २५० कम्पनी सहभागी हुने

काठमाडौं । ग्रोथ सेलर्सले एचआरमीटको दशौं संस्करण ‘एचआरमीट २०१७’ आगामी चैत्र १६ गतेदेखि शुरु गर्ने भएको छ । कम्पनीले उक्त कार्यक्रम काठमाडौंको साल्टी होटलमा आयोजना गर्ने भएको छ । ‘एच आर फर अल, अल फर एच आर’ भन्ने नाराका साथ आयोजना गरिने आयोजकले बताएका छन् । चैत १७ गतेसम्म हुने उक्त कार्यक्रममा विभिन्न (निजि क्षेत्र, सरकारी, अर्ध सरकारी ,गैर सरकारी संघ संस्था लगायत अन्य विभिन्न संघ संस्था बाट) २५० भन्दा भन्दा बढीको सहभागीता रहने कम्पनीका अध्यक्ष मोहन ओझाले जानकारी गराएका छन् । साथै उनले हाल सम्म ५० प्रतिशतले कार्यक्रममा आउने प्रतिवद्धता दिएका छन् । यस कार्यक्रमका प्रमुख वक्ताहरुमा भारतबाट टिभीआरएलएसका प्रमुह कार्यकारी अधिकृत प्राडा टिभि राव तथा प्राडा आइएसएफ राज रहेका छन् । दुई दिने सो कार्यक्रममा यस वर्ष स्वदेशी तथा विदेशी विज्ञहरुले मानव संसाधन सम्बन्धी प्रस्तुती पेश गर्नेछन् । साथै नेपालमा कार्यकारी निर्देशक तथा मानव संसाधन विज्ञ बीचको सम्वन्धलगायतका विषयमा छलफल हुनेछ । अहिलेको अवस्थामा पनि कर्पोरेट हाउसले मानवसंधनको क्षेत्रमा गरिने खर्चलाई लगानीको रुपमा नलिनु दुखको विषय भएको बताए । कार्यक्रमलाई निम्बल इन्फोसिसले टाइटल स्पोन्सर गरेको छ भने डिएभी कलेज अफ म्यानेजमन्ट एशोसिएट्स पार्टनरको रुपमा रहेको छ ।

६८ परिवार दोलखालीले घर बनाउन पाए तीनै लाख, यी हुन ती भाग्यमानीहरु

काठमाडौं । भूकम्पबाट अति प्रभावित मध्येको दोलखा जिल्लामा सरकारी मापदण्ड र प्रक्रिया पुरा गरि भूकम्प प्रतिरोधी घर पुनर्निर्माण गरिरहेका ६७ घरधुरीले तेस्रो किस्ताको आवास अनुदान रकम समेत प्राप्त गरेका छन् । भूकम्प अति प्रभावित १४ जिल्लामा कतिपय घरधुरीले पहिलो किस्ताको अनुदान रकम बुझेर पनि घरको पुनर्निर्माण शुरु नगरेको गुनासो आइरहेका बेला दोखलामा भने पुनर्निर्माण प्रक्रियाले तिव्रता पाएको हो । जिल्लामा दोस्रो किस्ता लिएका २ सय ५८ घरधुरी मध्ये सरकारी मापदण्ड र प्रक्रिया पुरा गरेर घर बनाइरहेका ६७ घरधुरीलाई तेस्रो किस्ता वापतको एक लाख रुपैया समेत बितरण गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । तेस्रो किस्ता लिएर घर बनाउनेहरुमा जिल्लाका क्षेत्रपा, जुनगु, काभ्रे र नाम्दु गाविसका बासिन्दा छन् । तेस्रो किस्ताको थप एक लाख रुपैया लिएका उनीहरुले घरको पुनर्निर्माणको प्रक्रियालाई अन्तिम चरणमा पु¥याएका छन् । सरकारले भूकम्प प्रभावित जिल्लामा पहिलो किस्ता ५० हजार रुपैया लिएर घरको जग हाल्नेलाई दोस्रो किस्ता एक लाख ५० हजार र तेस्रो किस्ता वापत एक लाख रुपैया आवास निर्माणका लागी अनुदान दिइरहेको छ । प्राधिकरणले पहिलो किस्ता लिएर घरको जग हालिसकेका परिवारलाई प्राविधिक निरीक्षण गराई दोस्रो किस्ताको अनुदान लिन आह्वान गरिसकेको छ । प्राधिकरणले दोस्रो किस्ता वापतको रकम जिल्ला पठाइसके पनि लाभग्राहीहरुले उक्त रकम लिन आवश्यक प्रक्रिया पुरा गरेका छैनन ।