विकासन्युज

राष्ट्रपतिद्धारा चिकित्सा शिक्षा अध्यादेशमा लालमोहर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुचर्चित चिकित्सा शिक्षा विधेयकलाई अनुमोदन गरेकी छिन् । राष्ट्रपति भण्डारीले कार्तिक ६ गते मन्त्रिपरिषदले अध्यादेशका रुपमा पारित गरी पठाएको चिकित्सा शिक्षा विधेयकलाई शुक्रबार अनुमोदन गरेकी हुन् । विधेयकमा मेडिकल कलेज खोल्न निजी क्षेत्रलाई प्रतिवन्ध नै लगाउने गरी अध्यादेश आएको छ । उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न पाइने छैन् । मेडिकल कलेज खोल्ने मापदण्डमा समेत कडाइ गरिएको छ । यसले गर्दा मेडिकल क्षेत्रमा निजी लगानी आउने संभावना बढेको छ । एउटा विश्वविद्यालयले पाँचवटाभन्दा बढी कलेजलाई सम्बन्धन दिन पनि पाउने छैन । अब त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले मेडिकल कलेजलाई सम्बन्धन दिन पनि पाउने छैनन् । अध्यादेश नयाँ संसदको बैठक बसेको ६० दिनभित्र पास हुनुपर्ने छ । संसदबाट पास हुन सकेन भने अध्यादेश स्वत खारेज हुने संवैधानिक व्यवस्था छ ।

नक्कली गुरु रेम्पोछेको नाममा ब्रम्हलूट

काठमाडौं । विश्वकै बौद्ध धर्मालम्वीहरुको आस्थाको केन्द्र बौद्धनाथ मन्दिर परिसरमा नक्कली गुरु रिम्पोछेको नाममा अनियमितता तथा असुली गर्ने कार्यहरु हुँदा समेत नेपाल सरकारले केही गर्न सकेको छैन । चिनियाँ लामाको उत्तराधिकारी भन्दै राजु लामा अर्थात भूपति नामका एक व्यक्तिले आफूले आफैलाई गुरु रिम्पोछे घोषणा गरेपछि बौद्धनाथ परिसरमा कुनै पनि बेला अप्रिय घटना घट्न सक्ने देखिएको छ । नेपाल सरकारले नियुक्त गर्ने बौद्ध क्षेत्र विकास समितिसँग क्षेत्राधिकार विवाद गर्दै हस्तक्षेप गर्दै आएका यिनै नक्कली रिम्पोछेले पछिल्लो समय बौद्धनाथ मन्दिरमा हुने नियमित पूजाआजा समेत भाँड्दै आएका छन् । सार्वजनिक रुपमा सामना गर्न नसक्ने र केही मानिसहरु भेला पारी आफू अनूकूलको काम गर्दै आएका नक्कली रिम्पोछेको हर्कतबारे महानगरीय प्रहरी बृत्त बौद्धमा समेत छलफल भएको बुझिएको छ । यसअघि शाह बंशीय राजाको पालामा राजपरिषद स्थायी समितिको सदस्य समेत रहेका गणेश बज्रको उत्तराधिकारी हुन आएका नक्कली रिम्पोक्षेका कारण बौद्धनाथ क्षेत्रमा अशान्ती बढ्दै गएको स्थानीयबासीले गुनासो गरेका छन् । बौद्धनाथ क्षेत्र मन्दिरमा शान्ति कायम राख्ने सम्बन्धमा बौद्ध प्रहरी कार्यालयमा सहमति गरेपनि नक्कली रिम्पोछे अर्थात राजु लामाले विभिन्न च्यानलबाट शुक्रबार आयोजना गरिएको विशेष पूजा भाँड्ने प्रयास गरेको पूजा आयोजक समितिका एक सदस्यले बताए । घ्याङ गुठीको आवरणमा नक्कली रिम्पोछेले बौद्धनाथ मन्दिर परिसरमा हस्तक्षेप बढाउँदै लगेपनि सरकारको आधिकारिक निकाय बौद्धनाथ क्षेत्र विकास समितिले हस्तक्षे गर्न नसकेको र पवित्र मन्दिरमा दुई थरीको राजनीतिले स्थानीयबासी तथा भक्तजनहरुलाई समस्या परेको गुनासो एक भक्तजनले गरेका छन् । बौद्धनाथ क्षेत्र विकास समितिलाई घ्याङ गुठीले विभिन्न काममा अबरोध गर्दै आएपनि स्थानीय प्रशासनले समेत आवश्यक सहयोग नगर्ने गरेको समेत गुनासो सुनिन थालेको छ ।

एनआईसी एशिया बैंकको थप २ नयाँ शाखा दार्चुला र ओखलढुङ्गामा

काठमाडौं । एनआईसी एशिया बैंकको थप २ नयाँ शाखाहरु दार्चुला र ओखलढुङ्गामा विस्तार भएको छ । बैंकले शुक्रबार एक समारोहका बिच उक्त दुई शाखाको उद्घाटन गरेको हो । दार्चुलाको शाखाको उद्घाटन महाकाली नगरपालिकाका मेयर हंसराज भट्टले र ओखलढुङ्गा शाखाको उद्घाटन ओखलढुङ्गा जिल्ला उद्योग बाणिज्य सघंका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्केले गरेका हुन् । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

१६ अर्बको संयुक्त लगानीमा १०० मेगावाटको सुपर त्रिशुली आयोजना बन्ने, ५ वर्षमा सक्ने लक्ष्य

काठमाडौं । स्वदेशी तथा विदेशी संयुक्त लगानीमा १ सय मेगावाट क्षमताको सुपर त्रिशुली जलविद्युत आयोजनाको निर्माण हुने भएको छ । सरार्फ ग्रुप, हङकङको डोमिन्स होल्डिङस र नेपालीको संयुक्त लगानीमा आयोजना निर्माण हुन लागेको हो । आयोजना निर्माण गर्न १६ अर्ब रुपैयाँ लाग्ने प्रवद्र्धक ब्लु इनर्जी प्रालिले गरेको संभाव्यता अध्ययनले देखाएको हो । आयोजनाबाट २०७९ असाेज १४ गतेदेखि बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको ब्लु इनर्जीका निर्देशक निरञ्जन रेग्मीले बताए । आयोजनामा स्वपुँजी (इक्विटी) लगानी गर्न हङकको डोमिन्स होल्डिङसंग समझदारीपत्र (एमओयु) मा हस्ताक्षर गरेको छ । यसका अतिरित्त नेपालमा होटल व्यवसाय गर्दै आएको सरार्फ र नेपालीको लगानी हुने भएको छ । सराफ ग्रुपले २३.५ मेगावाटको सोलु आयोजनामा पनि लगानी गरेको छ । हाल सो आयोजना निर्माण भइरहेको छ । विद्युत उत्पादन गर्न विद्युत विकास विभागले ब्लु इनर्जीलाई अनुमतिपत्र (लाइसेन्स) दिन लागेको छ । ३५ दिनभित्र उसले विद्युत उत्पादन लाइसेन्स पाउदै छ । यो वर्ष लाइसेन्स लिने, लगानी जुटाउने, आयोजनास्थलमा अस्थाइ क्याम्प बनाउने जस्ता पुर्वनिर्माणको काम सकेर आउदो वर्षदेखि आयोजना निर्माण थाल्ने निर्देशक रेग्मीले जानकारी दिए । उनका अनुसार आयोजनामा विश्व बैंक अन्र्तगतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) ऋण लगानी गर्न तयार भइसकेको छ । यस्तै कर्मचारी संचय कोष र नागरिक लगानी कोषसंग पनि सुपर त्रिशुलीमा लगानीका लागि छलफल सुरु भएको उनले जानकारी दिए । नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिदबिक्री सम्झौता (पीपीए) गर्न लागेको रेग्मीले बताए । सुपर त्रिशुलीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) एसएनभी ल्याभिन क्यानाडाले गरेको हो । डीपीआरले आयोजना निर्माणा लागत सस्तो पर्ने देखाएको रेग्मीको भनाई छ । डीपीआर अनुसार आयोजनाको प्रतिमेगावाट लागत १६ करोड रुपैयाँ छ । ब्लु इनर्जीलाई पब्लिक कम्पनी बनाई सर्वसाधारणमा सेयर निष्कासन गर्ने उनले जानकारी दिए । आयोजनामा ७० प्रतिशत कर्जा र ३० प्रतिशत स्वपुँजी हुने गरी लगानी संरचना तयार पारिएको छ । आयोजनामा इक्विटीको समस्या नभएको उनले स्पष्टपारे । काम सुरु गरेको ३ वर्ष ९ महिनामा आयोजना सम्पन्न हुनेछ । आयोजनाको बाँधसंगै विद्युतगृह हुने (ड्याम टोई) प्रकृतिको छ । यस्तो संरचना हुने सुपर त्रिशुली नेपालको पहिलो जलविद्युत आयोजना हुनेछ । नदीको वहावमा आधारित आयोजनाबाट वार्षिक ४० करोड ६७ लाख युनिट बिजुली उत्पादन हुने छ । आयोजनाको हेड १४.५ मिटर मात्र हुने छ । होरिजेन्ट एक्सिस भएको बल्ब टर्वाइनमा पानी खसाले आयोजनाबाट बिजुली उत्पादन हुने छ । आयोजनाको मुल संसचना राजधानीबाट १ सय किलोमिटर टाढाको दुरीमा हुने छ । चितवनको दारेचोक र गोरखाको मकैसिंहमा पर्छ । आयोजनाबाट १९ किलोमिटर टाढा आवुखैरनीमा रहेको २२० केभी क्षमताको सवस्टेशनमा बिजुली जोडिने छ ।  

भार्गव विकास बैंकको ८० प्रतिशत हकप्रदको बिक्री आजदेखि खुला, कहाँबाट दिने आवेदन ?

काठमाडौं । भार्गव विकास बैंकको ८० प्रतिशत(१० बराबर ८ को अनुपातमा) हकप्रद सेयरको बिक्री खुला गरेको छ । बैंकले कात्तिक २४ गते(आज)देखि एक सय रुपैयाँ अंकित दरका २१ लाख १२ हजार कित्ता हकप्रदको बिक्री खुला गरेको हो । सो मात्राको हकप्रदको लागि कात्तिक १४ गतेसम्म नेप्सेमा कारोबार गरेका सेयरधनीले आवेदन दिन पाउनेछन् । इच्छुक लगानीकर्ताले आजदेखि मंसिर २८ गतेसम्म बैंकिङ समयभित्र सो मात्राको हकप्रदमा आवेदन दिन पाउनेछन् । हाल कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ । ८० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ४७ करोड ५२ लाख रुपैयाँ नाघ्ने छ । कहाँबाट दिने आवेदन ?

काठमाडौं २ मा माधव नेपाल ९३०१ मतले अगाडी

माधव कुमार नेपालसँग प्रदेश सभाका उम्मेदवारद्धय सानुकुमार श्रेष्ठ र मणिराम फुँयाल काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा बामपन्थी गठबन्धनका साझा उम्मेदवार नेकपा(एमाले)का बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल ९३०१ मतले अगाडी देखिएका छन् । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले र माओवादी केन्द्रका वडा अध्यक्षहरुले पाएको मतका आधारमा नेपाल ठुलो मत अन्तरमा अघि देखिएका हुन् । काठमाडौं क्षेत्र नम्बर २ मा काठमाडौं महानगरपालिकाको ९ र ३२ नम्बर वडा, कागेश्वरी मनहरा नगरपालिकाको ४ देखि ९ नम्बरसम्मका वडा र शंखरापुर नगरपालिकाका ९ वटै वडाहरु समेटिएका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा एमाले एक्लैको मत १९१९६ रहेको छ । यहाँ काँग्रेसको मत १५६२७ रहेको छ । यो निर्वाचन क्षेत्रमा काँग्रेस भन्दा एमाले एक्लैको मत ३५६९  बढि छ । यसमा माओवादीको कुल मत ५७३२ जोड्दा २४९२८ पुग्छ । यो मत काँग्रेसको भन्दा ९३०१ मतले बढि हो । महानगरपालिकाका २ वडामध्ये ९ नम्बरमा एमाले उम्मेदवारले २५१७ मत पाएर विजयी भएका छन भने ३२ नम्बरमा ५८७९ मत पाएर एमाले उम्मेदवार नै विजयी बनेका छन् । महानगरका २ वडामा एमालेको मत ८३९६ रहेको छ । ९ नम्बर वडामा काँग्रेसको मत २१२५ र ३२ मा ४०१९ गरि ६१७५ मत रहेको छ । महानगरमा माओवादीको मत ९ नम्बरमा ५८५ र ३२ मा ७६३ गरि १३४८ मत रहेको छ । महानगरपालिका २ वटा वडामा एमाले र माओवादीको मत जोड्दा ९७४४ पुग्छ । कागेश्वर मनहरा नगरपालिकाको वडा नम्बर ४ देखि ९ सम्म यहि निर्वाचन क्षेत्रमा पर्छन् र यहाँ एमालेले मेयर र उपमेय दुबै जितेको छ । यी ६ वडामध्ये ४ वटा वडा जितेको एमालेको मत ६१४१ छ भने २ वडा जितेको काँग्रेसको मत ५८५९ छ । यहाँ माओवादीले १६४४ मत पाएको देखिन्छ । एमाले र माओवादीको मत जोड्दा ७७८५ मत पुग्छ । उता शंखरापुर नगरपालिकामा पनि मेयर र उपमेयर दुबै पद एमालेले नै जितेको छ । शंखरापुरका ९ मध्ये पाँच वडा जितेर एमालेले ४६५९ मत ल्याएको छ । यहाँ काँग्रेसको मत ३५९३ छ भने माओवादीको मत २७४० रहेको छ ।  शंखरापुरमा एमाले र माओवादी मिल्दा ७३९९ मत पुग्छ । यो मत काँग्रेसको भन्दा ३८०६ ले बढि हुनआउँछ ।  

शुक्रबार मात्रै चार कम्पनीको सेयर मूल्य समायोजन, क-कसको भयो?

काठमाडौं । शुक्रबार मात्रै विभिन्न चार कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले  आरएसडीसी लघुवित्त वित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्था, देवः विकास बैंक र एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस सेयर पछिको सेयरको मूल्य समायोजन गरेको हो । नेप्सेले आरएसडीसीकाे समायोजन पश्चात यस संस्थाको सेयर मूल्य प्रतिकित्ता १ हजार २९२ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १ हजार १९ रुपैयाँ रहेको थियो । त्यस्तै, नेप्सेले लक्ष्मी लघुवित्तको १० प्रतिशत बोनस सेयर पश्चात सेयर मूल्य समायोजन गराएको छ । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १ हजार २२७ रुपैयाँ रहेको छ भने जसको आधार मूल्य प्रतिकित्ता १ हजार २४५ रुपैयाँ रहेको थियो । त्यसैगरी, देवः विकास बैंकको पनि १७.१ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २०२ रुपैयाँ रहेको छ । साथै, एनएमबी माइक्रोफाइनान्सको २० प्रतिशत बोनस सेयरपछिको सेयर मुल्य समायोज गरेको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार सो मात्राको बोनस पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ८७६ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १ हजार ४५६ रुपैयाँ रहेको छ ।

माछापुच्छ्रे बैंक र लक्ष्मी बैंकको कहिलेदेखि बुक क्लोज ?

काठमाडौं । माछापुच्छ्रे बैंक र लक्ष्मी बैंकको बुक क्लोज हुँदै छ । यी दुबै बैंकले आ-आफ्नो साधारणसभामा जाने प्रयोजनको लागि बुक क्लोज गर्न लागेका हुन् । माछापुच्छ्रे बैंकको आगामी मंसिर १ गतेदेखि मंसिर १५ गतेसम्म बुक क्लोज हुँदै छ । यस बैंक आगामी मंसिर १५ गते वार्षिक साधारणसभामा जाँदै छ । उक्त साभामा बैंकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश( ९ प्रतिशत बोनस र ६ प्रतिशत नगद लभांश) दिने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्ने निर्णय गरेको छ । त्यस्तै, लक्ष्मी बैंकको पनि मंसिर ११ गतेदेखि मंसिर २८ गतेसम्म बुक क्लोज हुन लागेको छ । यस बैंक मंसिर २८ गते कम्पनीको वार्षिक साधारणसभामा जाँदै छ । यस बैंकले पनि साधारणसभामा गत आर्थिक वर्षको नाफाबाट सेयर पुँजीको १० प्रतिशत बोनस सेयर दिने सञ्चालक समितिको निर्णयलाई पारित गर्ने छ । असार मसान्तसम्ममा बैंकको चुक्ता पुँजी ७ अर्ब ४७ करोड रूपैयाँ छ । बोनस सेयर थप गर्दा पुँजी ८ अर्ब २२ रूपैयाँ हुनेछ ।