एभरेष्ट बैंकको नाफा २ अर्ब ११ करोड रुपैयाँ, लाभांश क्षमता ३१.९३ प्रतिशत
काठमाडौं । एभरेष्ट बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा २ प्रतिशत बढेर २ अर्ब ११ करोड ७१ लाख १६ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकले गत वर्षको सोही अवधिमा २ अर्ब ७ करोड ४७ लाख ६३ हजार रुपैयाँ खुद नाफा गरेको थियो । चालु आर्थिक वर्षको ६ महिनामा बैंकको खुद ब्याज आम्दानी ५.९६ प्रतिशत बढेर ४ अर्ब ५७ करोड २९ लाख ४१ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ३१ करोड ५८ लाख २१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २०.३८ प्रतिशत बढेर ९२ करोड ९ लाख ५४ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ९.७३ प्रतिशत बढेर ५ अर्ब ८१ करोड ४७ लाख ७६ हजार रुपैयाँ र सञ्चालन नाफा २ प्रतिशत बढेर ३ अर्ब १७ करोड १६ लाख ४६ हजार रुपैयाँ गरेको छ । बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३४ करोड २८ लाख ३१ हजार रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभांश क्षमता ३१.९३ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ७१ करोड ६७ लाख ७१ हजार रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ६ प्रतिशत बढेर १३ अर्ब ७२ करोड १३ लाख ७६ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १४ अर्ब ९४ करोड ८३ लाख ७८ हजार रुपैयाँ छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन २.०५ प्रतिशत बढेर ३ खर्ब ४ अर्ब ९५ करोड ८७ लाख १९ हजार रुपैयाँ र कर्जा लगानी १०.७७ प्रतिशत बढेर २ खर्ब ३६ अर्ब ४२ करोड ७२ लाख ४४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिसम्ममा बैंकले २ खर्ब ९८ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १३ अर्ब ४३ करोड ८४ लाख ९० हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८०.१९ प्रतिशत रहेको छ । यस्तै बैंकको आधार दर ४.७५ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १.२० रुपैयाँ घटेर ३०.८६ रुपैयाँमा सीमित छ । पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २१.३९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २३५.१५ रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा बढेर ०.६८ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा ०.६६ प्रतिशत खराब कर्जा थियो ।
नेपाल बैंकको नाफामा १८३ प्रतिशत उछाल, ईपीएस १७.७६ रुपैयाँ
काठमाडौं । नेपाल बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा १८३ प्रतिशत बढेर १ अर्ब ३० करोड ४८ लाख ५२ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकले गत वर्षको सोही अवधिमा ४६ करोड १० लाख १७ हजार रुपैयाँ खुद नाफा गरेको थियो । चालु आर्थिक वर्षको ६ महिनामा बैंकको खुद ब्याज आम्दानी ३.९७ प्रतिशत घटेर ४ अर्ब ४४ करोड २९ लाख १५ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ६२ करोड ६६ लाख ४१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १७.१६ प्रतिशत घटेर ४४ करोड ८४ लाख ३५ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १.५९ प्रतिशत घटेर ५ अर्ब ३४ करोड ९० लाख ९४ हजार रुपैयाँ र सञ्चालन नाफा ३९४.६४ प्रतिशत बढेर २ अर्ब ६ करोड १५ लाख ६ हजार रुपैयाँ गरेको छ । बैंकको वितरणयोग्य नाफा ९१ करोड ४९ लाख २३ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा ६० करोड ७१ लाख ७५ हजार रुपैयाँ थियो । १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २४ अर्ब ७८ करोड २३ लाख ५८ हजार रुपैयाँ छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ९.८७ प्रतिशत बढेर ३ खर्ब ६४ अर्ब ८७ करोड ६१ लाख ३८ हजार रुपैयाँ र कर्जा लगानी ४.४४ प्रतिशत बढेर २ खर्ब ३० अर्ब ३० करोड ३ लाख ३४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिसम्ममा बैंकले ३ खर्ब ३२ अर्ब ९ करोड २३ लाख ७३ हजार रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब २० अर्ब ४९ करोड ९७ लाख ७७ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ६७.४८ प्रतिशत रहेको छ । यस्तै बैंकको आधार दर ४.९६ प्रतिशत रहेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ११.४९ रुपैयाँ बढेर १७.७६ रुपैयाँ पुगेको छ । पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १३.५७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २६२.४३ रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा बढेर ५.३४ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा ४.९९ प्रतिशत खराब कर्जा थियो ।
उच्च पहाडी र हिमाली भागमा हिमपात र वर्षा हुने
काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा पूर्णतया बादल लाग्ने र बाँकी भेगका पहाडी तथा तराईमा बादल लाग्नेछ । साथै देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा बागमती, मधेस र कोशी प्रदेशका पहाडी भागका केही स्थान र कोशी प्रदेशको तराईका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ र बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सतर्कता अपनाउन महाशाखाले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
अछाम- १ मा एमालेका संस्थापकविरुद्ध एमालेकै उम्मेदवार, कसले मार्ला बाजी ?
काठमाडौं । नेकपा एमालेसँगको करिब ५१ वर्ष लामो राजनीतिक यात्रा टुंग्याएर भीम रावल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट उम्मेदवार बनेसँगै अछाम–१ को चुनावी माहोल असाधारण रूपमा तातेको छ । अछाममा एमालेको राजनीतिक जग बसाल्ने नेताकै रूपमा चिनिएका रावल आज त्यही दलविरुद्ध मैदानमा उत्रिँदा यो निर्वाचन व्यक्ति, विरासत र दलगत रणनीतिको त्रिकोणीय संघर्षमा रूपान्तरित भएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा अछाम–१ बाट रावलसहित आठ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । अछाम–१ मा नेकपाका भीम रावलले उम्मेदवारी दिएका छन् । रमाइलो त के भने जीवन एमालेमा बिताएका रावल पहिलोपटक एमाले विरुद्ध मैदानमा छन् । रावललाई एमालेबाट काउन्टर गर्दैछन् पूर्व माओवादी नेता दीपकबहादुर साउदले । यस्तै, नेपाली कांग्रेसले भरतकुमार स्वाँरलाई उम्मेदवार बनाउदा ओमप्रकाश रावल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मैदानमा उत्रिएका छन् । नेपाल मजदुर किसान पार्टीले सुरेन्द्र शाही र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लोकेन्द्र शाहलाई मैदानमा उतारेका छन् । लोकेन्द्रबहादुर शाही नेकपा माओवादीको उम्मेदवार छन् भने भीमबहादुर कुँवरले स्वतन्त्र उम्मेदवारी दिएका छन् । ०७९ को निर्वाचनमा भीम रावल उम्मेदवार थिएनन् । उक्त निर्वाचनमा पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै अछाम–१ बाट तत्कालीन नेकपा एकीकृत समाजवादीका उम्मेदवार शेरबहादुर कुँवर मैदानमा थिए । उक्त निर्वाचनमा प्रत्यक्षतर्फ कुँवरले १९ हजार ५३४ मत ल्याएर नेकपा एमालेका झपटबहादुर बोहरालाई पराजित गरेका थिए । उक्त निर्वाचनमा बोहोराले १५ हजार ४५ मत ल्याएका थिए । तेस्रो लोकप्रिय मत स्वतन्त्र उम्मेदवार राजन कुँवरले पाएका थिए । उनले ४ हजार ३९२ मत प्राप्त गरेका थिए । यसपटक भने नेकपाले भीम रावललाई मैदानमा उतारेको छ, जसले समीकरणलाई पूर्णतः नयाँ दिशामा धकेलेको स्थानीय बताउँछन्। राजनीतिक विरासतका हिसाबले रावल बलिया देखिए पनि संगठनात्मक पक्षमा कांग्रेस र एमाले यसपटक भारी देखिन्छन् । स्थानीय मोती विकका अनुसार अछाम १ मा प्रतिस्पर्धा एमाले र कांग्रेसकै बीचमा हुन्छ । यी दुई पार्टीबीच नै प्रतिस्पर्धा हुने आँकलन विकको रहेको छ । गत आमनिर्वाचनमा समानुपातिकतर्फ नेपाली कांग्रेसले १४ हजार ५२५ मत ल्याएर पहिलो स्थान हासिल गरेको थियो । उक्त निर्वाचनमा एमालेले १३ हजार ९३८ मत प्राप्त गरेको थियो । तत्कालीन नेकपा माओवादीले तेस्रो स्थान प्राप्त गर्दा उसले ७ हजार २२८ मत प्राप्त गरेको थियो । रास्वपाले ७८५ मत प्राप्त गरेको थियो । कुल १० पालिका रहेको अछामका निर्वाचन क्षेत्र–१ मा साँफेबगर नगरपालिका, मेल्लेख, चौरपाटी, बान्नीगढी जयगढ र रामारोशन गाउँपालिका समावेश रहेका छन् । २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसले ४ पालिका प्रमुख जितेको छ भने तत्कालीन माओवादी केन्द्रले १ पालिका प्रमुखमा विजय हासिल गरेको छ । तत्कालीन गठबन्धनमा रहेका कांग्रेस र नेकपा एकीकृत समाजवादीले पूर्ण जित निकाल्दा अछाम १ मा एमाले शून्यको अवस्थामा रहेको छ । ४२ वडामध्ये कांग्रेसले १९, एमाले १३, माओवादी ५, एकीकृत समाजवादी २ र स्वतन्त्रले ३ वडामा जित निकालेका छन् । नेकपा उम्मेदवार रावलले राष्ट्रिय छवि र अछाममा गरेको योगदानका आधारमा जित सहज हुने दाबी गर्छन् । रावल स्वयं मतदाताले आफूलाई निर्वाचित गराउनेमा विश्वस्त देखिन्छन् । कांग्रेस उम्मेदवार भरतकुमार स्वाँर मुख्य प्रतिस्पर्धा एमालेसँग रहेको बताउँछन् । एमाले उम्मेदवार दीपक साउद जनाधार, संगठन र नयाँ अनुहार आफ्नो बलियो पक्ष भएको दाबी गर्छन् । रास्वपा उम्मेदवार ओमप्रकाश रावल अछाम–१ मा पनि घण्टी बज्ने दाबी गर्दै भन्छन्, ‘यस पटक जित रास्वपाकै हो ।’ अछाम–१ को चुनाव यसपटक प्रतीकात्मक रूपमा पनि रोचक बनेको छ । एमाले स्थापना गराएका भीम रावल आज तारा बोकेर नेकपाको उम्मेदवारको रूपमा मैदानमा छन् । हिजो एमालेसँग ‘कि तँ छैनस् कि म छैन’ भन्दै भिड्ने माओवादीबाट उदाएका दीपक साउद सूर्य बोकेर एमालेका उम्मेदवार बनेका छन् । २०७० मा रावलसँग सूर्य थियो, साउदसँग हँसिया–हथौडा । अहिले १२ वर्षपछि प्रतीक उल्टिएका छन् । अछाम–१ को मा टक्कर एमाले र कांग्रेसकै हुने स्थानीय विश्लेषक रतन चुँदाराको दावी छ ।
चाबहिल यातायातमा अख्तियारको छापा, प्रमुखसहित २७ जनाको मोबाइल नियन्त्रणमा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल नियन्त्रणमा लिएको छ । यातायात व्यवस्था कार्यालय चाबहिलका कर्मचारीले विचौलियामार्फत सवारीचालक अनुमतिपत्र दिलाउन घुस लिने गरेको उजुरीको आधारमा आयोगले कार्यालयमा छापा मारेको हो । आयोग चाबहिलका प्रमुख पेशलकुमार पोखरेलसमेत २७ जनाको ३७ थान मोबाइल नियन्त्रणमा लिएको हो । त्यस्तै, उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथबाट ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक डोरहरि नेपालसहित तीन जना प्रहरीको मोबाइलमा पनि नियन्त्रणमा लिएको छ । उनीहरू यातायात कार्यालयमा सवारी चालक अनुमतिपत्रको परीक्षामा खटिएका थिए । यस्तै, नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालिका प्रबन्धक बालकृष्ण सिंहसहित ७ जनाको ९ वटा मोबाइलम पनि अख्तियारले नियन्त्रणमा लिएको छ । लिखित परीक्षामा फेल भएका व्यक्तिलाई तीन महिना नपुग्दै पुनः लिखित परीक्षामा सहभागी गराएको आरोप अख्तियारको छ । यसबारेमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
करिब १७ लाख रुपैयाँ बराबरको चाँदीजस्तो देखिने सेतो धातुसहित एकजना पक्राउ
काठमाडौं । सेतो चाँदीजस्तो देखिने धातुसहित एक जना व्यक्ति नागढुंगाबाट पक्राउ परेका छन् । वीरगञ्जबाट काठमाडौं आउँदै गरेका २५ वर्षीय किसन साहलाई नागढुंगा चेकप्वाइन्टबाट अढाइ किलो चाँदीजस्तो देखिने सेतो धातुसहित पक्राउ परेका हुन् । १६ लाख ९० हजार रुपैयाँ बराबरको चाँदीजस्तो देखिने सेतो धातुसहित साहलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए। मंगलबार बिहान साढे ६ बजे नागढुंगास्थित चेक प्वाइन्टमा म. प्र. ०१-००१ ख ७७२१ नम्बरको यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुंगा तथा लागु औषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नागढुंगासहितको संयुक्त टोलीले चेकजाँच गर्दा साहको साथमा चाँदीजस्तो देखिने सेतो धातु भेटिएको हो । वीरगञ्ज महानगरपालिका- १६ का साहलाई नियन्त्रणमा लिई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
टेरामक्स प्रकरण : उपकरणको प्राविधिक परीक्षण गर्न अदालतको आदेश, यस्तो छ पूर्णपाठ
काठमाडाैं । विशेष अदालतले टेरामक्स प्रविधि खरिदमा भएको भ्रष्टाचार मुद्दामा उपकरणहरूको प्राविधिक परीक्षण गर्न आदेश दिएको छ । पूर्वमन्त्री मोहनबहादुर बस्नेतसमेत प्रतिवादी रहेको उक्त मुद्दामा सुनुवाइ गर्दै विशेष अदालतले यस्तो आदेश दिएको हो । विशेष अदालत न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । अदालतले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेरामक्स प्रणाली र सामग्रीहरू सम्झौता बमोजिम भए/नभएको र त्यसको गुणस्तर जाँच गर्न एक उच्चस्तरीय विज्ञ टोली गठन गरेको छ । जसमा पुल्चोक इन्जिनियरिङ क्याम्पसका वरिष्ठ इन्जिनियर (संयोजक), पुल्चोक क्याम्पसकै टेलिकम्युनिकेसन एण्ड इलेक्ट्रोनिक्स विषयका विज्ञ प्राध्यापक सीआईबीका विषय विज्ञ, अख्तियारका टेलिकम्युनिकेसन विज्ञ केशव ज्ञवाली र आपूर्तिकर्ता कम्पनीका प्रतिनिधि छन् । टेरामक्स खरिदका लागि १ अर्ब ११ करोड ६२ लाख ५२ हजार १४३ रूपैयाँ भुक्तानी भई आपूर्तिकर्ताले सामानहरू जडान भइसकेको दाबी गरे पनि ती सामग्रीहरू सम्झौता र मापदण्ड बमोजिम भए/नभएको यकिनका लागि प्राविधिक परीक्षण गर्नुपर्ने अदालतको ठहर छ ।
युवराज सफल पक्राउ
काठमाडौं । युवराज सफल भनेर चिनिने युवराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ। महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्तालाई विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल मार्फत नकारात्मक, अपशब्द र गालीगलौज गरेकाले पौडेललाई पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए । पौडेलले विभिन्न मुद्दामा रकम लेनदेन गरी फिर्ता लिने कार्य गरेको भनी भिडियो बनाएका र अन्तर्वार्तामा झुटा आरोप लगाएका थिए । पौडेललाई कानुन बमोजिम आवश्यक कारबाही गरिदिन महान्यायाधिवक्ताको कार्यालयले प्रहरीलाई अनुरोध गरेको थियो । महान्यायाधिवक्ता कार्यालय र माननीय महान्यायाधिवक्ताको बारेमा तथ्यहीन कुराहरूको भिडियो बनाई सामाजिक सञ्जालमा पोष्ट गरेको देखिएकाले पौडेललाई पक्राउ गरिएको हो । काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको भट्टराईले जानकारी दिए ।