रास्वपा सभापति लामिछाने र नेता महन्थ ठाकुरबीच भेटवार्ता, मधेसको विकास र सहकार्यमा जोड
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष एवं राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरबीच मंगलबार भेटवार्ता भएको छ । सभापति लामिछानेको बुढानीलकण्ठस्थित निजी निवासमा भएको उक्त भेटवार्तामा उनीहरूबीच वर्तमान राजनीतिक परिस्थिति र मुलुकको समसामयिक विषयमा छलफल भएको हो । भेटका क्रममा विशेषगरी मधेस प्रदेशको विकास, त्यहाँका नागरिकले झेलिरहेका समस्या र राज्यले प्राथमिकता दिनुपर्ने नयाँ योजनाका बारेमा विस्तृत कुराकानी भएको लामिछानेको सचिवालयले जनाएकाे छ । दुवै नेताहरूले शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणका क्षेत्रमा मधेसमा विशेष प्याकेजको आवश्यकता रहेको कुरामा जोड दिएका थिए । छलफलका क्रममा पछिल्लो जनादेशको सम्मान गर्दै देशको समग्र विकासका निम्ति साझा एजेन्डामा सहकार्य गरेर अघि बढ्ने विषयमा दुवै पक्ष एकमत भएका छन् ।
कम्बोडियाबाट अलपत्र १२ नेपालीको उद्धार, स्वदेश फर्काइयो
काठमाडौं । कम्बोडियामा विभिन्न कारणले अलपत्र परेका १२ जना नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काइएको छ । थाइल्यान्डस्थित नेपाली राजदूतावासका अनुसार अनलाइन ठगी केन्द्र तथा अन्य गैरकानुनी काममा संलग्न गराइएका र विभिन्न समस्यामा परेका नेपालीलाई उद्धार गरी कम्बोडिया सरकारको समन्वयमा नेपाल फर्काइएको हो । उनीहरूलाई फागुन १७ गते कम्बोडियाको राजधानी फ्नोमपेन्हस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उद्धार गरी नेपाल पठाइएको जनाइएको छ । राजदूतावासले कम्बोडियामा नेपाली नागरिकहरूलाई गैरकानुनी काममा लगाउने, बिना श्रम स्वीकृति बसोबास गराउने तथा कठिन परिस्थितिमा राख्ने घटनाहरू बढ्दै गएको जानकारी प्राप्त भएको जनाएको छ । यस्ता समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन आवश्यक समन्वय र सहजीकरण जारी राखिएको दूतावासले जनाएको छ । सम्बन्धित समस्यामा परेका नेपाली नागरिक वा उनका आफन्तलाई सहयोगका लागि थाइल्यान्डस्थित नेपाली राजदूतावास तथा कम्बोडियाका मानार्थ नेपाली वाणिज्यदूतसँग सम्पर्क गर्न आग्रह गरिएको छ । आवश्यक परे एकपटक प्रयोग गर्न मिल्ने यात्रा अनुमति (वन–वे ट्राभल परमिट) जारी गर्ने व्यवस्था समेत रहेको दूतावासले स्पष्ट पारेको छ । राजदूतावासका अनुसार पछिल्ला वर्षहरूमा रोजगारीको प्रलोभनमा कम्बोडिया जाने नेपालीको संख्या बढ्दै गएको छ । दूतावासले आकर्षक रोजगारीका नाममा हुने ठगीबाट सचेत रहन तथा वैदेशिक रोजगारीमा जानुअघि आधिकारिक प्रक्रिया पूरा गर्न सबै नेपाली नागरिकलाई आग्रह गरेको छ ।
संसद् सचिवालयले आह्वान गर्यो सर्वदलीय बैठक
काठमाडौं । संसद् सचिवालयले सर्वदलीय बैठक आह्वान गरेको छ । बुधबार (भोलि) अपरान्ह १ बजे सर्वदलीय बैठक आह्वान गरेको संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए । उनका अनुसार बैठकमा प्रतिनिधिसभा बैठकको तयारीबारे छलफल हुनेछ । बैठकमा सबै दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र संघीय संसद् सचिवालयका अधिकारीहरू सहभागी हुनेछन् । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेसँगै संसद सचिवालयले सर्वदलीय बैठक बोलाएको हो । सरकारले यही चैत १९ गते बिहीबार दिउँसो २ बजे संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
पोखरामा किसानलाई अनुदान सहयोगका लागि ५५ लाख विनियोजन
गण्डकी । पोखरा महानगरपालिकाले वडास्तरीय कृषि सञ्जाल र वडा कार्यालयको समन्वयमा अनुदानका कार्यक्रम अघि बढाएको छ । महानगरपालिकाभित्रका ३३ वटै वडालाई लक्षित गरी ५० प्रतिशत लागत साझेदारी गर्नेगरी अनुदानका कार्यक्रम सञ्चालन गरिएको महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए । उनका अनुसार महानगरपालिकाभित्रका बजार क्षेत्रका ११ वटा वडाका लागि प्रतिवडा एक–एक लाख रुपैयाँ र ग्रामीण क्षेत्रका २२ वटा वडाका लागि दुई–दुई लाख रुपैयाँका दरले कुल ५५ लाख रुपैयाँ विनियोजन गरी अनुदानका कार्यक्रम सञ्चालन गरिएको छ । महानगरका ३३ वडा वडामध्ये वडा नं १ देखि १० र १२ नं वडालाई बजार क्षेत्र र अन्यलाई ग्रामीण क्षेत्रका रूपमा लिइएको छ । वडास्तरीय कृषि सञ्जाल र वडा कार्यालयले त्यहाँको आवश्यकता पहिचान गरेअनुरुप उक्त स्थानमा बजेट विनियोजनअनुसार किसानलाई ५० प्रतिशत अनुदानका कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए ।
मंगलबार सुनको मूल्य तोलामा ६ हजार ७ सय रुपैयाँले बढ्यो
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ६ हजार ७ रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २ लाख ९० हजार २०० रुपैयाँले कारोबार भइरहेको छ । साथै चाँदीको मूल्य तोलामा १४५ रुपैयाँले घटेको छ । मंगलबार सुनको मूल्य तोलामा ४ हजार ८४५ रुपैयाँले कारोबार भइरहेको छ ।
देउवा–कोइराला समूहको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला समूहका नेताहरूको बैठक मंगलबार (आज) आज बस्ने भएको छ । आज अपरान्ह १ बजे धुम्बाराहीको स्मार्ट होटलमा बैठक बस्न लागेको हो। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारको धरपकडलगायतको विषयमा छलफल हुने जनाइएको छ । गत पुसमा सम्पन्न भएको विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको नयाँ कार्यसमिति चयन भएको थियो । थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिए पनि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिकै हैसियतमा राजनीतिक गतिविधि गर्दै आइरहेका छन् । कांग्रेसको आधिकारिकता सम्बन्धी मुद्दाको पेशी सर्वोच्चमा यही चैत २२ गतेका लागि ताकिएको छ। आज बस्ने बैठकअघि कोइरालाले आफू पक्षीय नेताहरूसँग छुट्टै बैठक पनि बसिसकेका छन् ।
एमाले सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक मंगलबार बस्दैछ । पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजे एमालेले सचिवालय बैठक बोलाएको हो। बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्राउपछिका पार्टीका रणनीति र अन्य विषयमा छलफल हुने जनाइएको छ । अध्यक्ष ओलीलाई गत शनिबार बिहान पक्राउ गरिएको थियो । हाल उनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ। ‌ओलीलाई पक्राउ गरिएको विरोधमा एमालेले देशभर प्रदर्शन गरिरहेको छ भने आजको बैठकले आन्दोलनका थप कडा कार्यक्रमहरू घोषणा गर्ने सम्भावना छ । ओलीको पक्राउलाई पार्टीले राजनीतिक प्रतिशोधको संज्ञा दिँदै आएको छ । ओलीलाई जिल्ला अदालत काठमाडौंले ५ दिनको म्याद थप गरेको छ । त्यस्तै, सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । पूर्व प्रधानमन्त्री ओलीको पक्राउविरुद्ध उनकी पत्नी राधिका शाक्यले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको जाँचबुझ आयोगले ओलीविरुद्ध कारवाहीको सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा सरकारले गत शनिबार उनी पक्राउ परेका हुन् ।
सामसङ नेपालको ‘स्मार्ट घर, स्मार्ट सुरुवात’ नयाँ वर्ष योजना सार्वजनिक
काठमाडौं । सामसङ नेपालले नयाँ वर्ष २०८३ को अवसरमा ‘स्मार्ट घर, स्मार्ट सुरुवात’ अभियान सार्वजनिक गर्दै टेलिभिजन तथा घरायसी विद्युतीय उपकरण खरिदमा आकर्षक छुट, पक्का उपहार र २४ महिनासम्मको विस्तारित किस्ता (ईएमआई) योजना घोषणा गरेको छ । अभियानअन्तर्गत ग्राहकहरूले सामसङका नवीनतम कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधियुक्त टेलिभिजन तथा उन्नत प्रविधिमा आधारित घरायसी उपकरणमार्फत आधुनिक र सहज जीवनशैली अपनाउन सक्ने कम्पनीले जनाएको छ । उक्त अफर अप्रिल १ देखि मे १४, २०२६ सम्म लागू रहनेछ । कम्पनीका अनुसार योजनाअन्तर्गत टेलिभिजनमा अधिकतम २५ प्रतिशतसम्म, वाशिङ मेसिनमा २३ प्रतिशतसम्म तथा रेफ्रिजरेटरमा १७ प्रतिशतसम्म छुट उपलब्ध गराइएको छ । नयाँ वर्षको अवसरमा घरायसी उपकरण स्तरोन्नति गर्न चाहने परिवारका लागि योजना उपयोगी हुने विश्वास कम्पनीले लिएको छ । चयनित टेलिभिजन खरिद गर्दा १२ महिनासम्मको नेट टिभी सेवा निःशुल्क उपलब्ध गराइनेछ भने चयनित वाशिङ मेसिन खरिदमा ६ केजी सर्फ एक्सेल म्याटिक पक्का उपहार प्रदान गरिनेछ । साथै, २४ महिनासम्मको विस्तारित किस्ता योजनामार्फत ग्राहकहरूले ५० हजार रुपैयाँभन्दा माथिका घरायसी उपकरण ४० प्रतिशत अग्रिम भुक्तानीमा खरिद गर्न सक्नेछन् । यस योजनाले १२ महिनाको किस्ताको तुलनामा मासिक भुक्तानी झन्डै आधा हुने कम्पनीले जनाएको छ । हुलास फाइनसर्भ हायर पर्चेज लिमिटेडमार्फत सञ्चालन हुने सामसङ इन्स्टा फाइनान्स सेवाअन्तर्गत १२ महिनाको किस्ता योजनामा शून्य प्रतिशत ब्याजदर लागू हुनेछ भने २४ महिनाको विकल्पमा ७.९९ प्रतिशत अतिरिक्त ब्याज लाग्नेछ । ग्राहकहरूले अरको स्टोर वा नेपालभर रहेका अधिकृत सामसङ विक्रेता केन्द्रमार्फत आफ्ना पुराना उपकरण साटासाट (एक्सचेन्ज) गरी नयाँ उपकरण खरिद गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । अफरसम्बन्धी थप जानकारी नजिकको अधिकृत सामसङ स्टोरबाट प्राप्त गर्न सकिनेछ ।