सिटी रियल होम्स अब सिटी होटेल बन्ने
काठमाडौं । सिटी रियल होम्स प्राली अब होटल बन्ने भएको छ । सिटी रियल होम्सले राजधानीको ताहाचलमा रहेको निर्माणाधिन अपार्टमेन्टलाई होटलमा रुपान्तरण गर्न लागेको हो । वि.सं ०६९ र ०७० मा सहरी विकास तथा भवन निर्माण विभागबाट वेस्टार स्काई लिभिङ्ग अपार्टमेन्ट र वेस्टार स्काई टावर अपार्टमेन्ट नामक संयुक्त आवास भवन स्वीकृती लिएको थियो । यसलाई रद्ध गरी होटल बनाउन काठमाडौं उपत्यका विकास प्राधिकरणले स्वीकृती दिएपछि सिटीले अपार्टमेन्टलाई होटल बनाउने निर्णय गरेको हो । होटलले जारी गरेको सूचना अनुसार यस सयुक्त आवासमा कुनै व्यक्ति वा संस्थाले आवास खरिद गरेको भए सूचना प्रकाशित भएको १५ दिन भित्र कम्पनीको रजिष्ट्रार कार्यलयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
केपी ओली दोस्रो पटक प्रधानमन्त्रीमा नियुक्त, आजै सपथ ग्रहण हुँदै
काठमाडौं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम एमालेका अध्यक्ष समेत रहेका ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र नेकपा माओवादी केन्द्रले बिहीबार बिहान राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परीणाम बुझाएसँगै सरकार गठनको बाटो खुलेको थियो । नवनियुक्त प्रधानमन्त्री ओलीले दिउँसो ४ बजे सपथ लिनेछन् । नवनियुत्त प्रधानमन्त्री ओलीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नु पर्ने हुन्छ ।
१०२ मेगावाटको आयोजना बनाउन चाइना हाइड्रोलाई साढे २० अर्ब विदेशी लगानी ल्याउन स्वीकृत
काठमाडौ । सरकारले हाइड्रो चाइना कर्पोरेशनलाई २० अर्ब ३८ करोड रुपैयाँ वैदेशिक लगानी ल्याउन स्वीकृति दिएको छ । रसुवास्थित त्रिशुली नदीमा १०२ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्न चिनियाँ कम्पनीलाई लगानी ल्याउन स्वीकृति दिएको हो । औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा १८ बमोजिम उद्योग मन्त्रालयमा बसेको उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको २२४ औँ बैठकले सो जविद्युत उत्पादनका लागि स्वीकृति प्रदान गरेको हो । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ को दफा ३ को उपदफा ३ अनुसार साविक रसुवाको स्याफ्रु, गुल्जुङ र गेल्टाङ गाविसमा पर्ने त्रिशूलीमा जलविद्युत् उत्पादनका लागि विदेशी लगानी माग भएकामा उक्त कंपनीको प्रस्ताब स्वीकृत गरिएको उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले जानकारी दिए ।
देवः विकास बैंकको फागुन १७ गते बुक क्लोज, ४० प्रतिशत हकप्रद जारी गर्दै
काठमाडौं । देवः विकास बैंक लिमिटेडले आगामी फागुन १७ गते बुक क्लोज गर्ने भएको छ । बैंकले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनको लागि बैंकले उक्त दिन कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको हो । उक्त निर्णय बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । कम्पनीले सेयरधनीलाई ४० प्रतिशत अर्थात १० बराबर ४ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हाल बैंकको चुक्ता पुँजी एक अर्ब ६३ करोड रुपैयाँ रहेको छ । ४० प्रतिशत अथार्त ६५ करोड ३३ लाख १० हजार रुपैयाँ हकप्रद पश्चात कम्पनीको पुँजी २ अर्ब २८ करोड रुपैयाँ नाघ्ने छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले हुने ६५ लाख ३३ हजार कित्ता सेयर निष्कासन गर्न बिक्री प्रबन्धकको रुपमा एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।
कम्पनी खारेजी ६७ प्रतिशतले बढ्यो, रजिस्ट्रार कार्यालय अझै असन्तुष्ट
काठमाडौं । कम्पनी खारेजीको संख्या ६७ प्रतिशत बढेको छ । पछिल्लो समय सरकारले ल्याएकोे कम्पनी खारेजी प्याकेजको कारण संख्या बढेको हो । कम्पनी रजिस्ट्रारको कार्यालको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीको खारेज संख्या ६७ प्रतिशत बढेको छ । सरकारले उक्त प्याकेज ल्याए यता चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको ६ महिनामा ३२८ कम्पनीहरु खारेज भएका छन् । जबकी गएको वर्षको सोही अबधिमा १९६ कम्पनी मात्रै खारेज भएको कार्यालयको भनाइ छ । रजिस्ट्रारको कार्यालयको तथ्याङ्क अनुसार दुधकोशी प्रेस एण्ड सप्लायर्स, प्रोजेक्ट फर स्कुल नेपाल, एसपि कृषि तथा पशुपालन प्रालि, हिमावारी एजुकेशन कन्सल्टन्सी, सप्तर्षि एकेडेमी गोलबजार, सवल खाद्य उद्योग प्रालि, काव्य मिडिया लगायत कम्पनीहरु खारेज भएका छन् । सरकारले गएको वैसाख १९ गतेदेखि लागु हुनेगरी कम्पनी खारेजीको प्याकेज ल्याएको रजिस्ट्रारको कार्यालय प्रमुख गीता कुमारी होमेगाँईले बताइन् । उनका अनुसार उक्त २०७४ वैशाख १९ भन्दाअघि कारोबार सञ्चालन नभएका विभिन्न किसिमका कम्पनीहरु खारेजीको प्याकेजमा आउन सक्नेछन् । प्याकेज अनुसार कम्पनीले जरिवाना रकम अथवा कम्पनीको चुक्ता पूँजीको शून्य दशमलब ५ प्रतिशत हुन आउने रकम मध्ये कुनै पनि जरिवाना भुक्तानी गर्न सक्नेछ । ‘प्याकेज आउनभन्दा अघि जरिवाना रकम बढी थियो,’ उनले भनिन् ‘प्याकेजको कारण सञ्चालन नभएका कम्पनीहरु खारेज गर्न आउने अपेक्षा गरेका थियौं तर, त्यस्तो भएन ।’ अपेक्षा अनुसार कम्पनीहरु खारेजीको लागि नआएको उनको भनाइ छ । ‘कार्यालयमा धेरै कम्पनीहरु दर्ता रहेका छन्,’ उनले भनिन् ‘तर, अपडेट भएका कम्पनीको संख्या कम छन् ।’ विगतमा लामो समयसम्म भएको द्वन्द, भुकम्प लगायको कारणले कम्पनीहरु सञ्चलनमा आउन नसकेको उनको बुझाइ छ । सञ्चालन हुन नसकेका त्यस्तो कम्पनीहरुको खारेजी अहिलेको अवश्यकता रहेको उनले बताइन्। नियम अनुसार सम्पूर्ण आवश्यक प्रक्रिया अपनाएपछि सहजै कम्पनी खारेज गर्न सकिन्छ । ‘खारेज गर्न बाहिर आएजस्तो जडितलता छैन,’ उनले भनिन् । खारेजीको प्याकेज लागु भएको मितिले २ वर्षसम्म कायम रहेने रजिस्ट्रार कार्यालयले जनाएको छ । त्यस्तै कार्यालयको अनुसार गएको ६ महिनाको अबधिमा २७ ओटा सार्बजनिक कम्पनी, १० हजार ५५६ निजी कम्पनी र २०८ वटा मुनाफा वितरण नगर्ने कम्पनीको दर्ता सम्बन्धि कार्य सम्पादन भएको छ । सो अबधिमा १७ वटा कम्पनी गाभिएको, ४ हजार २३७ कम्पनीको शेयर खरिद विक्री वा जगेडा शेयर बिक्रि र मृत्युपछिको शेयर नामसारी(शेयर लागत) गरिएको कार्यालयले बताएकाे छ ।
तीन तहको निर्वाचन हुनु आफ्नो कार्यकालको मुख्य उपलब्धि : प्रधानमन्त्री
काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा तीन वटै तहका निर्वाचन सफलताका साथ सम्पन्न हुनुलाई आफ्नो कार्यकालको मुख्य उपलब्धि भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट आज देशवासीका नाममा सम्बोधन गर्दै उनले स्थानीय तह, प्रदेशसभा र संघीय संसद्को निर्वाचन सफलताका साथ सम्पन्न गरी प्रदेशसभा र प्रदेश सरकारको गठनसमेत यही अवधिमा भएको उल्लेख गरे। प्रधानमन्त्री देउवाले राष्ट्रिय गौरवका द्रुतमार्ग, बूढीगण्डकी आयोजना, मेलम्ची खानेपानी आयोजना, अन्तर्देशीय प्रसारणलाइन विस्तारमा समेत निकै प्रगति हासिल भएको उल्लेख गरे। जनताको हितलाई ध्यानमा राखेर छिमेकीसँग समानतामा आधारित परराष्ट्र नीति अवलम्बन गरिएको बताउँदै प्रधानमन्त्री देउवाले स्वदेशी लगानीमा समेत उत्साहजनक रुपमा उल्लेखनीय प्रगति भइरहेको जानकारी दिए । सम्बोधनका क्रममा उनले वर्तमान सरकारमा सहभागी भएका र समर्थन गरेका सबै दललाई धन्यवाद दिँदै आजै पदबाट राजीनामा दिने घोषणा गरे। रासस
नयाँ बन्ने सरकारलाई शुभकामना दिदैं देउवाले दिए राजिनामा
काठमाडौं । प्रधानमन्त्री शेरबहादर देउबाले पदबाट राजिनामा दिएका छन् । अब बन्ने नयाँ सरकारलाई शरभकामना दिदैँ देउवाले पदबाट राजिनामा दिएका हुन् । देउवाले देशवासीको नाममा सम्बोधन गर्दै तीन ओटै निर्वाचन गर्न सक्नु आफ्नो् कार्यकालको सबैभन्दा ठुलो सफलता भएको बताएका छन् । करिब १४ मिनेट सम्बोधन गरेका देउवाले आफ्नो पाटी सरकारमा नभए पनि निरन्तर प्रदेश सभाको निर्माण र देशबासीको सेवामा लागि परिरहने बताए ।
विदेशी मुद्रा संचिती घट्यो, १०.६ महिनाको आयात मात्र धान्ने
काठमाडौं । आयातमा निरन्तर वृद्धि र रेमिट्यान्स आप्रवाह कमी आउन थालेपछि मुलुकको विदेशी मुद्रा संचिती घटेको छ ।चालु आर्थिक वर्षको ६ महिनामा विदेशी विनिमय संचिती १.१ प्रतिशत घटेपछि यसको असर वस्तुत आयातको समय पनि घटेको छ । हालको विदेशी विनिमय संचितिले १०.६ महिनाको वस्तु तथा सेवा आयात मात्र धान्न सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्ला महिनामा एक वर्षका लागि वस्तु तथा सेवा आयात धान्ने गरी विदेशी विनियम संचित हुने गरेकोमा आयात बढेको र रेमिटेयान्स आप्रवाह घटेपछि यसको असर परेको हो । गत असार मसान्तसम्म १० खर्ब ७९ अर्ब ४३ करोड रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति रहेकोमा पुस मसान्तमा कमी आई १० खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँमा झरेको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.९ प्रतिशत रहेको छ । वाह्य क्षेत्रतर्फ, चालू आर्थिक वर्षको पहिलो छ महिनामा आयातमा उच्च वृद्धि भएको एवम् विप्रेषण आप्रवाहमा केही कमी आएकोले चालू खाता घाटामा वृद्धि भई ७५ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको छ महिनामा ४५ अर्ब रुपैयाँ बचतमा थियो । यस्तै वैदेशिक व्यापार घाटा १५ प्रतिशत बढेर ४ खर्ब ४ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ । यसले गर्दा मुलुकको समग्र शोधनान्तर ६ अर्ब ६६ करोडले घाटामा गएको छ । मुलुकको अर्थतन्त्र घाटामा गएपनि वाह्य क्षेत्र स्थायित्व सबल अवस्थामै रहेको राष्ट्र बैंकको दावी छ । विनिमय दर मजवुत गत असारको तुलनामा पुस मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग १.३ प्रतिशतले अधिमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दर १.७ प्रतिशतले अवमूल्यन भएको थियो । गत पुस मसान्तमा अमेरिकी डलर १ को खरिद विनिमय दर १०१ रुपैयाँ ५२ पैसा पुगेको छ । २०७४ असार मसान्तमा उक्त विनिमय दर १०२ रुपैयाँ ८६ पैसा थियो ।