विकासन्युज

प्रोभिषाद्धारा एकदिने रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । शैक्षिक परामर्शदातृ संस्था प्रोफेशनल भिषा एण्ड एजुकेशन सर्भिसेस (प्रोभिषा)ले एकदिने रक्तदान कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । संस्थाले आफ्नो १०औं वार्षिक उत्सबको अवसरमा उक्त कार्यक्रमको आयोजना गरेको हो । नेपालमा पनि रगतको अभावमा ज्यान गुमाउनेको अवस्थालाई मध्यनजर गर्दै आज भृकुटिमण्डपमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको हो । संस्थाले समाज सेवालाई पनि प्राथमिकतामा राख्दै उक्त कार्यक्रम गरेको हो । १० वर्षदेखि सञ्चालनमा रहेको यस संस्थाले नेपालको काठमाण्डौं र अष्ट्रेलियाको सिड्नीबाट आफ्नो सेवा प्रदान गरिरहेको छ ।

सेनाले २ वर्षमै सम्पन्न गर्यो मैलुङ-स्याफ्रुवेशी सडक, जेठ ६ गते हस्तान्तरण गर्ने

काठमाडौं । नेपाली सेनाले मैलुङ स्याफ्रुवेशी सडकखण्ड सरकारलाई हस्तान्तरण गर्ने भएको छ । सेनाले २ वर्षमै सडक निमार्ण सम्पन्न गरी जेठ ६ गते सरकारलाई हस्तान्तरण गर्न लागेको हो । १७ किलोमिटरको स्याफ्रुवेशी सडकखण्ड तयार भैसकेको सेनाका प्रवक्ता गोकुल भण्डारीले बताए । नेपाली सेनाले लिएको कामको जिम्मा समयमै सक्दै आएको छ, सोहि अनुसार मैलुङ स्याफ्रुवेशी सडकखण्ड पनि जेठ ६ गते हस्तान्तरण गर्ने तयारी गरेका छौं, प्रवक्ता भण्डारीले विकासन्युजसँग भने । भण्डारीका अनुसार सडक ९ देखि ११ मिटर चौडा बनाइएको छ । यस सडकखण्डले चीनसँग रसुवागढी नाकासँग जोडिने भएकोले विशेष महत्व राख्दछ । सेनाले निर्माण काम सुरु गरेको २ वर्षमै १७ किलोमिटर सडक निर्माण सम्पन्न गरेको हो । सेनाले कर्णाली करिडोर, कालीगण्डकी करिडोर, फास्ट ट्रयाक, जाजरकोट डोल्पा, बेनीघाट लार्केभन्ज्याङ लगायतको सडकखण्ड धमाधम निर्माण गरिरहेको छ ।

सीजी मोटोकोर्पद्धारा ट्राफिक प्रहरी ललितपुरलाई सीसी क्यामरा प्रदान

काठमाडौं । सीजी मोटोकोर्पले आफ्नो सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत ट्राफिक प्रहरी ललितपुरलाई क्लोज सर्किट(सीसी) क्यामरा हस्तान्तरण गरेको छ । सीजी होल्डिङ्सको अटोमोटिभ विभाग, सीजी मोटोकोर्पले आफ्नो सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत ट्राफिक प्रहरी ललितपुरलाई क्लोज सर्किट क्यामरा हस्तान्तरण गरेको हो । सो क्यामरा ललितपुर ट्राफिक प्रहरीको मोबाइल सवारी साधनमा जडान गरिने छ ।१८० डिग्री कभरेज भएको सो क्यामराले ट्राफिक व्यवस्थापनमा मद्दत पुर्याउने छ । ललितपुर ट्राफिक शाखाका निरीक्षक सिताराम हाछेथुको उपस्थितिमा क्यामरा हस्तान्तरण गरिएको थियो । सडकहरु सुरक्षित बनाउने उपायहरु अपनाउने उद्देश्यसहित ट्राफिक प्रहरीसँगको समन्वयमा यस सिसि क्यामराको हस्तान्तरण गरिएको कार्यकारी निर्देशक करण चौधरीले बताए ।  

इजरायलमा पढ्न ९७ हजार घर परिवारबाट १०० जना मात्रै छनौट

काठमाडौं । इजरायलमा कृषि शिप सम्बन्धि बढ्न जानको लागि सय जना विद्यार्थीहरु छनौट गरिएको छ । मापदण्ड पुगेका ३ सय ७४ जना विद्यार्थीबाट १०० जना छनोट गरिएको हो । इजरायली दुतावास र साना किसान बैंकले संयुक्त रुपमा काठमाडौंमा मंलबार गरेको साना किसान कृषि तालिम कार्यक्रममा इजरायल पढ्न जाने विद्यार्थीको बारेमा प्रकाश परिएको थियो । दुतावासको अनुसार ९७ हजार घर परिवारबाट छानिएका विद्यार्थीहरुमध्ये गोला प्रथाबाट २ सय छानिएका थिए । त्यसमध्ये पनि स्वास्थ्य परिक्षण, प्लस टु पास लगायतका मापदण्ड पुरा गरेका एक सय विद्यार्थी मात्र छनोटमा परेका हुन् । यस वर्ष इजरायलमा ५ सय ४० जना विद्यार्थीहरु कृषि शिप सम्बन्धि पढ्न जाने कार्यक्रम रहेकाे दुतावासले जानकारी गराएको छ । दुतावासकोअनुसार आगामी सेप्टेम्बरसम्म इजरायल गइसक्ने १८ देखि २२ वर्ष उमेर सुहका विद्यार्थीले त्यहाँ १० देखि ११ महिनासम्म कृषि शिप सम्बन्धि तालिम लिनेछन् । जसमा २५ प्रतिशत महिला सहभागी छन् । हालसम्म २ हजार एक सय ४३ जनाले इजरायलबाट कृषि तालिम लिइसकेका छन् । ५ सय ४३ जना अहिले पनि इजरायमै छन् । साना किसान बैंकका अधिकृत मनिष महतोका अनुसार स्वदेश फर्केका ४० देखि ४५ प्रतिशतले अहिले पनि कृषि क्षेत्रमा काम गरिरहेका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालले कार्यक्रमलार्इ सम्बोधन गरेका थिए । कार्यक्रममा उनले कृषि क्षेत्रमा काम गर्न चाहनेहरुका लागि सरकारले सहयोग गर्ने बताए । कृषि मर्यादित र सम्मानित पेशा भएको भन्दै उनले स्वदेशमै केही गर्छु भन्ने सोंच भएकाहरुलाई राज्यले सहयोग गर्ने जानकारी गराए ।  

दुई करोड ६० लाख नक्कली नोटसहित ६ जना पक्राउ

काठमाडौं । प्रहरीले दुई करोड ६० लाख ८६ हजार रुपैयाँ नक्कली नेपाली नोटसहित तीन दिनभित्र छ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले तीन दिनभित्र छ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई आजै साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले जनाएको छ । रासस

सिद्धार्थ बैंकको थप ४ नयाँ शाखा सञ्चालनमा, संख्या ११२ पुग्यो

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले शाखा विस्तार गर्ने क्रममा थप ४ शाखाहरुको स्थापना गरेको छ । बैंकले गौरादह र पथरी, कैलालीको लम्की र जुम्लामा गरी एकै साथ ४ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकिङ्ग पहुँच नपुगेका प्रत्येक गाउँपालिका तथा नगरपालिकाहरुमा बाणिज्य बैंकको शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्य अनुरुप थप शाखा सञ्चालनमा ल्याएको हो । यी शाखाहरु मार्फत नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको निर्णय बमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोबारको संचालन हुनेछ । त्यस्तै, यी शाखाहरुबाट बैंकका अन्य शाखाहरुबाट जस्तै सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् । साथै, स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, उद्यमशिलताको वृद्घि जस्ता आर्थिक गतिविधि बढ्ने विश्वास बैंकले लिएको छ । हाल बैंकले ११२ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंक अफ काठमाण्डू र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंक्यास्योरेन्स सम्झौता

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंक्यास्योरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख-बजार व्यवस्थापन विभागका रितेश लामिछाने र इन्स्योरेन्सका तर्फबाट सहायक महाप्रबन्धक सरेज बुढाथोकी छेत्रीले हस्ताक्षर गरेका छन् । यस सेवा अन्तर्गत बैंकका सम्पूर्ण ग्राहकहरुले बैंकका ७९ शाखाहरुबाट जीवन बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

नबिल बैंकले एकैसाथ खोल्यो ५ नयाँ शाखा, कहाँ कहाँ ?

काठमाडौं । नबिल बैंकले हालै थप ५ नयाँ शाखाहरु स्थापना गरेको छ । बैंकले रुपेन्देहीको सम्सरीमाई, जुम्लाको तिला, सुर्खेतको बराहताल, बझाङ्गको वित्थडचिर र डढेलधुराको आलितालमा गरी ५ वटा शाखाबाट कारोबार शुरु गरेको हो । व्यवसायिक र प्रभावकारी बैंकिङ्ग सुविधाहरु प्रदान गर्न र समाजमा बसेका समुदायको बैंकिङ्ग आवश्यकता नविनत्म रुपले परिपुर्ति गर्ने उद्देश्यले बैंकले देशका विभिन्न ठाँउहरुमा आफ्नो शाखा कार्यालयको संजालहरु विस्तार गर्दै लगिरहेको छ । हाल यस बैंकले ६७ वटा शाखा, १११ वटा एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु मार्फत् सेवा प्रदान गरिरहेको छ ।