विकासन्युज

केरुङमा रोकिए पाँच सय कन्टेनर, साढे दुई महिनादेखि समान रोकिएका कारण कुहिने चिन्ता

काठमाडौं । चीनबाट काठमाडौंको लागि सामान लिएर आएका करिब पाँच सय कन्टेनर साढे दुई महिनादेखि रसुवागढी नाका नजिकै केरुङमा रोकिएको खबर छ । चीनको ग्वान्जाउबाट अर्बौं मूल्यका सामान लिएर आएका कन्टेनर रोकिएपछि व्यापारी मर्कामा परेका छन् । लामो समय कन्टेनर रोकिँदा लाखौंका सामान कुहिएर नष्ट भएको सम्बद्ध व्यवसायीले बताएका छन् । भन्सार कर्मचारी र एजेन्टको बदमासीले करिब पाँच सय कन्टेनर रोकिएको बौद्ध व्यापार संघका पूर्वअध्यक्ष दुर्गानाथ दाहालले बताए । काठमाडौंका व्यापारीले चीनबाट सामान किनेपछि भन्सार पास र ढुवानीको जिम्मा एजेन्टलाई दिन्छन् । व्यापारीसँग कम मूल्यमा काठमाडौंसम्म सामान ल्याउने सम्झौता गरेका एजेन्टले अहिले भन्सारमा निर्धारित मूल्य तिर्नुपर्ने भएपछि सामान ढुवानी नगरेका हुन् । नागरिक दैनिकबाट ।

३६५ भूकम्प प्रभावितहरूको घर निर्माण गर्न रेडक्रस सोसाइटीद्धारा ५ करोड ८३ लाख वितरण

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले भूकम्प प्रभावित ३८९ घरधुरीलाई दोस्रो किस्तावापतको रकम वितरण गरेको छ । ती प्रत्येक घरधुरीले १ लाख ५० हजारका दरले रकम पाएका हुन् । साथै रेडक्रसले भूकम्प पुनर्निर्माणको लक्ष्य प्राप्तिका लागि ६ हजार भन्दा बढी परिवारलाई प्राविधिक तथा वित्तीय सहयोग पु¥याइरहेको जनाएको छ । नुवाकोट काउले गाउँका मैनसिंह तामाङ्ग सामाजिक परिचालकसँग छलफल गर्दै यस वर्षको जनवरीमा नेपाल सरकारको दोस्रो किस्ता वितरण निर्देशिका आएपछि नेपाल रेडक्रसबाट सहयोग उपलव्ध भएका ती ३८९ सबै घरहरूले दोस्रो किस्ताका लागि सरकारको प्राविधिक जाँचपास गरेका हुन् । यस्तै, रामेछाप जिल्लाबाट नेपाल रेडक्रसले तेस्रो किस्ताको वितरण पनि सुरु गरिसकेको छ । सरकारको नीतिअनुरुप हुने गरी नेपाल रेडक्रस सोसाइटीले भूकम्पप्रभावित परिवारलाई पूर्ण प्राविधिक तथा ३ लाख रुपैंयाका दरले वित्तीय सहयोग प्रदान गरिरहेको छ । नेपाल रेडक्रस सोसाइटीले सुरक्षित र भूकम्पप्रतिरोधी घर निर्माणका लागि पहिलो किस्ता वापत अहिलेसम्म ६ हजार ३ सय ५० बढी घरधुरीलाई ५० हजारका दरले ३१ करोड ८ लाख रुपैंया वितरण गरिसकेको छ । “घर बनाउने दोस्रो किस्ताको रकम लिन मलाई कुनै अप्ठ्यारो भएन ।” रसुवा ठूलो गाउँका पूर्णबहादुर गुरूङले भने । भर्खरै नेपाल सरकारका इञ्जिनियरहरूले उनको घरको प्राविधिक जाँच गरे र पास भए पश्चात दोस्रो किस्ता लिएका हुन् । नेपाल रेडक्रसले भूकम्प प्रभावितहरूलाई भवन निर्माणका लागि नक्सा र आवश्यक प्राविधिक सल्लाह उपलव्ध गराउन आर्किटेक्ट र इञ्जिनियरको समूह नै त्यस क्षेत्रमा राखेर सहयोग पु¥याएको हुँदा पूर्ण र उनका छिमेकीलाई प्राविधिक शर्तहरू पूरा गर्न मद्दत पुगेको उनले बताए । नुवाकोट काउले गाउँका मैनसिंह तामाङ्गले नेपाल रेडक्रसले उपलव्ध गराएको कालिगढ तालिम लिएकी छिन् । नेपाल रेडक्रस सोसाइटीले भूकम्प पुनर्निर्माण कार्यक्रमअन्तर्गत तालिम प्रदान गरेका ४ हजार २ सयभन्दा बढी कालिगढ मध्ये मैनसिंह पनि एक हुन् । उनले  आफ्नो घर पनि बनाउँदै छिन् भने अरु धेरैलाई घर निर्माण गराउन पनि सहयोग गरिरहेकी छिन् । “जब मैले एकहप्ते डकर्मी तालिमलिएँ, त्यसपछि मेरो कामगर्ने तरिका नै फरक भयो ” मैनसिंह भनिन् “पहिले हामी जतिसक्दो चाँडो काम सक्न हतारिन्थ्यौँ र जेजस्तो सामान पाइयो त्यही प्रयोग गर्दथ्यौँ । अहिले काम त ढुङ्गाकै गर्ने हो तर कसरी नभत्कने घर बनाउने हो त्यसतर्फ बढी सोच्छौँ”

प्रभु बैंकको २ करोड ३५ लाख कित्ता हकप्रद सेयर आउँदै, निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईडिसी नियुक्त

काठमाडौं । प्रभु बैंकले हकप्रद सेयर निष्काशन गर्न एन.सि.एम.मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ती गरेको छ । गत पुस ८ गतेको बसेको बैंकको पन्ध्रौं वार्षिक साधारणसभाले १० कित्ता शेयर बराबर ४ कित्ता अर्थात चुक्ता पूंजीको ४० प्रतिशत हुने २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको थियो । सोही अनुसार बैंकले हकप्रद सेयर निष्काशन प्रक्रिया अगाडि बढाएको छ । प्रभु बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेयरचन र एन.सि.एम मर्चेण्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका हकप्रद शेयर निष्काशन गर्ने सम्झौता भएको छ ।

अनलाइन निर्देशिकाप्रति पत्रकार महासङ्घको आपत्ति

काठमाडौं । नेपाल पत्रकार महासङ्घले सरकारले अनलाइन मिडियालाई व्यवस्थित गर्ने नाममा नियन्त्रणमुखी निर्देशिका जारी गरेको भन्दै आपत्ति प्रकट गरेको छ । विगतमा ल्याइएको अनलाइन निर्देशिकाको सर्वत्र विरोध भएपछि त्यसलाई स्थगन गरी सरोकार भएका संस्थाको संलग्नतामा कार्यदल बनाइएको थियो । महासङ्घले आज विज्ञप्तिमार्फत ‘उक्त कार्यदलको सुझावलाई बेवास्ता गर्दै निर्वाचन आचारसंहिता लागू भएका अवस्थामा पुरानै निर्देशिकाको स्रोत र आधारभूमिमा टेकेर नयाँ निर्देशिका जारी गरिएको’ आरोप लगाएको छ । सुशासन ऐनलाई टेकेर ल्याइएको सो निर्देशिकाले भर्खर फस्टाउँदै गरेको अनलाइन माध्यमको भूमिकालाई सङ्कुचित गर्ने र स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने भन्दै महासङ्घले निर्देशिका तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । अनलाइनसम्बन्धी कुनै कानुनी प्रबन्ध गर्नुपर्दा प्रेससम्बन्धी विद्यमान संवैधानिक तथा कानुनी व्यवस्था र अनलाइनमाध्यमको प्राविधिक पक्षलाई मनन गर्न एवम् जनताको सार्वभौम थलो संसद्मार्फत नयाँ कानुन निर्माणको प्रक्रिया अवलम्बन गर्न महासङ्घले आग्रह गरेको छ । रासस

एमाले बनायाे स्थानीय तह निर्वाचनमा उम्मेदवारको मापदण्ड

भक्तपुर । नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको कार्यविधि तथा मापदण्ड तयार पार्दै सिङ्गो पार्टी निर्वाचनमा परिचालन गर्ने निर्णय गरेको छ । बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा आज बसेको पार्टी स्थायी समितिको बैठकले एमालेले निर्वाचन अभियानलाई तीव्रता दिने निर्णय गरेको हो । पार्टीका सचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले आजको बैठकले एमालेले अब सिङ्गो पार्टी पङ्क्ति स्थानीय तहको निर्वाचनमा खटाउने निर्णय गरेको तथा गाउँ तहसम्म निर्वाचन परिचालन कमिटी तत्कालै गठन गरी निर्वाचन अभियानलाई तीव पार्ने निर्णय गरेको जानकारी दिए । बैठकले प्रदेश नं २ मा चैतभर प्रदेशस्तरमा विस्तारित भेला, जिल्लास्तरमा कार्यकर्ता भेला र गाउँ नगरस्तरमा जनसभा आयोजना गर्ने निर्णय पनि गरेको छ । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने कार्यविधि एवम् मापदण्डसमेत तयार पारिएको छ । गाउँपालिका र नगरपालिकाका वडाको उम्मेदवार सम्बन्धित कमिटीको सिफारिसमा जिल्ला कमिटीले गर्ने छ । नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार सम्बन्धमा भने कमिटीको सिफारिसमा प्रदेश कमिटीले गर्ने र उपमहानगरपालिका एवम् महानगरपालिकाको उम्मेदवारको टुङ्गो सम्बन्धित जिल्ला र प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले तय गर्ने गरी कार्यविधि तयार गरिएको उनले बताए । त्यसैगरी एमालेले पार्टीप्रति प्रतिबद्ध, लोकप्रिय, इमान्दार, अनुशासित र कुनै भ्रष्टाचारजन्य गतिविधिमा संलग्न नभएकालाई मात्रै उम्मेदवार बनाउने र उम्मेदवारी समावेशी बनाउने भएको छ । त्यस्तै सरकारले निर्वाचन आचारसंहिता विपरीत सरुवा, बढुवा, बजेट विनियोजन गर्नेजस्ता निर्वाचन आचारसंहिता विपरीत गतिविधि गरेको भन्दै बैठकमा आपत्ति पनि जनाइएको छ । बैठकले निर्वाचन आचारसंहिता पालना गराउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । पार्टीको मेची–महाकाली राष्ट्रिय अभियान सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकाल्दै प्रदेश नं २ मा स्थगित अभियानलाई आगामी वैशाख १ गतेदेखि सुरु गरिने भएको छ । एमालेले पार्टीमा नयाँ प्रवेश गरेकालाई उचित जिम्मेवारी दिने निर्णय पनि गरेको छ । बैठकले निर्वाचनमा भाग लिन सबै राजनीतिक दललाई पुनःआह्वान गरेको छ ।

भूकम्पपीडितलाई घर निर्माण गर्न सहुलियत दरमा काठ उपलब्ध गराउनुपर्ने

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलले भूकम्प प्रभावित जिल्लामा घर निर्माण गर्न सहुलियत दरमा काठ उपलब्ध गराउन वन मन्त्रालयसहित सरोकारवाला निकायलाई आग्रह गरेका छन् । भूकम्प प्रभावित जिल्लामा काठको अभावमा सर्वसाधारणले घर बनाउन नसकेको गुनासो आइरहेका बेला प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले आज वनसचिव प्रकाश माथेमा, वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य र द टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेडका महाप्रबन्धक राजु लौडारीसँग छलफल गर्नुहुँदै प्रमुख कार्यकारी अधिकृत पोखरेलले काठ उपलब्ध गराउन माग गरेका हुन् । बैठकमा भूकम्पपीडितलाई सहुलियतमा दिने भनिएको काठ वितरणको प्रक्रिया सहज बनाएर अति प्रभावित १४ जिल्ला सदरमुकामसम्म ढुवानी गर्ने व्यवस्था मिलाउन पोखरेलले आग्रह गरेका छन् । आवश्यक गृहकार्य गरी सक्दो छिटो भूकम्प प्रभावित जिल्लामा सहुलियत दरमा काठ उपलब्ध गराउन पहल गरिने विभागका महानिर्देशक आचार्यले बताए । रासस

लक्ष्मी बैंकको चैत १८ गते बुक क्लोज, शतप्रतिशत हकप्रद निष्कासन गर्ने

काठमाडौं । लक्ष्मी बैंकको चैत १८ गते बुक क्लोज हुने भएको छ । सो दिन बैंकले आफ्ना सेयरधनीहरुलाई शतप्रतिशत (अर्थात १ बराबर १ को अनुपातमा) हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । उक्त निणर्य बैंकको सञ्चालक समितिको बैठकले गरेको हो । बोर्डको अनुमति अनुसार बैंकले ३ करोड १५ लाख ९० हजार ३०४ कित्ता हकप्रद निष्कासन गर्ने भएको छ । अंकित मूल्य १०० रुपैयाँ बराबरको ३ अर्ब १५ करोड ९० लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न लागेको बैंकले जनाएको छ । हाल बैंकको बिक्री प्रवन्धकको काम सिद्धार्थ क्यापिटलले गर्दै आएको छ । हाल बैंकको चुक्ता पूँजी ३ अर्ब रुपैयाँ बढी रहेको छ । बोनस बाहेक सो मात्राको हकप्रद पश्चात बैंकको पूँजी करिब ६ अर्ब १६ करोड रुपैयाँ नाग्ने छ । बिहीबार बैंकको सेयर मूल्य प्रतिकित्ता ७६४ रुपैयाँ रहेको छ ।

हवाई यात्रामा ल्यापटप, ट्यावलेट, क्यामेरा लगायत इलेक्ट्रोनिक सामाग्री प्रतिबन्द

काठमाडौं । हिजो बेलायतको राजधानी लण्डनमा आतंकबादीहरुले नयाँ तरिकाबाट हमला गरे । घट्नामा कम्तिमा ४ जना मारिए भने २९ जना घाइते भए  । अतिवादीहरुले अक्रमणको नौलो तरिका अपनाएपछि बेलायत सरकारले विमान यात्रुलाई साथमा ल्यापटप, ट्यावलेट, क्यामेरा, डीभीडी प्लेयर तथा इलेक्ट्रोनिक गेम्स राख्न प्रतिबन्द लगाउने तयारी गरेको बीबीसीले जनाएको छ । बेलायतमा मात्र होइन, यदि तपाई मध्यपूर्व तथा उत्तर अफ्रिकाका तोकिएका विमानस्थलबाट अमेरिका जाँदै हुनुहुन्छ भने आइन्दा तपाईले स्मार्ट फोनभन्दा ठूला कुनै पनि इलेक्ट्रोनिक उपकरण आफूसाथ क्याबिनमा लैजान पाउनुहुन्न । यो नियमले १० वटा विमानस्थलका ९ विमान कम्पनीलाई प्रभावित गर्नेछ । ती सबै मुसलमान बहुल देशमा पर्छन । जेट विमान हमला गर्न अतिवादीहरुले नौलो तरिका खोजिरहेको अमेरिकी अधिकारीहरुले बताएका छन् । बमलाई ल्यापटप, ट्यावलेट, क्यामेरा, डीभीडी प्लेयर तथा इलेक्ट्रोनिक गेम्समा लुकाइन सक्ने उनीहरुको विश्वास छ । गत वर्ष बम राखिएका ल्यापटप पड्कँदा एक सोमाली विमानमा ठूलो प्वाल परेको थियो । उक्त विमान त्यतिखेरा भर्खरै मोगादिशुबाट उडेको थियो । विमानमै रहेका स्वीडेनका लागि सोमाली राजदूले घटनाको भिडियो खिचेका थिए । विमान धेरै माथि नउडिसकेको हुनाले पाइलटले सुरक्षित अवतरण गराउन सके । (बीबीसीमा अाधारित)