विकासन्युज

हातिलको एक महिने अफर सार्वजनिक, फर्निचर खरिदमा २० प्रतिशतसम्म छुट

काठमाडौं । बंगलादेशको विख्यात फर्निचर ब्राण्ड हातिलले नेपाल प्रवेशको पहिलो वार्षिकोत्सवको अवसर पारेर प्रवद्र्धनात्मक अफर सार्वजनिक गरेको छ । उक्त अफर एक महिना चल्ने छ । सन् २०१७ को अप्रिल ३० मा अखिल ट्रेडिङ कन्सर्न प्रा. लि.सँगको साझेदारीमा नेपालमा हातिल ब्रान्ड फर्निचरको बिक्री शुरु भएको थियो । अखिल ट्रेडिङ नेपालका लागि हातिलको अधिकृत बिक्रेता हो । आधुनिक डिजाइन र अत्याधुनिक उत्पादन युनिटका कारण ख्याति कमाएको हातिलले नेपालमा पनि स्लिम र स्मार्ट फर्निचरमा छोटो अवधिमै नाम कमाइसकेको छ । वार्षिकोत्सव अफरको एक हिस्साको रुपमा हातिलले सबै प्रकारका फर्निचरमा २० प्रतिशतसम्म छुट घोषणा गरेको छ । यसबाहेक ग्राहकले बेडरुम सेट खरिदमा एउटा फेब्रिक स्ट्यान्ड सित्तैमा पाउने कम्पनीले जनाएको छ । तीन लाखभन्दा माथिको खरिदमा ग्राहकले एउटा गिफ्ट भौचर पाउने छन् । काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा हातिलको सोरुम छ । यो अफर १८ वैशाखदेखि १७ जेठसम्म लागू हुनेछ ।

एनआईसी एशियाको एग्रेसिभ मुभः १ वर्षमा ५५ अर्ब निक्षेप बढायो, निजी बैंकमा सबै भन्दा अगाडी

काठमाडौं । एक वर्षको अवधिमा एनआईसी एशिया बैंकले निक्षेप ६८ प्रतिशत बढाएर निजी क्षेत्रको पहिलो बैंक भएको छ । गत चैतसम्म बैंकले निक्षेप बढाएर १ खर्ब ३३ अर्ब ७२ करोड रुपैयाँ पुर्याएको छ । गत आर्थिक वर्षको चैतमा बैंकले ७९ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । आक्रमक रुपमा व्यवसाय विस्तार गर्दा १ वर्षमै ५५ अर्ब रुपैयाँ निक्षेप थपेको हो । निक्षेप संकलनको हिसावले एनआईसी एसिया निजी क्षेत्रको पहिलो र २८ वाणिज्य बैंक मध्ये दोस्रो स्थानमा उक्लिएको छ । एक वर्षयता एनआईसीले आक्रमक रुपमा व्यवसाय विस्तारमा लागेपछि निक्षेप र कर्जा लगानी दुबै बढेको छ । गत चैतसम्म एनआईसीले १ खर्ब ८ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा ६६ अर्ब २१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । अन्य प्रतिस्पर्धीलाई उछिन्दै एनआईसी एसियाले सबैभन्दा बढी निक्षेप परिचालन गरेको हो । आक्रमक बजार विस्तारका कारण एनआईसीले निक्षेप परिचालनमा पुराना नेपाल इन्भेष्टमेन्ट बैंक र नविल बैंकलाई पछि पारेको छ । सबैभन्दा बढी निक्षेप संकलन गर्नेमा सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक भएको छ । राष्ट्रिय वाणिज्यको चालु आर्थिक वर्षको ९ महिनासम्म आइपुग्दा निक्षेप बढेर १ खर्ब ५३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा राष्ट्रिय वाणिज्यले १ खर्ब ३५ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । बैंकले १ खर्ब १२ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा राष्ट्रिय वाणिज्यको कर्जा लगानी १ खर्ब १ अर्ब ३६ करोड रुपैयाँ थियो । सरकारी कोष परिचालन गर्ने भएकाले राष्ट्रिय वाणिज्यको निक्षेप सबैभन्दा बढी भएको हो । एनआईसी एसियापछि नेपाल इन्भेष्टमेन्ट बैंकले निक्षेप संकलन गरेको छ । चैतसम्म नेपाल इन्भेष्टमेन्टको निक्षेप बढेर १ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ । यस्तै नविल बैंकको पनि बढेर १ अर्ब २३ अर्ब रुपैयाँ पुगेको हालै सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । एभरेष्ट बैंकको १ खर्ब ६ अर्ब र ग्लोबल बैंकको १ खर्ब २ अर्ब रुपैयाँ निक्षेप परिचालन भएको छ । २१ बैंकको निक्षेप १ खर्ब रुपैयाँ भन्दा कम रहेको छ । एक खर्ब नजिकमा सरका स्वामित्वको कृषि विकास बैंक भएको छ । उसको निक्षेप परिचालन ९८ अर्ब रुपैयाँ नजिक छ ।  

६ महिनामा खनियो चार किलोमिटर सुरुङ, पर्यटकीयस्थल बन्दै आयोजना

काठमाडौं । नयाँ प्रविधि प्रयोग गरेर विकास निर्माणको काम अगाडि बढाउँदा सोचेभन्दा बढी प्रगति हासिल हुन सक्छ भन्ने उदाहरण बनेको छ भेरी बबई डाइभर्सन आयोजना । पहिलो पटक टनेल बोरिङ मेशिन (टिबिएम) प्रयोग गरेर निर्माण शुरु भएको सो आयोजनाको छ महिनाभित्र कूल १२ किलोमिटर लामो सुरुङमध्ये चार किलामिटर सुरुङ निर्माण सम्पन्न भएको छ । हालकै गतिमा आयोजना अगाडि बढेको खण्डमा आगामी छ महिनाभित्र थप चार किलोमिटर सुरुङ निर्माण हुने आयोजनाले जनाएको छ । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) रुक्माङ्गद खनालका अनुसार आयोजनाको प्रगति असाध्यै राम्रो रहेको र हालकै गतिमा आयोजना अगाडि बढे आगामी छ महिनामा ५० प्रतिशत सुरुङ निर्माण हुनेछ । सन् २०२० सम्म सुरुङ निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ हाल दैनिक औसत २५ मिटरका दरले सुरुङ निर्माण भइरहेको छ । बाँके र बर्दियाको करीब ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ शुरू गरिएको आयोजना निर्माणले गति लिएपछि चासो राख्ने समूह पनि बढ्दै गएको छ । अमेरिकी प्रविधिमा चीनमा निर्माण भएको टिबिएम उपकरणको सफलतापूर्वक परीक्षण सम्पन्न भएको र हालसम्म चार हजार मिटर सुरुङ खनिसकिएको छ । आयोजनाको सुरुङ खन्ने काम गत कात्तिक २९ गतेदेखि शुरू भएको हो । आयोजना प्रमुख शिवकुमार बस्नेतका अनुसार टिबिएमको सफल परीक्षण भएको र अन्य आयोजना निर्माणका लागि सहज वातावरण बनेको छ । परम्परागत तवरले सुरुङ खन्दा विस्फोट गराउने गरिन्थ्यो तर टिबिएम प्रयोग भएपछि भने सहज भएको आयोजनाले जनाएको छ । भेरी बबई परियोजनालाई बहुउद्देश्यीय आयोजनाका रूपमा अगाडि बढाइएको छ । सो आयोजनाबाट ४८ मेगावाट विद्युत् उत्पादन गर्ने र बाह्रै महिना बर्दिया र बाँकेमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य लिइएको छ । प्रदेश नं ५ र प्रदेश नं ६ को आर्थिक समृद्धिसँग जोडिएको सो आयोजनालाई तोकिएको समयभन्दा पहिले सम्पन्न गराउने गरी आफूहरू क्रियाशील रहेको जानकारी दिँदै सिडिई खनालले हालसम्म आयोजनाको भौतिक प्रगति २० प्रतिशत र वित्तीय प्रगतिसमेत ३५ प्रतिशत रहेको बताए । आयोजनाको कूल लागत १६ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । सुरुङ निर्माणका लागिमात्रै १० अर्ब ५५ करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ । भेरीको पानीलाई बबई नदीमा खसालेर सिँचाइ तथा विद्युत् उत्पादन गर्ने सो नेपालको पहिलो बहुउद्देश्यीय आयोजना हो । सिँचाइ विभाग र चीनको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड (कोभेक) बीच आयोजना निर्माणका लागि २०७१ साल माघमा ठेक्का सम्झौता भएको थियो । हाल आयोजनामा दैनिक ८० जना विदेशी र ५०० भन्दा बढी नेपाली कामदार कार्यरत छन् । सुर्खेतकोे चिप्लेस्थित भेरी नदीमा १५ मिटर अग्लो बाँध बनाएर सुरुङमार्फत प्रतिसेकेण्ड ४० घनमिटर पानी बबई नदीमा खसालिनेछ । बबईमा खसालिएको पानीबाट ४८ मेगावाट विद्युत् उत्पादन गर्ने र बाँके तथा बर्दियामा सिँचाइ सुविधा उपलब्ध गराइनेछ । टोलीखोलामा भौगर्भिक समस्या पर्ने आशंका सुर्खेतको स्थानीय टोलीखोलमा भौगर्भिक समस्या आउने सक्ने आशंका देखिएको छ । विभिन्न कालखण्डमा आएका भूकम्प तथा अन्य भौगर्भिक उथलपुथलका कारण उक्त खोलाको प्लेटमा खराबी भएको हुन सक्ने आशंका गरिएको छ । सतहबाट २३० मिटर तल जमिनभित्र सुरुङ पर्ने भएकाले सो खण्डको जमिन कमजोर छ कि भन्ने आशंका गरिएको आयोजनाले जनाएको छ । सिडिई खनालले भने, “आशंका मात्रै हो, जमिनमा समस्या हुन पनि सक्छ, नहुन पनि हुन्छ ।” पर्यटकीयस्थल बन्दै आयोजना आयोजना निर्माणका बारेमा चासो राख्दै दैनिक औसतमा २०० भन्दा बढी आन्तरिक पर्यटक आयोजनास्थलमा पुग्ने गरेका छन् । सडक, विद्युत् तथा खानेपानी आयोजना निर्माणमा संलग्न प्राविधिक तथा कर्मचारीसमेत आयोजनामा पुगेर जानकारी लिने गरेको सिडिई खनालले जानकारी दिए । यस्तै विद्यार्थी तथा अन्य चासो राख्ने नागरिक पनि आयोजनास्थल पुग्ने गरेका छन् । मासिक चार हजारभन्दा बढीले आयोजनास्थल पुगेर जानकारी लिने गरेका छन् । “बिदाको दिन असाध्यै ठूलो भीड लाग्ने गरेको छ । हामीले सबैलाई सहज रुपमा सुरुङ भ्रमण गराउने र आयोजनाको जानकारी दिने गरेका छौँ”, सिडिई खनालले भन्नुभयो, “चासो बढ्नु र सबैले खबरदारी गर्नु त राम्रो हो ।” विद्युत्गृह र बाँधको ठेकेदार छनोट हुँदै आयोजनाले चालू आवको अन्त्यसम्म निर्माण व्यवसायीको प्रारम्भिक छनोटको कार्य सम्पन्न गर्ने तयारी गरिएको छ । आगामी कात्तिक मसान्तसम्म ठेकेदार छनोट गरेर विद्युत्गृह र बाँध निर्माण गर्ने ठेकेदार चयन गरिनेछ । सिडिई खनालले आयोजनालाई नमूना परियोजना बनाउने गरी काम गरिएको जानकारी दिए । रासस

रेमिट्यान्सको आकर्षक गन्तव्य दक्षिण कोरिया, ५० प्रतिशत बजार जीएमईको

दिवाकर पौडेल, जीएमई रेमिट कम्पनी, प्रमुख कार्यकारी अधिकृत काठमाडौं । पछिल्लो समय नेपालको लागि रेमिट्यान्सको आकर्षक बजार बनेको छ दक्षिण कोरिया । कानुनी रुपमा करिव ३५ हजार नेपाली दक्षिण कोरियामा कार्यरत छन् । लुकीछिपी कोरिया रहने नेपालीको संख्या पनि निकै रहेको अनुमान छ । नेपालीहरुले बढी आम्दानी गर्ने देशहरु मध्ये दक्षिण कोरिया पनि एक हो, जहाँ कामदारले प्रतिव्यक्ति मासिक २ लाखदेखि ४ लाख रुपैयाँसम्म कमाउने गर्छन् । कोरियामा न्यूनतम पारिश्रमिक मासिक १८०० अमेरिकी डलर बराबर छ । नेपाल राष्ट्र बैंकका अनुसार कोरियामा कानुनी रुपमा कार्यरत नेपालीहरुको वार्षिक आम्दानी ८० अर्ब रुपैयाँभन्दा बढी हुुन्छ । उनीहरुले वार्षिक रुपमा करिब ६० अर्ब रुपैयाँसम्म नेपाल पठाउन सक्छन् । करिव ६० अर्ब रुपैयाँको रेमिट्यान्स बजार यतिबेला रेमिट कम्पनीहरुको आकर्षक गन्तव्य बनेको छ । सन् २०१७ जुलाईमा कोरियाले पहिलो पटक रेमिट्यान्स कम्पनीहरुले सेवा सञ्चालन गर्न सक्ने नीति लियो । रेमिट्यान्स कम्पनीहरुको लागि बजार खुला भएपछि गत अक्टोबरबाट जीएमई रेमिट कम्पनीले पहिलो पटक सेवा शुरु गर्यो । हालसम्म हानपास, एसवीआई, क्यूएस, क्यू स्क्वाइर, जी मनि ट्रान्सले कोइरियाबाट सेवा शुरु गरिसकेका छन् भने अन्य आधा दर्जन कम्पनीहरु सेवा सञ्चालनको अन्तिम तयारीमा जुटिरहेका छन् । सञ्चालनमा आएको रेमिट्यान्स कम्पनीहरुसँगको साझेदारीमा रेमिट कारोबार गर्न बैंकहरु पनि कोरियामा केन्द्रीत भएका छन् । हालसम्म ग्लोबल आईएमई, हिमालयन, इन्भेष्टमेन्ट, नविल, जनता, कुमारी, एनएमबी, सानिमा, एभरेष्ट बैंकले रेमिट्यान्स कम्पनीसँग साझेदारीमा रेमिट कारोबार सेवा दिईरहेका छन् । जीएमई अगाडी बजारमा जो पहिला आउँछ, हमेसा उसैले बजारमा अगुवाई गर्छ र नेतृत्व पनि लिन्छ । दक्षिण कोरियाको रेमिट्यान्स कारोबारमा पनि यहि नियम लागू भएको छ । सन् २०१७ जुलाईमा कोरियामा रेमिट्यान्स कम्पनीलाई बजार खुला गरिएपछि जीएमई रेमिट कम्पनीले पहिलो पटक सेवा शुरु गर्यो । त्यसैको प्रतिफल स्वरुप कम्पनीले करिव ५० प्रतिशत बजार हिस्सा लिन सफल भएको छ । ‘कोरियामा कानुनी प्रक्रिया पुरा गरेर काम गर्ने नेपालीको संख्या करिव ३५ हजार छन् । त्यसमध्ये ५० प्रतिशत जीएमईको ग्राहक भएर कारोबार थालेका छन्’ जीएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले भने । कानुनी प्रक्रिया पुरा नगरी कोरियामा काम गरिरहेका नेपालीले रेमिट्यान्स वा बैंकिङ प्रणालीबाट पैसा पठाउन नसक्ने उनले बताए । रेमिट्यान्स सेवा मोवाइलबाट प्रविधिको प्रयोगसँगै रेमिट्यान्स पठाउन बैंक वा रेमिट्यान्स कम्पनीको कार्यालय जानु पर्दैन । ‘पहिलो पटक खाता खोल्दा ग्राहक आफै उपस्थिति भई पूर्ण विवरण बुझाउनु पर्छ । त्यसपछि कम्पनीले ग्राहक परिचय नम्बर दिन्छ । त्यसको आधारमा ग्राहकले मोवाईल एप प्रयोग गरि घरबाटै वा मोवाईलबाटै आफन्तलाई पैसा पठाउन सकिन्छ’ पौडेलले भने-‘जीएमई एप प्रयोग गरेर ग्राहकले आफन्तलाई पैसा पठाउन सक्छन्, बैंक वा पैसा पठाउन रेमिट काउन्टरमा जानु पर्दैन’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले भने- ‘ग्राहक बन्न एक पटक हाम्रो अफिसमा आउने हो, ग्राहक परिचय नम्बर लिएपछि आफ्नो बैंक खातामा भएको पैसा सोझै पठाउन सकिन्छ ।’ कोरियामा सबैको बैंक खाता हुने र पारिश्रमिक पनि बैंक खातामा आउने भएकोले नगद कारोबार ज्यादै कम हुने उनले बताए । पैसा पठाउँदा कारोबार नम्बर सिर्जना हुन्छ । पैसा पठाउनेले त्यो नम्बर आफन्तलाई एसएमएस गरेर जानकारी दिएपछि यताबाट पैसा झिक्न कुनै समस्या हुँदैन । ‘अधिकांश नेपालीसँग स्मार्ट फोन छ, एसएमएसको सुविधा नभएकोलाई फोन गरेर कारोबार नम्बर टिपाउन सकिन्छ’ पौडेलले भने । यसरी पैसा पठाउँदा पाउनेले पाए नपाएको, कुन ठाउँबाट लिएको सबै जानकारी पठाउनेले तत्काल पाउने छ । ‘डलरको विनियमय दर पनि थाहा हुन्छ । कति डलर उताबाट पठाएको हो र यहाँ पाउनेले कति रुपैयाँ लिएको हो, पठाउनेलाई सबै जानकारी हुन्छ । नेपालीले एक पटकमा ३ हजार डलर पठाउन सक्छन् भने वर्षमा २० हजार डलर पठाउन सक्छन् । ‘औसतमा नेपालीहरुले मासिक १५/१६ सय डलर पठाउने गरेका छन्’ पौडेलले भने । नेपालीले विगतमा हुण्डीबाट पठाउने गरेका थिए । हुण्डीबाट पठाउँदा जोखिम बढी थियो । विगतमा बैंकबाट पैसा पठाउँदा टीटी शुल्क प्रतिव्यक्ति २५ बैंकले लिने गरेको थियो । हजार जनाले पैसा एकै पटक पठाए पनि प्रतिव्यक्ति २५ डलर तिर्नै पर्दथ्यो । अहिले जीएमईले प्रति कारोबार ५ डलर शुल्क लिएर पैसा पठाउने गरेको उनले बताए ।  

एमाले-माओवादी केन्द्रलाई एकताबाट भाग्ने कुनै छुट छैन: एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव एवं रक्षामन्त्री इश्वर पोखरेलले नेकपा एमाले र नेकपा माओवादीलाई एकताबाट भाग्ने कुनै छुट नभएको भन्दै दुई कम्युनिष्टको छिट्टै एकता हुने बताएका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को नयाँ नेतृत्वको कार्यभार हस्तान्तरण कार्यक्रम एवं मे डे को शुभकामना व्यक्त गर्दै उनले न्यायोचित, सम्मानजनक र समानताका तीन आधारमा दुई पार्टीको एकता हुने स्पष्ट पारेका हुन् । पोखरेलले प्रतिशतका आधारमा एकता हुन नसक्ने बताए । पार्टी एकताको अन्तिम विट मार्न दुई पार्टीका अध्यक्षहरुलाई जिम्मा दिईएको उल्लेख गर्दै उनले अतितमुखी नभएर भविष्यमुखी ढंगले एकता गरिने बताए । दुई पार्टी एकताबारे औपचारिकता दिनमात्र बाँकी रहेको उनले उल्लेख गरे । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार एवं जिफन्टका संरक्षक विष्णु रिमालले श्रमिक संगठनको नेतृत्व दिनेहरुको एक निर्णयले सारा श्रमिकको दैनिक जीवनयापनमा नै ठूलो असर पार्ने भन्दै त्यसतर्फ विचार पुर्याउन नयाँ नेतृत्वलाई आग्रह गरे । यस्तै कार्यक्रममा महासंघका नवनिर्वाचित अध्यक्ष विनोद श्रेष्ठले सबै मजदुरका हितमा आफू नेतृत्वको नयाँ टिमले काम गर्ने बताए । त्यस्तै जिफन्टका केन्द्रीय अनुशासन निरिक्षण आयोगका प्रमुख विष्णु लम्सालले अनुशासित ढंगले श्रमिक संगठनमा लाग्न निर्देशन दिएका थिए । जिफन्टका नवनिर्वाचित महासचिव जनक चौधरीले नयाँ कमिटीले बजारमा देखिएको सबै श्रमिकका समस्या समाधान गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

परिसंघका अध्यक्ष शर्माले भने- सुरक्षण कोषको रकम श्रमिकको हितमा उपयाेग गरौ

काठमाडौं । १२९ औँ अन्तर्राष्ट्रिय मे दिवसको अवसरमा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालको औद्योगिक, व्यवसायिक, सेवा, कृषि र अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरहरुलाई शुभकामना व्यक्त गर्दै सुरक्षण कोषको रकम श्रमिकको हितमा उपयोग गर्न जोड दिए । उनले हाल प्रचलित कानूनी प्रावधान अनुरुप श्रमिक र रोजगारदाताबीचको सम्बन्धलाई सुमधुर तुल्याउन एवं सामाजिक सुरक्षण कोषमा सञ्चित रकम श्रमिक मित्रहरुको हित र दक्षता अभिवृद्धिमा उपयोग गर्ने वातावरण सृजना गर्नु पर्ने आव्हान गरे । ‘आजको यस ऐतिहासिक दिनले सरकार, श्रमिक, उपभोक्ता र रोजगारदाताहरुमा मुलुकको आर्थिक विकासतर्फ अग्रसर हुन नयाँ चेतना प्रवाह गरोस्,’ उनको कामना छ । उनका अनुसार शान्त, सुन्दर र समृद्ध नेपाल हामी सबैको चाहना हो । हाम्रो परिकल्पनाअनुसारको सभ्य, शालीन र समुन्नत नेपाल बनाउन श्रमको अपरिहार्यता  छ । यस ऐतिहासिक अवसरले असल औद्योगिक श्रम सम्बन्ध काययम गर्न, कामको सम्मान गर्न, उत्पादन र उत्पादकत्व बढाउन, सहकार्यको माध्यमबाट दीगो आर्थिक विकासतर्फ अग्रसर हुनेमा अाफु अाशावादी रहेकाे  उनकाे भनाइ छ ।

राजनको ‘मनको थैली’ सार्वजनिक(भिडियोसहित)

काठमाडौं । नेपाली र नेपालको छुट्टै पहिचान बोकेको मौलिक बाजा हो पञ्चेबाजा । जुन बाजामा आधारित रहेर गायक तथा सर्जक राजन ठकुरीले ‘मनको थैली’ वोलको लोक तथा दोहोरी गीत सार्वजनिक गरेका छन् । दर्शन डिजिटलको प्रस्तुतीमा रहेको ‘मनको थैली’ गीतमा गायक ठकुरी, बमबहादुर बयक र देवी घर्ती मगरको स्वर रहेको छ । गीतलाई गायक ठकुरी स्वयंमले लयबद्ध गरेका छन्, भने शब्द पनि उनी आफैले लेखेका हुन् । गीतलाई निकै सरल र मिठास तरिकाबाट म्युजिक भिडियो निर्माण गरिएको छ । जसलाई हमाल म्युजिक प्रालिका संचालक तथा निर्देशक सज्जन हमालको निर्देशन गरेका छन् । गीतमा पछिल्लो समय निकै व्यस्त रहेका मोडल तथा व्यवशाही विवस ठकुरी र विनु खड्काको अभिनय रहेको छ । गीतमा शम्भु चालिसेको छायांकन रहेको छ भने, सुजन शाहीका सम्पादन रहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान काभ्रेमा सर्ने पक्का, ठुलीचौर की नागीडाडा ?

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान अलग गर्न संस्कृती, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारी काभ्रे पुगेका छन् ।  काभ्रेको ठुलीचौर, चिसापानी ठुलीचौर वा नागीडाडा मध्यका एक स्थानमा विमानस्थल बनाउदाँ उपयुक्त हुन्छ भन्ने सुझाव लिन मन्त्री अधिकारी त्यहाँ पुगेका हुन् । एक मात्र अन्तराष्ट्रिय विमानस्थलमा विमानको चाप अधिक भएपछि आन्तरिक उडानलाई अलग गर्न लागिएको मन्त्री अधिकारीले बताएका छन् । मन्त्री अधिकारीका प्रेस सल्लाहाकार धुब्र पोखरेलका अनुसार केही दिनमै प्रस्तावित विमानस्थलको टुङो लगाउन ४ जनाको विज्ञ टोली ले सुझाव दिने र त्यसको १५ दिन भित्रैमा काम अघि बढ्ने बताए । काभ्रे जिल्लाको ठुली चौर चिसापानी ठुलीचौरमा विमानस्थल निर्माणको सम्भावना रहे पनि स्थानीयवासी नगरपालिकाले सहयोग नगरेको नागरिक उड्डयन प्रधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलले बताए । बनेपाको नागीडाडामा प्रारम्भिक अध्यानको प्रतिवेदन आइसकेको एरिड्रोम इन्जिनियरिङ विभागका इन्जिनियर नलविक्रम थापाले बताए । “नागीडाँडामा विमानस्थलको सम्भावना रहेको छ अहिले प्रारम्भिक चरणको अध्ययन सकिएको छ, सो स्थानमा विमानस्थल निर्माणको लागि स्थानीय वासिन्दा लगायत सबै पक्षले सहयोग गर्नु पर्छ, “थापालेविकासन्युजसँग भने । इन्जिनियरिङको रिपोर्टमा नागरिक उड्डयन तथा मन्त्रालयले छलफल गर्नेछ । छलफलबाट पारित भएपछि विमानस्थलको निर्माण प्रक्रिया अघि बढ्नेछ । नागिडाडामा १२ मिटरकाे धावनमार्ग र ३ सय मिटरकाे चाैडार्इमा फैलाउन सकिनेछ भने २५ देखि ३० वटा विमान पार्किङ गर्न सिकनेछ । याे विमानस्थल साना विमानका लागि मात्र उपुत्त हुनेछ । विमानस्थल निर्माणमा सामान्य भन्दा धेरै खर्च लाग्ने इन्जिनियरहरुले प्रारम्भिक अनुमान गरेको छ । नागीडाडा ठुलीचौर भन्दा उत्तम स्थल हो तर यसलाई काठमाडौंसँगको यातायात सञ्जालमा जोडिनुपर्ने अधिकृत पौडेलले बताए । विमानस्थल अहिले त्रिभुवन विमानस्थलमा दैनिक २१ घण्टासम्म सञ्चालनमा रहेको छ । आन्तरिक उडानले नै ६५ प्रतिशत ओगट्ने भएकोले अन्तराष्ट्रिय उडानमा समस्या पर्ने गरेको विमानस्थलका अधिकारीहरु बताउछन् । एक मात्र अन्तराष्ट्रिय विमानस्थल व्यस्त बन्दा जहाजहरु अवतरण गर्न १ देखि २ घण्टासम्म आकासमै होल्डिङ गर्नुपर्ने समस्या रहेको छ ।