विकासन्युज

त्रिशूली-काठमाडौं २२० केभी प्रसारण लाइन दश महिना भित्रै पूरा हुने

नुवाकोट । निर्माणाधीन त्रिशूली-काठमाडौं २२० केभी ‘डबल’ प्रसारण लाइनको काम पछिल्लो समय तीव्र बनाइएको छ । नुवाकोट र रसुवामा उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्ने उद्देश्यले १४ फागुन, २०६८ देखि निर्माण शुरु भएको उक्त प्रसारण लाइन निर्माणमा पछिल्लो समय तीव्रता दिइएको हो । दुई सय २० केभीको दोहोरो सर्किट प्रसारण लाइनको १४२ वटा टावरमध्ये ११० को फाउण्डेशन तयार भइसकेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाका उपप्रबन्धक इ.सत्यराम ज्याख्वाले जानकारी दिए । “फाउण्डेशन बनाइएकामध्ये ६४ वटामा तार जोड्ने काम सकिएको छ ।” ज्याख्वाले भने, “मातातीर्थस्थित केन्द्रीय प्रसारण लाइन पुर्याउन भूमिगत प्रसारण लाइनका लागि एक किमी सुरुङ निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।” उनको अनुसार प्रसारण लाइनको निर्माण अहिले ५५ प्रतिशत पूरा भएको र तेस्रो पटक थप भएको म्यादअनुसार माघ २०७५ भित्र सम्पन्न गर्ने लक्ष्य पूरा गर्न काममा तीव्र बनाइएको छ । थ्री ‘ए’ आयोजनाले २०७५ माघ २६ मा विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले सोही समय अगाडि नै प्रसारण लाइन निर्माण सम्पन्न गर्नुपर्ने बाध्यता छ । तोकिएको समयमा प्रसारण लाइन पूरा नभएमा थ्री ‘ए’ ले उत्पादन गर्ने विद्युत् खेर जाने जोखिम देखिन्छ । नुवाकोट र रसुवामा उत्पादित करीब ९०० मेगावाट विद्युत्लाई एकै ‘हब’ मार्फत केन्द्रीय प्रसारण लाइनसम्म जोड्न ४५ किमी प्रसारण लाइन निर्माण चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशन लि (सिडब्लुई)ले गर्दै आएको छ । यो प्रसारण लाइनमार्फत यहाँका दुई जिल्लामा निर्माण भइरहेको रसुवागढी, साञ्जेन, तल्लो साञ्जेन, त्रिशूली-१, त्रिशूली थ्री ‘ए’, थ्री ‘बी’, मध्ये त्रिशूली गंगा, गल्छी-त्रिशूलीसहित सानाठूला गरी तीन दर्जनभन्दा बढी आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जडान गर्ने योजना बनाइएको छ । दुई अर्ब ५० करोड रुपैयाँ लगानीमा निर्माण भइरहेको प्रसारण लाइन विस्तारको कामको अनुगमन तथा व्यवस्थापन थ्री ‘ए’ आयोजनामार्फत भइरहेको छ । रासस

विल गेट्सलाई साक्षी राखेर बिनोद चौधरीले भने-पहिले पैसा कमाउँ अनि समाज सेवा गरौंला भन्ने सोंच त्याग्नुस्

काठमाडौं  । चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीले पहिले पैसा कमाएर अनि मात्र समाज सेवा गर्नु पर्छ भन्ने भावना त्याग्न संसार भरका उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् । बेलायतको लण्डनमा आयोजित कमनवेल्थ विजनेश फोरममा बोल्दै अध्यक्ष चौधरीले पहिले पैसा कमाउँ अनि मात्र समाज सेवा गरौंला भन्ने सोंच त्याग्नु पर्नेमा विश्वका विजनेश लिडरहररूको ध्यानाकर्षण गराएका हुन् । बेलायती राजकुमार विलियम र माइक्रोसफ्टका मालिक विल गेट्सलाई साक्षी राखेर चौधरीले भने, ‘विजनेश र सामाजिक कामहरू एकपछि अर्को होइन सँगसँगै अगाडि बढाउनुपर्छ । जुन समाजले हामीलाई विजनेश गर्ने वातावरण दिएको छ, त्यसका लागि हामीले मुनाफाको निश्चित अंश फिर्ता गर्न सक्नुपर्छ ।’, उनले परोपकारलाई पैसासँग नजोड्न आग्रह पनि गरे । ‘परोपकार पैसा होइन, समाजका लागि दिगो योगदान गरौं भन्ने व्यक्तिगत प्रतिवद्धता हो’ अध्यक्ष चौधरीले भने– समाजिक कामलाई पैसामा नाप्नु भन्दा त्यसबाट समाजको सकारात्मक रूपान्तरणमा के योगदान पुग्न सक्यो भन्ने दृष्टिकोणबाट हेरिनुपर्छ ।’ समाज सेवामा गरिएको खर्चको प्रतिफलका विषयमा पनि गम्भिरता पूर्वक समिक्षा आवस्यक देखिएको धारणा उनले राखे । गैर सरकारी सस्थाहरूमार्फत् अतिकम विकसित मुलुकमा गरिएको लगानीबाट अपेक्षित उपलब्धी हासिल हुन नसकिरहेको महसुस गरिएको बेला अध्यक्ष चौधरीले विश्वब्यापी फाउण्डेसनमा योगदान पु¥याइरहेका विजनेश लिडरहरूको ध्यानाकर्षण गराएका हुन् । विश्वका प्रभावशाली विजनेश लिडरहरू उपस्थित कमनवेल्थ विजनेश फोरममा नेपालबाट अध्यक्ष चौधरी सहभागी छन् । कमनवेल्थमा आवद्ध विश्वका ५२ मुलुकका राष्ट्र प्रमुखहरूको बैठकसँगै विजनेश फोरम आयोजना गरिदै आएको छ । यसपटक बेलायती महारानीले यो बैठकको आयोजना गरेकी थिइन् । अप्रिल १६ मा शुरू भएको विजनेश फोरम १८ तारिखमा समापन हुने कार्यक्रम छ । चौधरी ग्रुप कमनवेल्थ इन्टरप्राईज एण्ड इन्भेष्टमेन्ट काउन्सिलको सदस्य हो ।  

बेनी-कोरला सडकखण्डमा १४ वटा पक्की पुल निर्माण गरिँदै, ३० महिनाभित्र सम्पन्न हुने

म्याग्दी । नेपाल र चीनको सीमा क्षेत्र मुस्ताङको कोरला नाकासम्मको सडकखण्डमा १४ वटा पक्की पुल निर्माण गरिने भएको छ । कालीगण्डकी नदीको किनारैकिनार खनिएको यस सडकको विभिन्न सहायक नदीमा उक्त पुल निर्माण गर्न लागिएको हो । अहिले छ वटा पुल निर्माणाधीन अवस्थामा रहेको र आठ वटा बोलपत्र, डिजाइन र सम्झौताको चरणमा पुगेको कालीगण्डकी करिडोर आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले बताए । उनका अनुसार, आगामी ३० महिनाभित्र सबै पुलको निर्माण सम्पन्न लक्ष्यसहित काम भइरहेको छ । कालीगण्डकी करिडोरअन्तर्गत पर्ने १६९ किलोमिटर बेनी-जोमसोम-कोरला सडकको अहिले स्तरोन्नति कार्य भइरहेको छ । अहिले बेलिब्रिजमार्फत सवारी साधन वारपार हुँदै आएकामा ती बेलिब्रिजलाई विस्थापित गरी पक्की पुल निर्माण गर्न लागिएको आयोजना प्रमुख सुवेदीले बताए । आयोजनाका अनुसार म्याग्दीको दानास्थित घट्टेखोलामा रु पाँच करोड ७६ लाखको लागतमा फेवा नयाँजाय जेभी, मुस्ताङको घासामा खहरेखोलामा पाँच करोड ९७ लाख रुपैयाँमा सिर्वा कन्स्ट्रक्सन, मार्फा र जोमसोमको बीचमा साढे १० करोड रुपैयाँमा मुक्तिनाथ गीता जेभीले पुल निर्माण गरिरहेको छ । त्यस्तै, कागबेनी खोलामा दुई करोड ८८ लाख रुपैयाँलागतमा गल्फा एण्ड रेविना जेभी र लोप्रा पाण्डखोलामा लोकप्रिय शंकरमनी जभीले रु तीन करोड नौ लाखमा ठेक्का लिएको छ । सडक विभागअन्तर्गत पुल सेक्टर नं ३ पाल्पाले म्याग्दीको तिब्ल्याङ र पोखरेबगरमा कालीगण्डकीमाथि पुल निर्माणको जिम्मा लिएको छ । दुवै स्थानमा बेलिब्रिजलाई विस्थापित गरिनेछ । तिब्ल्याङमा निर्माण कार्य तीव्र रहे पनि पोखरबेगरमा भने शुरु भएको छैन । गलेश्वरस्थित राहुघाट खोलाको ठेक्का भने कालिका गजुरमुखी जेभीले लिएको छ । गजुरमुखीले तातोपानीदेखि कोबाङसम्म ३८ किलोमिटर सडक स्तरोन्नतिको कार्य पनि गरिरहेको छ । आयोजनाले मुस्ताङको चराङखोला, घमीखोला, छुसाङखोला र ढुंगाखोलाका लागि एकहप्ताअघि टेण्डर आह्वान गरेको छ । नेपाली सेनाले मार्ग खोलेको ७६ किलोमिटर बेनी–जोमसोमखण्डमा गलेश्वर, तिब्ल्याङ, पोखरेबगर, स्याङ, खहरेखोलामा बेलिब्रिज जडान गरिएको थियो । तर, मर्मतसम्भारको अभावमा बेलिब्रिजहरु जीर्ण भएका छन् । रासस

४० प्रतिशत हकप्रद पछि सूर्या लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४० प्रतिशत हकप्रद पछिको मूल्य समायोजन भएको छ । बुधबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७०७ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ८७४ रुपैयाँ रहेको छ ।

सेञ्चुरी बैंक र यूनियन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी बैंकबाट उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सकिने छ । उक्त सम्झौतापत्रमा बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र यूनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमारलाल कर्णले हस्ताक्षर गरेका छन् । हाल बैंकले ३ वटा एक्स्टेन्सन काउण्टर साथै १० वटा शाखारहित बैकिंङ्ग गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

काठमाडौं टावरका निर्माता मनोज भेटवाल पक्राउ, के हुन्छ टावरको भविष्य ?

काठमाडौं । पुरानो बसपार्कमा धमाधम निर्माण भैरहेको २९ तल्ले काठमाडौं भ्यु टावरका निर्माता मनोज कुमार भेटवाल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो(सिआइबी)ले भेटवाललाई सोमबार पक्राउ गरेको हो । एपेक्स बैंक घोटाला प्रकरणमा संलग्न रहेको तथ्य फेला परेपछि उनलाई सोमबार पक्राउ गरि हिरासतमा राखेर थप अनुसन्धान अघि बढाईएको सिइआबीका प्रवक्ता जिवन श्रेष्ठले बताए । भेटवालले झापाको दमक नगरपालिका वडा नम्बर १७ को कित्ता नम्बरर ४८५ को ०६७७२.६३ वर्ग मिटर जमिन धितो राखेर ऋण लिएका थिए । कमसल धितो राखेर अधिक ऋण लिएको तथ्य फेला परेपछि उनी पक्राउ परेका हुन् । उनी पक्राउ परेसँगै काठमाडौं टावरको निर्माण भने अन्यौलमा पर्ने देखिएको छ । तर काठमाडौं महानगरपालिकाका सहायक प्रवक्ता नमराज ढकालले भने व्यक्ति पक्राउ पर्दैमा निर्माण प्रक्रिया नरोकिने बताए । ‘लगानी कर्ताका रुपमा भेटवाल एक्लै थिए भने समस्या हुन सक्थ्यो तर जोइन्ट भेञ्चरमा तीन वटा कम्पनीले काम गरेका हुन्, व्यक्ति पक्राउ परेर खासै ठुलो समस्या नआउला’, महानगरपालिकाका सयहाक प्रवक्ता ढकालले भने । काठमाडौं महानगरपालिकाले २०७१ फागुन ८ गते जलेश्वर स्वच्छन्द विकोई विल्डर्ससँग सार्वजनिक निजी साझेदारीमा २९ तले बहुउदेश्यिय काठमाडौं भ्यु टावर निर्माण सम्झौता गरेको थियो । २०७२ कात्तिक २५ गते उपराष्ट्रपति नन्द बहादुर पुनःले टावरको शिलान्यास गरेका थिए । कम्पनीले टावर निर्माणका लागि भन्दै २०७३ साल बैशाख २२ गते पुरानो बस पार्कलाई खुल्ला मञ्चमा सारेको थियो ।  

यातायात व्यवसायी संघले बैशाख १२ र १३ गते सबै गाडी सडकमा छोड्ने, २१ देखि यातायात सेवा ठप्प पार्ने

काठमाडौं । सिण्डीकेट पक्षधर यातायात व्यवसायीहरुले बैशाख २१ गतेदेखि देशभर यातायात सेवा ठप्प पार्ने घोषणा गरेका छन् । राजधानीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले चरणवद्ध आन्दोलनका कार्यक्रम अघि सारेर बैशाख २१ देखि अनिश्चित कालिन यातायात बन्दको घोषणा गरेका हुन् । उनीहरुले २१ गते आफ्ना सवारी साधनहरुलाई घर ग्यारेजमा धन्क्याउने र २७ गतेपछि अनिश्चितकालसम्म यातायात सेवा ठप्प पार्ने बताएका हुन् । सिण्डीकोटको पक्षमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसन र ढुवानी व्यवसायी महासंघ नेपाल रहेका छन् । उनीहरुले बैशाख १२ र १३ गते सबै सवारी साधनहरुलाई सडकमा उतारेर सवारी आवागमन अस्तव्यस्त बनाउने लगायतका कार्यक्रम अघि सारेका छन् । त्यस्तै, बैशाख १४ र १५ गते कुनै पनि सवारी साधनलाई क्युमा सञ्चालन नगर्ने बताएका छन् । नेपाली व्यवसायीहरुको १० खर्बको लगानी र ४० लाख रोजगारी खोस्न सरकार लागि परेको आरोप समेत लगाएका छन् । संयुक्त आन्दोलनका संयोजक योगेन्द्र नाथ कर्माचार्यले बैशाख ७ गते प्रधानमन्त्री केपी ओलीलाई भेटेर आफ्ना समस्या राख्ने पनि बताए । यस्ता छन् यातायात व्यवसायीका आन्दोलनका कार्यक्रमहरु १. बैशाख ८ गते प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउने २. बैशाख ९ गते सबै राजनितिक दलका प्रमुखलाई भेटेर ज्ञापनपत्र बुझाउने ३. बैशाख १२ र १३ गते सबै सवारीलाई तालिका बिनै छोड्ने ४. बैशाख १४ र १५ गते काठमाडौं र प्रदेश राजधानीमा क्यू फ्रि छोड्ने ५. बैशाख २१ गते सबै सवारी ग्यारेजमा थन्क्याउने ६. बैशाख २७ गतेदेखि अनिश्चित कालिन यातायात बन्द गर्ने

२० करोड मुद्धति निक्षेपमा राख्न बैंक खोज्दै दुरसञ्चार प्राधिकरण

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले आफुसंग रहेको वचत रकम १ वर्षे मुद्धति निक्षेपमा राख्नका लागि बैंकसंग प्रस्ताव मागेको छ । प्राधिकरणले ब्याजदर खुलाई प्रस्ताव बैशाख ११ गते पेश गर्न बैंकलाई भनेको छ । प्राधिकरणले न्युनतम २० करोड रुपैयाँका लागि प्रस्ताव पेश गर्न अनुरोध गरेको छ । बैंकहरुले मुद्धतिमा ११ र साधारण वचतमा ८ प्रतिशतसम्म ब्याज दिने आन्तरिक सहमति गरेका छन् ।