आइएमई र मुथुत फाइनान्सबीच रेमिटेन्स सम्झौता, भारतबाट पैसा पठाउन सहज
काठमाडौं । नेपालस्थित आइएमई लिमिटेड र इण्डियास्थित मुथुत फाइनान्सबीच रेमिटेन्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा मुथुत फाइनान्सकातर्फबाट प्रमुख महाप्रवन्धक आर. के. बिजिमोन र आइएमई लिमिटेडका तर्फबाट प्रमुख संचालन अधिकृत खिलेन्द्र पौडेलले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार भारतमा रहेका नेपाली नागरिकले मुथुत फाइनान्सका ४ हजार ६ सय शाखाबाट नेपाल पैसा पठाउन सक्नेछन् । यसरी पठाएको रकम नेपालमा रहेका ७ हजार १ सय भन्दाबढी आइएमई एजेन्ट आउटलेटबाट सजिलै भुक्तानी लिन सकिनेछ । नगद भुक्तानी सेवाका अतिरिक्त खातामा जम्मा गर्ने सुविधा पनि प्राप्त गर्न सकिनेछ । नेपालस्थित ग्लोबल आइएमई बैंक र भारतस्थित आरबीएल बैंक यो सेवाका लागि बैंकिंग साझेदार संस्था हुनेछन् । कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘आइएमई र मुथुत फाइनान्सको सहकार्यपछि भारतमा रहँदै आएका लाखौँ नेपालीहरुलाई सहजै नेपाल पैसा पठाउने ढोका खुल्ला भएको बताएका छन्’ । प्रवन्ध निर्देशक हेमराज ढकालले यस सहकार्यले भारतबाट नेपालमा पैसा पठाउन सहजता थपेको बताउँदै इण्डो–नेपाल रेमिटेन्स सेवामा यो सम्झौताले थप विविधता ल्याउने बताएका छन् । त्यस्तै, मुथुत फाइनान्सका प्रमुख महाप्रवन्धक बिजिमोनले यस सम्झौतापछि भारतमा रहेका करिब ५० लाख नेपालीहरुले आर्जन गरेको धन नेपालमा रहेका तिनका आफन्तलाई भुक्तान गर्न सहज हुने विश्वास व्यक्त गरेका छन् ।
केपी ओलीले गर्दैछन् बाहिरी चक्रपथको शिलान्यास, नयाँ सरकार पर्खदै आयोजना
काठमाडौं । बहुप्रतिक्षित बाहिरी चक्रपथ सडकको शिलान्यास केपी ओलीले गर्ने भएका छन् । यस अघि मंसिर अन्तिम साता आयोजनाको शिलान्यास गर्ने तयारी गरिएको थियो । तर बामपन्थी सरकार निर्माण हुने अवस्था बनेकाले नयाँ सरकारका प्रधानमन्त्रीको हातबाटै आयोजनाको शिलान्यास गराउने प्रक्रिया अघि बढेको हो । बाम गठबन्धनका तर्फबाट एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्दैछन् । ‘यो दुरगामी महत्वको आयोजना हो, नयाँ सरकारका प्रधानमन्त्रीको हातबाट शिलान्यास गराउने योजना सहित जग्गा अधिग्रहणको फाइल मन्त्रिपरिषद तथा प्रधानमन्त्रीको कार्यालयमै रोकिएको छ’, श्रोतले भन्यो । श्रोतका अनुसार मन्त्रिपरिषदको कार्यालयका उच्च कर्मचारीले नै नयाँ सरकार आएपछि मात्रै आयोजना शिलान्यास गराउने योजना बनाएका हुन् । बाहिरी चक्रपथको पाइलट प्रोजेक्ट अन्तर्गत चोभारदेखि सतुंगलसम्मको ६.६१८ किलोमिटर खण्डमा काम अघि बढाउन अन्तिम तयारी भैरहेको छ । शिलान्यास भएको २ बर्षभित्र जग्गा एकिकरण र ग्राभेलस्तरको सडक तयार पार्ने कार्ययोजना निर्माण गरिसकेको छ । यसको अनुमानित लागत ६ अर्ब रहेको छ । ग्राभेलस्तरको सडक तयार भएपछि कालोपत्रे भने चीनले गरिदिनेछ । बाहिरी चक्रपथ सडक कालोपत्रे गर्नेबारे नेपाल र चीनबिच यस अघि नै सम्झौता भैसकेको छ ।
लक्ष्मी बैंकले ल्यायोे “लक्षित मुद्दती” योजना, वार्षिक ९ प्रतिशत सम्म ब्याज पाइने
काठमाडौं । लक्ष्मी बैंकले नयाँ “लक्षित मुद्दती” (रिकरिङ्ग डिपोजिट) बचत खाता योजना बजारमा ल्याएको छ । यस योजना अन्तर्गत बैंकका सम्पूर्ण नयाँ तथा पुराना ग्राहकहरुले वार्षिक ९ प्रतिशत सम्म ब्याज प्राप्त गर्न सक्नेछन् । लक्षित मुद्दती, नियमित आम्दानी हुने ग्राहकहरुको लागि मासिक बचतमा उच्चतम व्याज प्राप्त गर्न सकिने विकल्पको रुपमा प्रस्तुत गरिएको छ । यो खातामा ग्राहकहरुले मासिक न्यूनतम ५०० रुपैयाँ वा सो भन्दा बढि जम्मा गर्न सक्नेछन् । ग्राहकले जम्मा गर्ने रकम सुनिश्चित गरिसकेपछि सो रकम हरेक महिना स्वतः लक्षित मुद्दती खातामा जम्मा हुने बैंकले जनाएको छ । १ वर्षदेखि ५ वर्षसम्मको समयावधि निर्धारण गरी खाता खोल्न सकिन्छ । साथै, लक्षित मुद्दती खाता खोल्ने सम्पूर्ण ग्राहकले लक्ष्मी बैंकको आधिकारिक भगिनी संस्था लक्ष्मी क्यपिटलमा निःशुल्क डिम्याट खाता खोल्ने सुविधा प्राप्त गर्न सक्नेछन् ।
अन्तर कलेज फुटसललाई एभरेष्ट बैंकको साथ, प्रतियोगिता मंसिर २८ गतेदेखि शुरु
काठमाडौं । अन्तर कलेज फुटसललाई एभरेष्ट बैंकले मुख्य प्रायोजन गर्ने भएको छ । मंगलवार एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र आयोजक प्रोक्सी इन्फोटेक सोलुसन प्रालीका इभेन्ट म्यानेजर सरोज शर्मा ढुगांना बीच सम्झौता पत्र आदन–प्रदान भएको छ । मंसिर २८ गते संचालन हुने एक दिवसीय फुटसल प्रतियोगिता सम्झौता पश्चात एभरेष्ट बैंक अन्तर कलेज फुटसल प्रतियोगिताको नामले संचालन हुने भएको छ । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सेठले सम्झौता पत्रमा हस्ताक्षर पश्चात राष्ट्रको गौरब बढाउने एकताको प्रतिक खेलक्षेत्रसग हाम्रो संस्था जोडिन पाउदा गौरवान्बित भएको धारणा ब्यक्त गरे । त्यस्तै, आयोजक प्रोक्सी इन्फोटेक सोलुसन प्रालीका इभेन्ट म्यानेजर ढुगांनाले दिगो दरिलो बिश्वासिलो स्लोगनका साथ प्रतिस्ठा कमाएको एभरेष्ट बैंकले खेलक्षेत्रमा पुर्याएको सहयोग प्रति आभार ब्यक्त गरे । लिगकम नकाउटका आधारमा संचालन हुने प्रतियोगितामा सहभागि २० टिमलाई ४ समूहमा बिभाजन गरिएको छ । प्रतियोगिताको बिजेता टिमले ५५ हजार र उपबिजेता टिमले २५ हजार नगद प्राप्त गर्ने छन् । मुख्य प्रायोजन गरेको एभरेष्ट बैंकले सम्झौता अनुसार नगद पुरस्कार, शिल्ड, मेडल, ब्यानर र ब्यवस्थापनतर्फको जिम्मेवारी लिएको छ ।
ग्लोबल आइएमई बैंक र मेटलाईफ इन्सोरेन्सबीच बैंकाइन्सोरेन्स सम्झौता
काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेड र मेटलाईफ इन्सोरेन्स कम्पनीबीच बैंकाइन्सोरेन्स सम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई जीवन बीमा सेवा दिने उद्धेश्यले उक्त इन्सोरेन्ससंग सो सम्झौता गरेको हो । सो सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल तथा मेटलाईफ इन्सोरेन्स कम्पनीको तर्फबाट उपाध्यक्ष एंव कार्यकारी निर्देशक निर्मल काजी श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात ग्लोबल आइएमई बैंकका ग्राहकहरुले बैंकका सम्पूर्ण शाखा मार्फत छिटो, छरितो तथा सहजरुपमा बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् । बैंकले हाल १०८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १२५ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ५३ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् । त्यस्तै, बैंकले अत्याधुनीक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि, बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।
एनसेलले सुरु गर्यो अनलाइन रिचार्ज सेवा
काठमाडौं । निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले नेपालमै पहिलो पटक अनलाइन रिचार्ज सेवा सुरु गरेको छ । यो सेवा अन्तर्गत एनसेलका ग्राहकले भिसा, मास्टरकार्ड र युनियनपेको आफ्नो डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी जहाँ सुकै र जहाँ भएपनि प्रिपेड मोवाइल रिचार्ज तथा पोस्टपेड मोवाइलको बिल भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ । अनलाइन रिचार्ज सेवा मंसिर २६ (मंगलबार) बाट सुरु भएको छ । एनसेलका अनुसार, डिजिटल सेवा मार्फत ग्राहक अनुभवलाई थप अभिवृद्धि गर्ने उद्देश्य स्वरुप यो सेवा ल्याइएको हो । एनसेलका ग्राहकले एनसेलको वेबसाइट payment.ncell.axiata.com मा गई डेबिट/क्रेडिट कार्ड रिचार्ज छनोट गरी आवश्यक विवरणहरु (रिचार्ज गर्न लागेको मोवाइल नम्बर, रिचार्ज गर्ने रकम, कार्ड नम्बर र कार्डको पछाडि उल्लेखित तीन वटा सेक्युरिटी कोड) भरेर रिचार्ज सेवाको फाइदा लिन सक्नेछन् । एनसेलका ग्राहकले यो वेबसाइटबाट रिचार्ज कार्ड पिन प्रयोग गरी कुनै पनि एनसेल नम्बरमा ब्यालेन्स रिचार्ज पनि गर्न सक्नेछन् । ग्राहकले एनसेल एपबाट पनि अनलाइन रिचार्ज सेवा लिन सक्ने एनसेलले जनाएको छ । नयाँ-नयाँ सेवा तथा प्रविधिहरु अवलम्बन गर्दै ग्राहक सेवा तथा अनुभवलाई थप परिस्कृत गर्ने कार्यमा एनसेल सधै अग्रपंक्तिमा रहने गरेको छ । एनसेलले ग्राहक अनुभवलाई अभिवृद्धि गर्ने उद्देश्य अनुरुप नै अनलाइन च्याट सेवा पनि प्रदान गर्दै आइरहेको छ ।
भूकम्पपीडितका नाममा १,३९५ ट्याक्सी दर्ता
काठमाडौं । भूकम्प अतिप्रभावित १४ जिल्लाका पीडितलाई गोलाप्रथाबाट बाँडिएको एक हजार ५०० ट्याक्सीमध्ये एक हजार ३९५ खरिद भई दर्ता भएको छ । यातायात व्यवस्था विभागले गत असार पहिलो साता आवेदन दिएका एक लाख ४९ हजार ५३६ पीडितमध्येबाट गोलाप्रथाबाट एक हजार ५०० पीडित छनोट गरेको थियो । विभागले ट्याक्सी ल्याउने गोला जितेका तर घरधनीको निधन भएकाका परिवारले पनि ल्याउन पाउने निर्णय एक महिना अघि गरेको छ । भूकम्पपीडितको सूचीमा रही मृत्यु भएकाले वडा कार्यालयको सिफारिस ल्याए परिवारका अर्को सदस्यको नाममा ट्याक्सी ल्याउन सकिने यातायात व्यवस्था कार्यालय, सानाठूला सवारी वाग्मती, एकान्तकुनाका प्रमुख वसन्त अधिकारीले जानकारी दिए । सूचना नपाएका, मंसिर मसान्तसम्मको म्याद थाहा नपाएका, स्रोत जुटाउन नसकेका र विदेश रहेकाले अहिलेसम्म ट्याक्सी नल्याएको हुनसक्ने उनको भनाइ छ । “भूकम्पपीडितका नाममा आएका ट्याक्सीमध्ये आधाभन्दा बढी बिक्री भएको छ, पीडितले ल्याएको ट्याक्सी बेचबिखन गर्न नपाउने भन्ने कुनै कानूनी व्यवस्था छैन, उपत्यकाका बाहिर बस्नेले गोलाप्रथाबाट ट्याक्सी जित्दा यहाँ बसेर चलाउन पनि समस्या छ, त्यसैले अधिकांशले बेचेका हुन सक्छन्” – कार्यालय प्रमुख अधिकारीले भने । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भूकम्प अतिप्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, मकवानपुर, गोरखा, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर, धादिङ, नुवाकोट र रसुवाका पीडितलाई राहतस्वरुप एक हजार ५०० ट्याक्सी ल्याउन स्वीकृति दिएको थियो । असारमा गोलाप्रथाबाट छनोट भएका पीडितलाई मंसिर मसान्तसम्म ट्याक्सी आयात गरिसक्न असार मसान्तमै सूचना निकालिएको थियो । बाँकी १०५ ट्याक्सी यो महिनाको अन्त्यसम्म दर्ता भइसक्ने कार्यालयले जनाएको छ । रासस
नेप्से दोहोरो अंकले ओरालो, उत्पादनमूलक बोहक सबै समूह राताम्मे
काठमाडौं । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । बजारमा परिसूचक १७.५४ अंकले ओरालो लागेर १५१०.२१ अंकमा अडेको छ । परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको छ । बजारमा कुल ६६ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १५७ कम्पनीको ११ लाख ८० हजार कित्ता सेयर किनबेच भएका छन् । बजारमा उत्पादनमूलक समूह बाहेक अन्य बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । सो दिन सबैभन्दा बढी बीमा समूहको परिसूचक १६६ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल ४७, विकास बैंक २२, माइक्रोफाइनान्स २० र बैंकिङ समूहको परिसूचक १३ अंकले राताम्मे भएका छन् । उता उत्पादनमूलक समूह भने ६.४२ अंकले उकालो लागेको छ । दोहोरो अंकले ओरालो लागेको बजारमा सबैभन्दा बढी काबेली विकास बैंकको सेयर मूल्य ८.६४ प्रतिशतले बढेको छ । सो दिन सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयरको मूल्य ५.८४ प्रतिशतले घटेको छ । सेयर बजारमा ग्लोबल आइएमई बैंक र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयर ५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।