९ महिनामा ओम डेभलपमेन्ट बैंकको नाफा २६ करोड ६२ लाख
काठमाडौं । ओम डेभलपमेन्ट बैंकले ३ महिनामा खुदनाफा ११ करोड रुपैयाँ बढाएको छ । बैंकले गत चैतसम्म २६ करोड ६२ लाख रुपैयाँ नाफा गरेको छ । गत पुसमा बैंकले १५ करोड रुपैयाँ मात्र नाफा गरेको थियो । ब्याज आम्दानी बढेपछि यसको सकरात्मक प्रभाव नाफामा परेको हो । बैंकले चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरण सार्वजनिक गरी नाफा, कर्जा लगानी र निक्षेप परिचालन सन्तोषजनक रहेको जानकारी दिएको छ । चालु आवको ९ महिनामा बैंकले ५३ करोड ९६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत पुसमा ब्याज आम्दानी ३२ करोड २८ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा घटेर ०.८२ प्रतिशतमा झरेको छ । यस्तै निक्षेप लागत ९.२२, सीडी रेसियो ७६.६२, आधार ब्याजदर १२.२० र स्प्रेड दर ४.५५ प्रतिशत रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ १२ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकले १९ अर्ब १४ करोड रुपैयाँ निक्षेप परिचालन गरी १७ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको संचित कोषको आकार बढेर ६७ करोड ९० लाख रुपैयाँ पुगेको छ ।
नेको इन्स्योरेन्सको ९९ हजार कित्ता हकप्रद लिलामीमा, बोलपत्र पेश गर्ने अन्तिम दिन बैंशाख २६ मा
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर बिक्री नभएपछि लिलामी गर्ने भएको छ । कम्पनीको संस्थापक र सर्वसाधारणको गरी ९९ हजार ९४९ कित्ता हकप्रद सेयर बिक्री नभएपछि लिलामी गर्न लागेको हो । हकप्रद सेयर खरिद गर्नका लागि बोलपत्र पेश गर्ने अन्तिम मिति बैंशाख २६ गतेलाई तोकिएको बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ । सर्वसाधारणको ९५ हजार ८८५ र संस्थापकतर्फ ४ हजार ६३ कित्ता हकप्रद सेयर लिलामी हुन लागेको हो । हकप्रद सेयर किन्न अंकित मूल्य १ सय रुपैयाँ भन्दा बढी दर प्रस्ताव गर्नुपर्ने छ । बोलपत्र न्युनतम १०० कित्तालाई गर्नुपर्ने छ । कम्पनीले चुक्तापुँजी बढाउन गत माघ २६ देखि चैत १ गतेसम्म बिक्री खुला गरेकोमा आवेदन नपरेको हकप्रद सेयर लिलामी गर्न लागेको हो ।
नेपाल इन्भेष्टमेन्ट बैंकको लोभलाग्दो प्रगति, २८३ करोड नाफा, ३ महिनामा बढायो १०० करोड
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ३ महिनामा खुदनाफा १ अर्ब रुपैयाँ बढाएको छ । चालु आर्थिक वर्षको चैतसम्म बैंकले २ अर्ब ८३ करोड ८४ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत पुसमा बैंकले १ अर्ब ८३ करोड रुपैयाँ नाफा गरेको छ । गत आवको चैतमा बैैंकले २ अर्ब ३७ करोड ७६ लाख रुपैयाँ खुदनाफा गरेको छ । बैंकले समीक्षा अवधिमा लोभलाग्दो प्रगति गरेको उसले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ । पछिल्लो ३ महिनामा बैंकको ब्याज आम्दानी झण्डै दोब्बर बढाएर ४ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । गत पुसमा बैंकको ब्याज आम्दानी २ अर्ब ६८ करोड ५६ लाख रुपैयाँ थियो । ब्याज आम्दानी झण्डै १०० प्रतिशत बढेपछि नाफामा वृद्धि भएको हो । बैंकले बुधबार चालु आवको ९ महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा, निक्षेप परिचालन र कर्जा लगानीमा विस्तार भएको जानकारी दिएको छ । ३ महिनामा बैंकले निष्क्रिय कर्जा घटाएर ०.७६ प्रतिशतमा झारेको छ । गत पुसमा बैंकको यस्तौ कर्जा १.१२ प्रतिशत थियो । निक्षेप र कर्जा अनुपात (सीडी रेसियो) ७८, निक्षेप लागत ६.३५, कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर ४.२८ प्रतिशत छ । यस्तै बैंकको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ६० पैसा छ । बैंकले ९ महिनामा १ खर्ब ३० अर्ब १९ करोड रुपैयाँ निक्षेप परिचालन गरी १ खर्ब १८ अर्ब ८६ करोड रुपैयाँ कर्जा लगानी गरेको जानकारी दिएको छ । बैंकको संचित कोष विस्तार भई १० अर्ब ९७ करोड रुपैयाँ पुगेको छ ।
भलबारीले लागू गर्याे तेल बोक्ने ट्यांकरमा सुरक्षात्मक लकिङ प्रणाली
काठमाडौं । नेपाल आयाल निगम क्षेत्रीय कार्यालय भलबारीले तेल बोक्ने ट्यांकरमा मंगलबारबाट सुरक्षात्मक लकिङ प्रणली लागू गरेको छ । बीच बाटोबाट चुहावट तथा चोरी हुन नदिन भन्दै नेपाल आयाल निगमले भलबारी डिपोका लागि ट्यांकरमा सिलका साथै ताला लगाएर मात्रै पेट्रोलियम पदार्थको ढुवानी गर्ने भएको हो । निगमको भलबारी डिपोका लागि डिजेल र पेट्रोल ढुवानी गर्न भारतको बैतालपुर पुग्ने ट्यांकरमा पेट्रोलियम पदार्थ लोड गरेपश्चात् ताला लगाएर ढुवानीको शुरुआत गरिएको थियो । बैतालपुरबाट सुरक्षात्मक लकिङ सिस्टम लागू गरी आएका ट्यांकरको तोला खोलेर उक्त प्रणालीको शुरुआत गरिएको हो । आयाल निगमले शुरु गरेका सुरक्षात्मक लकिङ प्रणालीले आयल निगमको आन्तरिक सुधारलाई महत्वपूर्ण योगदान पुग्ने निगमका कार्यकारी निर्देशक ई सुशील भट्टराईले जानकारी दिए । ‘ढुवानीका क्रममा बीच बाटोबाट हुन सक्ने पेट्रोलियम पदार्थको चुहावट नियन्त्रण र चोरी–निकासी तथा अन्य खालका बदमासी हुन नदिन निगमले यो कार्य सञ्चालन गरेको हो,’ उहाँले भने, ‘पहिलो चरणमा भारतको सिलुगुढी डिपोदेखि झापा डिपोसम्म यो प्रविधि लागू गरिएको र आजदेखि भारतको बैतालपुर डिपोदेखि भलबारी डिपोसम्म सञ्चालनमा आएको ट्यांकरमा ताला लगाएर ढुवानी शुरु गरिएको छ ।’ यसभन्दा अघि पेट्रोलियम पदार्थ लोड गरिसकेपछि ट्यांकरमा सामान्य एउटा मात्र तारले सिल गरेर ढुवानी गर्ने गरिन्थ्यो । खाल्टाखुल्टी र भत्केको सडकमा तार सहजै चुँडिने सम्भावना रहेकाले भरपर्दो थिएन । पेट्रोलिययम पदार्थ ढुवानी गर्न गएका ट्यांकरलाई लोड गरिसकेपछि बैतालपुर र मुगलसरायमा रहेको भारतीय आयल कर्पोरेशनका कर्मचारीले विशेष खालको ताला लगाइदिने गर्छन् । भलबारी डिपोमा अनलोड गर्ने बेलामा उक्त ताला नेपाल आयल कर्पोरेशनका कर्मचारीले खोल्नेछन् । एउटा ट्यांकरमा लगाइएको ताल्चाको चाबी नेपाल आयल कर्पोरेशन र भारतीय आयल कर्पोरेशनका कर्मचारी दुवैतर्फ रहनेछन् । भलबारी डिपोमा सञ्चालनमा रहेका ट्यांकरमध्ये अहिले ३३ वटामा तत्काल सुरक्षात्मक लकिङ प्रणली (ताला लगाउने कार्य) लागू गरिएको र बाँकी ट्यांकरमा असार मसान्तभित्र लागू गरिसक्ने आयाल निगम क्षेत्रीय कार्यालय भलबारीका प्रमुख अशोक शाहले जानकारी दिए । उनका अनुसार भारतको बैतालपुर र मुगलसरायबाट भलबारी डिपोका लागि कूल १९३ वटा ट्यांकरले पेट्रोलियम पदार्थको ढुवानी गर्ने गर्छन् । जसमध्ये तत्काल ३३ वटा ट्यांकरमा ताला लगाएर पेट्रालियम पदार्थ बोक्नेछन् । अन्य ट्यांकरमा पनि ताला लगाउन मिल्ने गरी ट्यांकरधनीले तयारी गरिरहेका छन् । तीन महिनाभित्र सबै ट्यांकरमा तालाबन्दी गरी ढुवानी गरिने गरी आन्तरिक तयारी थालिएको कार्यालयका प्रमुख शाहले जानकारी दिएका छन् । कतिपय ट्यांकरबाट चालक आफैँले र चालकसँगको मिलेमतोमा अन्य व्यक्तिले निगमको डिपोमा अनलोड हुनु अगावै पेट्रोलियम पदार्थको चोरी हुने गर्दथ्यो । ताला लगाउने प्रणाली गर्दा यो समस्या हटेर जाने उहाँको भनाइ छ । निगमको भलबारी डिपोका लागि दैनिक बैतालपुरबाट ८०० केएल डिजेल र मुगलसरायबाट २०० केएल पेट्रोल ढुवानी हुने गर्छ । पश्चिामाञ्चल पट्रोलियम डिर्लस एशोसिएशनले पनि यस कार्यको स्वागत गरेको छ । एशोसिएशनका अध्यक्ष प्रेम न्यौपानेले सुरक्षात्मक लकिङ प्रणालीका कारण पेट्रोलियम पदार्थको गुणस्तरमा कुनै समस्या नआउने भएकाले आफूहरुलाई पनि तेल बेच्न सजिलो हुने बताए। पेट्रोलियम ढुवानी एशोसिएशन रूपन्देहीका अध्यक्ष राकेश कसौधनले सुरक्षात्मक लकिङ सिस्टमले सबैलाई फाइदा पुग्ने बताउँदै बीच बाटोमा चुहावटको समस्या देखापर्ने भएकाले ताला लगाउने काम गरिएको र यसले सबैलाई सहज हुने धारणा व्यक्त गरे । रासस
ब्रिटिश अल्फाबिटा कप २०१८मा ‘द ब्रिटिस कलेज’ विजयी
काठमाडौँ । ‘ब्रिटिस अल्फा बेटा कप २०१८ः अन्तर कलेज फुटसल टोर्नाेमन्ट’ प्रतियोगितामा ‘ब्रिटिश कलेज विजयी भएको छ । प्रतियोगिता ‘द ब्रिटिस कलेज’ र ‘अल्फाबिटा इन्सिट्युट प्राइभेट लिमिटेड’को संयुक्त आयोजनामा यही बैशाख १० र ११ गते धन्यन्तरी फुट्सल्, धुमबराहीमा भएको हो । उक्त कार्यक्रमलाई ‘अल नेपाल फुटबल एशोसियसन’ र ‘रेडबुल’ लगायत अन्य प्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्राण्डहरुले प्रायोजित गरेका थिए । मुख्य प्रयोजकहरुमा एनआइसि एसिया बैंक (बैंकिङ पार्टनर), टर्किस एयरलायन्स (एयरलायन्स पार्टनर), दराज नेपाल (अनलाइन सपिङ पार्टनर), इन्टरनेट सेकुरिटी पार्टनर, भायानेट (इन्टरनेट पार्टनर), सुलुक्स सेन्टर (स्टाइल पार्टनर) रहेका थिए । विभिन्न विश्वविद्यालयका १६ अण्डर ग्रयाजुएट कलेजहरुले यस प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतिस्पर्धी टीमबाट शीर्ष विजेता‘ब्रिटिश कलेज’ र उपविजेता ‘किङ्ग्स् कलेज’ घोषित भएका छन् । टूर्नामेन्टको सर्वश्रेष्ठ खेलाडी ‘ब्रिटिश कलेज’ का धीरज थापा भए भने सर्वश्रेष्ठ किपरमा तेन्जीङ सामडुप घोषित भएका छन् । प्रतियोगितामा बिजेता हुने टोलीलाई नगद पुरस्कार सहित गिफ्ट ह्याम्परहरु अल्फा बेटा, टर्किस एयरलाइन्स, दराज नेपाल, इसेट, जुजु वर्यस, सुलक्स सेन्टरले प्रदान गरिएको थियो । टर्किस एअरलाइन्सका साहायक प्रवन्धक अब्दुल्ला ट्युन्सर केसीसीले पुरस्कार वितरण गरेका थिए ।
एनआईसी एशिया बैंककोे पाचौं शाखारहित बैंकिङ्ग सेवा बनेपामा
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले पाचौं शाखारहित बैंकिङ्ग सेवा बनेपा नगरपालिकाको महेन्द्रज्योति देउरालीबाट संचालनमा ल्याएको छ । सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादेले गरेका हुन् । उक्त शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा सन्तकुमार तामाङलाई नियुक्त गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिको मार्फतबाट बैंकिङ्ग सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दालाई लामो दुरीसम्म हिड्नु पर्ने बाध्यताको अन्त्य तथा ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग बानिको विकाश हुने विश्वास बैंकले लिएको छ । यस्तो सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवाको (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) महशुल भुक्तानी गर्ने, स्वीकृत सिमाभित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ । हाल बैंकले १९६ शाखा कार्यालयहरु, १९८ एटिएम, ५ वटा एक्स्टेन्सन काउन्टर एवं ५ वटा शाखारहित बैंकिङ्ग मार्फत् बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
अन्तर बैंक ब्याजदरले सीमा नाघेपछि राष्ट्र बैंकले बुधबार बजारमा २० अर्ब पठाउदैं
काठमाडौं । तरलतको अवस्था कम भएर अन्तर बैंक ब्याजदरले सीमा नाघेपछि नेपाल राष्ट्र बैंकले बुधबार २० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ । केन्द्रीय बैंकले अल्पकालिन तरलताको समस्या समधान गर्न रिपो वित्तीय उपकरणमार्फत बजारमा पैसा पठाउन लागेको हो । बैंकिङ प्रणालीमा तरलता कम भई अन्तर बैंक ब्याजदर बढेर ५ प्रतिशत नाघेपछि केन्द्रीय बैंकले बजार हस्तक्षेप गर्न सो रकम पठाउन लागेको हो । अधिक तरलता घटेर ११ अर्ब रुपैयाँमा सीमित भएपछि अन्तर बैंक ब्याजदर ५ प्रतिशत नाघेको हो । राष्ट्र बैंकले लागु गरेको ब्याजदर करिडोर नीतिअनुसार अन्तर बैंक ब्याजदर ५ प्रतिशत नाघेपछि थप रकम बजारमा पठाएर हस्तक्षेप गर्दै आएको छ । २ साताका लागि बजारमा पठाउन लागेको सो रकमको ब्याजदर ५ प्रतिशत छ । रिपो खरिद गर्ने बैंक तथा वित्तीय संस्थाले बैशाख २६ गते फिर्ता गर्नुपर्ने छ । चालु आर्थिक वर्षको आठ महिनासम्ममा खुलाबजार कारोबारका विभिन्न उपकरणहरुमार्पmत् पटक–पटक गरी १ खर्ब ३० अर्ब २५ करोड रुपैयाँ तरलता प्रशोचन गरिएको छ । यस अनुसार निक्षेप संकलन बोलकबोलमार्फत् ४२ अर्ब ३५ करोड, ब्याजदर करिडोर अन्तर्गतको चौध दिने निक्षेप संकलन बोलकबोलमार्पmत् ३ अर्ब १५ करोड, र रिभर्स रिपोमार्पmत् ८४ अर्ब ७५ करोडको तरलता प्रशोचन भएको छ ।
कर्मचारी सञ्चय कोषका प्रशासक तुलसीप्रसाद गौतमद्धारा पदबहाली
काठमाडौं । नेपाल सरकारका सह–सचिव तुलसीप्रसाद गौतम कर्मचारी सञ्चय कोषको प्रशासकमा नियुक्त भएपछि सोमबार कोषमा पदबहाली गरेका छन् । गौतम अागामी ५ (पाँच) वर्षको लागि प्रशासकमा नियुक्त भएका हुन् । सह-सचिव गौतमलाई नेपाल सरकार (मन्त्रीपरिषद) को बैठकले कोषको प्रशासक पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । प्रशासक गौतमले आगामी एक महिनाभित्र नेपाल सरकार, अर्थमंत्रालयसँग आगामी ५ वर्षका लागि सम्पादन गर्नुपर्ने कामको मापनयोग्य लक्ष्य र सूचकहरु सहितको कार्य सम्पादन सम्झौता गर्नुपर्ने छ । उनले नेपालको सार्वजनिक प्रशासनमा २७ वर्षदेखि नेपाल सरकारको विभिन्न जिम्मेवारीमा रही अनुभव प्राप्त गरेका छन् । आफ्नो पद बहालीका क्रममा प्रशासक गौतमले कोषमा कार्यरत रहुञ्जेल सञ्चयकर्ताको उच्चतम हित र कोषको छवी उच्च राख्न तथा उच्चस्तरको सँस्थागत सुशासन कायम राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पदबहाली कार्यक्रममा कोषमा कार्यरत उच्च पदस्थ अधिकारी, कोषमा कार्यरत ट्रेड युनियनका पदाधिकारी लगायत अन्य कर्मचारीहरुले प्रशासक गौतमको सफल कार्यकालका लागि शुभकामना दिएका थिए ।