विकासन्युज

सामसङ फोरजी स्मार्टफोनको खरिदमा होम अप्लाइन्सहरु घर लैजान सकिने

image description काठमाडौं । सामसङ नेपालले चाडपर्वलार्ई लक्षित गर्दै उत्सवको उमंग सामसङसँग परिवार दङ्ग योजना प्रस्तुत गरेको छ । कम्पनीले यस योजना अन्तर्गत सामसङको हरेक फोरजी स्मार्ट फोनका खरिदमा सामसङका विभिन्न सामानहरुको एक सेट होम अप्लाइन्सहरु घर लैजान मिल्ने व्यवस्था ल्याएको छ । भदौ १६ गते देखि कार्तिक १ गते सम्म लागू हुने यो योजनामा बिजेतालाई भाद्र २२ गतेदेखि असोज १० गतेसम्म र असोज १८ गतेदेखि कार्तिक १ गते सम्म ३५ दिन लगातार छनौट गर्ने भएको छ । दैनिक एक जनाको दरले ३५ जना भाग्यशाली व्यक्तिले सामसाङ होम अप्लाइन्सहरु घर लैजान पाउनेछन् । यस्तो सेटमा ४० इन्चको स्मार्ट टिभि, डबल डोर रेफ्रिजेरेटर, पूर्ण अटोमेटिक फ्रन्डलोड वासिङ मेसिन, माइक्रो वेभ ओभन तथा भ्याक्युम क्लिनर रहने कम्पनीले जानकारी दिएको छ । यस योजनामा सहभागी हुन मोबाइलको मेसेज बक्समा गई एसएएमएसएयुएनजी(सामसुङ) टाइप गरी स्पेस दिई नयाँ फोरजी मोबाइल सेटको ११ अंकको सिरियल नम्बर राखी ३७७२२ मा पठाउनु पर्दछ । एसमएस पठाइ सकेपछि सिस्टमले दर्ता भएको जानकारी एसएमएसबाटै ग्राहकलाई दिइने छ । यसरी दर्ता भएका नम्बरहरुबाट एक जनालाई विजेताका रुपमा छनौट गरिने छ । लक्की ड्रको प्रक्रियालाई सामसङको आधिकारिक फेसबुक पेजमा देखाइने छ । लक्की ड्रको अतिरिक्त १सय वा १ हजार रुपैयाँको पक्का मोबाइल रिचार्ज पनि प्राप्त हुने छ ।    

इन्भेष्टमेन्ट बैंकलाई धितोपत्र बोर्डको तीन दिने स्पष्टिकरण

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल इन्भेष्टमेन्ट बैंकसँग तीन भित्र स्पष्टिकरण मागेको छ । बैंकले लाभांश वितरण सम्बन्धी निर्णयको गलत सूचना प्रवाह गरेर सेयर बजार प्रभावित गरेको भन्दै बोर्डले तीन दिन भित्र स्पष्टिकरण बुझाउन पत्र काटेको हो ।‘नेपाल इन्भेष्टमेन्ट बैंकले लाभांश सम्बन्धी गलत सूचना प्रवाह गरेर सेयर बजारलाई प्रभावित पारेको देखियो, तीन दिन भित्र स्पष्टिकरण बुझाउन भनेका छौं’, बोर्डका प्रवक्ता निरज गिरीले विकासन्युजसँग भने । बोर्डले बैंकलाई बुधबार नै पत्र लेखेर तीन दिनभित्र स्पष्टिकरण बुझाउन भनेको हो । उनले सेयर बजारलाई प्रभावित पार्ने सूचना प्रवाह गर्नुलाई टाइपिङ इरोर मात्रै मान्न नसकिने पनि स्पष्ट पारे । ‘सेयर बजारलाई नै प्रभावित पार्ने निर्णयको प्रचारलाई टापिङ इरोर मात्रै हो भन्न सकिन्न,  हामी गम्भिर भएका छौं’, बोर्डका प्रवक्ता गिरीले भने । बैंकले भदौं २१ गते बैठक राखेर लाभांश सम्बन्धी निर्णय सच्याउँदै १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो । बैंकले अघिल्लो निर्णयमा टाइपिङ बिग्रिएको दावी समेत गरेको छ । गलत सूचना दिएर सेयर बजारलाई प्रभावित पार्नेलाई १ लाखदेखि ३ लाखसम्म जरिवाना वा २ बर्षसम्म कैद वा दुबै सजाय हुने प्रावधान रहेको छ । सेयर बजार कानुनका जानकार ज्योति दाहालले गलत सूचनाको उत्पादन र प्रवाहमा संलग्न कम्पनी सम्बद्ध व्यक्तिहरुलाई आजिवन सूचिकृत कम्पनीका लागि आयोग्य घोषित गरिनुपर्ने बताए ।  

एनसेलको फोरजी सेवा शुल्क घट्यो, इन्टरनेट प्रति एमबि २ पैसा भन्दा कममा

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले छिटो चल्ने इन्टरनेट सेवा  सस्ताेमा प्रदान गर्न नयाँ डेटा प्याकहरु ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले कुनै पनि डेटा प्याक सुचारु गर्दा जति भोल्युमको प्याक खरिद गरेको हो त्यति नै  बराबरको फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्न सक्नेछन् । यसकाे करसहित न्युनतम २ पैसा प्रति एमबिसम्ममा डेटा सेवाको मजा लिन सक्ने कम्पनीले जनाएको छ । नयाँ डेटा प्याक कुनै पनि बेला प्रयोग गर्न मिल्ने ‘अल टाइम’ प्याक र राति ११ बजे देखि बिहान ५ बजे सम्मको समयमा प्रयोग गर्न मिल्ने ‘नाइट टाइम’ प्याकमा उपलब्ध छन् । जस अन्तर्गत ग्राहकले अब १ देखि ३० दिन भ्यालिडिटी भएका ३० एमबि देखि १० हजार एमबि सम्मका डेटा प्याकहरु १० रुपैयाँदेखि १५ सयसम्मको प्याक शुल्कमा खरिद गर्न सक्नेछन् । ग्राहकले आफ्नो आवश्यकताअनुसार कुनै पनि डेटा प्याक सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ । कुनै पनि डेटा प्याक सुचारु गर्ने ग्राहकले आफुले खरिद गरेको प्याक बराबरकै फोरजी डेटा पाउने यो योजनाको प्रमुख विषेशता हो । उदाहरणका लागि १ सयमा ५ सय एमबि अल टाइम डेटा खरिद गर्दा ग्राहकले थप ५ सय एमबि फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । यस योजना अन्र्तगतका प्याकहरु ग्राहकले टुजि, थ्रिजी र फोरजी कुनैपनि नेटवर्कमा प्रयोग गर्न सक्छन् भने बोनस स्वरुप प्राप्त थप फोरजी डेटा फोरजी नेटवर्कमा मात्र मान्य हुनेछ । अल टाइम डेटा प्याक अन्तर्गत ग्राहकले १० रुपैयाँमा ३० एमबि डेटा प्राप्त गर्नेछन् र यो प्याक सुचारु गर्ने ग्राहकले ३० एमबि फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । यसरी ग्राहकले १० रुपैयाँमा ६० एमबि डेटाको मजा लिन सक्नेछन् । त्यस्तै, अल टाइम डेटा प्याक अन्तर्गत ग्राहकले ३० रुपैयाँमा १ सय एमबि, ५० रुपैयाँमा २ सय एमबि र ७० रुपैयाँमा २ सय ५० एमबि लिन सक्नेछन् र सोहि भोल्युम बराबरको फोरजी डेटाको मजालिन सक्ने कम्पनीले जानकारी दिएको छ । साथै ठूलो भोल्युमको अल टाइम डेटा प्याक अन्तर्गत, ग्राहकले १ सय रुपैयाँमा ५ सय एमबि, ३ सय रुपैयाँमा १२ सय ५० एमबि, ५सय रुपैयाँमा २५ सय एमबि र १५ सय रुपैयाँमा १० हजार एमबि डेटा प्राप्त गर्नेछन् र यसका साथै खरिद गरिएको भोल्युम बराबरकै फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् ।    

स्काइवर्थले ल्यायो चाडपर्व लक्षित उपहार योजना

काठमाडौं । स्काइ वर्थले चाड पर्वको अवसर पारेर ग्राहकलाई स्काइ वर्थ ब्राण्डको खरिदमा उपहार दिने योजना ल्याएको छ । स्काइवर्थ दशैं हुन्छ वर्थफुल उपहार छ भरपुर भन्ने नारा सहित यो योजना अघि सारेको छ । यस उपहार योजना अन्तर्गत ग्राहकहरुले टिभि , वासिङ मेसिन, एयर कन्डिसनर र भ्याकुम क्लिनरको हरेक खरिदमा ३१ हजार ८ सय रुपैयाँदेखि १७ सय ९० रुैपैयाँसम्मका विभिन्न इलेक्ट्रोनिक सामानहरु सियोर सट उपहारका रुपमा प्राप्त गर्न सकिने कुरा कम्पनीले जनाएको छ । यो योजना भदौ २० गते बाट सुरु भई छठ पर्वको दिन सम्म मात्र सिमित रहने जानकारी कम्पनीले दिएको छ ।  

सडक दुर्घटनामा यात्रुको कमजोरी ३ प्रतिशत मात्रै, पाँच बर्षमा बढ्यो साढे २७ प्रतिशत दुर्घटना

काठमाडौं । नेपालमा हुने सडक दुर्घटनाहरुमा यात्रुुको कमजोरी न्युन देखिएको छ । व्यवस्थापिका संसदको विकास समितिले गठन गरेको उप समितिले तयार पारेको प्रतिवेदन अनुसार सडक दर्घटनामा यात्रुहरुको कमजोरी ३ प्रतिशत मात्रै हुने तथ्य उजागर भएको हो । समितिले तयार पारेको अध्ययन प्रतिवेदन अनुसार सडक दुर्घटनामा यातायात व्यवस्था विभागको ४० प्रतिशत कमजोरी, सडक विभागको २० प्रतिशत, यातायात व्यवसायी र चालकहरुको २० प्रतिशत, स्थानीय तहको १२ प्रतिशत र नेपाल प्रहरीको ५ प्रतिशत कमजोरी देखिएको हो । ‘सवारी दुर्घटना तथा सवारी सुरक्षा सम्बन्धी अधिकांश अधिकार यातायात व्यवस्था विभागललाई छ तर उसले कुनै काम गरेको देखिएन, सवारी साधन दुर्घटनाको मुख्य जिम्मेवार यातायात व्यवस्था विभाग र सडक विभाग अनि यातायात व्यवसायी तथा चालक हुन’, विकास समितिको सडक सुरक्षा उप समितिका संयोजक गणेश पहाडीले विकासन्युजसँग भने । पहाडीका अनुसार यातायात व्यवस्था विभागले आफ्नो अधिकारको उपयोग गरेको छैन भने सडक विभागले सडक सुरक्षाको मापदण्ड अनुसारका सडक डिजाइन गरेको छैन, त्यस्तै, यातायात व्यवसायी र चालकले लापरवाही गरिरहेका छन भने स्थानीय तहले पनि सडकको मर्मतमा ध्यान दिएको छैन् । त्यसैगरि ट्राफिक प्रहरीले नियम पालना गराउन उल्लेख्य भूमिका खेलेको छैन भने यात्रुहरुले जथभावी बाटो काट्ने गरेकाले दुर्घटना भैरहेका छन् । अध्ययन प्रतिवेदनले पछिल्लो पाँच बर्षमा २७.५६ प्रतिशतले सडक दुर्घटना बढेको देखाएको छ । आर्थिक वर्ष २०६९।७० मा ३७७० वटा सडक दुर्घटना भएका थिए भने आव २०७३।७३ मा त्यस्तो ५२०५ पुगेको छ । सो अवधीमा १४३५ वटा दुर्घटना बढेको देखिन्छ । प्रतिवेदनका अनुसार सडक दुर्घटनामा १६ देखि २५ बर्ष उमेर समुहका ४९ प्रतिशत, २५ देखि ४० बर्ष समुहका ३५ प्रतिशत र ४० भन्दा माथी उमेर समुहका मानिसहरुको १६ प्रतिशत मृत्यु हुने गरेको छ । नेपालमा हालसम्म २७ लाख ८३ हजार ४ सय २८ वटा सवारी साधन दर्ता रहेका छन् ।

छठसम्म पेट्रोलियमको भाउ नबढ्ने

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपनि पेट्रोलियम पदार्थको भाउ नबढ्ने भएको छ । नेपाल आयल निगमले दसैं, तिहार र छठ अवधीभर अन्तराष्ट्रिय बजारमा भाउ बढेपनि नेपालमा नबढाउने जानकारी दिएको छ । चाडपर्वमा उपभोक्तालाई राहत होस् भन्ने उद्येश्यले पेट्रोलियमको भाउ नबढाएको नेपाल आयल निगमले जानकारी दिएको छ । अघिल्लो महिनाको बिलमा भारतीय आयल निगमले पेट्रोलियमको भाउ बढाएको जानकारी दिएको छ । आगामी छठसम्म तेलको भाउ नबढाउने निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए । ‘आन्तराष्ट्रिय बजारमा पेट्रोलियमको भाउ बढ्दा निगमलाई प्रभाव पर्छ’,उनले भने, ‘तर अहिले दसैं, तिहारमा भाउ बढाउँदा उपभोक्ता मारमा पर्छन् । अब छठपछि मूल्य समायोजन गर्छौं ।’

सिटिजन बैंकको १६ प्रतिशत बोनस सेयर स्वीकृत

काठमाडौं । सिटिजन्स बैंकको बोनस १६ प्रतिशत बोनस स्वीकृत भएको छ ।  नेपाल राष्ट्र बैंकले बैंकको १६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव स्वीकृत गरेको हो । वार्षिक साधारणसभाबाट पारित हुन बाँकी छ । बैंकले चुक्तापुँजी बढाउन सेयरधनीलाई बोनस सेयर दिन लागेको हो ।

९०० मेगावाटको अरुण तेस्रो आयोजनाकाे टेन्डर सकियो, निर्माण सुरु हुदै

काठमाडौं । अरुण तेस्रो जलविद्युत आयोजनाको प्रवद्र्धक भारतको एसजेवीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीले सबै लटको बोलपत्र आब्हान (टेन्डर) को काम सम्पन्न गरेको छ । प्याकेज ४ अन्र्तगतको इलेक्ट्रोमेकानिकल उपकरण निर्माण तथा जडानका लागि बिहीबार ग्लोबल टेण्डरको आब्हान गरेपछि उसको सबै प्याकेजको बोलपत्रको काम सकिएको हो । उसले ५५ महिनामा इलेक्ट्रोमेकानिकल निर्माण तथा जडानको काम सम्पन्न गर्ने लक्ष्य लिएको छ । २२५ मेगावाट क्षमताका ४ वटा युनिट रहने छन् । आयोजना भारतको सतलज जलविद्युत निगम लिमिटेडको लगानीमा लगानीमा निर्माण हुन लागेको हो । एक साताअघि एसजेविएनले तेस्रो प्याकेज अन्र्तगत हाइड्रोमेकानिकल उपकरण आपूर्तिका लागि बोलपत्र आब्हन गरेको थियो । भारतको एकल वा नेपाल र भारतीय कम्पनीको संयुक्त उपक्रम (जेभी) ले बोलपत्रमा भाग लिन पाउने एसजेवीएनले जनाएको छ । पहिलो प्याकेजअन्र्तगत आयोजनाको बाँध र डाइभर्सन सुरुङ संरचना निर्माणको ठेक्का भारतको जेपी कन्ट्रक्सन लिमिटेडले पाएको छ । प्याकेज १ अन्र्तगत आयोजनाको बाँध र ३ किलोमिटर लामो डाइभर्सन सुरुङ निर्माणलगायत संरचना बनाउने जेपीले ठेक्का पाएको हो । ठेक्का सम्झौताका लागि जेपीलाई आशयपत्र (एलओआई) समेत दिएको छ । जेपीको केही समस्या देखिएपछि एसजेवीएनले अहिले म्याद थपको काम मात्र गरेको छ । प्याकेज २ अन्र्तगत विद्युत्गृह निर्माणका लागि पनि बोलपत्र आब्हान गरिएको छ । ठेक्का सम्झौताको अन्तिम चरणमा पुगेको छ । दोस्रो प्याकेजमा विद्युतगृह र ८ किलोमिटर लामो सुरुङ निर्माण, तेस्रो प्याकेजमा इलेक्ट्रोमेकानिकल र चौथो प्याकेजमा हाइड्रोमेकानिकल र प्रसारणलाइनको अन्र्तगत काम हुनेछ । आयोजना निर्माणका लागि भारत सरकारले ९१ अर्ब रुपैयाँ बजेट उपलब्ध गराएको छ । आयोजनाको कुल लागत १ खर्ब १६ अर्ब अनुमान गरिएको छ । आयोजनाले हालै वनको जग्गा प्राप्त गरेको छ । वन विभाग, राष्ट्रिय वन्यजन्तु तथा निकुन्ज विभाग र आयोजनाको प्रवद्र्धक एसजेवीएनबीच त्रिपक्षिय सम्झौता भएको छ । सम्झौताअनुसार अरुण तेस्रो आयोजनाले ९६ रोपनी वनको जग्गा उपयोग गर्न पाएको छ । वनको जग्गा पाउन ढिलाइ भएका कारण आयोजनाको काम अघि बढेको थिएन् । भारत निकासीका लागि ९ सय मेगावाटको अरुण तेस्रो आयोजना बन्न लागेको हो । नेपालले आयोजनाबाट २२ प्रतिशत अर्थात १९८ मेगावाट बिजुली सित्तैमा पाउने छ । आगामी २५ वर्षका लागि एसजेभीएनले अरुणको विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स) पाउनेछ । यो आयोजना बनेपछि नेपालले निःशुल्क बिजुली, करलगायतबाट २५ वर्षमा ३ खर्ब ४८ अर्ब रुपैयाँ लाभ पाउनेछ । आयोजना प्रभावित स्थानीयले ६ प्रतिशत (८० लाख कित्ता) सेयर पाउँदैछन् । प्रभावित ६ गाविसमा एसजेभीएनले निःशुल्क विद्युतीकरण गर्नेछ । अरुण तेस्रोबाट नेपालले वार्षिक ८६ करोड युनिट बिजुली सित्तैमा पाउनेछ । आयोजनाबाट वार्षिक ४ अर्ब १ करोड ९० लाख युनिट बिजुली उत्पादन हुने सतलजले तयार गरेको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर)ले देखाएको छ । प्रतिस्पर्धाबाट सबैभन्दा बढी बिजुली दिने प्रस्ताव गरेपछि सतलजले सन् २००८ मा यो आयोजना पाएको हो । आयोजना संखुवासभा र भोजपुर जिल्लाको सिमाना भएर बग्ने अरुण नदीमा पर्छ । बाँध नुम र पाथिभरा तथा विद्युत्गृह दिर्दिङ गाविसमा पर्छ । बाँधबाट विद्युत्गृहसम्म ११ किलोमिटर लामो सुरुङ खन्नु पर्नेछ । आयोजनाले जग्गा अधिग्रहण गरिसकेको छ भने हालसालै वनको जग्गा पनि उपयोग गर्न सरकारले स्वीकृति दिएको छ । नेपाललाई निःशुल्क बाहेक आवश्यक परेमा थप बिजुली नेपालमा बेच्ने प्रस्ताव गरेको छ । यस विषयमा नेपाल विद्युत् प्राधिकरणले प्रतिक्रिया दिएको छैन् ।