एक्सेल डेभलपमेन्ट बैंक झापाको दुधेबजारमा
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको २०औं शाखा झापा जिल्लाको दुधेबजारमा स्थापना गरी उद्घाटन गरेको छ । शाखाको उद्घाटन मंगलबारका दिन शिवसताक्षी नगरपालिकाका नगरप्रमुख चन्द्रकुमार शर्मा र यस बैंकका संचालक समितिका अध्यक्ष हेमराज ढकालले संयुक्त रुपमा गरेका छन् । बैंकले उक्त शाखाबाट सम्पूर्ण बैंकिङ सेवाहरु प्रदान गर्ने छ । हाल बैंकले विभिन्न २२ स्थानबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । साथै, चालु आ.व.मा आफ्नो कार्यक्षेत्र भित्रका थप केहि ठाउँहरुमा शाखा विस्तार गर्ने बैंकको लक्ष्य रहेको छ ।
जापान सरकारद्धारा एन्फालाई आर्थिक सहयोग, फुटबलका मुख्य प्रशिक्षक कोजीको कार्यकाल थप
काठमाडौं । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स मैदानको भौतिक पूर्वाधार निर्माणका लागि ७४ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । जापानी दूतावासद्धारा बुधबार यहाँ आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा र एन्फाका महासचिव धीरेन्द्र प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । जापान सरकारले ग्रान्ट असिस्टेन्ट फर कल्चरल ग्रासरुट्स प्रोजेक्टअन्तर्गतबाट नेपाललाई अनुदान स्वरुप सो रकम दिन लागेको हो । एन्फा महासचिव प्रधानले उक्त रकमबाट एन्फा कम्प्लेक्समा रहेको मैदानमा दर्शकका लागि शौचालय, निर्माण, चेन्जिङ रुमको स्तर उन्नति र टेक्निकल डाइरेक्टरका लागि कार्यालय निर्माण गर्ने योजना रहेको बताउनुभयो । फुटबलका मुख्य प्रशिक्षक कोजीको कार्यकाल थप त्यस्तै राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यातोकु कोजीको एक वर्षका लागि कार्यकाल थप गरेको एन्फाले जनाएको छ । सन् २०१६ मार्चदेखि मुख्य प्रशिक्षकका रुपमा रहेका कोजीको आगामी महिनामा म्याद सकिँदै थियो । रासस
यातायात व्यवस्था कार्यालयका नासु लेखनाथ भुसाल घुस सहित रंगेहात पक्राउ
काठमाडौं । यातायात व्यवस्था कार्यालयमा कार्यरत नायब सुब्बा लेखनाथ भुसाल ३२ हजार घुष रकम सहित पक्राउ परेको छ । गोप्य सूचनाको आधारमा अख्तियारको टोलले भुसाललाई पक्राउ गरेको हो । भुसालले सवारी चालक अनुमति पत्र बनाउनका लागि सेवाग्राहीसँग बिभिन्न बहाना बनाई घुस रकम माग गरिरहेको अवस्थामा पक्राउ गरेको हो । त्यसैगरी औषधि ब्यवस्था विभाग, कार्यालय बाँकेमा कार्यरत फार्मेसी निरीक्षक पुष्प राना क्षेत्री पनि २८ हजार घुस लिदाँलिदै पक्राउ परेकी छिन् । मेडिकल सेन्टर अनुगमनको क्रममा विभन्न बहाना बनाई सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरबाट खटिइ गएको टोलीले रानालाई पक्राउ गरिएको हो । भुसाल र रानामाथी थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।
टेलिकमले ल्यायो होली अफर, विभिन्न ४ सेवामा विशेष छुट
काठमाडौं । नेपाल टेलिकमले फागुन १७ र १८ गते मनाइने होली पर्वको अवसरमा ग्राहकहरुका लागि ‘होली अफर’ उपलब्ध गराउने भएको छ । सो अफर कम्पनीका जीएसएम मोबाइलका ग्राहकहरुले उपयोग गर्न सक्ने छन् । यस अफर आगामी फागुन १७ देखि चैत १ गते सम्म खरिद गरी उपभोग गर्न सकिने छ । अनलिमिटेड भ्वाइस नाइट कल कम्पनीले राती १० देखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिने अनलिमिटेड भ्वाइस नाइट कल अफर उपलब्ध गराउने भएको छ । सो अफर ३५ रुपैयाँमा खरिद गर्न सकिने छ र ३ दिन सम्म कल गर्न सकिने छ । अनलिमिटेड अल टाइम डाटा त्यसैगरी ५० रुपैयाँमा अल टाइम अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ । डाटा खरिद गरेको २४ घण्टा सम्म यसको प्रयोग गर्न सकिन्छ । १ जीबी डाटा थ्रिजी/फोरजीको गतिमा चल्ने छ । त्यसपछि भने २५६ केबीपीएसको गतिमा चल्ने छ । अनलिमिटेड नाइट डाटा एक रातका लागि मात्र प्रयोग गर्नका लागि अनलिमिटेड नाइट डाटा प्याक उपलब्ध हुनेछ । सो नाइट डाटा प्याक १५ रुपैयाँमा राती १० देखि विहान ६ बजेसम्म प्रयोग गर्न सकिने छ । १ जीबी डाटा थ्रिजी÷फोरजीको गतिमा चल्ने छ । त्यसपछि भने २५६ केबीपीएसको गतिमा चल्ने छ । अनलिमिटेड भ्वाइस, डाटा र एसएमएस अनलिमिटेड भ्वाइस, डाटा र एसएमएस अफर खरिद गरे पछि एक घण्टासम्म कम्पनीको नेटवर्क भित्र अनलिमिटेड कल गर्न, एसएमएस गर्न र डाटा चलाउन सकिने छ । सो प्याक २५ रुपैयाँमा खरिद गर्न सकिने छ । होली अफरका विभिन्न प्याक खरिद गर्नका लागि जीएसएम मोबाइलबाट *1415# डायल गर्न सकिने छ ।
छहरे-विदुर सडक योजनाले १६२ जनालाई मुआब्जा वितरण गर्ने
काठमाडौं । सडक सुधार तथा विकास योजना अन्तर्गत बालाजु–त्रिशुली, छहरे–विदुर सडक आयोजनाले १६२ जनालाई मुआब्जा वितरण गर्ने भएको छ । सडक खण्ड विस्तारको क्रममा घर टहराहरु अधिकरण गर्नु पर्ने भएकले मुआब्जा वितरण गर्न लागिएको हो । आयोजनाको अनुसार जग्गा प्राप्ती ऐन २०३४ को दफा ९ को उपलफा १ अनुसार मुआब्जा वितरण गर्न लागिएको हो । मुआब्जाको वितरण नियम अनुसार गरिेने र प्रक्रिया पुरा भई तोकिएको रकम बैंकबाट वितरण गरिने आयोजनाका प्रविधिक हरिहर न्यौपानेले बताए । मुआब्जा लिनको लागि जग्गाधनीले जग्गाको सक्कल लालपुर्जाको फोटोकपी र अन्य आवश्यक कागजात सहित आयोजनाको कार्यलयमा सम्पर्क गर्नु पर्ने छ ।
नयाँ सरकारलाई पत्याएन सेयर बजारले, परिसूचक दोहोरो अंकले ओरालो
काठमाडौं । नयाँ सरकार विस्तार भएपछि पनि सेयर बजारमा सुधार भएको छैन । सरकार विस्तार भई अर्थमन्त्रीका रुपमा डा. युवराज खतिवडा नियुक्त भएपछिकाे बुधबारको बजार पनि दोहोरो अंकले ओरालो लागेको छ । सो दिनको नेप्से परिसूचक १८.८२ अंकले घटेर १३४५.९९ अंकमा झरेको छ । केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएको दिन ३६ अंकले सेयर बजार उकालो लागेको थियो । त्यसपछि निरन्तर घटेको बजार अर्थमन्त्रीमा खतिवडा नियुक्त भएको दिन पनि सामान्य अंकले बढेको थियो । त्यसपछिको बजार भने निरन्तर ओरालो लागिरहेको छ । बजार अझै ओरालो लाग्ने क्रम जारी छ । नयाँ सरकारलाई सेयर बजारले नपत्याएको देखिएको छ । बजारमा लगानीकर्ताको विश्वास नबढेको र बैंकको चर्को ब्याजदरले पनि बढ्न नसकेको लगानीकर्ता बताउछन् । दोहोरो अंकले घटेको बजारमा कारोबारमा आएको सबै सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको सूचक १५१ अंकले ओरालो लागेको छ । त्यस्तै, जलविद्युत, होटल, लघुवित्त, विकास बैंक, बैंकिङ र अन्य समूहको सूचक दोहोरो अंकले घटेका छन् । बुधबारको बजारमा कूल १६० कम्पनीको ५४ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी प्रभु बैंकको ६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् । यस प्रभुको सेयर मूल्य प्रतिकित्ता २२७ रुपैयाँ रहेको छ । प्रभुको सेयर मूल्य सस्तो भएकाले लगानीकर्ताले बढी खरिद गरेका हुन् । बजारमा सबैभन्दा बढी सिभिल बैंकका लगानीकर्ताले ५.८४८ प्रतिशत गुमाएका छन् भने सूर्योदय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४ प्रतिशतले बढेको छ ।
बुटवल पावरको एफपीओमा ८ अण्डरराइटर फस्दै, ५४ करोड सकार्नुपर्ने वाध्यता
काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) को थप निष्कासन (एफपीओ) मा ८ वटा प्रत्याभूतिकर्ता (अण्डरराइटर) फस्ने भएका छन् । निष्कासन भएको मध्ये ५४ करोड रुपैयाँको एफपीओ बिक्री नभएपछि ८ वटा अण्डरराइटरले दामासाही रुपमा किन्नुपर्ने अवस्था आएको हो । मंगलबारसम्म १ अर्ब ५० करोड रुपैयाँ बराबरको एफपीओ बिक्री भएको बीपीसी वित्त विभागका भाइसप्रेसिडेन्ट राधेश्याम श्रेष्ठले बताए । एफपीओ निष्कासन मंगलबार बैंकिङ समयपछि सकिएको छ । बीपीसीले प्रिमियम मूल्य ४०१ रुपैयाँ थप गरी प्रतिकित्ता ५०१ रुपैयाँमा गत माघ १५ गतेदेखि २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासन गरेको थियो । बिक्री नभएको एफपीओ अण्डरराइटरले किन्ने गरी सम्झौता भएको श्रेष्ठले जानकारी दिए । बिक्री नभएको ५४ करोड रुपैयाँ एफपीओ ८ वटा अण्डरराइटरले किन्ने उनले स्पष्ट पारे । विकास न्युजसंग कुरा गर्दै उनले भने “उहाँहरु बाँकी एफपीओ किन्न तयार हुनुहुन्छ ।” बिक्री नभएको एफपीओ एनएमबी क्यापिटल लिमिटेड लगायत लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेड, एनआईबीएल एस क्यापिटल लिमिटेड, ग्लोबल आईएमई क्यापिटल लिमिटेड, ग्लोबल आईएमई सम्मुनत योजना १, नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नविल ब्यालेन्स फण्ड १ र नविल इक्विटी फण्डले खरिद गर्नुपर्ने छ । सर्वसाधारण लगानीकर्ताबाट पर्याप्त आवेदन नपरेपछि बीपीसीले संगठित संस्थालाई एफपीओ बिक्री खुला गरेको थियो । संगठित संस्थाले पनि बीपीसीको एफपीओ खरिद गरेनन् । बीपीसीले ३६.७ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाका लागि एफपीओ ल्याएको हो । एफपीओ खुल्ने बित्तिकै सामाजिक सञ्जालमा बीपीसीका विरुद्ध नकरात्मक टीकाटिप्पणी भएपछि यसको असर परेको हो । बीपीसीले वार्षिक साधारणसभा अगावै निष्कासन गर्ने भएकाले एफपीओमा लगानी गर्नेले पनि गत आर्थिक वर्षमा गरेको नाफाबाट लाभांश पाउने छन् । एफपीओ निष्कासन गरेपछि मात्र बीपीसीले लाभांश घोषणा गर्ने भएको छ । २ वर्षपछि बीपीसीको नाफामा भारी गिरावट, लगानीकर्ताको लाभांश पनि घट्ने आगामी सन् २०२० को जुलाईदेखि हिमाल पावर लिमिटेडले निर्माण गरेको ६० मेगावाट क्षमताको खिम्ती आयोजनाको आधा स्वामित्व नेपाल विद्युत प्राधिकरणमा आउनेछ । सन् २००० जुलाईदेखि व्यवसायीक रुपमा बिजुली उत्पादन थालेको खिम्तीको २० वर्षपछि आधा स्वामित्व प्राधिकरणमा हस्तान्तरण हुने सम्झौता छ । खिम्ती आयोजनामा बीपीसीको १७ प्रतिशत स्वामित्व छ । बीपीसीको चालु आर्थिक वर्षको ६ महिनामा नाफा ३५७ प्रतिशतले बढेर ५९ करोड ९२ लाख रुपैयाँ पुगेको छ । हिमाल पावरबाट ४९ करोड ६० लाख रुपैयाँ नगद लाभांश प्राप्त गरेपछि नाफा बढेको हो । आधा स्वामित्व प्राधिकरणमा गएपछि ६० मेगावाटको २ वर्षपछि उसको हिमाल पावरबाट पाउने लाभांशमा भारी गिरावट आउने छ । त्यसपछि बीपीसीको अन्य आम्दानीको स्रोत बन्द भएपछि लगानीकर्ताले पाउने प्रतिफलमा पनि भारी गिरावट आउने देखिएको हो । बीपीसीले सार्वजनिक गरेको प्रक्षेपण प्रतिवेदनमा ३ वर्षपछि वित्तीय अवस्था उल्लेख गरेको छैन । आधा स्वामित्व हस्तान्तरणका अतिरित्त अमेरिकी डलरमा भएको विद्युत खरिदबिक्री सम्झौता (पीपीए) पनि सोही मितिदेखि सकिने छ । खिम्तीको डलर पीपीए महंगो छ । डलर मजवुत भएका कारण विद्युत प्राधिकरणले खिम्तीको बिजुली अहिले प्रतियुनिट १३ रुपैयाँमा खरिद गर्दै आएको छ । पुनः पीपीए हुने भएपछि खिम्ती आयोजनाको बिजुली सस्तो हुने छ । खिम्तीबाट प्राप्त हुने आम्दानी विद्युत प्राधिकरण र हिमाल पावरबीच आधा÷आधा बाँडिने छ । विद्युत प्राधिकरणले खिम्ती आयोजनाको रोयल्टी मात्रै वार्षिक ४८ करोड रुपैयाँ बराबरको बुझाउदै आएको छ । रोयल्टी समेत जोड्दा खिम्तीको बिजुलीको मूल्य प्रतियुनिट १३ रुपैयाँ २८ पैसा पर्छ । खिम्ती आयोजनालाई मात्रै विद्युत प्राधिकरणले २७ लाख अमेरिकी डलर भुक्तानी गर्दे आएको छ । प्राधिकरणले हिमाल पावरलाई वार्षिक ३ करोड २४ लाख ४ हजार ९५६ डलर अर्थात साढे ३ अर्ब रुपैयाँ भुक्तानी गर्दै आएको छ । हिमाल पावरको ५० वर्षको विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) छ ।
सिटिजन्स बैंकद्वारा पुस्तकालयलाई ५० हजार सहयोग
सिटिजन्स बैंकद्वारा पुस्तकालयलाई ५० हजार सहयोग ‘योर पार्टनर फर प्रोग्रेस’ भन्ने नाराकासाथ नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भिमढुङ्गा क्षेत्रका त्रिवेणी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । एक कार्यक्रमको आयोजना गरी बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको उपस्थितिमा उक्त ५० हजारको चेक पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वरप्रसाद पोखरेललाई हस्तान्तरण गरिएको थियो । उक्त सहयोग रकम निर्माण, व्यवस्थापन तथा सञ्चालनका लागि प्रयोग गरिने समितिका अध्यक्ष पोखरेलले प्रतिबद्धता जनाए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले युवा पुस्तामा पुस्तक पढ्ने बानिमा ह्राश आउँँदै गरेको अवस्थामा समयानाकुल प्रविधिको उपयोग गरी पुस्तकालय सञ्चालन गर्नु पर्ने आवश्यकतालाई मध्यनजर गर्दै पुस्तकालयलाई सहयोग गरेको जानकारी दिए । हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि आर्थिक सहयोग गर्दै आएको बताइएको छ ।