अनलाइन प्रक्रियासँगै वैदेशिक लगानीमा वृद्धि
काठमाडौं। उद्योग विभागबाट अनलाइन प्रक्रिया शुरु गरेसँगै वैदेशिक लगानीमा वृद्धि हुँदै गएको विभागले जनाएको छ । उद्योग विभागले माघ २ गतेदेखि अनलाइन प्रक्रियाबाट विदेशी लगानी स्वीकृत, भिषा सिफारिश र उद्योग दर्ता शुरु गरेसँगै विदेशी लगानी बढेको हो । विभागले सोमबार आयोजना गरेको ‘अनलाइन प्रक्रिया र प्रतक्ष्य विदेशी लगानी’ सम्बन्धी सेवाग्राहीसँग गरेको छलफलमा उद्योग मन्त्रालयका सचिव शंकरप्रसाद कोइरालाले मुलुकमा औद्योगिक वातावरण सिर्जना गर्न नीतिगत, संस्थागत र प्रक्रियागत सुधार भइरहेको बताए । “औद्योगिक व्यवसाय ऐन, विशेष आर्थिक क्षेत्र ऐन, कम्पनी ऐन, पेट्रोलियम अन्वेषण नीति, खानीसम्बन्धी नीतिलगायतले देशमा औधोगिक वातावरण निर्माण गर्न सहयोग पुगेको छ,”- सचिव कोइरालाले भने । प्रत्यक्ष विदेशी लगानीसम्बन्धी विद्येयक निर्माण गर्न मन्त्रालय लागेको उनको भनाइ थियो । उद्योग विभागका महानिर्देशक शंकर अर्यालले अनलाइन प्रक्रियाले उद्योग दर्ता प्रक्रियामा सहज भएकाले यसलाई अझ सहज बनाउन विभाग लागेको बताए । “उद्योग दर्ता सहज गराउन डिजिटल हस्ताक्षर लागू गर्ने प्रक्रियामा विभाग लागेको छ,”-महानिर्देशक अर्यालले भने । नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग समिति संयोजक अन्जन श्रेष्ठले दर्ता प्रक्रिया सहज भएसँगै उद्योग क्षेत्रमा लगानी बढेको भन्दै मुलुकमा रोजगारीको वातावरण सिर्जनामा यसले सहयोग पुग्ने बताए ।
राष्ट्रपतिद्धारा बाढीपीडितलाई आफ्नो एक महिनाको तलब सहयोग
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी पहिरोपीडितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी प्रदान गरेकी छिन् । राष्ट्रपतिको कार्यालयका अनुसार सोही कोषमा जम्मा हुने गरी राष्ट्रपतिका विज्ञहरुबाट सात दिनको, सचिव, स्वकीय सचिवसमेतबाट पाँच दिनको, सहसचिवहरु, स्वकीयसमेतबाट तीन दिनको, उपसचिव तथा शाखा अधिकृतहरु स्वकीयसमेतबाट दुई दिनको र सहायकस्तरका सबै कर्मचारीहरु स्वकीयसमेतबाट एक दिनको तलब उक्त कोषमा जम्मा गरिएको छ । रासस
बिजुलीको बिल असुल्न छानिए ६ कम्पनी, निःशुल्क महसुल उठाइ दिने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बिजुलीको महशुल असुल्न ६ वटा कम्पनीलाई चयन गरेको छ । बिजुलीको महसुल बुझाउन उपभोक्ताले प्राधिकरणको कार्यालयसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य गर्दै सोमबार उर्जा मन्त्री महेन्द्र बहादुर शाहीले अनलाईन पेमेन्टको आरम्भ गरेका हुन् । सुरुमा उपत्यकाका तीन जिल्लामा पाइलट प्रोजेक्टका रुपमा अघि सारिएको अनलाईन पेमेन्ट आगामी २ हप्तापछि नै उपत्यका बाहिर पनि विस्तार गरिनेछ । पाइलट प्रोजेक्टका रुपमा सुरु गरिएको अनलाईन पेमेन्टको काम गर्न ६ वटा कम्पनीसँग सम्झौता भैसकेको छ र ती कम्पनीहरुले सोमबारदेखि नै महसुल संकलन थालिसकेका छन् । ईसेवा, प्रभु बैंक, सिएफएस रेमिट, पे पोइन्ट नेपाल, महालक्ष्मी विकास बैंक र सिटी मनि ट्रान्सफरले अनलाईनबाट विजुलीको महशुल संकलन आरम्भ गरेका हुन् । हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र । नेपाल क्लियरिङ हाउससँग भने केहि दिनमै सम्झौता हुनेछ । यी कम्पनीहरुले पाइलट प्रोजेक्ट अवधीभर सेवा शुल्क बिनै महशुल संकलन गर्नेछन् ।‘अहिलेका लागि उपभोक्ताले पनि सेवा शुल्क तिर्नु पर्दैन भने प्राधिकरणका लागि पनि कुनै आर्थिक भार पर्दैन, पाइलट प्रोजेक्टको सफलतापछि सेवा शुल्कबारे छलफल गर्छाै’, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने ।
नेप्से परिसूचक ६ अंकले झर्यो, ५२ करोडको सेयर कारोबार
काठमाडौं । सोमबारको नेप्से परिसूचक ६ दशमलब ४० अंकले घटेर १६११ अंकमा झरेको छ । सो दिन परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । बजारमा जम्मा ५२ करोडको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा करिब २७ करोड रुपैयाँ घटी हो । अघिल्लो दिन आइतबार बजारमा ७९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आइतबार १५४ कम्पनीको २६ लाख ८७ हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी प्राइम लाइफ इन्स्योरेन्सको सेयर कारोबार भएको छ । इन्स्योरेन्सको एकैदिन ७ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । १६० प्रतिशत हकप्रद निष्काशन घोषणा सँगै सोमबार कम्पनीको बढी मात्रामा सेयर कारोबार भएको हो । बजारमा अन्य समूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ७५ अंकले ओरालो लागेको छ । त्यस्तै, उत्पादनमूलक समूहको परिसूचक १८ अंकले ओरालो लागेको छ भन् बाँकी समूहको परिसूचक सामान्य अंकले झरेका छन् । अन्य समूहको परिसूचक सामान्य ०.५७ अंकले उकालो लागेको छ ।
मूल्यवृद्धि लक्ष्य भन्द कम, साढे ४ प्रतिशतमा सीमित
काठमाडौं । गत आर्थिक वर्ष ०७३/०७४ मा वार्षिक औसत उपभोक्ता मूल्यवृद्धि लक्ष्य भन्दा कम भएको छ । गत आवमा उपभोक्ता मूल्यवृद्धि ४.५ प्रतिशतमा सीमित भएको छ । अघिल्लो वर्ष मुद्रास्फीति ९.९ प्रतिशत थियो । आर्थिक वर्ष ०६१/०६२ पछि पहिलो पटक वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.५ प्रतिशतमा झरेको हो । गत आवमा उपभोक्ता मूल्यवृद्धि साढे ७ प्रतिशत हुने अनुमान विपरित घटेको हो । अघिल्लो वर्षको आधार मूल्यको प्रभाव, आपूर्ति व्यवस्थापन आएको सुधार एवम् भारत लगायत विश्वव्यापी रुपमै न्यून मूल्यवृद्धिको प्रभावका कारण समीक्षा वर्षमा उपभोक्ता मुद्रास्फीतिमा कमी आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । ०७४ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.७ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति १०.४ प्रतिशत रहेको थियो । उक्त वार्षिक विन्दुगत मुद्रास्फीति २०६१ कार्तिकपछि न्यूनतम हो । समीक्षा वर्षमा घिउ तथा तेल, दलहन तथा गेडागुडी, तरकारी, यातायात लगायतका समूहको वार्षिक औसत मूल्यमा कमी आएकोले समग्र उपभोक्ता मुद्रास्फीति न्यून रहन गएको हो । समीक्षा वर्षमा खाद्य तथा पेय पदार्थ समूह र गैर-खाद्य तथा सेवा समूहको मूल्य सूचकाङ्कको औसत वृद्धिदर क्रमशः १.९ र ६.५ प्रतिशत छ । अघिल्लो वर्षमा यी समूहहरुको मूल्य सूचकाङ्कको औसत वृद्धिदर क्रमशः १०.९ र ९.२ प्रतिशत थियो । घिउ तथा तेलको मूल्यमा ६, दलहन तथा गेडागुडीको मूल्यमा ५.५ र तरकारीको मूल्यमा २.५ प्रतिशत कमी आएकोले समग्र खाद्य मुद्रास्फीति न्यून रहन गएको हो । क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा वर्षमा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति पहाडमा ६.४, तराईमा ४.४, हिमालमा ४.१ र काठमाडौं उपत्यकामा ३.१ प्रतिशत रहेको छ । गत आवमा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति भारतमा ३.४ प्रतिशत र नेपालमा ४.५ प्रतिशत रहेकोले यी दुई मुलुकबीचको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति अन्तर १.१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष नेपाल तथा भारतमा यस्तो मुद्रास्फीति क्रमशः ९.९ र ५.२ प्रतिशत रहेकोले वार्षिक औसत उपभोक्ता मुद्रास्फीति अन्तर ४.७ प्रतिशत थियो ।
कृषि क्षेत्रमा एक अर्ब ८३ करोडभन्दा बढी क्षति, बाढी पीडित किसानद्धारा राहतको माग
वीरगञ्ज । हालै आएको बाढी पहिरो तथा प्राकृतिक प्रकोपका कारण पर्सा र बारा जिल्लाका करिब एक अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बालीनाली क्षति भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार हालै आएको वर्षा तथा बाढीका कारण पर्सा जिल्लामा १० हजार १०० हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट हुँदा २८ करोड ८७ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको क्षति भएको छ । साथै, एक करोड रुपैयाँ मूल्य बराबरको ५० हेक्टर क्षेत्रफलमा लगाइएको तरकारीबाली तथा १५ करोड ७५ लाख रुपैयाँ मूल्य बराबरको २२५ हेक्टर क्षेत्रफलमा रहेको माछा पोखरीमा क्षति भएको छ । पर्सा जिल्लामा बाढी र वर्षाका कारण जिल्लामा ४५ करोड ६२ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको धानबाली, तरकारी, माछा र पोखरी नष्ट भएको प्रमुख वीरेन्द्रकुमार सिंहले बताए । यसैगरी सो अविरल वर्षा र बाढीबाट बारा जिल्लामा एक अर्ब ३८ करोड १६ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको बालीनाली क्षति भएको छ । पर्सा जिल्ला कृषि विकास कार्यालयका अनुसार सो बाढीबाट तीन हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली, एक हजार हेक्टर क्षेत्रफलमा रहेको तरकारीबाली र ५०० हेक्टर क्षेत्रफलमा रहेको माछा नष्ट भएको वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले बताए। बाढीबाट पीडित किसानले सरकारसँग अविलम्ब राहतको व्यवस्था गर्न माग गरेका छन् । रासस
करको दायरा बढाउँदा २ लाख नयाँ करदाता थपिए
काठमाडौं । सरकारले कर प्रशासनमा सुधार गरी दायरा बढाएपछि एक वर्षमा झण्डै २ लाख नयाँ करदाता थपिएका छन् । गत आर्थिक वर्ष ०७३/०७४ मा १ लाख ९२ हजार ७८६ नयाँ करदाता थप भएका छन् । यो समेत गरी मुलुकभर करको दायरामा आउनेको संख्या १६ लाख २३ हजार २३१ पुगेको अर्थ मन्त्रालयले जनाएको छ । अघिल्लो आवमा १४ लाख ३० हजार ४४५ करको दायरामा थिए । कुल जनसंख्याको झण्डै ६ प्रतिशत हारहारीमा मात्र करको दायरामा आएको सरकारी तथ्याँक छ । पछिल्लो ५ वर्षयता मदिरा र चुरोटजन्य बाहेक अन्य बस्तुको कर नीतिमा खासै परिवर्तन नगरी दायरा विस्तारमा जोड दिएकाले करदाताको संख्या थप भएको हो । पछिल्लो समय प्रशासनमा सुधार र दायरा विस्तारले कर असुली लक्ष्य भन्दा बढी हुन थालेको छ । गत आर्थिक वर्ष ०७३/०७४ मा सरकारले लक्ष्य ४७ अर्ब रुपैयाँ बढी कर असुली गरेको छ । गत आवमा सरकारले ५ खर्ब ६५ अर्ब ८९ करोड ६५ लाख रुपैयाँ कर असुलीको लक्ष्य निर्धारण गरेकोमा आव अन्त्यसम्म ६ खर्ब ११ अर्ब ७६ करोड ७८ लाख रुपैयाँ असुली भएको छ । चाल आवमा सरकारले ७ खर्ब ३० अर्ब ५ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । पछिल्लो समयमा करधारको विस्तार र कर प्रणाली सुध्रिढीकरण हुदै गएको छ । करको दायरा विस्तार, कर परिपालनाको स्तरमा अभिवृद्धि, राजश्व प्रशासनमा प्रविधि उन्मुख सेवाको विकास र विस्तार, चुहावट नियन्त्रण र प्रशासकीय सुधारबाट लक्ष्य भन्दा बढी राजश्व संकलन भएको हो । ५ वर्षयता राजश्व प्रशासनमा भएकाले सुधारले वार्षिक राजश्व दर २७ प्रतिशतसम्म वृद्धि भएको छ ।
सिद्धार्थ बैंकको नयाँ शाखा प्युठानको जुम्रीमा
काठमाडौं । सिद्धार्थ बैंकले सोमबार प्युठानको जुम्रीमा आफ्नो नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले सो शाखा कार्यालय मार्फत् सम्पुर्ण बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको छ । हालै सञ्चालनमा आएको नयाँ शाखा सहित बैंकले हाल देशभर रहेका ७६ शाखा, २ एक्स्टेन्सन् काउन्टर, ९८ एटिएम, ७० शाखारहित बैंकिङ्ग सेवा र ४५० भन्दा बढी पिओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।