विकासन्युज

जो जनताले दिएको जिम्मेवारी छोडेर संघीय निर्वाचनमा होमिए

काठमाडौं । स्थानीय तहमा जनताबाट प्रत्यक्ष निर्वाचित भएर ‘जनताकै सेवा गर्छु’ भनेर जिम्मेवारी लिएका जनप्रतिनिधिहरू आफ्नो कार्यकाल पूरा हुनुअघि नै पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका छन् । ५ वर्ष कार्यकालको जिम्मेवारी पाएका जनप्रतिनिधिले कार्यकाल समाप्त हुनुअघि नै राजीनामा दिएपछि स्थानीय शासनको स्थायित्व, विकासप्रति प्रश्न खडा भएको छ ।  प्रतिनिधिसभा निर्वाचनको लागि राजीनामा दिएसँगै केही पालिकाहरूमा प्रमुख पद रिक्त भएको छ । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका बालेन्द्र शाह (बालेन) ले राजीनामा दिएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनावमा लडेका छन् । महानगरका निवर्तमान प्रमुख शाहले झापा–५ बाट मनोनयन दर्ता गरेका छन् । झापा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको इपिसेन्टरको रूपमा लिइन्छ । चितवन महानगरको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएकी र जनताको विश्वास जित्न सफल मेयर रेणु दाहालले पदबाट राजीनामा दिएर चितवन ३ बाट उठेकी छिन् । उनको प्रतिस्पर्धीको रूपमा चितवन ३ बाटै रास्वपाबाट सोविता गौतमले मनोनयन दर्ता गरेकी छिन् । त्यस्तै, धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले आफ्नै पार्टी श्रम संस्कृति पार्टीबाट सुनसरी १ बाट उमेदवार मनोनयन दर्ता गराएका छन् । धरानबासीलाई पानी खुवाएर छाड्छु भनेर प्रतिबद्धतासहित मेयरमा उठेका साम्पाङले कार्यकल अवधिभरि त्यही काममै निरन्तर लागिरहे । यद्यपि उनी विवादरहित हुन सकेनन् । समयमै बजेटसमेत ल्याउन सकेनन् । नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले पनि राजीनामा दिएर बाँके २ बाट चुनावमा लड्दैछन् । उनले जनता समाजवादी पार्टी नेपाल (जसपा)  बाट मनोनयन दर्ता गराएका छन् ।  धुलिखेल नगरपालिकाका मेयर अशोककुमार ब्याञ्जु श्रेष्ठले पदबाट राजीनामा दिएर नेकपा एमालेबाट काभ्रे–२ बाट लड्दैछन् । यस क्षेत्रमा यसअघि २०७४ र २०७९ मा नेकपा एमालेका नेता गोकुल बास्कोटा उम्मेदवार रहेका थिए ।  कैलालीको टिकापुर नगरपालिका प्रमुखविहीन भएको छ । नगरपालिकाका मेयर रामलाल डगौरा थारूले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्न पदबाट राजीनामा दिएका हुन् । उनले २०७९ सालको स्थानीय चुनावमा उनले नागरिक उन्मुक्ति पार्टीबाट मेयर जितेका थिए । अहिले भने उनी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट उम्मेदवार बनेका हुन् । इलामको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले नेकपाबाट इलाम क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गरेका छन् । स्थानीय निर्वाचनमा नेकपा एमालेबाट मेयर जितेका राई पार्टी विभाजनपछि नेकपा एकीकृत समाजवादीतिर लागेका थिए । २०७९ को निर्वाचनमा उनले नेपाली कांग्रेस र माओवादीसँगको गठबन्धनबाट पुनः मेयर पदमा जित हासिल गरेका थिए ।  यस पटकको प्रतिनिधिसभा निर्वाचनमा राईले एमालेका काजीमान कागतेसँग प्रतिस्पर्धा गर्नेछन् । यसअघिको स्थानीय तहको निर्वाचनमा पनि राई र कागतेबीच नै प्रतिस्पर्धा भएको थियो । मोरङको रंगेली नगरपालिकाका मेयर दीलिपकुमार अग्रवालले पदबाट राजीनामा दिएर चुनावमा उठेका छन् । उनले एमालेको तर्फबाट मोरङ २ बाट उम्मेदवारी दिएका छन् । दुई कार्यकालसम्म रंगेली नगरपालिकाको मेयर रहेका अग्रवाल हालै सम्पन्न एमालेको ११औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा पनि निर्वाचित भएका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्ने भएपछि लिखु गाउँपालिका उपाध्यक्ष पदबाट राजीनामा दिएकी एमाले केन्द्रीय सदस्य अस्मिता थापाले ओखलढुंगाबाट चुनावमा उठ्दैछिन् । उनी हालै सम्पन्न एमालेको ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्यसमेत निर्वाचित भएकी थिइन् । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापालाई नेकपा एमालेले स्याङ्जा–२ बाट निर्वाचनमा उठाएको छ । स्याङ्जा–२ मा दुईपटक पालिका जितेका थापालाई उम्मेदवार बनाएसँगै पालिका अध्यक्षविहीन भएको छ । उनी २०७४ र २०७९ सालको स्थानीय तहको निर्वाचनमा पालिका अध्यक्षमा निर्वाचित भएका थिए । थापाले गत निर्वाचनमा स्थानीय तहको अध्यक्ष पदमा ६७ सय मत ल्याएर निर्वाचित भएका थिए ।

भोजपुरमा महिलाको शून्य उम्मेदवारी, १२ दलका १२ जनाको मनोनयन दर्ता

भोजपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले आ-आफ्ना उम्मेदवारी दर्ता गराएका छन् । दलको उम्मेदवारी हेर्दा महिला उम्मेदवारलाई भने उपेक्षा गरिएको देखिन्छ ।  भोजपुरबाट निर्वाचनमा उम्मेदवार हुन १२ राजनीतिक दलका १२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । यसमा महिलाको सङ्ख्या शून्य रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्रप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने व्यवस्था भए पनि मुख्य दलहरूले नै महिला उम्मेदवार सहभागी नगराएका हुन् ।      आसन्न निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुराना र नयाँ दलले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरमा नेपाल मजदुर किसान पार्टीबाट राजाराम बासी, श्रम संस्कृति पार्टीबाट ध्रुव राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट शेरधन राई, जितेन्द्र राई राष्ट्रिय परिवर्तन पार्टीबाट, जनक नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट, रमेशप्रसाद ओझा राष्ट्रिय स्वतन्त्र पार्टीबाट र चन्द्रप्रसाद राईले मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीबाट उम्मेदवारी दर्ता गराएकाे कार्यालयका प्रमुख सुवेदीले जानकारी दिए ।      यस्तै, नेपाली कम्युनिष्ट पार्टीका अजम्वर राई, नेपाली कांग्रेसका बालकृष्ण थापा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का देवानराज राई, जनता समाजवादी पार्टीका गोपालकुमार राई र आमजनता पार्टीका तर्फबाट युवराज थापाले मनोनयन दर्ता गराएका छन् ।       भोजपुरमा कूल एक लाख २५ हजार ७६६ मतदाता कायम भएका छन् भने ८७ वटा मतदानस्थल र अस्थायीसहित १६१ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस

श्रम, श्रमिक र माटोका लागि श्रम संस्कृति पार्टीलाई मत दिन आग्रह

काठमाडौं । श्रम संस्कृति पार्टीकी समानुपातिक उम्मेदवार अस्मिता गैरेले श्रम, श्रमिक र माटोको सेवाका लागि आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गरेकी छन् । नवलपुर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक उम्मेदवार बनेकी गैरेले भुइँमान्छेसँग प्रत्यक्ष जोडिएर तल्लो तहका नागरिकको जीवनस्तर उकास्ने लक्ष्यसहित आफू श्रम संस्कृति पार्टीमा आबद्ध भएको बताइन् । उनले श्रमको सम्मान, श्रमिकको अधिकार र माटोसँग जोडिएको जीवनशैलीको संरक्षणलाई पार्टीको मूल एजेन्डा बनाइएको उल्लेख गर्दै भुमिहीन, सुकुम्बासी तथा सिमान्तीकृत समुदायको मुक्ति र सशक्तीकरणका लागि पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने स्पष्ट पारिन् ।  गैरेले सामाजिक न्याय, समावेशी विकास र श्रममैत्री नीतिको कार्यान्वयनमार्फत राज्यको मूलधारबाट पछाडि पारिएका समुदायलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।  

एमाले युवा संघ दमकका अध्यक्ष रास्वपा प्रवेश, बालेनलाई चुनावमा सघाउने

झापा । राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीका अध्यक्ष तथा नेकपा (एमाले) का संगठित सदस्य छवि खतिवडा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।  उनले माघ ७ गतेदेखि औपचारिक रूपमा एमाले र राष्ट्रिय युवा संघसँगको जिम्मेवारी छाड्दै झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ तथा समर्थन गर्ने भएका हुन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै खतिवडाले परिवर्तनलाई आत्मसात् गर्दै अब बाँकी राजनीतिक जीवन स्वतन्त्र रूपमा बिताउने उल्लेख गरेका छन् ।  उनले झापा–५ मा वैकल्पिक र परिवर्तनकारी राजनीतिक धारलाई समर्थन गर्न बालेन शाहको अभियानमा सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । खतिवडाले आफ्नो राजनीतिक यात्रामा सहयोग गर्ने नेकपा (एमाले), राष्ट्रिय युवा सङ्घ, विभिन्न सामाजिक संघ–संस्था, साथीभाइ, इष्टमित्र तथा परिवारजनप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन् । साथै, अग्रगामी परिवर्तन, सामाजिक न्याय र राष्ट्रको हितका पक्षमा सदैव लागिरहने प्रतिबद्धता दोहोर्‍याएका छन् । खतिवडासँगै उपाध्यक्ष विजय तामाङ पनि रास्वपा प्रवेश गरेका छ्न् ।  

उम्मेदवारी दर्तासँगै निर्वाचनमा होमिए दलहरू

गण्डकी । प्रतिनिधिसभा सदस्यका लागि मंगलबार उम्मेदवारी दर्ता गरेसँगै कास्कीका राजनीतिक दल निर्वाचनमा होमिएका छन् ।  जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा १८ राजनीतिक दलका उम्मेदवारसँगै छ जना स्वतन्त्र उम्मेदवार गरी ४९ जनाको उम्मेदवारी दर्ता भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वडाबाट  चुनाव लक्षित भेटघाट तथा छलफल थालेको छ । एमालेले कास्की क्षेत्र नं १, २ र ३ मा क्रमशः बैनबहादुर अधिकारी क्षेत्री, रश्मी आचार्य र दामोदर बैरागाीलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसले पनि उम्मेदवारी दर्तासँगै चुनाव केन्द्रित छलफललाई सघन बनाएको छ । कांग्रेसले क्षेत्र नं १, २ र ३ मा क्रमशः तिलक रानाभाट, माधवप्रसाद बाँस्तोला र मनोज गुरुङलाई उम्मेदवार बनाएको छ । नेपाली कम्युुनिष्ट पार्टीले चुनावको तयारीस्वरुप बुधबार उम्मेदवार एवं जिल्लामा उपलब्ध केन्द्रीय सदस्यसँग छलफल गर्ने बताएको छ । पार्टीका जिल्ला संयोजक विश्वप्रकाश लामिछानेका अनुसार भोलिदेखि तीनवटै निर्वाचन क्षेत्रमा पार्टीका पदाधिकारी तथा उम्मेदवारले घरदैलो थाल्ने छन् ।  नेकपाले क्षेत्र नं १, २ र ३ मा क्रमशः राजकाजी गुरुङ, हेमबहादुुर थापा पराजुली र गोपाल गिरीलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज यहाँ बैठक हुँदैछ । रास्वपाले  क्षेत्र नं १, २ र ३ मा क्रमशः खड्गराज पौडेल, उत्तमप्रसाद पौडेल र बिना गुरुङलाई प्रत्याशी बनाएको छ ।   

चुनावमा होमिए व्यवसायी पनि, को कुन ठाउँबाट लड्दैछन् ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि राजनीतिक दलहरूले उम्मेदवारी दर्ता गराएसँगै चुनावी सरगर्मी ह्वात्तै बढेको छ । यसपटकको निर्वाचनमा पुरानो राजनीतिक विरासत बोकेका नेताहरूसँगै देशका कहलिएका ठूला व्यावसायिक घराना र उद्यमीहरूको सहभागिता देखिएको छ ।  नेपालका एक मात्र डलर अर्बपति तथा सीजी ग्रुपका अध्यक्ष विनोद चौधरीले नवलपरासी (पश्चिम) निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसको तर्फबाट पुनः उम्मेदवारी दर्ता गराएका छन् । २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका चौधरी यसपटक पनि आफ्नो विरासत जोगाउने दाउमा छन् ।  त्यस्तै, मेडिकल क्षेत्रका चर्चित व्यवसायी डा. सुनिलकुमार शर्माले मोरङ क्षेत्र नम्बर ३ बाट कांग्रेसकै उम्मेदवारका रूपमा मनोनयन दर्ता गरेका छन् । नोबल र काठमाडौं मेडिकल कलेजका सञ्चालक शर्मा अघिल्लो निर्वाचनमा पनि सोही क्षेत्रबाट भारी मतान्तरले विजयी भएका थिए । यसैगरी, यसपटक स्याङ्जा क्षेत्र नम्बर १ मा भने रोचक भीडन्त हुने देखिएको छ । यहाँ मुख्य तीन दलले नै व्यावसायिक पृष्ठभूमिका व्यक्तिहरूलाई मैदानमा उतारेका छन् ।  नेपाली कांग्रेसबाट मुक्तिनाथ विकास बैंकका पूर्वअध्यक्ष भरतराज ढकालले मनोनयन दर्ता गरेका छन् । नेकपा एमालेबाट मुक्तिनाथ विकास बैंककै पूर्वअध्यक्ष मीनप्रसाद गुरुङले मनोनयन दर्ता गरेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट पर्यटन बोर्डका पूर्वसीईओ तथा पर्यटन व्यवसायी धनञ्जय रेग्मीले मनोनयन दर्ता गरेका छन् ।  रास्वपाले पनि व्यावसायिक क्षेत्रका व्यक्तिहरूलाई प्राथमिकता दिएको छ । बाजेको सेकुवाकी निर्देशक नीतिमा कार्की भण्डारी सर्लाही क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेकी छिन् भने काठमाडौं क्षेत्र नम्बर ९ बाट मेनपावर व्यवसायी डीपी अर्याल चुनावी मैदानमा छन् । अर्यालको सहकारीदेखि ट्राभल्स र स्कुलसम्म लगानी छ ।  यस्तै, सबैभन्दा रोचक त काठमाडौं क्षेत्र नम्बर १ मा देखिएको छ, जहाँ राइड सेयरिङ एप पठाओका सञ्चालक असिममान सिंह बस्नेतले स्वतन्त्र उम्मेदवारी दर्ता गराएर युवाहरूको ध्यान खिचेका छन् । उनीसँग रास्वपाबाट रञ्जु दर्शना, नेपाली कांग्रेसबाट प्रबल थापा र नेकपा एमालेबाट विनोद श्रेष्ठसँग प्रतिस्पर्धा गर्नेछन् ।  गोरखा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले पर्यटन तथा घरजग्गा व्यवसायी प्रेम खत्री (पिके भेन्चर्सका प्रबन्ध निर्देशक) लाई उम्मेदवार बनाएको छ । सोही क्षेत्रमा यसअघि प्रमेश खत्रीको नाम चर्चामा रहे पनि कांग्रेसले खत्रीलाई टिकट दिएर व्यावसायिक क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरेको छ । यस्तै, सिरहा क्षेत्र नम्बर ४ मा जनमत पार्टीबाट माछापुच्छ्रे बैंकका पूर्वअध्यक्ष वीरेन्द्रकुमार महतो उम्मेदवार बनेका छन् । नवलपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट नेपाल उद्योग व्यवसायी महासंघका अध्यक्ष भागिरथ सापकोटा चुनावी मैदानमा छन् ।  रुपन्देही क्षेत्र नम्बर २ मा यशोदा फुड्सका सञ्चालक चुन्नप्रसाद शर्मा नेपाली कांग्रेसबाट मैदानमा छन् । कपिलवस्तु ३ मा लुम्बिनी सुगर मिल्सका अध्यक्ष वीरेन्द्रकुमार कनौडिया नेकपा एमालेबाट चुनावी मैदानमा होमिएका छन् ।  यस्तै, धादिङका दुवै क्षेत्रमा कांग्रेसले पर्यटन व्यवसायीलाई उठाएको छ । धादिङ क्षेत्र नम्बर २ बाट टानका पूर्वअध्यक्ष रमेश धमला र क्षेत्र नम्बर १ बाट कृष्ण रिजाल चुनावी मैदानमा छन् । रसुवामा चर्चित निर्माण व्यवसायी मोहन आचार्यले कांग्रेसबाट पुनः उम्मेदवारी दिएका छन् भने मनाङमा एमालेले पर्यटन व्यवसायी पोल्देन छोपाङलाई अघि सारेको छ । त्यस्तै, भक्तपुर क्षेत्र नम्बर १ मा रास्वपाले उद्योग वाणिज्य संघका महासचिव रुकेश रञ्जितलाई उम्मेदवार बनाएको छ भने सोलुखुम्बुमा कांग्रेसले एफएनसीसीआईका पूर्वसदस्य प्रकाशसिंह कार्कीलाई टिकट दिएको छ । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष विजय स्वाँर नेपाली कांग्रेसबाट कैलाली क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन् । उनले नेकपा एमालेका सूर्यबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केपी खनाल र नेकपाका नन्दबहादुर साउदसँग प्रतिस्पर्धा गर्नेछन् । यस्तै, नेपाली कांग्रेसले दाङ क्षेत्र नम्बर ३ बाट दीपक गिरीलाई उम्मेदवार बनाएको छ । व्यवसायी पृष्ठभूमिका गिरी निवर्तमान सांसदसमेत हुन् । सोलुखुम्बुबाट कांग्रेसको टिकट पाएका प्रकाशसिंह कार्की नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य हुन् ।  कार्कीको कार्गो, कुरियरलगायतका व्यवसाय सञ्चालनमा छन् । पर्सा क्षेत्र नम्बर १ बाट कांग्रेस उम्मेदवार बनेका अनिल रुङ्गटा सेयर बजारका चर्चित व्यवसायी हुन् । विभिन्न इन्भेष्टमेन्ट कम्पनी, बीमा कम्पनीमा लगानी गरेका उनी बेलाबेलामा विवादमा समेत आउने गरेका छन् । मनाङमा कांग्रेसले व्यवसायी उम्मेदवारलाई प्राथमिकता दिएको देखिन्छ । यहाँबाट टेकबहादुर गुरुङ र युवा पर्यटन व्यवसायी योगेश गौचन थकाली कांग्रेसका उम्मेदवार हुन् । थकाली निवर्तमान सांसदसमेत हुन् । बाराको क्षेत्र नम्बर ४ बाट कांग्रेस उम्मेदवार बनेका कृष्णकुमार (किसान) श्रेष्ठको सिमरामा होटल, अपार्टमेन्ट, निर्माण सामग्री उद्योगसँगै विभिन्न व्यवसाय सञ्चालनमा छन् । उनले सौर्य ऊर्जा, जलविद्युत तथा वैदेशिक रोजगार क्षेत्रमा समेत लगानी गरेका छन् । झापा क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका लालप्रसाद लिम्बु साँवा (एलपी साँवा) ऊर्जा, जलविद्युत, इन्भेष्टमेन्ट कम्पनी तथा वैदेशिक रोजगार व्यवसायसँग जोडिएका छन् । काभ्रे क्षेत्र नम्बर १ बाट उम्मेदवार अमित लामा झम्सिखेलस्थित पार्टी प्यालेस, दरबारमार्गको क्लब प्लाटिनम (नाइट क्लब) र कमलपोखरीको गजल रेस्टुरेन्टका सञ्चालक हुन् । बागलुङ क्षेत्र नम्बर २ का उम्मेदवार हिराबहादुर केसी ऊर्जा व्यवसायी हुन् । उनको दरमखोला जलविद्युत आयोजनामा लगानी छ । सुनसरी ३ बाट एमाले उम्मेदवार भगवती चौधरी लघुवित्त संस्थाकी लगानीकर्ता तथा पूर्वा कम्युनिटी लघुवित्तकी पूर्व अध्यक्ष हुन् । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रप्रसाद पाण्डे धादिङ क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धामा छन् । उनी सहकारी सञ्चालनसँगै मनमोहन मेमोरियल अस्पतालमा समेत लगानीकर्ता हुन् । भुक्तानी सेवा प्रदायक खल्तीका सह-संस्थापक अरविन्द साहले बारा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिएका सुमन सायमी पार्टी प्यालेस र होटल व्यवसायमा संलग्न छन् । कालीमाटीस्थित ‘स्वीटकेभ’ होटल उनको स्वामित्वमा छ ।

साइबरसुरक्षा, प्रविधि सार्वभौमिकता र भूराजनीति : ईयूको नयाँ नीतिले किन हुवावे चिढियो ?

काठमाडौं । ब्रसेल्सले मंगलबार सार्वजनिक गरेको मस्यौदा प्रस्तावअनुसार युरोपेली संघ (ईयू) ले महत्त्वपूर्ण क्षेत्रहरूमा उच्च जोखिमयुक्त आपूर्तिकर्ताबाट आउने कम्पोनेन्ट र उपकरणहरू चरणबद्ध रूपमा हटाउने योजना बनाएको छ । यस कदमको चीनको हुवावेले आलोचना गरेको छ, जसअन्तर्गत प्रभावित हुने कम्पनीहरूमध्ये हुवावे पनि पर्न सक्ने देखिएको छ । युरोपेली संघले ईयूको साइबरसुरक्षा ऐनमा प्रस्तावित संशोधनमार्फत यी उपायहरू अघि सारेको हो । पछिल्ला दिनमा साइबर आक्रमण र र्यान्समवेयर (कम्प्युटर, मोबाइल वा सर्भरमा आक्रमण गर्ने खतरनाक किसिमको हानिकारक सफ्टवेयर) आक्रमण बढ्नु, विदेशी हस्तक्षेप र जासुसीप्रति चिन्ता बढ्नु, तथा गैर–ईयू प्रविधि आपूर्तिकर्तामाथि युरोपको निर्भरता बढ्दै जानु यी कदमका प्रमुख कारण हुन् । २७ सदस्य राष्ट्रहरूको कार्यकारी निकाय युरोपेली संघले भने कुनै पनि कम्पनी वा देशको नाम स्पष्ट रूपमा उल्लेख गरेको छैन । तर युरोपले चिनियाँ प्रविधिप्रति निगरानी कडा बनाउँदै आएको छ । जर्मनीले हालै बेइजिङतर्फको व्यापार नीतिको पुनरावलोकन गर्न विज्ञ आयोग गठन गरेको छ र भविष्यका सीक्स जी दूरसञ्चार सञ्जालमा चिनियाँ कम्पोनेन्ट प्रयोगमा प्रतिबन्ध लगाएको छ । संयुक्त राज्य अमेरिकाले सन् २०२२ मा हुवावे र यसको चिनियाँ प्रतिस्पर्धी जेटटीईबाट नयाँ दूरसञ्चार उपकरणको स्वीकृति रोक लगाएको थियो र युरोपेली सहयोगीहरूलाई पनि त्यही कदम चाल्न आग्रह गरेको छ । नयाँ उपायले सुरक्षा र प्रविधि सार्वभौमिकता बढाउँछ :  ईयू ‘नयाँ साइबरसुरक्षा प्याकेजमार्फत हामी हाम्रो महत्त्वपूर्ण (सूचना तथा सञ्चार प्रविधि) आपूर्ति शृंखला अझ राम्रोसँग सुरक्षित गर्न र साइबर आक्रमणविरुद्ध निर्णायक रूपमा लड्न सक्षम हुनेछौं,’ ईयूकी प्रविधि प्रमुख हेन्ना भिर्कुनेनले विज्ञप्तिमा भनिन् । हुवावेले यसअघि चीनको परराष्ट्र मन्त्रालयबाट आएको आलोचनालाई दोहोर्‍याएको छ । ‘तथ्यगत प्रमाण र प्राविधिक मापदण्डभन्दा देशको उत्पत्तिका आधारमा गैर–ईयू आपूर्तिकर्तालाई सीमित गर्ने वा बहिष्कार गर्ने विधेयक प्रस्तावले ईयूका आधारभूत कानुनी सिद्धान्त—न्याय, भेदभावरहितता र समानुपातिकता—सहित विश्व व्यापार संगठन (डब्ल्यूटीओ) प्रतिका दायित्वहरू उल्लङ्घन गर्छ,’ हुवावेका एक प्रवक्ताले भने । ‘हामी विधायी प्रक्रियाको आगामी विकासलाई नजिकबाट अनुगमन गर्नेछौं र हाम्रो वैध हित जोगाउन सबै अधिकार सुरक्षित राख्नेछौं,‍’ विज्ञप्तिमा भनिएको छ । नयाँ उपायहरू आयोगले पहिचान गरेका १८ प्रमुख क्षेत्रहरूमा लागू हुनेछन् । यसमा डिटेक्सन उपकरण, जडित तथा स्वचालित सवारीसाधन, विद्युत आपूर्ति र भण्डारण प्रणाली, पानी आपूर्ति प्रणाली, ड्रोन तथा काउन्टर–ड्रोन प्रणाली समावेश छन् । क्लाउड सेवा, चिकित्सकीय उपकरण, निगरानी उपकरण, अन्तरिक्ष सेवा र सेमिकन्डक्टरहरूलाई पनि महत्त्वपूर्ण श्रेणीमा राखिएको छ । ईयूले सन् २०२० मा फाइभ जी सुरक्षा ‘टुलबक्स’ अपनाएको थियो, जसअन्तर्गत हुवावे जस्ता कथित उच्च जोखिमयुक्त आपूर्तिकर्ताको प्रयोगमा तोडफोड वा जासुसीको आशंकाका कारण नियन्त्रण लगाइएको थियो । उच्च प्रतिस्थापन लागतका कारण केही देशहरूले अझै पनि त्यस्ता उपकरण हटाएका छैनन् । मंगलबार प्रस्तुत प्रस्तावअनुसार उच्च जोखिमयुक्त आपूर्तिकर्ताको सूची सार्वजनिक भएपछि मोबाइल अपरेटरहरूलाई प्रमुख कम्पोनेन्ट हटाउन ३६ महिनाको समय दिइनेछ । फाइबर-अप्टिक र पनडुब्बी केबलसहित स्थिर सञ्जाल तथा उपग्रह सञ्जालका लागि चरणबद्ध हटाउने अवधि पछि घोषणा गरिनेछ । ‘यो हाम्रो युरोपेली प्रविधि सार्वभौमिकता सुरक्षित गर्न र सबैका लागि थप सुरक्षा सुनिश्चित गर्न महत्त्वपूर्ण कदम हो,’ भिर्कुनेनले भनिन् । साइबरसुरक्षा जोखिम निम्त्याउने ठानिएका देशका आपूर्तिकर्तामाथि प्रतिबन्ध औपचारिक जोखिम मूल्यांकनपछि मात्र लागू हुनेछ, जुन आयोग वा कम्तीमा तीन ईयू देशले सुरु गर्नुपर्नेछ । कुनै पनि उपाय बजार विश्लेषण र प्रभाव मूल्यांकनका आधारमा तय गरिनेछ । दूरसञ्चार क्षेत्रको लबी समूह ‘कनेक्ट युरोप’ ले यी प्रस्तावले उद्योगमाथि थप बोझ बढाउने चेतावनी दिएको छ, जसका कारण नियामक लागत अर्बौं युरोमा पुग्न सक्ने बताइएको छ । संशोधित साइबरसुरक्षा ऐन कानुन बन्नुअघि आगामी महिनामा ईयू सरकारहरू र युरोपेली संसदसँग वार्ता हुन बाँकी छ ।

तोलाको ३ लाख नजिक पुग्यो सुनको मूल्य, एकैदिन साढे १० हजारले बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १० हजार ४ सय रुपैयाँले वृद्धि भएको हो । मूल्य बढेसँगै बुधबार सुन तोलामा २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन तोलामा २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी बुधबार चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ । चाँदी तोलामा ५ हजार ९२० रुपैयाँ पुगेको छ । मंगलबार चाँदी तोलामा ५ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो।   अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बुधबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७४० र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।   आर्थिक विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्नु, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा माग बढेकाले सुन र चाँदीको मूल्य बढेको हो ।