गोल्डस्टारद्धारा सडक बालकहरूलाई सहयोग, पहिलो पटक अन्तर्राष्ट्रिय खेलकुदमा सहभागी हुँदै
काठमाडौं । नेपालको लोकप्रिय जुत्ता गोल्डस्टारको निर्माता, वितरक तथा बजार व्यवस्थापक कम्पनी किरण सुम्यानुफ्याक्चरर्सले नेपाली सडक बालकहरूको टोलीलाई सहयोग गर्ने भएको छ । कम्पनीले आगामी २०७५ वैशाख ३१ देखि रुसको मस्कोमा आयोजना हुन लागेको सडक बालकविश्वकप फुटबल २०१८ मा सहभागी हुने उक्त टोलीलाई सहयोग घोषणा गरेको छ । नेपाली सडक बालकहरूको टोलीले कुनै पनिअन्तर्राष्ट्रिय खेलकुद कार्यक्रममा सहभागी हुन लागेको यो पहिलो पटक हो । सडक बालबालिकाको कल्याण र सहयोगमा जुटेको संस्था सेल्टर आश्रय नेपालसँग आबद्ध भई गोल्डस्टारले यो अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रममा सहभागी हुन लागेका सडक बालकहरूलाई सहयोग गर्न लागेको हो । किरण सु म्यानुफ्याक्चरर्सकी निर्देशक विदुषी राणाले भने, “खेलकुदको कार्यक्रम भन्ने बित्तिकै नै जुत्ताको कुरा सबैभन्दा अग्रणी स्थानमा हुन्छ । यस्तो परिस्थितिमा नेपालमा सर्वाधिक बिक्री हुने र रुचाइएको जुत्ता गोल्डस्टारको जिम्मेवारी र बोध दुवै पक्कै पनि छ । त्यसमाथि नेपालका सडक बालकहरू पहिलो पटक सडक बालकविश्वकप फुटबलमा सहभागी हुन लागेका छन् । यस्तो गर्वको क्षणमा हामीले आफू आबद्ध हुनुलाई गरिमामय मानेका पनि छौँ ।” सडक बालकविश्वकप फुटबलले पिछडिएका, हेपिएका, छुट्याइएका, र दुत्कारिएका सडक बालकहरूप्रति समाजले हेर्ने नजरिया र दृष्टिकोणलाई परिवर्तन गर्ने हेतुले हरेक विश्वकप फुटबल हुने मौकामा यो खेलकुद कार्यक्रम गर्दै आएको छ । यसबाट बालबालिकाको शिक्षा, समाजमा स्तर, र सुरक्षणमा बढावा दिने लक्ष्य सडक बालकविश्वकप फुटबल २०१८को पनि रहेको छ ।
तीन तहको सरकारका तीनै तहका सडक, धमाधम हस्तान्तरण हुँदै
काठमाडौं । मुलुक संघिय संरचना रुपान्तरित भएसँगै सडकहरु पनि रुपान्तरित भएका छन् । तीन तहका सरकार गठन भएसँगै सडकहरुको विभाजन पनि सोही अनुरुप हुन लागेको हो । अब केन्द्र सरकारको मातहतमा राष्ट्रि सडक रहनेछ भने प्रदेश सरकारको मातहतमा प्रदेश सडक र स्थानीय निकायले स्थानीय सडकको निर्माण, सञ्चालन तथा रेखदेख गर्नेछन् । हाल मुलुकभर ७५ हजार किलोमिटर सडक सञ्जाल रहेको छ । तीमध्ये करिब १३ हजार किलोमिटर सडक राष्ट्रिय सञ्जालमा रहेको छ । राष्ट्रिय सडकलाई केन्द्र सरकार अन्तर्गत सडक विभागले निर्माण, सञ्चालन तथा रेखदेखको काम गर्नेछ । करिब १० हजार सडक भने प्रदेश सरकारले हेर्नेछ । हाल सम्भावित रणनीतिक सडकका रुपमा अघि सारिएका ५ सय सडक प्रदेश मातहत रहने देखिएको हो । ती सडकहरुको निर्माण, सञ्चालन तथा रेखदेख प्रदेश सरकारहरुले गर्नेछन् । बाँकी करिब ६ हजारको संख्यामा रहने ५२ हजार किलोमिटर सडक स्थानीय तहमा गैसकेको छ । ती सडकहरुको निर्माण, सञ्चालन र रेखदेख स्थानीय तहले नै गर्नेछ । सडक विभागका प्रवक्ता मुक्ति गौतमका अनुसार हाल ठेक्का लागि सकेका सडक तथा पुलहरु निर्माण सम्पन्न गरेर मात्रै हस्तान्तरण हुने सम्भावना रहेको बताए । तर भर्खरै काम सुरु हुने चरणमा रहेका सडकहरु भने सिधै प्रदेश तथा स्थानीय तहहरुलाई बजेट सहित हस्तान्तरण गरिने बताए । प्रदेशहरुलाई करिब ३ अर्ब रुपैंयाँ बजेटमा निर्माण हुने चरणमा रहेका ५ सय वटा सडकहरु हस्तान्तरण गर्ने विभागका प्रवक्ता गौतमले बताए । विभागले ५ अर्ब रुपैंयाँ लागतका ५३ हजार भन्दा बढि सडक स्थानीय तहलाई हस्तान्तरण गरिसकेको छ ।
रिलायन्स लाईफ इन्स्योरेन्सको पहिलो शाखा पाटनमा, चैतभित्रै १६ वटा शाखा खोल्ने तयारी
काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो पहिलो शाखा पाटनमा विस्तार गरेको छ । कम्पनीले जीवन बीमा व्यवसाय फराकिलो पार्न शाखा तथा उप-शाखाहरु विस्तारलाई प्राथमिकतामा राख्ने उद्देश्यले सो स्थानमा नयाँ शाखा खोलेको हो । कम्पनीले चैत मसान्तभित्र १६ वटा शाखा विस्तार गर्ने भएको छ । साथै, कम्पनीले यस आर्थिक वर्षको अन्त्यसम्ममा नियामक निकायको स्विीकृति लिई करिब २५ वटा शाखा खोल्ने लक्ष्य लिएको छ । यस इन्स्योरेन्सले सुरूवातबाट ३ वटा जीवन बीमा योजना संचालनमा ल्याएको छ । साथै, निकट भविष्यमा थप ४ बीमा योजना संचालनमा ल्याउने भएको छ ।
ओम डेभलपमेन्ट बैंकको १७.६९ प्रतिशत बोनस पारित, सञ्चालकमा ६ जना निर्वाचित
काठमाडौं । ओम डेभलपमेन्ट बैंक लिमिटेडको १७.६९ प्रतिशत बोनस सेयर पारित भएको छ । शुक्रबार सम्पन्न बैंकको ११औं वार्षिक साधारणसभाले आ.व. २०७३/७४ को मुनाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्ताव पारित गरेको हो । उक्त बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । बैंकले गत आ.व.मा १६ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन, १४ अर्ब ५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । साथै, बैंकले सो अवधिमा ३९ करोड ४४ लाख रुपैयाँ खुद मुनाफा गरेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकले गत आर्थिक वर्षमा निक्षेपमा ३५.५ प्रतिशत, कर्जामा ४१.६३ प्रतिशत र खुद मुनाफामा ३३ प्रतिशतको वृद्धि गरेको हो । सभाले बैंकको संस्थापक तर्फबाट ३ जना र सर्वसाधारण तर्फबाट ३ जना गरि ६ जना सञ्चालकहरु निर्वाचित गरेको छ । बैंकले सुशीलकुमार गोशली, राजेन्द्रकुमार बाटाजु र बिजय मल्ल, योगेन्द्रलाल प्रधान, श्रीकृष्ण रेग्मि र कर्मकुमारी गुरुङ्गलाई सर्वसम्मतिले निर्वाचित गरेको हाे। निर्वाचनपछि बसेको सञ्चालक समितिको बैठकले सुशीलकुमार गोशलीलाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताएका छन् ।
सेञ्चुरी बैंकद्धारा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरि सम्पन्न गरेको छ । शुक्रबार बैंकले कम्पनीको सातौं वार्षिकोत्सवको अवसरमा आफ्नो प्रधान कार्यालय पुतलीसडकमा उक्त कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको हो । उक्त शिविर चाबहिल, काठमाडौंस्थित ओम हस्पिटल एण्ड रिर्सच सेन्टर प्रा. लि. बाट चिकित्सक तथा पुल्चोक, ललितपुरस्थित रक्तसञ्चार सेवा केन्द्रको सहयोगमा सम्पन्न भएको थियो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित शिविरमा सामान्य स्वास्थ्य परीक्षणका साथसाथै आखाँ, मुटु, अर्थो तथा ग्यास्ट्रो सम्बन्धी स्वास्थ्य परीक्षण पनि गरिएको थियो । बालबालिकाहरु देखि लिएर वृद्धवृद्धाहरुसमेतको सहभागी उक्त शिविरमा १०० जनाभन्दा बढीको निः शुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । रक्तदान कार्यक्रमा पनि ७० जनाभन्दा बढीको सहभागी थियो ।
डडेल्धुरामा १२ वटा पक्की मोटरेवल पुल निर्माण हुँदै, आगामी असारभित्रै सम्पन्न हुने
डडेल्धुरा । डडेल्धुराका विभिन्न नदी र खोलामा गरी करिब एक दर्जन पक्की मोटरेवल पुलःनिर्माण भइरहेका छन् । जिल्लाको धनगाड खोला, सेरागाड, खुल्लाखेत, परछेटा, ठूलीगाड, पारिखेत लगायतका स्थानमा निर्माणाधिन त्यसका पुलको निर्माणकार्य अन्तिमचरणमा पुगेको डिभिजन सडक कार्यालय कुलपाते डोटीले जनाएको छ । तीमध्ये दुई वटाको निर्माणकार्य सम्पन्न भइसकेको र बाँकी १० पुलमध्ये सात वटाको निर्माणकार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने निर्माण कम्पनीले जनाएका छन् । पुल निर्माणपछि डडेल्धुराका ग्रामीण सडकमा यातायात सञ्चालनमा सहजता आउने र त्यसपछि जिल्लाका सम्पूर्ण स्थानीय तह सदरमुकामसँग जोडिने छन् । वर्षयाममा खोला तथा नदीमा पानीको मात्रा बढ्ने बित्तिकै गाडी सञ्चालनमा समस्या हुने गर्दथ्यो । यो आर्थिक वर्षबाट भने पुलका कारण सवारी साधन नरोकिने जिल्ला प्राविधिक कार्यालय डडेल्धुराका सहायक इञ्जिनियर टेकबहादुर भण्डारीले जानकारी गराएका छन् । पुलःनिर्माणसगैं स्थानीयस्तरबाट सडक सुधारको कार्यलाई पनि तीव्रता दिएको अजयमेरु गाउँपालिकाले जनाएको छ । रासस
एकै समय दुईतिर काम गर्ने डाक्टरलाई कारबाही, चिकित्सा सेवाका विकृति हटाउने
काठमाडौँ । मन्त्रिपरिषद्का एकजना वरिष्ठ सदस्यले एउटै समयमा निजी क्षेत्र र सरकारी अस्पतालमा काम गर्ने चिकित्सकलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् । भ्रूणको लिंग पहिचान गरी गर्भपतनको अपराधलाई बढवा दिने चिकित्सा सेवाका विकृति अन्त्य गर्न आफूले चाँडै नै मन्त्रिणपरिषद्मा एक प्रस्ताव प्रस्तुत गर्ने उनले घोषणा गरेका छन् । मातृशिशु समाज नेपालको द्विदिवसीय एघारौँ सम्मेलनको शुक्रबार उद्घाटन गर्दै जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले नेपालका सबै तह र तप्काका नागरिकले स्वदेश मै उपचार गर्ने प्रण गर्ने निजी क्षेत्रलाई निषेध होइन प्रवद्र्धन तथा देशलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने चिकित्सिा सेवाको केन्द्र विन्दुका रुपमा स्थापित गर्ने प्रस्ताव पेश गर्ने जानकारी दिए । सुधारका योजना दीर्घकालीन दृष्टिकोण, नवीनतायुक्त प्रस्ताव र सुझाव सरकारलाई प्रदान गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्दै मन्त्री पण्डितले भने, “सरकारी अस्पतालबाट भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्न सकिन्छ ।” समृद्धितर्फ लम्कने राष्ट्रिय अठोट पूरा गर्न समाजका सबै वर्गबाट सहयोग हुनुपर्ने वास्तविकता औल्याउँदै उनले अबदेखि भ्रूणको लिंग पहिचान नगर्ने प्रतिबद्धता पनि चिकित्सकहरुबाट व्यक्त हुनैपर्छ भनेका छन् । समाजका अध्यक्ष प्राडा मणिन्द्र रञ्जन बरालले मातृशिशु कक्ष देशका सबै अस्पतालमा व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँदै मातृशिशुको उचित संरक्षण नगरेसम्म कुनै पनि राष्ट्रको भविष्य सुनिश्चि नहुने यथार्थ सुनाएका छन् । उनले गर्भवति र नवजात शिशुको स्वास्थ्य सेवामा गम्भीर ध्यान दिनुपर्नेमा जोड दिएका छन्। सम्मेलनमा मातृशिशु स्वास्थ्यको क्षेत्रमा चिकित्सा क्षेत्रमा भएका नवीनतम् उपलव्धि, नेपाली माता र शिशुले जन्मपछिका बाल्य अवस्थामा झेल्नुपरेका समस्या लगायत विषयमा गहन विचार विमर्श हुनेछ । रासस
प्रभु बैंकको थप दुई शाखा बागलुङकाे बरेङ्ग र कास्कीकाे माछापुच्छ्रेमा
काठमाडौं । प्रभु बैंकले बागलुङ जिल्लाको बरेङ्ग गाउँपालिका र कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा थप दुई शाखा सञ्चालनमा ल्याएको छ । उक्त बरेङ्ग शाखाको उद्घाटन सोही गाउँपालिकाकी अध्यक्ष कृष्णप्रसाद शर्माले र माछापुच्छ्रे शाखाको उद्घाटन सोही गाउँपालिका उपाध्यक्ष सुष्माकुमारी दबाडीले गरेका हुन् । उक्त दुई शाखा कार्यालयबाट त्यहाँका स्थानीयतहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् । साथै, दुवै गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकको विश्वास छ ।