नेप्सकाे सिईओमा क्षेत्री नियुक्त
काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड(नेप्स)को प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा प्रविनप्रकाश क्षेत्री नियुक्त भएका छन् । बैंंकिङ सुचना तथा प्रविधिको क्षेत्रमा ३० वर्ष भन्दा बढि कार्य अनुभव हासिल गरेका क्षेत्री यस अघि बैंक अफ काठमाण्डू लिमिटेडमा नायव महाप्रवन्धकको रुपमा जिम्मेवारी सम्हाल्दै आएका थिए । उनले स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल र नविल बैंक लिमिटेडमा समेत विभिन्न पदमा रही जिम्मेवारी बहन गरी सकेका छन् । १५ वटा बैंक तथा वित्तीय संस्थाहरुद्धारा संस्थापित एवं संचालित नेप्स, एक पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सेक्यूरिटी स्ट्याण्डर्ड(पीसीआई डीएसएस भर्सन ३.२) र पीसीआई पीन प्रमाणित कम्पनी हो । यो कम्पनी बैंक तथा वित्तीय संस्थाहरुको लागि इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदान गर्ने साझा प्लेटफर्मको रुपमा विस्तारित हुँदै आएको छ । साथै, यस कम्पनीले १२ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न भिसा कार्ड सेवाहरुका लागि होस्टिङ्ग र स्विचिङ्गको सेवा समेत प्रदान गर्दै आएको छ ।
सिटिजन्स बैंकद्धारा ‘संगीतकार संघ नेपाल’लाई १५ लाख रुपैयाँ आर्थिक सहयोग
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाली संगीतकर्मीको उथानमा समर्पित ‘संगीतकार संघ नेपाल’लाई आर्थिक सहयोग स्वरुप १५ लाख रुपैयाँ उपलब्ध गराएको छ । हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको छ । बैंकले आफ्नो ११औँ बार्षिक उत्सवको उपलक्ष्यमा यस संघलाई आर्थिक सहयोग प्रदान गरेको छ । एक कार्यक्रम बिच बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष विडारीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । संघका अध्यक्ष लक्ष्मण शेषले उक्त रकममेची-महाकाली साङ्गगितिक अभियान नामक कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गर्न प्रयोग गरिने कुरा जानकारी गराएका छन् । यसका साथै, अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकआदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने बैंकका सिईओ भण्डारीले जानकारी गराएका छन् ।
डलरको भाउ १०७ रुपैंयाँ नाघ्यो, धनी बन्दै गरेका नेपाली गरिव हुँदै !
काठमाडौं । अमेरिकी डलरसंग नेपाली रुपैयाँ झनै कमजोर भएको छ । डलर महंगिएपछि नेपाल राष्ट्र बैंकले बिहीबारका लागि १ डलर बराबर १०७ रुपैयाँ ३५ पैसा बिक्री दर तोकेको छ । वैशाख सुरु भएयता डलर निरन्तर बलियो र नेपाली रुपैयाँ कमजोर हुदै गएको छ । गत मार्चमा १ डलर बराबर १०३ रुपैयाँ ९५ पैसा थियो । एक महिनाको अवधिमा डलरसंग ३ रुपैयाँ ४ पैसा कमजोर भएको छ । गत पुस मसान्तमा डलरसंग नेपाली रुपैयाँ मजवुत भएको थियो । त्यसबेला डलर १ को खरिद विनिमय दर १०१ रुपैयाँ ५२ पैसा थियो । भारतीय अर्थतन्त्र कमजोर भई भारुको अवमूल्यन हुन थालेपछि यसको असर नेपाली रुपैयाँमा परेको हो । नेपाली रुपैयाँ र भारुबीच स्थिर विनिमय दर (फिक्सड पेग ) भएका कारण भारु कजोर हुनसाथ नेपाली रुपैयाँ पनि अवमूल्यन हुन्छ । रिजर्व बैंक अफ इन्डिया (आरबीआई) ले बिहीबारका लागि १ डलर बराबर ६६.६९ भारु बिक्री मूल्य तोकेको छ । गत पुसको अन्तिमसाता भारु मजवुत भई १ डलर बराबर ६३ रुपैयाँ ४८ पैसामा झरेको थियो । अमेरिकाको वित्तीय नीति विस्तारकारी हुनुका साथै मौद्रिक नीति कसिलो हुदा विस्तारै पुँजी अमेरिकातर्फ जाँदा डलर मजवुत हुन थालेको राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापा बताउछन् । अमेरिकामा लगानी फिर्ता आउन थालेपछि यसको असर भारतमा पर्दा भारु कमजोर हुदा नेपाली रुपैयाँ पनि अवमूल्यन भएको उनको तर्क छ । केही साताअघि अमेरिकाको फेडरल रिजर्भले ब्याजदर १.५ बाट बढाएर १.७ प्रतिशत पुर्याएपछि यसको असर भारुमा परेको हो । फेडरल रिजर्वले ब्याजदर बढाएपछि लगानीकर्ता अमेरिकातर्फ बढी आकर्षित हुदा विस्तारै डलर संचिती घट्दै गएपछि यसको असर भारुमा परेको राष्ट्र बैंकको भनाई छ । फेडरल रिजर्वले ब्याजदर बढाएपछि आरबीआईले पनि बढाउने संकेत गरेपछि लागत बढ्ने र यसको असर अर्थतन्त्रमा पर्ने अनुमानका आधारमा लगानीकर्ताले भारतबाट लगानी फिर्ता लैजान थाल्दा यसको असर देखिएको राष्ट्र बैंकको भनाई छ । डलर बलियो हुँदाका बेफाइदा विदेशबाट आयातित वस्तुको लागत बढेर बजार भाउ महंगो हुन्छ । राज्यले विदेशी दातृनिकायसंग लिएको ऋणको भार बढ्छ । अन्तराष्ट्रिय बजारमा हवाइ टिकटको मूल्य बढ्छ । नेपाल विद्युत प्राधिकरणले डलरमा बिजुली खरिद गर्दा तिर्ने दाइत्व पनि थप हुन्छ । यस्तै विदेशी कम्पनीले फिर्ता लैजाने लाभांश दायित्व बढ्छ ।
एसियन लाइफको बोनस सेयर ५० प्रतिशत घट्यो, अब ६ प्रतिशत मात्रै
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सको बोनस सेयर ५० प्रतिशतले घटेको छ । कम्पनीले यस अघि प्रस्ताव गरेको १२ प्रतिशत बोनस सेयर घटाएर ६ प्रतिशतमा झारेको हो । कम्पनीले अब लगानी कर्तालाई चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३२ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । बैशाख १२ गते बसेको सञ्चालक समिति बैठकले बीमा समितिको निर्देशन अनुसार बोनस सेयरको दर घटाएर ६ प्रतिशत बनाएको हो ।
१८ बाणिज्य बैंकको नाफा २४ अर्ब नजिक, कुन बैंकको अवस्था कस्तो ?(सूचिसहित)
काठमाडौं । चालु आर्थिक बर्षको चैत मसान्त अवधीमा १८ वटा बाणिज्य बैंकहरुले २३ अर्ब ८८ करोड नाफा कमाएका छन् । २०७३ चैत मसान्तमा यीनै बैंकहरुले कमाएको भन्दा यो नाफा ३ अर्ब ८४ करोडले बढि हो । सो अवधीमा यीनै १८ वटा बाणिज्य बैंकहरुले जम्मा २० अर्ब ३ करोड नाफा कमाउन सफल भएका थिए । बैंकहरुले नाफा १९.१६ प्रतिशत वृद्धि गरेका हुन् । तेश्रो त्रैमासिकको वित्तिय विवरण सार्वजनिक गरेका १८ वटा बाणिज्य बैंकमध्ये नेपाल इन्भेष्टमेन्ट बैंकले सबै भन्दा धेरै २ अर्ब ८३ करोड नाफा आर्जन गरेको छ । दोश्रो नम्बरमा नेपाल बैंकले २ अर्ब ५६ करोड नाफा आर्जन गरेको छ भने एक अर्ब ८० करोड नाफा कमाएर एभरेष्ट बैंकले तेश्रो स्थान सुरक्षित गरेको देखिन्छ । हिमालयन बैंकले १ अर्ब ६१ करोड नाफा कमाउँदा स्ट्याण्डर्ड चाटर्ड बैंकले १ अर्ब ५० करोड नाफा कमाउन सफल भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको लोभलाग्दो प्रगति, २८३ करोड नाफा नेपाल इन्भेष्टमेन्ट बैंकले ३ महिनामा खुद नाफा १ अर्ब रुपैयाँ बढाएको छ । चालु आर्थिक वर्षको चैतसम्म बैंकले २ अर्ब ८३ करोड ८४ लाख रुपैयाँ खुद नाफा गरेको हो । गत पुसमा बैंकले १ अर्ब ८३ करोड रुपैयाँ नाफा गरेको थियो । गत आवको चैतमा बैैंकले २ अर्ब ३७ करोड ७६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । नेपाल बैंकको नाफा २५६ करोड चालु आर्थिक वर्षको ९ महिनामा नेपाल बैंकको नाफा सामान्य वृद्धि भएको छ । बैंकले चैत मसान्तसम्ममा २ अर्ब ५६ करोड ७७ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ५१ करोड ५८ लाख रुपैयाँ थियो । एभरेष्ट बैंकको नाफा १ अर्ब ८० करोड एभरेष्ट बैंकको नाफा १ अर्ब ८० करोड पुगेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५२ करोड नाफा गरेको थियो । बैंकको प्रतिसेयर आम्दानी बढेर २९.७६ रुपैयाँ पुगेको छ जुन पुसमा २८.४१ रुपैंयाँ थियो । सिटिजन्स बैंकको नाफा १०० करोड सिटिजन्स बैंक इन्टरनेशनलको नाफा १०० करोड पुगेको छ । २०७३ चैत मसान्तमा ८८ करोड नाफा कमाएको बैंकले २०७४ चैतमा १२ करोडले बढाएर १०० करोड पुर्याएको हो । बैंकको खराब कर्जा १.४६ प्रतिशत छ भने स्प्रेड दर ३.७४ प्रतिशत रहेको छ । बैंकको आधार ब्याजदर भने ११.१५ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी १६.७६ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १२९.५६ रुपैंयाँ रहेको छ । सिद्धार्थ बैंकको नाफा एक अर्ब २२ करोड सिद्धार्थ बैंकले ९ महिनामा आफ्नो नाफा २८.४२ प्रतिशतले बढाएर एक अर्ब २२ करोड पुर्याएको छ । २०७३ चैत मसान्तसम्ममा ९५ करोड नाफा कमाएको बैंकले २०७४ चैतमा २७ करोड रुपैंयाँ बढाएको हो । १.७१ प्रतिशतमा रहेको खराब कर्जालाई पनि घटाएर १.३१ प्रतिशतमा झारेको छ । सिद्धार्थ बैंकको प्रति सेयर आम्दानी २०.५२ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १४४.९५ रुपैंयाँ रहेको छ । लक्ष्मी बैंकको नाफा ३ महिनामै ५६ प्रतिशतले वृद्धि लक्ष्मी बैंकले ३ महिनामै आफ्नो नाफा ५६.८६ प्रतिशतले वृद्धि गरेको छ । २०७४ पुस मसान्तमा ५१ करोड नाफा कमाएको बैंकले चैतमा ८० करोड पुर्याएको हो । २०७३ चैतमा भने बैंकको नाफा ५६ करोड थियो । बैंकको प्रति सेयर आम्दानी १३.६४ रुपैंयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १२६.३८ रुपैंयाँ रहेको छ । सानिमा बैंकले कमायोे १२० करोड नाफा सानिमा बैंकले चालु आर्थिक वर्षको ९ महिनामा खुदनाफा २७ करोड रुपैयाँ बढाएको छ । २०७३ चैतमा ९४ करोड नाफा कमाएको बैंकले २०७४ चैतमा एक अर्ब २० करोड पुर्याएको हो । बैंकको प्रति सेयर आम्दानी २० रुपैयाँ २२ पैसा रहेको छ ग्लोबल आईएमई बैंकको नाफा १४४ करोड ग्लोबल आईएमई बैंकले १४४ करोड नाफा कमाएको छ । बैंकले गत आर्थिक को चैत मसान्तसम्ममा १४८ करोड नाफा कमाएको थियो । बैंकले पछिल्लो ३ महिनामा भने खुदनाफा झण्डै ५० करोड रुपैयाँ बढाएको छ । गत पुस मसान्तसम्ममा बैंकले ९५ करोड रुपैयाँ खुदनाफा गरेको थियो । बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६७ पैसा रहेको छ । नेपाल एसबीआई बैंक बैंकले चालु आर्थिक वर्षको ९ महिनामा १ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ खुद नाफा गरेको छ । चालु आवको पुसमा बैंकले ९१ करोड ४१ लाख रुपैयाँ नाफा गरेको थियो । गत आवको चैतमा बैंकले १ अर्ब १० करोड ४४ लाख रुपैयाँ नाफा गरेको थियो । जनता बैंकको नाफा ५७ करोड ५७ लाख चैत मसान्त अवधीसम्ममा बैंकले ५७ करोड ५७ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ३८ करोड १८ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ५९ पैसा छ । एनएमबी बैंकको नाफा बढेर १४१ करोड एनएमबी बैंकले चालु आर्थिक वर्षको चैतसम्ममा १ अर्ब ४१ करोड रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब १४ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ९६ पैसाँ छ । स्ट्याण्डर्ड चाटर्ड बैंकको नाफा १५० करोड स्ट्याण्डर्ड चाटर्ड बैंकले ३ महिनामा नाफा ५० करोड रुपैयाँ बढाएको छ । चालु आर्थिक वर्षको चैतसम्म बैंकले १ अर्ब ५० करोड ९६ लाख रुपैयाँ खुद नाफा गरेको छ । पुस मसान्त अवधीमा बैंकले १ अर्ब १ करोड रुपैयाँ नाफा गरेको थियो । २०७३ चैतमा भने बैंकले १ अर्ब ६ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकको आधार ब्याजदर ७.२०, कर्जा र निक्षेप अनुपात ७६.४४, कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर ५.२३ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ १२ पैसा छ । सनराइज बैंकको नाफा ९ करोडले वृद्धि सनराइज बैंकको नाफा ९ करोडले वृद्धि भएको छ । २०७३ चैत मसान्तमा ८५ करोड नाफा कमाएको बैंकले २०७४ चैत मसान्तसम्ममा ९४ करोड नाफा आर्जन गरेको हो । सनराइज बैंकको खराब कर्जा १.४५ प्रतिशत छ भने आधार ब्याजदर ११.३४ प्रतिशत रहेको छ । बैंकको सीसीडी रेसियो ७७.९० प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी १५.५१ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १३०.११ रुपैंयाँ रहेको छ । सेञ्चुरी बैंकको नाफा ३ महिनामै बढ्यो ९६ प्रतिशत सेञ्चुरी बैंकले ३ महिनामै ९६.८७ प्रतिशतले नाफा बढाएको छ । २०७४ पुस मसान्तमा ३२ करोड नाफा कमाएको बैंकले चैत मसान्तमा ६३ करोड पुर्याएको हो । बैंकले २०७३ चैतमा ३१ करोड मात्रै नाफा कमाउन सफल भएको थियो । सेञ्चुरीको प्रति सेयर आम्दानी १०.४२ रुपैंयाँ छ । हिमालयन बैंकले तीन महिनामै बढायो ५१ करोड हिमालयन बैंकले तीन महिनामै ५१ करोड नाफा बढाएको छ । २०७४ पुस मसान्तमा १ अर्ब १० करोड नाफा कमाएको बैंकले चैत मसान्तमा ५१ करोडले बढाएर १ अर्ब ६१ करोड पुर्याएको हो । बैंकले तीन महिनामा ४६.३६ प्रतिशत नाफा बढाएको हो । हिमालयन बैंकले २०७३ चैत मसान्तमा १ अर्ब ५३ करोड नाफा कमाएको थियो । हिमालयन बैंकको प्रति सेयर आम्दानी २५.८१ रुपैंयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १६३.६१ रुपैंयाँ रहेको छ । प्राइम बैंकको नाफा ४२ प्रतिशतले वृद्धि प्राइम कमर्सियसल बैंकको नाफा ४२ प्रतिशतले बढेको छ । २०७३ चैत मसान्तमा ८८ करोड नाफा कमाएको बैंकले २०७४ चैतमा १ अर्ब १५ करोड पुर्याएको हो । यो अवधीमा बैंकको नाफा ३७ करोडले बढेको छ । पछिल्लो तीन महिनामा प्राइमले ५४ करोड नाफा बढाएको देखिन्छ । २०७४ पुस मसान्तमा बैंकको नाफा ७१ करोड थियो । बैंकको प्रति सेयर आम्दानी २०.८९ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १३३.१२ रुपैंयाँ रहेको छ । बैंक अफ काठमाण्डूको नाफा अर्ब नजिक बैंक अफ काठमाण्डूले ९ महिनामा ९३ करोड नाफा कमाएको छ । २०७३ चैत मसान्तमा ८८ करोड नाफा कमाउन सफल भएको बैंकले २०७४ चैत मसान्तमा ९३ करोड पुर्याएको हो । बैंकको प्रति सेयर आम्दानी १७.५४ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १६२.७५ रुपैंयाँ रहेको छ । एनआइसी एसिया बैंक एनआइसी एसिया बैंकले चालु आवको नौ महिनामा ९२ करोड नाफा कमाउन सफल भएको छ । बैंकले गत आवको चैत मसान्त अवधीमा एक अर्ब १३ करोड नाफा कमाउन सफल भएको थियो । २०७३ चैतको तुलनामा बैंकको नाफा २१ करोडले घटेको देखिन्छ ।
भूकम्प पुनःनिर्माण अनुदानः आवास निर्माण नगरे ५० हजार फिर्ता गर्नुपर्ने
काठमाडौं । भूकम्पका कारण भत्किएका निजी आवास निर्माणका लागि सरकारी अनुदान लिएर आवास नबनाउनेले पहिलो किस्ता ५० हजार फिर्ता गर्न थालेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास निर्माणका लागि दिइएको सरकारी अनुदानको सदुपयोग गरेर भवन निर्माण नगरे अन्य खालको सुविधासमेत कटौती गर्ने भएपछि निजी आवास निर्माण नगर्नेले पहिलो किस्ता बापत लिएको रु ५० हजार फिर्ता गर्न थालेका हुन् । दोलखाको मेलुङ गाउँपालिका घ्याङ सुकाठोरका खड्गबहादुर तामाङले भूकम्पपश्चात निजी आवास निर्माण गर्न लिएको पहिलो किस्ता रु ५० हजार फिर्ता गरेका छन् । तामाङले आफूले भवन निर्माण गर्न नसकेपछि निजी आवास निर्माण गर्न दिइएको पहिलो किस्ताको रु ५० हजार जिल्ला समन्वय समितिको कार्यालय, दोलखाको खातामा हालिदिएर रकम फिर्ता गरेका हुन् । सरकारले अनुदान दिएको रकम सदुपयोग गर्नुपर्ने र त्यसको दुरुपयोग गर्न नहुने र घर नबनाइकन पैसा लिएर बसेमा छरछिमेकीबाटै उजुरी पर्ने र सरकारबाट पाउने अन्य खालको सुविधासमेत नपाउने भएपछि दोलखामा पुनःनिर्माणका लागि लिएको रकम आवास नबनाएकाले फिर्ता गर्न थालेका हुन् । दोलखा जिल्लामा निजी आवास निर्माण गर्न पहिलो किस्ता लिएर घर नबनाएपछि पैसा फिर्ता गर्ने खड्गबहादुर पहिलो व्यक्ति हुनुहुन्छ । खड्गबहादुरजस्तै अन्य धेरै व्यक्ति पैसा फिर्ता गर्ने तयारीमा छन् । जिल्ला समन्वय समिति, दोलखाका प्रमुख डबल पाण्डेका अनुसार दोलखामा हालसम्म १५ जना भूकम्प पीडित पैसा फिर्ता गर्ने तयारीमा छन् । कतिपयले पैसा फिर्ता नै गर्नुपर्ने हो त रु भनेर भेट्दा र टेलिफोनमार्फत सोधिरहेका छन् । “सदरमुकाम वा अन्य कुनै स्थानमा घर भएका, पहिलाको स्थानमा घर बनाएर बस्ने चाहना नभएका व्यक्तिहरुले पहिलो किस्ताको रकम फिर्ता गर्न लागेका छन्” उहाँले थप्नुभयो । उहाँका अनुसार राज्यद्वारा भूकम्प प्रतिरोधि निजी आवास निर्माण गर्न वितरण गरेको रकम त्यतिकै खर्च गर्न सम्भव छैन, त्यो फिर्ता गर्नैपर्छ । दोलखामा पहिला घर भएको स्थानमा मात्र घर बनाउन पाइने र अन्य स्थानमा बसाँइसराई गरेर जाने व्यक्तिले घर बनाउन नपाउने व्यवस्था भएका कारण पनि कतिपयले सो रकम फिर्ता गर्न बाध्य भएका हुन् । गाउँ छोडेर सदरमुकाम वा अन्य शहरमा जग्गा भएपनि त्यहाँ घर बनाउन अनुदान नपाउने भएपछि रकम फिर्ता गर्नुपरेको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका प्रमुख सागर आचार्यले भने, “कतिपय मानिसहरुले निजी निवास निर्माण गर्न सरकारले दिएको अनुदान पहिलो किस्ता लिएर पनि घर नबनाउने सोचमा भएपछि सरकारी सुविधा कटौती हुने डरले पैैसा फिर्ता गर्न लागेका छन्, जुन राम्रो कुरा हो ।” भूकम्प पीडितहरु निजी निवास निर्माणका लागि लिएको रकम फिर्ता गर्नुपर्ने देखिएपछि तत्काल घर बनाउने वा पैसा फिर्ता गर्ने भन्ने विषयमा सोच्न थालेका छन् । सरकारले निजी आवास निर्माणका लागि आगामी असार मसान्तसम्म दोस्रो किस्ता लिन पाउने व्यवस्था गरेको हुनाले पीडितलाई थप सहज भएको छ ।
सेन्ट्रल फाइनान्सको १०० रुपैयाँको हकप्रद सेयर संस्थापकले किनेनन्, १० लाख ८५ हजार कित्ता लिलामी हुदै
काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडका संस्थापक सेयरधनीले नै हकप्रद सेयर किन्न चासो देखाएनन् । संस्थापक लगानीकर्ताबाटै हकप्रद सेयरका लागि पर्याप्त आवेदन नपरेपछि फाइनान्सले १० लाख ८५ हाजर ९३९ कित्ता लिलामी गर्न लागेको हो । जसअनुसार संस्थापकको ९ लाख ८१ हजार ७०८ र सर्वसाधारणको १ लाख ४ हजार २३० कित्ता हकप्रद सेयर लिलामी हुने बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । बैशाख २० गतेदेखि खरिदका लागि शिलवन्दी बोलपत्र पेश खुला भई २७ गतेसम्म तोकिएको छ । प्रतिसेयर न्युनतम मूल्य १०० रुपैयाँ बढी प्रस्ताव गर्नुपर्ने बिक्री प्रवन्धकले जनाएको छ । न्युनतम १०० कित्ता र बढीमा जति पनि आवेदन दिन सकिने छ । फाइनान्सले चुक्तापुँजी बढाउन गत पुस २३ देखि फागुन १३ गतेसम्म हकप्रद सेयर निष्कासन गरेको थियो ।
बीपीसीले सहायक कम्पनीबाट पायो ५५ करोड १० लाख नगद लाभांश
काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) ले गत वर्ष सहायक कम्पनीबाट मात्रै ५५ करोड १० लाख रुपैयाँ नगद लाभांश प्राप्त गरेको छ । बीपीसीले हिमाल पावर लिमिटेड, हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेड र नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक कम्पनी लिमिटेडबाट सो रकम बराबरको लाभांश प्राप्त गरेको हो । ३ कम्पनीको लाभांशले गर्दा गत वर्ष बीपीसीले ६६ करोड ८० लाख रुपैयाँ खुदनाफा गरेको हो । यस मध्ये ४५ करोड रुपैयाँ सेयरधनीलाई २० प्रतिशतका दरले नगद लाभांश वितरण गर्दैछ । बीपीसीले सबैभन्दा बढी लाभांश हिमाल पावरबाट पाएको छ । बीपीसीले हिमालबाट ५४ करोड ८७ लाख रुपैयाँ नगद लाभांश प्राप्त गरेको छ । यो लाभांश अघिल्लो वर्षको तुलनामा २ करोड रुपैयाँले बढी हो । ६० मेगावाटको खिम्ती आयोजनाको प्रवद्र्धक हिमाल पावरले सो वर्ष बिजुली बिक्रबाट ३ अर्ब १६ करोड रुपैयाँ खुदनाफा गरेको थियो । सोको १७ प्रतिशत लाभांश बीपीसीले पाएको हो । चालु आवमा हिमालबाट ४९ करोड ६० लाख रुपैयाँ नगद लाभांश प्राप्त गरेको छ । हिमालबाट ठुला रकम लाभांश वापत पाएपछि ६ महिनामा बीपीसीको नाफा ३५७ प्रतिशतले बढेर ५९ करोड ९२ लाख रुपैयाँ पुगेको छ । यस्तै हाइड्रो कन्सल्टबाट २३ लाख रुपैयाँ नगद र सोही बराबर बोनस सेयर प्राप्त गरेको छ । परामर्शदाता हाइड्रो कन्सल्टले १ करोड १४ लाख खुदनाफा गरेकोमा बोनस र नगद लाभांश गरी ४६ लाख रुपैयाँ पाएको छ । यस्तै जलविद्युत टर्वाइन निर्माता नेपाल हाइड्रोले ९ करोड ८४ लाख रुपैयाँ नाफा गरेको छ । लाभांश दिने अर्को कम्पनीमा नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक रहेको छ । उ बाट बीपीसीले ३५ लाख नगद लाभांश र ३५ लाख रुपैयाँको बोनस सेयर प्राप्त गरेको छ । यस्तै आगामी वर्षदेखि खुदी हाइड्रोपावर लिमिटेडबाट पनि लाभांश पाउने बीपीसीका अर्थ विभागका भाइस प्रसिडेन्ट राधेश्याम श्रेष्ठले बताए । बीपीसीले सहायक कम्पनीमार्फत ३७.६ मेगावाटको कावेली ए, ३० मेगावाटको न्यादी आयोजना निर्माण गरिरहेको छ । यस्तै चिनियाँ कम्पनीसंगको सहकार्यमा एससीआईजी इन्टरनेसन हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनीमार्फत १०० मेगावाटको तल्लो मनाङ मस्र्याङदी र २ सय मेगावाटको मुगु कर्णाली जलविद्युत आयोजनाको सर्वैक्षण अनुमति पाएको छ ।