सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रममा ब्रेक लागेको छ । पछिल्लो समय निरन्तर घटिरहेको सुनको मूल्य बिहीबार ४ हजार ३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ पुगेको छ । बुधबार भने एक तोला सुनको मूल्य ३ लाख ४ सय कायम थियो । बुधबार सुनको मूल्य ९ सय रुपैयाँले घटेको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी बिहीबार ८० रुपैयाँले बढ्दै प्रतितोला ८ हजार ६० रुपैयाँ कायम भएको छ ।
काठमाडौं प्रहरीले भन्यो– सामाजिक सञ्जालमा ‘एआई’ तस्विर बनाएर भ्रम नछर्नू
काठमाडौं । सामाजिक सञ्जालमा एआई तस्विर सार्वजनिक गरेर भ्रम नछर्न जिल्ला प्रहरी परिसर काठमाडौंले अनुरोध गरेको छ । विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भ्रामक फोटो, भिडियो अन्य सूचना तथा एआई सिर्जित श्रव्यदृश्य सामाग्रीहरू सम्प्रेषण भएका विषय जिल्ला प्रहरी परिसर काठमाडौंले आफूलाई जानकारी रहेको बताएको छ । नारायणगोपाल चोकस्थित चक्रपथ सडक खण्डमा पैदलयात्रीलाई हातपात गर्ने सवारी चालकलाई कानुन बमोजिम अनुसन्धान भइरहेको परिसरले जनाएको छ । अनुसन्धान भएको विषयलाई सामाजिक सञ्जालमा भ्रामक फोटो, भिडियो तथा सूचना सम्प्रेषण गरिने कार्यमा सजग रहन परिसरका प्रवक्ता पवन कुमार भट्टराईले बताए । सबैले सामाजिक सञ्जालको प्रयोग गर्ने र सार्वजनिक जबाफदेहिता वहन गर्ने मानवीय कर्तव्य रहेको उनको भनाइ छ । प्रहरीले मंगलबार पैदलयात्रुमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । पैदलयात्रीमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले पारस बमलाई पक्राउ गरेको हो । भिडियोमा चालकले गाडीबाट झरेर पैदलयात्रीलाई मुक्का प्रहार गरेको दृश्य देखिन्छ। उनीसँगै गाडीबाट झरेर एक महिलाले पनि पैदलयात्रीलाई कराएको दृश्य छ ।
जनताका अधिकार संरक्षण गर्नुपर्छ: अध्यक्ष ओली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधानको संरक्षण गर्दै जनताका अधिकारलाई जीवित राख्नुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति शुभकामना व्यक्त गर्दै उनले राष्ट्रिय स्वाधीनताको रक्षा, राष्ट्रको गरिमा संरक्षण तथा क्षतविक्षत भएका राष्ट्रका धरोहर जोगाउन आवश्यक भएको बताए । शुभकामना सन्देशमा उनले भनेका छन्, ‘आज प्रजातन्त्र दिवस, जनताको साहस, त्याग र बलिदानले जहानियाँ राणा शासनको अन्त्य गरी स्वतन्त्रता र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिन, प्रजातन्त्रका लागि आफ्नो जीवन अर्पण गर्नुहुने अमर सहिदहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली तथा सम्मान ।’
सिम्रिक एयर धितोपत्र बोर्डमा दर्ता हुने, सेयरधनीलाई नगद लाभांश
काठमाडौं । सिम्रिक एयर लिमिटेडले सर्वसाधारणलाई आईपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने गरी प्रक्रिया अघि बढाएको हो । आईपीओ निष्काशनको अनुमतिका लागि कम्पनीलाई नेपाल धितोपत्र बोर्डमा दर्ता गर्ने तथा आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्न फागुन २८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभा साँझ ५ बजे रजिस्टर्ड कार्यालय काठमाडौंमा बोलाएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन पारित गर्नेछ । साथै, सेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । यस्तै सभाले चालु आव २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने, नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गर्ने कम्पनीले जनाएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ६ जना संस्थापक सेयरधनी बाहिरिँदै
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)का ६ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर ६ जना संस्थापक सेयरधनी बाहिरिन लागेका हुन् । बैंकका अनुसार विभिन्न ६ जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ४ लाख ८८ हजार ३०९ कित्ता संस्थापक सेयर आंशकि वा पु्रै बिक्रीमा राखेका हुन् । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि आवेदन दिनुपर्ने जनाएको छ । खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको सेयर र मूल्य समेत तोकि निवेदन दिनुपर्नेछ । यदि उक्त समय भित्र बिक्री नभएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।
साल्ट ट्रेडिङको नाफामा २९.३४ प्रतिशत उछाल, साढे ६ अर्ब रुपैयाँ आम्दानी
काठमाडौं । साल्ट ट्रेडिङ कर्पाेरेशनले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा ४ करोड ५७ लाख ४४ हजार रुपैयाँ गरेको छ । यो नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा २९.३४ प्रतिशत अर्थात् १ करोड ३ लाख ७८ हजार रुपैयाँ बढी हो । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले ३ करोड ५३ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको पुससम्ममा कम्पनीले ६ अर्ब ४१ करोड ७६ लाख १३ हजार रुपैयाँ बिक्री आम्दानी गरेको गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ५८ करोड ३५ लाख रुपैयाँ बिक्री आम्दानी गरेको थियो । यस्तै समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी २२ करोड २५ लाख रुपैयाँ रहेको छ । गत वर्षको पुसमा २ करोड ५७ लाख रुपैयाँ मात्रै अन्य आम्दानी थियो । चालु आवको ६ महिनामा कम्पनीले ४४ करोड ९२ लाख ३२ हजार रुपैयाँ कुल नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५५ करोड १८ लाख रुपैयाँ कुल नाफा गरेको थियो । चालु आवको दोस्रो त्रैमासमा कम्पनीको बिक्री लागत ५ अर्ब ९६ करोड ८३ लाख ८० हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको ४ अर्ब ३ करोड १६ लाख ४७ हजार रुपैयाँ बिक्री लागत थियो । समीक्षा अवधिमा कम्पनीको कर्मचारी खर्च २१ करोड २९ लाख ६४ हजार रुपैयाँ, प्रशासकीय खर्च ९ करोड ४४ लाख ३८ हजार रुपैयाँ, ब्याज खर्च १६ करोड ६२ लाख रुपैयाँ रहेको छ । ३५ करोड २७ लाख ८८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ३५ करोड १३ लाख ९९ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १२.९७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ३५९.६० रुपैयाँ छ ।
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, केही ठाउँमा हल्का वर्षा हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको छ । आज दिउँसो तराईका केही स्थानमा हुस्सु रहनेछ भने हिमाली भागमा साधारणतया बादल लाग्नेछ, पहाडी भागमा आंशिक बादल रहनेछ र बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागका केही स्थानमा तथा बाँकी पहाडी र हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति तराईका केही स्थानमा तुवाँलो रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भागमा बादल लाग्नेछ । मधेस प्रदेश तथा बाँकी पहाडी भागमा आंशिक बादल रहनेछ र बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भ-भागका एक/दुई स्थानमा हल्का र वर्षा हिमपातको सम्भावना रहेकाले यातायातका साधन सञ्चालन, कृषि कर्म लगायत अन्य दैनिक गतिविधिमा संलग्न सर्वसाधारण तथा सरोकार भएका सबैलाई सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।
उम्मेदवारले तथ्य र तर्कका आधारमा आफूलाई प्रस्तुत गर्नुपर्छ : कावा प्रमुख आयुक्त भण्डारी
काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल र उम्मेदवारलाई स्वतन्त्रता पूर्वक निर्बाध रूपमा चुनावी प्रचारप्रसार गर्न आह्वान गरेका छन् । दसौँ निर्वाचन दिवसका अवसरमा उनले निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक र आम मतदातालाई आवश्यक सुरक्षाको प्रत्याभूति सहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचनमा सहभागी हुने उपयुक्त वातावरण तयार गर्न अपिल समेत गरे । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भने, ‘स्वच्छ, स्वतन्त्र, विश्वसनीय, पारदर्शी एवं मितव्ययी निर्वाचन शान्ति, स्थिरता, समृद्धि र सुशासन भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै सबै सरोकार भएकाहरूसँगको समन्वय, सहयोग, साझेदारी र सहकार्यमा यही फागुन २१ गते हुने निर्वाचनले विद्रोहपछि भड्किएको अनुशासनलाई सही मार्गमा ल्याउने विश्वास गरेको छु ।’ नेपालमा पहिलो आमनिर्वाचन अर्थात् प्रतिनिधिसभा सदस्य निर्वाचन विसं २०१५ फागुन ७ गते सुरु भई २०१६ वैशाख २१ गते सम्पन्न भएको थियो । यो नै नेपालमा बालिग मताधिकारका आधारमा सम्पन्न भएको पहिलो आमनिर्वाचन हो । नेपाली मतदाताले आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्न पाएको सोही दिनको स्मरण गर्दै प्रत्येक वर्ष फागुन ७ गते निर्वाचन दिवस मनाउने गरिएको छ । गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि राष्ट्रपतिबाट घोषणा गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानको दिन आउन अब १४ दिन बाँकी छ । यस पटकको निर्वाचन दिवस आयोगका लागि मात्र नभएर आममतदाता, नागरिक, राजनीतिक दल र उम्मेदवारका लागि पनि विशेष र अविस्मरणीय रहेको कावा प्रमुख आयुक्त भण्डारीको भनाइ छ । लोकतान्त्रिक शासन व्यवस्थालाई जीवन्त राख्न र उत्तरदायी बनाउन आवधिक निर्वाचनको भूमिका महत्त्वपूर्ण रहने र यो स्वाभाविक र लोकतान्त्रिक प्रक्रियाको एक हिस्सा भएको उल्लेख गरे । कावा प्रमुख आयुक्त भण्डारीले भने, ‘लोकतान्त्रिक व्यवस्थामा जनताको मनोभावना, अपेक्षा र निर्णयको अभिव्यक्ति आवधिक रूपमा प्रकट भइरहनु अनिवार्य हुन्छ । आममतदाताले मताधिकारमार्फत प्रकट गर्ने अभिमतले शासन व्यवस्थालाई पुनर्ताजगी गर्छ । स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचन नै वैध सरकारको आधार हो ।’ स्वतन्त्र र निष्पक्ष प्रतिस्पर्धाबाट नियमित रूपमा जनप्रतिनिधि चुनिने प्रक्रियाले नै लोकतन्त्रलाई चिरस्थायी बनाउने भन्दै उनले निर्वाचनमा उम्मेदवारले तथ्य र तर्कका आधारमा आफूलाई प्रस्तुत गर्नुपर्ने धारणा व्यक्त गरे । ‘निर्वाचनले नै शासनमा जनताको स्वामित्व सुनिश्चित गर्छ,’ उनले भने ।