विकासन्युज

१५ वर्ष नपुग्दै बालबालिका चुरोटको लतमा, सबैभन्दा बढी उपत्यकामा

काठमाडौं । नेपालमा १५ वर्ष नपुग्दै बालबालिका चुरोटको लतमा लाग्ने गरेको पाइएको छ । सोमबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार सबैभन्दा बढी ५.५ प्रतिशत काठमाडौं उपत्यकाका किशोरकिशोरीहरू १५ वर्ष नपुग्दै चुरोट लगायतको सुर्तीजन्य पदार्थको लतमा फसेको पाइएको हो ।  यस्तै, गण्डकी प्रदेशको ग्रामीण क्षेत्रमा ४.४ प्रतिशत किशोरकिशोरी चुरोटको लतमा छन् । जहाँ सहरी क्षेत्रका ३.८ प्रतिशत १५ वर्ष नपुगेका किशोरकिशोरी लतमा छन् । यस्तै, लुम्बिनी प्रदेशको सहरी क्षेत्रमा २.४ र ग्रामीण क्षेत्रमा १.१ प्रतिशत किशोरकिशोरी १५ वर्ष नपुग्दै चुरोट सेवन गरिरहेको पाइएको छ । यस्तै कर्णाली प्रदेशको ग्रामीण क्षेत्रमा ३.८ र सहरी क्षेत्रमा १.९, सुदूरपश्चिम प्रदेशमा ग्रामीण क्षेत्रमा ४.१ र सहरी क्षेत्रमा ३.४ प्रतिशत किशोर किशोरी १५ वर्ष नपुग्दै चुरोटको कुलतमा लागेका छन् ।  यसरी चुरोट सेवन गर्ने किशोरकिशोरीमध्ये ६.४ प्रतिशत स्कुल नगएका, कक्षा १ देखि ५ सम्म पढेका ५.९ प्रतिशत रहेका छन् भने धनीभन्दा गरीब परिवारका किशोरकिशोरी अझ बढी रहेको देखाएको छ । अति गरिब वर्गका २५.५ प्रतिशत सुर्तीजन्य पदार्थको कुलतमा लाग्दा अति धनी वर्गका १६.१ प्रतिशत मात्रै सुर्तीजन्य पदार्थको कुलतमा लागेको देखाएको छ ।  ५.१ प्रतिशत महिला कुनै न कुनै सुर्तीजन्य पदार्थको लतमा नेपाल समग्ररूपमा सुर्तीजन्य पदार्थ सेवन गर्नेहरूको संख्या बढेको छ । अझ रोचक त के भने अहिले १५ देखि ४९ वर्ष उमेर समूहका ५.१ प्रतिशत महिला कुनै न कुनै सुर्तीजन्य पदार्थको लतमा लागिरहेको पाइएको छ ।  तम्बाखु, चुरोट, बिँडी, भेपलगायत विभिन्न सुर्तीजन्य पदार्थ प्रयोग गर्नेको महिलाको संख्या बढेको पाइएको छ । सोही उमेर समूहका पुरुष भने ४१.८ प्रतिशत लतमा छन् ।  सहरीभन्दा ग्रामीण क्षेत्रमा बढी सुर्तीजन्य पदार्थ सेवन गर्नेमा सहरी क्षेत्रका भन्दा ग्रामीण क्षेत्रका नागरिक बढिरहेका छन् । ग्रामीण क्षेत्रमा २०.० प्रतिशत नागरिकले सुर्तीजन्य पदार्थ सेवन गर्दा सहरी क्षेत्रका १९.९ प्रतिशतले सेवन गर्ने गरेका छन् । प्रदेशअन्तर्गत हेर्दा सबैभन्दा बढी कोशी प्रदेशका २४.५ र सबैभन्दा कम सुदूरपश्चिममा १५.६ प्रतिशतले सुर्तीजन्य पदार्थ खाने गरेको पाइएको छ । विज्ञहरू भने ग्रामीण क्षेत्रका नागरिक सुर्तीजन्य पदार्थ स्वास्थ्यमा पार्ने असरबारे जानकारी नहुँदा सेवन गरिरहे पनि सहरी क्षेत्रका नागरिक सबै कुरा जानकारी हुँदा पनि सेवन गर्ने गरेको बताउँछन् ।  अझ विद्यालय तथा कलेज पढ्दै गरेका बालबालिका भेपलगायतका बजारमा नयाँ आएका सुर्तीजन्य पदार्थको लतमा छन् । स्वास्थ्यमा पार्ने असरबारे सचेत उनीहरू बढी सेवन गर्ने गरेको बताउँछन् ।  

१७९ कम्पनीको सेयर मूल्य घट्यो, ८ अर्बको कारोबार

काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १० अंकले घटेर २६६२ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ७४ कम्पनीको सेयर मूल्य बढ्दा १७९ कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार २३४ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार अरुण भ्याली हाइड्रोको भएको छ । अरुण भ्यालीको ४५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै आँखु खोला जलविद्युतको ४० करोड, रिडि पावरको ३८ करोड र युनियन हाइड्रोको ३२ करोड रुपैयाँको कारोबार भएको छ ।  

चुनावी सुरक्षामा नचुक्न प्रधानमन्त्री कार्कीको नेपाली सेनालाई निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई लक्षित गर्दै चुनावी सुरक्षामा कुनै कमजोरी हुन नदिन नेपाली सेनालाई निर्देशन दिएकी छन् ।  सेना दिवसको पूर्वसन्ध्यामा सैनिक मुख्यालय जङ्गी अड्डामा मंगलबार (आज) देखि सुरु भएको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै उनले विगतका निर्वाचनमा सुरक्षा संयन्त्रबीच समन्वयको अभाव देखिएको स्वीकार गरिन् । उनले अघिल्ला अनुभवबाट पाठ सिक्दै यसपटक सुरक्षा निकायहरूबीच स्पष्ट समन्वय, सूचना आदान–प्रदान र जिम्मेवारीको विभाजन प्रभावकारी रूपमा लागू गर्नुपर्नेमा जोड दिइन् ।  ‘विगतमा देखिएका कमजोरी, त्रुटि वा रिक्तता दोहोरिनु हुँदैन,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘लोकतान्त्रिक प्रक्रियाको विश्वसनीयता कायम राख्न सुरक्षामा कुनै सम्झौता हुँदैन ।’ प्रधानमन्त्रीले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सेनाको भूमिका निर्णायक हुने उल्लेख गर्दै सबै सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरिन् ।  बैठकमा निर्वाचन सुरक्षासँग सम्बन्धित रणनीति, कार्ययोजना र अन्तर–निकाय समन्वयबारे छलफल हुने बताइएको छ ।

६ महिनामा ६ खर्ब ९० अर्ब खर्च, १ खर्ब १९ अर्ब बजेट स्थगन

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको छ महिनामा कुल बजेटमध्ये ६ खर्ब ९० अर्ब खर्च गरेको छ । मंगलबार बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्थमन्त्रालयले बजेट खर्च र स्रोत परिचालनबारे जानकारी दिएको हो। अर्थमन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोड बजेट विनियोजन गरिएकोमा पुस मसान्तसम्म ६ खर्ब ९० अर्ब २१ करोड ७८ लाख खर्च भएको छ । विनियोजित रकममध्ये चालु खर्च ४१.२५ प्रतिशत, पुँजीगत खर्च १२.१२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४०.१५ प्रतिशत खर्च भएको छ । समीक्षा अवधिको समग्र खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.३९ प्रतिशतले वृद्धि भएको छ । पुँजीगत खर्च न्यून हुनुका कारण योजनाको पूर्वतयारीको अभाव, जग्गा प्राप्ति र वन क्षेत्रको उपयोगमा जटिलता तथा भदौ २३ र २४ को आन्दोलनका कारण भौतिक संरचनामा भएको क्षतिले प्रभाव पारेको अर्थमन्त्रालयले जनाएको छ । अर्थमन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा बजेट स्थगन गरिएको छ । पूर्वतयारी नभएका र अनुत्पादक साना आयोजनाहरूमा विनियोजित १ खर्ब १९ अर्ब ५३ करोड ६५ लाख बजेट मन्त्रिपरिषद्को निर्णयअनुसार स्थगन गरिएको हो । जसमध्ये खरिद प्रक्रिया सुरु भइसकेका र विषयगत मन्त्रालयबाट औचित्य पुष्टि भई फुकुवाका लागि अनुरोध भएका आधारमा ४२ अर्ब २८ करोड ३४ लाख फुकुवा गरिएको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए । अर्थमन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा कुल १४ खर्ब ८० अर्ब राजस्व परिचालन गर्ने लक्ष्य राखिएको छ । जसमा संघीय सरकारको हिस्सा १३ खर्ब १५ अर्ब रहने अनुमान छ । राजस्व संकलनतर्फ पुस मसान्तसम्मको ७ खर्ब ११ अर्ब २० करोड ७८ लाख लक्ष्यको तुलनामा विविध प्राप्तिसहित ५ खर्ब ५ अर्ब ४० करोड ७२ लाख (७१.०५ प्रतिशत) संकलन भएको छ । समीक्षा अवधिको राजस्व संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.४७ प्रतिशतले वृद्धि भएको छ ।आन्तरिक ऋण परिचालनतर्फ वार्षिक ३ खर्ब ६२ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य रहेकोमा पुस मसान्तसम्म १ खर्ब ७७ अर्ब ६६ करोड ६९ लाख (४९.०८ प्रतिशत) प्राप्त भएको छ । सार्वजनिक ऋण भुक्तानीतर्फ ऋणको साँवा–व्याज भुक्तानीका लागि विनियोजित बजेटमध्ये पुस मसान्तसम्म १ खर्ब ८७ अर्ब १२ करोड ६६ लाख (४५.५३ प्रतिशत) भुक्तानी भइसकेको छ । वैदेशिक सहायता प्रतिबद्धतातर्फ समीक्षा अवधिमा कुल ६५ अर्ब ३९ करोड रुपैयाँ बराबरको विकास सहायता प्रतिबद्धता प्राप्त भएको छ, जसमा २९.४४ प्रतिशत अनुदान र ७०.५६ प्रतिशत ऋण रहेको छ । अर्थमन्त्रालयले पुनः प्राथमिकता निर्धारण र मितव्ययितामा जोड दिएको जनाएको छ । आन्दोलनबाट सिर्जित भौतिक संरचनाको पुनर्निर्माण र अनिवार्य दायित्वलाई प्राथमिकतामा राखी अनुत्पादक खर्च कटौती तथा बैठक भत्ता जस्ता खर्चमा रोक लगाउने नीति लिइएको अर्थमन्त्री खनालले जानकारी दिए ।

तामाकोशीमा बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १२ पुग्यो

काठमाडौं । तामाकोशी नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।  रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले मृत्यु हुनेको संख्या १२ पुगेको जानकारी दिए । उनका अनुसार ८ जना घाइतेको मन्थली र खुर्कोटका अस्पतालमा उपचार भइरहेको छ।  थापाले केही शव बगेको आशंकामा गोताखोर लगाएर खोजी कार्य भइरहेको जानकारी दिए ।  काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बा प्र ०१००६ ख ९९७५ नम्बरको बस मंगलबार बिहान रामेछापको मन्थली नगरपालिका-६ भलुवाजोरस्थित त्रिवेणी नजिकै लिलौटी भन्ने ठाउँमा दुर्घटना भएको थियो ।  

कनेक्ट किसान र एनएएएमपीबीच समझदारी, किसानलाई डिजिटल कृषि सल्लाह उपलब्ध गराइने

काठमाडौं । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (एनएएएमपी) र कनेक्ट किसानबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सोमबार समझदारीपत्रमा कनेक्ट किसानको तर्फबाट निर्देशक राजन दाहाल र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको तर्फबाट कार्यक्रम निर्देशक हिक्मतकुमार श्रेष्ठले हस्ताक्षर गरे । यस सम्झौताको उद्देश्य नेपाली किसानलाई डिजिटल प्लेटफर्ममार्फत कृषि सम्बन्धी समस्या समाधानमा सजिलो बनाउनु हो ।  कनेक्ट किसानले विकसित गरेको भ्वाइस बेस र टेक्स्ट बेस एआई एडभाइजरी प्रविधिले किसानलाई खेतबारीमा प्रत्यक्ष सहायता पुर्‍याउनेछ । यो प्रणालीमा किसानले खेतीबारीमा काम गर्दा आउने समस्या जस्तै मल, बजार, रोगरकीरा व्यवस्थापनको तत्काल समाधान वा सुझाव प्राप्त गर्न सक्नेछन् ।  कनेक्ट किसानका निर्देशक राजन दाहालले भारतमा प्रविधिमैत्री किसानले एआईको प्रयोग गरेर उत्पादन वृद्धि गरिरहेका छन् भने नेपालमा पनि यस्ता प्रविधि प्रयोग गर्दा किसानलाई ठूलो फाइदा हुने बताए ।  राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका कार्यक्रम निर्देशक हिक्मत कुमार श्रेष्ठले किसानलाई डिजिटल प्लेटफर्ममा पुर्‍याउन र समस्या समाधानमा सहयोग पुर्‍याउन कनेक्ट किसानसँग सम्झौता गरिएको बताए ।  यस समझौताको माध्यमबाट किसानको समस्या दिर्घकालीन रूपमा समाधान गर्ने उद्देश्य राखिएको छ। कृषि नीतिगत चुनौती जस्तै बजारमा पहुँच नपाउनु, मल अभाव, रोग व्यवस्थापन जस्ता समस्या पनि एआई प्रणालीमा डेटा बनाइने र भविष्यमा त्यसको आधारमा समाधानको योजना तयार पारिने निर्देशन श्रेष्ठले बताए ।  कनेक्ट किसानको एआई प्रविधि भनेको कृषकको आवश्यकता अनुसार कृषि सल्लाह, रोगरकीरा व्यवस्थापन, मल र बीउ सुझाव, बजार जानकारी लगायतका सेवाहरू उपलब्ध गराउने डिजिटल प्लेटफर्म हो ।  यो प्रणालीले किसानलाई आफ्नो खेतमा प्रत्यक्ष निर्णय लिन सजिलो बनाउनेछ र कृषि उत्पादनमा वृद्धि गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

निर्वाचन आचारसंहितासम्बन्धी टिकटक भिडियो बनाए ५० हजार पाइने

काठमाडौं  । के तपाईं टिकटक बनाउनु हुन्छ ? यदि टिकटक बनाउनु हुन्छ भने निर्वाचन आयोगले तपाईंहरूको लागि खुसीको खबर ल्याएको छ ।  आयोगले निर्वाचन प्रचार प्रसार, निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षा जस्ता विषयमा आधारित भएर एक मिनेटसम्म अवधिको टिकटक भिडियो बनाई ५० हजार रुपैयाँ जित्न आग्रह गरेको हो । आयोगले टिकटक प्रयोगकर्तालाई फागुन ३ गतेदेखि १७ गतेसम्म आयोगकै इमेल ठेगाना [email protected] मा पठाउन अनुरोध गरेको छ ।  आयोगमा प्राप्त भएका भिडियोहरूमध्ये सबैभन्दा बढी भ्युअर्स भएका उत्कृष्ट तीनवटा भिडियोलाई आयोगले ५० हजार, ३० हजार र २० हजार रुपैयाँ प्रदान गर्ने  भएको छ ।  

भीड बढेपछि राहदानी विभागले भन्यो– तोकिएको समयमा मात्र पुग्नू

काठमाडौं । राहदानी विभागले सेवाग्राहीलाई अपोइन्टमेन्ट लिएको समयमा मात्र सेवा लिन अनुरोध गरेको छ । विभागका अनुसार तोकिएको समयमा आएर सेवाग्राहीले सहजै सेवा पाउने छन् । ‘राहदानीका लागि फाराम भर्दा सेवाग्राहीले छनौट गरेको समयमा आउँदा आवेदन दिएको एक घण्टा भित्रमा सेवा पाइसक्ने छन्,’ मंगलबार विभागले जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । सेवाग्राहीले छनौट गरेको समयमा सेवा लिन आउन नसक्ने सेवाग्राहीहरूलाई क्रमशः सेवा दिइने व्यवस्था गरिएको  विभागले बताएको छ । आवेदनमा तोकिएको समयमा विभागमा सेवाग्राही पुगेमा ढिला नहुने र बढी भीडभाडसमेत नहुनेसमेत विभागले प्रस्ट पारेको छ ।