विकासन्युज

फस्ट माइक्रो फाइनान्सको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री खुला गरेको छ । केही संस्थापकले सेयर बिक्री गर्नका लागि निवेदन दिएपछि फस्ट माइक्रोफाइनान्सले बिक्री खुला गरेको हो । संस्थाभित्रकै संस्थापक सदस्यहरुलाई नै प्रथामिकता दिने र खरिद नगरे वाह्य लगानीकर्तालाई बिक्री गर्न भएको छ ।संस्थाको सेयर प्रतिकित्ता ८१७ रुपैयाँमा कारोबार भएको छ ।

तल्लोअरुण जलविदुयत आयोजनाको काम अघि बढ्यो, वातावरणीय प्रभाव अध्ययन हुदै

काठमाडौं । सरकारले ६७९ मेगावाट क्षमताको तल्लोअरुण जलविदुयत आयोजना निर्माण गर्ने भएको छ । ब्राजिलको ब्रास पावरको अनुमतिपत्र (लाइसेन्स) रद्ध गरेपछि ऊर्जा मन्त्रालयले आयोजनाको काम अघि बढाउन लागेको हो । आयोजनाको संभाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्याँङकनको कामका लागि ऊर्जाले जर्मनको फिस्नर जीएमबीएच एन्ड कम्पनी केजी र नेपालको सिल्ट कन्सलट्यान्ट प्रालिलाई जिम्मा दिएको छ । परामर्शदाता कम्पनीले अहिले आयोजनाको वातावरणीय प्रभाव मूल्याँकन (ईआईए) अध्ययनका लागि क्षेत्र निर्धारणको काम थालेका छन् । दुई जिल्लाका २ नगरपालिका र ४ गाउँपालिका बढी प्रभावित हुने भएका छन् । संखुवासभा र भोजपुर जिल्लाका गाउँपालिका र नगरपालिकाहरु प्रभावित हुने भएका छन् । प्रभावित हुने क्षेत्रहरुमा संखुवासभा जिल्लाको मकालु गाउँपालिका, सिलीचोङ गाउँपालिका, चिचीला गाउँपालिका, र खाँदबारी नगरपालिका रहेका छन् । यसैगरी भोजपुर जिल्लाको साल्पासिलीछो गाउँपालिका, र षडानन्द नगरपालिका रहेका छन् । सुचना प्रकाशित भएको १५ दिनभित्र विभागको ठेगानामा लिखित राय तथा सुझाव पठाउन विभागले सर्वसाधारणलाई अनुरोध समेत गरेको छ । यस्तो बन्नेछ, आयोजना प्रदेश नं. १ को संखुवासभा र भोजपुर जिल्ला भएर बग्ने तल्लो अरुण जलविदुयत आयोजनाको क्षमता ६७९ मेगावाट रहेको छ । यस आयोजनाको ८० मिटर अग्लो बाँध चिचीला गाउँपालिको वडा नं. २ तथा सिलीचोङ गाउँपालिका वडा नं ५ मा रहि, १३ किलोमिटर लामो सुरुङबाट खाँदबारी नगरपालिकामा अवस्थित भुमिगत विदुयत गृह हुदैं टेलरेसको टनेलको माध्मबाट अरुण नदिमा पुनः खसालिने छ । आयोजनाको बाँध रहेको स्थान समुन्द्री सतहदेखी ५३२ मिटर र विदुयतगृह रहेको स्थान समुद्री सतहदेखी ३०५ मिटर उचाईमा रहने छ । आयोजना आर्थिक रुपमा आर्कषक देखिएको प्रारम्भीक अध्ययनले देखाएको छ । सोही आयोजना भन्दा केही माथि भारतको एसजेवियन अरुण तेस्रो पावर डेभलपमेन्ट कम्पनीले ९ सय मेगावाटको अरुण तेस्रो आयोजनाकोको काम सुरु गरेको छ ।

नविल बैंकले सीईओ पाउन अझै ६ महिना कुर्नुपर्ने, सेयर मूल्यमा निरन्तर गिरावट

काठमाडौं । सशिन जोशीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट राजीनामा गरेपछि पछिल्लो समयमा नविल बैंकको सेयर मूल्य निरन्तर ओरालो लागेको छ । अनुभवी बैंकर जोशीले बैंक छाडेपछि नविलको सेयर मूल्य निरन्तर ओरालो लागेको छ । पछिल्लो १५ दिनको सेयर कारोबार हेर्दा नविलको सेयर मूल्य घट्दै गएको छ ।   गत साउनमा नविलको सेयर मूल्य १ हजार ७८० रुपैयाँ थियो । लाभांश घोषणापछि मूल्य समायोजन हुदा बैंकको सेयर प्रतिकित्ता १ हजार १८५ रुपैयाँ थियो । पछिल्लो समयमा लगातार घटेर घटेर अहिले १ हजार ३९ रुपैयाँमा झरेको छ । २८ वाणिज्य बैंकहरु मध्ये नविललाई अब्बल बैंकको रुपमा लिइन्छ । सेयर घटेको प्रति लगानीकर्ताको गुनासो आउन थालेको नविलका अध्यक्ष शम्भुप्रसाद पौडेल बताउँछन् । विना कारण पछिल्लो एक सातादेखि सेयरको मूल्यमा निरन्तर गिरावट आएको उनले जानकारी दिए । लगानीकर्ताले सेयर मूल्य घटेको भनेर फोन गरेर गुनासो गर्न थालेको उनले जानकारी दिए । “बैंकको सबै अवस्था राम्रो छ, अहिले घट्नु पर्ने कुनै कारण देखिदैन निरन्तर ओरालो लागि रहेकाले घट्नुको कारण बुझ्न सकिएन” उनले भने । पहिला थोरै किनेर घटाएकोमा अहिले बल्कमा सेयर बेचेर मूल्य घटाउन केही ठुला लगानीकर्ता लागिपरेको उनको विश्लेषण छ । बैंकको कारण नभई केही ठुला लगानीकर्ता नविलको सेयर घटाउन लागि परेको उनको जिकिर छ । मेगा बैंक छाडेका अनिलकेशरी शाह अझै ६ महिना नविल बैंकमा जान नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एउटा बैंकबाट छाडेर अर्को बैंकमा ६ महिनासम्म जान नपाउने (कूलिङ पिरियड) लागु भएकाले शाह तत्काल नविलमा जान नपाउने अवस्था आएको हो । सेन्चुरी कमर्शियल बैंकमा तलब सुविधा कम भएको भन्दै एकतर्फी सम्झौता तोडेर शाहले नविल बैंकमा सीईओ हुने सम्झौता गरेका थिए । सम्झौता गरेको एक दिन अघि कुलिङ पिरियड लागु भएपछि उनले नविलको सीईओ हुन ६ महिना कुर्नुपर्ने अवस्था आएको हो । शाहलाई पनि कुलिङ पिरियड लागु भएको नेपाल राष्ट्र बैंकका सहायक प्रवत्ता राजेन्द्र पण्डित बताउँछन् । विकास न्युजसंग कुरा गर्दै पण्डितले ६ महिनापछि मात्र उनी नविलको सीईओ हुन पाउने बताए ।

सिजीकोे वासर र ड्रायर भएको फ्रन्टलोड वासिङ्ग मेसिन बजारमा, १० वर्षको वारेण्टी

काठमाडौं । सिजीले हालै बजारमा फ्रन्टलोड वासिङ्ग मेसिनहरु ल्याएको छ । उक्त मेसिनमा वासर र ड्रायर दुबै विशेषता रहेको छ । वासर र ड्रायर भएको उक्त मेसिनले थोरै समयमा नै लुगाधुने र आफै सुकाईदिने काम गर्दछ । त्यस्तै, यसमा नयाँ प्रविधिको टच प्यानल र इन्भटर मोटर पनि जडान गरिएको छ । यि वासिङ्ग मेसिनहरु बजारमा ८ केजीको क्षमतामा १० वर्षको वारेण्टी मोटरमा सहित उपलब्ध भएको सि.जी.काप्रोडक्ट मेनेजर रितेश चौधरीले बताएका छन् ।

‘आइएमई छक्कापञ्जा’ अफर अन्तर्गत रोकायाले पाए १० लाख रुपैयाँको नगद पुरस्कार

काठमाडौं । ‘आइएमई छक्कापञ्जा’ अफरमा आइएमई सेवाग्राही रमेश रोकायाले १० लाख रुपैयाँको नगद पुरस्कार पाएका छन् । उक्त अफर अन्तर्गत रोकायाले ६० हजार रुपैयाँ पठाउँदा सो रकमको चेक पाएका हुन् । रु. १० लाख नगद पुरस्कार प्राप्त गर्ने आइएमई सेवाग्राही रमेश रोकायाले चेक ग्रहण गरेपछि सामूहिक तस्वीर खिचाउँदै ।  

पर्यापर्यटनबाट ६० लाख आम्दानी, सबैभन्दा बढी जिप सफारीबाट

चितवन । पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनले पर्यापर्यटनबाट रु ६० लाख आम्दानी गर्न सफल भएको छ । सौराहा नजिकै रहेको उक्त सामुदायिक वन चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । पर्यटकले सौराहामा पाउने सुविधा उक्त वनमा समेत पाउँदै आएका छन् । आम्दानीको स्रोत हात्ती सफारी, जिप सफारी, डुंगा सयर, मचानलगायत हो । उक्त सामुदायिक वनले एक वर्षमा पर्यापर्यटनबाट ५९ लाख ९६ हजार आम्दानी गरेको सामुदायिक वनका कार्यालय सचिव भरतप्रसाद नेपालले जानकारी दिएका छन् । गएको एक वर्षमा जिप सफारीबाट मात्रै वनले रु ३० लाख ५१ हजार आम्दानी गरेको छ । हाल कुमरोज सामुदायिक वनमा दैनिक ३० वटा जिप सञ्चालनमा छन् । जिपमा बसेर जंगली जनावर गैँडा, बाघ, भालु हात्ती अवलोकन गर्न यहाँ पर्यटक आउँछन् । जिप प्रवेशबापत सामुदायिक वनले प्रतिजिप रु ५०० लिने गरेको छ भने नेपाली पर्यटकलाई प्रति व्यक्ति रु ५०, भारतीयलाई रु १०० र अन्य विदेशीलाई रु २०० लिने गरेको कुमरोज सामुदायिक वनका अध्यक्ष हीराबहादुर गुरुङले जानकारी दिएका छन् । हात्ती प्रवेश टिकट बिक्रीबाट रु १३ लाख ७५ हजार आम्दानी गरेको वनका अध्यक्ष गुरुङले बताए । डुंगा सवारबाट रु सात लाख ४८ हजार, मचान टिकट बिक्री विदेशीबाट पाँच लाख ३१ हजार रुपैयाँ, सोही शीर्षकमा नेपाली पर्यटकबाट रु ९४ हजार आम्दानी भएको छ । कुमरोज वनमा एउटा काठ र अर्को क्रंकिटको मचान छ । यस्तै आन्तरिक पर्यटक प्रवेश शुल्कबापत रु एक लाख ४५ हजार, गिट्टी बालुवा बिक्रीबाट रु छ लाख तीन हजार आम्दानी भएको छ । आर्थिक प्रतिवेदनअनुसार आव २०७३/७४ मा यस वनले रु ६९ लाख १९ हजार आम्दानी गरेको वनले जनाएको छ । रासस

नुवाकोटका आधा भूकम्पप्रभावित अनुदान पाउनबाट वञ्चित

नुवाकोट । भूकम्पले क्षति पुगेकामध्ये नुवाकोटमा सरकारी अनुदानका लागि तोकिएको समयभित्र आधा लाभग्राही मात्र निजी निवास निर्माणको प्रक्रियामा समेटिएका छन् । विसं २०७३ पुस मसान्तसम्म पहिलो किस्ता रकम लिएकालाई यो वर्षको पुस मसान्तसम्म दोस्रो किस्ता प्राप्त गर्न घरको जग बसाल्नुपर्ने भनी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दिएको समयमा करिब आधा मात्र आवास निर्माणको प्रक्रियामा रहेको जिल्ला आयोजना कार्यान्वय इकाईले जनाएको छ । इकाईका अनुसार पुस मसान्तसम्म नुवाकोटका ३० हजार ६०५ घरधुरीको आवास निर्माण शुरु गरेका छन् । अधिकांश लाभग्राहीले २०७३ साल पुस मसान्तभित्रै पहिलो किस्ता रकम लिएर पनि आवास निर्माण शुरु नगरेकाले बाँकीले सरकारी अनुदान पाउनबाट वञ्चित हुने देखिएको हो । पहिलो किस्ता अनुदान लिएर घर बनाउन थालेका लाभग्राहीले तोकिएको मापदण्ड (भवन निर्माण संहिता) पूरा गरेमा थप किस्ता रकम पाउन योग्य ठहरिने इकाई प्रमुख विदुर खड्काले जानकारी दिए । जिल्लामा भूकम्प र त्यसपछिका परकम्पले ६९ हजार २८९ घर पूर्ण रुपमा क्षति भएकाले सरकारी अनुदान प्राप्त गर्ने लाभग्राही सूचीमा सूचीकृत भएको सरकारी तथ्याङ्क छ । सूचीकृत लाभग्राहीमध्ये ६४ हजार ५३ घरपरिवारले पहिलो किस्ताबापत रु ५० हजार लिएर तोकिएको मापदण्डअनुसार निजी आवास निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । पहिलो किस्ता रकम लिएकामध्ये पुस मसान्तसम्म ३० हजार ६०५ घरधुरीले आवास निर्माण शुरु गरेका छन् भने दोस्रो किस्ता रकम प्राप्तिका लागि ३० हजार ५४३ घरधुरीले निवेदन दिएको इकाई प्रमुख खड्काले जानकारी दिए । उनका अनुसार निवेदन दिएका मध्ये २६ हजार ६९९ घरपरिवार रकम पाउन योग्य ठहरिएका छन् भने तीन हजार ८६४ घरपरिवारको चेक बन्ने प्रक्रियामा छ । “७६ वटा घरको निर्माण तोकिएको मापदण्डअनुसार नभएकाले दोस्रो किस्ता रकम रोकिएको छ”, खड्काले भने “आवास निर्माण सम्पन्न भएका चार हजार ४१० घरपरिवारले तेस्रो किस्ताका लागि निवेदन दिएकाले रकम निकासा शुरु भएको छ ।” भूकम्पले आवास क्षति पुगेर सरकारी अनुदान सहयोगमा रु तीन लाख प्राप्त गर्नेको लाभग्राही सङ्ख्या एक हजार १०२ घरधुरी रहेकामा ११५ ले आवास निर्माण सम्पन्न भएको प्रमाणपत्रसमेत प्राप्त गरेको इकाईले जनाएको छ । भूकम्पले आवासमा क्षति बेहोरेकाले पुनःनिर्माण कार्यविधि जारी हुनुपूर्व नै निर्माण सम्पन्न गरेका पाँच हजार ३६४ घर मापदण्डअनुसार नभएकाले अनुदान रकम पाउनबाट वञ्चित भएका छन् । प्राविधिकहरु कार्यक्षेत्रमा परिचालन हुनुपूर्व नै निर्माण सम्पन्न भएका घरले आंशिक रुपमा मापदण्ड पूरा नगरेको पाइएकाले त्यस्तालाई प्रबलीकरण तथा सबलीकरण गरी अनुदान सिफारिशका लागि योग्य बनाउने प्रयास भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका निमित्त प्रमुख वेदप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार भूकम्पले आवास क्षति पुर्याएर लाभग्राही सूचीमा सूचीकृत नभएको भन्दै दर्ता भएका मध्ये ११ हजार ४१५ को सम्बोधन भएकाले बाँकी स्थानीय तहमार्फत सम्बोधनको प्रयास भइरहेको छ । रासस

मुद्रास्फीतिमा चापः सबैभन्दा बढी मूल्य हिमालमा र कम पहाडमा

काठमाडौं। गएको पाँच महिनाको अबधिमा उपभोक्ता मुद्रास्फीतिमा चाप परेको छ । हालसालै पेट्रोलियमपदार्थ र निर्माण समाग्रीको मूल्यमा भएको वृद्धिले अझै मुद्रास्फीतिमा थप दबाब पर्ने जोखिम रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंक अनुसार गएको पाँच महिनामा हिमाली क्षेत्रमा उच्च मूल्य वृद्धि भएको छ । उपभोक्ता मुद्रास्फीति हिमालमा ५.५ प्रतिशत पुगेको छ । जबकी अघिल्लो वर्ष सोही अबधिमा ३.७ प्रतिशत मात्र रहेको थियो । हिमाली क्षेत्रको चन्दननाथ बजार केन्द्रमा भएको उच्च मूल्य वृद्धिका कारणले तुलनात्मक रुपमा अन्य क्षेत्रको भन्दा सो क्षेत्रको मूल्य बढेको बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्ने क्रममा बताएको हो । त्यस्तै पाँच महिनाको समिक्षा अबधिमा पहाडमा ४.८ प्रतिशत, तराईमा ४.३ प्रतिशत र काठमाडौं उपत्यकामा ३.४ प्रतिशत मुद्रास्फीति पुगेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा पहाडमा ५.६ प्रतिशत, तराईमा ३.७ प्रतिशत र काठमाडौं उपत्यकामा २.५ प्रतिशत रहेको थियो । त्यसलाई आधार मान्ने हो भने पहाडी क्षेत्रको मूल्य बृद्धि गएको वर्षभन्दा कम देखिन्छ । बढ्यो उपभोक्ता मूल्य गएको मंसिर महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.८ प्रतिशत रहेकोमा यो मंसिरमा बढेर ४.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको तुलनामा समग्र मुद्रास्फीति केही मात्रामा बढ्नुमा खाद्य तथा पेय पदार्थ समुहको प्रमुख भूमिका रहेको बैंकले जनाएको छ । बढ्यो खाद्यमा मूल्य बैंकको समीक्षा अवधिमा खाद्य मुद्रास्फीति २.८ प्रतिशत पुगेकोछ । अघिल्लो वर्षको सोही अवधिमा उक्त खाद्य मुद्रास्फीति ०.६ प्रतिशत मात्र रहेको थियो । गत वर्षको तुलनामा यस समूह अन्तर्गतको तरकारी दुग्धजन्य पदार्थ तथा अण्डाको मूल्यमा वृद्धि भएले समग्र खाद्य मुद्रास्फीति बढने गएको बैंकको भनाइ छ । गैर–खाद्यमा मूल्य भने घट्यो बैंक अनुसार अहिले गैर–खाद्यमा मुद्रास्फीति ५.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति ६.५ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण लगायत वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा कम भएकोले गैर–खाद्य मुद्रास्फीति कम भएको हो ।