विकासन्युज

स्विङ क्षेत्र काठमाडौं–८ मा विराजभक्तले जोगाउलान् त विरासत ?

काठमाडौं । काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ८ फेरि एकपटक चुनावी बहसको केन्द्रमा छ । राजधानीको सबैभन्दा कोरभित्र पर्ने यो क्षेत्रलाई राजनीतिक रूपमा स्विङ क्षेत्रका रूपमा हेरिँदै आएको छ । यस क्षेत्रका मतदाताको निर्णय प्रत्येक निर्वाचनपिच्छे बदलिँदै आएको देखिन्छ । विगतका निर्वाचन परिणाम हेर्दा काठमाडौं– ८ मा कुनै एक दलको निरन्तर वर्चस्व स्थापित हुन सकेको देखिँदैन । २०६३ पछि काठमाडौंलाई १० निर्वाचन क्षेत्रमा विभाजन गरियो । त्यसपछि यस क्षेत्रमा काठमाडौं महानगरपालिकाका १३, १५, १९, २०, २३ र २४ नम्बर वडाहरू समावेश गरिएको छ । यस्तै, नागार्जुन नगरपालिकाका ४ र ५ वडा यस क्षेत्रमा पारिएको छ । काठमाडौंलाई १० निर्वाचन क्षेत्रमा विभाजन गरिएपछि २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए । कांग्रेसका उम्मेदवार नवीन्द्रराज जोशी यस क्षेत्रबाट निर्वाचित भएर पहिलो संविधान सभामा प्रतिनिधित्व गरेका थिए । त्यसपछि २०७० सालको संविधानसभा निर्वाचनमा पनि जोशी नै निर्वाचित भए ।  २०७४ मा भने नेकपा एमालेले कांग्रेसलाई पराजित गर्दै सिट आफ्नो पक्षमा पारेको थियो । यस निर्वाचनमा जीवनराम श्रेष्ठ निर्वाचित भए । यी नतिजाले कांग्रेस र एमालेबीचको प्रतिस्पर्धा यस क्षेत्रमा लामो समयदेखि चल्दै आएको देखिन्छ । तर २०७९ सालको प्रतिनिधिसभा निर्वाचनले काठमाडौं–८ को राजनीतिक चरित्रमा नयाँ मोड ल्यायो । परम्परागत ठूला दललाई पछि पार्दै वैकल्पिक धारका उम्मेदवारले सफलता हासिल गरेपछि यस क्षेत्रका मतदाताले नयाँ अनुहार र फरक राजनीतिक एजेन्डालाई पनि अवसर दिन सक्ने सन्देश गएको थियो । २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठ विजयी भएका थिए । यसले काठमाडौं–८ लाई केवल कांग्रेस–एमालेको प्रतिस्पर्धामा सीमित नराखी बहुपक्षीय प्रतिस्पर्धाको क्षेत्रका रूपमा स्थापित गरिदिएको छ । हाल यस क्षेत्रमा पर्ने अधिकांश स्थान विगतमा एमालेकी साहना प्रधानले जितिरहेको क्षेत्र पर्दछ । २०४८ र ०५१ मा गरेर दुई पटक प्रतिनिधि सभा सदस्यमा प्रधानले जित हासिल गरेकी थिइन् । ०५६ मा भने एमालेकै अष्टलक्ष्मी शाक्य विजयी भएकी थिइन् । स्थानीय सावित्रा राजभण्डारीका अनुसार यस क्षेत्रका हरेक टोल र वडामा कांग्रेस, एमाले र रास्वपाको उस्तैउस्तै प्रभाव र पकड रहेको छ । यी दलबाहेक नेपाली कम्युनिष्ट पार्टी (नेकपा) तथा स्वतन्त्र समूहको उपस्थिति कमजोर नरहेको राजभण्डारीले जानकारी दिइन् । यही कारण आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारको व्यक्तित्व, स्थानीय मुद्दाप्रतिको पकडले निर्णायक भूमिका खेल्ने राजभण्डारीको तर्क रहेको छ । आगामी निर्वाचनलाई हेर्दा काठमाडौ–८ मा पुनः कडा प्रतिस्पर्धा हुने लगभग निश्चित देखिन्छ । परम्परागत दलहरू आ-आफ्नो संगठन बलियो बनाउन प्रयासरत छन् । नयाँ र वैकल्पिक शक्तिहरूले अघिल्लो निर्वाचनको सफलतालाई निरन्तरता दिन खोजिरहेका छन् । सबै दलले यस क्षेत्रका मतदाताको मन जित्न विकास, सुशासन र सहरी व्यवस्थापनजस्ता मुद्दा मुख्य एजेन्डा बनाउने अनुमान गरिएको छ । विगतको उतारचढावपूर्ण नतिजा र वर्तमान राजनीतिक अवस्थालाई हेर्दा काठमाडौं–८ को चुनावी परिणाम अन्तिम समयसम्म अनिश्चित रहने सम्भावना उच्च छ । यही अनिश्चितताले यो क्षेत्रलाई आगामी निर्वाचनको सबैभन्दा चासोका साथ हेरिने निर्वाचन क्षेत्रमध्ये एक बनाएको छ ।  यस क्षेत्रका निवर्तमान सांसद विराजभक्त श्रेष्ठ दोस्रोपटक लोकप्रिय मतसहित पुनः प्रतिनिधि सभा पुग्ने लक्ष्यसहित निर्वाचनमा होमिएका छन् । गत निर्वाचनमा ८ हजार १०४ मतसहित निर्वाचित श्रेष्ठ यस पटकका पनि प्रबल दावेदार हुन् । अघिल्लो निर्वाचनमा हाम्रो नेपाली पार्टीबाट मैदानमा उत्रिएका सुमन सायमी नेकपा प्रवेश गरेर मैदानमा उत्रिएका छन् । अघिल्लोपटक उपविजेता बनेका सायमी अहिले जित निकाल्न चाहन्छन् । पहिलोपटक प्रतिनिधि सभाको मैदानमा देखिएका एमालेका राजेश शाक्य ०४८ देखिको विरासत फर्काउने ध्यानमा छन् । स्थानीय स्तरमा निकै सक्रिय साहना शाक्य र अष्टलक्ष्मीको विरासत फर्काउने मेसोमा उनी मैदानमा उत्रिएका छन् । नेपाली कांग्रेसले नवीन्द्रराज जोशीकी श्रीमती सपना राजभण्डारीलाई उम्मेदवार बनाएको छ । राजभण्डारीले पनि आफ्ना श्रीमानले दुईपटक जितेको स्थानमा पुन जित निकाल्न चाहन्छिन् ।  २२ प्रतिस्पर्धी उम्मेदवारहरू विभिन्न दल र स्वतन्त्र हैसियतमा मैदानमा रहेको यस क्षेत्रमा रास्वपा, एमाले र कांग्रेस मुख्य दाबेदार रहेको नागार्जुन ५ का प्रकाश गिरी बताउँछन् । सामान्यतया निर्वाचन यिनै दलका अगाडि पछाडि नै घुमेको जस्तो देखिन्छ । कालीमाटीका सरोज श्रेष्ठ भने यो क्षेत्रका मतदाताको ट्रेण्ड बागी रहेकोले अहिलेसम्म नामै नसुनिएको उम्मेदवार पनि अगाडि आउन सक्ने दाबी गर्छन् । यस क्षेत्रका उम्मेदवारहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट नवीन शाही, जनता समाजवादी पार्टी (जसपा) बाट सरोजराज वैद्म, नेपाल मजदुर किसान पार्टीबाट बन्दना श्रेष्ठ उम्मेदवार रहेका छन् । यसैगरी, दिनेश शाहीले नेपाल जनता संरक्षण पार्टीबाट उम्मेदवारी दिएका छन् । रेशमबहादुर सुनार संयुक्त नागरिक पार्टीबाट मैदानमा छन् । राजेन्द्रप्रसाद शाहले नेपाल कम्युनिष्ट पार्टी संयुक्त र शिव सुन्दर कर्माचार्यले श्रम संस्कृति पार्टीबाट उम्मेदवारी दिएका छन् ।     सलाम सिंह लामा, राजन खड्गी, विजय डंगोल, छत्र कुमार पाख्रिन, मुक्तिनाथ शर्मा,  खगेश रंजितकार, मुना न्यौपाने पाण्डे, तुलसा श्रेष्ठ महर्जन, विकास खड्गी, सुनिता महर्जन र सुशीला नेपालीले स्वतन्त्र उम्मेदवारी दिँदै मैदानमा छन् ।    

कामना सेवा विकास बैंकको ३५ करोडको अग्राधिकार सेयर बाँडफाँड सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंकले ९ प्रतिशत अग्राधिकार सेयर बाँडफाँड सम्पन्न गरेको छ । बैंकले निष्काशन गरेको 'केएसबीएलएल ९ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर' को बाँडफाँड बुधबार सम्पन्न गरेको हो । ३५ करोड रुपैयाँ बराबरको यस अविमोच्य असञ्चिति अग्राधिकार सेयरका लागि उत्साहजनक रूपमा १.९ गुणाभन्दा बढी आवेदन प्राप्त भएको थियो, जसले नेपाली पूँजी बजार तथा वित्तीय क्षेत्रमा लगानीकर्ताहरूको उच्च विश्वास र आकर्षणलाई प्रतिबिम्बित गर्दछ । परिपत्र विधिमार्फत संस्थागत लगानीकर्ताहरू (बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी तथा सामूहिक लगानी कोषबाहेक) का लागि माघ १२ गतेदेखि १५ गतेसम्म निष्काशन तथा बिक्री खुला गरिएको थियो । उक्त अवधिभर विभिन्न संघ–संस्थाहरूको उत्साहजनक सहभागिता रहेको बैंकले जनाएको छ । अविमोच्य अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर (असञ्चिति) रहेको यो अविमोच्य असञ्चिति अग्राधिकार सेयर विकास बैंकहरूमा पहिलो पटक जारी गरिएको हो । यस अग्राधिकार सेयर निष्काशनको कार्य सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एन्ड क्लियरिङ लिमिटेडलगायत सम्पूर्ण नियमनकारी निकायहरू, आवेदनकर्ता, प्रेस तथा सञ्चारकर्मी, निष्काशन बैंकहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै सरोकारवालाप्रति बैंक परिवार तथा निष्काशन तथा बिक्री प्रबन्धकले हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।  

११ करोडको लागतमा दूधमति नदीको उत्खनन, २९ किलोमिटर क्षेत्रमा कार्य हुने

जनकपुरधाम । एघार करोड रुपैयाँको लागतमा ऐतिहासिक तथा धार्मिक महत्व बोकेको दूधमति नदीको उत्खनन तथा विकास निर्माणककार्य सुरु भएको छ ।       मधेस प्रदेश सरकारको ऊर्जा तथा सिँचाइ तथा खानेपानी मन्त्रालयको सहयोगमा सो नदीको उत्खनन तथा विकास निर्माण कार्य सुरु भएको हो ।   मन्त्रालयका निमित्त सचिव रामकुमार खंगले सो नदीको पहिलो चरणमा धनुषाको महेन्द्रनगरदेखि महोत्तरीको मटिहानीसम्म २९ किलोमिटर नदी बहाव क्षेत्रमा कार्य हुने जानकारी दिए । सो मन्त्रालयको दूधमति नदीको विकास कार्यक्रमअन्तर्गत उक्त नदीको सौन्दर्यकरण,  घाट निर्माण र  मर्मतसम्भार, बाँध निर्माण, सडक निर्माण तथा सिँचाइका सुविधा पुर्याउनेलगायतको कार्य हुने बताइएको छ ।  उक्त नदी उत्खनन तथा विकासको ठेक्का वछालदेवी जेभी काठमाडौंले एक वर्षभित्र कार्य सम्पन्न गर्नेगरी ठेक्का पाएको मन्त्रालयले जनाएको छ । मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहको कार्यकालमा सो उत्खननका साथै अतिक्रमण हटाउने विषयमा बजेट विनियोजन भएको थियो ।  साथै तत्कालीन प्रदेशका पूर्वऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवको विशेष पहल तथा सक्रियतामा बजेट विनियोजन भएको थियो । विभिन्न धार्मिकग्रन्थमा समेत पवित्र नदीको रुपमा वर्णन गरिएको यस नदीमा स्नान तथा पूजाआजाको लामो परम्परा रहिआएको छ ।     

४ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो, ७ अर्बको कारोबार

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक १.६४ अंकले घटेर २६८१ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार १३३ कम्पनीको सेयर मूल्य बढ्दा १३४ कम्पनीको सेयर मूल्य घटेको छ । १३ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बुधबार ३२६ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युत कम्पनीको ८० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै एसवाई प्यानलको ६० करोड, राधी विद्युत कम्पनीको २६ करोड, श्रीनगर एग्रीटेकको २५ करोड र बन्दिपुर केबलकारको २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ४ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । कालिन्चोक दर्शन, सुपर माई हाइड्रो, सुपर मादी हाइड्रो र आँखु खोला जलविद्युतको सेयर मूल्य १० प्रतिशतले बढेका छन् ।  बुधबारको कारोबार १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहको परिसूचक सबैभन्दा धेरै ०.९३ प्रतिशत बढेको छ । विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो ।  

नयाँ पुस्ताको ब्याट्री प्रविधिसहित प्रोटोन इमास ७, सुरक्षित र दिगो इलेक्ट्रिक एसयूभी

काठमाडौं । प्रोटोन नेपालअन्तर्गतको फुल-साइज इलेक्ट्रिक एसयूभी इमास ७ नेपाली बजारमा उल्लेखनीय लोकप्रियता हासिल गरिसकेको छ । मलेसियाको नम्बर एक इलेक्ट्रिक सवारी साधनको रूपमा परिचित इमास ७, प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिमार्फत नेपालमा उपलब्ध छ । इमास ७ को प्रमुख विशेषता यसको एइजिस सर्ट ब्लेड ब्याट्री हो, जुन हाल उपलब्ध अत्याधुनिक ब्लेड-टाइप लिथियम आयरन फस्फेट ब्याट्री प्रविधिमध्ये एक हो । यसले उच्च ऊर्जा घनत्व प्रदान गर्दै लामो ड्राइभिङ रेन्ज सुनिश्चित गर्दछ भने लामो साइकिल लाइफले दीर्घकालीन टिकाउपन र प्रदर्शनमा स्थिरता दिन्छ । कम्पनीका अनुसार यो ब्याट्री उच्च चार्जिङ दक्षतासहित तयार गरिएको छ, जसले ३० प्रतिशतदेखि ८० प्रतिशतसम्मको चार्ज केवल २० मिनेटमै पूरा गर्न सक्ने क्षमता राख्छ, जसले चार्जिङ समय उल्लेखनीय रूपमा घटाउँछ । सुरक्षालाई प्राथमिकतामा राखेर डिजाइन गरिएको यस ब्याट्रीमा आगो प्रतिरोधी संरचना राखिएको छ, जसले चालक तथा यात्रु दुवैलाई थप सुरक्षित बनाउँछ । ब्याट्रीको लेआउटले इन्टेरियर क्याबिन स्पेस अधिकतम बनाएको छ, प्रदर्शनमा कुनै सम्झौता नगरी छिटो चार्जिङ क्षमतासहित न्यू युरोपियन ड्राइभिङ साइकल (NEDC) प्रमाणित ४९२–५८५ किलोमिटर सम्मको प्रभावशाली ड्राइभिङ रेन्ज प्रदान गर्दछ । यसले इमास ७ लाई दैनिक शहरी यात्रा देखि लामो दूरीका यात्रासम्मका लागि उपयुक्त बनाउँछ । प्रोटोन नेपालले इमास ७ को सुरुवातसँगै आधुनिक, सुरक्षित र दिगो इलेक्ट्रिक मोबिलिटी समाधान प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।  

‍काठमाडौंबाट उडेको टर्किस एयरलाइन्समा आगलागी, जहाज कलकता डाइभर्ट

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीतर्फ उडेको टर्किस एयरलाइन्सको जहाज भारतको कोलकाता विमानस्थलतर्फ डाइभर्ट गरिएको छ । जहाजको दायाँ (राइट) इन्जिनमा आगलागी भएसँगै जहाज डाइभर्ट गरिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार उडान नम्बर टीएचवाई–७२७ ले उडान भर्ने क्रममा एउटा इन्जिनमा खराबी आएको जानकारी चालक दलले काठमाडौं टावरलाई गराएका थिए।  त्यसपछि इन्जिनमा आगलागी देखिएपछि सुरक्षाका लागि इन्जिन बन्द गरिएको थियो । उक्त जहाजले काठमाडौंबाट दिउँसो १ बजेर २८ मिनेटमा उडान भरेको थियो ।  आगलागीपछि वैकल्पिक अवतरणका लागि जहाजलाई कोलकाता विमानस्थलतर्फ मोडिएको क्यानले जनाएको छ।

सन नेपालको नाफा सामान्य बढ्यो, महाविपत्ति कोषमा २३ करोड ६१ लाख

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको दोस्रो त्रैमासमा खुद नाफा सामान्य रूपमा बढेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्मको वित्तीय विवरणअनुसार कम्पनीले दोस्रो त्रैमासमा २८ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा कम्पनीले २२ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको खुद नाफा १.११ प्रतिशतले बढेको छ । दोस्रो त्रैमाससम्ममा कम्पनीले २ अर्ब ३५ करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४.१२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीले २ अर्ब ४५ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । त्यस्तै, कम्पनीले दोस्रो त्रैमाससम्ममा २ अर्ब २६ करोड ५८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीले २ अर्ब १८ करोड ६२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क ३.६४ प्रतिशतले बढेको छ । समीक्षा वर्षमा कम्पनीको महाविपत्ति कोषमा २३ करोड ६१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा २० करोड ४६ लाख रुपैयाँ थियो । कम्पनीको रिटेन्ड अर्निङमा ८४ करोड ८५ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको रिटेन्ड अर्निङ ५४ करोड ८५ लाख रुपैयाँ थियो भने सोभन्दा अघिल्लो वर्ष १ अर्ब ५ करोड रुपैयाँ रहेको थियो । कम्पनीको अन्य इक्विटी २९ करोड २० लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको अन्य इक्विटी ३० करोड ४९ लाख रुपैयाँ थियो । ५ अर्ब ३ करोड १२ लाख रुपैयाँ सेयरपुँजी रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ११.३० रुपैयाँ रहेको छ । कम्पनीको पीई रेसियो ४१.९५ गुणा र प्रतिशेयर नेटवर्थ १४७.२८ रुपैयाँ रहेको छ । 

अब बेनीदेखि दिल्लीसम्म बसमा सरर, पोखरा जानुपर्ने बाध्यता हट्यो

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीदेखि भारतको दिल्ली बस सेवा सुरुआत भएको छ । मोडर्न इरा टुर्स एन्ड ट्राभल्स र सृष्टि यातायात प्रालिले आजदेखि बेनी कालिपुल बासपार्कबाट स्याङ्जा, वालिङ, भैरहवा, अयोध्या, आग्रा हुँदै नयाँ दिल्लीसम्मको यात्रा गर्न सकिने बस सेवा सञ्चालनमा ल्याएको हो ।  बस सेवाको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शुभारम्भ गरे । म्याग्दी, मुस्ताङको धार्मिकस्थललाई भारतसँग जोड्न त्यहाँका पर्यटकलाई समेत भित्र्याउन सेवाले महत्वपूर्ण भूमिका खेल्ने मोडर्न इरा टुर्स एन्ड ट्राभल्सका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिए ।  'बेनीदेखि दिल्लीसम्म २७ घण्टामा यात्रा गर्न सकिन्छ', उनले भने, 'बेनीदेखि हरेक दिन बिहान ६ः४५ बजे र दिल्लीको सरोजनी नगरबाट साँझ ४ः०० बजे बस छुट्नेछ ।' बेनीबाट नयाँ दिल्लीसम्मको प्रतियात्रु शुल्क ५४ सय रुपैयाँ र नयाँ दिल्लीबाट ३२ सय सय भारु भाडादर कायम भएको छ ।  बसको क्षमता ४५ जनाको रहेको छ । बेनी–दिल्लीको दूरी १४ सय किलोमिटर छ । यस सेवाबाट म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङका सर्वसाधारण लाभान्वित हुनेछन् । यसअघि म्याग्दीबाट भारत जान पोखरा पुगेर गाडी चढ्नुपर्ने समस्या थियो । एक दिनअघिनै पोखरा पुगेर बास बसी भोलिपल्ट बस चढेर दिल्ली जानुपर्ने समस्या हटेको मङ्गला गाउँपालिका–१ भरजुलाका सुसन किसानले बताए ।  बेनी नगरपालिकाका प्रमुख केसीले दिल्लीसँग म्याग्दीको यातायात सम्पर्क स्थापना भएपछि पर्यटक विकासमा पनि सहयोग पुग्ने बताए । म्याग्दीको गलेश्वरधाम, पुलहआश्रमका साथै मुस्ताङको मुक्तिनाथ मन्दिरको दर्शनका लागि आउने भारतीय पर्यटकलाई बस सेवाबाट सहज हुने नगर प्रमुख केसीले बताए ।  सृष्टि यातायात प्रालिका अध्यक्ष कृष्णप्रसाद पौडेलले नेपाल–भारतमैत्री बस सेवा कार्यक्रमअन्तर्गत दिल्लीदेखि कालीगण्डकी कोरिडोरको सडक भएर म्याग्दी हुँदै चीनको सिमानामा रहेको कोरला नाकासम्म यातायात सञ्चालनका लागि पहल गरिएको बताए ।  मुस्ताङको मुक्तिनाथ मन्दिरमा वार्षिक एक लाख जनाभन्दा बढी भारतीय दर्शनका लागि आउने गरेका छन् । म्याग्दीबाट रोजगार, शिक्षा, उपचारसहित अन्य विभिन्न कामले भारत जाने यात्रुलाई भारतीय क्षेत्रमा रेलमा लाग्नेभन्दा निकै सस्तो भाडा, लुटिने जोखिमसमेत कम हुने यातायात व्यवसायी ऐनबहादुर शाहीले बताए । रासस