विकासन्युज

अध्यक्ष हर्क​​​​​​​ साम्पाङले गरे सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा मनोनयन दर्ता

काठमाडौं ।  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।  धरान उपमहानगरपालिकाका पूर्वनगर प्रमुखसमेत रहेका उनले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा पुगेर मनोनयन दर्ता गराएका हुन् । निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार अध्यक्ष राईले धरान उपमहानगरपालिका-८ स्थित निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता भइरहेको छ । जिल्लाभर कूल पाँच लाख ८० हजार ९४५ जना मतदाता कायम रहेका छन् । जसका लागि १६७ मतदानस्थल र ६२४ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख कृष्ण पौडेलले जानकारी दिए ।  

गगन थापाले वारेसमार्फत गराए उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् ।  थापाले सर्लाही- ४ मा मधेस प्रदेशसभा सदस्य वीरेन्द्र सिंहको वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।  समयको चापका कारण उपस्थित हुन नसकेपछि उनले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । यसअगाडि सभापति थापा काठमाडौं- ४ बाट चुनाव लड्दै आएका थिए । कांग्रेसबाट ४ मा सचिन तिमल्सेनाले उम्मेदवारी दर्ता गराएका छन् । तिमल्सेना थापानिकट मानिन्छन् ।

रास्वपाले मनोनयन दर्ता गर्न पुगेका उम्मेदवारको टिकट खोस्यो, कैलाली-४ मा खेमराज बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कैलाली–४ मा खेमराज कोइरालालाई टिकट दिएको छ । यसअघि हरि रेग्मीलाई दिएको टिकट खोसेर रास्वपाले कोइरालालाई दिने निर्णय गरेको हो ।  मंगलबार रेग्मी मनोनयन दर्ताका लागि निर्वाचन कार्यालय पुगिसकेका थिए । तर, एकाएक रास्वपाले कोइरालालाई टिकट पठाउँदै मनोनयन दर्ता गर्न निर्देशन दिएको हो ।  रास्वपाले जिल्ला निर्वाचन कार्यालय कैलालीलाई लेखेको पत्रमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा कैलाली क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा जारी गरिएको उम्मेदवारको नाम परिवर्तन गर्नुपर्ने आन्तरिक निर्णय भएको हुँदा निज उम्मेदवार हरि रेग्मीको नाम खारेज गरी खेमराज कोइरालालाई राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारिक उम्मेदवार कायम गरिदिन हुन अनुरोध गर्दछु ।’

बैतडीबाट पूर्वउद्योगमन्त्री दामोदर भण्डारीले गरे मनोनयन दर्ता

काठमाडौं । पूर्वउद्योग वाणिज्य तथा आपूर्तिमन्त्री एवं एमाले केन्द्रीय सदस्य दामोदर भण्डारीले बैतडीबाट मनोनयन दर्ता गराएर चुनावी मैदानमा होमिएका छन् । मंगलबार बिहान उनले मनोनयन दर्ता गराएर चुनावी मैदानमा होमिएका हुन् ।  दुईपटक उद्योगमन्त्री भइसकेका भण्डारीलाई यसपटक चौतर्फी घेराबन्दी छ । उनले नेपाली कांग्रेसका चतुरबहादुर चन्द, रास्वपाका हरिमोहन भण्डारी र नेकपाका परमानन्द भट्टसँग प्रतिस्पर्धा गर्नेछन् ।  भण्डारी २०७० सालको संविधान सभा, २०७४ र २०७९ को प्रतिनिधि सभा निर्वाचनमा बैतडीबाट विजयी भएका थिए । भण्डारीले २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा ३३ हजार ६११ मत ल्याएका थिए ।  उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको गठबन्धनका नरेन्द्र कुँवरले ३२ हजार ८० मत ल्याएका थिए ।  

कांग्रेसको आधिकारिकता विवाद : सर्वोच्चले दिएन अन्तरिम आदेश, दुवै पक्षलाई छलफलमा बोलायो

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । यससँगै गगनकुमार थापालाई कांग्रेसको सभापतिमा कामकाज गर्ने बाटो खुला भएको छ । थापा समूहले विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेको थियो ।  उक्त नेतृत्वलाई निर्वाचन आयोगले मान्यता दिएपछि त्यसविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवासमेत २ जनाको तर्फबाट सर्वोच्चमा रिट दायर भएको थियो । सर्वोच्चले निर्वाचन आयोगको निर्णयमा कारण देखाऊ आदेश जारी गर्दै कांग्रेसका दुवै पक्षलाई छलफलमा बोलाएको छ ।  फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारको टिकटमा थापाले नै हस्ताक्षर गरेर टिकट वितरण गरेका छन् ।  

राजन भट्टराईले गरे काठमाडौं- ४ मा उम्मेदवारी दर्ता

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा नेकपा एमालेका नेता राजन भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् । उनले मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् । नेता भट्टराई यसअघि दुईपटक गगन थापासँग पराजित भएका थिए । थापाले सर्लाही- ४ बाट उम्मेदवारी दिने भएपछि भट्टराई अन्तिम समयमा उम्मेदवार बन्न आइपुगेका हुन् । सो क्षेत्रमा कांग्रेसले सचिन तिमल्सिना र रास्वपाले पुकार बमलाई उम्मेदवार बनाएको छ ।  

काठमाडौं–४ मा कांग्रेसबाट सचिन तिमल्सिनाले गराए उम्मेदवारी दर्ता

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सचिन तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका छन् । उनले मंगलबार (आज) उम्मेदवारी दर्ता गराएका हुन् ।  सचिव तिमल्सिना काठमाडौं महानगर- ३०, ज्ञानेश्वरका बासिन्दा हुन् ।  यसअगाडि  उक्त ठाउँमा कांग्रेस सभापति गगन थापाले चुनाव लड्दै आएका थिए । यस क्षेत्रबाट पछिल्ला तीन निर्वाचनमा उनी लगातार निर्वाचित भएका थिए । तिमल्सिना थापा निकट मानिन्छन् । सभापति थापा भने सर्लाही–४ बाट चुनाव लड्दैछन् । 

जेनजी सरकारका चार मन्त्री चुनावी मैदानमा

काठमाडौं । आगामी निर्वाचनको सरगर्मी सुरु भएसँगै पूर्वमन्त्रीहरू पनि कम्मर कसेर चुनावी मैदानमा उत्रिएका छन् । कोही नयाँ पार्टीबाट त कोही आफ्नै पुरानो विरासत जोगाउन लागि परेका छन् ।  काठमाडौं क्षेत्र नम्बर ३ मा यसपटक निकै रोचक प्रतिस्पर्धा हुने भएको छ । निवर्तमान भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले यस क्षेत्रबाट चुनाव लड्ने भएका छन् । चुनावमा होमिनकै लागि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।  घिसिङलाई टक्कर दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजुनाथ पाण्डे मैदानमा उत्रिएका छन् । काठमाडौं महानगरपालिकाको प्रहरी प्रमुखबाट राजीनामा दिएर पाण्डे राजनीतिमा होमिएका हुन् ।  दुई एक्सन ओरिएन्टेड व्यक्तित्वहरूबीचको यो प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ ।  निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरी चुनावी मैदानमा होमिएका हुन् ।  यस्तै, निवर्तमान शिक्षामन्त्री महावीर पुनले म्याग्दीबाट चुनाव लड्ने भएका छन् । मंगलबार बिहान मनोनयन दर्ता गर्न पुन म्याग्दीको निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । त्यसअघि उनले शिक्षामन्त्रीको पदबाट राजीनामा दिएका थिए ।   यसैगरी, सिराहा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट बब्लु गुप्ता चुनावी मैदानमा होमिएका छन् ।  उनले उम्मेदवारी दर्ता गराइसकेका छन् । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा उनी खेलकुदमन्त्री बनेका थिए । उनले निर्वाचनमा सहभागी हुनका लागि खेलकुदमन्त्री पदबाट राजीनामा दिएका थिए। पूर्वस्वास्थ्य र शिक्षामन्त्रीहरू चुनावी मैदानमा, क-कसले दिए उम्मेदवारी ?