विकासन्युज

‘नो हर्न’ उलङ्घन गर्ने १७ सयमाथि कारबाही, ८ लाख जरिवाना

काठमाडौं। काठमाडौं उपत्यकामा  ‘हर्न निषेध’ नियम उलङ्घन गर्ने मध्ये बिहीबारसम्म १७ सय १७ जना चालक कारवाहीमा परेका छन् । नियम उलंघन गर्ने मध्ये अधिकांश मोटरसाइकल चालक रहेको ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले बताए ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको विवरणअनुसार बिहीबार साँझसम्म काठमाडौं उपत्यकामा हर्न बजाएबापत कारवाहीमा परेकाहरुसँगबाट कुल ८ लाख ५८ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ । काठमाडौं शहरलाई शान्त र सभ्य बनाउन लागू गरिएको ‘नो हर्न’ नियमको करिब ९५ प्रतिशत चालकले पालना गर्न थालिसकेको महानिरीक्षक लामाले बताए । लामाका अनुसार, कतिपय चालक कस्तो बेलामा हर्न बजाउने भन्ने चालै नपाएर पनि कारवाहीमा पर्ने गरेका छन् । ‘मोडमा अगाडिबाट आउने गाडी नदेखिने अवस्था तथा दुर्घटनामा पर्न सक्ने आकस्मिक अवस्थामा मात्र हर्न बजाउन पाइन्छ,’ उनले भने । मानिसको कानका लागि ६० डेसिबलसम्मको ध्वनिलाई उपयुक्त मानिन्छ । तर, काठमाडौं उपत्यकाको ध्वनि प्रदूषण ९५ डेसिबल छ । कुनै बेला यो ११० डेसिबलसम्म पुग्ने गरेको तथ्यांक ट्राफिक प्रहरीसँग छ । ‘११० डेसिवल ध्वनि मानिसको कानका लागि खतरापूर्ण हो,’लामाले भने । ‘नो हर्न’ अभियान अत्यन्त सफल भएको काठमाडौ महानगरपालिकाका कार्यकारी अधिकृत इश्वरराज पौडेलको दाबी छ । ‘यस्तो अभियानले जनता पनि बिस्तारै सचेत हुँदैछन्,’ उनले भने, ‘पहिले चालकहरु हर्नको भरमा सवारी चलाउने गर्थे, तर नो हर्न लागू भएपछि हर्न नबजाई सर्तक भएर हर्न बजाउन थालेका छन् ।’ यातायात व्यवस्था विभागको पहलमा काठमाण्डौ महानगरपालिका, ट्राफिक प्रहरी गत चैतमा बसेको बैठकले राजधानीको ध्वनि प्रदुषण कम गर्न हर्न निषेध गर्ने निर्णय गरेको थियो ।

खप्पर र मुसासहित भारतीय किसानको प्रदर्शन

अघिल्लो हप्ता ६५ वर्षीय चिन्नागोडाङ्गी पालनीशामीले आफ्ना दाँतले जिउँदै मुसा च्यापेर आफ्नो राज्य तामिलनाडुका किसानले बेहोरेको पीडाबारे सरकारको ध्यानाकर्षण गर्ने प्रयास गरे। दिल्लीको जन्तरमन्तर परिसरमा त्रिपालमुनि बसेर प्रदर्शन गरिरहेका उनी भन्छन्, “यदि अवस्था सुध्रिएन भने म र मेरा किसान साथीले बाँच्नका लागि मुसा खानुपर्छ भन्ने सन्देश दिन मैले खोजिरहेको छु।” लगभग च्यातिन लागेको उक्त त्रिपाल झण्डै ४० दिनदेखि पालानीशामी र उनका झण्डै एक सय कृषक साथीको घर भएको छ। उनीहरु भारतको एउटा सबैभन्दा विकसित राज्य तामिलनाडुको दक्षिण भेगमा रहेको खडेरी प्रभावित क्षेत्रबाट यहाँ आएका हुन्। खडेरी उक्त खडेरीलाई भारत सरकारले बिर्सिसकेको जस्तो देखिन्छ त्यही भएर पालनीशामी र उनका उत्साही साथीहरुले सरकारलाई दवाव दिने उद्देश्यले तत्कालै ध्यान तान्ने एउटा अलग्गै किसिमको विरोधको आयोजना गरिरहेका छन्। उनीहरुले सरकारलाई सुख्खा क्षेत्रका लागि पर्याप्त राहत कोष निर्माण गर्न, वृद्ध कृषकलाई निवृत्तिभरण उपलब्ध गराउन, किसानले लिएका बाली तथा कृषिसम्बन्धी ऋणहरु मिनाहा गर्न, कृषि उत्पादनको उपयुक्त मूल्य निर्धारण गर्न र आफ्ना खेतसम्म सिँचाइको पहुँच पुर्याउने गरी नदी प्रणालीमा सुधार गर्न माग गरिरहेका छन्। परम्परागत पोशाक लगाएका र फेटा बाँधेका यी किसानहरुले मानव खप्पर देखाएर प्रदर्शन गरिरहेका छन् जुन खडेरीका कारण ज्यान गुमाएका किसानको भएको उनीहरु बताउँछन्। उनीहरुले आफ्ना मुखमा जिउँदा मुसा राखेका छन्, आफ्ना कपाल आधा मुण्डन गरेका छन्, सारी लगाएका छन्, हात काटेका छन्, तातो भुईँमा केही नलगाइ लडिबुडी खेलेका छन् र नक्कली अन्तिम संस्कारका कार्यक्रम आयोजना गरिरहेका छन्। आफ्ना समस्या प्रधानमन्त्रीसँग राख्ने मौका नपाएको भन्दै उनीहरुले प्रधानमन्त्रीको कार्यलयबाहिर पनि आफ्ना लुगा फुकालेर विरोध गरेका छन्। प्रदर्शनस्थल नजिकैको एउटा रुखमा आफ्नो घाँटीलाई कपडाले बेरेर आत्महत्या गर्ने प्रयास गरेका एकजना व्यक्तिलाई अग्नी नियन्त्रकहरुले उद्धार गरेका थिए। उनीहरुमध्ये कैयौँलाई शरीरमा पानीको अभाव भएको भन्दै उपचारका लागि अस्पताल पनि लगिएको छ। कतिपयले दिल्लीका सञ्चारमाध्यमले उक्त प्रदर्शनीलाई एउटा मनोरञ्जनात्मक नौटंकी जसरी ठाउँ दिएको र कृषकका पीडा र निराशालाई बिर्सिरहेको टिप्पणी गरेका छन्। एकजना टिप्पणीकारले उक्त प्रदर्शनमा अभिनय गरे जस्तो देखिएका कारण त्यो हस्यास्पद बनेको र विरोध कार्यक्रम नै हराएको जस्तो लाग्न थालेको दृष्टिकोण राखेका छन्। संकट तामिलनाडुमा झण्डै ४० प्रतिशत मानिसहरु कृषिमा निर्भर छन्। तर कमजोर वर्षा, उत्पादनको न्यून मूल्य र औपचारिक ढंगले लिन पाइने ऋणसम्मको घट्दो पहुँचका कारण उक्त राज्यमा दशकौँयताको सबैभन्दा खराब संकट सिर्जना भइरहेको छ। अहिले नै यो प्रदर्शनले परिणाम दिन सक्छ कि सक्दैन भन्ने स्पष्ट भइसकेको छैन्। भारतले कैयौँ बिना निष्कर्ष टुंगिएका प्रदर्शनहरु देखेको छ। तर दिल्लीको यो प्रदर्शनले कसरी सुख्खा, ऋण अनि असफल नीतिहरुले भारतका कृषकहरुलाई दुःख दिइरहेको छ भन्ने विषय प्रकाशमा ल्याएको छ। भारतमा कृषि वृद्धिदर १ दशमलव २ प्रतिशतको चिन्ताजनक आंकडामा खुम्चिएको छ र कमजोर आयका कारण दशौँ हजार कृषकहरु ऋणसँग जुधिरहेका छन्। तर केही वर्षअघि सम्म अवस्था यस्तो नरहेको पालनीशामी सम्झन्छन्। उनको तिरुचिरापालीमा रहेको साढे चार एकड जमिनमा पर्याप्त धान, ऊखु, दाल र कपास उत्पादन हुने गर्थ्यो। त्यहाँ आँपदेखि नरिवलसम्म धेरै प्रजातिका रुखहरु पनि थिए। तर एकपछि अर्को वर्षका कमजोर वर्षाका कारण अहिले पालनीशामीको अधिकांश खेत बाँझो छ। आफ्ना पितालाई खेतमा सघाउने उनका दुई जना छोराहरु घरको चुल्हो बलिरहोस् भन्नका लागि सानातिना काम गर्न बाध्य भएका छन्। उनको परिवारसँग पाँचजना कामदारहरुलाई दिने पैसा छैन्। ऋण बढ्दै गएर ६ लाख भारतीय रुपैयाँसम्म पुगिसकेको छ र घरका अधिकांश सुनका गहना पनि धितो राखिएका छन्। “यो मेरो जीवनकालकै सबैभन्दा ठूलो संकट हो, खेतीबारीमा यति धेरै दुःख मैले कहिल्यै पाएको थिइन्,” दोस्रो पुस्ताका किसान पालनशामी भन्छन्। आत्महत्या अधिकारीहरुका अनुसार गएको अक्टोबर महिनायता तामिलनाडुमा ऋणका कारण ५८ जना किसानले आत्महत्या गरिसकेका छन्। तर स्थानीय कृषकहरुको एउटा संगठनले कृषिसँग सम्बन्धित आत्महत्या र मृत्युका घटना अढाइ सयभन्दा बढी रहेको जनाएको छ। पालनशामीकै एकजना नजिकका नातेदारले पनि बिरामी भएपछि चिन्ताकै कारण औषधि खान छाडे र ‘आफ्नो ज्यान आफैँ लिए।’ आफ्नो पाँच एकडको जमिनमा बोरिङ सुविधा पुर्याउन र ट्याक्टर किन्न लिएको ऋणले ती नातेदारलाई थिचिरहेको थियो। झण्डै ६० जना कृषकहरुका प्रभावशाली वकिलहरुले नेतृत्व गरिरहेको जन्तरमन्तरको प्रदर्शनमा थकानको कुनै अनुभूति देखिंदैन। पलानीशामी जस्ता धेरैजना गएको मार्च महिनामा रेल चढेर दिल्ली आएका हुन्। उनीहरु राति खुल्ला आकाशमुनि लामखुट्टेको टोकाई सहंदै सुत्ने गर्छन्। संघर्ष यी कृषकहरुले आफ्ना गाउँका कथा सुनाउँछन् जहाँ पानीको अभावका कारण रुखहरु सुकिरहेका छन् र उनीहरुको जमिन उजाड भइरहेको छ। उनीहरुले ब्याङक र साहुबाट लिएको कृषि ऋण बढिरेहको छ। कहिलेकाहीं त उनीहरुले प्रदर्शन गर्ने ठाउँको तापक्रम बढेर ४३ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ। उनीहरुमध्ये कति जनाले त सञ्चारमाध्यमहरु आफूहरुका समस्याभन्दा प्रदर्शनीस्थलमा देखिएका भाव भङ्गीतर्फ आकर्षित भएको गुनासो गरेका छन्। जीवनमा कैयौँ खालका चुनौतीसँग कठिन संघर्ष गरेर यी पुरुष र महिलाहरु दिल्लीसम्म आइपुगेका हुन्। उदाहरणका लागि पलानीशामी जनावरहरु शिकार गर्ने भारतको एउटा सबैभन्दा पिछडिएको जातिका व्यक्ति हुन्। उनले विद्यालय तहको शिक्षा पूरा गरेका छन् र कृषि शिक्षकको मान्यता दिने एउटा प्रमाणपत्र पनि लिएका छन्। सरकारी लगानीमा चलिरहेको मातृ तथा शिशु स्याहार केन्द्रमा काम गरेका उनले अवकाश पाउने उमेरसम्म पनि निरन्तर आफैं हलो जोतिरहेका थिए। उनका तीन जना छोरा पनि एकदमै मेहनती छन्। दुईजनाले इन्जिनियरिङको पढाइ पुरा गरेका छन् र आफ्ना पितालाई खेतीपातीमा सहयोग गरिरहेका छन्। आफ्नो ज्यान आफैं लिएका उनका नातेदारले कृषिबाट आएको आम्दानी आफ्नी छोरीलाई नर्सिङ पढाउन खर्च गरेका थिए। उनीहरु भारतको गरिब वर्गले समाजमा गरिरहेको कठिन संघर्षका प्रतीकहरु हुन् र एउटा लामो संकटले कसरी खेतीपातीमा आश्रित मानिसलाई आफ्नो अस्तित्व रक्षाको एकदमै अप्ठेरो अवस्थामा पुर्याउँछ भन्ने उदाहरण हुन्। जब रात ढल्दै जान्छ र हल्लाखल्ला कम हुन थाल्छ, पलानीशामी कहिलेकाहीं कलम निकाल्छन् र आक्रोशित भएर लेख्न थाल्छन्। उनले घरमा बिताएका कष्टकर क्षणलाई सम्झिंदै हालै एउटा कविता पनि लेखेका छन्। यो भारतीय कृषिलाई चिमोटिरहने खालको एउटा गम्भीर शोक कविता हो। त्यो मरिसकेको छ/ त्यो मरिसकेको छ/ खेतीपाती मरिसकेको छ त्यो पीडा हो/ त्यो पीडा हो/ यो खेतीपातीको मृत्यु हो त्यो जलिरहेको छ/त्यो जलिरहेको छ किसानहरुका मुटु र पेट रोक यसलाई/ रोक यसलाई यी किसानका मृत्युहरुलाई (साभार बीबीसी नेपाली)

खेतान परिवार सानिमा बैंकको कालोसूचिमा

काठमाडौं । राजेन्द्र खेतान, प्रेमप्रकाश खेतान र चन्द्रप्रकाश खेतानको परिवारलाई सानिमा बैंकले कालोसूचिमा राखेको छ । खेतान परिवारले नेतृत्व गरेको कम्पनीहरु एक पछि अर्को आर्थिक संकटमा परेपछि बैंकले खेतान परिवारलाई कालोसूचिमा राखेको हो । बैंकले आफ्नो कर्जा विभाग र सबै शाखा कार्यलयलाई आन्तरिक सर्कूलर जारी गर्दै राजेन्द्र खेतान, प्रेमप्रकाश खेतान र चन्द्रप्रकाश खेतान, उनीहरुको परिवार सदस्य संलग्न भएको कम्पनी, फर्म वा कुनै पनि प्रकारको संस्थालाई कुनै पनि प्रकारका कर्जा तथा बैंक ग्यारेन्टी उपलब्ध नगराउन परिपत्र गरेको हो । ‘हाम्रो आफ्नै रिसर्ज डिपार्टमेन्टले गरेको रिपोटिङकको आधारमा खेतान परिवारका सदस्यहरुलाई र उनीहरु संलग्न भएका संस्थालाई कर्जा नदिने निर्णय भएको हो’–बैंक स्रोतले भन्यो । खेतानले लगानी गरेको र व्यवस्थापन समालेको सबै कम्पनी समस्यामा देखिएको र खेतानसँग व्यवसायिक साझेदार गर्दै आएका व्यवसायीहरु समेत आर्थिक समस्यामा परेकाले उनीहरुलाई कर्जा नदिने निष्कर्षमा पुगेको हो । सानिमा सबैभन्दा कम खराव कर्जा भएको बैंक हो । उसले लगानी गर्दा ऋणीको पृष्ठभूमि र आयस्रोतको सुस्म अध्ययन गरेर लगानी गर्दै आएको छ । बैंकहरुले आर्थिक संकटमा परेका र विवादमा परेको व्यवसायिक समूह वा कम्पनी, व्यक्तिहरुलाई जोखिमपूर्ण सूचिमा राख्छन्, जसलाई बैकिङ क्षेत्रमा कालोसूचि भनिन्छ । पछिल्लो समय खेतान ग्रुपको उद्योग हिमालयन सन्याक्स एण्ड नूडल्स कम्पनी बन्द भएको छ । खेतान समूहले नेतृत्व गरेको पब्लिक कम्पनीहरु एभरेष्ट इन्स्योरेन्स कम्पनी र प्राइमलाईफ इन्स्योरेन्स कम्पनी समस्याग्रस्त छन् । लक्ष्मी बैंक एभरेष्ट बैंकमा विलय हुने चर्चा छ । हिमालयन हेकिप्टर कम्पनी बन्द भएको छ । करोडौ रुपैयाँ कर छलि विवादमा परेपछि गोर्खा ब्रुअरीमा रहेको खेतान समूहको ३० प्रतिशत सेयरसँगै व्यवस्थापन काल्सवर्ग ग्रुपले खोसेको छ । यसअघि गोर्खा ब्रुअरीमा खेतान समूह र काल्सवर्ग समूहको ५०/५० प्रतिशत सेयर लगानी थियो भने व्यवस्थापनको जिम्मेवारी खेतान ग्रुपले पाएको थियो । हाल यस कम्पनीमा ८० प्रतिशत सेयर काल्सवर्ग ग्रुपको छ भने व्यवस्थापन पुरै काल्सवर्ग ग्रुपले लिएको छ । खेतान ग्रुपसँग साझेदारी गर्दै आएका पवन संघाई, मधुशुधन अग्रवालका धेरै व्यवसायी फ्रड व्यवसाय गरेको आरोपमा कोही जेलमा छन्, कोही तारेक धाईरहेका छन् भने कोही व्यवसाय छोडेर फरार भएका छन् । निरञ्जन तिवेडेवा, राकेश अडूकिया लगायतले खेतानसँग व्यवसायिक साझेदारी तोडेका छन् । २०६० सालअघि ठूला व्यवसायिक घरानाको रुपमा परिचित खेतान ग्रुपको व्यापार मोहन गोपल खेतानको निधनपछि ओरालो लागेको छ । मोहन गोपालका तीन छोरा मध्ये राजेन्द्र खेतानले सन् २००८ देखि २०१५ सम्ममा स्वीजरल्याण्डमा रियलस्टेट व्यवसायमा गरेका थिए, जहाँ उनले ठूलो धनराशी गुमाएका छन् । जानकारहरुका अनुसार चन्द्रप्रकाश खेतानले भारतमा वियर उद्योग चलाए राम्रो पैसा कमाएका छन् तर उनले भारतमा कमाएको पैसा नेपाल ल्याएका छैनन् । उक्त पैसा विवादले चन्द्रप्रकाशसँग राजेन्द्र र प्रेपप्रकाश दाजुभाईको सम्बन्ध पनि चिसिएको छ । मायोज उद्योग बन्द, वितरकको करोडौं बैंक ग्यारेन्टी खेतानद्धारा जफत, बिक्रेताको बिचल्ली

नक्सा विपरीत निर्माण रोक्न हरेक घरमा इन्जिनियर परिचालन, ८० प्रतिशत घर नक्सा विपरीत

काठमाडौं । नक्सा विपरीत हुने निर्माण नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले नयाँ बन्न सुरु गरेका सबै घरमा नियमित निगरानी राख्न थालेको छ । भवन निर्माणका लागि महानगरमा आएर नक्सा पास गर्ने र नक्सानुरुप निर्माण नगर्ने पाएपछि महानगरले आफ्ना इन्जिनियरलाई नै हरेक दिन निर्माणस्थलमा खटाउन थालेको कापमाका इ राम थापाले जानकारी दिए । अहिले कामपामा नक्सा पास विपरीत निर्माण र तला थप्नेजस्ता काम भइरहेकाले सो कार्य रोक्ने उद्देश्यसहित अभियान सुरु गरेको थापाको भनाइ छ । यसअघि महानगरले नक्सा पास गर्ने र निर्माण सम्पन्न गरेपछि मात्र उक्त स्थानको निरीक्षण गर्ने गरेको थियो । अब निर्माण सुरु भएपछि सम्पन्न नहुँदासम्म नक्सानुरुप निर्माण गराउनका लागि महानगरका इन्जिनियर निरन्तर लागिपर्ने छन् । यसरी निर्माणका समयमा नक्सा विपरीत काम भएको पाइएमा तत्काल रोकिने तथा अन्य कारबाहीको प्रक्रिया अघि बढाइने छ । “हालसम्म उजुरी परेको स्थानमा मात्र महानगरपालिकाका इन्जिनियर निरीक्षणका लागि जाने गरेका थिए” थापाले भने  “अब नयाँ बन्ने प्रत्येक घरमा महानगरका इन्जिनियर पुगेर जाँच गर्नेछन् ।” काठमाडौँ उपत्यकामा हाल ८० प्रतिशत घर नक्सा विपरीत रहेको अनुमान कामपाको छ । कामपामा सरदर दैनिक १० घर बन्ने गरेका छन् । यसअघि बनाइएका घरहरु नक्सा पासअनुसार नहुने, खाली ठाउँ नराखिने, कम तलामा नक्सा पास गरेर पछि तला थप्नेजस्ता मापदण्ड विपरीतका बढी छन् । रासस

एक बर्षसम्म आएन पेट्रोलियम खानी अन्वेषणको चिनियाँ रिपोर्ट

काठमाडौं । एक बर्ष अघि अर्थात गत अप्रिल ३० तारिखमा नेपाल आएको ६ सदस्यीय चाइना जिओलोजिकल सर्भेको टोलीले सुर्खेत–दैलेख, बुटवल–पाल्पा र चतरा–बराह क्षेत्रमा रहेका पेट्रोलियम खानीहरुको अध्ययन गरेको थियो । सो टोलीले ती खानीको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेर मे २६ तारिखका दिन चीन फर्किएको थियो । उनीहरुले यी तीन क्षेत्रमा रहेका श्रोत चट्टान र पेट्रोलियम अन्वेषण परियोजनासँग भएका तथ्यांकहरुको गहिरो अध्ययन गरेका थिए । चिनियाँ टोलीले ल्याब परिक्षणका लागि सो क्षेत्रका चट्टान र माटोको नमूना चीन लगेका थिए । तिनै नमुनाको परिक्षणबाट सो क्षेत्रमा प्रयोग गर्न सकिने पेट्रोलियम पदार्थ रहेको प्रारम्भिक अनौपचारिक रिपोर्ट चीनले गत असोजमै नेपाल पठाएको पनि थियो थियो । त्यस्तो रिपोर्ट आएपछि उद्योग मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत चीन सरकारलाई आधिकारीक रिपोर्ट उपलब्ध गराउन आग्रह गर्दै पत्र लेख्यो । चाइना जिओलोजिकल सर्भेले थप अध्ययन भैरहेको जानकारी दिएको थियो । लामो समयसम्म चीनले कुनै औपचारिक जानकारी नगराएपछि नेपालले फेरी अर्काे पत्र पठायो तर पनि चीनले कुनै प्रतिक्रिया जनाएको छैन् ।‘हामीले परराष्ट्र मन्त्रालय मार्फत चीन सरकारलाई २ पटकसम्म पत्र लेखिसक्यौं, तर उनीहरुले रिपोर्ट अझै पठाएका छैनन’, उद्योग मन्त्रालयका एक अधिकारीले भने । नेपालले पुस दोश्रो साता चीनलाई पहिलो पत्र लेखेको थियो भने चैतमा पुनः अर्काे पत्र पठाएको पनि उनले जानकारी दिए । उद्योग मन्त्री नविन्द्रराज जोशीले पनि चाइना जिओलोजिकल सर्भेको प्रारम्भिक रिपोर्ट सकारात्मक रहेको बताउँदै औपचारिक रिपोर्टका लागि आग्रह गरिएको बताउँदै आएका छन् । पत्रमा थप अनुसन्धानका लागि पनि चिनियाँ टोलीलाई आग्रह गरिएको छ । तत्कालिन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा नेपालमा रहेका पेट्रोलियम खानीहरुको उत्खननका लागि चीनले सघाउने सम्झौता भएको थियो । सोही सम्झौताका आधारमा चीनियाँ टोलीले पहिलो चरणको अन्वेषण गरेको थियो ।

एनसिएम मर्चेन्ट बैंकिङ्गको नाम अब सनराईज क्यापिटल लिमिटेड

काठमाडौं । सनराईज बैंकको सहायक कम्पनी एनसिएम मर्चेन्ट बैंकिङ्ग लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । रत्नराज बज्राचार्यको अध्यक्षतामा बसेको उक्त विशेष साधारणसभाबाट कम्पनीको नाम परिवर्तन गरी “सनराईज क्यापिटल लिमिटेड” नामांकरण गर्ने निर्णय पारित गरियो । साथै कम्पनीको कार्य क्षेत्र बिस्तार गर्न कम्पनीको शेयर पूँजी बृद्घि गरी जारी पूँजी २० करोड तथा चुक्ता पूँजी १० करोड कायम गर्ने लगायत प्रबन्धपत्र तथा नियमावलीमा पे्रषित दफाहरु संशोधन गर्ने सम्बन्धमा यस विशेष साधारण सभामा सर्वसम्मतबाट पारित गरेको छ ।

धितोपत्र बोर्डले भन्यो-स्ट्याण्डर्ड चाटर्ड बैंकको एफपिओ बैशाख २६ अघि नै बांडफांड गर्नु

काठमाडौं । नेपाल धितोपत्र बोर्डले स्ट्याण्डर्ड चाटर्ड बैंकको एफपिओ बैशख २६ गतेभित्रै बाडफाँट गरिसक्न निर्देशन दिएको छ । बजारमा लागनी योग्य पुँजीको अभाव रहेको भन्दै बोर्डले शुक्रबार निष्काशन बन्द भएको मितिले ५० दिनभित्रै बाडफाँट गर्न बिक्रि प्रबन्धक एनएमबी क्यापिटललाई निर्देशन दिएको हो । स्ट्याण्डर्ड चाटर्ड बैंकको एफपिओ निष्काशन चैत ४ गते बन्द भएको थियो । सो मितिले ५० दिनभित्रै बाडफाँट गर्न बोर्डले निर्देशन दिएपछि बैशाख २६ अघि नै बाडफाँट हुने भएको हो । स्ट्याण्डर्डको एफपिओ बाडफाँट भएमा २ लाख २५ हजार लगानी कर्ताको ३८ अर्ब रुपैंयाँ बजारमा आउनेछ । बैंकले प्रतिकित्ता १०० अंकित सेयरमा ११९० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १२९० रुपैयाँमा २५ लाख ५८ हजार १४० लाख कित्ता एफपिओ निष्काशन गरेको थियो । ३ अर्ब ३० करोड ६ सय रुपैंयाँको एफपिओको निष्काशन चैत १ देखि आरम्भ भएर ४ गते बन्द भएको थियो ।

कहिले साटिन्छन् ५०० र १००० दरका भारु ? राष्ट्र बैंक भन्छ-जवाफ कुरिरहेका छौं

काठमाडौं । चैत दोश्रो साता रिजर्भ बैंक अफ इण्डिया(आरबिआई)को टोलीले प्रतिव्यक्ति ४५ सयसम्म ५०० र १००० हजार दरका भारु साटिदिने प्रतिवद्धता गरेको थियो । तर नेपाल राष्ट्र बैंकले दुई देशबिचको सम्झौता अनुसार कानुनी मानिएको २५ हजारसम्म भारु साट्न पाउनु पर्ने अडान राख्यो । आरबिआईले ४५ सय भन्दा बढि भारु नसाट्ने अडान कसेपछि अन्ततः नेपालले त्यसैलाई स्विकार गर्न बाध्य भएको छ । नेपाल राष्ट्र बैंकले अप्रिल १३ तारिखका दिन आरबिआईलाई पत्र लेखेर ५०० र १००० दरका ४५ सय रुपैंयाँ साट्ने निर्णय सहितको पत्र पठाएको थियो । तर आरबिआईले अझै त्यसको जवाफ दिएको छैन् ।‘हामीले अप्रिल १३ तारिखका दिन पत्र लेखेर ४५ सय साट्न तयार रहेको जानकारी गराएका छौं, आरबिआईले पत्र आइपुगेको जानकारी दिएको छ तर जवाफ पठाएको छैन, हामी जवाफ कुरिरहेका छौं’, नेपाल राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागका प्रमुख भिष्म ढुंगानाले विकासन्युजसँग भने । ढुंगानाका अनुसार तत्कालका लागि ४५ सय रुपैंयाँ साट्ने र त्यस लगत्तै थप २०५०० रुपैंयाँ साट्नका लागि दबाव दिने रणनीतिमा केन्द्रिय बैंक पुगेको हो ।‘तत्कालका लागि ४५ सय साट्ने र त्यस लगत्तै थप सटही सुबिधा लागि कुटनितिक लबिङ बढाउँदा उपयुक्त हुने निष्कर्षसहित अघि बढेका छौं’, ढुंगानाले भने । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत नोभेम्बर ९ देखि एक हजार र पाँच सय दरका भारु कारोबार रोक लगाएको घोषणा गरेका थिए । कालोधन नियन्त्रण योजना अन्तर्गत मोदी सरकारले नोटबन्दीको घोषणा गरेको थियो । जसको असर नेपाल, भुटान लगायतका देशभा पनि परेको छ । नेपाल–भारत सम्झौता अनुसार दुबै देशका नागरिकले एक अर्काे देशको २५ हजार रुपैंयाँसम्म राख्न पाउने व्यवस्था छ । सोही व्यवस्था अनुसार नेपालले २५ हजार भारु सटही सुबिधा पाउनुपर्ने अडान राख्दै आएको छ । भारु सटहीबारे छलफल गर्ने नेपाली टोली एक पटक भारत गएको थियो भने भारतीय टोलीले २ पटक नेपाल आएर सघन छलफल गरिसकेको छ ।