वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले १३१ जनालाई भर्ना खुलायो
काठमाडौं । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनले खुला तथा समावेशी गरी १३१ जना कर्मचरीको लागि भर्ना खुलाएको छ । लोक सेवा आयोगबाट सहमति प्रदान भए बमोजिम अस्पताल अन्तर्गत अधिकृतस्तर र सहायकस्तरका विभिन्न पदहरुमा खुला परिक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले विभिन्न योग्यता पुगेका उमेदवारले अवेदनको लागि दर्ता गर्न सक्ने जनाएको छ । अस्पतालका अनुसार अस्पतालको वेबसाइटबाट डाउनलोड गरी एफोर साइजको फोटोकपी पेपरमा प्रिन्ट गरी सम्पूर्ण विवरण भरी फागुन २५ गतेसम्म र दोब्बर दस्तुर २०७४ चैत २ गतेसम्म आवेदन अस्पताल प्रशासनमा दर्ता गराउनु हुन आवेदकलाई अनुरोध गरिएको छ । अस्पतालले रजिष्ट्रार, वरिष्ठ ल्याब टेक्नोलोजिष्ट, वरिष्ठ रेडियोलोजिकल टेक्नोलोजिष्ट, टेक्नोलोजिष्ट, पब्लिक हेल्थ अधिकृत, जुनियर असिष्टेण्ट, सुपरभाइजर सब ओभरसियर लगायतका पदका लागि अस्पतालले कर्मचारी मागेको हो । आवेदनको लागि १८ वर्ष उमेर पूरा नभएकोदेखि अस्पताल सेवाका बहालवाला स्थायी कर्मचारीको हकमा उमेरको हदले नछेकिने बताइएको छ । लिखित र अन्तर्वार्ता दुवै किसिमको परिक्षा हुनेछ । उम्मेदवार स्वयंमले दरखास्तका साथमा हालसालै खिचिएको पासपोर्ट साईजको ३ प्रति फोटो, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि लगायत विभिन्न कागजातहरुका प्रतिलिपि प्रमाणित गरी संलग्न गर्न पर्ने अस्पतालको भनाइ छ । त्यस्तै समावेशीतर्फ दरखास्त दिने उम्मेदवारहरुले आवश्यकता वमोजिमका कागजातहरु अनिवार्य रुपमा दरखास्त साथ संगलग्न गरी पेश गर्न पर्ने छ ।
आउदो ३ वर्षमा नाफा ३०० प्रतिशत बढ्ने एशियन लाइफ इन्स्योरेन्सको प्रक्षेपण
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आउदो ३ वर्षमा नाफा ३ सय प्रतिशतसम्म बढ्ने प्रक्षेपण गरेको छ । ०६४ चैत २१ गतेदेखि जीवन बीमा व्यवसाय गर्दै आएको कम्पनीले आउदो आर्थिक वर्ष ०७६/०७७ मा नाफा झण्डै ३ सय प्रतिशत बढाएर २६ करोड ६२ लाख रुपैयाँ पुर्याउने लक्ष्य राखेको छ । गत आर्थिक वर्षमा एशियनले ९ करोड ६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । ३ वर्षमा कम्पनीले नाफा झण्डै १६ करोड रुपैयाँ बढाउने प्रक्षेपण गरेको छ । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको सूचनामा एसियनले चालु आर्थिक वर्षमा नाफा बढाएर १४ करोड ११ लाख, आगामी वर्ष २१ करोड रुपैयाँ नाफा हुने उल्लेख गरेको छ । यस्तै ३ वर्षमा प्रतिसेयर आम्दानी १४ रुपैयाँ ६९ पैसा पुग्ने प्रक्षेपण गरेको छ । गत वर्ष कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ २५ पैसा थियो । चालु आर्थिक वर्षमा घटेर ७ रुपैयाँ ७९ पैसा र आगामी आवमा ११ रुपैयाँ ५९ पैसा पुग्ने प्रक्षेपण गरिएको छ । ३ वर्षपछि कम्पनीको कुल आम्दानी बढेर ३९ करोड २२ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । गत आवमा कम्पनीले १६ करोड २९ लाख, चालु आवमा २२ करोड ३७ लाख र आगामी आवमा बढेर ३० करोड ८५ लाख रुपैयाँ पुग्ने एसियनले जनाएको छ । यस्तै ३ वर्षमा एशियनले जीवन बीमा शुल्क संकलन दोब्बर बनाएर ४ अर्ब ५५ करोड ८० लाख रुपैयाँ पुर्याउने भएको छ । चालु आवमा २ अर्ब ८७ करोड १० लाख र आगामी वर्ष ३ अर्ब ६१ करोड ७५ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ । समीक्षा अवधिमा जगेडा कोषमा रहने रकम १४ करोड २४ लाख रुपैयाँ हुनेछ । एशियनले फागुन १३ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले चुक्तापुँजी बढाउन ४० करोड २७ लाख ९६ हजार रुपैयाँ बराबरको ४० लाख २७ हजार ९६६ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन बन्द चैत १८ गते हुनेछ । कम्पनीले २ बराबर १ अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो । गत माघ ७ गतेसम्म नेपाल स्कट एक्सचेन्ज लिमिटेडमा कारोबार भई कायम रहेका साविक सेयरधनीले हकप्रद सेयरका लागि आवेदन दिन पाउने छन् । हकप्रद सेयर बाँडफाँडपछि कम्पनीको चुक्तापुँजी बढेर १ अर्ब २० करोड रुपैयाँ पुग्ने छ । चालु आर्थिक वर्षको असारसम्म जीवन बीमा व्यवसाय गर्ने कम्पनीले चुक्ता पुँजी बढाएर २ अर्ब रुपैयाँ पुर्याउनु पर्ने व्यवस्था नियामक बीमा समितिले गरेको छ । कम्पनीको चुक्ता पुँजी हाल ८० करोड ५५ लाख रुपैयाँ छ ।
ओलीलाई मोदीको बधाई, भारत भ्रमणको निम्तो
भक्तपुर । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएका छन् । मोदीले बिहीबार राति १०ः३० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिँदै भारत भ्रमणको निम्तोसमेत दिएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। उनका अनुसार भारतीय प्रधानमन्त्री मोदीले आफू प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताएका थिए । प्रधानमन्त्री ओलीलाई समकक्षी मोदीले नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको अधिकारीले जानकारी दिए । टेलिफोन कुराकानीमा मोदीलाई प्रधानमन्त्री ओलीले आफ्नो ध्यान नेपालको विकास र समृद्धिमा केन्द्रित रहेको बताएका थिए। भारतसँगको मित्रता अझै सुदृढ बनाएर लैजान आफू प्रयासरत रहने ओलीले बताउनु भएको प्रेस संयोजक अधिकारीले जानकारी दिए । राजदूत पुरी मध्यराति बालकोटमा त्यसैगरी, भारतीय राजदूत मञ्जिभसिंह पुरी बिहीबार मध्यराति बालकोटस्थित प्रधानमन्त्री ओली निवास पुगेर बधाई तथा शुभकामना दिएका छन् । राजदूत पुरीले भारतीय प्रधानमन्त्री मोदीको बधाई तथा शुभकामना सन्देश लिएर प्रधानमन्त्री ओलीलाई भेट्न बालकोट पुगेका हुन् । राजदूत पुरीमार्फत भारतीय प्रधानमन्त्री मोदीले पठाएको सन्देशमा प्रधानमन्त्री ओलीको नेतृत्वमा देशले स्थायित्व पाउने आशा व्यक्त गरिएको छ । ओलीको नेतृत्वमा आर्थिक विकास र समृद्धि पनि हासिल हुने विश्वास व्यक्त गर्दै शुभकामना पत्रमा मोदीले नेपाल र भारतको प्रगाढ विश्वास, सद्भाव र पारस्परिक विश्वासमा आधारित युगौँ पुरानो सम्बन्धलाई विकास गर्न आफूहरुले उच्च महत्व दिने उल्लेख गरिएको छ । त्यसका लागि नेपाली जनता र नेपाल सरकारको साथमा रहेर विकासका लागि सहयोग गर्न भारत तयार रहेको पत्रमा उल्लेख रहेको प्रेस संयोजक अधिकारीले बताए । बिहीबार राति नै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पनि प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेर सफल कार्यकालका लागि शुभकामना दिएकी छिन् । ओली निवासमा बधाई दिनेको ओइरो त्यसैगरी प्रधानमन्त्री ओली निवास बालकोटमा बधाई तथा शुभकामना दिनेको ओइरो लागेको छ । बिहीबार रातिदेखि नै भक्तपुरका सरकारी कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, प्रहरीका उच्च पदस्थ अधिकारीहरु, शुभचिन्तक, नेता, कार्यकर्ता, सांसद लगायतको भीड लागेको छ । आज बिहान पनि ओली निवास बालकोटमा प्रधानमन्त्री ओलीलाई बधाई दिनेको ओइरो लागेको छ । रासस
ओम डेभलपमेन्ट बैंकको साधारणसभा फागुन २५ मा, ३७ करोड ८१ लाखको बोनस सेयर वितरण प्रस्ताव पारित गर्ने
काठमाडौं । ओम डेभलपमेन्ट बैंकको ११ औं साधारणसभा फागुन २५ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १७.६९ प्रतिशत अर्थात ३७ करोड ८१ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । यस्तै सभाले संस्थापक सेयरधनी र साधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व हुने गरी ६ जना सञ्चालक समितिको निर्वाचन गर्ने भएको छ । सभाले बैठक भक्ता बढाउने र कार्यकारी सञ्चालक र कार्यकारी प्रमुखको कार्यकाल कायम गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।
सेञ्चुरी बैंकको साधारणसभा फागुन ३० मा, १० प्रतिशत लाभांश पारित गर्ने
काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकको सातौ वार्षिक साधारणसभा फागुन ३० गते बस्ने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट नगद र बोनसगरी सेरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने भएको छ । बैकले ५ प्रतिशत अर्थात ३८ करोड ३९ लाख रुपैयाँ नगद र सोही रकम बराबरको बोनस सेयर दिने प्रस्ताव पारित हुने जानकारी दिएको छ । बोनस सेयर वितरणपछि बैंकको चुक्तापुँजी ८ अर्ब २५ करोड रुपैयाँ पुग्ने छ । यस्तै पुँजीगत रुपमा ठुलो बैंक बनाउन स्वदेशी तथा विदेशी संस्थालाई गाभ्ने वा रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौताका लागि सभाले सञ्चालक समितिलाई पुर्ण अधिकार दिने प्रस्ताव पनि पारित हुने छ ।
सुर्योदय लघुवित्तको हकप्रद सेयर फागुन २४ गतेदेखि निष्कासन हुने
काठमाडौं । सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २४ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । संस्थाले चुक्तापुँजी बढाउन २ करोड ८० लाख रुपैयाँ बराबरका २ लाख ८० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । संस्थाले साविकका सेयरधनीलाई १० कित्ता बराबर ७ किता अर्थात ७० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद निष्कासन बन्द चैत २८ गते हुने निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ । माघ २५ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सेयर कारोबार भई कायम भएका साविकका सेयरधनीले हकप्रद सेयर खरिद गर्न पाउने भएका छन् । स्याङजाको पुतलीबजारमा रहेको संस्थाको हकप्रद निष्कासनपछि चुक्तापुँजी बढेर ६ करोड ८० लाख रुपैयाँ पुग्ने छ । हाल संस्थाको चुक्तापुँजी ४ करोड रुपैयाँ रहेको छ ।
प्रदेशहरुको समानुपातिक विकास हुनु पर्नेमा जाेड
काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुक संघीय संरचनामा प्रवेश गरेको भन्दै सबै प्रदेशको समानुपातिक आर्थिक विकास आवश्यक रहेको बताए । त्यसको लागि स्वदेशी तथा विदेशी लगानी भित्राउन प्रदेश–प्रदेशबीच स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने उनको भनाइ छ । ‘उद्योग, व्यापार, कृषि एवम् पर्यटनको विकास परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने नाराका साथ उद्योग वाणिज्य संघको आयोजनामा बिहीबार दाङको घोराहीमा आयोजित चौथो दाङ व्यापारिक तथा पर्यटन महोत्सवमा उनले त्यस्तो धारणा राखेका थिए । उनले छिमेकी देश भारतको प्रदेश सरकारले लगानी भित्राउन विभिन्न विदेशी लगानी र निजी क्षेत्रलाई सुविधा दिने गरेको स्मरण गर्दै नेपालमा पनि समुचित लगानी भित्राउन प्रदेश–प्रदेशबीच प्रतिस्पर्धा हुनु पर्ने उनको बुझाइ छ । कार्यक्रममा विभिन्न वत्ताहरुले दाङमा कृषि, पर्यटन र खानी उद्योगको क्षेत्रमा अपार सम्भावना रहेको उल्लेख गर्दै सोको विकासको लागि निजी क्षेत्र र लगानी गर्न इच्छुक सबै मिलेर काम गर्न पर्ने जोड दिइएको थियो । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा लगायतको उपस्थिति रहेको थियो ।
चार्टर्ड एकाउन्टेन्सी परीक्षामा ८३ प्रतिशत फेल
काठमाडौं । चाटर्ड एकाउन्टेन्सी परीक्षामा ८३ प्रतिशत परीक्षार्थी फेल भएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार १७ प्रतिशत परीक्षार्थी मात्र उतिर्ण भएका छन् । गत डिसेम्बरमा संचालन गरेको चार्टर्ड एकाउन्टेन्सी परीक्षाको नतिजाअनुसार क्याप–२ तहमा १ हजार ४२८ जना परीक्षा दिएकोमा दुबै समुह गरी २४३ जना मात्र उतिर्ण भएका छन् । संस्थाले जनाएअनुसार क्याप १ तहमा सहभागी ७२९ जना परीक्षार्थी मध्ये ४८८ जना र क्याप ३ तहमा ५४३ जना परीक्षार्थी मध्ये एक तथा दुबै समुह गरी ७७ जना उत्तीर्ण भएका छन् । परीक्षाको नतिजाअनुसार २७ जना परीक्षार्थी चार्टर्ड एकाउन्टेन्ट सदस्यको लागि योग्यभएका छन् । यसैगरी चार्टर्ड एकाउन्टेन्ट्स सदस्यता परीक्षामा ३५ जना परीक्षार्थी उत्तीर्ण भएको संस्थाको पे्रस विज्ञप्तिमा उल्लेख गरिएको छ । चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले चार्टर्ड एकाउन्टेन्सी परीक्षा र परीक्षाको नतिजा निर्धारित समयमा नै गर्ने गरेको छ ।