विकासन्युज

५० हजार घुस लिने कर्मचारी अख्तियारको फन्दामा

भक्तपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार एक सरकारी कर्मचारीलाई पचास हजार रुपैयाँ घुस लिदालिदै पक्राउ गरेको छ । आइतबार भक्तपुरको सुर्यविनायकको गुठी संस्थान, शाखा कार्यालयमा छड्के गएको आयोगको टोलीले सेवाग्राहीसँग घुस लिँदालिँदै गरेको अवस्थामा सहायक प्रशासक तथा सूचना अधिकारी छत्र बहादुर पौडेललाई आयोगले पक्राउ गरेको हो। गुठीको जग्गा नामसारी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग विभिन्न बहानामा घुस लिएको गुठी उजुरी आएपछि आइतबार आयोग छड्के गएको थियो । घुस सहित पक्राउ पौडेलमाथि थप अनुसन्धान चलिरहेको आयोगले जनाएको छ ।  

यामाहाको स्कुटर टेस्ट राइड क्याम्पेन सम्पन्न, लक्ष्मण दानीले जिते यामाहाको आइफोन ७

काठमाडौं । यामाहा मोटरसाइकल र स्कुटरका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा स्कुटर टेस्ट राइड क्याम्पेनको विजेताको नाम घोषणा गरेको छ । टेकुस्थित यामाहा सोरुम डी एन्ड डी अटो लिंकमा टेस्ट राइड गरेका लक्ष्मण दानीले आइफोन ७ जितेका हुन् । एक महिना संचालन भएको टेस्ट राइडमा स्कुटरप्रेमीहरुलाई यामाहा स्कुटरको टेस्ट राइड गर्न आह्वान गरिएको थियो । यसैबीच, एमएडब्लले आफ्नो ‘भ्यालेन्टाइन विक क्याम्पेन’को विजेताको नाम समेत सार्वजनिक गरेको छ । एक साता चलेको यो योजनामा जीवन कुमार मगर र रोमाञ्च डल्लाकोटीले गाइ लरोन्चे ह्यान्ड ब्याग, इश्वर रञ्जन थापाले गिर्गियो अर्मानी पफ्र्युम, सुनिल मानन्धरले बोस ओरेन्ज सनग्लास, लक्ष्मी कार्की र निलोफर प्रविणले टिसोन घडी र निनु माया गुरुङले गुच्ची पर्फुयम जित्न सफल भएका छन् । भाग्यशाली नाम घोषणा गर्दै एमएडब्लु इन्टरप्राइजेजका सह-महाप्रबन्धक दिपकराज गिरीले यामाहाको ‘फेसनेबल्ली प्रिमियम स्कुटर क्याम्पेन’मा ग्राहकहरुको रोमाञ्चक उपस्थिति भएको बताए । ‘यो अभियानमा १२ सयभन्दा बढीले टेस्ट गरेका थिए । उनीहरुको प्रतिक्रियाबाट हाम्रो हौसला बढेको छ,’ उनले भने, ‘विजेताहरुका लागि हामी धेरै खुसी छौं । यो अभियानमा सहभागी हुने र यसलाई सफल बनाउने सबैप्रति हामी आभारी व्यक्त गर्न चाहन्छौं ।’ एमएडब्लु इन्टरप्राइजेजले नेपाली बजारमा फेसिनो, रे जेडआर र रेजी गरी तीन मोडेलका स्कुटर उपलब्ध गराउँदै आएको छ । आफ्ना सेग्मेन्टमा यामाहा स्कुटरलाई प्रिमियम मानिन्छन् । साथै, नेपालमा यामाहा एफजेड-एस एफआई, एफजेड एफआई, आर १५, स्यालुटो, एसजीआरआर र प्राविधिक रुपमा उच्च स्तरीय आर३ उपलब्ध छन् । यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिन जडित छन् । यामाहाको आर १५ र एफजेडमा फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका बाइकहरुमा माइलेज बढी पाइन्छ ।

सिद्धार्थ डेभलपमेण्ट बैंकको ३७औं शाखा कास्कीको लेखनाथमा

काठमाडौं । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडले आफ्नो ३७औं शाखा कास्कीको भण्डारढीक, लेखनाथमा स्थापित गरेको छ । उक्त शाखाको उद्घाटन लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी र बैंक संचालक समितिकाअध्यक्ष रामबहादुर भण्डारीले गरेका छन् । कार्यक्रममा बैंकका अध्यक्ष त्रिपाठीले सो शाखाबाट सम्पूर्ण आधुनिक बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सकिने बताएका छन् । उक्त शाखामा शाखाको शुभारम्भ सहित बैंकले एटीएम सेवा पनि संचालनमा ल्याएको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले बैंकले आगामी दिनमा देशका विभिन्न स्थानमा शाखा कार्यालय विस्तार गर्दै ग्रामिणमुखी र आधुनिक एवं स्तरीय बैंकिङ्ग सेवा प्रदान गरी राष्ट्रिय अर्थतन्त्रको विकासमा टेवा पुर्याउने बताएका छन् । साथै, उनले गुणात्मक बृद्धि तथा वित्तीय पहुँच विस्तार गर्ने बताएका छन् । हाल सम्म बैंकले सबै शाखाकार्यालय मार्फत १ लाख ५० हजार भन्दा बढी सन्तुष्ट ग्राहकलाई विभिन्न आधुनिक बैंकिङ्ग लगायत ई-बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, संचयकोष, स्वेच्छिककोष, उपदानकोष आदि जस्ता बैंकिङ्ग सेवा दिइरहको जनाएको छ ।

सिभिल बैंक ४० प्रतिशत हकप्रद सेयर निष्काशनको गृहकार्यमा, देवः विकास र सिनर्जीसँग स्वाप रेसियो मिलेन

काठमाडौं । सिभिल बैंकले ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने गृहकार्य शुरु गरेको छ । यसअघि बैंक सञ्चालक समितिले २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । स्रोतका अनुसार देबः विकास बैंक र सिनर्जी फाइनान्स प्राप्ति गर्ने सम्बन्धमा भएको आन्तरिक गृहकार्य असफल भएपछि हकप्रद सेयर २० प्रतिशतको सट्टा ४० प्रतिशत निष्काशन गर्ने गृहकार्य शुरु भएको हाे। ‘बैंक व्यवस्थापन समितिले ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न सुझाव दिएको छ । यस सम्बन्धमा आगामी विहीबार बस्ने सञ्चालक समितिकाे बैठकले टुङगो लगाउनेछ’ स्रोतले भन्यो  । ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दा ठूला लगानीकर्तालाई पैसा जुटाउन गाह्रो पर्ने विषय पनि उठेको छ । स्वाप रेसियो नमिलेपछि देबः विकास बैंक र सिनर्जी फाइनान्स प्राप्ति गर्ने प्रयास असफल भएको स्रोतले बतायो । त्यस्तै सिभिल बैंक आफ्नै खराव कर्जा ४.४४ प्रतिशत रहेको र ती संस्था प्राप्तिपछि खराव कर्जा ५ प्रतिशत नाघ्न जोखिम बढेपछि उनीहरु एक्विजिशन प्रक्रियाबाट पछि हटेका हुन् । सिभिल बैंकले हामा मर्चेन्ट एण्ड फाईनान्स र युनिक फाईनान्स लिमिटेड प्राप्ति गर्ने सम्झाैतामा हस्ताक्षार हुँदै यसअघि सिभिल बैंकले हामा मर्चेन्ट एण्ड फाईनान्स र युनिक फाईनान्स लिमिटेड प्राप्ति गर्ने प्रक्रिया अगाडि बढाएको छ । प्राप्तिपछि सिभिल बैंकको चुक्ता पूँजी ५ अर्ब ५ करोड पुग्ने छ । गत आर्थिक वर्षको नाफाबाट बैंकले २.८८ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकको मौद्रिक नीति असार मसान्त भित्र न्यूनतम चुक्ता पूँजी ८ अर्ब रुपैयाँ पुर्याउन ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने गृहकार्य थालेको हो ।

आरबिआईले भन्यो-प्रतिव्यक्ति ४५ सय भन्दा बढि भारु साट्न सक्दैनौं, मार्च ३१ भित्रै पैसा पठाईसक्नु

काठमाडौं । भारतले प्रति व्यक्ति ४५०० सय भन्दा बढि भारतीय रुपैंयाँ साट्न नसकिने स्पष्ट पारेको छ । नेपालीसँग रहेको ५०० र एक हजार दरका भारु सटहीबारे छलफल गर्न नेपाल आएको रिजर्भ बैंक अफ इण्डिया(आरबिआइ)को प्रतिनिधी मण्डलले प्रति व्यक्ति ४५०० भन्दा बढि भारु साट्न नसकिने स्पष्ट पारेको हो । ‘आरबिआइको प्रतिनिधी मण्डलले प्रति व्यक्ति ४५ सयका दरले सटही सुबिधा दिने भनेको छ, हामीले २५ हजार साट्नै पर्छ भनेका छौं, भोली फेरी थप छलफल हुन्छ’, नेपाल राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागका प्रमुख भिष्म ढुंगानाले विकासन्युजसँग भने । यतिबेला नेपालमा रहेको ५०० र एक हजार दरका भारु सटहीबारे छलफल गर्न आरबिआईको कार्यकारी निर्देशक डा. दिपाली पन्त जोशी नेतृत्वको टोली काठमाडौंमा छ । आइतबार जोशी नेतृत्वको टोलीले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तमणी सिवाकोटी र वैदेशिक विनिमय विभाग प्रमुख भिष्म ढुंगाना लगायतको टोलीसँग छलफल गरेको थियो । आरबिआइले यहि मार्च ३१ गते भित्रै बैंकिङ च्यानल मार्फत प्रति व्यक्ति ४५ सयका दरले सटहीका लागि पठाउन आग्रह गरेको थियो ।‘उनीहरुले मार्च ३१ तारिख भित्रै प्रति व्यक्ति ४५ सयका दरले बैंक खाता मार्फत पठाउन भनेका थिए, हामीले मार्च ३१ को समय सिमा पनि कम भएको र २५ हजार नै साट्नुपर्ने अडान लियौं’, ढुंगानाले विकासन्युजसँग भने । जनतासँग रहेको सो दरका भारतीय रुपैंयाँ बैंकिङ च्यानलमा ल्याउन सार्वजनिक सूचना प्रकाशित गर्नुपर्ने भएकाले आरबिआईले दिएको समय कम भएको ढुंगानाले बताए । साथै नेपालीसँग रहेको २५ हजार भारु साट्नै पर्ने पनि उनले बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेम्बर ९ तारिखदेखि लागु हुने गरि ५०० र एक हजार दरका भारुमा प्रतिबन्ध लगाएका थिए । भारतीय नागरिकलाई डिसेम्बर ३१ तारिख भित्र आफुसँग भएका सो दरका नोट बैंकमा बुुझाउने समय दिइएको थियो । नेपाल र भारतका नागरिकले एक अर्काे देशको मुद्रा २५ हजार रुपैंयासम्म बोक्न पाउने सुबिधा पाएका थिए । सोही सुबिधा अनुसार नेपालीसँग रहेको २५ हजार भारु भारतले साट्नुपर्ने अडान नेपालले राख्दै आएको छ ।

बुटवल पावरले ४० लाख कित्ता एफपीओ निष्काशन गर्ने, प्रतिकित्ता मूल्य ४७० रुपैयाँ

काठमाडौं । बुटवल पावर कम्पनी लि.ले ४० लाख ८१ हजार कित्ता थप साधारणा सेयर (फरदर पब्लिक इस्यु(एफपिओ)) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको सेयरमा ३७० प्रिमियम मूल्य थपेर प्रतिकित्ता ४७० रुपैयाँमा एफपिओ निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ८१ करोड रुपैयाँ रहको छ । सो मात्राको एफपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ८१ करोड ४६ लाख ८० हजार रुपैयाँ पुग्ने छ । आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६३० रुपैयाँ रहेको छ ।

राजधानीमा बुधबारदेखि पुष्पमेला सुरु हुने, ७५ लाख रुपैयाँ कारोबार गर्ने लक्ष्य

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा फ्लोरिकल्चर एसोसिएसन नेपालले (फ्यान) नेपाल सरकार कृषि विकास मन्त्रालयको सहयोगमा बुधबारदेखि तेस्रो अन्तराष्ट्रिय (फ्लोरा एक्स्पो २०७३) पुष्प प्रदर्शनी गर्ने भएको छ । मेलामा ६५ हजार मानिसले अवलोकन गर्ने फ्यानको अनुमान छ । त्यस्तै मेलाअवधिभर ७५ लाख रुपैयाँ बराबरको कारोबार लक्ष्य रहेको फ्यानले जानकारी दिएको छ। देशका सम्पूर्ण पूष्प व्यवसायी तथा यससम्बन्धी चासोराख्नेहरुकालागि पुष्प मेला आयोजना गर्न लागिएको फ्यानका अध्यक्ष कुमार कुसजुले बताए । पुष्प व्यवसायमा उपयोग गरिएका विभिन्न नयाँ प्रविधि मेलामा राखिने उनले जानकारी दिए ।  प्रविधी बिस्तारका लागि भारत, बंगलादेश, श्रीलंका, चीन र दक्षिण कोरिया लगायत मुलुकबाट पुष्प व्यवसायीहरु मेलामा सहभागी हुने मेला संयोजक तथा बरिष्ठ उपाध्यक्ष दिलिप बादेले जानकारी दिए । बुधबारदेखि चारदिनसम्म चल्ने प्रदर्शनीमा २८ वटा अन्तराष्ट्रिय स्टलसहितका ९९ वटा स्टल रहने पुष्प व्यवसायीले बताए । यसैगरी अफिसियल स्टलका लागि सातवटा, प्रतियोगितात्मक प्रदर्शनीका लागि तीनवटा, ल्याण्डस्केपिङ्गका लागि चारवटा र व्यवसायीक स्टलका लागि ५७ वटा स्टल रहने फ्यानले जनाएको छ। मेलामा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, कम्पोष्ट मल, फूलको गानो, विउ विजन, ग्रीन हाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रबिधी र विषादीका प्रदर्शनी तथा बिक्री कक्ष रहनेछन् । मेलामा सहभागि भएका बिभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाहरु विच स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न बिधाहरुमा प्रथम हुने पुष्प व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने समेत कार्यक्रम रहेको फ्यानले जनाएको छ । प्रतियोगिता हुने १० विधाहरुमा उत्कृष्ट मौसमी फूल,उत्कृष्ट आलंकारिक बिरुवा,  उत्कृष्ट फूल्ने बिरुवा,  उत्कृष्ट ल्याण्डस्केप, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट स्टल, उत्कृष्ट कट फ्लावर (रोज), उत्कृष्ट कट फ्लावर कार्नेशन,  उत्कृष्ट कट फ्लावर (जरबेरा),  उत्कृष्ट कट फ्लावर (ग्लाडुओलस) रहेका छन्। फ्यानका अनुसार नेपालमा वि.सं. २०११ मा नेपाल प्राइभेट नर्सरीको स्थापना संगै सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय आर्थिक वर्ष २०७२÷७३ सम्म आई पुग्दा हाल ३९ जिल्लामा लगभग ६७८ पुष्प व्यवसाय बिस्तार भईसकेको छ । करिब १४८ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको र ४१,००० भन्दा बढि व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आश्रित र रोजगारी उपलब्ध गराई रहेको यस व्यवसायले आ.व. २०७२/७३ मा सिजनल फूल बिरुवा तर्फ २५.०३ करोड रुपैयाँ, आलंकारिक वोट बिरुवा तर्फ ४६.०६ करोड रुपैयाँ, कट फ्लावर्स तर्फ २४.६९ करोड रुपैयाँ, ल्याण्डस्केप तथा गार्डेनिङ्ग तर्फ रु १९.६८ करोड, खुल्ला फूल तर्फ ८.०९ करोड रुपैयाँ, अन्य (कार्पेट ग्रास, बल्ब, राईजम टयुवर टिष्यूकल्चर आदि) तर्फ ९.६२ करोड रुपैयाँ, र निर्यात तर्फ ३.२५ रुपैयाँ करोड गरि जम्मा १ अर्व ५१.३९ करोड भन्दा बढिको कारोबार भएको छ । आ.व. २०७२/७३ मा ६.०४ करोड रुपैयाँ बराबरको पुष्प तथा पुष्पजन्य बस्तुको आयात भएको फ्यानले जानकारी दिएको ।  

नेपालको घरेलु उद्योग प्रवद्र्धनमा जिम्बावेले सघाउने

काठमाडौं । जिम्बावे सरकारले नेपालको लघु, साना तथा मझौला उद्योगको विकासमा पारस्परिक सहयोग गर्ने अभिरुची देखाएको छ । जिम्बाबेका लघु, साना तथा मझौला उद्योग विकास सम्वन्धि मन्त्री यस जि.जि. नियोनीको नेतृत्वमा नेपालको ५ दिने भ्रमणमा रहेको प्रतिनिधी मण्डल र उद्योग मन्त्रालयका प्रतिनिधी मण्डलबीच भएको छलफलमा जिम्बाबेका तर्पmबाट यस्तो अभिरुची व्यक्त गरिएको हो । छलफलका अवसरमा जिम्बाबेका लघु, साना तथा मझौला उद्योग विकास सम्वन्धि मन्त्री यस जि.जि. नियोनीले खास गरी नेपालका ४ वटा क्षेत्र लघु उद्यमका क्षेत्रमा नेपालले अवलम्वन गरेको रणनीति, लघुु उद्यमलाई पर्यटन सँग जोडेर विकास गर्ने कार्यक्रम लघु उद्यमीको वित्तिय पहँुच विस्तारमा नेपालले अवलम्वन गरेको रणनीति र नेपालको पदयात्रा क्षेत्रमा नेपालले गरेको प्रगतिका वारेमा नेपाल र जिम्बाबेबीच सहयोगको आदान प्रदान गर्न चाहेको बताए । खनिज उत्खननका क्षेत्रमा नेपालको तुलनामा जिम्वावेले धेरै प्रगति हासिल गरिसकेको बताउँदै मन्त्री नियोनीले जिम्बाबेको अनुभवबाट नेपालले धेरै कुरा सिक्न सक्ने भन्दै दक्षिण दक्षिण सहयोगलाई विस्तार गर्न आफुहरु ईच्छुक रहेको बताए । यी बिषयहरुमा पारस्परिक सहयोग आदन प्रदानका लागि जिम्बाबे र नेपाल सरकारबीच सहमति पत्रमा हस्ताक्षर गरेर सहयोगको प्रकृया अगाडी बढाउन चाहेको प्रतिवद्धता व्यक्त गरे । उद्योग मन्त्री नवीन्द्रराज जोशीले खनिज उत्खननका सम्वन्धमा जिम्बाबेको अनुभव नेपालका लागि पनि अनुकरणीय रहने भन्दै लघु, साना तथा मझौला उद्योगको विकासमा सहयोग आदान प्रदान गर्न सकिने बताए । नेपालले लघु साना तथा मझौला उद्योगको विकासलाई उच्च प्राथमिकतामा राखेको भन्दै मन्त्री जोशीले यसले ग्रामिण रोजगारी बृद्धि गर्ने भएकाले गरीवि निवारणमा समेत सघाउ पु¥याउने बताए । जिम्वावेको लघु, साना तथा मझौला उद्योग विकास सम्वन्धि मन्त्रालयका सचिव इभलिन एनड्लोभु लगायत ९ सदस्यीय प्रतिनिधि मण्डल रहेको छ ।