अपाचे आरटिआरले देखायो १५० ग्राहकलाई मुभि
काठमाडाैं । अपाचे आर टि आरले २ सय ४ भि सिरिजका १५० ग्राहकलाई हलिउड स्पाइडर म्यान होम कमिङ मुभि देखाएको छ । जगदम्बा मोटर्सले आफ्नो १५० ग्राहकहरुको लागि मनोरञ्जन कार्यक्रमको रुपमा टि भि एस का पधादिकारीको साथमा यहि असार २९ गते लबिम मल स्थित क्यु एफ एक्स सिनेमाजमा उक्त सिनेमा देखाएको हो । कम्पनीले ग्राहकहरुको निरन्तर साथको कदर स्वरुप यस कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा फोटो सेसन तथा अन्तवार्ता मार्फत धेरै राम्रो प्रतिकृयाहरु संकलन गरिएको कम्पनीले जनाएकोे छ । जगदम्बा मोटर्सले ग्राहकको साथ र सन्तुष्टीका लागि यस्ता कार्यक्रम प्रत्येक महिना गर्दै जाने जानकारी दिएको छ ।
सनराइज बैंकको १ करोड ५६ लाख कित्ता हकप्रद सेयर बाँडफाँड, पूँजी ७ अर्ब नाघ्यो
काठमाडौं । सनराइज बैंकले १ करोड ५६ लाख ४६ हजार २९४ कित्ता हकप्रद सेयर बाँडफाँड गरेको छ । बैंकले असार १९ गते सम्म जारी गरेको हकप्रद सेयरमा आवेदन परेको सो मात्राको सेयर ७१,६१३ जना सेयरधनीहरुलाई बाँडफाँड गरेको हो । बैंकले सेयरधनीहरुका लागि दश शेयर बराबर तीन सेयर (१०: ३) को अनुपातमा प्रति सेयर मूल्य १०० रुपैयाँ अंकित दरको १ करोड ६३ लाख ५९ हजार ६३६ कित्ता हकप्रद साधारण सेयर निष्काशन गरिएको थियो । हकप्रद सेयर बाँडफाँड पश्चात बैंकको चुक्ता पूँजी ७ अर्ब २ करोड रुपैयाँ पुगेको छ । साथै गत आ.ब. २०७३/०७४ को मुनाफाबाट बोनस सेयर जारी गरी नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी न्यूनतम ८ अर्ब पुर्याउने लक्ष लिईएकोमा सो बमोजिम चुक्ता पूँजी कायम रहने बैंकले जनाएको छ ।
९० हजार पर्ने जमिन १३ लाखमा किनियो, आयल निगममा ७० करोेड घोटाला
काठमाडौं । ‘रोहीणी खोला किनारको प्रति कठ्ठा ९० हजार पर्ने जमिनलाई १३ लाख रुपैंयाँमा किनिएको छ, जनताले पुरै पैसा पाएका छैनन, त्यसको प्रमाण मसँग छ, म जनतालाई लाइन लगाएर बयान दिन लगाउँछु’, भैरहवाका सांसद अब्दुल रज्जाकले भने । उनको यो बयान नेपाल आयल निगमले खरिद गरेको जग्गामा भएको अनियमितताका सम्बन्धमा थियो । निगमले ९० दिनका लागि पुग्ने इन्धन भण्डारण गर्न भन्दै धमाधम जमिन खरिद गरिरहेको छ । तर जमिन अधिग्रहण गर्नुपर्ने मान्यतालाई सिधै चुनौती दिँदै टेण्डर मार्फत खरिद गरेर ७० करोड भन्दा बढि रकम घोटाला गरेको भन्दै सांसदहरुले छानबिन समिति बनाएका छन् । निगमले झापा, सर्लाही, चीतवन र भैरहवामा जमिन खरिद गरेको छ । निगमले अधिकतम तीन जनालाई टेण्डर गर्न लगाएर चलनचल्तीको मूल्य भन्दा सौयौं गुणा बढिमा जमिन खारिद गरेको हो । तर जग्गा धनीलाई भने थोरै पैसा मात्रै दिइएको प्रमाण आफुहरुसँग रहेको सांसदहरुले बताएका छन् । जमिन खरिद प्रक्रिया टेण्डर मार्फत नगर्न आफुले दिएको निर्देशन नेपाल आयल निगमका प्रमुख गोपाल खड्काले नटेरेको आपुर्ति सचिव प्रेम कुमार राईले पनि समितिमा बताएका थिए । ‘मैले टेण्डर मार्फत जमिन खरिद नगर्न भनेको थिएँ, तर निगमका प्रमुखले टेरेनन’, आपुर्ति मन्त्रालयका सचिव राईले समितिमा भने । अर्थ समितिले निगमको जमिन खरिद प्रक्रियामा भएको घोटाला छानबिन गर्न उप समिति गठन गरेको छ । उप समितिमा अब्दुल रजाक, इच्छाराज तामाङ, नरदेवी पुन र सिर्जना पुलामी लगायतका सदस्य रहेका छन् । उनीहरुले खरिद गरिएको जमिनको स्थलगत भ्रमण तथा खरिद प्रक्रियाको सम्पुर्ण कागजातको अध्ययन गरेर १५ दिन भित्र प्रतिवेदन बुझाउने समितिका सभापति प्रकाश ज्वालाले बताए । समितिले तयार पारेको छानविन प्रतिवेदनले दोषी ठहरिय कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय भएको पनि उनले जानकारी दिए । समितिको बैठकमा सांसदहरुले निगमले इतिहासकै सबै भन्दा ठुलो घोटाला काण्ड मच्चायन थालेको बताएका थिए । उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाले विगतका सबै भ्रष्टाचार काण्डहरुलाई उछिन्ने गरि निगमले नयाँ काण्डको आरम्भ गरेको बताउँदै अर्थ समितिले राज्य कोष जोगाउन कडा कदम चाल्नुपर्ने बताएका थिए ।
२७ सिट क्षमता भएको हाइगर मिनी बस नेपाली बजारमा
काठमाडौं । आर्क्स ग्रुप प्रा.लिले हाइगर बस कम्पनी लिमिटेडद्धारा निर्मित २७ सिट क्षमता भएको हाइगर मिनी बस नेपाली बजारमा ल्याएको छ । उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले मंगलबार एक कार्यक्रमका बीच उक्त बसको शुभारम्भ गरेका हुन् । कार्यक्रममा ग्रुपका प्रमुख कार्यकारी अधिकृत रजुल श्रेष्ठले हाइगर मिनी बस तथा उत्पादक कम्पनीबारे जानकारी दिँदै आयात गरिएको मिनी बसमा एसी हिटर, वाइफाई, रेफ्रिजेरेटर, टि.भि, साईड लगेज, आरामदायी सिटको व्यवस्था लगायतका विशेषता रहेको बताएका छन् । साथै उक्त बस सुविधायुक्त भएकोले लामो दुरी, अफिस, स्कुल तथा पर्यटन उद्योगमा धेरै रुचाइएको जानकारी दिइएको छ । चीनमा स्थापित हाइगर कम्पनीले वार्षिक रुपमा ३५ हजार भन्दा बढी बसहरु उत्पादन गर्ने क्षमता भएको विज्ञप्तिमा उल्लेख छ । साथै, उक्त कम्पनी कानुनी प्राबधानमा पनि प्रमाणित भएको हुनाले यस कम्पनीले १ सय भन्दा बढी मुलुकहरुमा विभिन्न मोडलका बसहरु निर्यात गर्दै आएको बताइएको छ । उक्त कम्पनीले विभिन्न सिट क्षमताका सिटी बस, एयरपोर्ट बस, स्कुल बसहरु उत्पादन गर्दै आउनुको साथसाथै नेपालको भौगोलिक स्वरुप अनुसारको भएको हुनाले नेपालमा लोकप्रिय बन्दै आएको कम्पनीले जनाएको छ ।
ल्याण्डलाइन फोनको पूरक सेवा लिँदा लाग्ने शुल्क हट्यो, टेलिकमद्धारा सबै सेवा निःशुल्क
काठमाडौं । नेपाल टेलिकमले ल्याण्डलाइन टेलिफोन सेवाका विभिन्न पूरक सेवाहरु लिदा लाग्ने शुल्क हटाएको छ । यी सबै सुविधा लिदा पहिले केही शुल्क लाग्दै आएकोमा गत साउन १ देखि ती सुविधा निःशुल्क रुपमा उपलब्ध गराउन थालिएको छ । ल्याण्डलाइन टेलिफोनमा कसैले कल गरेकोमा कलरको नम्बर देखिने सुविधा (कलर आईडी) लिनका लागि सुरुमा शुल्क लाग्दै आएकोमा अब यो निःशुल्क भएको छ । त्यसैगरी आइएसडी सेवा आफैले बन्द गर्न र खोल्न सकिने, बारम्बार डायल गर्नुपर्ने नम्बरलाई कुनै दुई अंकमा सेभ गरी सोही दुई अंक थिची नम्बर डायल गर्न सकिने र एउटामा आउने सम्पूर्ण कल अर्को नम्बरमा डाइभर्ट हुने सुविधा पनि सोही मिति देखि निःशुल्क भएको छ । त्यसैगरी टेलिफोन ब्यस्त हुँदा आउने कल अर्को नम्बरमा डाइभर्ट हुने, ६ पटकसम्म घण्टी बजेर पनि फोन नउठेमा अर्को नम्बरमा डाइभर्ट हुने, आवश्यक पर्ने समयमा अलार्मको रुपमा टेलिफोनमा घण्टी बजाउन वा समय सूचकको रुपमा प्रयोग गर्न सकिने वेक अप कल र टेलिफोनमा कुरा भइरहेको बेला अर्को कल आएको थाहा पाउन प्रयोग गरिने कल वेटिङ सुविधा पनि निःशुल्क लिन सकिने भएको छ । टेलिफोन सेटमा आफूले राखेको लकिङ कोड आफैले टेलिफोन सेटबाट परिवर्तन गर्दा समेत अब शुल्क नलाग्ने भएको छ । कलर आईडी सुविधा लिनका लागि दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नुपर्छ । अन्य सुविधा भने ग्राहकले आफै नै लिन सकिन्छ । यसका लागि कम्पनीले विभिन्न कोडको व्यवस्था गरेको छ । यसका लागि नजिकको दूरसञ्चार कार्यालयबाट थप जानकारी लिन कम्पनीले आग्रह गरेको छ ।
कृषि विकास बैंक संसदिय समितिको छानबिनमा, २८ वटा कर्जा र जग्गा बेचेको फाइल तानियो
काठमाडौं । कृषि विकास बैंकको जग्गा बेच्ने निर्णय र २८ वटा कर्जा संसदिय छानबिनमा तानिएको छ । व्यवस्थापिका संसदको अर्थ समितिले झापाको जमिन बेच्ने निर्णय सम्बन्धी काजगाजत र २८ वटा कर्पाेरेट कर्जाको फाइल मगाएको हो । ‘झापाको धुलाबारीमा रहेको जमिन बेच्ने प्रक्रियाको फाइल र २८ वटा कर्जाको फाइल तीन दिन भित्र पठाउन निर्देशन दिएका छौं’, अर्थ समितिका सभापति प्रकाश ज्वालाले भने । कृषि विकास बैंकले झापाको धुलाबारीमा रहेको सात बिगाह जमिन तथा त्यसमा रहेको भौतिक संरचना ५७ करोडमा बेच्ने निर्णय गरेको थियो । करिब एक अर्ब पर्ने जमिनलाई आन्तरिक सेटिङ गरेर बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले आधा मुल्यमा बेचेको भन्दै अर्थ समितिमा उजुरी परेको थियो । बैंकका कर्मचारी तथा सेयरधनीहरुका तर्फबाट हालिएको उजुरीमा प्यान नम्बर समेत नभएको व्यक्तिलाई जमिन बेचेर सिटौलाले ५० करोेड भन्दा बढि नोक्सानी पुर्याएको आरोप लगाइएको छ । उजुरीमाथीको छलफलमा बोल्दै काँग्रेस सांसद जगदिश्वर नरसिंह केसीले अदालतमा विचाराधिन अवस्थमा रहेको मुद्धा र नेपाल राष्ट्र बैंकको निर्देशन समेत उल्लघंन गर्दै सिटौलाले ५० करोड भन्दा बढि रकम घोटाला गरेको आरोप लगाए । त्यस्तै, सिटौलाले ३२ जना ऋणीलाई जारी गरेको ४० करोड ऋणमध्ये २८ जनाको ३५ करोड ऋण उठ्नै नसक्ने अवस्थामा पुगेको पनि उजुरीमा भनिएको छ । सांसद केसीले सिटौलाकै हस्ताक्षरमा सो कर्जा प्रवाह भएको र कमसल धितो स्विकार गरिएकाले उनलाई कारवाही हुनुपर्ने बताए । सिटौलाले आफ्नै नेतृत्वमा जारी गरिएको कर्जा नउठ्ने भएपछि गर्न जुनियर अधिकृतको नेतृत्वमा समिति बनाएर त्यसलाई ढाकछोप गर्न लागेको आरोप पनि उनले लगाए । अर्थ समितिले ३ दिन भित्रै जमिन बेच्ने प्रक्रियाको सम्पुर्ण फाइल तथा कर्जा प्रवाहको फाइल बुझाउन निर्देशन दिएको हो ।
सेयर बजारमा एक अर्ब २१ करोडको कारोबार, ५ कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी
काठमाडौं । सेयर बजारमा एकै दिन एक अर्ब २१ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको कारोबार भन्दा करिब ५१ करोड रुपैयाँले बढी हो । अघिल्लो दिन(सोमबार)को बजारमा जम्मा ६९ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । मंगलबार १५५ कम्पनीको १९ लाख ३५ हजार कित्ता सेयर किनबेच भएको छ । सोमबारको तुलनामा मंगलबारको बजारमा नेप्से र कारोबार रकम दुबैमा सुधार भएको छ । मंगलबारको बजारमा नेप्से परिसूचक ३४ अंकले बढेर १६३८ अंकमा पुगेको छ भने २ दशमलब १४ प्रतिशतले उकालो लागेको छ । मंगलबारको बजारमा ५ वटा कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी (करिब १० प्रतिशत) कमाएका छन् । सबैभन्दा बढी हिमालयन डिष्टीलरी लिमिटेडको सेयर मूल्य प्रतिकित्ता ९ दशमलब ९९ प्रतिशतले बढेको छ । त्यस्तै, एनबी इन्स्योरेन्स कम्पनी, कुबेर मर्चेन्ट फाइनान्स, राष्ट्रिय बीमा कम्पनी र प्रोगेसिभ फाइनान्सको सेयर मूल्य क्रमशः ९.९३, ९.९३, ९.३१ र ९.१८ प्रतिशतले बढेको छ । त्यसैगरी, कारोबार समूहका अधारमा सबै समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ४१६ अंकले बढेको छ । त्यस्तै, अन्य समूहको परिसूचक सामान्य अंकले उकालो लागेको छ भने मंगलबार कारोबार भएका बाँकी समूहको परिसूचक दोहोरो अंकले उकालो लागेका छन् । बजारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन कम्पनीको ९ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ भने बजारमा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२७३ रुपैयाँ रहेकोे छ ।
मुक्तिनाथ विकास बैंकलाई ४० प्रतिशत हकप्रद निष्काशन गर्न बोर्डको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ विकास बैंकलाई ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई ६१ करोड ७० लाख रुपैयाँ बराबरको ६१ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो । कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकका रुपमा एनआइबिएल क्यापिटल रहेको छ ।