विकासन्युज

साना किसान विकास बैंकले २५ प्रतिशत बोनस सेयर दिने, पूँजी ७० करोड नाघ्ने

काठमाडौं । साना किसान विकास बैंकले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनका लागि १.३१६ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ । उक्त बोनस सेयर दिने निर्णय कम्पनीको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ५७ करोड ८० लाख रुपैयाँ रहेको छ । उक्त पूँजीमा २५ प्रतिशत अर्थात १२ करोड ५७ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको कम्पनीले जनाएको छ । सो मात्राको बोनस सेयर पछि कम्पनीको चुक्ता पूँजी ७० करोड ३८ लाख रुपैयाँ नाघ्ने छ । कम्पनीको सञ्चालक समितिको बैठकलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र सो मात्राको बोनस वितरण गरिने छ ।

१२२ वटा स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक, हालसम्म काँग्रेस अगाडि

काठमाडौं । असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये हालसम्म १२२ स्थानीय तहको मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरणअनुसार, स्थानीय तहको प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेस ३६, नेकपा (एमाले) १६, नेकपा (माओवादी केन्द्र) २०, राष्ट्रिय जनता पार्टी नेपाल २१, संघीय समाजवादी फोरम नेपाल २३, फोरम लोकतान्त्रिक तीन, नेपाली जनता दल दुई र नयाँ शक्ति नेपालका उम्मेदवार एक स्थानमा विजयी भएका छन् । आयोगमा अब १४ स्थानीय तहको निर्वाचन परिणाम आउन बाँकी छ । असोज २ गते १३६ स्थानीय तहका एक हजार २७१ वडाका लागि निर्वाचन भएको थियो । रासस

प्रुडेन्सियल इन्स्योरेन्सले २० प्रतिशत बोनस सेयर दिने

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय असोज ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ४२ करोड ७६ रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पूँजी ५१ करोड ३२ लाख रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ । उक्त सञ्चालक समितिको निर्णयलाई बीमा समितिले स्वीकृति दिए पछि मात्र कम्पनीका सेयरधनीले सो मात्राको बोनस पाउने कम्पनीले जनाएको छ ।

सिद्धार्थ इन्स्योरेन्सले २० प्रतिशत बोनस सेयर दिने, पूँजी ६४ करोड नाघ्ने

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि १.०५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय असोज ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले हाल कायम रहेको कम्पनीको ५३ करोड ४५ लाख १७ हजार रुपैयाँ चुक्ता पूँजीको २० प्रतिशतले हुने आउने १० करोड ६९ लाख ३ हजार रुपैयाँ बोनस सेयर दिने निर्णय गरेको हो । सो मात्राको बोनस पछि कम्पनीको पूँजी ६४ करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ । सञ्चालक समितिको निर्णयलाई बीमा समितिले स्वीकृति दिए पछि मात्र कम्पनीका सेयरधनीले सो मात्राको बोनस पाउने कम्पनीले जनाएको छ । कम्पनीले उक्त निर्णय स्वीकृतिको लागि बीमा समितिमा पेश गराइसकेको जानकारी दिएको छ ।

कैलाश विकास बैंकले १० प्रतिशत बोनस सेयर र ९.५० प्रतिशत नगद लाभांश दिने

काठमाडौं । कैलाश विकास बैंकले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले ९.५० प्रतिशतका दरले नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय असोज ६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले गत वर्षको मुनाफा बाट सेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर दिने निर्णय गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब २९ करोड १४ लाख रुपैयाँ रहेको छ । बैंकको सञ्चालक समितिको निर्णयलाई राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ ।

आरएसडिसी लघुवित्तले १३ प्रतिशत बोनस सेयर दिने, पूँजी १३ करोड रुपैयाँ पुग्ने

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १३ प्रतिशत बोनस दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ । उक्त बोनस सेयर दिने निर्णय कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ११ करोड ५० लाख रुपैयाँ रहेको छ । उक्त पूँजीमा १३ प्रतिशत अर्थात एक करोड ४९ लाख ५० हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको कम्पनीले जनाएको छ । सो मात्राको बोनस सेयर पछि कम्पनीको चुक्ता पूँजी करिब १३ करोड रुपैयाँ कायम हुने छ । कम्पनीको सञ्चालक समितिको बैठकलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र सो मात्राको बोनस वितरण गरिने छ ।

नेपाल टेलिकमले प्रीपेड ग्राहकलाई ऋण दिने, ब्याज नलिने

काठमाडौं । नेपाल टेलिकमको प्रीपेड सिम प्रयोगकर्ताहरुका लागि खुसिका खबर आएको छ । टेलिकमको प्रीपेड सिमबाट फोन गर्दा गर्दै ब्यालेन्स सकिएर बिचमै फोन काटिने समस्या अब समाधान हुँदैछ । किनकी नेपाल टेलिकमले आफ्ना प्रीपेड ग्राहकहरुका लागि सापटी योजना ल्याउँदैछ । सापटी लिएपछि ब्याज(सेवा शुल्क) कति लाग्ला भन्ने जिज्ञासा पनि तपाईको मनमा आउन सक्छ । त्यसमा पनि चिन्ता नगर्नुस, टेलिकमले बिना ब्याज(सेवा शुल्क बिनै) त्यस्तो सापटी(ऋण) उपलब्ध गराउन लागेको हो । ‘प्रिपेड सेवाग्राहीहरुलाई कुरा गर्दा गर्दै ब्यालेन्स सकिए पनि कल निरन्तरता दिन विना ब्याज लोन(ऋण) रकम उपलब्ध गर्ने व्यवस्था गर्न कम्पनीले सेवा सञ्चालनमा ल्याउने तयारी कार्य गरिरहेको छ’, नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनीराज भण्डारीले भनिन् । उनले टेलिकमको सेवालाई उपभोक्ता मैत्री र गुणस्तरिय बनाउन सेवा शुल्क बिनै निश्चित रकम सापटी(ऋण) दिन लागिएको बताईन् । यद्यपी ब्याज बिना कति रकम ऋण दिने भन्नेबारे भने यकिन भैसकेको छैन् । टेलिकमका सयहाक प्रवक्ता सोभन अधिकारीले पनि सापटी योजनाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । ‘प्रिपेड ग्राहकलाई बिना ब्याज ऋण दिने सम्बन्धी तयारी धेरै अघि बढिसकेको छ, चाँडै उपभोक्ताले सुबिधा उपयोग गर्न पाउनेछन’, टेलिकमका सहायक प्रवक्ता अधिकारीले विकासन्युजसँग भने । यस अघि नै एनसेलले आफ्ना प्रीपेड ग्राहकहरुलाई सापटी दिँदै आएको थियो । यद्यपी एनसेलले सेवा शुल्क वापत २ रुपैंयाँ ५१ पैसा असुल्दै आएको छ । नेपाल टेलिकमले भने सेवा शुल्क नलिएरै सापटी दिन लागेको हो । व्यवस्थापिका संसदको विकास समितिले सापटी योजना ल्याउन निर्देशन दिएको थियो ।

स्वरोजगार लघुवित्त विकास बैंकको १६.६६ प्रतिशत बोनस र शतप्रतिशत हकप्रद सेयर

काठमाडौं । स्वरोजगार लघुवित्त विकास बैंकले १६.६६ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक सञ्चालक समितिको निर्णय अनुसार कात्तिक ११ गतेको साधारण सभाबाट पारित गरेपछि लगानी कर्तालाई चुक्ता पुँजीको १६.६६ प्रतिशत अर्थात एक करोड ७४ लाख ९९ हजार ६ सय ८० रुपैंयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो । बैैंकले बोनस सेयर वितरण पछि कायम हुने चुक्ता पुँजीको शत प्रतिशतका दरले हकप्रद सेयर समेत निष्काशन गर्ने भएको छ । नवौं बार्षिक साधारण सभाका लागि बैंकले असोज २३ गतेदेखि बुक क्लोज गर्नेछ । असोज २३ गतेअघि सम्म सेयर खरिद गरेका लगानी कर्ताहरुले बोनस सेयर तथा हकप्रद सेयर पाउनेछन् ।