स्मार्ट काठमाडौंलाई तारको चुनौती, अघि बढेन व्यवस्थापन योजना
काठमाडौं । स्मार्ट काठमाडौं बनाउने अभियानमा अव्यवस्थित तारहरुले चुनौती थपिदिएको छ । राजधानीका सडकमा रहेका पोलहरुमा रहेका टेलिफोन, केबल, इन्टरनेट र विद्युतका तारहरुले स्मार्ट काठमाडौं निर्माणको अभियानमा ठुलै चुनौती थपिदिएका हुन् । स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकालाई स्मार्ट सीटी बनाउने योजना अधिकांश दलका घोषणा पत्रमा समेटिएको थियो । तर निर्वाचित जनप्रतिनिधीले त्यसमा अगुवाई गर्न सकेनन् । मोहन बस्नेत सञ्चार मन्त्री भएपछि उनले साउन ३१ गते मन्त्रालयमै सर्वपक्षिय बैठक डाकेर उपत्यकामा अव्यवस्थित तारहरुको व्यवस्थापन गर्ने योजना अघि सारेका थिए । मन्त्री बस्नेतकै उपस्थितीमा नेपाल दुर सञ्चार प्राधिकरण, नेपाल टेलिकम, केबल टेलिभिजन प्रसारक महासंघ, इन्टर सेवा प्रदायकहरुको संस्थाका प्रतिनिधी, काठमाडौं महानगरपालिकाका प्रतिनिधी र शहरी विकास मन्त्रालयका सचिवले अव्यवस्थित तार हटाउने उद्घोष गरेका थिए । ‘हामीले १५ दिनभित्रै त्रिपुरेश्वर–कलंकी सडकमा रहेका अव्यवस्थित तार हटाउने घोषणा गरेका थियौं तर सडक विस्तारको काम नसकिएकाले त्यहाँ काम अघि बढाउन सकिएन, अहिले माइतीघर–बालुवाटारको काम अघि बढाएका छौं’, सञ्चार मन्त्रालयका सह सचिव प्रेम कुमार श्रेष्ठले भने । श्रेष्ठका अनुसार तार हटाउने काम केलब टेलिभिजन प्रसारक संघ र इन्टरनेट सेवा प्रदायकहरुले गर्ने छन् । काटिएको तारको व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्नेछ र सो वापतको सम्पुर्ण रकम नेपाल दुर सञ्चार प्राधिकरणले ग्रामिण दुर सञ्चार विकास कोषबाट उपलब्ध गराउनेछ । सोही बैठकले १५ दिन भित्रै सम्बन्धित कम्पनीले आफ्नो तारमा लोगो राख्नुपर्ने सहमति पनि भएको थियो । तर अहिलेसम्म कुनै पनि कम्पनीले लोगो टाँस्ने काम गरेका छैनन् । राजधानीमा अब बन्ने नयाँ सडकमा भने तारहरुको उचित व्यवस्थान गर्ने योजना बनेको छ ।
एकैदिन चार कम्पनीको सेयर मूल्य समायोजन, हेरौँ कुन कुनको भयो?
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा एकैदिन चार कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बुधबार एकैदिन नेपाल इन्भेष्टमेन्ट बैंक प्रमोटर सेयर, बरुण हाइड्रोपावर कम्पनी र नेपाल इन्भेन्टमेन्ट बैंकको बोनस सेयर पछिको र नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । नेप्सेले नेपाल इन्भेष्टमेन्ट बैंक प्रमोटर सेयरकोे १५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ५८० रुपैयाँ तोकिएको छ । त्यस्तै, नेप्सेले बरुण हाइड्रोपावर कम्पनीको पनि ५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २०९ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य १५४ रुपैयाँ रहने भएको छ । त्यसैगरी, नेप्सेले नेपाल इन्भेन्टमेन्ट बैंकको पनि १५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ६६४ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ७५८ रुपैयाँ रहने भएको छ । त्यस्तै, नेपाल कम्यूनिटीको १२० प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १९६ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य २२८ रुपैयाँ रहने भएको छ ।
सरकारले निर्वाचनलाई प्रतिकुल असर पार्ने काम गरे, बाध्य भएर अर्को कदम चाल्छौं ः उपाध्यक्ष रावल
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले सरकार परिवर्तन आफूहरुको प्राथमिकतामा नभएको स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपाध्यक्ष रावलले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नको लागि सरकारले गम्भिर भएर काम गर्नुपर्ने बताए । उनले भने,‘हामीले अहिले सरकार फेरबदल गर्ने बारे कुनै रुची राखेको छैन, यो सरकारको काम पनि चुनाव गराउनु नै हो, त्यसैले हामी अहिले सरकार परिवर्तन गर्दैनौं ।’ साक्षात्कारमा बोल्दै रावलले यदि आफूहरुको एकता प्रयास र चुनावी तालमेलका कारण कांग्रेसमा आएको छट्पटीले निर्वाचनमा प्रतिकुल असर परे आफूहरुले बाध्य भएर पाईला चाल्ने बताए । उनले भने,‘तर हाम्रो उद्देश्य र लक्ष्य अहिले सरकारतिर छैन, चुनावमा हामी केन्द्रित भएका छौं ।’उनले वर्तमान सरकारले घोषित मिति भित्रै ईमानदारितापूर्वक आफ्नो काम पूरा गरोस भन्दै त्यसको लागि सहयोग गर्न आफूहरु तयार रहेको स्पष्ट पारे । देशलाई राजनीतिक स्थायित्वतर्फ लैजानको लागि आफूहरुको तालमेल र पार्टी एकताको प्रयास सुरु भएको स्पष्ट पारेका छन् । रावलले भने,‘देशमा छोटो–छोटो समयमा हुने सरकार परिवर्तनको कारणले राजनीतिक स्थायित्व हाँसिल हुन सकेको छैन, त्यसैले हामीले त्यसलाई चिर्नको लागि र त्यो अन्यौलता समाप्त पार्नको लागि वामएकताको थालनी गरेका छौँ ।’ रावलले तीन पार्टीवीचको चुनावी तालमेल र पार्टी एकताको प्रयासबाट अचम्मित बनेर कांग्रेसले अनिष्टको संज्ञाको दिन हाँस्यस्पद भएको बताए । उनले भने,‘एउटै दर्शन, विचार र सिद्धात भएका हामीहरु िवचकै सहकार्यबाट कोही किन यसरी छट्पटीमा पर्नुभएको होला?मलाई त आश्चर्य लागेको छ ।’ उनले आफूहरुको एकतालाई लिएर राष्ट्रको अनिष्ट हुन्छ भन्नेहरुलाई नै चुनावमा अनिष्ट हुने भयो भन्ने भुत सभार भएको आरोप लगाए । उनले भने,‘अरुको आडमा टेको लगाएर यसो उफ्रिनेहरुको लागि बरु अनिष्ट हुने भयो ।’ उनले बढीभन्दा बढी दलहरु एक ठाउँमा आउनु मुलुकलाई राजनीति स्थायित्व र समृद्धितर्फ डोर्याउन मद्दत पुग्ने विश्वास दिलाए । त्यस्तै उनले आफूहरुको एकता प्रयासलाई लिएर केही नेताहरुले लोकतन्त्र माथि नै खतरा भनेर बोलेको पनि आफूहरुले सुनेको उल्लेख गर्दै भने,‘लोकतन्त्रको अभ्यास गर्ने पार्टी एमालेभन्दा अरु कोहीपनि छैन, त्यसैले यस्तो कुरा वाईयात हो ।’
धितोपत्र बोर्डमा ८ कम्पनीको ८५ करोड बोनस सेयर दर्ता
काठमाडौं । चालु आर्थिक वर्ष सुरु भएयता धितोपत्र बोर्डमा ८ कम्पनीको बोनस सेयर दर्ता भएको छ । हालसम्म ८४ करोड ९२ लाख रुपैयाँ बराबरको ८४ लाख ९२ हजार कित्ता बोनस सेयर दर्ता भएको बोर्डले जानकारी दिएको छ । साउनयता सांग्रीला विकास बैंकको ४५ करोड ७३ लाख ९४ हजार, भागर्व विकास बैंको २ करोड ४० लाख, सेती फाइनान्स लिमिटेडको ५७ लाख १० हजार, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको ४० लाख रुपैयाँ दर्ता भएको छ । यस्तै कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको ३ करोड २५ लाख र लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको २६ करोड ५२ लाख २४ हजार रुपैयाँको बोनस सेयर दर्ता भएको बोर्डले जनाएको छ । गुराँश लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४ करोड ४० लाख रुपैयाँ बराबरको ४४ लाख र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको १ करोड ६४ लाख १४ हजार रुपैयाँ बराबरको १ लाख ६४ हजार कित्ता बोनस सेयर बोर्डमा दर्ता भएको छ । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले चुक्तापुँजी बढाउन सेयरधनीलाई बोनस सेयर वितरण गरेका हुन् । गत वर्ष बैंक तथा वित्तीय संस्था, जलविद्युत, बीमा र उत्पादनमुलक क्षेत्रका गरी १६४ कम्पनीको ३४ अर्ब ७९ करोड ५९ लाख रुपैयाँ बराबरको ३५ करोड २६ लाख ९८ हजार रुपैयाँ बराबरको बोनस सेयर दर्ता भएको बोर्डले जानकारी दिएको छ ।
राता मान्छे एक हुने सम्झौतामा नेप्सेले देखायो लाल झण्डा
काठमाडौं । मुलुकका बामपन्थी दलहरु(राता मान्छे)हरुले एक हुने घोषणा गरेसँगै नेप्सेले लाल झण्डा देखाएको छ । आगामी निर्वाचनमा बाम सहकार्य र त्यसपछि एकिकृत बामपन्थी पार्टी निर्माण गर्ने घोषणा गरिएको भोली पल्टै नेप्सेले लाल झण्डा देखाएको हो । बुधबारको नेप्से दोहोरो अंकले ओरालो लागेको छ । मंगलबार करिब ७ अंकले उकालो लागेको परिसूचक बुधबार १३ दशमलब ७० अंकले ओरालो लागेर १५४२ दशमलब ६५ अंकमा झरेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचकमा गिरावट आएतापनि सेयर कारोबार भने केही सुधार भएको छ । बुधबार २७ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अधिल्लो दिनको तुलनामा १५ करोड रुपैयाँ बढी हो । मंगलबार सेयर बजारमा जम्मा १२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बुधबार सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर करोबार भएको छ । एक करोड ८२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९९० रुपैयाँ रहेको छ । बजारमा बीमा समूहको परिसूचक ३५ अंकले ओरालो लागेको छ । त्यस्तै, हाइड्रोपावर, विकास बैंक र बैंकिङ समूहको परिसूचक दोहोरो अंकले ओरालो लागेका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक २८ अंकले उकालो लागेको छ । त्यसैगरि, उत्पादनमूलक र अन्य समूहको परिसूचक क्रमशः ९ र ६ अंकले वृद्धि भएका छन् ।
बेनीमा अल्लो कपडा उद्योग स्थापना
बाबियाचौर । बेनीमा लेकाली क्षेत्रको जंगलमा खेर गइरहेको अल्लो पुवा प्रशोधन गरेर कपडा उत्पादन गर्ने उद्योग स्थापना भएको छ । दक्षिण कोरियामा रोजगारी गरेर फर्किएका एक युवाले सदरमुकाम बेनीमा अल्लो कपडा उद्योग स्थापना गर्नुभएको हो । रघुगंगा गाउँपालिका–३ पिप्लेका खोजेन्द्रबहादुर मल्लले मुग्लानी क्लोथ एण्ड ह्याण्डीक्राफ्ट उद्योग खोलेका हुन् । उच्च पहाडी क्षेत्रको जंगलमा पाइने अल्लो पुवालाई प्रशोधन गरी कपडा उत्पादन गर्ने उद्योग स्थापना गरेको मल्लले बताए । इपिएस भिसामा पाँच वर्ष दक्षिण कोरियामा काम गरेर गतवर्ष स्वदेश फर्किएका मल्लले स्थानीयस्तरमै स्वरोजगार बन्ने र अरुलाई पनि रोजगारी दिने उद्देश्यले उद्योग सञ्चालन गरेको बताए । पहिलो चरणमा अल्लो प्रशोधनको काम शुरु गरेको उद्योगबाट नेपाली हाते कागज र बाँसको सामान पनि उत्पादन गर्ने योजना रहेको छ । प्रबन्ध सञ्चालक मल्लका अनुसार हालसम्म कच्चा पदार्थ खरिद र प्रशोधनका लागि करिब ६ लाख रुपैयाँ लगानी भएको छ । “पुँजीवृद्धी, आधुनिक औजारको प्रयोग गरेर व्यवस्थित रुपमा उद्योग सञ्चालन गर्ने तयारी भएको छ” मल्लले भने “अहिले परम्परागत रुपमा गरिँदै आएको कामलाई औजार ल्याएपछि आधुनिक बनाउछौँ ।” औजारको प्रयोग गरेपछि उत्पादन वृद्धि र लागत घट्ने जनाइएको छ । उद्योगमा बेनी नगरपालिका दुई बगरफाँटका १५ जनाले रोजगारी पाएका छन् । गुर्जा, मुदी, लुलाङ, कुइनेमंगले, मल्कवाङ, ओखरबोट, देविस्थान, दरवाङलगायत उच्च पहाडी क्षेत्रको जंगलमा खेर गइरहेको अल्लो पुवा संकलन गरेर धागो र कपडा बनाउन शुरु गरिएको छ । अल्लो पुवा प्रशोधन गरेर तयार पारिने धागोबाट कोट, झोला, आउटर, सल, थान्का लगायतका सामग्री उत्पादन गर्न सकिन्छ । काठमाडौं, पोखरा, चितवन, मुस्ताङलगायत पर्यटकीय स्थल, सहरी क्षेत्र र विदेशी बजारमा अल्लो पुवाको सामान बिक्री हुने गरेको छ । गर्मीमा शीतल, जाडोमा न्यानो र टिकाउ हुने भएकाले विशिष्ठ व्यक्तिले अल्लोको कपडा प्रयोग गर्ने क्रम बढेको छ । बेनीमा अल्लोको कपडा निर्माण गर्दै आउनुभएकी उद्यमी नेकसरा पुनले अल्लो प्रशोधनका लागि जिल्लामा हालसम्मकै ठूलो क्षमत्ताको उद्योग सञ्चालन भएको बताए । उद्योगमा कार्यरत बेनपा–२ की बिना शाहीले उद्योग सञ्चालन भएपछि रोजगारीको अवसर मिलेको बताए । उद्योगले महिला र पुरुषका लागि समान ज्याला दिने गरेको छ । खाजाको व्यवस्था गरिएको र दैनिक ५ सय रुपैयाँ ज्याला दिने गरिएको छ । आफूहरुका लागि चर्खाबाट धागो र तानमा कपडा बुन्ने सीपमूलक तालीमको आवश्यकता रहेको मजदुरले बताएका छन् । रासस
नेरुडे लघुवित्त विकास बैंकले १३ प्रतिशत बोनस र ७.६८ प्रतिशत नगद लाभांश दिने
काठमाडौं । नेरुडे लघुवित्त विकास बैंकले चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले बोनस सेयरको कर सहित ७.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त निर्णय असोज १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
अष्ट्रेलियाबाट आयात गरी उन्नत जातको बाख्रापालन
चितवन । खसी बोकाका लागि भारतीय बजारमा निर्भर रहेको नेपालमा पछिल्लो समय विदेशबाट आयात गरी उन्नत जातका बाख्रापालन शुरु भएको छ । जसका कारण नेपालमा हुने खसी बोकाको माग परिपूर्ति गर्न सहज हुने अपेक्षा गरिएको छ । विश्व बजारमै उत्कृष्ट मानिएको बोयर जातको बाख्रा नेपालमा भित्र्याउने क्रम शुरु भएसँगै खसी बोकाको उत्पादन बढ्दो रहेको छ । अफ्रिकासँगै अष्ट्रेलियाबाट पनि उन्नत बोयर जातको बाख्रा र बोका ल्याउने क्रम बढेर गएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका–९ मा रहेको सेन्ट्रल नेपाल गोट फार्ममा अहिले २८ वटा बोयर जातका बाख्रा र बोका अष्ट्रेलियाबाट ल्याइएको छ । विभिन्न पेशा र व्यवसाय संगालेका छ जनाले दुई वर्षअघि शुरु गरेको सो फार्ममा स्थानीय जातका बाख्रा रहेका छन् । तीन महिनाअघि उनीहरुले अष्ट्रेलियाबाट चारवटा बोका र २४ वटा पाठी भित्र्याएका हुन् । शिक्षक, प्राध्यापक, भेटेनरी डाक्टर, व्यापारी मिलेर उक्त फर्म सञ्चालन गरेका हुन् । फर्मका सञ्चालक रमेशचन्द्र आचार्यकाअनुसार अष्ट्रेलियाबाट २८ वटा बोका र बाख्रा फर्मसम्म आइपुग्दा करिब ५६ लाख रुपैयाँ खर्च भएको छ । यसलाई हेर्दा एउटा बाख्रालाई सरदर २ लाख रुपैयाँ खर्च भएको उनले बताए । फर्ममा क्रस गराई ५० प्रतिशत बोयर भएको एउटा बोका, जमुनापारी जातको एउटा बोका, क्रश गराई २५ प्रतिशत बोयर जातका २० वटा पाठापाठी छन् भने स्थानीय जातका ११५ वटा बाख्रा रहेको सञ्चालक आचार्यले बताए । स्थानीय खरी, जमुनापारी, बारबारी र तराई जातका रहेका छन् । बोयर जातका बाख्राका पाठापाठी उत्पादन गरेर बिक्री गर्ने लक्ष्य फर्मले राखेको छ । फर्मका अर्का सञ्चालक डा विष्णु धितालकाअनुसार बोयर जातको बाख्रा सबै खाले हावापानीमा सजिलै घुलमिल हुनसक्दछ । रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ, भने शतप्रतिशत जुम्ल्याहा पाउने हुँदा नाफामूलक हुन्छ । दुई वर्षमा तीनपटक ब्याउने बताउँदै उनले पाठापाठीलाई तीनदेखि ६ महिनामा बिक्री गर्न सकिने बताए । एक दिनमा १५० देखि ३०० ग्रामसम्म तौल बढ्ने हुँदा खसी उत्पादनका लागि पनि यो जातको बाख्रा उपयुक्त हुने छ । एक वर्षमा एउटा खसी ८० केजीदेखि एक क्विन्टलसम्मको हुने बताइएको छ । समूहगत रुपमा शुरु गरिएको यो फर्म चार बिगाहा क्षेत्रफलमा फैलिएको छ । फर्मका अर्का सञ्चालक गणेश पौडेलकाअनुसार १० वर्षका लागि वार्षिक प्रतिकठ्ठा दुई हजार ५०० देखि तीन हजार ५०० सम्ममा विभिन्न व्यक्तिबाट जग्गा भाडामा लिइएको छ । मकै, चोक्कर, बोनमिल, क्याल्सियम नुन मिसाएर दाना तयार गरेर पनि बाख्रालाई खुवाउने गरिएको छ । जापानमा दुई वर्ष काम गरेर नेपालमै व्यवसाय गर्ने उद्देश्यका साथ फर्किनुभएका सोही समूहका अर्का सञ्चालक आशिश बमले बाख्रामा राम्रो आम्दानी हुने देखेपछि साथीभाइ मिलेर व्यवसाय थालेको बताए । एक हजार बाख्रा पुर्याउने लक्ष्यका साथ काम अगाडि बढेको उनले बताए । झण्डै ३० लाख रुपैयाँ खर्च गरेर सो समूहले ५ सय बाख्रा अट्ने अत्याधुनिक खोर निर्माण गरिसकेका छन् । टाट्नुबाट जुत्तो मल भूइँमा खस्ने हुँदा खोर सफा रहेको छ । यस अघि पिपिआर रोगका कारण ४० वटाभन्दा बढी बाख्रा मरेपछि औषधि छर्केर मात्रै प्रवेश गर्ने व्यवस्था मिलाईएको छ भने फर्मभन्दा बाहिरबाट ल्याईएका बाख्रालाई बोका लगाउन दिईएको छैन । सबै बाख्रालाई पिपिआरको सुई लगाईएको छ भने सबैको बीमा गरिएकाले जोखिम कम रहेको संचालक आचार्यले बताए। सो समूहले हालसम्म करिब १ करोड १० लाख रुपैयाँ लगानी गरेको जनाएको छ । आचार्यका अनुसार आफ्नै घरजग्गा धितो राखेर सहुलियत ऋण ९६ लाख रुपैयाँ लिइएको छ भने बाँकी रकम सञ्चालकहरुले लगानी गरेका छन् । रासस