कैलाश विकास बैंकको ४४औं शाखा विराटनगरमा, थप दुई जिल्लामा खोल्ने तयारी
काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले आफ्नो ४४ औँ शाखा मोरङ्ग जिल्लाको विराटनगरमा स्थापना गरी कारोबार शुरु गरेको छ । बैंकले उक्त शाखाबाट सोमबारदेखि कारोबार शुरु गरेको हो । यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ४४ पुगेका छन् भने एटिएम संख्या २२ पुगेका छन् । बैंकले निकट भविष्यमा झापा जिल्लाको दमक तथा पर्सा जिल्लाको विरगंजमा शाखा विस्तार गर्ने तयारी गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताएका छन् । हाल यस विकास बैंकको चुक्ता पूँजी २ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । पौष मसान्तमा बैंकले १९ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बताएको छ ।
विमान दुर्घटनाबाट ४६ को निधन, संख्या अरु बढ्न सक्ने
काठमाडौं । बंगलादेशको यूएस बंगला विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४६ पुगेको छ । राजधानी ढाकाबाट अपराहन्न साढे २ बजे काठमाडौं आएको विमान त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा दुर्घटना हुदा यात्रुको मृत्यु भएको हो । ४६ जना यात्रुको मृत्यु भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिए । उनकाअनुसार मृतकको संख्या बढ्नसक्ने देखिएको छ । दुर्घटनाबाट घाइते भएकाको काठमाडौं मेडिकल कलेज सिनामंगल र थापाथलीको नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।
विमान दुर्घटनास्थल पुगे प्रधानमन्त्री र गृहमन्त्री
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको विमान दुर्घटनापछि भइरहेको उद्धारको अवस्थाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुगेका छन् । गृहमन्त्री रामबहादुर थापाका साथ विमानस्थल पुगेका प्रधानमन्त्री ओलीले त्यहाँस्थित नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित अधिकारीबाट घटनाको विवरण र उद्धारको अवस्थाबारे जानकारी लिएका छन् । प्रधानमन्त्री ओलीले उद्धारका लागि आवश्यक सबै स्रोतसाधन जुटाउन निर्देशन दिँदै घटनाप्रति दुःख व्यक्त गरेका छन्। साँझ ४ बजेका लागि तोकिएको मन्त्रिपरिषद्को बैठक स्थगन गरी प्रधानमन्त्री ओली विमानस्थल पुगेका थिए । रासस
भक्तपुरको कमलविनायकमा मुक्तिनाथ विकास बैंक
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले भक्तपुरको कमलविनायकमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन आइतबार नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर सत्यन्द्रप्यारा श्रेष्ठले गरेका हुन् । उदघाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकको भावी योजनाको बारेमा जानकारी गराएका छन् । कार्यक्रममा ललितपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापतिले मुक्तिनाथको भक्तपुर शाखा मार्फत भक्तपुरका उद्योगी व्यवसायीहरुले राहत पाउने विश्वास रहेको बताएका छन् ।
लक्ष्मी बैंकको नयाँ शाखा पाल्पाको तिनाउँमा
काठमाडौं । लक्ष्मी बैंकले पाल्पाको तिनाउँ गाउँपालिकामा नयाँ शाखा संचालनमा ल्याएकोे छ । यो जिल्लामा बैंकको दोश्रो शाखा हो । यस शाखा सहित बैंकको शाखा संख्या ७८ पुगेको छ । साथै बैंकको ३ हस्पिटल सेवा काउन्टर, ९८ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । आ.व. २०७३/७४मा बैंकले ५९ अर्ब ३२ करोड रुपैयाँ निक्षेप र ५२ अर्ब ७३ करोड रुपैयाँ कर्जा पुर्याएको थियो । सोहि आवमा बैंकले १०० करोड रुपैयाँको हाराहारीमा खुद मुनाफा आर्जन गरेको थियो । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४८ प्रतिशतले बढी हो । आगामी दिनहरुमा बैंकले अझ धेरै शाखा अनि सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्य लिएको छ ।
डाइनाप्याकका परिमार्जित सडक निर्माण उपकरण बजारमा
काठमाडौं । सडक निर्माणमा प्रयोग हुने डाइनाप्याक ब्राण्डका परिमार्जित उपकरण नेपाली बजारमा भित्रिएको छ । डाइनाप्याकका आधिकारिक वितरक नेपाल कन्ष्ट्रक्सन एण्ड इञ्जीनियरिंग कर्पोरेशन (एनसीइसी) ले उक्त ब्राण्डका उपकरणहरुको परिमार्जित संस्करण नेपाली बजारमा भित्र्याएको हो । नेपालमा आफ्ना उत्पादनको बिक्री सुरु गरेको १० वर्षको अवसरमा कम्पनीले डाइनाप्याकका परिमाजित उपकरण भित्र्याएको जनाएको छ । कम्पनीले सन् २००८ देखि नेपाली बजारमा डाइनाप्याकका औजारहरु उपलब्ध गराउदै आएको बताएको छ । मुलुकभर रहेका बिक्री र सेवा केन्द्रमार्फत डाइनाप्याकका पछिल्ला संस्करणको बिक्री बितरण गरिने जनाएको छ । कम्पनीका प्रमुखकार्यकारी अधिकृत सिद्धार्थमणि राजभण्डारीले डाइनाप्याकका नयाँ उत्पादन नेपालको भौगोलिक बनावट अनुकुल रहेको बताए । ‘नेपालको भौगोलिक विकटतामा पनि डाइनाप्याकका उत्पादनले सडक निर्माणको काम सहज रुपमा गर्नेछ,’ उनले भने । जर्मनी, स्विडेन, चीन, ब्राजिल र भारतमा उत्पादन भएका उक्त प्लाण्टहरु नेपाली बजारमा उपलब्ध भइरहेको जनाइएको छ ।
विमान दुर्घट्नामा मृत्यु भएका २० को शव निकालियो
काठमाडौँ — दुर्घटनाग्रस्त यूएस बंगला विमानबाट २० जनाको शव निकालिएको छ । यस्तै १२ जनालाई उपचारका लागि उद्दार गरेर अस्पताल पठाइएको छ। अहिले दुर्घट्नास्थलबाट निकालेर नजिकैको रनवेमा राखिएको छ। घाइतेहरुलाई नजिकैको काठमाडौं मेडिकल कलेज, नर्भिक अस्पताललगायतमा उपचारको लागि लगिएको छ।विमानमा ७६ यात्रु रहेको बताइएको छ। उद्दार कार्य जारी छ। थापाथलीस्थित नर्भिक अस्पतालमा बिराटनगरका बसन्त बोहोरा, काठमाडौंका अशिस रंजित र दिनेश हुमागाईको उपचार भइहरहेको छ। अधिकांश बोल्न नसक्ने अवस्थामा रहेको बताइएको
माछापुच्छ्रे बैंकले ल्यायो ६ प्रतिशत ब्याज दिने स्मार्ट बचत खाता, साथमा स्मार्ट सुविधा निःशुल्क
काठमाडौं । माछापुच्छ्रे बैंकले आकर्षक सुबिधा सहितको ‘एमबीएल स्मार्ट बचत’ खाता संचालनमा ल्याएको छ । उक्त खातामा न्युनतम ५ हजार रूपैयाँ बचतमा बैंकले ६ प्रतिशत ब्याज दिने भएकाे छ । बैंक नै नगई इलेक्ट्रोनिक माध्यमबाटै बैंक खाता सञ्चालन गर्न ग्राहकलाई प्रोत्साहित गर्ने उद्देश्यले बैंकले स्मार्ट बचत खाता सञ्चालनमा ल्याएको हो । उक्त खातामार्फत ग्राहकले विभिन्न स्मार्ट सुविधाहरु निःशुल्क प्राप्त गर्नेछन् । स्मार्ट सुविधाअन्तर्गत ग्राहकहरुले ईन्टरनेट बैकिङ्ग सुविधा, एमबिएल मोबाइलमनी, डेबिट कार्ड, क्रेडिट कार्ड, डिम्याट खाता, मेरो सेयर सुविधा, सि–आश्वा सुविधा, अन्तर शाखा कारोबार सुबिधा र लकर सुबिधा पर्नेछन् ।उक्त खाता खोलेपछि ग्राहकहरुले अब घरमै बसी आफ्नो बचतलाई मुद्दतीमा रुपान्तर समेत गर्न सक्ने बैंकले जनाएको छ । हाल बैंकले ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १४ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ८० स्थानबाट बैंकिङ्ग सुबिधा दिईरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।