विकासन्युज

लुम्बिनी जनरल इन्स्योरेन्सले बोलकबोलबाट हकप्रद बिक्री गर्दे

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर प्रतिस्पर्धाबाट बिक्री गर्ने भएको छ । बिक्री नभएर बाँकी रहेको ४२ हजार ८१५ कित्ता हकप्रद सेयर बिक्रीका लागि कम्पनीले बिहीबार बोलपत्र आब्हान गरेको छ । बोलपत्र पेश गर्ने अन्तिम मिति असोज ६ गते तोकेको कम्पनीले जनाएको छ । कम्पनीले असार ३० देखि भदौ १ गतेसम्म हकप्रद बिक्री खुला गर्दा बिक्री नभएपछि बोलकबोलबाट बाँकी हकप्रद सेयर बिक्री गर्न लागेको हो । कम्पनीले चुक्तापूँजी बढाउन हकप्रद निश्कासन गरेको हो । चालु आर्थिक वर्षभित्र कम्पनीले चुक्तापुँजी बढाएर १ अर्ब रुपैयाँ पुर्याउनु पर्ने छ ।

नेपाल क्लियरिङको असोज ६ गते साधारणसभा हुने, २० प्रतिशत नगद लाभाँश २० प्रतिशत बोनस सेयर दिने

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको छैठौ वार्षिक साधारणसभा असोज ६ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २० प्रतिशत नगद लाभाँश दिने प्रस्ताव पेश गर्ने भएको छ । यस्तै कम्पनीले २० प्रतिशत बोनस सेयर दिने भएको छ ।

अरुणभ्याली हाइड्रोपावरको साधारणसभा भदौ ३० गते, १० प्रतिशत बोनस सेयर दिने

काठमाडौं । अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २० औ वार्षिक साधारणसभा भदौ ३० गते हुने भएको छ । साधारणसभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभाँश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । सभाले नयाँ सञ्चालकको पनि चयन गर्ने छ ।

एनएलजी इन्स्योरेन्सको सीईओमा कृष्णप्रसाद शर्मा नियुक्त

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णप्रसाद शर्मा नियुत्त भएका छन् । कम्पनी सञ्चालक समितिले शर्मालाई ४ वर्षका लागि नियुत्त गरी सहमतिका लागि बीमा समिति पठाएको छ । राष्टिय वाणिज्य बैंकमा पूर्व  सीईओ शर्मासँग नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा  १२ वर्ष र एनएजीमा ४ वर्ष सञ्चालक समितिमा अध्यक्षा तथा सञ्चालक रहेर काम गरेकाे अनुभव छ । शर्मालार्इ सीर्इअाेमा नियुक्त गर्ने प्रक्रिया अगाडि बढेकाे र बीमा समितिकाे सहमति अाउन बाँकी रहेकाे कम्पनीकाे अध्ययक्ष विमलप्रसाद वाग्लेले बताए । बीमा कम्पनीकाे सीर्इअाे बन्नकाे लागि शर्माकाे याेग्यता पुगेकाे तर कम्पनीकाे तर्फबाट बुझाउनु पर्ने केही कागजपत्र नपुगेकाेले सहमति दिन केही ढिला भएकाे बीमा समिति स्राेतले बतायाे ।

पिके हाइड्रोपावरमा रुसको पाँच अर्ब लगानी स्वीकृति

  काठमाडौ । ३० मेगावाट क्षमताको पिके हाइड्रोपावर प्रालिमा रुसले  ५ अर्ब १० करोड रूपैयाँ लगानी गर्ने भएको छ ।  उद्योग मन्त्रालयअन्तर्गतको उद्योग लगानी तथा प्रवद्र्धन बोर्डको बुधबार बसेको बैठकले उक्त आयोजनामा रुसको लगानीलाई स्वीकृति दिएको उद्योग विभागका महानिर्देशक शंकर अर्यालले जानकारी दिए । पिके हाइड्रोपावर रामेछाप, ओखलढुंगा र दोलखाको सिमानामा पर्ने लिखु खोलामा अवस्थित छ ।  उद्योग मन्त्रालयको समेत जिम्मेवारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बोर्ड बैठकमा विदेशी लगानी प्रोत्साहन गर्ने, स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्ने तथा उद्योग क्षेत्रमा सुधार गर्ने जस्ता नीतिका बारेमा समेत छलफल भएको थियो । उद्योगमन्त्रीको अध्यक्षतामा रहने बोर्डमा सम्बन्धित मन्त्रालयका सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, राष्ट्रिय योजना आयोगका सदस्य, निजी क्षेत्रको व्यावसायिक संगठनका प्रतिनिधिलगायत करिब दुई दर्जन सदस्य छन्र । बोर्डले २ अर्ब रुपैयाँभन्दा बढीको विदेशी लगानीलाई स्वीकृति दिने गर्दछ । नेपालमा आर्थिक वर्ष २०७३/७४ सम्म जम्मा चार हजार ७५ उद्योगमा  २ खर्ब १२ अर्ब ८३ करोड ८५ लाख विदेश लगानी भएको छ । विसं २०७३ असार मसान्तसम्म मुलुकभर ७ हजार ७३ उद्योग दर्ता भएका छन् । रासस

दशैतिहारमा आइफोनको उपहार, चाँदीको सिक्का

काठमाडौं । जेनेरेसन नेक्स्ट कम्यूनिकेसन्स्ले आइफोनको मूल्य सार्वजनिक गरेको छ ।  कम्पनीले आइफोनको मूल्य न्युनतम साढे ३२ हजारदेखि साढे ९५ हजार रुपैयाँसम्म तोकेको छ । कम्पनीले आईफोन ५ को साढे ३२ हजार र आइफोन ७ को ९५ हजार ५ सय रुपैयाँ तोकेको छ । दशैं र तिहारको अवसर पारेर, ग्राहकहरुले प्रत्येक आइफोनको खरिदमा चाँदीको सिक्का उपहार प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । दशैं र तिहारको अवसर पारेर म्याक बुककोे खरिदमा विशेष छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ । प्रत्येक महिना एक जनाभाग्यशाली बिजेताले स्कूटर लक्की ड्रमार्फत जित्न सक्ने छन् । यसका अतिरिक्त प्रत्येक आइफोन÷म्याकबुकको खरिदमा, ग्राहकहरुले प्लाटिनम होटलमा निःशुल्क डिनर टिकट प्राप्त गर्ने छन् । यो अफरमा सहभागी हुन ग्राहकहरुले वेबसाइटमा आइएमइआइ नम्बर दर्ता गर्नुपर्ने छ ।

बिजुली महसुल घटाएर पनि प्राधिकरण नाफामा जान्छ ः ऊर्जामन्त्री

काठमाडौं । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले विद्युतको महशुल घटाएर पनि नेपाल विद्युत प्राधिकरणलाई फाईदामा लैजान सकिने बताएका छन् । उनले विद्युतको महशुल बढाएर मात्र फाईदा हुने तर्क उपयुक्त नभएको बताउँदै चुहावट नियन्त्रण , बिद्युतको गुणस्तर बृद्धि , प्रसारणलाईन र ट्रान्सर्फमरको सही सदुपयोग लगायतका क्रियाकलाप गरेर प्राधिकरणलाई फाईदामा लिन सकिने उनको भनाई छ । विद्युतको महशुल बृद्धि हुन रोकेर ठुलो सहयोग गरेको भन्दै बधाई तथा धन्यवाद दिन मन्त्रालय पुगेका उद्योग बाणिज्य महासंघका प्रतिनिधिसंग छलफल गर्दै मन्त्री शाहीले चुहावट नियन्त्रणको अभाव , पुरानो प्रबिधि र तारको प्रयोग , ट्रान्सफर्मरको दुरुपयोगले विद्युत प्राधिकरण घाटामा गएको बताए । उद्योग बाणिज्य महासंघका प्रतिनिधिले उद्योग धन्दामा नियमित विद्युतको आपुर्तीमा समस्या भएको , विद्युतको गुणस्तर बृद्धिमा ध्यान दिनुपर्ने , पटक पटक विद्युत आउने र जाने गर्नाले उद्योग धन्दामा प्रयोग भएका विद्युतीय सामाग्रीमा असर पर्ने गरेको जस्ता समस्याहरु संबोधन गर्नुपर्ने माग गरेका थिए ।

भृकुटीमण्डपमा बिहीबारदेखि यामाहा महामेला, टेस्ट राइड गर्नेले म्याकबुक जित्ने अवसर

काठमाडौं । भृकुटीमण्डपमा बिहीबारबाट चारदिने यामाहा महामेला सुरु हुने भएको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजको आयोजनामा हुने महामेला भाद्र २२ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ । मेलामा पुराना बाइकको बेस्ट भ्यालुएसन र एक्सचेन्ज, नयाँ बाइकको स्पट फाइनान्सिङ, निशुल्क सर्भिसिङ र स्पेयर्स पार्टस् तथा इन्जिन ओइलमा विशेष छुट लगायत अन्य मनोरञ्जनात्मक कार्यक्रम हुने कम्पनीले जनाएको छ । महामेलामा ग्राहकले आफ्नो पुराना बाइक र स्कुटरको सर्वोत्कृष्ट मूल्यांकन पाउनेछन् । यसका लागि नेपालकै प्रतिष्ठित २० वटा रिकन्डिसन हाउसको सहभागिता मेलामा हुनेछ । साथै, पुराना दुईपांग्रेसँग नयाँ साट्न चाहनेहरुका लागि २० प्रतिशत डाउन पेमेन्टमै स्पट फाइनान्सिङको व्यवस्था मेलामा प्रसिद्ध बाइकर्सहरुको स्टन्ट सो, सेलिब्रिटी वाक–इन, बी–बोइङ, डान्स, फ्रि लाइसेन्स ट्रायल, ट्स्ट राइड, ड्रइङ कम्पिटिसन र फुड स्टल पनि हुनेछन् । परिवारसहित महामेलामा सहभागी हुनेलाई आकर्षक उपहारको पनि व्यवस्था गरिएको छ । साथै, यामाहा बाइक वा स्कुटरको टेस्ट राइड गर्नेले ब्रान्ड न्यु म्याकबुक जित्ने अवसर पाउनेछन् । यामाहाले सबै उमेर र क्षेत्रका राइडरहरुका लागि उपयुक्त हुने बाइक र स्कुटरको रेन्ज नेपाली बजारमा विक्री गर्दै आएको छ । स्कुटरमा फेसिनो, रे जेडआर र रेजी उपलब्ध छन् भने स्टाइल सेग्मेन्टमा सलुटो र एसजी आरआर छन् । त्यसैगरी, प्रिमियम सेग्मेन्टमा एफजी एफआई र एफजी–एस एफआईलाई निकै रुचाइएको छ र रेसिङ सेग्मेन्टमा निकै लोकप्रिय आर१५ र आर३ छन् । एमएडब्लुले केही साता अघि मात्र २५० सीसीको रहेको ‘ग्याप’लाई पुर्ति गर्दै एफजी२५ स्ट्रिटफाइटर नेपाली बजारमा ल्याएको थियो । एफजी२५को उच्च मागले नेपाली युवा राइडर यसको पावर र पर्फमेन्सबाट प्रभावित भएको कम्पनीले दाबी गरेको छ ।