विकासन्युज

बिजुलीको खपत घट्यो, उपभोक्ताले सघाएपछि कुलमानलाई राहत

काठमाडौं । उपभोक्ताले सहयोग गरेपछि यो वर्ष बिजुलीको माग प्रक्षेपण गरिएको भन्दा कम भएको छ । नेपाल विद्युत प्राधिकरणले यो वर्षको सुख्खायाममा बिजुलीको माग बढेर १ हजार ५ सय मेगावाट पुग्ने अनुमान गरेको थियो । हालसम्म बिजुलीको माग साँझ (पिकआवर) मा १ हजार २४१ मेगावाट मात्र भएको छ । लक्ष्य भन्दा २५९ मेगावाट बिजुली माग कम भएको हो । अघिल्ला वर्षको जस्तै यो वर्ष उपभोक्ताले सहयोग गरेका कारण बिजुलीको माग कम हुन गई व्यवस्थापनमा सहयोग पुगेको विद्युत प्राधिकरणका प्रवत्ता प्रवल अधिकारी बताउछन् । उपभोक्ताले पिकआवरमा हिटर, राइसकुकुर, आइरन, एसिलगायत बढी बिजुली खपत गर्ने उपकरण प्रयोग नगर्दा माग घटेको उनको भनाई छ । “उपभोक्ताले सहयोग गर्दा मुलुक लोडसेडिङ मुक्त भएको छ” उनले भने । हालसम्म पिक आवरमा २७० मेगावाट अपुग भएको उनले बताए । प्राधिकरण, निजी क्षेत्रका आयोजना र भारतबाट समेत गरी ९७० मेगावाट बिजुली आपूर्ति भइरहेको छ । भारतबाट मात्रै ४७६ मेगावाट बिजुली आयात भइरहेको छ । यो वर्षको लोडसेडिङ कम गर्न विद्युत प्राधिकरणले भारतबाट ४८० मेगावाटसम्म बिजुली आयातको लक्ष्य लिएको छ । यसैगरी विद्युत प्राधिकरणका आयोजनाबाट ३०९, निजी क्षेत्रबाट १८६ मेगावाट बिजुली आपूर्ति भइरहेको छ । झण्डै आधा हिस्सा भारतबाट आयाति बिजुलीले थेगेको छ । फागुनसम्म उत्पादन अझै घट्ने प्राधिकरणले जनाएको छ । फागुनदेखि तापक्रम बढ्ने भएकाले तराईमा बिजुलीको माग बढ्न सक्ने अधिकारीको भनाई छ । गर्मि बढेर पंखा चल्दा त्यहाँ बिजुलीको माग बढ्ने छ । तराई क्षेत्रमा बढी बिजुली चोरी हुने गरेको छ । यो वर्ष १३८ मेगावाट बिजुली थपिदै चालु आर्थिक वर्षमा सार्वजनिक र निजी क्षेत्रबाट गरी १३८ मेगावाट मात्र बिजुली थप हुने भएको छ । विद्युत प्राधिरकरण र निजी क्षेत्रको लगानीमा १७ आयोजना सम्पन्न भइ यो परिमाणमा बिजुली थप हुने भएको हो । यो वर्षदेखि नेपालको जडित क्षमता बढेर १ हजार १ सय मेगावाट नाघने भएको छ । विद्युत प्राधिकरणले यो वर्ष सार्वजनिक र निजी क्षेत्रबाट गरी साढे २ सय मेगावाट बिजुली थप हुने अनुमान गरेको थियो । बिजुली उत्पादन लक्ष्य भन्दा ११२ मेगावाट कम हुने भएको छ । चालु आवमा निजी क्षेत्रबाट २०५ र विद्युत प्राधिकरणबाट ४५ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ । प्राधिकरणले प्रगतिका आधारमा यो वर्ष आउने संभावना भएको आयोजनाको संशोधित अनुमान सुची तयार पारेको छ । सो सुचिअनुसार लक्ष्य भन्दा कम बिजुली थप हुने देखिएको हो । यो वर्ष विद्युत प्राधिकरणबाट ३० मेगावाटको चमेलिया र १४ मेगावाटको कुलेखानी तेस्रो गरी ४४ मेगावाट बिजुली थप हुने अनुमान गरिएको थियो । यो वर्ष चमेलिया मात्र सम्पन्न भएको छ । चमेलियाबाट परीक्षणको रुपमा बिजुली उत्पादन भइरहेको छ । औपचारिक रुपमा बिजुली उत्पादन माघदेखि हुने प्राधिकरणले जनाएको छ । कुलेखानी तेस्रो आयोजना अझै अनिश्चित बनेको छ । हालसम्म निजी क्षेत्रका ९ आयोजना सम्पन्न भई प्रणालीमा ४२ मेगावाट थप भइसकको छ । हालसम्म सम्पन्न हुने आयोजनामा द्रोणाञ्चल हाइड्रोपावर कम्पनीको ६ सय किलोवाटको ढुङेजिरी, गज्र्याङ उपत्यका हाइड्रोपावरको २.८ मेगावाटको छ्याकेखोला, दिब्यश्वरी हाइड्रोपावर लिमिटेडको ४ मेगावाटको सभाखोला, पुवाखोला १ हाइड्रोपावरको ४ मेगावाटको पुवाखोला १ आयोजना रहेका छन् । सम्पन्न भएका अन्य आयोजनामा मन्दाकिनी हाइड्रोपावरको ४ मेगावाटको सार्दिखोला, सिवानी हाइड्रोपावर कम्पनीकोे ४ मेगावाटको फावाखोला, माइभ्याली हाइड्रोपावरले ५ मेगावाटको माइ सी आयोजना, माउन्ट कैलाश इनर्जीको १३.६ मेगावाटको थापाखोला र युनियन हाइड्रोपावरले ३ मेगावाटको मिदिम करापु आयोजना हुन् । यस्तै यो वर्षभित्र ७ वटा जलविद्युत आयोजना सम्पन्न हुने भएका छन् । यो वर्षभित्र सम्पन्न हुने अवस्थामा रहेका आयोजनामा बराही हाइड्रोपावरले १.५ मेगावाटको थेउलेखोला, मोलुङ हाइड्रोपावरले ७ मेगावाटको मोलुङखोला, हिमाल दोलखा हाइड्रोपावरले ८ मेगावाटको माई साना क्यासकेड, अपि पावर कम्पनीले ८ मेगावाटको माथिल्लो नौगाड छन् । यस्तै विन्दवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ८.८ मेगावाटको रुदीखोला ए, सिकलेस हाइड्रोपावरले १३ मेगावाटको मद्क्युखोला र मनाङ ट्रेडलिंकले २० मेगावाटको तल्लोमोदी सम्पन्न हुने चरणमा रहेका छन् ।  

कामना सेवा विकास बैंकको नाफा १३ करोड ६० लाख

काठमाडौं । कामना सेवा विकास बैंकले १३ करोड ६० लाख नाफा कमाएको छ । बैंकले चालु आवको पुस मसान्त अवधीमा सो नाफा कमाएको हो । बैंकले गत आवको सोही अवधीमा भने जम्मा १० करोड नाफा कमाएको थियो । कामनाले ६ महिनामा १३ अर्ब ८७ करोड निक्षेप संकलन गरेर १२ अर्ब ३९ करोड कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा २.१३ प्रतिशत रहेको छ भने १६ करोड प्रोभिजन गरेको छ । बैंकले ४ करोड ७२ लाख राइट ब्याकबाट प्राप्त गरेको देखिन्छ ।

गरिमा विकास बैंकको नाफा १८ कराेड, निष्क्रिय कर्जा घटेर ०.४७ प्रतिशतमा

  काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा गरिमा विकास बैंकको खुदनाफा बढेको छ । गत पुससम्म बैंकले १८ करोड रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १५ करोड ९५ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले सोमबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाशको वित्तीय विवरणअनुसार बैंकको निष्क्रिय कर्जा घटेर ०.४७ प्रतिशतमा झरेको छ । गत असारमा बैंकको यस्तो कर्जा १ प्रतिशत थियो । बैंकको निक्षेप लागत बढेर ८.१४ प्रतिशत पुगेको छ । गत असारमा बैंकको लागत ७.९५ प्रतिशत थियो । बैंकको सीडी रेसियो ७७.३४, आधार ब्याजदर ११.६३ र कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर ६ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ २५ पैसा छ । समीक्षा अवधिमा बैंकले १७ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । यस्तै १५ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको संचित कोषमा ४६ करोड ९९ लाख रुपैयाँ छ । बैंकको चुक्तापँुजी बढेर २ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको संस्थापक हकप्रद लिलाम हुदै, बोलपत्र पेश गर्ने अन्तिम दिन माघ २६

काठमाडौं । कम्युनिटी डेभलपमेन्ट बैंकको संस्थापक हकप्रद सेयर लिलाम हुने भएको छ । बैंकको ३ लाख ७० हजार २४३ कित्ता हकप्रद लिलाम हुन लागेको हो । आउदो माघ २६ गते हकप्रद लिमामी हुने बिक्री प्रवन्धक एनआईबीएल क्यापिटल लिमिटेडले जनाएको छ । बैंकले चुक्तापुँजी बढाउन असोज ६ गतेदेखि कात्तिक २९ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरेकोमा बिक्री नभएको संस्थापक सेयर लिलाम हुन लागेको हो । बोलपत्रका लागि एनआईबीएलको लाजिम्पाट काठमाडौं, ललितपुरको लगनखेल र पोखराको चिप्लेढुङामा आवेदन बुझाउन सकिने छ । यस्तै बैंकको केन्द्रीय कार्यलय बुटवल तथा सबै शाखा नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज, नारायणगढ र धनगढीमा पनि आवेदन संकलन केन्द्र रहेको एनआईबीएलले जनाएको छ ।

माघ २६ गतेदेखि नेको इन्स्योरेन्सले ३९ करोड २० लाखको हकप्रद निष्कासन गर्ने

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले माघ २६ गतेदेखि ३९ करोड २० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी बढाउन ५० प्रतिशत अर्थात ३९ लाख २० हजार ९२८ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन चैत १ गते बन्द हुने सेयर निष्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ । हकप्रद बाँडफाँडपछि चुक्तापुँजी बढेर १ अर्ब १७ करोड ६२ लाख रुपैयाँ पुग्ने छ । हाल कम्पनीको चुक्तापुँजी ७८ करोड ४१ लाख रुपैयाँ छ । बीमा समितिले आउदो असारसम्म १ अर्ब रुपैयाँ पुँजी पुर्याउनु पर्ने नीतिगत व्यवस्था गरेपछि नेकोले हकप्रद सेयर निष्कासन गरेको हो ।

धितोपत्र बोर्डले रोक्यो सामुदायिक लघुवित्तको आईपीओ, मंगलबार निष्कासन नहुने

काठमाडौं । धितोपत्र बोर्डले सामुदायीक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन रोकेको छ । नेपाल राष्ट्र बैंकले रोक्न पत्राचार गरेपछि तत्कालका लागि आईपीओ निष्कासन स्थगन गर्न निर्देशन दिएको बोर्डका निर्देशक निरन्जय घिमिरेले बताए ।संस्थाले पुस ९ गते मंगलबार ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको थियो । धितोपत्र बोर्डले आईपीओ निष्कासन तत्काल रोक्न निर्देशन दिएपछि हाललाई स्थगन गरिएको संस्थाले जनाएको छ । मंगलबारदेखि आईपीओ निष्कासन गरी शुक्रबार बन्द गर्ने संस्थाकाे तयारी थियो । बोर्डले अनुमति दिएपछि मात्र आईपीओ निष्कासन हुने सामुदायिकले जनाएको छ ।तत्कालका लागि आईपीओ निष्कासनको सबै काम स्थगन भएको संस्थाले जनाएको छ । सामुदायिकमा ७ करोड रुपैयाँ अर्थात ७ लाख कित्ता संस्थापक लगानी रहेको छ । आइपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

रेनो एक्सपेरियन्स मेला सुरु, क्विड, डस्टर र लजी मोडलहरुमा एक्सचेन्ज उपलब्ध

काठमाडौं। नेपालमा रेनोको आधिकारिक बितरक, एडभान्स अटोमोबाईल प्रालि (विशाल समूहको सहायक कम्पनी)ले रेनो कार प्रेमीहरुका लागि माघ ७ गते(आज) देखि माघ १४ गतेसम्म नेपाल भर ‘रेनो एक्सपेरियन्स मेला’ सुरु गरेको छ । ‘एक्सचेन्जमा दम छ, एक्साइटमेन्ट फुल अन छ’ भन्ने ट्यागलाईनका साथ अटोमोबाइल ग्राहकहरुलाई ध्यानमा राखेर उक्त मेला आयोजना गरेएको कम्पनीको भनाइ छ । कम्पनीको अनुसार मेलामा पुरानो कार प्रयोगकर्ताले रेनोको नयाँ कार एक्सचेन्ज गर्न सक्ने व्यवस्था रहेको जनाइएको छ । रेनोको क्विड, डस्टर र लजी मोडलहरुमा एक्सचेन्ज उपलब्ध हुनेछ । त्यस्तै एक्सचेन्ज अभियानअन्तर्गत ग्राहकलाई एक लाख रुपैयाँ बराबरसम्मको एक्स्चेन्ज बोनस, २ बर्षसम्मको लागी फ्री सर्भिसिङ्ग, एक बर्षको लागि बीमा, निशुल्क एसोसोरिज, एक आर्थिक वर्षभरीका लागि सडक कर फ्री, स्पट फाइनान्स, तुरुन्त मुल्याङ्कन र एक्सचेन्ज, नगद छुट लगायत अफर राखिएको जनाएको छ । मेलाले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द समेत प्रदान गर्ने कम्पनीको भनाइ छ । कम्पनीले जाडो यामका लागि लक्षित गरि ल्याएको ‘रेनो सुप्पर हिट’ स्किम पनि अहिले सञ्चालन भइरहेकोे जनाएको छ ।

स्मार्टफोन र ट्याबलेट बिक्री गर्दै आएको हुवावेले, अब म्याटबुक ल्याउदै

काठमाडौं। लोकप्रिय ब्राण्ड हुवावेले अब म्याटबुक भित्र्याउने भएको छ । अहिलेसम्म नेपालमा स्माटफोन र ट्याबलेट बिक्री गर्दै आएको हुवावेले ग्राहकहरुको माग र रुचिलाई ध्यानमा राखेर म्याटबुक भित्र्याउन लागेको हो । नेपालको लागि हुवावेको आधिकारीक बिक्रेता कल मोबिलिटीका मार्केटीङ म्यानेजर रोशन न्यौपानेले हुवावेले भित्र्याउने म्याटबुक ‘क्यान इन्फोटेक’ मेलाको अवसरमा सार्वजनिक गरिने बताए । ‘सार्वजनिक गरिने म्याटबुकको मूल्य १ लाख ७० हजार रुपैयाँको हाराहारीमा हुनेछ,’ उनले भने ‘हालसम्म हुवावेले स्मार्टफो, ट्याबलेट बिक्री गर्दै आएकोमा ग्राहकहरुको माग अनुसार अब म्यटबुक बिक्री गर्न लागेको हो ।’ म्याटबुक झन्डै ल्यापटप जस्तै हुन्छ । म्याटबुकमा टचस्क्रीन हुन्छ भने, ल्यापटपमा हुदैन । साथै म्याटबुक ल्यापटभन्दा पातलो हुन्छ । बोक्नको लागि सजिलो हुन्छ । सार्वजनि गरिने म्याटबुकको बारेमा विस्तृत जानकारी नजिकिदै गरेको क्यान इन्फोटेक मेलामा गरिने मार्केटीङ म्यानेजर न्यौपानेको भनाइ छ ।