विकासन्युज

दाङमा वैदिक कृषि केन्द्र स्थापना हुने

काठमाडौं । हजारौँ वर्षदेखि अपनाउदै आएको वैदिक कृषि पद्दतिलाई विर्सदा रासायनिक तत्व मिसिएका अनाजका माध्यमबाट विभिन्न रोग फैलिएकाले आफ्नै पद्दतिमा फर्कनुपर्नेमा जोड दिइएको छ । नेपाल संस्कृत विश्वविद्यालय, महर्षि विश्वविद्यालय अमेरिका र नेपाल महर्षि वैदिक फाउन्डेसनले आयोजना गरेको कार्यक्रमका वक्ताले यस विषयमा जोड दिएका हुन् । विश्वविद्यालयले वैदिक कृषि पद्दतिलाई प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम गर्ने सो अवसरमा जानकारी दिइयो । कार्यक्रममा विश्वविद्यालय र अमेरिकाको आयोवास्थित महर्षि वैदिक विश्वविद्यालयले दाङमा वैदिक कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने विषयमा छलफल भएको संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा कुलप्रसाद कोइरालाले जानकारी दिए । “वैदिक कृषिमा आधारित शिक्षा विश्वविद्यालयमा पढाउनुका साथै अनुसन्धान केन्द्रमा सोधखोज गरी यसको उपयोगिता र महत्वका विषयमा प्रकाश पार्ने तयारी छ, विश्वविद्यालय भरभावातित् ध्यानका माध्यमबाट चेतनामा आधारित शिक्षा दिने विषयमा पनि छलफल भएको छ, यस सम्बन्धमा केही दिनमा संस्कृत विश्वविद्यालय र महर्षि विश्वविद्यालय अमेरिकाबीच सम्झौता हुँदैछ”–उनले भने । वैदिक कृषि विषयमा हाल अमेरिकामा अध्ययनका साथै खेती पनि भइरहेको सो अवसरमा जानकारी गराइयो । केन्द्र खुलेर यो पद्दति लागू भएपछि नेपाल र अमेरिकाका विद्यार्थी खोज अनुसन्धानका लागि आदानप्रदान समेत हुनेछ । कार्यक्रममा फाउन्डेशनका अध्यक्ष एवं पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटा, महर्षि विश्वविद्यालय अमेरिकाका पूर्व डीन राजा किङ्स्ले ब्रुक्स, वैदिक कृषिका लागि जापानमा बसी काम गरिरहेका जोन केन एफ, संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका प्रमुख प्राडा काशीनाथ न्यौपाने, विश्वविद्यालय प्राध्यापक संघका प्रा नवराज कट्टेल, विन्ध्यवासिनी संस्कृत विद्यापीठ पोखराका प्राचार्य अम्बिकाप्रसाद भट्टराईलगायतले वैदिक कृषि र चेतनामा आधारित शिक्षाले संस्कृत शिक्षाको उन्नयनमा सहयोग पुग्ने विचार राखेका छन् । रासस

बोनस सेयर पछि गुडविल फाइनान्सको सेयर मूल्य समायोजन

काठमाडौं । सोमबार गुडविल फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको १०.१९२८ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६१ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २१३ रुपैयाँ रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी ७९ करोड ९९ लाख रुपैयाँ रहेको छ । सोमबार कम्पनीको सेयर प्रतिकित्ता १५८ रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ ।

समानुपातिकमा एमाले र काँग्रेसको कडा टक्कर, कुन दलले कति पाए(सूचिसहित)

काठमाडौं । प्रत्यक्ष तर्फ करिब ५० प्रतिशत सिट जितेको नेकपा(एमाले) समानुपातिक तर्फ पनि पहिलो स्थानमा देखिएको छ । समानुपातिक तर्फको प्रारम्भिक मतगणना अनुसार एमाले ३ लाख ४१ हजार ६ सय ३२ मत सहित पहिलो स्थानमा छ । एमालेलाई पछ्याईरहेको काँग्रेसको समानुपातिक मत ३ लाख ३८ हजार १ सय ९१ रहेको छ । निर्वाचन आयोगले सोमबार बिहान ११ बजे सार्वजनिक गरेको तथ्यांक अनुसार समानुपातिक तर्फ काँग्रेस भन्दा एमाले जम्मा ४ हजार ४ सय ४१ मतले मात्रै अघि रहेको छ ।  तेश्रो स्थानमा रहेको माओवादी केन्द्रको मत भने १ लाख ६८ हजार ९ सय ६३ रहेको छ । राष्ट्रिय जनता पार्र्टी नेपालले २४ हजार ९ सय ९ मत पाएको छ भने विवेकशिल साझा पार्टीले १७ हजार १ सय ५१ मत प्राप्त गरेको छ । त्यस्तै, राप्रपाले १४ हजार ६ सय २, संघिय समाजवादी फोरमले १४ हजार १ सय ३८, नयाँ शक्ति पार्टी नेपालले १२ हजार ५ सय ९९, राप्रपा प्रजातान्त्रिक ७ हजार ४ सय ६१ मत र अन्य राजनीतिक दलहरुको २१ हजार ३ सय ५८ मत पाएका छन् ।

झापा-५ मा अध्यक्ष ओली भारी मतान्तरले विजयी

भद्रपुर । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा क्षेत्र नं ५ बाट ५७ हजार १३९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डा खगेन्द्र अधिकारीले २८ हजार २९७ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालय, भद्र्रपुरले जनाएको छ । यसैगरी, झापा निर्वाचन क्षेत्र नं २ मा वाम गठबन्धनका तर्फबाट एमालेका पवित्रा निरौला (खरेल) ४५ हजार ८१७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उद्धव थापाले ३२ हजार ५० मत प्राप्त गरेका छन् । प्रदेशसभाअन्तर्गत क्षेत्र नं ५ (क) मा वाम गठबन्धनबाट एमालेका हिक्मतकुमार कार्कीले २४ हजार ९८ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अनिलकुमार प्रसाईँले १८ हजार ६३६ मत प्राप्त गरेका छन् । प्रदेशसभा (ख) मा वाम गठबन्धनबाट एमालेका अर्जुन राईले ३० हजार ९७३ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राजनकुमार ढुंगानाले १० हजार ९९३ मत प्राप्त गरेका छन्। रासस

प्रतिनिधिसभाका ९८ र प्रदेशसभाका २०९ क्षेत्रको मतगणना सम्पन्न

काठमाडौं । निर्वाचन आयोगले मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य जारी रहेको जनाएको छ । आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज दिउँसो ४ बजेसम्म प्राप्त विवरणअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा तीनजना महिलासहित ९८ जना र प्रदेशसभा सदस्यतर्फ १० जना महिलासहित २०९ जना प्रतिनिधि निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यका लागि पहिलो चरणमा मतदान भएका ३७ निर्वाचन क्षेत्रमध्ये ३४ निर्वाचन क्षेत्रको र दोस्रो चरणमा मतदान भएका १२८ निर्वाचन क्षेत्रमध्ये ६४ निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । यसैगरी, प्रदेशसभा सदस्यका लागि पहिलो चरणमा मतदान भएका ७४ निर्वाचन क्षेत्रमध्ये ६६ निर्वाचन क्षेत्रको र दोस्रो चरणमा मतदान भएका २५६ निर्वाचन क्षेत्रमध्ये १४३ निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । रासस

माछापुच्छ्रे बैंक र बेलायतको सिफ्ट फाईनान्सीयल सर्भिसेज बिच रेमिट्यान्स सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र बेलायतको सिफ्ट फाईनान्सीयल सर्भिसेज लिमिटेडबिच रेमिट्यान्स सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा माछापुच्छ्रे बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक सन्तोष कोइराला तथा सिफ्ट फाईनान्सीयल सर्भिसेसका तर्फबाट अध्यक्ष ईदनान सबनले हस्ताक्षर गरेका छन् । सो सम्झौता पश्चात अष्ट्रेलिया, वहराईन, कुवेत, मलेसिया, पोर्चुगल, कतार, साउदी अरेविया, टर्की, युइनाइटेड अरबइ्रमिरेट्स तथा वेलायतमा रहेका नेपालीहरुले माछापुच्छ्रे बैंकको जुनसुकै शाखाबाट रकम पठाउन सक्ने बैंकले जनाएको छ । हाल यस बैंकले ६२ शाखा , ५००० भन्दा बढी एजेन्ट नेटवर्क, ४ एक्स्टेन्सन काउण्टर र ७ शाखारहित सेवा काउण्टरबाट बैंकिङ् सेवा दिँदै आइरहेको छ । बेलायतमा मुख्य कार्यालय रहेको सिफ्ट फाईनान्सीयल सर्भिसेजले विश्वका ६६ देशहरुमा आफ्नो संजालविस्तार गरेको छ ।

एमाले उपाध्यक्ष बामदेव गौतम पराजित

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम पराजित भएका छन् । उनी बर्दिया क्षेत्र नम्बर १ मा काँग्रेस उम्मेदवार सञ्जय गौतमसँग ७३५ मत अन्तरले पराजित भएका हुन् । देउवा सरकारका सिञ्चाई मन्त्री सञ्जय गौतमले ४४८२९ मत ल्याउँदा बामदेव गौतम भने ४४०७६ मतमै रोकिएका हुन् ।

यी हुन् सात प्रदेशका मुख्य मन्त्री, शंकरलाई हाईसञ्चो, भिम र शेरधनबीच टक्कर

काठमाडौं । मत गणनाको प्रारम्भिक रुझानसँगै कुन प्रदेशमा कुन पार्टीको सरकार बन्दैछ भन्ने आंकलन पनि सुरु भएको छ । त्यसमा पनि कुन पार्टीका कुन नेताले मुख्य मन्त्री पदको बागडोर सम्हाल्छन भन्ने चासो उत्कर्षमा पुगिसकेको छ । प्रदेश नम्बर २ बाहेक अन्य ६ वटै प्रदेशमा बामपन्थीहरुको सरकार बन्ने पनि निर्वाचन परिणामले देखाईसकेको छ । यस अघि पाँच प्रदेशमा एमाले र २ वटा प्रदेशमा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने चर्चा चलेको थियो । यस्तो अवस्थमा प्रदेश नम्बर १, ३, ४ र पाँचमा एमालेले प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना रहन्छ भने प्रदेश नम्बर ६ र ७ मा माओवादी केन्द्रले नेतृत्व गर्ने सम्भावना रहेको छ । तर माओवादीलाई प्रदेश नम्बर ६ मात्रै दिने सम्भावना पनि रहेको छ । प्रदेश नम्बर १ यो प्रदेशमा सरकारको नेतृत्व एमालेले गर्ने पक्का जस्तै छ । त्यहाँ एमाले केन्द्रिय सचिव भिम प्रसाद आचार्य र पोलिटब्युरो सदस्य शेरधन राईले मुख्य मन्त्रीका लागि दावी गरिरहेका छन् । आचार्य माधव नेपाल पक्षधर हुन भने राई एमाले अध्यक्ष केपी ओली निकट हुन् । राईलाई राष्ट्रपति विद्या भण्डारीको आशिर्वाद रहेको एमाले नेताहरु बताउँछन् । यो प्रदेशमा यीनै दुई नेतामध्ये एकजनाले मुख्य मन्त्रीको जिम्मेवारी पाउनेछन् । उता, एमाले केन्द्रिय सदस्य राजेन्द्र राईले पनि आफुलाई मुख्य मन्त्रीको दावेदारका रुपमा अघि सारेका छन् । आचार्य र राईले एक अर्कालाई अस्विकार गरेको अवस्थामा राजेन्द्र राई मुख्य मन्त्री बन्न सक्नेछन् । प्रदेश नम्बर २ यो प्रदेशमा बामपन्थीहरुले सरकार बनाउने सम्भावना देखिन्न । यहाँ संघिय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालले सरकार बनाउने देखिन्छ । यो प्रदेशमा संघिय समाजवादी फोरमका लालबाबु राउत र राजपाका जितेन्द्र रोनल मुख्य मन्त्रीका दावेदार छन् । यीनै २ जनामध्ये एक जनाले मुख्य मन्त्रीको जिम्मेवारी सम्हाल्ने सम्भावना रहेको छ । प्रदेश ३ प्रदेश नम्बर ३ मा एमालेले सरकार बनाउने देखिन्छ । यहाँ एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे, पशुपति चौँलागाईँ र अरुण नेपालले मुख्य मन्त्रीको दावी गरिरहेका छन् । बरिष्ठताका आधारमा अष्टलक्ष्मी शाक्य नै मुख्य मन्त्री बन्ने सम्भावना रहेको छ । प्रदेश नम्बर ४ यो प्रदेशको सरकार पनि एमालेले नै बनाउने छ । यहाँ एमाले सचिव पृथ्वी सुब्बा गुरुङ र पोलिटब्युरो सदस्य किरण गुरुङले मुख्य मन्त्रीको दावी गरिरहेका छन् । सुब्बा एमाले अध्यक्ष ओली निकट हुन भने गुरुङ एमाले उपाध्यक्ष बामदेव गौतम निकट हुन् । बामदेव गौतम बर्दियाबाट पराजित भएसँगै उनले किरणलाई मुख्य मन्त्री बनाउन दबाव दिने अवस्था छ । प्रदेश ५ प्रदेश नम्बर पाँचमा मुख्य मन्त्रीका लागि एक मात्र उम्मेदवार हुन एमाले नेता शंकर पोखरेल । उनलाई एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै मुख्य मन्त्री बनाउने आश्वासन दिएर प्रदेश सभामा निर्वाचन लडाएका हुन् । प्रदेश ६ यो प्रदेशको मुख्य मन्त्री भने माओवादीले पाउने सम्भावना छ । यहाँ माओवादीका पोलिटब्युरो सदस्य महेन्द्र बहादुर शाही प्रदेश सभामा निर्वाचन जितेर बसेका छन् । माओवादी केन्द्रले नै उनलाई मुख्य मन्त्री बनाउने आश्वासन सहित प्रदेशमा पठाएको बताइँदै आएको छ । यहि प्रदेशबाट मुख्य मन्त्रीको आसमा एमाले नेता प्रकाश ज्वाला पनि प्रदेश संसदमा बसेका छन् । प्रदेश ७ यो प्रदेशमा एमालेका पोलिटब्युरो सदस्य कर्ण बहादुर थापा मुख्य मन्त्रीको लाइनमा बसेका छन् । उनी मुख्य मन्त्री बन्नकै लागि प्रदेश सभाको समानुपातिक सूचिमा बसेर चुनावी अभियानमा सामेल भएका थिए । यहाँ माओवादीको उपल्लो स्तरका नेता मुख्य मन्त्रीका लागि लाइनमा बसेका छैनन् । यद्यपी यो प्रदेशको मुख्य मन्त्री पद माओवादीको भागमा परेमा महिला नेतृ देवकी मल्ललाई सम्भावित पात्रका रुपमा हेरिएको छ ।