विकासन्युज

विश्वको पहिलो पानीजहाज सुरुङ् मार्ग बन्दै, समुन्द्रको ८० लाख टन चट्टान विष्फोट गरि हटाइने

काठमाडौं । आँधी हुरी आइरहने समुद्री इलाका छल्न चट्टानी प्रयद्विप मुन्तिर सुरुङ मार्ग निर्माण गर्ने योजना नर्बेले अगाडि सारेको छ । स्टाड प्रायद्विप नजिकैको नर्वेली तटमा ठूला छाल र आँधी हुरीहरु आइरहेन्छ । तर पानी जहाजको सुरक्षा र तीनको गति बढाउन त्यहाँ एक महन्वकांक्षी समाधानको उपाय अघि सारिएको छ । त्यहाँको चट्टानी प्रायद्विपको मुन्तिर ‘विश्वको पहिलो पानीजहाज सुरुङ’ खनिने छ । यो सुरुङले उथलपुथल युक्त समुद्री इलाका छलेर दुई फियोडेका शान्त समुद्रलाई जोड्ने छ । पानी जहाजको निम्ति नहर मार्ग पहिले पनि बनाईएका हुन् । तर नर्वे सरकारले भनेको छ यो यस किसिमको पहिलो सुरुङ मार्ग हो । बीबीसीका अनुसार यसको निर्माण गर्न इञ्जिनियरहरुले अनुमानित ८० लाख टन चट्टान विष्फोन गरि हटाउनुपर्छ । उनीहरुले १७०० मिटर लामो उक्त सुरुङ मार्ग निर्माण कार्य सन् २०२३ सम्ममा सम्पन्न गर्ने आशमा छन् ।

गर्जाङ उपत्यका हाइड्रो पावरले ६ लाख कित्ता सेयर निष्काशन गर्दै, विद्युत उत्पादन यहि वैशाखबाटै

काठमाडौं । गर्जाङ उपत्यका हाइड्रो पावरले ६ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । प्रति सेयर एक सयका दरले हाइड्रोपावरले ६ करोडको साधारण सेयर निष्कासन गर्न लागेको हाइड्रोपावरका प्रमोटर तथा सञ्चालक माणिकरत्न शाक्यले बताए । कुल २० करोड पुँजी रहेको उक्त हाइड्रोपावरमा १४ करोड रुपैयाँको प्रमोटर सेयर रहेको छ । पावर कम्पनीले उक्त पूँजीमध्ये ६ करोडको साधारण सेयर यहि बैशाखभित्र निष्कासन गर्न लागेको हो । हाइड्रोपावरले २ लाख कित्ता सेयर स्थानीयलाई दिने छ भने वाँकी चार लाख कित्ता सेयर सर्वसाधारणका लागि यहि वैशाखभित्र निष्कासन गर्ने तयारी गरेको छ । धितोपत्र बोर्ड (सेवोन) बाट सेयर निष्कासनको अनुमति आउने वित्तिकै ४ लाख कित्ता सेयर निष्कासन गर्ने शाक्यले बताए । ‘अहिले हामी सेवोनबाट सेयर  निष्कासनका लागि अनुमति लिने क्रममा रहेका छौ,’ अनुमति पाउने वित्तिकै सेयर निष्कासन हुने छ । रामेछापको चुचुरे गाउँपालिकाको चाके खोलाबाट शुन्य दशमलव ८३ मेगावाट विद्युत उत्पादन गर्न लागिएको शाक्यले बताए ।  उनका अनुसार आयोजना निर्माण कार्य सम्पन्न भइसकेको छ । आयोजनाले यहि वैशाखबाट व्यवसायिक उत्पादन शुरु गर्नेछ । प्रति मेगावाट १७ करोड रुपैयाँको लागतमा उक्त आयोजनाको निर्माण कार्य सम्पन्न भएको हो । आयोजनाले अबको दुई वर्षभित्र क्यासक्याबिङमार्फत अन्य स्थानमा पावर हाउसहरू निर्माण गरेर विद्युत क्षमता अभिबृद्धि गर्ने योजना बनाएको छ ।  उक्त कार्य सम्पन्न भएपछि विद्युत उत्पादन क्षमता बढेर पाँच दशमलव ३ मेगावाट पुग्ने छ । आयोजना आफैले १२ किलो मिटर प्रसारण लाइन निर्माण गरी केन्द्रीय प्रसारण लाइनमा जडान गर्ने कार्य पनि सम्पन्न गरिसकेको छ ।

यति ब्रुअरीको नयाँ “अर्ना लाइट” र “अर्ना स्ट्रङ्ग” बियरहरु नेपाली बजारमा

काठमाडौं । यति ब्रुअरीले नेपाली बियरप्रेमीहरु माझ दुई नयाँ बियरहरु प्रस्तुत गरेको छ । कम्पनीले आइतबार क्लब ट्वेन्टी-फाइभ, टंगालवुडमा आयोजित एक कार्यक्रम मार्फत “अर्ना लाइट” र “अर्ना स्ट्रङ्ग” बियरहरु नेपाली बजारमा सार्वजनिक गरेको हो । कम्पनीका अनुसार यी नयाँ बियररुले नेपाली बियर उपभोक्ताहरुलाई निकै प्रत्येक्षित विकल्प तथा थप आकर्षण प्रदान गर्ने छ । अनावरण सँगै अर्ना लाइट र अर्ना स्ट्रङ्ग देशभरका सबै प्रमुख लिक्वर आउटलेट, होटल, रेस्टुरेन्ट्, स्टोर तथा पब्हरुमा सर्वत्र उपलब्ध हुने कम्पनीले जनाएको छ । अर्ना लाइट नेपालको पहिलो र एकमात्र लो-क्यालोरी अर्थात् कम क्यालोरी भएको बियर हो । जुन “हाइ अन फन, लो अन क्यालोरी” भन्ने मूख्य सन्देश लिई बजारमा आएको छ । यस बियरले “स्वाद” लाई प्राथमिकता दिँदै उपभोक्ताहरुले बियरमा चाहने हरेक गुणलाई प्रस्तुत गर्नुका साथै क्यालोरी र कार्बको मात्रा घटाई आजकलको व्यस्त जीवनशैलीमा उपभोक्ताहरुले अधिक रुचाएको “फिट्नेश” मा पनि ध्यान दिएको छ । नयाँ वर्षको आगमनसँगै प्रस्तुत गरिएकोयस बियरले सबै बियरप्रेमीहरु माझ एक फरक र ताजा विकल्प ल्याई नेपालको बियर बजारको परिदृश्यमा महत्वपूर्ण परिवर्तन ल्याएको छ । स्वादमा कुनैपनि किसिमको असर नपर्ने गरी एक्स्ट्रा क्यालोरी तथा कार्बको मात्रा घटाउनका निम्ति यस बियरलाई २५ प्रतिशत सम्म बढि समयको लागि “ब्रिउ” गरिएको छ । सामान्य माइल्ड बियरको तुलनामा अर्ना लाइटमा क्यालोरी २० प्रतिशत र कार्ब ३४ प्रतिशत कम रहेको छ । कार्यक्रममा बोल्दै कम्पनीका जेनेरल म्यानेजर (सेल्स् तथा मार्केटिङ्ग), अरुण के.सी. ले भने – “अर्ना लाइटको अनावरण हाल उपभोक्ताहरुमा देखिएको एक स्वस्थ जीवनशैलीको चाहना तथा बियरको रोजाईमा आएको परिवर्तनका कारण भएको हो । त्यसैले अर्ना लाइटले बियर बजारमा एक फरक पृष्ठ सुरु गर्न गइरहेको छ जसले उपभोक्तहरुलाई उनिहरुले खोजि रहेको फरक विकल्प तथा बियर क्याटेगोरीमा एक भेराइटी प्रस्तुत गर्नेछ, त्यो पनि स्वादमा कुनै पनि किसिमको सम्झौता नगरी । समय आएको छ एउटा यस्तो बियरको मजा लिने जुन उनिहरुको जीवनशैलीमा एकदमै उपयुक्त छ – अर्ना लाइट ।” अर्ना लाइट बियरको लन्च एक वृहत बजार व्यवस्थापन क्याम्पेनसँगै हुनेछ । साथै अन्य विभिन्न स्याम्पलिङ्ग एक्टिभेसनहरु मार्फत पनि बढि भन्दा बढि उपभोक्ताहरु माझ यसको सन्देश पुर्याइनेछ । उक्त कार्यक्रममा कम्पनीले अर्ना स्ट्रङ्ग बियरको पनि अनावरण गरेको थियो जुन “स्ट्रङ्ग” स्वाद चाहने उपभोक्ताहरुलाई ध्यानमा राख्दै ल्याइएको हो । “चढ्छ मज्जाले” भन्ने बजार प्रवद्र्धन सन्देशका साथ बजारमा आएको अर्ना स्ट्रङ्गले अर्ना लाइटले जस्तै एक फरक र शानदार स्वादका पस्कने निश्चित छ । अर्ना लाइट र अर्ना स्ट्रङ्ग दुवै यति ब्रुअरी प्रा. लि. द्वारा चैनपुर, चितवनमा तयार गरिएको हो । यी बियरहरु ६५० मि.लि. बोतलमा क्रमशः ४.६ प्रतिशत र ६.५ प्रतिशत अल्कोहल प्रति बोतलका साथ बजारमा उपलब्ध रहेकाे कम्पनीले जनाएकाे छ ।

उद्योग वाणिज्य महासंघको साधारणसभा शुरु, भोली निर्वाचन

काठमाडौं । नेपाल उद्योग वाणिजय महासंघले आफ्नौं ५१औं वार्षिक साधारणसभा तथा निर्वाचनमा भाग लिन देशभरको उद्योगी व्यवसायीका नेताहरु राजधानी काठमाडौंमा भेला भएको छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको साधारणसभामा महासंघका जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, बस्तुगत संघ तथा एशोसिएट सदस्यका प्रतिनिधिको रुपमा एक हजार भन्दा बढी उद्योगी व्यवसायी सहभागी भएका छन् । सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले राजनीति परिवर्तनपछि आर्थिक परिपर्तन शुरु भएको बताए । चालु आर्थिक वर्षको आर्थिक वृद्धि ६ प्रतिशतभन्दा बढी रहने प्रष्ट देखिएको चर्चा गर्दै आगामी दुई दशकसम्म दुई अंकको आर्थिक वृद्धि हासिल गर्न सकिने बताए । उच्चदरको आर्थिक वृद्धिका लागि सरकार र नीति क्षेत्रबीच समन्वय र सहकार्य गरिने बताउँदै सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति लिने बताए । निजी क्षेत्रको स्वदेशी तथा विदेशी लगानी वृद्धिले मात्र दुई अंकको आर्थिक वृद्धि हुने उनले बताए । उनले संघीयता र संविधानको कार्यान्वयनमा सहयोग गर्न व्यवसायीलाई आग्रह गरे । संघीयतामा दोहोर करको भार पर्छ कि भन्ने चिन्त नगर्न उनले आग्रह गरे । प्रधानमन्त्री प्रचण्डले महासंघको अध्यक्षमा महिला नेतृत्व आएको भन्दै खुसी व्यक्त गरे । राष्ट्रपति, सभामुख, प्रधानन्यायधीश लगायतका महत्वपूणं पदमा महिला नेतृत्व समालेको बेला निजी क्षेत्रको सबैभन्दा ठूलो संगठनको अध्यक्षमा पनि महिला नेतृत्व आउनुले नेपाली महिलासँग नेतृत्व क्षमता छ पुष्टी भएको उनले बताए । महासंघका अध्यक्ष पशुपति मुरारकाले निजी क्षेत्रको एकतामा जोड दिए । महासंघले आज उद्योग दिवस बनाउँदै वार्षिक साधारणसभाको सबै काम सम्मन्न गर्दैछ भने भोली नयाँ कार्यसमितिको निर्वाचन हुँदैछ । महासंघले ५१ औं स्थापना दिवसको अवसरमा महासंघमा पूर्व विनोद चौधरीलाई विशेष सम्मान गरेको छ । सचिवलय सुधारमा महत्वपूर्ण काम गरेको भन्दै चौधरीलाई सम्मान गरेको हो । चौधरी अध्यक्ष भएको बेलामा नेपाल उद्योग वाणिज्य महासंघको मुख्यालय भवन बनेको थियो । दोस्रो कार्यकालको लागि निर्वाचनमा पराजित भएपछि चौधरी महासंघको गतिविधिमा सहभागी हुन छाडेका थिए । उनको नेतृत्वमा नेपाल उद्योग परिसंघ स्थापना भएपछि महासंघ र परिसंघबीच लामो समय कुटुतापूर्ण सम्बन्ध भएको थियो । महासंघले विभिन्न क्षेत्रमा सफल व्यवसायीहरु विरेन्द्र बहादुर बस्नेत, कैलाश सिरोहिया, कर्ण शाक्य,  हिमालयन शमशेर राणा, रुद्रराज पाण्डे, स्वः रामलाल गोल्छा, स्वः लक्ष्मणबाबु श्रेष्ठलाई सम्मान गरेको छ । त्यस्तै, सेवातर्फ महत्वपूर्ण योगदान गरेबाफत कुलमान घिसिङ, अनुराधा कोइराला, सन्दुक रोइत, सुरेशराज शर्मालाई सम्मान गरेको छ ।

सुर्या लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता १०५९ रुपैयाँ

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । सोमबार नेप्सेले कम्पनीको ५ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १०५९ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य १०१३ रुपैयाँ रहने भएको छ ।

तीन दिनदेखि रुकुममा टेलिफोन सेवा अवरुद्ध

रुकुम । यहाँका सर्वसाधारण तीन दिनदेखि फोन सेवाबाट वञ्चित भएका छन् । शुक्रबार साँझ रोल्पाको रातामाटामा रहेको रिपिटर स्टेसनमा चट्याङ परेपछि सर्वसाधारण सञ्चार सेवाबाट वञ्चित भएका हुन् । फोन सेवा सञ्चालन नहुँदा सेवाग्राही मर्कामा परेका छन् । चट्याङका कारण जिल्लामा सञ्चालन भएका जिएसएम, सिडिएमए र ल्यान्डलाइन फोन सेवा अवरुद्ध भएको दूर सञ्चार कार्यालय रुकुमले जानकारी दिएको छ । नेपाल टेलिकमका सबै फोन अवरुद्ध भएपछि सेवाग्राहीलाई एकअर्कामा सम्पर्क गर्न समस्या भएको छ । फोन सेवा अवरुद्ध भएको तीन दिनसम्म सञ्चालन नहुँदा सानो कामका लागि पनि सर्वसाधारण आफँै सम्बन्धित ठाउँमा पुग्नुपर्ने बाध्यता रहेको मुसिकोट नगरपालिकाका स्थानीयवासी गोरखबहादुर केसीले बताउनुभयो । चट्याङका कारण रिपिटर स्टेसनमा रेडियो उपकरण जलेर पूर्णरुपले क्षति भएको र मर्मतका लागि प्राविधिक टोली नेपालगन्जबाट सम्बन्धित ठाउँमा गइसकेकाले अबको केही दिनपछि फोन सेवा सुरु हुने बताइएको छ । हिमाली क्षेत्रमा हिमपात भएका कारण मर्मतका लागि केही समय लाग्ने नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय नेपालगन्जले जानकारी दिएको छ । रासस

४/४ दिनको फरकमा तीन जहाज ल्याउँदै श्री एयरलाइन्स, पहिलो जहाज बुधबार

काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सले करिब एक अर्ब रुपैयाँ लगानी गरेको नियमति उडानको आन्तरिक वायुसेवा कम्पनी स्थापना गरेको छ । १७ वर्षदेखि नियमित रुपमा हेलिकोप्टर उडान गरिहेको यो वायुसेवाले पहिलोपटक नियमति उडानमा पनि सेवा विस्तार गर्न लागेको हो । कम्पनीले जहाज ल्याउने, उडान गर्ने, आन्तरिक व्यवस्थापन मिलाउँने, दक्ष जनशक्ति उत्पादन गर्नेसहितका कार्यमा करिब एक अर्ब लगानी गरेको उल्लेख छ । यो कम्पनीको औपचारिक सेवा सुरुवात भने जहाज आएको एक महिना भित्रमै हुने उल्लेख छ । जहाज आउने समय करिब तय भैसक्यो । अहिलेसम्मको तयारी अनुसार १ जहाज जापानबाट र २ वटा युरोपबाट आउने निश्चित भएको छ । यी जहाज चार दिनेको फरक पारेर १२ दिन भित्रै आइसक्ने श्री एयरलान्इसका कर्पोेरेट प्रवन्धक अनिल मानन्धरले बताए । उनका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणबाट जहाज ल्याउन र काठमाडौं विमानस्थलमाा अवतरणको अन्तिम स्वीकृति मात्रै बाँकी रहेको छ । जहाज जापान तथा युरोपबाट उडेर आउने भएकोले पहिलो जहाज बुधबारसम्म आइपुग्ने मानन्धरको भनाइ छ । उनका अनुसार थप २ जहाज पनि त्यसको ४/४ दिनको फरक पारेर ल्याइने उल्लेख छ । यो वायुसेवाले ४ वटा जहाज ल्याउने भएपनि अहिले तय भएको भने ३ वटा हो । अर्को एउटाको तय गर्ने बाँकी रहेको पनि श्री एयरलान्सले जानकारी दिएको छ । सुगम क्षेत्रकै विमानस्थलमा उडान हुने जहाज ल्याएर सुगम क्षेत्रकै विमानस्थलमा उडान हुने भएको छ । यी जहाज काठमाडौंलाई आधार बनाए भद्रपुर, विराटनर, धनगढी, पोखरा, भैरहवासहितका विमानस्थलमा उड्ने पनि श्रीले जानकारी दिएको छ । यो वायुसेवाले एकैपटकमा ५० देखि ७० जना सम्म बोक्न सक्छ । आन्तरिक उडानको यी जहाजले अन्य दुर्गम क्षेत्रमा भने उडान गर्न सक्दैन । त्यसैले श्रीका जहाज आएपछि आन्तरिक वायुसेवाबीच सहरी क्षेत्रका विमानस्थल (सुगम गन्तव्य)मा प्रतिस्पर्धा हुने भएको छ । जहाज कम्पनीबीचको प्रतिस्पर्धाले आन्तरिक उडानका यात्रुलाई लाभ हुने भएपनि आन्तरिक वायुसेवाको स्थायित्वमा भने चुनौति हुने नेपाल वायुसेवा निगमकै एक पूर्व कर्मचारीको भनाइ छ । उनका अनुसार जहाज आउनु र यात्रु उडानको सेवा विस्तार हुनु राम्रो हो । तर, वायुसेवा कम्पनीको स्थायित्व र भविष्य भने निकै चुनौतिपूर्ण रहेको छ । श्रीले उडान व्यवस्थापनका लागि आन्तरिक रुपमा जनशक्ति तयार पार्ने र कार्यालय व्यवस्थापन गर्ने सम्मको काम गरिसकेको छ । श्रीले हाल हेलिकोप्टरको सेवा त्रिपुरेश्वरबाट दिइरहेको छ । आन्तरिक उडानको सेवा सुरु गर्ने भएपनि यसलेकार्यालय सिनामंगलमा सारिसकेको छ । आन्तरिक उडान र हेलिकोप्टर सेवाको कार्यालय अब सिनामंगल हुने पनि श्रीले बताएको छ । श्रीले आन्तरिक उडानका लागि ५० सीट क्षमताको सीआरजे २०० र ईआरजे ७०० नामक ७० सिट क्षमतको जहाज ल्याउने भएको छ । यो कम्पनीले दुबै प्रकृतिका दुई २ वटा जहाज ल्याउने छ ।

विनोद चौधरी लेख्छन्-यसकारण मैले नेपाल उद्योग वाणिज्य महासंघ छोडेँ

म नेपाल उद्योग वाणिज्य महासंघमा खोजिखोजी आफैं पसेको होइन । यो संस्थाको कार्यशैली र पृष्ठभूमिप्रति मेरो मनमा थुप्रै प्रश्न थिए । हाम्रा कम्पनीहरु महासंघका सदस्य रहेपनि म व्यक्तिगत रुपमा त्यसको वार्षिक साधारणसभामा समेत जाने गरेको थिइँन । २०४४ को चुनावका क्रममा महेशलाल प्रधान चुनाबमा तान्न मलाई खोजीखोजी आउनुभयो । उहाँ मणिहर्ष ज्योतिसँग अध्यक्षमा भिड्दै हुनुहुन्थ्यो । मणिहर्षजीलाई गोल्छा, दुगड र मदनलाल चिरञ्जीबीलाल लगायत प्रमुख घरानाहरुको समर्थन थियो । यसको टक्करमा युवा जमान खडा गर्न महेसलाल हामीसँग निकट हुन खोज्नुभएको थियो । उहाँले यो संस्था रुपान्तरणको दूरगामी सोच राखेर चालेको कदम होइन । चुनावी रणनीति तयार पार्दा हामीलाई रोजेर जितको बाटो पहिल्याउनु भएको थियो । मैले आफ्ना हितैसीहरु विजय शाह, किशोर खनाल, डा. गोपाल श्रेष्ठ लगायतसँग छलफल बढाएँ । हाम्रो निष्शर्क रह्यो– यो संस्थासँग टाढा बस्दैमा हाम्रो व्यवसायिक हकहित सम्वद्र्धन हुनेवाला छैन । हामीले संस्थाभित्रै गएर परिवर्तन ल्याउनुपर्छ । महासंघमा वर्चस्व राख्दै आएका घरानाहरु अर्कै पक्षमा लागेकाले पनि महेसलालसँग गन्तव्य मिलेको थियो । हामी उहाँको पक्षमा होमियौं । देशका विभिन्न जिल्ला उद्योग वाणिज्य संघहरुमा गएर भोट माग्यौं । महेशलाल बलियो हुँदै गएको देखेपछि मणिहर्षजीले उमेद्वारी फिर्ता लिनुभयो । महासंघका एसोसिएट क्षेत्रका सिट ठूला र व्यापारिक घरानाबीच भागबण्डा हुन्थ्यो । उनीहरुलाई माग पुर्याउँदा पुर्याउँदै नयाँ मान्छेले कहिल्यै ठाउँ नपाउने । महेशलालाको नेतृत्वमा मैले कार्यकारिणी समितिको सदस्य पाउनुपर्थ्यो । त्यो हामीबीचको भद्र सम्झौता थियो । तर उहाँले ठूला व्यापारिक घरानासामू बोल्ने सहास देखाउनु भएन । अध्यक्ष बनेपछि त्यही प्रवृत्ति पछाडि लाग्नुभयो । जस विरुद्ध बैचारिक लडाईं छेड्ने संकल्प लिएर हामी युवा पुस्ता महासंघको राजनीतिमा होमिएका थियौं । महेशलालले मलाई अझै साथ दिनुभएन । मलाई उहाँको व्यवहार चित्त बुझेन । म महासंघको राजनीतिमा पहिलो पटक प्रवेस गरेको मान्छे, त्यो पनि उहाँले ल्याएको मान्छे । म कुनै जोड घटाउमा नलागी उहाँलाई अध्यक्ष बनाउन लागेको थिएँ । ‘एसोसिएटको सदस्यमा म कुनै हालतमा चुनाव छाड्दिन, एक भोट आए पनि चुनाब लड्छु’ त्यसबेला मैले भनेको थिएँ । त्यो बेला एसोसिएटबाट महासंघको कार्यकारीणी सदस्यमा १० जना छानिन्थे । उम्मेद्वार ११ जना भयौं । मलाई उम्मेद्वारी फिर्ता लिन ठूलै दबाब पर्यो । मदनलाल अग्रवालले महाशक्ति स्वपको महेश अग्रवालको उम्मेद्वारी फिर्ता लिए । त्यसपछि एसोसिएटका सबै कार्यकारीणी सदस्य निर्विरोध भयौं । त्यही वर्ष मैले एसोसिएटतर्फ उपाध्यक्षमा उम्मेद्वारी दिन्छु भनेपछि महासंघमा ठूलै भुइँचालो गयो । उपाध्यक्ष पदमा हुलासचन्द्र गोल्छा उम्मेद्वार बन्न लाग्नुभएको थियो । मेरो बुबाको समकक्षी हुलासचन्द्रसँग मैले चुनाव लड्नु सहज भने थिएन । म उपाध्यक्षमा चुनाब लड्ने भएपछि तत्कालीन निवर्तमान अध्यक्ष पशुपति गिरी महासंघकै कार्यालयमा धर्ना बस्नुभयो । म विरुद्ध ठूलै क्याम्पेन भयो । महासंघको इतिहासमा संभवत पहिलोचोटी अध्यक्ष पदले भन्दा एसोसिएटतर्फको उपाध्यक्ष पदले सबैलाई आकर्षित गरेको थियो । सबैले मलाई उम्मेद्वारी फिर्ता लिन दबाब दिए । त्यसपछि मैले सोचेँ चुनाव त जितिएला तर साथीभाईको मन जितिँदैन । र, अन्त्यमा मैले उद्योग समितिको सभापति पद लिएर उपाध्यक्षको उम्मेद्वारी फिर्ता लिएँ । राजनीति भनेकै यही हो, दुई कदम अघि बढ्ने र एक कदम पछि हट्ने । ०४७ मा फेरि महेशलाल प्रधान चुनाब उठ्नुभयो । उहाँको प्रतिद्वन्द्धी साल्ट ट्रेडिङका लक्ष्मीदाश मानन्धर हुनुहुन्थ्यो । त्यो वर्ष मैले सीधै प्रथम उपाध्यक्षमा उम्मेद्वारी दिएँ । मोहन गोपाल खेतान म विरुद्ध चुनाब लड्न आउनुभयो । महेशलालले आग्रह गरेपछि मैले आफ्नो उम्मेद्वारी फिर्ता लिइहाल्छु भन्ने उहाँलाई लागेको रहेछ । तर म टेरिन र उहाँ आफैं पछि हट्नुभयो । ०५० सालमा स्वभाविकरुपमा म अध्यक्षको दाबेदार थिएँ । तर म निर्विरोध प्रथम उपाध्यक्ष छानिएकोमा धेरैलाई सह्य भएको थिएन । पदम ज्योतिलाई अध्यक्षको उम्मेद्वारकोरुपमा अघि सारिए पनि उहाँका बुबा मणिहर्षको केही समय अघि निधन भएकाले उहाँ उम्मेद्वार बन्न चाहनु भएन । त्यसपछि हुलासचन्द्रलाई म विरुद्ध चुनाव उठाउन लागियो । अन्तिममा उहाँले स्वास्थ्यको कारण देखाउँदै चुनाव नउठ्ने घोषणा गर्नुभयो । र, म निर्विरोध अध्यक्षमा चुनिएँ । ०५२ सालमा मैले दोस्रो कार्यकालको लागि फेरि अध्यक्षमा उम्मेदवारी दिएँ । मेरा प्रतिद्धन्द्धी हुनुहुन्थ्यो पदम ज्योति । त्यो चुनावमा म विरुद्ध नयाँ समिकरण बन्यो । मैले अति निकट र विश्वास गरेका साथीहरु नीर शाह। बिजय शाह, किशोर खनाल मेरो विरोधी खेमामा लागे । ज्योतिको चुनावी तयारीको जिम्मा सुरज बैद्यले लिएका थिए । महेशलालले कोठाभित्र बसेर रणनीति बनाउनु भयो । त्यो वर्ष मिडिया, राजनीतिक दल सबैलाई महासंघको चुनाब लाग्यो । नेकपा एमालेले सार्वजानिकरुपमै ज्योतिलाई समर्थन गर्यो । कांग्रेसमा भने विभाजन देखियो । अर्जुननरसिंह केसी मेरो पक्षमा हुनुहुन्थ्यो । केही पिछडिएका जिल्लाका प्रतिनिधिको भोट किनबेच सुरु भयो । निजी क्षेत्रमा पहिलो चोटी जातीय र राजनीति देखा पर्यो । महेशलाल र मेरो कार्यकालमा उद्योमी/व्यवसायीको जुन गोलवद्ध आकार बनेको थियो, त्यो नराम्ररी भत्कियो । तीब्र प्रतिस्पर्धाका बीच मेरो टिमका अधिकांस साथीहरुले चुनाब जित्नुभयो । तर मैले हारेँ । ०५४ सालको चुनावमा म यस्तो व्यक्तिको खोजिमा थिएँ । जसले जित्दा मेरो हार जितमा बदलियोस् । ठूला व्यापारिक घरानाको पकड रहेको महासंघमा पोखराका आनन्दराज मुल्मीलाई मैले अध्यक्षम समर्थन गरेँ । मुल्मीविरुद्ध चिरञ्जीबी तिरावी उठ्नुभयो । तिवारीलाई पदम ज्योति, महेशलाल प्रधान, प्रदिपकमाुर श्रेष्ठ, गोल्छा, सुरज बैद्य, मदनलाल, चिरञ्जीबीलाललगायतको समर्थन थियो । अघिल्लो निर्वाचनमा म विरुद्ध लागेका मेरा साथीहरु मेरो समर्थनमा फर्किए । उम्मेद्वारको रुपमा मुल्मी अगाडि हुनुहुन्थ्यो । म पछाडि थिएँ । अन्तत मुल्मीको जित भयो । यो जितसँगै म आफूलाई निजी क्षेत्रका प्रतिनिधिमुल संस्थाहरुको राजनीतिबाट अलग राख्न चाहन्थेँ । तर, म महासंघको राजनीतिबाट टाढा भाग्न खोजेपनि महासंघको राजनीति म बाट टाढा भाग्न मानेन । नेपाल उद्योग परिसंघ (सीएनआइ) गठन यसकै निरन्तरता हो । कतिपयले महासंघमा चुनाब हारेको तुस लिएर सीएनआइ गठन गरेको आरोप लगाए । तत्कालीन अध्यक्ष रविभिक्त श्रेष्ठले सीएनआइ गठन हुन नदिन धेरै नै लाग्नुभयो । अहिले उहाँ मेरो व्यवसायीक साझेदार हुनुहुन्छ । ०६३ सालमा दरबारमार्गको बुडल्याण्ड होटलका सञ्चालक हरि श्रेष्ठलाई माओवादीले कुटेपछि महासंघ र सीएनआइ एकजुट भएर विरोधमा उत्रिए । तत्कालीन अध्यक्ष चण्डीराज ढकाल र मैले यसको नेतृत्व गरेका थियौं । तर, उत्पतिको प्रमाणपत्रको विषयलाई लिएर महासंघ र सीएनआइको लडाइँले उग्र रुप लियो । सीएनआइले पहिलोपटक उत्पतिको प्रमाणपत्र जारी गर्ने अधिकार माग्दा महेशलाल प्रधान नै वाणिज्य मन्त्री हुनुहुन्थ्यो । उहाँले सीएनआइलाई यो अधिकार दिने कुरै भएन । उत्पतिको प्रमाणपत्र ठुलै विवाद पनि भयो । तर, अन्तिममा सरकारले उत्पातिको प्रमाणपत्र जारी गर्ने अधिकार महासंघसँगै सीएनआइ, चेम्बर र निकासी प्रवद्र्धन केन्द्रलाई दियो । महासंघसँगको हैसियत र अधिकारको लडाइँमा यो हामो ठूलो जित हो । (बिनोद चौधरीको आत्मकथाबाट साभार)